आँपको मिलि बग (Mango mealybug)

परिचय

Scientific Name: Drosicha mangiferae /Rastrococcus icerayoides

क्षति गर्ने बालीहरु: आँप

पहिचान

आँपको पात, कलिला डाँठ र फलवाट रस चुसी क्षति पुर्याउने आँपको मिलि वगका माउ पोथी कीरा पखेटा नभएका हुन्छन् । यिनको शरीर नरम चेप्टो, १५ मिमि जति लामो, १० मिमि चौडा र मैन जस्तो पदार्थले ढाकिएको हुन्छ । अन्य मिलि वग भन्दा निकै ठूलो भएकाले यसलाई 'राक्षसी आकारको मिलि वग' वग पनि भनिन्छ। यो कीरा आँपको अलावा आरु, आरुबखडा, स्याउ, नासपाती, मेवा, कटहर, लिची, अनार र कागती जातको फलमा पनि लाग्दछ ।
गर्मी महिना (चैत्र देखि जेठसम्म) मा यस कीराका भालेहरु निस्किन्छन् र पोथीसँग सम्पर्क स्थापना गरेपछि छिट्टै मर्दछन् । पोथीले आँपको मूल स्तम्भको नजिकै माटो भित्र ५ देखि १५ सेन्टिमिटर तल पसेर अण्डा पार्दछन् । अण्डावाट बच्चा हुन २-३ महिना लाग्छ भने अण्डावाट बच्चा हुन २-३ महिना लाग्छ भने यी बच्चा मिलि वगहरु ३ पटक काँचुली फेरेर ३ महिनासम्म बढ्‌दै गइ वयस्क हुन्छन् ।

mangomealybug

 

लक्षण

बच्चाहरु अण्डावाट निस्किने बित्तिकै माटो बाहिर रुखमा विस्तारैचढेर कलिलो डाँठ र पातवाट रस चुस्दछन् र विरुवामा एक प्रकारको गुलियो पदार्थ छाडदछन् । जसमा कालो दुसी लाग्दछ । अत्यधिक आक्रमण भएमा सबै पात, हाँगा, मूल स्तम्भ र भुइमा गुलियो पदार्थले ढाकेको हुन्छ । जसमा हजारौं झिंगा, कमिला र भुसुना झुम्मिन्छन् । यिनको व्यवस्थापन हुन नसके बोटहरु मर्दछन् ।

mangomealybug

 

व्यवस्थापन

• कीरा लागेका बोटबिरुवाहरु एक ठाउँवाट अर्को ठाउँमा नलैजाने
• यी कीरा लागेका आँपका बोट वरिपरी वैशाख, जेठ तिर राम्ररी खनजोत गर्ने ।
• यस कीराका प्राकृतिक शत्रुहरुको संरक्षण गर्ने
• चैत्र, वैशाख महिनामा मसिना बच्चाहरु रुखमा उक्लनलाई रोक्न रोजिन र अन्डीको तेल बराबर मात्रामा मिलाई बनाएको लेप १० सेमि चौडा कागजमा लगाएर रुखको मूल स्तम्भमा टाँसीदिने। यो लेपमा कीरा टाँसीएर मर्दछन् ।
• डाइमेथोएट ३०% इसि १ मिलि प्रति लिटर पानीमा मिसाइ दुइ-दुइ महिनामा छर्ने वा इमिडाक्लोप्रिड १७.८ एसएल ०.२ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।

केराउको कोसाको गबारो (Pea blue butterfly)

परिचय

Scientific Name: Lampides boeticus Linnaeus

क्षति गर्ने बालीहरु: केराउ

पहिचान

नेपालको मधेश र पहाड दुवै भूभागको हावापानीमा पाइने र केराउको कोसालाई अति मन पराउने यस कीरा लाई Pea blue पनि भनिन्छ । पुतलीको शरीर गाढा खैरो रङ्गको हुन्छ । शरीरको लम्बाई १२ मिमि र पखेटा फिजाउदा २८-३२ मिमि चौडाई हुन्छ । शरीरको दुइ छेउ चुच्चिएका यसको लार्भे फिक्का हरियो वा निलो वैजनीरंगको हुन्छ। चेप्टिएको शरीरको चौडाई र लम्बाई क्रमशः ५ मिमि र १० मिमि हुन्छ। यो कीरा केराउ बाहेक सिमी र बोडीमा पनि देखिन्छ ।पोथी पुतलीले पातको कोपिला, अण्डा, र कोसामा अण्डाहरु पार्दछन् । अण्डावाट लार्भा निस्की कोसा भित्र पस्छ र विकसित भइ रहेका केराउहरु खान्छन् । त्यस्तै गरी कोपिला अण्डा भित्र पसी भित्र भित्रै खाइ अण्डालाई नाश गर्छ। अचल अवस्था बोटमा नै बित्छ।

pea

 

लक्षण

लार्भेले कोसा भित्रका कलिला केराउका दाना खाइ दिनाले कोसा रित्तो हुन्छ। कोसामा प्वालहरु हुन्छन् । खोलि हेर्दा भित्र लार्भेले खाइ बचेका केराउका दानाहरु र विष्टाहरु हुन्छन् । दानाहरु खान लायक हुदैनन् ।

pea

 

व्यवस्थापन

• कीरा लागेका कोसा टिपी नष्ट गर्ने
• कोसा भित्र पसिसकेका लार्भेहरुलाई नियन्त्रण गर्न नसकिने हुनाले बोटमा अण्डा पार्दै हिडेका पुतलीहरु देखिना साथ साइपरमेथ्रिन १०% इ सी २ मिलि प्रति लिटर पानीका दरले छर्ने वा
• कीराको प्रकोप बढ्‌दै गएमा क्लोरानट्रानिलिप्रोल १८.५ एस.सी ३ मिलि प्रति १० लिटर पानीका दरले छर्ने ।

ईंटबुट्टे पुतली (Diamondback moth)

परिचय

Scientific Name: Plutella xylostella L.

क्षति गर्ने बालीहरु: तोरी, काउली, वन्दा, ब्रोकाउली, मुला, रायो

पहिचान

नेपालको पहाडी भू-भागमा वर्ष भरी नै देखिने यो सानो पुतलीको शरीरको लम्बाई ८ देखि १० मिमि हुन्छ । यो कीराको पखेटाको फैलावट करीब १५ मिमि हुन्छ। पखेटाहरु कैला भएका यो कीराको माथिल्लो घेरा तर्फ तीनवटा त्रिकोणात्मक फिक्का पहेला दागहरु हुन्छन् । पखेटा जोडी बस्दा ढाडमा स्पष्ट रुपले ईट आकारका दागहरु देखिन्छन् । छिप्पी सकेका लार्भेहरु फिक्का हरियो र ८-१० मिमि लामो हुन्छ। बन्दा, काउली, ब्रोकाउली, मूला, रायो, तोरी आदि वालीमा आक्रमण गरी नोक्सानी गर्छ। पोथी पुतलीले विशेष गरेर पातको माथिल्लो सतहको मुख्य नसा र ठूला नसा संगै रहेका स-साना खोपिल्टाहरुमा अण्डाहरु पार्दछ । अण्डावाट लार्भा हुन सरदर ८-९ दिन लाग्छ भने लार्भाले ४ पटक काँचुली फेर्दै ३६-४३ दिन सम्म लार्भा अवस्थामा रही अचल अवस्थामा जान्छन् जसको अवधि १०-१३ दिनको हुन्छ। त्यस पछि पुतलीहरु निस्किन्छन् । गर्मी याममा भने प्रत्येक अवस्था धेरै नै छोटो अवधिको भइ अति छिटो जीवन चक्र पूरा हुन्छ। वर्ष भरीमा यो कीराको १३ देखि १४ पुस्तासम्म तैयार हुन्छ।

dbm

 

