नेपाललाई कृषि प्रधान देशको रूपमा चिनाइएको मात्र नभई हाल २ करोड ६६ लाख नेपाली जनतामध्ये करिब दुई तिहाई कृषि पेशाबाट नै जीवन गुजारा गरिरहेका छन् । यो २१ औं शताब्दीको वैज्ञानिक युगमा कृषिमा आधारित दुनियाँमा घट्दै गइरहेका बेला समेत नेपालमा कृषिनिर्भरता ज्यूँका त्युँ छ तर विश्वमा चुलिँदै गएको खाद्य संकट कम गर्ने हिसाबले भने यो सुखद अवसर पनि हो । अरब देशहरूले तेल बिक्री गरेर समृद्घ भए झैं नेपालले पनि तरकारी, लगायत अन्य कृषिजन्य उपजको बिक्रीबाट देश सम्पन्न हुन सक्छ तर विडम्बना नै मान्नुपर्छ हालका दिनहरूमा नेपालले आफ्नै जनतालाई खुवाउन समेत विभिन्न कृषि वस्तु आयात गर्ने क्रम बढ्दो छ । खाद्यान्न, तरकारी, माछा, मासु, दूध, फलफूल, मसला मात्र हैन हाल अधिकांश बालीका बीउका लागि पनि देश परनिर्भर भएको कटु यथार्थ छ र यसले भविष्यमा निकै ठूलो कृषि दुर्घटनासमेत निम्त्याउन सक्छ । संरचनागत हिसाबले कृषिका लागि महत्वका साथ कृषिका सबै पक्षमा ध्यान पुग्ने गरी बिकास पनि नभएको हैन । कृषि शिक्षा, अनुसन्धान, कृषि प्रसार तथा स्रोतकेन्द्रहरूको राम्रो प्रबन्ध हुँदाहुदै पनि देशले कृषिमा आशातीत उन्नति नहुनुमा आम कृषक समुदायमा यिनको प्रभाव ज्यादै न्यून पर्नु वा नपर्नु जस्तै हो । त्यसैले अब कृषकहरूको विद्यमान अवस्थालाई ध्यान पुर्याउँदै व्यावहारीक कृषि पद्धतिलाई मात्र अंगीकार गर्नुको बिकल्प छैन । करिब एक दशकको अनुभवमा केही सफल सिद्घ भएको कार्यक्रमका रूपमा लिइएको कार्यक्रम हो । आई.पी.एम. । यो कार्यक्रम कृषक समुदायहरूबीच धेरै परिचित भैसकेको कार्यक्रम मात्र नभई यो व्यावहारिक, समय सापेक्ष र स्थानीय स्रोतको यथोचित परिचालन हुन सक्ने हिसावले ज्यादै महत्वपूर्ण बन्न सक्छ । यो आई.पी.एम कार्यक्रम कृषक समुदायबीच कृषक पाठशालाका माध्यमबाट जाने र कृषकहरूलाई नै दक्ष बनाउने भएकाले पनि प्रविधि बिस्तार तथा कृषक सशक्तिकरणका क्षेत्रमा समेत यो कोशेढुंगा साबित हुन जानेछ ।
एकीकृत शत्रुजीव व्यवस्थापन
परिचय
विश्वमा आइ. पी. एम. को शुरुवात
- १६ औं शताब्दीमा चीनमा सुन्तलाको कीरा व्यवस्थापन गर्न कमिलाको प्रयोग ।
- १९७२ मा भारत–अमेरिकामा सलह व्यवस्थापनमा मैना कीराको प्रयोग ।
- १९७६ क्यासभामा बन्दाको कीरा व्यवस्थापनमा साना बारुलाको प्रयोग ।
- १९६० मा विकसित राष्ट्रमा आई.पी.एम.को अवधारणा विकास ।
नेपालमा आई.पी.एम.को शुरुवातः
- १९९७ मा यु.एन.डी.पी. र एफ.ए.ओ.बाट कृषक पाठशालाको अवधारणासहित कार्यक्रम शुरुवात ।
- १९९७ मा नेपालमा १० औं पञ्चवर्षीय योजनामा राष्ट्रिय सोच: ए.पी.पी. १९९५ देखि २०१५ । आई.पी.एम. कृषक पाठशालाको शुरुवात ।
- कृषकलाई आइ.पी.एम तालिम दिनुपर्छ भन्ने सोच—फिलिपिन्सबाट शुरुवात कृषक पाठशालाको मोडेल तयार—इन्डोनेसियाबाट
- दक्षिण एसियाली देशहरूमा यु.एन.डी.पी./एफ.ए.ओ. को सहयोगमा कार्यक्रमको शुरुवात
नेपालको सन्दर्भमा आई. पी. एम. कृषक पाठशालाः
- कृषि तथा खाद्य सँगठनको सहयोगमा पहिलो आई.पी.एम. कार्यक्रम धानबालीमा कृषक पाठशालाको अवधारणामा सञ्चालन ।
- आई.पी.एम. मा नेपालको पहिलो सहभागिता कृषि तथा खाद्य सँगठनको क्षेत्रीय कार्यक्रम अन्तर्गत कम्युनिटी आई.पी.एम. धानबालीमा एसियाको पहिलो थियो ।
- नेपालमा पहिलो राष्ट्रिय आई.पी.एम कार्यक्रम सन् २००४ देखि सन् २००७ सम्म संचालन ।
- राष्ट्रिय आई.पी.एम. कार्यक्रमको दोस्रो चरण सन् २००८ देखि सन् २०१३ सम्मका लागि चालु ।
जानकारी
२० भन्दा बढी समूहका भाइरसले कीरामा रोग ल्याउने पत्ता लागेको छ । यिनको प्रभावकारिता यस प्रकार छ :
- यिनीहरूले ४०० कीराका प्रजातिमा आक्रमण गर्छन् । पुतली जातका ३४ परिवारमा, बारुला परिवारमा, झिँगा परिवारमा र केही अन्यमा ।
- यिनीहरूले आक्रमण गरेपछि कीरामा जन्डिस रोग लाग्छ ।
- खास गरेर मुखबाट पस्छन् र सास फेर्ने छिद्र, टोक्दा वा परजीवीबाट शरीरमा पस्छन् ।
- शरीरमा पसेपछि मर्ने नमर्ने कारण लार्भाको उमेर, भाइरसको मात्रा, सकृय तत्व, छर्ने समय, तापक्रम र बिरुवामा भर पर्दछ ।
- भाइरसले लार्भाको पेटको बीच भागमा असर पार्दछ र मर्ने बेलामा रुखमा झुन्डिएर ७२ घण्टाभित्रमा मर्दछ।
नेमाटोड्सहरू साधारण जुकाजस्तै कुनै रङ्ग नभएका, खण्ड नछुट्टिएका, हात खुट्टाजस्ता कुनै भाग नभएका, जताततैका माटो भित्र रहने परजीवी र निश्चित जीवमा रोग ल्याउने सूक्ष्म जीवहरू हुन् । परजीवी नेमाटोडले बोटबिरूवामा अनेकौं प्रकारका रोग ल्याउँछन् । विशेषगरी बिरुवाको जरामा गाँठा बनाई, पातमा बसी वा दानामा रहेर रस चुसी खानाले पात साना हुने, नबढ्ने, पहेंलिने वा गुणस्तरहीन हुने हुन्छन् र उत्पादनमा ठूलो ह्रास ल्याइदिन्छन् । फाइदाजनक नेमाटोडहरूले ब्याक्टेरियासँगको सम्बन्धद्वारा कीराहरूलाई आक्रमण गर्दछन् । यस्ता नेमाटोडहरूको प्रयोगले कुनै अन्य जीवलाई असर पारेको पाइएको छैन । यिनीहरू रासायनिक विषादी बी.टी. भन्दा सुरक्षित छन् र छर्दा कुनै सुरक्षित उपाय अपनाउनु पर्दैन।
नेमाटोडहरू कसरी कीराका शरीरमा पस्छन्
नेमाटोडहरूको वृद्धिका ६ अवस्थाहरू (फुल, ४ जुभेनाइल र वयस्क) हुन्छन् । वयस्कले आफ्नो जीवनकाल परजीवी भएर कीराको शरीरभित्र बिताउँछ । यस्ता नेमाटोडहरूका तेस्रो जुभेनाइल अवस्थामा माटोभित्रको पानी वा छिद्रमा हुन्छन् । माटोमा भएका कीराले जब श्वास फेर्न थाल्छन् त्यसबेला नेमाटोड्सहरू कीराको मुख, गुदद्वार वा हावा छिर्ने प्वालबाट शरीरमा पस्दछन् र चाँडै शरीरमा फैलिन्छन् । जब नेमाटोड शरिरभित्र पस्छ त्यसले आफ्नो गुदद्वारबाट ब्याक्टेरिया निकाल्दछ र त्यसैले कीरा एक–दुई दिन भित्रमा मार्दछन् । शरीरमा ब्याक्टेरियाले परिवर्तन गरेको खाना यी नेमाटोडहरूले खाइदिन्छन् र दुई हप्ताभित्रै नेमाटोडका धेरै वंश निस्कन्छन् । एक कीराबाट ३५०,००० नेमाटोड १० देखि १५ दिनमा निस्कन्छन् । नेमाटोडहरूले जब ढुसी र ब्याक्टेरिया खान्छन् तब त्यसबाट एमोनिया निस्कन्छ
बाली संरक्षण
बाली बिरुवाहरूमा क्षति गर्ने रोग–कीराहरूबाट अथवा बाली बिरुवाका शत्रुजीवहरूबाट बालीलाई जोगाई सुरक्षित रूपमा बालीको उत्पादन लिनु नै बाली संरक्षण हो । यसरी बालीका शत्रु जीवहरूवाट बालीलाई जोगाउने विभिन्न तरिकाहरू छन् । त्यस्ता तरिकाको एकीकृत रूपमा प्रयोग गरिएमा वातावरण र मानव स्वास्थ्यका लागि उपयुक्त हुने हुनाले यसका लागि बाली संरक्षणमा आई.पी.एम. पद्धति महत्वपूर्ण मानिन्छ ।
आई.पी.एम.
