गहत बाली महत्त्वपूर्ण दलहन बाली हो । यो बाली विशेषगरी दालको रुपमा प्रयोग गरिन्छ भने पशुहरुलाई घाँसको रुपमा पनि खुवाइन्छ । कोसा टिपिसकेपछि हरियो बोटलाई माटोमा मिलाएमा हरियो मलको काम पनि गर्छ । नेपालमा अन्य दलहन बाली जस्तो यो बालीमा धेरै अध्ययन अनुसन्धान भइसकेको छैन तरपनि स्थान र ठाउँ विशेष कृषकहरुले स्थानीय गहतका जातहरू लगाई रहेको पाईन्छ । आ.व. २०७६/७७ मा ६३२६ हेक्टरमा गरिएको गहत खेतीको कुल उत्पादन ६८६५ के.जी. र उत्पादकत्व १०८५ के.जी. प्रति हेक्टर रहेको छ (कृषि डायरी, २०७६/७७) । कुल खेती गरिएको क्षेत्रफलको ११% दलहन बालीले ओगटेको छ जसमा गहतको क्षेत्रफल १.६९% रहेको छ । गहतको वानस्पतिक नाम Macrotyloma uniflorum (Lam) Verdc हो । यसलाई भारतमा कुल्थी पनि भन्ने गरिन्छ । भारतमा यसको खेती परापूर्वकाल देखि हुँदै आएको छ । त्यसैले गहतको उत्पत्ति भारतमा भएको भन्ने गरिन्छ । गहतका २५ ओटा प्रजाति अफ्रिका र एशिया महाद्विपमा पाइने तथ्यले गहत अफ्रिका महाद्विपमा पनि उत्पत्ति भएको हुन सक्ने संकेत गर्दछ ।
गहत खेती प्रविधि
परिचय
यो बाली वार्षिक रुपमा कोसा लाग्ने बाली हो जसको उचाई ३०-३५ से.मि. हुन्छ । पातको समीकरण ३ पाते हुन्छ जसको लम्बाई २.५ देखि ५ से.मि. को हुन्छ । ५-७दानाहरू लामो कोसा भित्र रहेका हुन्छन् । पाकिसकेको कोसा भित्रका दानाहरू ३-६ मि.मि. हुन्छन् भने जात अनुसार कालो, खैरो, रातोहुन्छन् र कोहि छिर्के बिर्के हुन्छन् । गहत स्वयम सेचक बाली हो जसको बाली पाक्ने अवधि १२० दिन देखि १८० दिन सम्मको हुन्छ ।

विभिन्न दलहन बाली जस्तै गहत पनि पौष्टिक हिसाबले निकै महत्त्वपूर्ण बाली हो । १०० ग्राम गहत दालमा कार्बोहाइड्रेट (५७.२%), प्रोटिन (२२%), फाइबर (५.३%), फ्याट (०.५%), क्यालसियम (२८७ मि.ग्राम), फोसपोरस (३११ मि.ग्राम), फलाम (६.७७ मि.ग्राम) र क्यालोरी (३२१ kcal) पाउन सकिन्छ भने भिटामिनहरू जस्तै थायमिन (०.४ मि.ग्राम), राइबोफ्लाविन (०.२ मि.ग्राम) र नीयासिन (१.५ मि.ग्राम) प्रचुर मात्रामा पाउन सकिन्छ ।
- इन्डियन इन्सटिट्युट अफकेमिकल टेक्नोलोजिका वैज्ञानिकहरुले गहतको खडा दाल खानाले मधुमेहको बिरामी ठिक हुने मात्र नभई इन्सुलिनको भर पर्ने बिरामीलाई पनि ठिक गरेको पाइएको छ ।
- गहतको दालमा (Polyphenols, falvonoids) जस्ता antioxidant पाइन्छन् ।
- गहत दालको सेवनले पत्थरीको समस्यालाई निको पार्ने गर्दछ ।
- गहत दालको प्रयोगले अनियमित रुपमा हुने महिनावारीको समस्यालाई निको पार्न सहयोग गर्दछ ।
- मलिलो नभएको वा रुखो जग्गामा पनि गहत बालीको सफल रुपमा खेती गर्न सकिन्छ
- जलवायु परिवर्तनको कारणले बढ्दै गरेको सुख्खा क्षेत्रमा खेती गर्न सकिन्छ
- कुनैपनि किसिमको माटोमा खेती गर्न सकिने
- एकल बाली वा अन्तरबालीको रुपमा खेती गर्न सकिने