लक्षण

पहिलो अवस्थाका लार्भेहरुले २ दिन सम्म पातलाई कोतरेर बिगार गर्दछन् भने ठूला लार्भेहरुले पात खोसेर खाइ प्वाल बनाउँदछन् । अन्तमा नसा मात्र रहने गरी पात बिगार्दछन् । बेर्ना अवस्थामा आक्रमण भएमा बोटहरु मर्दछन् ।

dbm

 

व्यवस्थापन

• वाली लगाएपछि नभित्राउन्जेल वाली तथा कीराको नियमित अनुगमन गर्ने।
• तरकारी वाली लिइसकेपछी बाँकी रहेका बोट र पातलाई नष्ट गर्ने,
• बोटहरुमा छिप्पिएका पातहरुमा रहेका अचल अवस्थाका कीराहरुलाई जम्मा गरी नष्ट गर्ने।
• काउली बन्दा वाली संगसंगै गोलभेडा रोप्दा यसको पातवाट निस्किने गन्धले पुतलीले अण्डा पार्न रुचाउदैन ।
• प्राकृतिक शत्रुहरु जस्तैः मसिना बारुला, माकुरा, चरा तथा शिकारी कमिला कीराहरुको संरक्षण गर्ने ।
• डी.बि.एम. ल्यूर प्रयोग गरी बनाइएको मोहिनी पासो प्रति रोपनी ५ वटा प्रयोग गर्ने।
• ब्युभेरिया बेसियाना नामक जैविक ३-५ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।
• साईपरमेथ्रिन १०% इसि २ मिलि प्रति लिटर पानीका दरले छर्ने वा
• इमामेक्टिन बेन्जोइट ५% झोल बिषादी ०.५ ग्राम प्रति लिटर पानीका दरले छर्ने वा कीराको प्रकोप बढ्दै गएमा क्लोरानट्रानिलिप्रोल १८.५ एससि १ मिलि प्रति १० लिटर पानीका दरले छर्ने ।

पात खन्ने कीरा ( Citrus Leaf miner)

परिचय

Scientific Name: Phyllocnistis citrella

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

पुतली वर्गमा पर्ने यो कीराले खासगरी नर्सरीका कलिला बिरुवाहरु र वयस्क बोटको नयाँ पालुवाहरुमा आक्रमण गर्दछ । कीराले क्षति गरेको पातमा बाङ्गङ्गाटिङ्गा सुरुङ्ग देखिन्छ, पातहरु खुम्चने, पहेंलिने र झर्ने हुन्छन् ।

citrus leaf miner  3

 

व्यवस्थापन
  • कीरा संक्रमित पातहरुलाई संकलन गरी नष्ट गर्ने। 
  • विभिन्न विषादीको प्रयोगबाट यसलाई नियन्त्रण गरिन्छ । 
  • निमजन्य विषादी २-३ मिलि प्रति लिटर पानीमा वा डाईमेथोएट (रोगर) १.५-२ मिलि प्रति लिटर पानीमा वा अन्य दैहिक विषादीको प्रयोगबाट पनि यसको नियन्त्रण गर्न सकिन्छ । 
  • विषादी छर्दा नयाँ पालुवा हुने अवस्थाको बिचार गरि विषादीको मात्रा तय गर्नु पर्दछ ।

धानको खैरो फड्के कीरा (Brown Planthopper)

परिचय

Scientific Name: Nilaparvata lugens

क्षति गर्ने बालीहरु: धान

पहिचान

कुनै हरिया, कुनै सेता र कुनै खैरा किसिमका फुत्त फुत्त उफ्रने किसिमका मसिना कीराहरू हुन्छन् ।

   ph  bph

 

 

लक्षण

धानका विरुवाहरू सुकेर मर्दछन् ।
विरुवाहरू गाँजिन र बढ्न सक्दैनन् ।
धानको बोटमा बाला नलागी पराल जस्तो भई बोट सुकेर जान्छ ।

व्यवस्थापन

१. उपयुक्त जातको छनौट गर्ने । ढिलो लगाईएको भन्दा छिटो लगाईएको र ढिलो पाक्ने भन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाईएको छ।
२. गाँजको घनत्व कम गर्ने । धान रोप्ने समयमा प्रति गाँजमा २-३ वटा भन्दा बढी बेर्नाहरू नरोप्ने
३. नाईट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने
४. समय समयमा गोडमेल तथा सरसफाई गरी कीराको वैकल्पिक आश्रयस्थल नष्ट गर्ने
५. ३–४ दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्नुपर्छ
६. धानखेतको पर्यावरणमा मित्रजीवको संख्या अत्यन्त कम वा शुन्य र शत्रुजीवको संख्या अत्यधिक रहेको समयमा अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने दैहिक बिषादीहरू एसीफेट ७५% एस.पी (एसीफेट, आस्ताफ, लेन्सर) २ मिलि वा वुप्रोफेजिन २५% एस.सी (वुप्रोलोड, डेभिफेजिन) १.५ मिलि वा फिप्रोनिल ५% एससी (रिजेन्ट,स्टाल्कर,डेभिजेन्ट प्लस) २–३ मिलि वा इमिडाक्लाप्रीड १७.८ एस.एल प्रयोग गर्ने

फौजी कीरा (Rice Armyworm)

परिचय

cientific Name: Mythimna Seperata

क्षति गर्ने बालीहरु: धान, मकै, गहुँ

पहिचान

फौजी कीरा एक थरिका मझौला आकारका रात्रीचर पुतली समूहका लार्भे हुन् । यसले मकै वालीको अतिरिक्त गहुँ, धान, तरकारी तथा अन्य वालीहरुमा पनि आक्रमण गर्दछ। फौजको जस्तो ठुलो संख्याले एकसाथ आक्रमण गरी प्रायः सम्पूर्ण भागहरु खाने र अर्को खेतमा पनि एकै साथ आक्रमण गर्ने भएकाले यो कीरालाई फौजी कीरा भनिएको हो । वयस्क पुतलीको रंग सुन्तले खैरो हुन्छ, अघिल्लो पखेटाको बीच भागमा एउटा प्रष्ट सेतो थोप्ला हुन्छ। यो कीराको अण्डावाट लार्भा हुन ७-९ दिन, लार्भावाट प्युपा हुन ९-२९ दिन र प्युपावाट वयस्क हुन १३-२१ दिन लाग्दछ। यसरी सरदर ३९ देखि ५९ दिनमा जीवन चक्र पूरा गर्दछ। एक वर्षमा ३ देखि ४ पुस्तासम्म तयार हुन्छन् ।

aw   l

 

लक्षण

जमिनको सतहमा बसी कलिला बिरुवाको फेद काट्ने, घोगामा प्वाल पार्ने तथा झुण्ड झुण्डमा बसी पातहरु चपाएर खादै एकपछि अर्को खेतमा सर्दै जाने यिनीहरुको प्रमुख क्षतिको रुपमा लिन सकिन्छ । रात्रिचर भएकाले यसको क्षति विशेष गरी रातीमा वा बादलले ढाकेको बेलामा बढी हुने गर्दछ। खडेरी परेको तथा सुख्खा अवस्थामा यसको प्रकोप धेरै हुने गरेको पाइन्छ । यस कीराको धेरै आक्रमण भएको अवस्थामा पूर्णतया नांगिएका बोटहरु देखिन्छ ।

larva

 