यो अंग्रेजी IPM अक्षरहरू Integrated Pest Management को छोटो रूप हो र यसलाई नेपाली छोटो रूपमा देख्न पाइन्छ र त्यसरी नै प्रख्यात पनि छ । यसको नेपालीमा पूरा अर्थ भने “एकीकृत शत्रु जीव व्यवस्थापन” हो । यो आई. पी. एम. आफैमा बाली संरक्षण गर्ने विधि नभएर बाली संरक्षण गर्ने हरेक र उपयुक्त तरिकाहरूको सँगालो हो । आई.पी.एम अर्थात् एकीकृत शत्रु जीव व्यवस्थापन भन्नाले आर्थिक रूपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट दीगो हुने विधिहरूको छनोट गरी बाली उत्पादनमा आइपर्ने नानाथरीका जैविक र अजैविक समस्याको व्यवस्थापन गर्ने तरिकालाई एकीकृत बाली संरक्षण भनिन्छ ।
अझ यसलाई प्रस्ट पार्दा आई.पी.एम. एउटा बृहत् पर्यावरणसित सम्बन्धित बाली संरक्षण गर्ने पद्धति हो । जसमा बाली बिरुवाका शत्रुहरूको रोकथाम गर्न विभिन्न तरिकाको एकीकृत रूपबाट प्रयोग गरिन्छ । यस पद्धतिले आर्थिक लाभ पुग्ने, वातावरणमा कुप्रभाव नपर्ने र सामाजिक मान्यताहरूलाई नखलबल्याउने किसिमका प्रविधिहरूको छनोट गरी छुट्टाछुट्टै वा एकैपटक एकीकृत रूप उपयोगमा ल्याइन्छ ।
आई. पी. एम. को आवश्यकता
- कृषकका मित्र जीवहरूको पहिचान गरी संरक्षण गर्न ।
- वातावरण संरक्षण गर्न ।
- कीटनाशक विषादीबाट हुने असर कम गर्न ।
- बाली उत्पादन खर्च कम गर्न ।
- दीगो कृषि विकास गर्न ।
बोटबिरुवामा लाग्ने शत्रुजीवको व्यवस्थापनमा प्रविधिको विकास साथसाथै विभिन्न अवधारणा आए खासगरी दोस्रो विश्वयुद्धताका देखि रासायनिक नियन्त्रण विधिले व्यापकता पायो । यसलाई रामवाणको रूपमा प्रयोग गरियो । पछि सन् १९६२ मा वैज्ञानिक रिचल कार्सनले आफ्नो ‘Silent Spring’ मार्फत संसारलाई बिषादीबाट हुन सक्ने क्षतिलाई प्रकाश पारेपछि बिषादीको बिकल्प सोचिन थालियो । यसै क्रममा विभिन्न किसिमका विधि बिकल्पका रूपमा प्रयोग भए । त्यसमा भौतिक विधि, यान्त्रिक विधि, कृषि कर्मबाट व्यवस्थापन, जैविक विधि, शत्रु अवरोधक जातको प्रयोग, फेरोमेन तथा रोग–कीरा व्यवस्थापनको अनुवांशिक विधि आदि पर्दछन् । यिनै प्रयासको फलस्वरूप एकीकृत शत्रुजीव व्यवस्थापनको अवधारणाको विकास भयो । शुरुमा यस अवधारणा अन्तर्गत एकभन्दा बढी विधिको प्रयोग गरी शत्रुहरू व्यवस्थापन गर्ने पक्ष प्रकाशमा आयो । तर हाल आएर यसको परिवर्तित रूप यस्तो रह्यो ।
एकीकृत शत्रुजीव व्यवस्थापन भनेको बाली संरक्षणको त्यो पक्ष हो जस अन्तर्गत पर्यावरणलाई नखल्बल्याई आर्थिक नोक्सान स्तरलाई नबढाई बालीहरूलाई नोक्सान पुर्याउने हानिकारक रोग, कीरा, झारपात, चरा, मुसा आदिको उचित ढंगले व्यवस्थापन गरिन्छ । यसले वातावरणलाई यथोचित ध्यान दिँदै स्थानीय प्राकृतिक स्रोतको परिचालन गरी कृषकको परम्परागत ज्ञानको समुचित प्रयोग गरेर दीगो कृषि विकासमा सघाउ पुर्याउँछ।
एकीकृत शत्रुजीव व्यवस्थापन भन्नाले आर्थिक रूपले न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणबाट दिगो हुने विधिहरूको छनोट गरी व्यवस्थापन गर्ने तरिकालाई एकीकृत बाली संरक्षण भनिन्छ । यो आफैमा बाली संरक्षण गर्ने विधि नभएर बाली संरक्षण गर्ने हरेक र उपयुक्त तरिकाको सँगालो हो । यसका निम्नलिखित सिद्धान्तहरू छन् |
स्वस्थ बिरुवा हुर्काउनु
स्वस्थ बिरुवा हुर्काउनका लागि उपयुक्त जातको छनोट देखि लिएर उक्त बिरुवाको उचित विकासका प्रविधिहरू, जमिनको तयारी, बिरुवा तयार गर्ने, बिरुवा सार्ने, सिंचाइ गर्ने, मलखाद व्यवस्थापन गर्ने, झारपात व्यवस्थापन, रोग–कीराको व्यवस्थापन गर्ने आदि कार्य समयोचित रूपले कृषक स्वयंलाई गर्न सक्ने बनाउने।
बालीनालीको नियमित निरीक्षण गर्नु
आफ्नो खेतबारीको नियमित निरीक्षण अर्थात् एक सिजनको बालीलाई हरेक हप्ता तथा बहुवर्षीय खेतीबालीमा हरेक महिना वा १५ दिनको एकपटक राम्रोसँग नियमित रूपमा निरीक्षण गर्नुपर्दछ । यसरी निरीक्षण गर्दा विगतको निरीक्षणको दिनमा भन्दा के–के फरक पक्षहरू देखा परे, बालीको अवस्था कस्तो रह्यो, शत्रुजीव–मित्र जीवहरूको संख्यामा कस्तो परिवर्तन आयो आदि सम्पूर्ण पक्षमा विस्तारित रूपमा अनुगमन निरीक्षण गरेपछि मात्र कस्तो व्यवस्थापन प्रविधि अपनाउने भन्ने निर्णय लिन सकिन्छ ।
मित्र जीवहरूको संरक्षण गर्नु
आफ्नो खेतबारीमा शत्रुजीवहरूलाई नोक्सान गर्ने जीवहरूको पहिचान गरी तिनीहरूको संरक्षण गर्नु पनि आइ.पी.एम.को एक महत्वपूर्ण सिद्धान्त हो । यस अन्तर्गत १, २ वटा शत्रुजीव खेतबारीमा देखिंदैमा विषादी नछर्ने, यदि छर्नैपर्ने अवस्था हो भने मित्र जीवहरू निरीक्षण गरी तिनीहरूलाई असर नगर्ने खालका विषादीहरू छर्ने ।
कृषक स्वयंलाई दक्ष बनाउनु
आई.पी.एम. को एक महत्वपूर्ण सिद्धान्त कृषक स्वयंलाई दक्ष बनाउनु अर्थात् आफ्नो बालीनालीको बारेमा स्वयंले अनुगमन निरीक्षण गरी उपयुक्त व्यवस्थापनको निर्णय लिंदै जाँदा कृषक स्वयं दक्ष बन्ने हुन्छन् जसले गर्दा सानो कुरामा पनि प्राविधिकहरूको मुख ताकिरहनु पर्दैन साथै आफ्नो खेतको सबभन्दा बढी रेखदेख गर्ने पनि स्वयं कृषक नै हुन्छन् । कृषक स्वयंलाई दक्ष बनाउन सकियो भने मात्र आई.पी.एम.को समयोचित सफल कार्यान्वयन हुन्छ ।
खेती गर्दा विभिन्न तरिका अपनाई हानिकारक जीवको संख्या कम गर्न सकिन्छ, जस्तैः
- जमिनको खनजोत,
- बाली लगाउने समयको हेरफेर,
- रोगकीरा अवरोधक जातहरूको प्रयोग,
- मिस्रित बाली, घुम्ती बाली, मलजलको उचित प्रबन्ध,
- खेतबारीको सरसफाइ आदिबाट पनि हानिकारक जीवहरूको व्यवस्थापन गर्न सकिन्छ ।
- जाली बाट पक्रेर,
- बत्तीको फन्दामा पारेर,
- कीरालाई हातले टिपेर,
- टाँसिने सतहमा फसाएर,