- तराई देखि पहाडसम्म कुनैपनि वातारणमा सफल रुपमा खेती गर्न सकिने
- थोरै स्रोत साधनमा पनि धेरै उत्पादन लिन सकिने
आवश्यकता
गहत सुख्खा सहने बाली हो । बालीको वृद्धि विकासको लागि न्यानो र सुख्खा वातावरण महत्त्वपूर्ण हुन्छ । गहत बाली समुन्द्र सतह देखि १८०० मि. सम्मको उचाईमा सफल रुपमा खेती गर्न सकिन्छ । २५ देखि ३० डी. से. तापक्रम र सापेक्षित आद्रता ५०-८०% गहत बालीको लागि अनुकूल रहन्छ । गहत लगाएको सुरुको अवस्थामा धेरै पानी परेमा माटोमा अक्सिजनको कमी भई जरामा गाँठो बन्ने प्रक्रियामा असर गर्दछ । ८०० मि.मि. पानी पर्ने क्षेत्र वा सो भन्दा थोरै पानी पर्ने क्षेत्रमा पनि गहतको खेती गर्न सकिन्छ । गहत माटोको उर्वराशक्ति कमी भएको, क्षारियपना कम भएको (पि.एच. ५.६ देखि ६ सम्म) माटोमा खेती हुन्छ ।
गहत सुख्खा क्षेत्रमा खेती गर्न सकिने बाली हो । तर सफल उत्पादन गर्नको लागि बालीलाई सिँचाईको आवश्यकता पर्दछ । विशेषगरि बालीको फूल फुल्नु अघि र कोसा लाग्ने बेलामा सिँचाई गर्नाले फूल झर्ने समस्या रोकिने र कोसाहरू पनि पुष्ट हुने गर्दछ ।
कृषि इन्पुट
नेपालमा गहत बालीमा अनुसन्धान प्रारम्भिक अवस्थामा रहेको हुँदा बीउ दर र लगाउने दुरीले उत्पादनमा के कति असर गर्छ भन्ने तथ्य त्यति भेटिंदैन । दालको रुपमा खान होस् या वस्तुलाई घाँसको रुपमा खुवाउन होस् जग्गाको अवस्था, उपलब्धता, मलिलोपना, लगाउने मौसम हेरेर कृषकले गहत लगाउने गर्दछन् । भारतमा यदि दाल र घाँस दुवैको लागि हो भने ४० के.जी. प्रति हेक्टर र लाइनमा लगाउने हो भने २५-३० के.जी. प्रति हेक्टर लगाएको पाइन्छ । वर्षे समयमा एक हार देखि अर्को हार सम्मको दुरी ४०-४५ से.मि. र हिउँदमा २५-३० से.मि. र बोट देखि बोटको दुरी ५ से.मि. कायम गरेको पाइन्छ ।
नेपालमा हालसम्म गहतका जातहरू विकास भइसकेका छैनन् । गहत रैथाने बाली भएको हुनाले कृषकहरुले आफ्नो ठाउँ विशेषमा पाउने स्थानीय जातहरु नै बर्षेपिच्छे लगाउने गरेका छन् । बीउ उपचार गर्नु भन्दा पनि आफुसँग भएको स्वस्थ देखिने बीउ लगाउने चलन छ । धेरै जात विकास गरिसकेको भारतमा भने स्वस्थ उमार र माटोमा हुने ढुसीको संक्रमणबाट बचाउनको लागि बेभिस्टिन २ ग्रामका दरले एक के.जी. बीउ उपचार गरेको पाइन्छ, त्यस्तैगरि जैविक जीवाणु ट्राइकोडर्मा भिरिडी ४ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर पनि बीउ लगाउने गरेको पाइन्छ ।
जग्गा तयारी
गहत आफैमा कोसेबालीको पनि रैथाने समूहमा पर्ने भएकोले गहत खेती गर्ने कृषकले गोबर मल बाहेक रसायनिक मल प्रयोग गरेर लगाएको पाइंदैन । माटोमा उपयुक्त चिस्यान नभएमा जग्गालाई हल्का सिँचाई गरि जोत्ने र पाटा लगाउने गर्नु पर्दछ । अन्य कोसेबाली जस्तै गहत लगाउने बेलामा २० के.जी. नाइट्रोजन र ३० के.जी. फोस्फोरस प्रति हेक्टरको दरले हाल्नाले बोटको राम्रो वृद्धि विकास हुने गर्दछ ।