व्यवस्थापन
  • न्युक्लियर पोलिहेड्रोसीस भाइरस, सेतो ढुसी जस्ता जैविक व्यवस्थापनका विधि प्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ ।
  • माकुरा, क्याराविड खपटे, पेन्टाटोमीडी चुसाहा फौजी कीराका प्राकृतिक शत्रु हुन् । पूर्ण विकसित लार्भेलाई समेत शिकार गर्ने भएकोले यिनीहरुको संरक्षण गर्नु पर्दछ ।
  •  ट्याकिनीड झिंगा (फौजी कीराको लार्भाको शरीरमा अण्डा पारीदिन्छ जसवाट निस्किने औसाले सो कीरालाई नष्ट गर्ने गर्दछ), सानो कालो बारुलो (फौजी कीराको लार्भाको शरीरमा अण्डा पर्दछ सो लार्भाको मृत्युपछि यसवाट प्युपा निस्केर खोल बनाई नजिकैको भागमा रहेको हुन्छ) जस्ता मित्रजीवहरुको संरक्षण गर्ने ।
  •  वालीको अवशेष नष्ट गर्ने ।
  •  कीरा लागेको अवस्थामा सिँचाई गर्दा यसको क्षति कम गर्न सकिन्छ भने पानी पटाउने व्यवस्था भएको ठाँउमा धान काटेपछि खेतमा २-४ दिनसम्म पानी पटाइदिनाले कीराको सो अवस्था नष्ट हुन्छ । साथै फौजीकीराको लार्भाहरु एक प्लटवाट अर्को प्लटमा सर्दै जाने हुनाले आक्रमण भएको प्लटको वरिपरि कुलेसोमा पानी जमाइदिएमा भौतिक अवरोधका कारण सर्न सक्दैनन् ।
  •  बत्तिको पासो (लाइट ट्रयाप) को प्रयोग गरि वयस्क पुतलीहरुलाई पासोमा पारी मार्ने ।
  •  ब्यासिलस थुरिनजियन्सिस (बि.टि.) २ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने ।
  • डेल्टामेथ्रिन २.८% इसी. १-२ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।

सुन्तलाको रातो कत्ले कीरा (California red scale)

परिचय

Scientific Name: Aonidiella aurantii

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान

सुन्तला जातका विरुवा तथा अन्य धेरै जातका विरुवाहरुमा यो कत्ले कीरा क्षतिको कारकका रुपमा रहेको छ । शरीरको व्यास करीब २ मिलि मिटर सम्म भएका यिनको रङ्ग सुन्तला जातको डाँठको बोक्रा सँग मिल्दो जुल्दो हुने हुनाले कीरा लागेको हत्तपत्त चिन्न पनि सकिदैन ।
भाले कीराहरू उडेर विभिन्न स्थानमा गइ एकै ठाउँमा बसी रहने पोथीसंग समागम पछि पोथीले एक दिनमा २-३ वटाका दरले १००-१५० वटा सम्म मसिना बच्चा ६ देखि ८ हप्ता भित्रमा पैदा गर्दछ । एक वर्षमा २ देखि ५ पुस्ता सम्म निक्लिन्छन् । यी बच्चाले कलिलो डाँठ, पात वा फलमा आफ्नो तिखो सुँड गाडेर त्यहिं बसी रस चुस्दछन् त्यसैले यो अवस्थालाई सेतो टोपी (whitecap) पनि भन्दछन् । रस चुस्ने अवधि समाप्त भए पछि कीराले काँचुली फेर्दछ, फालेको काँचुली कीराको शरीरसंग टाँसिएको हुन्छ त्यो अवस्थामा कीरा रातो रङ्गको देखिन्छ। यो कीराले कतिपय अवस्थामा भालेसंगको सम्पर्क विना अण्डा पारी बच्चाहरु पैदा गर्दछ ।

लक्षण

यो कीराले बिरुवाका जमिन माथिका सबै भाग हाँगा, पात र फलमा चुसेर नोक्सान गर्दछ । पातहरुको भागहरुवाट रस चुसेर खाएको अवस्थामा पात पहेलो हुदै जान्छ र झर्छ । हाँगाहरु टुप्पोवाट सुक्दै जान्छ । कहिलेकाँही पुरै रुख नै सुकेर जान सक्छ, फलमा अत्यधिक संक्रमण भएमा यस्ता फल बेच्न वा खानका लागि अयोग्य बन्दछन् । गृष्म कालिन मौसमको अन्ततिर र वर्षा शुरु हुनु भन्दा अगाडी रुखलाई चिस्यानको एकदमै अभाव भएको अवस्थामा कत्ले संख्या बढ्छ, प्रकोप बढ्छ र क्षति पनि बढी हुन्छ ।           

oo

             

 

व्यवस्थापन
  • कीरा लागेका नर्सरीका विरुवाहरु नयाँ बगैंचामा नसार्ने ।
  • क्षति पुगेर झरेका पात र फलहरु जलाएर नष्ट गर्ने ।
  •  क्षति पुगेका र मरेका हाँगाहरु काँटछाँट गरी नष्ट गर्ने ।
  •  स्त्री स्वभावका खपटे तथा जालीदार पखेटा भएका किराको संरक्षण गर्ने र यिनलाइ आकर्षित गर्न बगैंचाको वरिपरि आकर्षक फूलहरु लगाउने ।
  •  निमजन्य बिषादी (एजडीराक्टिन ०.१५%) ५ मिली प्रति लिटर पानीका दरले मिसाएर प्रति बोट सरदर ३ देखि ५ लिटर प्रति बोटका दरले छर्ने । वा
  • खनिज तेल एटसो १५ मिलि प्रति लिटर पानीका दरले छर्ने ।
  • फाल्गुण र चैत्र महिनामा एक एक पटक डाइमेथोयट ३०% इसी विषादी १.५ मिलि लिटर पानीका दरले छर्ने ।

स्याउको कडलिङ् मोथ (Codling moth)

परिचय

Scientific Name: Cydia pomonella

क्षति गर्ने बालीहरु: स्याउ

पहिचान

वयस्क पुतली ०.५-०.७५ इन्च लामो ध्वाँसो पखेटालाई पाल जस्तो बनाएर बसेका हुन्छन् । यिनीहरुको रङ्ग वोटको बोक्रासंग मिल्दोजुल्दो देखिने भएकाले पत्ता लगाउन गाह्रो हुन्छ । यो पुतलीको पखेटाको टुप्पोमा गाढा, तामाजस्तो व्याण्डले ढाकेको हुन्छ । लार्भाहरु गाढा खैरो टाउको भएका र शरीर सेतो वा हल्का वैजनी रंगको हुन्छ । जो फलको भित्र पट्टि भेट्टाउन सकिन्छ। यो कीरालाई चाडै नै नियन्त्रण गर्न सकिएन भने २० देखि ९० प्रतिशतसम्म नै फलमा क्षति पुर्याउन सक्दछ । यो पुतलीको पूर्ण विकसित लार्भाले माटोमा अथवा माटोमा रहेका विरुवाका अवशेषहरुमा प्युपा अवस्था गुजार्दछ । कहिले खुकुला बोक्रामा पनि यो अवस्था व्यतित गर्दछन् र चैत्र वैशाख तिर वयस्क पुतलीका रुपमा विकसित भइ निस्किन्छन्। भाले पोथी बीच समागम भइ पोथी पुतलीले ३०-७० वटा सम्म अण्डा बोटको पात वा फलमा वा कोपिलामा पार्छ । अण्डाहरु कोरलिए पछि लार्भाले फलभित्र प्रवेश गरी भित्रभित्रै खादै बढ्दै जान्छन् र परिपक्व बन्दछन् अनि प्युपा अवस्थामा जान्छन् । न्यानो हावापानीमा ४ पुस्तासम्म एक वर्षमा निक्लिन सक्छ ।

cm

 

लक्षण

लार्भाले फल भित्र प्रवेश गर्छ र खाँदै जान्छ जसले गर्दा भित्रै सम्म सुरुङ्ग बनाउँदछ। फलको बाहिर हेर्दा रातो खैरो धुलोले भरिएको दुलो देखिन्छ ।

cm

 

