परिचय

परिचय 

सिमीको उत्पति दक्षिण अमेरिकाबाट भई विश्वभर फैलिएको अनुमान गरिन्छ जसलाई अंग्रेजिमा Bean भनिन्छ । नेपालको मध्य पहाडी देखि उच्च पहाड र पहाडी भेगमा परापूर्वकाल देखि नै वोसे र हाडे हरियो सिमी खेती गर्दै आएको पाइन्छ साथै खैरो, काली, हल्का पंहेलो, खराने रंगका दाना भएका थाङ्ग्रे र पोर्थे गरि दुई प्रजातिका नामले चिनिन्छ । सिमी पूर्वी जिल्लाहरू धनकुटा, तेह्रथुम, सङ्गुवासभा, पाँचथर, ताप्लेजुङ्ग र इलाममा मानिसहरुले बहुउपयोगी बाली मानेर घरका छेउछाउ, बारीका डिलडिल र मकै बारी भित्र लगाएको पाइन्छ । हालसम्म रैथाने बालीकै अवस्थामा रहेको सिमीको हिरयो कोसा तरकारीको रुपमा र दाना खाजा तथा दालको रुपमा विशेप प्रयोग हुँदै आएको पाइन्छ। इलाम जिल्लामा भने व्यवसायिक खेतीमा केही उन्मोचित जातहरुको प्रयोग बाहेक अधिकांश क्षेत्रहरुमा रैथाने तथा स्थानीय जातहरुको बहुल्यता रहेको पाइन्छ। सिमी खेती परम्परागत तरिकाले थाङ्ग्रे तथा पोर्थे सिमी हिउँद र वर्षा सिजनमा खेती गर्ने चलन रहनुका साथै कम वर्षा हुने, सिञ्चित र असिञ्चित क्षेत्र दुवैमा गर्ने गरेको पाइन्छ । यस बालीको खेती प्रणाली परम्परागत नै भएको हुँदा यसको उत्पादन कम छ । साथै उत्पादन भएको सिमीले बजार भाउ कम पाउने हुँदा यस बालीले ओगटेको क्षेत्रफल अरू बाली भन्दा न्युन रहेको स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ। उत्पादित सिमीको बजार र उचित मूल्य सुनिश्चित भएमा इलामका स्थानीय कृषकहरूमा थप क्षेत्रफल विस्तार र उत्पादन गर्ने सोच रहेको पाइयो । त्यसैले सिमी खेतीलाई स्थायित्व दिन आधुनिक प्रविधि प्रयोग गरी जैविक विविधता र यस प्रजातिको संरक्षण एवम सम्बर्द्धन गर्ने हेतुले संघीय सरकार र स्थानीय तह इलाम नगरपालिकाले यस खेतीलाई व्यवस्थित गर्दै लगिने सोचका साथ खेती प्रविधिको स्तर उन्नति गर्दै लग्ने सोच बनाएको छ। 
सिमी Phaseolus vulgaris L. वानस्पतिक नामले चिनिने Leguminnosae परिवार भित्र पर्दछ भने कोसेबाली समूह अन्तर्गत पर्ने तरकारी बाली हो। यसका जरामा स-साना गिर्खा रहने हुँदा राइजोवियम ब्याक्टेरियाहरुले वायुमण्डलमा भएको नाइट्रोजन संकलन गरी माटोमा मिसाउने काम गर्ने गर्छ र माटोको उमारशक्ति बढाउँछ। यसमा प्रोटिन, भिटामिन ए, खनिज र कार्बोहाइड्रेट जस्ता पौष्टिक पाइने हुनाले महत्वपूर्ण तरकारी बालीका रुपमा लिइन्छ। सिमीको दानालाई पकाएर दिवा खाजाको रुपमा साथै विभिन्न परिकार जस्तै क्वाटिको रुपमा प्रयोग गर्न सकिन्छ ।

    beans   beans

पौष्टिक तथा विषेशता 

 हरियो कोसा तरकारीको रुपमा र दाना, खाजा तथा दाल खान प्रयोग गर्दा पौष्टिकताको दृष्टिकोणले सिमीलाई निकै महत्वपूर्ण बालीको रुपमा लिइन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन ए, खनिज र कार्बोहाइड्रेट पाइन्छ। आय आर्जनको हिसाबमा प्रति केजि ९० देखि १०० रुपैयाँ हुने भएकोले समयमा नै सिमी बिक्री हुने गर्दछ। सास्कृतिक हिसाबले पनि सिमी भोज भतेर, विवाहमा तरकारी तथा दाल बनाउन प्रयोग गरिन्छ ।