गहत समुन्द्र सतहबाट १८०० मिटरको उचाईसम्म खेती गर्न सकिन्छ । नेपालको पूर्वी तराई क्षेत्र सप्तरी जिल्लामा यसको बढी खेती हुने पाइएता पनि पश्चिम क्षेत्रमा तराईको कैलाली जिल्ला बाहेक अरू जिल्लामा मुसुरो, चना, मुंग, मासको तुलनामा गहत खेती कमै खेती गरेको पाइन्छ । पहाडी क्षेत्रमा दालको रुपमा खेती गर्नको लागि साउनमा लगाइन्छ भने घाँसको लागि मात्र खेती गर्दा असारमा लगाउने गरेको पाइन्छ । भारतको महाराष्ट्रमा हिउँदमा पनि धान खेती पछि गहत लगाउने चलन रहेको छ ।
बाली व्यवस्थापन तथा हेरचाह
गहत छिटो बढ्ने बाली भएको कारणले गर्दा सुरुको अवस्थामा झारपात व्यवस्थापन गर्दा पछि झारपात नियन्त्रण गर्न सजिलो हुन्छ । भारतमा गहत खेती हुने भागहरुमा गहत लगाएको ७२ घण्टा भित्र पेन्डीमिथालिन नामक झारनाशक विषादी ०.७५-१ के.जी. ए.आई. प्रति हेक्टर अथवा ३-४ मि.लिटर प्रति लिटर पानीमा मिसाएर माटो भिज्ने गरि छर्ने र त्यसको २०-२५ दिनमा हातले एक गोडाइ गर्नाले झारपातमा नियन्त्रण हुन्छ भन्ने पाइएको छ । तर नेपालमा हातले झार हटाउने बाहेक रसायनिक विधिबाट झार व्यवस्थापन गर्ने चलन देखिंदैन ।
गहतको कोसा एकै पटक सबै पाक्दैन तर पनि किसानहरुले २-३ पटक कोसा टिप्दा खर्च र समय धेरै लाग्ने हुँदा बोटमा धेरैजसो कोसा खैरो रंगको हुँदा पुरै बोट काटि ३-४ दिन घाममा सुकाएर लौराले चुटेर दाना झार्ने गर्दछन् ।
कोसेबाली अन्तर्गत पर्ने सबै बालीमा भण्डारण पूर्व र भण्डारण गर्दा सावधानी नअपनाउँदा रोग र कीराले नोक्सान गर्दछ । गहत बाली भण्डारण गर्नु पूर्व घाममा ३-४ दिनसम्म राम्ररी सुकाएर चिस्यान ९-१०% कायम गरेर भण्डारण गर्नु पर्दछ । खासगरी दालमा लाग्ने खपटे कीरा र ढुसीबाट सुरक्षित राख स्वस्थ बीउ मात्र छानेर राखु पर्दछ। कीराले नोक्सान गरेको बीउलाई एकै ठाउँमा मिसाउनु हुँदैन, राम्ररी नपाकेको बीउलाई अलगै राखु पर्दछ र दानाको चिस्यान ९-१०% कायम गरि ओभानो ठाउँमा भण्डारण गर्नु पर्दछ । किसान स्तरमा प्रायः माटोको घैटो, बोरामा राखेर भण्डारण गर्ने चलन छ । जुटको बोरा वा अन्य हावा छिर्ने भाँडामा राख्दा बीउले बाहिरी चिस्यान लिई कीरा र रोगले आक्रमण गर्दछ । तसर्थ बीउको सहि भण्डारण गर्न सुपर ग्रेन ब्याग, मेटल ड्रम वा हावा नछिर्ने माटोको भाँडाहरुमा निम, असुरोको सुकाएको पात, बोझो, टिमुर मिसाएर लामो समय राख सकिन्छ । ३-४ महिनामा एक पटक बीउको अवस्था हेरेर घाममा सुकाउनु पर्दछ ।