व्यवस्थापन

• छिटो पाक्ने जातका स्याउ बिरुवा लगाउने ।
• बगैचाको उपयुक्त काँटछाँट गर्ने।
• परभक्षी कीराहरू जस्तै माकुरा र क्याराविड खपटे कीराको संरक्षण गर्ने ।
• फूल फुलेको ४-६ हप्तापछि जब फल आधा देखि १ इन्च व्यासको भएका हुन्छन् तब सम्पूर्ण फललाई कागजका थैलाले छोप्ने ।
• कीरा लागेका फल टिपेर नष्ट गर्ने साथै कीरा लागि झरेका फलहरु पनि सबै टिपेर नष्ट गर्ने।
• भाले पुतलीलाई व्यवस्थापन गर्न एक रोपनी बगैंचामा ५ वटा मोहिनी पासो राख्ने ।
• व्यासिलस थुरिञ्जियन्सिस ३ ग्राम प्रतिलिटर पानीका दरले बोटमा छर्ने ।
• स्याउको मूलस्तम्भको जमिनभन्दा केहि माथिल्लो भागमा १५ सेमि चौडाको कार्डबोर्डको टुक्रा लगाएर बाँधिदिने जसमा प्युपा हुन ठाउँ खोज्दै हिंडेका वयस्क लार्भाले स्थान भेट्टाइ प्युपा अवस्थामा जान्छ। यसरी जम्मा भएका प्युपालाई नष्ट गर्न सकिन्छ ।
• स्पाइनोसाड ४५ एससी ०.२५ मिलि प्रति लिटर पानीका दरले छर्ने
 

रातो कमिला (Oriental army ant)

परिचय

Scientific Name: Dorylus orientalis Westwood

क्षति गर्ने बालीहरु: आलु

पहिचान

नेपालको प्रायः पहाडी भूभागको हावापानीमा पाइने शाकाहारी स्वभावको यो कमिलाको भाले बानकीमा अरिङ्गाल जस्तो हुन्छ । पोथी कमिलाका पखेटा हुदैनन् । शरीरको लम्बाई २०-२५ मिमि हुन्छ। कर्मी कमिलाहरु पखेटा नभएका ५-८ मिमि लामा र चम्किला गाढा शरीरका हुन्छन् । पानी नलाग्ने ठाउँमा रोपिने आलु, गानोवाली र जरेवालीमा यो कीरा समस्याको रुपमा देखिएको छ । काउली वाली समुहका वालीहरुमा पनि जरा र कलिलो डाँठमा आक्रमण गरी क्षति पुर्याउँदछ । कीराहरू फिरन्ते स्वभावका हुन्छन् । गुँड सारिरहन्छन्। यिनीहरुको गुँड माटो मुनि धेरै गहिराइमा बनेको हुन्छ। जीवन चक्रसम्बन्धि तथ्यगत जानकारीको कमी छ ।

ant

 

लक्षण

माटो भित्र फल्ने वालीमा यो कीराले मसिना प्वाल प्वाल पारी बिगारीदिन्छ जुन खान लायक हुदैनन्। जरा र जरा माथिको डाँठ खण्डमा पनि यिनीहरुको आक्रमण
हुन्छ जसले बोटहरु ओइलिन्छन् र मर्छन्। आलु र गाजर यस कमिलाका अति मन पर्दा आहारा हुन्।

ant

 

व्यवस्थापन

• काँचो गोबर मलको प्रयोग नगर्ने।
• आलु रोपेको क्षेत्रमा गाजर पनि छर्नाले यस कीराको ध्यान आलुवाट हट्छ र आलु वाली बचाउन सकिन्छ ।
• असुरो र खिरों लाई हरियो मलको रुपमा प्रयोग गर्ने, चिउरीको पिन तथा केतुकीको पातका टुक्राहरू मिसाइ मिलाउनाले यसको आक्रमण घटाउन सकिन्छ ।
• तितेपाती तथा बनमाराको पात २५० केजी प्रति रोपनीका दरले आलु लगाउनु भन्दा अघि माटोमा प्रयोग गर्ने।
• सिचाईको राम्रो व्यवस्था मिलाइ माटोको चिस्यान कायम राख्ने ।
• पाउरोटी वा गहुँको रोटीको टुक्रामा क्लोरपाइरिफस २०% इसि १.५ मिलि प्रति लिटरको झोल मिलाइ चारा राख्ने ।
• कमिलाको आक्रमण भएको देख्नासाथ आलुको ड्याङ्ङ्ग डुब्ने गरी सिँचाई गर्ने ।
 

सुलसुले ( Citrus Mite)

परिचय

Scientific Name: Panonychus citri.

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान, लक्षण

सुन्तलाजात फलफूलमा लाग्ने सुलसुले चार जोडा खुट्टा हुने ज्यादै सानो आकारका हुन्छन्। सुलसुलेले बिरुवाको विभिन्न भागमा चुसेर नोक्सानी गर्दछ । सुलसुलेले आक्रमण गरेको बोट फुस्रो र निरस देखिन्छ। धेरै संख्यामा आक्रमण भएमा सुन्तला र जुनारको फलको बोक्रा खैरो देखिन्छ भने कागती र निबुवाको फल हल्का सेतो रंगमा देखिन्छ ।

mites    3

व्यवस्थापन
  • बिरूवालाई उचित काँटछाँट र मलजलको व्यवस्था गरी स्वस्थ बिरूवा हुर्काउने । 
  • फल सानै हुँदा सुलसुलेनाशक विषादी प्रोपाईट वा बाईफेनाजेट १.५-२ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।

गुलाबी गवारो (Pink Borer)

परिचय

Scientific Name: Sesamia inference

क्षति गर्ने बालीहरु: मकै

पहिचान

गुलावी गबारो यसको वयस्कको अघिल्लो पखेटा खैरो र पछिल्लो पखेटा सेता हुन्छन। लार्भाको टाउको खैरो र शरीरको माथिल्लो सतह गुलावी रङ्का हुन्छन।

borer

 

लक्षण

भर्खर निस्केका लाभ्रेहरूले पात खान्छन् र पातहरूमा प्रशस्त छिद्राहरू हुन्छन् र पछी गुभो भित्र पसेर डाँठ को गुदी खाँदै तल जान्छन जसले गर्दा गुभो सुक्दै जान्छ र म्रित गुभोलाई “Dead heart” भनिन्छ। विरुवामा कीराले पातहरुमा क्षती गरेको चिन्ह र विस्टाएको दिसा देख्न सकिन्छ। कीराले डाँठ भित्रको गुदी खाने हुनाले डाँठ खोक्रो हुन्छ।

व्यवस्थापन

मकै भाँचिसकेपछी मकैका ठुटाहरु पोलेर नस्ट गर्ने ।
मृत गुभो देखिएमा जरै सँग उखेलेर जलाउने वा गाड्ने ।
मकै लगाएको बारी वरीपरी यस कीराको बिर्कषणकोलागि न्यापिएर घाँस लगाउने ।
ट्राइकोग्रा नामक परजीब किरा १ लाख प्रती हेक्टर को दरले छोड्ने ।
स्पिनोस्याड ४५ % को झोल बिषादी ०.२ एम एल प्रती लिटर पानी मा मिसाएर छर्ने वा कार्बोफ्यूरान ३% गेडा बिषादी १ के जी प्रति रोपनिका दरले गुबोमा प्रयोग गर्ने 

लिचीको सुलसुले (Litchi mite)

परिचय

Scientific Name: Eriophyes litchi

क्षति गर्ने बालीहरु: लिची

पहिचान

यो कीराको वयस्क सुलसुलेहरु लगभग १.५ मिलि मिटरका धेरै साना र धेरै संख्यामा हुन्छन् । सेतो रङ्गका असंख्य सुलसुलेहरु पातको तल्लो सतहमा बसेर पातको रस चुसेर खान्छन् । नाङ्गो आँखाले देख्न नसकिने हुन्छन् । यिनीहरु पातको मसिना झुसको फेद तिर बस्दछन् । सुलसुलेले फाल्गुन र चैत्र तिर आक्रमण गर्दछन् र अत्यधिक नोक्सानी अषाढ श्रावणमा पुर्याउँदछन् । पोथी सुलसुलेले पातको तल्लो पट्टि सेतो अण्डाहरु पार्दछ । जसवाट ३-४ दिनसम्म बच्चाहरु निस्किन्छन् र बिरुवावाट रस चुसेर करिव २ हप्ता पछि वयस्क हुन्छन् ।

mite

 