जातहरु

जात

लहरा जाने जात:  स्थानीय जातमा पहेंलो, खैरो, कालो 
लहरा जाने जात :  हिउँदे सिमी, वर्षे सिमी, बाह्रमासे सिमी, केन्तुकी बण्डर, चौमासे, वाईट पल, सेतो गडे, चाईनिज काली गडे 
झागिने जात :  काजु र कन्टेण्डर

आवश्यकता

हावापानी 

सिमी खेती समुन्द्र सतह देखि २२०० उचाई सम्मको न्यानो, हल्का सुख्खा, गर्मी मौसमको पारिलो भौगोलिक क्षेत्रमा २५-३० डिग्री सेल्सियस तापक्रममा वानस्पतिक वृद्धि विकास र १५-२१ डिग्री सेल्सियस तापक्रम भएको मौसमा कोसा लाग्ने भएको हुँदा उक्त हावापानी भएको सिजनमा सिमी खेती गर्न उपयुक्त हुन्छ । धेरै गर्मी, धेरै वर्षा, तुसारो र धेरै चिसो मौसममा यसको खेती गर्न सकिंदैन ।

सिँचाई 

सिमी खेतीमा माटोको चिस्यान अनुसार निम्न सिँचाईको आवश्यकता पर्दछ । 
१. उम्रिने अवस्थामा 
२. झाँगिने अवस्थामा 
३. फल फुल्ने र कलिला कोसा लाग्ने अवस्थामा 
४. फसल पोटिलो र दाना लाग्ने अवस्थामा

माटो 

यसको खेती सबै किसिमको माटोमा गर्न सकिए तापनि राम्रो उत्पादनका लागि प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको ५.६ देखि ६.५ पि.एच. भएको बलौट दोमट वा चिम्टाइलो दोमट माटोमा यसको खेती राम्रो हुन्छ ।

जग्गा तयारी

जग्गाको तयारी 

अगिल्लो बाली लगाएका ठुटा, झारपात हटाएर कृषि यन्त्र, औजार तथा हलोको सहायताले बाली लगाउनु पहिला २ देखि ३ पटक खनजोत गरि डल्ला फुटाइ पहिलो खनजोतको ७-१५ दिन पछि दोस्रो खनजोत गर्ने । दोस्रो खनजोतको समयमा प्रशस्त प्राङ्गारिक मल साथै लगाउनु परेमा आधा भाग युरिया (आधा भाग सिमी झाँगिने बेलामा वा फूल लाग्ने बेलामा) पुरै भाग डि.ए.पी. र पोटास मलको मात्रा मिलाएर छरे लगत्तै दोस्रो र तेस्रो खनजोत गरि माटोलाई डल्ला रहित बनाएर माटो बुर्बराउँदो उर्भरा भुमि बनाउनु पर्दछ ।

मलखाद

सिमी खेतीका लागि आवश्यक मल राम्रोसँग पाकेको गोठे तथा कम्पोष्ट मल १५०० के.जी./रोपनी र रासायनिक मलमा युरिया ४ के.जी., ६ के.जी. डि.ए.पि. र ३ के.जी. पोटास/रोपनीका दरले जमिनको तयारी अवस्थामा लगाउनु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

लगाउने तरिका

 सिमी जातीय विशेषता अनुसार दुई सिजनमा (हिउँद र वर्षा) लागइने हुँदा निम्न अनुसार गरिन्छ ।

beans

 