- आकर्षक पदार्थमा आकर्षित गरेर, आदि कीरा नियन्त्रणका प्रमुख तरिकाहरू हुन् ।
नोक्सानी गर्ने कीराहरूलाई विभिन्न प्रकारका आंशिक रसायनहरूको प्रयोग गरी बनाएको चारा वा पासोमा विशेषतः पोथीको गन्ध निकाली भाले कीरालाई आकर्षण गराई मार्ने वा घर, खेत, पशु वा मानिसबाट भगाई टाढा राखी तिनीहरूबाट हुने नोक्सानी कम गर्न सकिन्छ । यस्ता कुनै समूहका पदार्थहरूबाट निस्कने गन्धले वातावरणमा टाढा–टाढासम्म फैलिएर धेरै प्रकारका कीराहरूलाई आकर्षण वा भगाउँदछन् भने कुनै–कुनैले एक मात्र प्रजातिलाई अथवा कुनैले विभिन्न प्रजातिलाई आकर्षण वा भगाउँदछन् । कार्य प्रकृतिको हिसाबले यस्ता रसायनहरूले आकर्षण वा विमुख गराउने, उत्तेजना वा नखाने, बढी उड्ने/नउड्ने वा आफ्नो भइरहेको कृयाकलापमा फरक ल्याउँदछन् ।
आकर्षण जन्य पदार्थहरू
यौनजन्य पदार्थहरू जस्तै हाल विभिन्न ३०० जति कीराका प्रजातिलाई आकर्षण गर्ने यौनजन्य पदार्थहरूका पासोहरू व्यासायिक रूपमा बिक्रीमा आइसकेका छन् । यिनीहरू क्याप्सुल वा विस्तारै गन्ध निस्कने गरी विभिन्न आकारमा राखिएको हुन्छ । यी पासो खेतमा थोरै मात्रामा राखेमा कीराको उपस्थिति छ छैन, के कति छ सो अनुगमन गर्न उपयोगी हुन्छन् भने धेरै कीराका भाले मरेर कीराको उत्पादन कम हुन जान्छ । लहरे तरकारीमा ४ थोपा मालाथियन र ४ थोपा क्यूलियर राखेर बनाइएको पासो १ कठ्ठामा ३ देखि ४ वटा र फलफूलमा ४ थोपा मालाथियन र ४ थोपा मिथायल युजिनल राखेर बनाइएको पासो बोटको आकार हेरी १ वा २ वटा राख्दा नोक्सानी कम हुन्छ ।
तालिका: बजारमा पाइने केही ल्युर र आकर्षण गर्ने पासोहरू
|
क्र सं |
ल्युर |
आकर्षण हुने कीरा |
|
१ |
स्पोडो ल्युर |
सुर्ती पातखाने झुसिलकीरा |
|
२ |
हेली ल्युर |
चनाको फलको गभारो |
|
३ |
पेक्टिनोफोरा ल्युर |
कपासको गभारो |
|
४ |
प्यूटेल्ला ल्युर |
इट्टाबुट्टे पुतली |
|
५ |
चाईलो ल्युर |
उखुको गभारो |
|
६ |
सिर्पोफ्यागा ल्युर |
धानको पहेलो गभारो |
|
७ |
ल्युसिन्वाइड्स ल्युर |
भान्टाको गभारो |
|
८ |
ब्याक्टोसेरा ल्युर |
तरबुजाको फल कुहाउने |
|
९ |
जाइलोट्रिचस ल्युर |
कफीको सेतो गभारो |
|
१० |
ब्याक्टोसेरा ल्युर |
फलफूलको फल कुहाउने औंसा |
प्राकृतिक रोकथाम
यसमा अचानक मौसममा आउने अदलबदल, प्राकृतिक रोकावट, कीराका प्राकृतिक शत्रु, निकास तथा मलखादको असर आदि पर्दछन् । प्रकृतिमा शत्रु तथा मित्रुजीव दुवै पाइन्छन् । यिनीहरूलाई चिन्नु र यिनीहरूबारे जान्नु अति जरुरी हुन्छ । मित्रुजीवको कमीमा शत्रुजीवको संख्या बढ्छ र यिनीहरूबाट बालीमा आर्थिक रूपले क्षति हुन पुग्छ । तसर्थ मित्रुजीवको संख्यालाई कम हुन नदिन यिनीहरूलाई संरक्षण गरी राख्नुपर्दछ ।
तालिका: केही विनाशकारी कीराका प्राकृतिक शत्रुहरू
|
क्र.सं. |
नाम |
ऋास्रित |
प्रभावकारिता |
|
१ |
माकुरा |
पुतली, झिँगा, खपटेहरू, लाही, धमिरा, लार्भा |
छ ठूलाकीरा/लार्भा/दिन खान्छ तर यो उमेर र जातमा भर पर्दछ |
|
२ |
स्त्री स्वभावको खपटे |
लाही |
लार्भाले २०० देखि ३०० लाही खान्छ (जीवन अवधिमा) र एक वयस्कले ५० लाही प्रतिदिन खान्छ |
|
३ |
केराविड विटल (ग्राउन्ड विटल) |
पुतली समूहका लार्भा, चुसाहा कीराहरू र माटोमा बस्ने लार्भाहरू |
लामो दूरीसम्म कार्य गर्छन् । ढुङ्गा मुनि वा सडे–गलेका सामग्री मुनी बस्दछन् । |
|
४ |
कान्छी औंले |
लाही |
४०० लाही/लार्भा खान्छ |
|
५ |
आँखाफोरुवा |
सर्वभक्ष |
धेरै ठूला कीरा/ दिन खान्छ |
|
६ |
बाघे खपटे |
पतेरोका बच्चा |
|
|
७ |
गाईने कीरा |
पुतलीका लार्भा |
|
|
८ |
फट्यांग्रा |
पुतलीका लार्भा |
|
|
९ |
वारुला |
पुतलीका लार्भा |
|
|
१० |
ढुसी |
|
|
|
११ |
परजीवीकरण |
|
|
|
१२ |
ट्राइकोग्रामा |
फुलमा परजीव |
इँटबुट्टे पुतली, चना/गोभेंडाको फलमा प्वाल पार्ने पुतली |
|
१३ |
केटेसिया बारुला |
इँटबुट्टे पुतली र बन्दाको पुतलीको लार्भा |
३५ देखि ५० लार्भा/ दिन |
|
१४ |
ब्याक्टेरिया र विषाणु |
|
|
|
१५ |
ब्याक्टेरियल थुरिन्जिनेनसिस (बी टी) |
पुतलीका लार्भा |
खुल्ला अवस्थामा पनि बारीमा धेरै प्रभावकारी भएको जैबिक तत्व |
|
१६ |
न्यूक्लीयरपोलि हाईड्रोसिस भाईरस (एन पी भी) |
सुर्तीको पुतली र फलमा/कोसामा प्वाल पार्ने पुतलीको लार्भा |
|
आई.पी.एम. मा बढी उपयोगी केही जैविक विधिहरू र उपलब्ध जैविक विषादीबारे जानकारीः
हाल नेपालमा औषत १४२ ग्राम (खास विष) प्रति हेक्टर रासायनिक विषादी प्रयोग हुने देखिन्छ तर बाली र स्थान बिशेष फरक छ । विश्वमा हाल जैविक बिषादीको प्रयोग ४ प्रतिशत जति छ । भारतमा २.८९ प्रतिशत र नेपालमा ०.०४ प्रतिशत मात्र छ (बिषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा, २०६८) ।
जैविक नियन्त्रण विधि
जैविक नियन्त्रणलाई बि
भिन्न संस्थाको उद्देश्य, आवश्यकता र नियम अनुसार फरक रूपले प्रस्तुत गरेको पाइन्छ । प्राकृतिक रूपमा प्राप्त हुने सूक्ष्म जीव जस्तै ढुसी, शाकाणु, विषाणु, जुका, बिरुवा वा बिरुवाजन्य उत्पादनमा कुनै निश्चित किसिमको पदार्थ वा कीरा जसमा शत्रुजीवलाई नियन्त्रण गर्ने वा निष्कृय पार्ने, आकर्षण गरेर फसाउने वा विकर्षण गर्न सक्ने विषालुपनायुक्त विषादीलाई प्रयोग गरी बालीमा लाग्ने रोग तथा कीरा र झारपात नियन्त्रण गर्ने विधिलाई जैविक नियन्त्रण विधि भनिन्छ ।
जैविक नियन्त्रणका प्रकारहरू
शत्रु कीराहरूको व्यवस्थापन गर्न प्रयोग हुने परजीवी, परभक्षी, सिकारी कीरा र प्रतिस्पर्धात्मक जीवहरूको मद्दतले ३ प्रमुख पद्धतिद्धारा व्यवस्थापन गर्न सकिन्छ ।
- परम्परागत जैविक तरिका
- जसमा बाहिरबाट मित्र जीवहरू ल्याइन्छ र छाडिन्छ, जसले गर्दा नोक्सानी गर्ने कीरा कम हुन्छ ।