लक्षण

बढ्दै गरेका बच्चाहरु र माउ सुलसुलेले पातको तल्लो सतहवाट रस चुस्दछन् र पातलाई खैरो रातो भुवादार जस्तै अवस्थामा पुर्याउँदछन् । सतहमा साना बच्चाहरु उत्पादन हुन्छन् र पछि गाँठ/गाँठमा परिणत भै आखिरमा पातहरु बटारिएर सुक्न थाल्दछन् । बढी मात्रामा नयाँ हुर्किदै गरेका विरुवाहरुमा र पुराना बोटको नयाँ पालुवामा बढी असर पुर्याउँदछन् ।

mites

 

व्यवस्थापन

• लिची सुलसुलेले आक्रमण गरेको शुरु अवस्थामै समस्या पहिचान हुनु पर्दछ ।
• सुलसुलेको क्षतिको लक्षण देखापर्ने बित्तिकै त्यस्ता पात र मुनाहरु हटाई जलाउने वा गाड्ने
• नीमको झोल र गाइको मुत्र पानीमा मिसाएर स्प्रेयरद्वारा छर्दा गन्ध मन नपरी सुलसुलेहरु बाहिर जान्छन् ।
• खनिज तेल (मिनरल आयल) १०-१५ मिलि प्रति लिटर पानीको दरले पुरा बोटमा स्प्रे गर्ने
• डाइमेथोएट ३०% इसि विषादी प्रति लिटर पानीमा १-२ मिलि का दरले राखी नयाँ पालुवा पलाएको समयमा हरेक ३ हप्ताको फरकमा बोट भिज्ने गरी छर्ने ।
• डाइकोफल १८.५% इसि वा प्रोपरजाइट ५७% इसि ३ मिलि प्रति लिटर पानीको दरले छर्ने ।

भिण्डीको छिर्के गबारो (Okra shoot and fruit borer)

परिचय

Scientific Name: Earias vitella

क्षति गर्ने बालीहरु: भिण्डी

पहिचान

यो कीराको माउ पुतली फिक्का अघिल्लो पखेटाहरु प्रत्येकमा लम्बाइमा फिजिएको एक एक वटा सुगा रंगका पाता भएका हुन्छन् । शरीरको लम्बाई १०-१२ मिमि हुन्छ। छिप्पिएको लार्भे शरीरको माथिल्लो भाग खैरो हुन्छ भने तल्लो भाग फिक्का पहेलो वा हरियो हुन्छ । पोथी पुतलीले पातको तल्लो सतह वा कलिलो डाँठ, मुना, कोपिला, अण्डाको डाँठ वा चिचिलामा समुहमा अण्डाहरु पार्दछ। जाडो याममा अण्डावाट लार्भा हुन ३-४ दिन लाग्छ भने १०-१२ दिनसम्म लार्भा अवस्थामा रही अचल अवस्थामा जान्छन् जसको अवधि ८-१४ दिनको हुन्छ। अचल अवस्था माटो भित्र वा बोटकै कुना काप्चामा बिताउँछन् । त्यस पछि पुतलीहरु निस्किन्छन् २० देखि ३० दिनमा जीवन चक्र पूरा गर्छ।

borer

 

लक्षण

अण्डा र फल लाग्नु अघि लार्भेको आक्रमण कलिला डाँठहरुमा हुन्छ । लार्भेले गुदी खाइदिनाले मुनाहरु ओइलिन्छन् र मर्छन् । बोटमा कोपिला, अण्डा र चिचिला लागि सकेको अवस्थामा लार्भेहरु त्यस तर्फ आकर्षित भइ कोपिला र अण्डाहरु झर्न थाल्दछन्। त्यस्तै गरी चिचिला र नछिप्पिएका फलहरुमा प्वाल पारी भित्र भित्रै खाइ दिंदा चिचिलाहरू झर्छन् र फलहरु खान लायक हुदैनन् ।

borer

 

व्यवस्थापन

• वाली लगाए देखि नभित्राउन्जेल वाली तथा कीराको नियमित अनुगमन गर्ने ।
• झरेका कोपिला, अण्डा र ओइलिएका मुनाहरु र कीरा लागेका फलहरु जम्मा गरी नष्ट गर्ने।
• साइपरमेथ्रिन १०% इसी २ मिलि प्रति लिटर पानीका दरले छर्ने वा
 

सेतो झिंगा (Silverleaf whitefly)

परिचय

Scientific Name: Bemecia tabaci

क्षति गर्ने बालीहरु: गोलभेडा, आलु, काउली, वन्दा, फर्सी, काक्रो, लौका, भिण्डी, सिमि, बोडी, ब्रोकाउली, भन्टा, तर्बुजा, मुला

पहिचान

वयस्कको पखेटाहरु सेतो हुन्छन् र शरीरको लम्बाई करिव १ मिमि हुन्छ । तरकारी वालीहरुमा मुख्यतया यो कीरा भन्टा, गोलभेडा, आलु, काँक्रो, घिरौला, फर्सी, खुर्सानी, मुला, रामतोरिया, सिमी, काउली, बन्दामा लाग्छ । सुख्खा मौसम र बढी तापक्रम (३८ डिग्री सेन्टिग्रेड सम्म) मा यस कीराको संख्या तिब्र रुपले बढ्छ । चैत्र, वैशाख र जेष्ठमा कीराको प्रकोप बढी देखिन्छ ।पोथी कीराले पातको तल्लो सतहमा पारेको अण्डाहरुवाट ४-५ दिनमा बच्चा कीराहरू निस्किन्छन् जो १-२ दिनसम्म पातको सतहमा चाहर्छन् र ठाउँ रोजी चुस्न थाल्दछन् । ७-९ दिन सम्म लार्भा अवस्थामा रही अचल अवस्थामा जान्छन् जसको अवधि ५-६ दिन हुन्छ । वातावरण र तापक्रममा हुने फेरबदल अनुसार जीवन चक्र १६ देखि २० दिनमा पूरा हुन्छ । तातोपन बढेको मौसममा प्रत्येक अवस्था छिटो-छिटो पार गरी जीवन चक्र कम समयमा पूरा गर्छ।

fly

 

लक्षण

पोथी कीराले पातको तल्लो सतहमा अण्डा पार्दछ। अण्डाहरुवाट ४-५ दिनमा बच्चा निस्किन्छन् । पातको तल्लो सतहमा रस चुस्न थाल्दछन् । एक ठाउँमा बसेर रस चुस्न थाले पछि अन्यत्र सर्दैनन् । यसरी बटारिएका पातहरु, विकृत मुनाहरु जस्ता लक्षण देखिन्छ।

fly

 

व्यवस्थापन

• रोग नलागेका बीउ तथा बेर्ना रोप्ने ।
• नाईट्रोजन युक्त मलको मात्रा कम राख्ने ।
• समय समयमा बोटहरुमा कीरा छोप्ने जाली चलाएर यस कीराको वयस्कहरुलाई समाउन सकिन्छ । यस प्रकार समाइएका कीराहरूलाई उम्कन नदिइ मार्नु पर्दछ ।
• स्थानीय स्तरमा तयार गर्न सकिने सुर्ती वा लसुनको झोलको प्रयोग गर्ने।
• डाइमेथोएट ४० इसि १ मिलि वा इमिडाक्लोपिड १७.८ एसएल २ मिलि प्रति लिटर पानीका दरले छर्ने । विषादी छर्दा पातको तल्लो सतहमा एकनासले विषादी पर्न जरुरी छ ।

लाही ( Citrus Aphid)

परिचय

Scientific Name: Toxoptera citricida.