थाङ्ग्रा निर्माण / लगाउने तरिकाः

 लहरे जातको सिमी लागउँदा ३ मिटर लामो बाँसको भाटा बनाई सिमी उमेर दुई पात र बीचबाट पलाएको ५ से.मी. लामो लहरा भएपछि दुरी मिलाएर सिमी रोपेको बिच बिचमा गाडेर थाग्रा दिनुपर्दछ। यसको अलावा सिमी रोपेको लाइनमा लामो किला गाडी डोरीको सहायताले थाङ्ग्रा लगाउने प्रविधि पनि पाइन्छ ।

गोडमेल

सिमी खेती गर्दा बिरुवा उम्रेको करिब ४५ दिन पछि देखिएका अनावश्यक झारपात हटाउनु पर्छ र समय समयमा देखिएका झारपातहरू. हटाइ गोडमेल गरि रहनु पर्दछ।

रोग किरा व्यवस्थापन

रातो कमिला

क्षतिको प्रकारः बिरुवालाई उखेलेर हेर्दा जरा जरा कोतरेको साथै जरा ठुटो बनाएको र कमिलको गोलो रहेको देखिन्छ । 
रोकथाम तथा व्यवस्थापन 

  1. टर्रो, पिरो, तितो वनस्पतिजन्य निर्मित झोलमोल बनाई १ लिटर झोल मलमा ६-८ लिटर पानी मिसाई जरा भिज्ने गरी लगाउने र ७/७ दिनको अन्तरमा दोहोऱ्याउने । 
  2. बीउ रोपेसँगै असुरो हात्तिबारका टुक्रा बनाई बीउ रोपेसँगै लगाउने ।

beans    beans

लाही कीरा

 लाहीको माउ र बच्चाले कलिला मुन्टा र पातको तल्लो सतहमा बसेर विरुवको रस चुस्दछ र पात पहेंलो भएर गुजमुज परेको हुन्छ । 
रोकथाम तथा व्यवस्थापन 

  1. प्राकृतिक शत्रु जस्तै लेडिबर्ड बिटल र/वा जालिदार पखेटा भएको कीरा प्रयोग गर्ने 
  2. पहेंली पासोको प्रयोग गर्ने 
  3. लाही देखिएमा डाइमेथोएट ३० (रोगर) विषादी १ एम.एल./ लिटर पानीमा मिसाइ छर्ने ।

beans  beans

फेद कटुवा 

बिरुवाको फेद र माटोको सतहको भागमा रहेको बिरुवाको फेद रातको समयमा काटेर ढलाई दिन्छ । 
रोकथाम तथा व्यवस्थापन 

  1. टर्रो, पिरो, तितो वनस्पतिजन्य निर्मित झोलमोल बनाई १ लिटर झोल मलमा ६-८ लिटर पानी मिसाइ जरा भिज्ने गरी लगाउने र ७/७ दिनको अन्तरमा दोहोऱ्याउने, 
  2. बीउ रोपेसँगै असुरो हात्तिबारका टुक्रा बनाइ बीउ रोपेसँगै लगाउने, 
beans

 

Anthracnose Colletotrichum lindemuthianum 

सुरुमा पात तथा कोसामा हल्का खैरा थोप्ला देखिनु साथै पछि गाढा खैरो भइ बिचमा कालो खाल्टो परेको देखिन्छ । 
रोकथाम विधि 

  1. क्याप्टन ५०% WP विषादीले उपचार गर्ने, 
  2. रोगको लक्षण देखा पर्नासाथ कपर अक्सिक्लोराइड ५०% WP वा मेन्कोजेव ४५%/७५% ३ ग्राम प्रति लिटर पानीमा मिसाइ ७/७ दिनको फरकमा ३ पटक छर्ने
beans
सिन्दुरे रोग (Rust) 

सुरुमा पातहरुमा मसिना झन्डै सेता फोकाहरू देखिएपछि ति फोकाहरू खैरो रंगमा परिणत भई फुटेर धुलो निस्कन्छ। रोग लागेका पातहरू सुकेर बोट चाँडै मर्छ। 
रोकथाम विधि 