- समय–समयमा मित्र जीवहरू छाड्ने
- थोरै, पटक–पटक वा एकैपटकमा धेरै यस्ता मित्र जीवहरू छाडेर शत्रुजीवहरूको संख्यामा कमी ल्याउने ।
- संरक्षण
- स्थानीय वातावरणमा पाइने मित्र जीवहरूको संरक्षण गर्न उपयुक्त वासस्थानको प्रबन्ध मिलाउने र उनीहरूलाई असर पार्ने खालका विषादीहरूको प्रयोग नगरी संरक्षण गर्नमा सहयोग गर्ने ।
मित्र जीवहरू
प्राकृतिक रूपमा पाइने त्यस्ता जीवहरू खास गरेर मित्रु कीरा, सुलसुले र सूक्ष्म जीवहरू हुन् । यी प्राकृतिक शत्रु वा मित्र जीवलाई ३ समूहमा विभाजन गर्न सकिन्छ ।
जीवीत जीवहरू
वातावरणमा पाइने जीवित जीवहरूको मद्दतले बालीबिरुवाका रोग, कीरा र झारपात नियन्त्रण गर्न मद्दत पुग्दछ ।
सिकारी कीरा
माउ, बच्चा वा लार्भाले शत्रु जीवका फुल, माउ, बच्चा वा लार्भालाई सिकार गरेर खान्छन् । यिनीहरू सिकार गरी खाने जीव भन्दा ठूला र बलिया हुन्छन् । यिनीहरूमध्ये केही सर्वभक्षी र केही विशेष किसिमलाई मात्र सिकार गरी खाने प्रकृतिका हुन्छन् । जस्तै– माकुरा, बारुलाहरू, जालीदार पखेटा भएको कीरा, आँखा फोरुवा, स्त्री स्वभावका खपटेहरू, घुम्मक झिँगा, बाघेखपटे, गाईने कीरा, जमिनमा रहने खपटे, डाँका झिँगा आदि ।
परजीवी
कुनै परजीवीले शत्रुकीराको फुल, लार्भा वा प्युपामा आफ्नो फुल पारेर तिनलाई खाएर नष्ट गरी आफ्नो वंश वृद्धि गर्दछन् । अर्का प्रकारका परजीवी लार्भा वा माउमा टाँसिएर आश्रय लिई तिनबाट आफ्नो खाना आपूर्ति गरी तिनलाई कमजोर बनाइ आफ्नो वंश बढाउँछन् । यी दुबै खाले परजीवी आश्रय दिने जीवभन्दा साना हुन्छन् । जस्तैः विभिन्न प्रकारका बारुलाहरू, ट्याकिनिड झिँगा, फाइदाजनक सुलसुले, आदि ।
सूक्ष्मजीवहरू
यस समूहमा आँखाले देख्न नसकिने, हामीले खेती गरिएका बालीलाई नोक्सान गर्ने कीरा वा रोगहरूलाई नियन्त्रण गर्न मद्दत गर्दछन् । जस्तैः ढुसी, ब्याक्टेरिया, निमाटोड, भाइरस र प्रोटोजोवा ।
प्राकृतिक रूपमा पाइने पदार्थहरू
- वनस्पतिजन्य विषादी
- सेमियोकेमिकल्स् (आकर्षण गर्ने रसायनहरू)
बालीहरूमा नोक्सान गर्ने विभिन्न प्रकारका शत्रुकीरालाई सूक्ष्मजीवहरूको प्रयोगले नियन्त्रण गर्ने उपायलाई सुक्ष्मजीवद्धारा नियन्त्रण विधि भनिन्छ । यस्ता सूक्ष्मजीवहरू भाइरस, ब्याक्टेरिया, ढुसी, रिकेट्सिया, प्रोटोजोवा र नेमाटोड्सहरू हुन् । यिनीहरू रोगी कीराबाट निकालेर पुनः कीरा मार्नमा प्रयोग गरिन्छ र एकैपटक प्रशस्त छाड्ने वा पटक–पटक छाडेर शत्रु कीराहरूको नियन्त्रण गर्ने काममा सफल भएको पाइएको छ ।
सूक्ष्मजीवको प्रयोग पहिलोपटक सन् १९३८ मा फ्रान्समा सफल भएन र सन् १९४८ मा हुने दूधेरोगको ब्याक्टेरियामा व्यासिलस प्यापिली व्यावसायिक उत्पादन गरेर जापनिज खपटे नियन्त्रण गर्नमा सफल प्रयोग गरियो । सन् १९५० मा युरोपियन देशहरू र सन् १९६२ मा अमेरिकामा ब्याक्टेरिया को उत्पादन गरी पुतली जातका कीराको नियन्त्रण गर्न थालियो ।
मित्र जीवहरूबाट हुने फाइदाहरू
- यिनीहरू प्राकृतिक रूपमा पाइन्छन् ।
- यिनीहरू एकीकृत शत्रुजीव व्यवस्थापनमा ज्यादै प्रभावकारी छन् ।
- यिनीहरूको प्रयोगबाट जैविक कृषि उत्पादन गर्न सकिन्छ ।
- यिनीहरूले निश्चित रोग वा कीराहरूलाई मात्र नियन्त्रण गर्ने भएकाले मानव, पशु स्वास्थ्य र वातावरणमा कुनै असर पार्दैनन् ।
- लामो समयसम्म नियन्त्रण गर्ने सम्भावना देखिन्छ ।
- कीरामा अवरोधक क्षमता वृद्धि हुँदैन साथै नयाँ कीराको प्रकोप हुँदैन ।
नेपालमा पञ्जिकृत जैविक विषादीहरू
- ट्राइकाडर्मा भिरिडी: २ वटा
- नीममा आधारित विषादी: ९ वटा
- विभेरिया वासियाना: ३ वटा
- सिडोमोनास फ्लोरिसेन्स: २ वटा
- मेटाराहीजिम एनिसोपालियी: १ वटा
- भर्टिसेनियम लेकानी: १ वटा
- बी.टी: ४ वटा
- एन.पी.भी.: १ वटा
- ब्युप्रोफेजिन, ल्युफेनुरोन, नोभालुरन जस्ता IGRs / Chitin synthesis inhibitors हरू : ४ वटा
जैविक विषादीका गुणहरू
- जैविक विषादीले शत्रुजीवलाई पूर्णरूपले नमार्ने हुँदा शत्रुजीवको संख्यामा वृद्धि हुन नदिई नियन्त्रित गरी राख्दछ ।
- यी विषादीहरूको दायरा साँगुरो हुन्छ ।
- यस किसिमका विषादीहरू निश्चित शत्रुजीव र तिनीहरूको निश्चित अवस्थामा प्रयोग भएमा मात्र प्रभावकारी हुन्छन् ।
- यिनीहरूको प्रभाव वातावरणमा रासायनिक विषादी जस्तो लामो समय रहँदैन ।
- यिनीहरू वातावरण, मानव स्वास्थ्य लगायत अन्य अलक्षित जीवको लागि तुलनात्मक रूपमा सुरक्षित हुन्छन् ।
- यिनीहरूको प्रयोगबाट शत्रुजीवले विषादी पचाउन सक्ने क्षमता तथा शत्रुजीवको संख्यामा फेरि वृद्धि हुन सक्ने सम्भावना निकै कम रहन्छ ।
- स्थानीय स्तरमा उपलब्ध हुने जैविक विषादीका गुण भएका स्रोतहरूबाट विषादी बनाउन सकिन्छ ।
- वातावरणमा सदियौं देखि बाँच्दै आएका धेरै प्रजातिका जैविक जीवहरू र लाभदायक सूक्ष्म जीवहरू उपलब्ध छन्, जसले बालीनालीमा लाग्ने कीरा, रोगहरू तथा झारपातहरूलाई नियन्त्रित गरीराखेका हुन्छन् ।
सिकारी र परजीवि कीराहरूको प्रयोग
कतिपय कीराहरू जस्तै स्त्री स्वभावको खपटेहरू, गाईने कीराहरू, मेन्टिस आदिले अन्य कीराहरूलाई खान्छन् । अतः यस्ता कीराको संरक्षण गर्नुपर्दछ । कतिपय कीराका फुल, लार्भा र अचल अवस्थामा अन्य परजीवी कीराहरूले आक्रमण गरी तिनका शरीरभित्र फुल पार्दछन् । जसको फलस्वरूप आक्रमण भएको कीराको नाश हुन्छ ।
सूक्ष्म जीवाणुको प्रयोग
कतिपय कीराहरूलाई उपयोगी जस्तै भाइरस जीवाणुहरू, ढुशीजन्य, ब्याक्टेरीया, नेमाटोड सूक्ष्म जीवाणुहरूले पनि आक्रमण गरेर रोग सारी मारिदिन्छन्, केही उदाहरण निम्न छन्
ब्यासिल्लस थुरेञ्जीनेनसिस (बि.टी.)