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान, लक्षण

लाही अथवा सुन्तलाजात फलफूलका जुम्राले नयाँ कलिला पालुवालाई आक्रमण गर्दछ । लाही कीराले बोटको विभिन्न भागहरूबाट रस चुसेर नोक्सानी पुर्याउँदछ। यो आक्रमणले पात ओइलाउने र खुम्चिने गर्दछ।

aphid

 

व्यवस्थापन
  • विभिन्न प्राकृतिक शत्रुहरु जस्तैः स्त्री स्वभावको खपटेको प्रयोगबाट पनि यो कीरा प्राकृतिक रुपमा नियन्त्रण गर्न सकिन्छ। गहुँतःपानी वा झोलमल बिरूवा/पातहरू कलिलो भएको बेलामा 
  • १:८-१० को अनुपातमा र छिप्पिएको भएमा १:४-५ को अनुपातमा स्प्रे गर्ने। 
  • सुर्तीको झोल वा निमजन्य विषादीको प्रयोग गर्न सकिन्छ। 
  • कीटनाशक विषादीको प्रयोग डाईमेथोएट (रोगर) विषादी २ 
  • मि.लि. प्रति लिटर पानीमा वा ईमिडाक्लोप्रिड वा थायोमेथोक्जाम 
  • १ मिलि प्रति ३-५ लिटर पानीमा मिसाई छर्ने।

धानको पतेरो (Rice earhead bug)

परिचय

Scientific Name: Leptocorisa oratorius

क्षति गर्ने बालीहरु: धान

पहिचान

वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा पतेरो हरियो हुन्छ । यसलाई समातेर विस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ ।

  egg     adult

लक्षण

पातमा बढी आक्रमण भएमा बोट नै पहेंलिने हुन्छ र बालामा आक्रमण गरेको छ भने दानाहरूमा खैरो दाग देखिने, दानाहरू फोस्रा हुने अथवा आधा फोस्रिएका दाना हुने गर्दछ ।

व्यवस्थापन

१. खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रय स्थललाई नष्ट गर्ने
२. एकै समय पाक्ने धानका जातहरू छनोट गरी लगाउने
३. प्रकाश पासोको माध्यमबाट वयस्क कीरालाई मार्न सकिन्छ
४. डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाई भैंसीको ताजा पिसावमा कपडा वा जुटको वोरालाई भिजाएर एउटा घोचोको एक छेउमा बांध्ने र उक्त घोचोलाई धानबारीको बीचमा लगेर गाड्ने गर्नु पर्दछ । ट्रयापमा आकर्षित भएका पतेरोहरूलाई बाहिर पट्टिबाट प्लाष्टिकको झोलाले छोपी संकलन गरी मार्ने
५. यो कीराको प्रकोप ज्यादा भएमा अन्तिम विकल्पको रुपमा कीटनाशक विषादी जस्तै मालाथियन ५० प्र. इसी (साइथियन, अनु मालाथियन,सूर्याथियन) २ मिलि प्रति लिटर अथवा साइपरमेथ्रिन २५ प्र. इसी (अनुकील, साइपरसीड, केआइ साइपर) वा अथवा फेन्भेलेरेट २० प्र इसी (अनुफेन, फेनभल, कीफेन ) ०.५ मिलि प्रति लीटर पानीका दरले कुनै एक विषादी विरुवा राम्ररी भिज्ने गरी छर्नुपर्दछ।

मकैको लाही (Aphid)

परिचय

Scientific Name: Rhopalosiphum maidis

क्षति गर्ने बालीहरु: मकै

पहिचान

सानो, कालो, वा हरियो रङ्को साना मसिना लाही किराले बोट र घोगा दुवैमा क्षती पार्छन।

aphid

 

लक्षण

लाहीले पातमा वा डाँठमा रहेर त्यसमा भएको रस चुसेर खान्छ। रस चुसिएको भाग पहेँलो हुन्छ र यिनिहरुले पातमा मधु रस (honeydew) छोडेका हुन्छन जसमा ढुसी बिकसित हुन सक्छ।

aphid

 

व्यवस्थापन

१.थोप्ले खपटे को संरक्षण गर्ने ।
२.गाई को गहुँत छर्ने ।
३.पहेँलो पासोको प्रयोग गर्ने।
४.डाइमेथोयट ३० % नामक बिषादी १ मि ली प्रति लीटर पानीमा मिसाएर छर्ने ।

स्याउको सानजोस कत्ले (San Jose Scale)

परिचय

Scientific Name: Quadrapidiotus peniciosus

क्षति गर्ने बालीहरु: स्याउ

पहिचान

यो कीराको वयस्क पोथी मध्य भाग उठेको १-२ मिलि मिटर व्यासको वृतकार कैलो कत्ला भएको हुन्छ भने भाले एकापट्टि अलिक चौडा भएको र एकापट्टि अलिक साँघुरिएको हुन्छ । पोथीको पखेटा हुँदैन भने भालेको एक जोडा पखेटा हुन्छ। स्याउ, आरु, आरुबखडा, नासपाती र ओखरमा पनि यो कीरा लाग्दछ। यो कीरा अर्ध विकसित बच्चा अवस्थामा जाडो महिना भरी रुखको हाँगामा बिताउछ । गर्मीयामको सुरुवातसँगै यो पूर्ण विकसित भइ वयस्क हुन्छ । भाले कीराहरू उडेर विभिन्न स्थानमा गइ एकै ठाउमा बसी रहने पोथीसँग समागम पछि पोथीले मसिना बच्चा पैदा गर्दछ। यी बच्चाले बोटमा कलिलो डाँठ फेला पारेपछि आफ्नो तिखो सुड गाडेर त्यहि बसी रस चुस्दछन् । गर्मीयाममा करिव एक महिनामा बच्चाहरु वयस्क हुन्छन् र धेरै पुस्ता निस्किन्छन् । जाडो लाग्न थालेपछि प्रजननको कार्य बन्द हुन्छ र बच्चाहरु जाडो भरी रुखको हाँगामा रहन्छन् ।

sjs

 

लक्षण

यो कीराले स्याउको मूल स्तम्भ, हाँगा, फूल र फलवाट रस चुस्दछ। जसले गर्दा बोट फस्टाउन सक्दैन । पात, फल र डाँठहरुमा छ्याप्छ्याप्ती कत्लेहरु बसेको देखिन्छन् । टुप्पोदेखी मर्दै आएका कमजोर बोटहरु भेटिन्छन् । अन्तमा बोटै मर्न सक्दछ । फलको पनि रस चुसेर खाइदिन्छ जसका कारण बोक्रामा रातो वृताकार दागहरु हुन्छन् जुन फलहरु गुणस्तरीय हुदैनन् ।

sanjos   sanjos

 

व्यवस्थापन

• क्षति पुगेका र मरेका हाँगाहरु काँटछाँट गरी नष्ट गर्ने ।
• कीरा लागेका बोटहरु एक ठाउँवाट अर्को ठाउँमा नलैजाने ।
• बिरुवा रोप्नु अघि मालाथियन ५०% इसि १ मिलि लिटर वा इमिडाक्लोप्रिड १७.८% एसएल ०.३ मिलि प्रतिलिटर पानीका दरले मिलाई बनाएको झोलमा डुबाएर रोप्ने ।
• यो कीराको प्रकोप अत्यधिक हुने ठाउँमा डाइमेथोएट ३०% इसि विषादी १ मिलि लिटर प्रति लिटर पानीका दरले दुइ-दुइ महिनामा पुरै बोट भिज्ने गरी छर्ने।

आलुको पुतली (Potato tuber moth)