नेपालमा गहतको जात विकास नभएता पनि उत्पादकत्व केही बढेको देखिन्छ । आ.व. २०७६/७७ को आकडा अनुसार गहतको औसत उत्पादकत्व १०८५ के.जी. प्रति हेक्टर रहेको छ । अनुसन्धानबाट नयाँ जात र उत्पादन प्रविधि प्रसार भएमा गहतको उत्पादन बढाउन सकिन्छ। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेले विगत ३ वर्ष देखि नेपालमा भएका गहतका ७८ ओटा अनुजातहरुको संकलन, वर्गिकरण र अनुसन्धान गरि जात विकास गर्न कार्यक्रम सुरू गरेको छ । किसान स्तरमा प्रति हेक्टर १०८५ के.जी. सम्म उत्पादन रहेको छ भने कोसेबाली अनुसन्धान कार्यक्रममा संलग्न १५ ओटा गहतको अनुसन्धानबाट (७१६ देखि १४६१ के.जी. प्रति हेक्टर) र औसत उत्पादन १०१८ के.जी. प्रति हेक्टर सम्म पाइएको छ । अनुसन्धानबाट अनुजात जस्तै सीओ ३९८७-४, सप्तरी लोकल, सीओ ३९६७, सीओ ३९८७-१ उत्पादनको हिसाबले राम्रो देखिएका छन् ।
रोग किरा व्यवस्थापन
यो भाईरस (शाकाणु) दलहन बालीमा लाग्ने मुख्य रोग हो । पहेंलो छिरबिरे लागेमा बालीको उत्पादनमा कमी आउन सक्छ ।
लक्षण
सुरुमा यो रोग नयाँ कलिलो पातमा कताकतै पहेंलो मिसिएको धब्बा देखिने गर्दछ । विस्तारै पातको हरियोपना घट्दै गएर पहेंलो हुन्छ । धेरै रोग लागेको बोटहरुमा कोसा लाग्दैन र लागेमा पनि साना हुन्छन् । यो भाईरस सेतो कीराको सहायताले रोगी बोटबाट स्वस्थ बोटमा फैलिन्छ ।
व्यवस्थापन
१. खेतबारी सफा राखे ।
२. बीउ छनोट गर्दा स्वस्थ बोटबाट मात्र छान्ने ।
३. रोगको लक्षण देखिनासाथ रोगी बोट उखालेर जलाउने वा गाड्ने ।

यो रोग Macrophomina phaseoli दुसीले लाग्दछ । चिस्यान र सापेक्षित आद्रता धेरै भएको अवस्थामा यो रोग देखिन्छ । माटो वा रोगी बोटको अवशेषमा जीवाणु बस्दछ र उपयुक्त समय र वातावरणमा बालीलाई आक्रमण गर्दछ ।
लक्षण
यो रोग प्रायः कोसा लाग्ने समयमा देखा पर्दछ भने कहिलेकाहीं सुरुको अवस्थामा पनि देख सकिन्छ,
सुरुको अवस्थामा रोग लागेमा माटो मुनि नै रोपेको बीउ कुहिने, बेर्ना कुहिने र मर्ने गर्दछ,
कोसा लाग्ने बेलामा माटोको सतहमा रहेको डाठ सुक्ने, पात सुक्दछ
रोगी बोट कमजोर हुन्छ र पातहरू पहेलिदै जान्छ,
रोगी बोटलाई उखालेर हेर्दा जराको बाहिरी भाग कुहिएर भित्र खैरो रंगको धब्बा देखिन्छ ।
व्यवस्थापन
रोगी बोटको अवशेष हटाउने
खेतबारीमा चिस्यान कम गर्ने
स्वस्थ बीउको प्रयोग गर्ने
गर्मी समयमा गहिरो गरि खेत बारी जोत्ने
गहतमा लाग्ने सेतो धुले ढुसी Sphaerotheca fuliginea भन्ने जीवाणुबाट लाग्दछ । Sphaerotheca का थुप्रै प्रजाति धुले ढुसीका कारक भएता पनि नेपालमा गहतमा लाग्ने धुले ढुसी S.fuliginea बाट लाग्दछ भन्ने कुरा महेश कुमार अधिकारीले २०१४ मा अनुसन्धानको क्रममा पत्ता लगाउनु भएको हो ।
लक्षण
सुरुको अवस्थामा पातमा र पछि कोसामा सेतो मैदा टासिए जस्तो देखिन्छ,
पछि बोट बढ्दै गएपछि सेतो ढाकिएको भाग विस्तारै खैरो रंगको देखिन्छ,
धेरै रोग लागेको अवस्थामा पातहरू कमजोर भई खस्दछन् जसले गर्दा उत्पादनमा असर गर्दछ ।
व्यवस्थापन
खेतबारी सफा राखे, रोगीको अवशेष जलाउने वा गाड्ने
