सिमीको उत्पति दक्षिण अमेरिकाबाट भई विश्वभर फैलिएको अनुमान गरिन्छ जसलाई अंग्रेजिमा Bean भनिन्छ । नेपालको मध्य पहाडी देखि उच्च पहाड र पहाडी भेगमा परापूर्वकाल देखि नै वोसे र हाडे हरियो सिमी खेती गर्दै आएको पाइन्छ साथै खैरो, काली, हल्का पंहेलो, खराने रंगका दाना भएका थाङ्ग्रे र पोर्थे गरि दुई प्रजातिका नामले चिनिन्छ । सिमी पूर्वी जिल्लाहरू धनकुटा, तेह्रथुम, सङ्गुवासभा, पाँचथर, ताप्लेजुङ्ग र इलाममा मानिसहरुले बहुउपयोगी बाली मानेर घरका छेउछाउ, बारीका डिलडिल र मकै बारी भित्र लगाएको पाइन्छ । हालसम्म रैथाने बालीकै अवस्थामा रहेको सिमीको हिरयो कोसा तरकारीको रुपमा र दाना खाजा तथा दालको रुपमा विशेप प्रयोग हुँदै आएको पाइन्छ। इलाम जिल्लामा भने व्यवसायिक खेतीमा केही उन्मोचित जातहरुको प्रयोग बाहेक अधिकांश क्षेत्रहरुमा रैथाने तथा स्थानीय जातहरुको बहुल्यता रहेको पाइन्छ। सिमी खेती परम्परागत तरिकाले थाङ्ग्रे तथा पोर्थे सिमी हिउँद र वर्षा सिजनमा खेती गर्ने चलन रहनुका साथै कम वर्षा हुने, सिञ्चित र असिञ्चित क्षेत्र दुवैमा गर्ने गरेको पाइन्छ । यस बालीको खेती प्रणाली परम्परागत नै भएको हुँदा यसको उत्पादन कम छ । साथै उत्पादन भएको सिमीले बजार भाउ कम पाउने हुँदा यस बालीले ओगटेको क्षेत्रफल अरू बाली भन्दा न्युन रहेको स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ। उत्पादित सिमीको बजार र उचित मूल्य सुनिश्चित भएमा इलामका स्थानीय कृषकहरूमा थप क्षेत्रफल विस्तार र उत्पादन गर्ने सोच रहेको पाइयो । त्यसैले सिमी खेतीलाई स्थायित्व दिन आधुनिक प्रविधि प्रयोग गरी जैविक विविधता र यस प्रजातिको संरक्षण एवम सम्बर्द्धन गर्ने हेतुले संघीय सरकार र स्थानीय तह इलाम नगरपालिकाले यस खेतीलाई व्यवस्थित गर्दै लगिने सोचका साथ खेती प्रविधिको स्तर उन्नति गर्दै लग्ने सोच बनाएको छ।
सिमी Phaseolus vulgaris L. वानस्पतिक नामले चिनिने Leguminnosae परिवार भित्र पर्दछ भने कोसेबाली समूह अन्तर्गत पर्ने तरकारी बाली हो। यसका जरामा स-साना गिर्खा रहने हुँदा राइजोवियम ब्याक्टेरियाहरुले वायुमण्डलमा भएको नाइट्रोजन संकलन गरी माटोमा मिसाउने काम गर्ने गर्छ र माटोको उमारशक्ति बढाउँछ। यसमा प्रोटिन, भिटामिन ए, खनिज र कार्बोहाइड्रेट जस्ता पौष्टिक पाइने हुनाले महत्वपूर्ण तरकारी बालीका रुपमा लिइन्छ। सिमीको दानालाई पकाएर दिवा खाजाको रुपमा साथै विभिन्न परिकार जस्तै क्वाटिको रुपमा प्रयोग गर्न सकिन्छ ।