परिचय

Scientific Name: Phthorimaea operculella

क्षति गर्ने बालीहरु: आलु

पहिचान

शरीरको रङ्ग मैलो सेतो र लम्बाई ७-९ सेमि भएको सानो आकारको पुतली वर्गमा पर्ने कीराको वैज्ञानिक नाम Phthorimaea operculella Zeller हो। यसका अघिल्ला पखेटाहरु कैला खैरा रङ्गका साना काला छिर्का भएका हुन्छन् भने भित्रि पखेटाहरु मैलो सेतो रंगका हुन्छन् । यसलाई नेपालीमा जोताहा कीरा भनिन्छ। २० देखि ३० डिग्री सेल्सियस तापक्रम भएको अवस्थामा यो कीराको फूलवाट लार्भा हुन ४-५ दिन, लार्भावाट प्युपा हुन ११-१४ दिन र प्युपावाट बस्यक हुन ६-७ दिन लागि २१ देखि ३० दिनमा जीवन चक्र पूरा गर्दछ ।

pmoth

 

लक्षण

आलु वालीको सबभन्दा महत्वपूर्ण शत्रुको रुपमा रहेको यो कीराको आलुको दाना र पातमा क्षति गर्ने गर्दछ। लार्भाले पात र डाँठमा सुरुङ्ग बनाएर क्षति गर्दछ भने भण्डारणमा दानामा हुने आँखावाट सुरुङ्ग बनाएर क्षति गर्दछ। अत्यधिक प्रकोप भएमा भण्डारणमा शत प्रतिशत सम्म क्षती हुन सक्छ ।

pm

 

व्यवस्थापन

• स्वस्थ बीउको प्रयोग गरी १० सेमि गहिराइमा आलु रोपण गर्ने।
• ड्याङ्ङ्गमा आलुको दानालाई राम्रोसँग माटोले छोप्ने गरी उकेरा लगाउने ।
• उचित समयमा सिँचाई दिइ ड्याङ्गलाई धाँजा फाट्नवाट जोगाउने ।
• पुरानो भण्डारण गरिएको आलुवाट नयाँ आलुमा कीरा नसर्ने गरी सरसफाईको व्यवस्था मिलाउने ।
• प्रकाश पासोको प्रयोग गर्ने।
• पि.टि.एम. ल्यूर प्रयोग गरी बनाइएको पासोको प्रयोग गर्ने।
• छहारीमा सुकाइएको तीतेपाती वा ठुला पाते बेथे वा पुदिना वा हात्ती सिस्नुको पात टुक्रा पारी • • संचित आलु माथि तह मिलाइ राख्ने ।
• खायन आलुमा प्रकोप देखिएमा कुनै पनि विषादीले उपचार नगरी शुद्ध पानीमा २४ घण्टा डुबाइ • छहारीमा सुकाई भण्डारण गर्ने ।
• बोझोको जराको धुलो २ ग्राम प्रति केजी दरले मिसाइ भण्डारण गर्ने ।
• बीउ आलु भण्डारण गर्नु पर्दा माला थियन ५% धुलो २५ ग्राम प्रति केजी आलुका दरले प्रयोग गर्न सकिन्छ ।
• व्यासिलस थुरिजियन्सिस (वि.टि.) ६ ग्राम प्रति केजी आलुका दरले उपचार गर्ने

काठ छेड्ने डाँठको गबारो (Citrus trunk / stem borer)

परिचय

Scientific Name: Degrandella lineolata.

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

लक्षण

माउले बोटको खुकुलो बोक्रा भित्र वा चर्केको स्थानमा फुल पार्ने गर्दछ । लार्भाहरु हाँगामा प्वाल बनाएर भित्र पस्ने र सुरुङ्ग बनाई गुदी खाने गर्दछन् । कीरा संक्रमित हाँगाहरु पहेंलिने र पछि पुरै बोट ओईलाउने हुन्छ ।

citrus borer

 

व्यवस्थापन
  • हाँगा भित्र वा आफैले बनाएका खोल भित्र लुकेर बस्ने भएकाले यी कीरालाई विषादीको प्रयोगबाट नियन्त्रण गर्न मुस्किल पर्दछ। कीरा लागेको ठाउँ पत्ता लगाई यी कीरालाई किचकाच गरेर मार्नु नै सर्वोत्तम उपाय हो। 
  • हाँगा भित्र बसेको लार्भालाई एउटा लामो तारले घोचेर पनि मार्न सकिन्छ । 
  • अथवा यस्ता प्वालबाट मट्टितेल वा पेट्रोलमा चोपेको कपासको टुक्रा घुसाई प्वाललाई हिलो वा गोबरले टम्म टाली दिंदा पनि निसास्सिएर यी कीराहरु मर्दछन् । होशियारीपूर्वक कीटनाशक विषादीको झोलमा डुबाईको कपासको टुक्रालाई पनि यस्ता प्वालमा टम्म हाली दिन सकिन्छ । 
  • हाँगामा निकै नै नोक्सानी गरि सकेको पाइएमा त्यस्तो हाँगालाई काटेर चिरेर कीरा मार्नु पर्दछ वा जलाउनु पर्दछ ।

फेद काट्ने कीरा (Cutworm)

परिचय

Scientific Name: Agrotis ipsilon

क्षति गर्ने बालीहरु: मकै

पहिचान

वयस्क पुतली ध्वाँसे हुन्छन। लार्भाहरु चिल्लो, रङ ध्वाँसे , ढाडमा धर्साहरु हुन्छन र छुँदा बटारिने हुन्छन।

cutworm

 

लक्षण

दिउँसो लाभ्रेहरू लुकेर बस्छन र राती बाहिर आई कलिलो मकैको बेर्नालाई माटोको सतह बाट काटिदिन्छ र कलिलो डाँठ र पात खान्छ ।

व्यवस्थापन

काटेको विरुवाको जरा नजिक माटोमा कोट्याएर लाभे्रहरू खोजी नष्ट गर्ने ।
बिउ दर बढाएर रोप्ने ।
प्रकाश पासो प्रयोग गरी कीरा सकलन गरी मार्ने ।
प्रभावित बालीमा सिन्चाइ गर्ने ।
वि टी नामक जैविक बिषादी वा मालाथियन ५ प्रतिशत डी पी २ ग्राम प्रति केजी गहुको चोकर मिसाएको चारा प्रति रोपनी आधा केजीको दर ले साझमा प्रयोग गर्ने
 

पात बेरुवा (Rice Leaf folder)

परिचय

Scientific Name: Cnaphalocrocis medinalis

क्षति गर्ने बालीहरु: धान

पहिचान

हल्का खैरो रङ्गका वयस्क पुतली हुन्छन् । पखेटामा दुईवटा बाङ्गा– टिङ्गा धर्साहरू हुन्छन् । लार्भा हल्का हरियो रङ्गका हुन्छन् ।

leaf folder   larva

 

लक्षण

पातलाई वेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ खाईदिन्छन् र पात सुक्दछन् ।

व्यवस्थापन

१. धान रोप्ने बेलामा स्वस्थ र बलिया बेर्नाहरूको प्रयोग गर्ने
२. नाईट्रोजनयूक्त मलको उचित प्रयोग गर्ने
३. धानखेतको राम्ररी गोडमेल गर्ने
४. काँडेदार डोरी लिई दुवैछेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने यसो गर्नाले धानको पातमा रहेका पात वेरुवाका लार्भाहरू पानीमा खसेर नष्ट हुन्छन्
५. बि. टी. नामक जैविक विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई खेतमा छर्कने । यसरी जैविक विषादी प्रयोग गर्दा प्रति हेक्टर जमिनमा ५००—६०० लीटर जैविक विषादी र पानीको झोल प्रयोग गर्ने
६. प्रकोप बढी भएमा विषादी क्लोरोपाइरिफस २०% इसी (डर्सवान, डरमेट,फाइनवेन) १.२५ मिलि प्रति लि वा कार्वो सल्फान २५% इसी (मार्सल) १ मिलि प्रति लिटर कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) १ मिलि प्रति लिटर वा लाम्डासहोइलोथ्रिन ५ प्र. इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा अजाडीराक्टीन ०.१५ प्र (मल्टीनेमोर, निकोनिम) ३–५ मिलि प्रति लिटर दरले