यो एक किसिमको ब्याक्टेरिया हो । यसलाई छोटकरिमा बि.टी. भनिन्छ । यसलाई धूलोको रूपमा गरी बोटबिरुवामा लाग्ने पुतली प्रयोग समूहका लार्भा नियन्त्रण गर्न प्रयोग गरिन्छ । १ देखि २ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कने ।
एन.पी.भी.(न्यूक्लियस पोलिहाईडोसिस भाईरस)
यी भाइरसले खास गरी पुतलीका लार्भाहरूलाई मार्दछन् । मात्रा २ देखि ३ एम. एल. प्रतिलिटर पानीमा मिसाएर छर्कने ।
हरियोढुसी (मेटाराइजियम एनिसोपलीआई)
यो ढुसीजन्य जीवाणुमा आधारित जैविक विषादी हो । यसलाई जौ को दानामा वा टालकम पाउडरमा उत्पादन गरी माटोमुनि बस्ने लार्भा मार्नलाई प्रयोग गर्न सकिन्छ ।
परिचय
ट्राइकोडर्माहरू ढुसी हुन् । यिनका सबै जात प्रायः माटोमा पाइन्छन् र विभिन्न वासस्थानमा देखिन्छन् । यिनीहरू माटोबाट निकालेर प्रायः कल्चर गर्न सकिने ढुसी हुन् । केही उपजाति बिरूवाको जराको वरिपरि नै झुप्प भएर बस्ने, रोगका जीवाणुलाई खाएर वा कुनै तरिकाले कम गरी उत्पादन बढाउन सहयोग पुर्याउँछन् । तसर्थ यस्ता उपजातहरू माटोमा वा बीउमा कुनै तरिकाबाट मिलाइन्छ वा छरिन्छ । एकपटक यिनीहरू जराको सम्पर्कमा आएपछि झुप्पा बन्दछन् । यदि बीउ उपचारबाट यस्ता उपजातिहरू प्रयोग गरिएको छ भने तिनीहरू जराको एक मिटरको वरपरमा वा माटोको सतहभन्दा तलसम्म प्रयोग गरिएको १८ महिनासम्म उपयोगी संख्यामा नै पाइन्छन् तर कुनै–कुनै उपजातिमा यस्तो क्षमता हुँदैन ।
ट्राइकोडर्माको प्रयोग
यी ढुसीहरू जहाँ पनि मिलेर बस्न सक्ने र आजकल व्यावसायिक रूपले पाइने यी ढुसीहरू तपसिलका विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छन् ।
- जीव नियन्त्रण गर्न
ट्राइकोडर्मा ढुसीहरूलाई विभिन्न रोगका जीवाणुलाई नियन्त्रण गर्ने कार्यमा प्रयोग गरिन्छ । विभिन्न देशमा उत्पादित यी ढुसीहरू विशेषतः माटोबाट सर्ने रोगहरू नियन्त्रण गर्न प्रयोग हुन्छन् । जराको आसपासमा झुप्पामा रहने साथसाथै यिनीहरूले आक्रमण गर्ने, आश्रित हुने अथवा अरू ढुसीबाट पोषक तत्व लिने गर्दछन् । त्यसैले ट्राइकोडर्माका उपजाति राम्रोसँग बढ्ने र हुर्कने हुन्छन् । त्यहाँ प्रशस्त स्वस्थ जराको विकास हुने साथै अन्य ढुसीसँगको सम्पर्कका कारणले जरा एवं बिरूवा बढ्छ । दुवै जैविक नियन्त्रण र बिरूवाको विकास हुने भन्ने सम्बन्धी धेरै अनुसन्धानहरूले यो स्पष्ट पारिसकेका छन् । ट्राइकोडर्माले अन्य ढुसीसँग गर्ने क्रियाकलापहरू हालसम्म पत्ता लगाइएका निम्न प्रकारका छन् :
- बेरिएर रस चुस्न
- रोगसँग प्रतिकार गर्ने क्षमता वृद्धि
- पोषक तत्व र ठाउँसँगको प्रतिस्पर्धा
- अप्ठ्यारो परिस्थिति सहन सक्ने क्षमताको अभिवृद्धि गर्दै जरा र विरूवाको विकास गर्ने
- अकार्बनिकलाई घुलनशील र क्रमबद्ध तरिकाले मिलाएर राख्ने
- अवरोधक क्षमता बढाउने
- बिरुवा बढ्न सहयोग गर्ने
यस ढुसीले जराको विकासमा वृद्धि ल्याई बिरुवा हुर्कन र विकास हुन मद्दत पुर्याउँछभन्ने धेरै अनुसन्धानले स्पष्ट पारिसकेका छन् । केही वर्षअघि गरिएको अनुसन्धानबाट एक प्रजाति (Strain T22) ले मकै, आलङ्कारिक फूलका बिरुवा र घाँसका जरा धेरै र लामा हुने, गहिरो जाने, सुख्खा सहन सक्ने उत्पादन बढी र गुणस्तरीय हुने जातको विकास भईसकेको छ । यस्तै मकैका जराहरू ट्राइकोडर्माले गर्दा बढ्छन् र तिनलाई ४० प्रतिशत नाइट्रोजन मल कम लाग्छ । त्यसकारण यी ढुसीको प्रयोग गर्नाले रासायनिक मलबाट वातावरणमा पर्ने असर पनि कम हुन्छ ।
- बिरुवामा रोगका जीवाणुसँग लड्ने अवस्थाको विकास
- बीउ उम्रन सहयोग गर्ने
- थप तत्वबाट शक्ति प्राप्त गर्ने
ट्राइकोडर्मा ढुसीजन्य जैविक विषादीले माटोजन्य र बीउबाट सर्ने तपसिलका रोगहरू नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
- जरा, डाँठ र फेद कुहिने रोग
- व्याक्टेरियल ब्लाइट
- गानो कुहिने रोग
- पातमा दाग
- बेर्ना सड्ने रोग
- ओइलाउने रोग
- आलु र गोलभेंडाको डडुवा
- लसुन सड्ने रोग
- पातको फेद सड्ने रोग
बीउ उपचार
५ ग्राम प्रतिकेजी बीउका दरले प्रयोग गरिन्छ । ५ ग्राम ट्राइकोडर्मा १५ मिलिलिटर पानीमा वा भातको माडमा मिसाएर १ के.जी. बीउका दरले बीउ उपचार गरिन्छ । यसलाई आधा घण्टाजति छायाँमा सुकाएर राख्ने र त्यसपछि मात्र बीउ रोप्ने ।
- आलुको दाना, अदुवा वा कटिङको उपचार
१० ग्राम ट्राइकोडर्मा १ लिटर पानीमा मिसाउने र सो झोलमा यी वस्तुलाई डुब्ने गरी १५ मिनेटसम्म राख्ने र त्यसपछि मात्र रोप्ने ।
बेर्ना बीउ उपचार
१० ग्राम ट्राइकोडर्माले १३ रोपनीमा रोप्न चाहिने बिरुवालाई उपचार गर्न पुग्दछ । ५ देखि १० ग्राम ट्राइकोडर्मा १ लिटर पानीमा मिसाउने र सो झोलमा १५—२० मिनेटसम्म बेर्नाका जरा ढुब्ने गरी राख्ने र त्यसपछि मात्र बिरुवा रोप्ने ।
नर्सरी बेडको उपचार
२५० ग्राम ट्राइकोडर्माले ४०० वर्ग मिटर जग्गालाई उपचार गर्न पुग्दछ ।
नर्सरी बेडमा ड्रेन्च गर्ने
२५० ग्राम ट्राइकोडर्मा ५० लिटर पानीमा मिसाएको झोलले जमिनमुनि पुर्याएर ४०० वर्ग मिटर जग्गालाई उपचार गर्न पुग्दछ ।
मलमा मिसाएर छर्ने
२५० ग्राम ट्राइकोडर्मा २ के. जी. गाईको गोबरमा वा कम्पोष्ट वा गोबर मलमा राम्ररी मिलाउने र त्यसलाई ४०० वर्गमिटर नर्सरी बेडमा फिँजाएर हल्का सिंचाइ गर्ने ।
खेतमा छर्ने
३०० ग्राम ट्राइकोडर्माले १३ रोपनीमा उपचार गर्न पुग्दछ । ३०० ग्राम ट्राइकोडर्मा ६ के. जी. गाईको गोबरमा वा कम्पोष्ट वा गोबर मलमा राम्ररी मिलाउने र त्यसलाई खेतमा छरेर हल्का सिँचाइ गर्ने । ३० ग्राम ट्राइकोडर्माले ५०० वर्ग मिटर (१ रोपनी) जग्गालाई पुग्ने गरी छर्ने । ३० ग्राम ट्राइकोडर्मा ६ के. जी. गाईको गोबरमा वा कम्पोष्ट वा गोबर मलमा राम्ररी मिलाएर कालो प्लास्टिकले छोपेर ७—१५ दिन राखेर ट्राइकोडर्मा ढुसीको राम्ररी विकास भएपछि मुख्य खेतमा छर्ने ।
हलोको सियोमा वा ड्याङ्मा राख्ने
माथि जस्तै तरिकाले राख्दा आलु, अदुवा, हलेदो र उखु जस्ता बालीमा प्रभावकारी हुन्छ । यो रोपेको ३० दिनपछि वा जब गोडमेल गरिन्छ सो समयमा राख्नुपर्दछ ।
