नेपालको कृषि प्रणाली निर्वाहमुखीबाट क्रमिक रुपमा व्यवसायिकरण तर्फ रुपान्तरण गर्दै लैजानका लागि कृषि व्यवसायमा संलग्न कृषक, व्यवसायी तथा उद्यमीहरुको आत्मविश्वास वृद्धि गर्न जरुरी छ। कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफनो व्यवसायलाई विस्तार गर्न, लगानी सुरक्षित र जोखिम कम गर्नका लागि इन्स्योरेन्स कम्पनीहरुले कृषकहरुको घरदैलोमा अनुदानका साथ पशु पन्छी तथा कृषि बीमाको कार्यक्रम प्रस्तुत गर्दछन् ।
कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकलाई कृषि व्यवसायतर्फ आकर्षण गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी लगानी बढाउन र लगानी सुरक्षित गर्न आवश्यक भएको छ । यो आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारको शासकीय आर्थिक सुधारको तत्कालिन कार्ययोजना, २०६९ को कृषि क्षेत्र विकास सम्बन्धी बुँदा नं. ११ मा माछा, पशुपन्छी र कृषि उपजको व्यवसायिक उत्पादनमा जोखिम बीमा गरिदिने र सो बीमाको नेपाल सरकारले तोकिदिएको अनुदान समेत प्रदान गर्ने व्यवस्था रहेको छ ।