उपयुक्त समयमा बाली लगाउने
बाक्लो गरि बाली नलगाउने

लाहीहरू स-साना, काला हरिया, बोट बिरुवामा टाँसिएर बस्ने बाली बिरुवाका लिखाको रूपमा लिन सकिन्छ । माउ र बच्चा दुवैले कलिला पातहरू, कोपीलाहरू, फूलहरू, कलिला डाँठहरू र कोसाहरूका रस चुसी हानि पुऱ्याउँदछन् । यसको असरले पातहरू बटारिन्छन्, गुजुमुज्ज पर्दछन् र पहेंला हुन्छन् । कलिला मुनाहरू ओइलाउँदछन् । बोटहरूको राम्रो विकास हुन पाउँदैन् । कोसाहरू बटारिन्छन् र तिनमा खस्रा धब्बाहरू देखापर्दछन् । कोसाहरूको राम्रो विकास हुँदैन । लाही कीरा विषाणु (भाईरस) रोग सार्ने कारक तत्व भएकोले पात गुजुमुज्ज पर्ने, पहेंलो हुने लक्षण पनि देखा पर्दछ ।
व्यवस्थापन विधि
- लाहीको बथानलाई मसिनो ब्रसको सहायताले मट्टितेल र पानीको मिश्रण राखिएको भाँडोमा खसाली मार्ने।
- १ लिटर गहुँतमा ४ लिटर पानीका दरले मिसाई पतल्याइएको गहुँतलाई स्प्रेयरले एक हप्ताको फरकमा पात र डाठ राम्ररी भिज्ने गरी छर्कने ।
- निममा आधारित कीटनाशक विषादीहरु, जस्तै' निमको दिउलको झोल वा मार्गोसोम अथवा नीमारिन मध्य कुनै एक ३-५ मि.लि. प्रतिलिटर पानीका दरले मिसाइ बनाएको झोल अपरान्हमा पात र डाँठ राम्ररी भिज्ने गरी प्रयोग गर्ने ।
- लाही लागेको बोटमा बिहानीपख खरानी छर्कनाले लाहीको शरीरमा पानीको मात्रा कम भई मर्दछन् ।
- शिकारी कीरा जस्तै २, ७, ९, १३, थोप्ले खपटेहरू र तिनको बच्चाले लाही खान्छन् । त्यसकारण रसायनिक कीटनाशक विषादीको प्रयोग नगरी यि शिकारी कीराको संरक्षण गरी लाही नियन्त्रण गर्न सकिन्छ ।

सेते कीरा चुसाहा प्रवृतिको सेतो रङ्गको दुई जोडा पखेटा भएका मसिनाकीरा हुन्। चिसो समयमा यिनीहरुको संख्या कम हुन्छ भने तापक्रम बढेको बेला (३०-३५ डि.से.) संख्याहरू वृद्धि भई बोट बिरुवामा नोक्सान गर्दछन् । यस कीराका वयस्क र बच्चाहरू दुबैले पातको तल्लो भागबाट रस चुसेर खान्छन्। फलस्वरुप बिरुवा ओईलाउने, पातहरू पहेंला हुने र बोटहरू रोगाउने गर्दछन् । बोटहरुमा फूल र कोसा कम लाग्दछन् । पातमा च्याप च्याप लाग्ने रस देखिन्छ जसबाट काला ढुसीहरू उम्रन्छन् र बाली उत्पादनमा ह्रास आउँदछ । व्यवस्थापन विधि पहेंलो पासो (Yellow Sticky Trap) को प्रयोग गर्ने । पहेंलो रंगको सतहमा टाँसिने पदार्थ लगाई सेते कीराको वयस्क जमातलाई पासोमा फसाउन सकिन्छ । निमजन्य विषादीहरू जस्तै मार्गोसोम ०.००३५% वा इकोनिम ०.००३५% वा अन्य कुनै निममा आधारित कीटनाशक विषादी ३ देखि ५ मि.लि. प्रति लिटर पानीका दरले मिसाई बनाईएको झोल बिरुवाको पात र डाँठ राम्ररी भिज्ने गरी छर्ने ।
सन्दर्भ सामग्री
लक्ष्मण अर्याल
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम,
भैरहवा, रुपन्देही
रैथाने बालीहरुको खेती प्रविधि
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र