बिरुवाको पातमा छर्ने
५०० ग्राम ट्राइकोडर्माले १३ रोपनीमा जग्गामा लगाएका बिरुवालाई पुग्ने गरी छर्ने । १० ग्राम ट्राइकोडर्मा १५ मिलिलिटर पानीमा मिसाएर लेदो बनाउने र त्यसलाई १.५ लिटर पानीमा राखेर राम्ररी घुलेपछि बिरुवाको सम्पूर्ण भागमा पर्ने गरी साँझपख छर्ने ।
बी. टी. ब्याक्टेरिया अंग्रेजी शब्द Bacillus thurengensis (bt) लाई छोटकरीमा बी.टी भनिएको हो । ब्याक्टेरिया वा जीवाणुहरू आँखाले देख्न नसकिने सूक्ष्म जीव हुन् । यिनीहरू माटो, पानी र हावामा पाइन्छन् । यिनको प्रयोग गरेर पनि माटोजन्य रोगहरू र केही कीराहरूको व्यवस्थापन गर्न सकिन्छ । यिनका उत्पादन चीन, भारत, अमेरिका, यूरोप र अष्ट्रेलियामा छ र आजकल यिनको प्रयोग बढ्दो छ । यो धूलो र झोलमा पाइन्छ । आजकल वायोटेक्नोलोजीको सहयोगले मकै, कपास, आलुजस्ता बालीहरूमा लाग्ने कीराहरूको क्षति हुनबाट बच्ने जातको विकास भएको छ ।
बी. टी. ले कसरी काम गर्छ
बिरुवामा छरेको लार्भाले खाएर मुखबाट वा टाँसिएर शरीरको छिद्रबाट भित्र पसेपछि बी.टी. पेटमा पुगेर बी. टी. को टुक्राले पी. एच. बढाउने, खान छाड्ने, हलचल नगर्ने, पेटको भित्री भाग फुटाई पानी निस्कन्छ र अन्त्यमा मर्दछ तर त्यस ले माउ कीरालाई मार्दैन । तसर्थ बी. टी. छर्नुपूर्व कुन कीराको लागि छर्ने र त्यो कीरा कुन अवस्थामा छ सो जान्न अति आवश्यक छ । बी.टी. कीराका पहिलो र दोस्रो लार्भा अवस्थामा बिहान बेलुकाको समयमा छर्दा प्रभावकारी हुन्छ ।
विषादीबाट वातावरण र जनस्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्ने क्षेत्रमा प्राङ्गारिक खेती गर्ने र सुक्ष्म जीवहरूको प्रयोग गर्ने क्रम क्रमशः बढ्दो भएकाले बी. टी को उत्पादन चीन, भारत, अमेरिका, यूरोप र अस्ट्रेलियामा छन् र आजकल प्रयोग बढ्दो छ । यो धूलो र झोल दुवैमा पाइन्छ । आजकल वायोटेक्नोलोजीको सहयोगले मकै, कपास, आलुजस्ता बालीहरूमा लाग्ने कीराहरूको क्षति हुनबाट बच्ने जातको विकास भएको छ ।
परिचय
विगत केही दशक देखि कृषिमा भएको व्यावसायीकरणका साथसाथै बढी मात्रामा प्रयोग हुँदै आएको विषादीले निम्त्याएको समस्या तथा भयावह अवस्थालाई मध्यनजर राखी कृषिका वैज्ञानिकहरूले रोग कीरा नियन्त्रण गर्न वैकल्पिक उपायहरूको व्यापक रूपमा खोजी गर्दै आएका छन् । यसै सिलसिलामा पर्यावरणलाई नबिगारी कृषकका शत्रुजीवहरूलाई (रोग, कीरा, जुका, सुलसुले आदि) तथा बोटबिरुवालाई आवश्यक खाद्यतत्व समेत उपलब्धतामा सहयोग पु¥याउने हाल विश्वव्यापी रूपमा विषादीको विकल्पका रूपमा प्रचलनमा आएको जैविक प्रविधि एक भरपर्दो उपायको रूपमा आएको छ । हुनत मानिसको दैनिक जीवनमा जैविक प्रविधिबाट उत्पादित अनेकौं प्रकारका खाद्यतत्वहरू, औषधि तथा विविध सरसामानहरूको प्रयोग दिनहुँ बढ्दै गएको छ । जैविक प्रविधिबाट औषधि उत्पादनको शुरुवात सन् १९२८ मा स्कट्ल्याण्डका वैज्ञानिक अलेकज्याण्डर फ्लेमिङ्गले पेनेसिलिन ढुसीको आविष्कार गरेपछि, ब्याक्टेरिया मार्ने एन्टिबायोटिक औषधिको पहिलोपटक मानिस तथा अन्य जनावरहरूको विभिन्न रोगहरू निको पार्ने औषधिको विकास भएको पाइन्छ ।
जैविक प्रविधिको प्रयोगलाई दुई तरिकाबाट विभाजन गर्न सकिन्छ
- परम्परागत जैविक प्रविधि तथा
- आधुनिक जैविक प्रविधि
नेपालमा परम्परागत जैविक प्रविधिको परापूर्व काल देखि नै प्रयोग हुँदै आएको छ । विशेषगरी खाद्यपदार्थहरूमा अन्नबाट जाँड रक्सी, दूधबाट दही, चीज, छुर्पी, फलफूल तथा तरकारीबाट अचार, सिन्की, गुन्द्रुक आदि बनाउने धेरै पुराना प्रविधिहरू हुन जुन परापूर्वकाल देखि नै प्रचलनमा रहेको छ । त्यस्तै कृषिमा प्रयोग हुने जैविक मल, कम्पोष्ट मल, गडेउले मल, एजोला, राईजोबियम, एजोटोब्याक्टर, माईकोराईजा, ट्राईकोडर्मा आदिको प्रयोग पनि नेपालमा धेरै पहिले देखि नै हुँदै आएको छ । यसरी नै कृषिमा प्रयोग हुने परम्परागत जैविक विषादीहरूमा बोझो, निम, अँसुरो, तीतेपाती आदिको प्रयोग पनि धेरै पहिले देखि प्रचलनमा आएको पाइन्छ । यी बाहेक हाल नेपालका ग्रामीण क्षेत्रमा प्रयोगमा आएको गोबर ग्यास (Biogas) एक प्रमुख जैविक प्रविधिको प्रयोगको ज्वलन्त उदाहरण हो । आधुनिक जैविक प्रविधिको प्रयोगको भने नेपालमा हालसम्म पनि सन्तोषजनक रूपमा विकास हुन सकिरहेको छैन । आधुनिक जैविक प्रविधि अन्तर्गत हाल नेपालमा कृषिसँग सम्बन्धित प्रयोगमा तन्तु प्रविधिबाट (tissue culture) भाइरसरहित बिरुवाको उत्पादन (आलु तथा अन्य बालीहरू) गर्ने बाहेक अन्य खासै कार्यमा व्यावसायिक रूपमा प्रयोगमा ल्याइएको पाइँदैन । आधुनिक जैविक प्रविधिको प्रयोग गरी अन्य देशहरूमा एक प्राणीको कोषमा रहेको आनुवंशिकीबाट (Gene) अर्को प्राणीको कोषमा रहेको आनुवंशिकीमा प्रवेश गराई मानिसका आवश्यकतानुसारका विभिन्न बालीहरूका जातहरूको समेत विकास गरिरहेका छन् जुन प्रविधिलाई (Genetic engineering) भनिन्छ र त्यस्तो प्रविधिबाट विकास गरिएका जातहरूलाई जी.एम.बाली (Genetically Modified Crops) भनिन्छ, जुन प्रविधि विश्वको विकसित देश संयुक्त अधिराज्य अमेरिका लगायत अन्य ११ वटा विकसित देश तथा भारत, चीन लगायत अन्य १२ वटा विकाससील देशहरूले हालसम्म जी.एम. बालीहरू प्रयोगमा ल्याइसकेका छन् । यस प्रकारका जी.एम. बालीहरूमा सर्वप्रथम सुनौलो धान (Golden rice) धेरै प्रचारमा आएको थियो तथा भारतमा कपासमा कीरा नलाग्ने जात जी.एम. कटन (GM Cotton) ले धेरै चर्चा पाएको थियो । यस प्रकार हालसम्म धेरै बालीहरूमा रोग, कीरा, सुख्खा आदि सहन सक्ने जात, खाद्यतत्व, भिटामिन, प्रोटिन आदि बढी हुने, धेरै किसिमका बालीहरूका जातहरू आधुनिक जैविक प्रविधिबाट विकास भइसकेका छन् । यहाँ केही परम्परागत जैविक प्रविधिका बारेमा तल चर्चा गरिएको छ ।