  1. खेतबारीलाई सफा राखे । 
  2. सल्फरयुक्त विषादी Sulpher 80% WP ३ ग्राम प्रति लिटर पानामा मिसाइ छर्ने, 
  3. बीउ उत्पादन भए यो रोग देखापर्ना साथ गन्धक १ भाग चुन २ भागको अनुपातमा मिसाएर मलमलको कपडामा पोको पारेर छर्ने ।
beans

   

खराने रोग (Powdery mildew) 

रोग लाग्ने बोटका शुरुमा पातमा मसिना फिक्का रङ्गकामा बदलिएको देखिन्छ पछि पातको माथिल्लो भागमा सेतो धुलो ढुसी उम्रेको देखिन्छ र रोगको प्रकोप बढ्‌दै गएपछि पात डाँठको सबैमा ढाकिन्छ। यस्तो रोग लागेको कोसामा भण्डारण गरेमा कोसा/दाना छिटो कुहिन्छ । 
रोकथाम विधि 

  1. खेतबारीलाई सफा राखे, 
  2. बीउ उत्पादन भए यो रोग देखापर्ना साथ गन्धक १ भाग चुन २ भागको अनुपातमा मिसाएर मलमलको कपडामा पोको पारेर छर्ने। 
  3. Dinocap 48 EC 0.5 -1 एम.एल. प्रति लीटर पानीमा मिसाइ पातहरू पुरै भिज्ने गरि छर्कने ।

   beans   beans

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

कटानी, चुटानी, उत्पादन तथा भण्डारण र प्रशोधन

तरकारीको लागि हरियो सिमी रोपेको ८५-९० दिनमा कोसा टिप्नका लागि तयार हुन्छन् र ५/७दिनको फरकमा टिप्न सकिन्छ। सिमी बोटमै कोसा पहेंलो भएर पाकेपछि कोसा टिपेर, कोसा राम्ररी सुकेपछि चुटेर, केलाएर, सुकाएर, दानामा चिस्यानको मात्रा १०-१२% सम्म हुने गरि वा मसला पिस्ने सिलउटमा दाना राखि लोराले किचाउँदा ३-४ टुक्रा भएमा भण्डारणका लागि उपयुक्त भएको मानिन्छ । यसलाई सिलबन्दि भाँडो, ब्याग वा बट्टाहरुमा राखि आवश्यक अनुसार प्रयोगमा ल्याउन सकिन्छ । सिमी खेती हावापानी, सिजन, जात, माटोको बनावट, बाली व्यवस्थापन, आदिमा निर्भर रहने हुँदा औसत उत्पादन ८०० के.जी. रोपनी उत्पादन लिन सकिन्छ । बीउको लागि सिमी छनौट गर्ने हो भने स्वस्थ बोटहरुबाट पोटिलो, चम्किलो, दानाले पुरै कोसा भरिएको, पहेंलो भएर पाकेको सिमीको बोटबाट कोसा टिप्ने, केलाउने साथै दानामा चिस्यानको मात्रा १०-१२% सम्म हुने गरि सुकाउने र सफा भाँडोमा हावा, कीरा नछिर्ने गरि सिलबन्दि गरेर भण्डारण गर्नुपर्छ र रोप्ने बेलामा खोल्नु पर्दछ। प्रशोधन गरि मूल्य श्रृंखला बढाउन सिमीका विभिन्न परिकार बनाइ दिवा खाजाको रुपमा प्रयोग गर्न सकिन्छ ।

बजारीकरण 

स्थानीय जातको रैथाने बाली भएको कारणले परम्परागत खेती प्रणाली त्यसमा पनि कम उत्पादन दिने बाली भन्ने मानसिकता भएको कारणले पनि सिमीले राम्रो भाउ पाउन सकिरहेको छैन्। किसानले सजिलैसँग बजार भाउ नपाउने, बजार अध्ययन सम्बन्धी ज्ञानको कमी र बजार संजाल प्रणाली एकरुपता नहुनु जस्ता समस्या र चुनौति सामना गर्न नसक्दा सिमी खेतीले राम्रो बजार लिन सकिरहेको देखिन् ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

उपेन्द्र नेपाल 
(कृषि) प्राविधिक सहायक इलाम नगरपालिका

रैथाने बालीहरुको खेती प्रविधि

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र