नेपालमा मासबाली क्षेत्रफल तथा उत्पादनको दृष्टिकोणले दोश्रो महत्वपूर्ण कोसेबालीको रुपमा रहेको छ । करिब २३,०५६ हेक्टर क्षेत्रफलमा मासको खेती भई २०,४४० मे.टन उत्पादन र ८८७ के.जी. प्रति हेक्टर उत्पादकत्व रहेको तथ्याङ्कले देखाउदछ (कृषि विकास मन्त्रालय, २०१९) । विशेषतया यो बाली मध्य पहाडको बेसी, टार तथा उपत्यकामा मकैसँग मिश्रित बाली प्रणालीको रुपमा वा एकल बालीको रुपमा वा धानको आलीमा, भिरालो जग्गामा तथा घर वरिपरि लगाउने प्रचलन छ भने तराईमा प्रायजसो एकल बालीको रुपमा, सडकको किनारतिर र धानको आलीमा लगाईन्छ ।
मासको दाल आम नेपालीको खानाको पहिचान हो र यसबाट २५ प्रतिशत प्रोटिन र प्रचुर मात्रामा पोटासियम पाइन्छ । मासको परिकारहरु सजिलै पच्नुका साथै स्वादिष्ट हुन्छन् । टुसा उमारेर खाइने दानाहरुमा प्रशस्त मात्रामा भिटामिनहरु तथा एमिनो एसिड पाईन्छ । मासबाट मस्यौरा, क्वांटी, रोटी बारा, फुरौला, खिचडी आदि विभिन्न परिकारहरु बनाईन्छन् । मास पशु आहारको रुपमा समेत प्रयोग गरिन्छ । अन्य कोसेबालीले जस्तै मासले वायुमण्डलमा रहेको नाईट्रोजनलाई माटोमा स्थिरीकरण गरी विरुवालाई उपलब्ध गराउने भएकाले यसलाई हरियो मलको रुपमा र भुक्षय रोक्न समेत खेती गरिएको पाइन्छ । श्रोत तथा साधनको कमीले यस बालीको अनुसन्धानमा खासै फड्को मारेको देखिंदैन । खासगरी उन्नत जातहरु सिफारिस नहुनु, पहेंलो छिरविरे रोगको प्रकोप बढ्नु, माटोमा सुक्ष्म तत्वहरु बोरोन, क्याल्सियम, तथा मोलिब्डेनमको कमी हुनु साथै कृषक समक्ष उन्नत खेती प्रविधिको विस्तार हुन नसक्नु तथा खेती गर्दा उन्नत प्रविधि नअपनाउनु आदि मुख्य कारणहरु पर्दछन् । यो बालीको स्थानीय जातहरुमा आवश्यक सुधार गरी नयाँ जातको विकास गरी उत्पादकत्व बढाउन सकेमा खाद्य सुरक्षा तथा दिगो कृषि विकासमा महत्वपूर्ण योगदान दिन सकिने संभावना देखिन्छ ।