सूक्ष्म जीवाणु ब्याक्टेरिया, ढुसी, एल्गी आदिको प्रयोग नेपालमा शुरु भएको पाइन्छ जसमा राईजोबियम, एजोटोब्याक्टर, ट्राईकोडर्मा आदि मुख्य हुन । यी सूक्ष्म जीवहरूले केही हदसम्म केही बालीहरूमा उपयोगी भएका तथा रोग नियन्त्रण गर्न सहयोगी समेत देखिएका छन् । यसै सिलसिलामा चीनको Hebei Research Institute of Microbiology, China ले विगत १५ वर्ष देखि माटोमा भएको फसफोरस तथा पोटासलाई घुलनशिल बनाई बिरुवालाई उपलब्ध गराउने सूक्ष्म जीवाणु ब्याक्टेरियाको विकास एवं व्यावसायिक उत्पादन गरी विश्वका धेरै मुलुकमा बिक्री गरिरहेको छ तथा नेपाललगायत धेरै देशका कृषि विज्ञहरूलाई वर्षै पिच्छे अन्तर्राष्ट्रिय स्तरको तालिम उपलब्ध गराउँदै आएको छ ।
कृषकका शत्रुजीवहरू नियन्त्रण गर्ने धेरै उपायहरूमध्ये हाल विश्वमा सबैभन्दा बढी चासो, अनुसन्धान तथा प्रयोगमा आएका धेरैवटा उपायमध्ये जैविक तरिकाबाट शत्रुजीवहरू नियन्त्रण गर्ने उपाय प्रमुख बन्दै गएको छ । यस प्रविधिमा शत्रुजीवका प्राकृतिक शत्रुहरूलाई संरक्षण गरिन्छ तथा उपयोगी सूक्ष्म जीवहरूलाई (Bacteria, Fungi, etc.) व्यावसायिक रूपमा उत्पादन गरी शत्रुजीवहरू नियन्त्रण गरिन्छ । साधारणतया यस प्रविधिले वातावरणमा कुनै किसिमको दुस्प्रभाव पार्दैन तथा विषादीरहित कृषि उपज समेत उत्पादन गर्न सहयोग गर्दछ । माटो र बोटबिरुवामा विभिन्न किसिमका रोग, कीराहरू देखा पर्दछन् । यस्तो हुनुमा रासायनिक विषादी तथा मलखादको अत्यधिक प्रयोगको कारणले लाभदायक जीवाणुहरूको मात्रा घट्न गई विभिन्न किसिमका रोग तथा कीराहरू देखा परेको कुरा विभिन्न अध्ययनले देखाएका छन् । विभिन्न प्रकारका सूक्ष्म जीवहरूको प्रयोग गरी विभिन्न देशमा छुट्टाछुट्टै मल तथा रोग नियन्त्रण गर्ने उपायहरू भने विकास भईसकेका भए तापनि एकै उत्पादनबाट सबै प्रकारका समस्या समाधान गर्न सक्ने प्रविधिको भने हालसम्म कतै पाइएको थिएन । यसै तथ्यलाई मनन गरी नेप्लिज फार्मिङ इन्स्टिच्युटका कृषि वैज्ञानिकहरूले लाभदायक जीवाणुहरूको मात्रा बढाई दिगो र व्यावसायिक कृषि प्रणाली व्यवस्थापन तथा वातावरण स्वच्छ राख्नका लागि जीवातु नामक जैविक झोल आविष्कार गरी आधुनिक प्रविधिबाट व्यावसायिक उत्पादन समेत शुरु गरी बजारमा ल्याएको छ । जीवातु नेपालको विभिन्न स्थानमा प्राकृतिक अवस्थामा रहेको बोटबिरुवा तथा माटोको लागि लाभदायक जीवाणुहरूको समूह हो जसमा मुख्यतया Lactic acid bacteria, Azotobacter, Trichoderma, Phosphorus solubilizing bacteria, Potash solubilizing bacteria, Photosynthetic bacteria, Yeast आदि रहेका छन् । यसले बोटबिरुवाहरूको खाद्यतत्व आपूर्ति गर्नुका साथै रोग, कीरा, जुका आदिबाट सरंक्षण गरेको पाइएको छ । लाभका दृष्टिले जीवातुको प्रयोग मुख्यतः दुई किसिमले विभाजन गर्न सकिन्छ कृषि क्षेत्र तथा फोहर व्यवस्थापन क्षेत्र |
हानिकारक रासायनिक बिषादी रहित कृषि उत्पादन बढाउनका लागि खेतबारीमा बिभिन्न किसिमका लाभदायक जीवाणुहरूको यथेष्ट मात्रामा आवश्यकता पर्दछ । यो बिषादी नभएकोले वातावरणलाई नबिगारी स्वच्छ राख्न मद्दत पुर्याउँदछ । जीवातुलाई प्राङ्गारिक मलमा मिसाई झोल मल तयार पारिन्छ जुन बिरुवामा प्रयोग गर्न राम्रो हुन्छ ।
जीवातु झोल मल बनाउने विधि
आवश्यक सामग्री
- १.२५ मिटर लामो ५०० गेजको सेतो प्लास्टिक
- २५ किलोग्राम गोबर मल वा अन्य कुनै प्राङ्गारिक मल
- ५० लिटर सफा पानी
- १ लिटर जीवातु
झोल मल बनाउने विधि
२ फीट गोलो तथा १ फीट गहिरो खाडल पारिलो ठाउँमा खन्ने तथा भित्तो चिल्लो पार्ने, १.२५ मिटर लामु सेतो प्लास्टिक सिट लिने तथा एकातिरको मुख हावापानी नछिर्ने गरी जुटको सुत्लीले बाँध्ने, उक्त खाडलमा माथिको प्लास्टिकको धोक्रो हाल्ने, २५ किलोग्राम गोबर मल उक्त धोक्रोमा हाल्ने तथा १ लिटर जीवातु हाली राम्ररी मोल्ने र ५० लिटर सफा पानी हाली हातैले राम्ररी चलाउने, सिन्का, प्लास्टिक आदिका टुक्राहरू भए हटाउने, उक्त धोक्रो थैलोको माथिको मुख पनि हावा नछिर्ने गरी सुत्लीले बााध्ने, प्रत्येक २ वा ३ दिनमा उक्त धोक्रोथैलोको मुख खोली राम्ररी चलाउने तथा पुनः बाँध्ने, १५ देखि २० दिनमा बाहिरबाटै हरिया देखिन्छ तथा नराम्रो गन्ध नआएमा झोल मल तयार भएको बुझिन्छ । यसैगरी गहुँत संकलन गरी आधा पानी मिसाउने र जीवातु ५० मि.लि. प्रतिलिटरका दरले मिसाई घाम नछिर्ने भाँडोमा छोपिराख्ने । एकदिन बिराएर राम्ररी चलाउने र फेरि छोप्ने । दुई हप्तापछि तीन भाग जीवातु मिसिएको गहुँतमा दश भाग पानी हाली विभिन्न रोग/कीरा रोकथाम अथवा बिरुवाको राम्रो वृद्धिको लागि पातको दुवैपट्टि पर्ने गरी र जरा समेत भिज्ने गरी छरिदिने । त्यस्तै तयारी झोल मल १ भाग लिने र ३ वा ४ भाग पानीमा मिसाउने तथा रोग वा कीरा लागेको वा नलागेको सबै बोटमा छर्ने, रोग वा कीराको अत्यधिक प्रकोप भएमा २ भाग मात्र पानी मिसाई छर्ने, स्प्रेयरले छर्नु अघि राम्ररी कपडाले छान्ने, जरामा सोझै माटो भिज्ने गरी हाल्ने, साताको २ पटक झोल मल हाल्ने, झोल मल कुनै पनि बिरुवामा भिज्ने गरी छर्दा र जरा भिज्ने गरी हाल्दा बिरुवाले खाद्य तत्व पाउनुका साथै रोग कीराबाट पनि बोटबिरुवा सुरक्षित रहनेछ । जीवातु वा जीवातु झोल मल प्रयोग गर्दा कुनै पनि विषादीको प्रयोग गर्नु हुँदैन । झोल मलको प्रयोगले अदुवाको गाना कुहिने रोग, गोलभेंडाको जरामा लाग्ने जुका लगायत अन्य धेरै बालीहरूका रोग तथा कीराहरू नियन्त्रण गरेको पाइएको छ ।
स्वाभाविक रूपमा देशमा बढ्दै गएको मानव बस्तीले गर्दा मानव सृजित फोहोर आदिले गर्दा वातावरण प्रदूषित र दुर्गन्धित हुँदै गएको छ । यस्तो हुनुमा लाभदायक जीवाणुहरूले यथासमयमा यस्ता फोहरहरूलाई decompose गर्न नसक्नुले हो । यसको निदानको लागि पनि आविष्कार गरेको जीवातु प्रयोग पारेको अदुवाको पाना कुहिने रोग गरी समस्याको समाधान गर्न सकिन्छ । यसले निम्न तरिकाबाट फोहर व्यवस्थापन गरी वातावरण स्वच्छ दुर्गन्धरहित राख्दछ । शहरी दुर्गन्ध हटाउन थुप्रिएको फोहरमा (१०० मि.लि. जीवातु प्रतिलिटर पानीमा वा १ लिटर जीवातु १० लिटर पानीमा मिसाई) प्रयोग गरेमा दुर्गन्ध नियन्त्रण हुन जान्छ । फोहर उठाउँदा, ढुवानी गर्दा र फोहर थुपारेको ठाउँमा मात्रा मिलाई जीवातु छरिदिनाले फोहरले दुर्गन्ध फैलाउन पाउँदैन । शहर बासीहरूले आ–आफ्नो चर्पीमा हर्पिक वा फिनेल प्रयोग गरे जस्तै जीवातु प्रयोग गर्ने हो भने चर्पी सफा र दुर्गन्धरहित बनाउन सकिन्छ । तर हर्पिक र फिनेलसँग मिलाउनु हुँदैन । फोहर पानी शुद्धिकरण कार्यमा पनि जीवातुको शक्तिय भूमिका रहने हुनाले चर्पी र ढलमा जीवातु प्रयोग गरिएमा दुर्गन्धित नदीनालाहरूको दुर्गन्ध नियन्त्रण गर्न सकिन्छ । मात्रा मिलाई (१ लिटर जीवातु १९ लिटर पानीमा मिसाई) नकुहिएको गोबर मल/कम्पोष्ट मलमा ठिक्क चिस्यानको मात्रा हुने गरी (मुठ्ठी पार्दा मुठ्ठी पर्ने तर पानी नचुहिने) छरी, मिलाई, घाम र पानी नपर्ने गरी छोपी राखेमा वर्षा/गर्मीमा करिब एक महिनाभित्रै उच्चस्तरको कम्पोष्ट मल तयार हुन्छ । तयार भएको कम्पोष्ट मलमा फेरि मात्रा मिलाई जीवातु ठिक्क चिस्यानको मात्रा हुने गरी छरी, मिलाई, घाम र पानी नपर्ने गरी ३ दिनसम्म छोपेर प्रयोग गरेमा नाइट्रोजन, फस्फोरस, पोटास आदिको उपलब्धता बढ्छ । यस्तो मल खेतबारीमा हालेमा बिरुवालाई चाहिने सबै पौष्टिक तत्वहरूको उपलब्धता बढ्दछ । गोठमा जीवातु छरिदिनाले पशुको मल मूत्रको दुर्गन्ध हट्ने, र मलको गुणस्तर पनि उत्तम हुन्छ । फोहरमा जीवातु छरिदिनाले सड्ने वा गल्ने किसिमका फोहरबाट उच्च गुणस्तरको कम्पोष्ट मल तयार हुन्छ ।
सावधान
रासायनिक विषादीहरूले लाभदायक जीवाणुहरू पनि मार्ने हुनाले जीवातु विषादीसँग मिसाएर प्रयोग गर्न हुँदैन । रासायनीक विषादी प्रयोग गरेको ठाउँमा (१५ दिनपछि) विषादीको असर हटेपछि जीवातुको प्रयोग गर्नु पदर्छ । जीवातु प्रयोग गर्न उपयोग गरिने स्प्रेयर, बाल्टिन आदिमा (रासायनिक पदार्थ प्रयोग भएको भएमा) राम्ररी धोइ पखाली सफा गर्नुपर्दछ अन्यथा जीवातुको असर न्यून हुन्छ ।
बिभिन्न थरिका रासायनिक पदार्थहरू बाली बिरुवा वस्तुभाउ एवं मानिसका बासस्थानमा लाग्ने कतिपय विनाशकारी प्राणीलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ । आज विश्वभरि यिनै पदार्थको व्यापक प्रयोग भएको पाइन्छ । यस्ता रासायनिक पदार्थहरू निम्न अनुसार बिभिन्न समूहमा विभाजन गर्न सकिन्छ ।
- कीटनाशक पदार्थ
- ढुसीनाशक पदार्थ
- ब्याक्टेरियानाशक पदार्थ
- जुकानाशक पदार्थ
- सुलसुलेनाशक पदार्थ
- मुसानाशक पदार्थ
शत्रुजीव (बाली बिरुवामा लाग्ने रोग, कीरा, झारपात) नियन्त्रण गर्न रासायनिक विषादी छर्नाले शत्रुजीव सँगसँगै मित्रुजीवहरू पनि नाश हुन्छन् । शत्रुजीवहरूले बिषादीलाई बिस्तारै पचाउँदै जान्छन् र बिषादी सहने शक्ति बढ्दै जान्छ, अन्त्यमा शत्रुजीवको संख्यामा वृद्धि हुन पुग्दछ । यसरी पटक–पटक विषादीको प्रयोगबाट बाली बिरुवामा लाग्ने रोग–कीरा मात्र नभई वातावरणमा रहेका अन्य घरपालुवा, प्रयोगकर्ता, उपभोगकर्ता, पानीको स्रोत आदि सबैमा यसले नकारात्मक असर गर्दछ । यिनै सबै कुराहरूलाई मध्यनजर गरी रासायनिक विषादीको प्रयोगमा कमी ल्याउन जैविक नियन्त्रणमा जोड दिनुपर्ने हुन्छ ।
यी माथिका बिभिन्न तरिकाहरूलाई चरणबद्ध रूपमा समय र ठाउँ अनुसार उचित रूपमा प्रयोगमा ल्याउनु नै एकीकृत शत्रुजीव व्यवस्थापन भनिन्छ । यसमा कुनै एउटा तरिका मात्रै प्रयोग गरिँदैन । आवश्यकता अनुसार एकभन्दा बढी तरिकाहरू अपनाई वातावरण प्रदूषित हुनबाट बचाउन विशेष ध्यान दिइन्छ ।
एकीकृत तरिकामा विनाशकारी कीराहरूको प्राकृतिक शत्रुहरूको यथासम्भव रक्षा गरिन्छ । कुनै कीराको रोकथाम नगरी नहुने स्थितिमा परजीवी कीरा वा कीरामा रोग फैलाउने जीवाणुहरूको प्रयोग गरिन्छ जसको असर लक्षित गरिएको कीरामा मात्र होस् भन्ने ध्यान दिइन्छ । यस बाहेकका अन्य विभिन्न उपायहरूबाट पनि शत्रुजीवहरूको व्यवस्थापन गर्न नसकिएको खण्डमा मात्र रासायनिक विषादीहरू जसले मानिस, पशुपंक्षी र वातावरणलाई सबैभन्दा कम हानि पु¥याउँछन् त्यस्ता पदार्थको मात्र प्रयोग गर्नुपर्दछ । यो पद्धतीको अन्तिम लक्ष्य नै लगाइएको बालीबाट अधिकतम फाइदा लिनु हो । यो पद्धतिबाट वातावरणलाई लामो अवधिसम्म दूषित नपरी बचाएर राख्न सकिन्छ । प्रकृतिमा रहेका सिकारी कीराहरू, परजीवी कीराहरू र कीरामा रोग फैलाउने सूक्ष्म जीवाणुहरूको यथासम्भव अधिकतम संरक्षण र बाली व्यवस्थापनमा अधिकतम प्रयोगमा आई.पी.एम. पद्धतिले विशेष जोड दिएको पाइन्छ । आई.पी.एम. पद्धति कीराहरूको रोकथामको लागि अति वेश पद्धति मानिएको छ । यसलाई सफल पार्न निम्नानुसारको वैज्ञानिक जानकारी हुनु निकै आवश्यक छ ।
- विभिन्न बालीमा लाग्ने मुख्य कीराहरूको जीवनी, स्वभाव, जलवायुको प्रभाव र फैलावट ।
- कीराहरूको रोकथाम गर्न आवश्यक नपर्ने हदसम्मको कीराहरूको संख्या पत्ता लगाउने ।
- कीराको संख्याको घटबढ गराउने मुख्य प्राकृतिक तत्वहरूबारे अनुभव लिने ।
- विनाशकारी कीराहरूका प्राकृतिक शत्रुको अध्ययन र लेखाजोखा ।
- रोकथामका उपायहरूबाट कीरामा, प्राकृतिक मृत्युका कारणहरूमा र परिवेशमा पर्ने प्रभाव/आघातको अध्ययन गर्ने ।
- लक्षित कीराविरुद्ध मात्र कार्य गर्ने कीटनाशक विषादीहरूको विकास र ज्ञान ।
कानूनी तरिका
कतिपय कीरा एवं रोगहरू कुनै क्षेत्रमा हुन्छन् भने कुनै क्षेत्रमा हुँदैनन् । अतः यिनीहरूको प्रवेशलाई रोक लगाउन जरुरी हुन्छ । यसका लागि कानून बनाएर रोक लगाउनु पर्दछ । जस्तैः प्लाण्ट क्वारेन्टिन कार्यक्रम ।
स्थानीय तरिकाबाट रोकथाम
स्थानीय जडिबुटीको प्रयोग गरेर रोगकीरा नियन्त्रण गर्ने हाम्रो पुरानै तरिका हो यसै तरिकालाई अझ बढी अनुसन्धान गरी प्रचलनमा ल्याउन नितान्त जरुरी छ ।
सन्दर्भ सामग्री
आई. पी. एम. को महत्व र यसको विद्यमान अवस्था
तरकारी खेती प्रविधि
चैत, २०६८
नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा
सिंहदरबार, काठमाडौं नेपाल
Asian Food and Agriculture Cooperation initiative