उखुको प्लासी बोरर (Spotted sugarcane stem borer (Plasser borer))

परिचय

Scientific Name: Chilo tumidicostalis Hamson

क्षति गर्ने बालीहरु: उखु

sugarcane

 

लक्षण

लार्भाको पछाडि ढाडमा ४ वटा गुलावी खैरो अथवा वैजनीरंगको लामो धर्सा हुन्छ भने वयस्क पुतली दालचिनी जस्तो खैरो रंगको हुन्छ। यो कीराको अण्डावाट लार्भा हुन ७ दिन, लार्भावाट प्युपा हुन २६ दिन र प्युपा ४६ वटा ११६ वयस्क हुन दन लागि ३९ देखि ६४ दिनमा जीवन चक्र पूरा गर्दछ । भदौ महिनाको पहिलो हप्ता देखि कात्तिकको पहिलो हप्ता सम्म बढी क्षति पुर्याउने यो कीराको प्रति वर्ष ५-६ पुस्ता निस्कन्छन् ।

ss

 

व्यवस्थापन

• वाली लगाए देखि नकाटुन्जेल वाली तथा कीराको नियमित अवलोकन गर्ने
• सम्भव भए सम्म कीरा अवरोधी जात लगाउने
• बत्तिको पासोको प्रयोग गरी वयस्क पुतलीहरुलाई जम्मा गरी नष्ट गर्ने
• क्षति भएका उखुका टुप्पा तथा अन्य भाग नियमित रुपमा संकलन गरी नष्ट गर्ने
• वर्षा याममा उखु खेतमा पानीको निकासको राम्रो व्यवस्था मिलाउने
• कीराको प्रकोप देखा पर्न थाले पछि नाईट्रोजन मलको प्रयोग नगर्ने
• कीराले अण्डा पार्ने समयमा ट्राइकोग्रामा ५० हजार प्रति हेक्टरका दरले १०/१० दिनको फरकमा छोड्ने
• पहिलो र दोश्रो पुस्ताका कीराले अण्डा पार्ने समयमा थायोडिकार्ब ७५ डब्लु पि २ ग्राम प्रति लिटर पानीका दरले बोट भिज्ने गरी छर्ने 

केराको गबारो (घुन) (Banana stem and rhizome weevil)

परिचय

Scientific Name: Odoiporus longicollis/Cosmopolites sordidus

क्षति गर्ने बालीहरु: केरा

पहिचान

केराको गबारो थाम र गानु दुबैमा आक्रमण गर्ने किसिमका हुन्छन् । केराको थामको गबारोको वयस्क खपटे कालो वा रातो रङ्गको १०-१२ मिमि लामो हुन्छ । यसको सुंड निकै लामो हुन्छ । यसको लार्भे सेतो शरीर १० मिमि लामो र रातो टाउको भएको हुन्छ। केराको गानुमा लाग्ने गबारोको वयस्क खपटे चम्किलो कालो हुन्छ ।
लत्रेका पातहरुको माध्यमवाट भित्र पसेर केराको थाममा आफ्नो सुँडले कोत्रेर प्वाल पारी पोथी घुनले त्यसमा अण्डा पार्दछ । गर्मी याममा यो कीराको अण्डावाट लार्भा हुन ३-५ दिन, लार्भावाट प्युपा हुन २६-२८ दिन र प्युपावाट वयस्क हुन २१-२८ दिन लागि ५० देखि ६० दिनमा जीवन चक्र पूरा गर्दछ। लार्भा र प्युपा अवस्था दुवै केराको थाम भित्र व्यतित हुन्छ ।

ss

 

लक्षण

केराको थाममा लाग्ने गबारोले थाम भित्रभित्रै खोतलेर खाने हुनाले थाम भित्र छिया छिया हुन्छ। बोट पहेंलिन थाल्दछ । साधारण हुरी बतासले पनि बोट ढल्न सक्दछ। उता गानुमा बस्ने गबारोले गानो खाइदिनाले जराहरु कमजोर हुने गर्दछन् । बोट सजिलै ढल्ने गर्दछ । केरा पसाउन सक्दैन र यदि पसाइ हाले पनि फल/कोसा पुष्ट लाग्दैन ।

banana

 

व्यवस्थापन

• गबारो लागेको गाँजको बिरुवा अन्यत्र रोप्नु हुदैन
• गबारोले आक्रमण गरेको बोटलाई जरै देखि उखेलेर गानो र थामलाई मसिना टुक्रा टुक्रा पारी नष्ट गर्नुपर्छ वा जलाइ दिनु पर्दछ ।
• एउटा गाँजमा ३ वटा सम्म मात्र बोट राख्नु पर्दछ। केराको घरी काटे पछि त्यस घरीको थामलाई त्यहि ठाउमा छोड्नु हुदैन। यस्तो थामलाई तुरुन्त फेदैवाट काटेर हटाउनु पर्दछ ।
• केराको बोटमा लत्रेका वा लत्रन लागेका पातहरु केराको थाम फेदैवाट हटाई गाँजलाई सफा राख्नु पर्दछ ।
• काम नलाग्ने केराका बोटहरु काटेर टुक्रा टुक्रा पारी केरा बगैचामा यताउति राखिदिनाले त्यसमा गबारोका वयस्क घुनहरु जम्मा हुन्छन् र तिनलाई संकलन गरी नष्ट गर्न सकिन्छ ।

फल कुहाउने औंसा कीरा (Melon fly)

परिचय

Scientific Name: Bactrocera cucurbitae

क्षति गर्ने बालीहरु: फर्सी, काक्रो, लौका, बोडी, खर्बुजा, तर्बुजा

पहिचान

फल कुहाउने औंसा काँक्रा, फर्सी, करेला समुहका तरकारी वालीको प्रमुख समस्याको रूपमा रहेको छ । यसको औसाले फलको कलिलै अवस्थावाट क्षति गर्न सक्छ । क्षतीग्रस्त फल भित्र औसाहरु प्रशस्त मात्रामा देखा पर्दछन्। यो कीरा झिंगा समुहमा पर्ने पारदर्शी पखेटा भएको कीरा हो। पोथी झिंगाको पेटको अन्तिममा फूल पार्ने अंग मसिनो सुइरो जस्तो निस्केको हुन्छ। यो फाल्गुण वाट शुरु गरी आश्विन सम्म बढी नोक्सान गर्दछ । नयाँ कलिलो फलको बोक्रा छेडेर एकै पटक दशौंको सख्यामा अण्डा पार्दछ । यसको औंसाले फल भित्र बसेर ७ देखि १० दिन सम्म फलको गुदी खान्छ । अचल अवस्था (प्युपा) पार गर्न माटोमा जान्छ र वयस्क भएर निस्किन्छ। आक्रमण भएको फल औंसाको कारण कुहिएर भुइमा झर्न पनि सक्छ, कुहिएको भागवाट प्यूपा अवस्थामा जानका लागि परिपक्व भएको औसा मात्र झर्न पनि सक्छ ।

melonfly

 

लक्षण

यसले फाल्गुण वाट शुरु गरि आश्विन सम्म बढी नोक्सान गर्दछ। नयाँ कलिलो फलको बोक्रा छेडेर एकै पटक दशौंको संख्यामा अण्डा पार्दछ। यसको औसाले फल भित्र बसेर ७ देखि १० दिनसम्म फलको गुदी खान्छ । अचल अवस्था माटोमा बन्दछ र वयस्क भएर निस्किन्छ। आक्रमण भएको फल औसाको कारण कुहिएर भुइमा झर्न पनि सक्छ ।

melonfly

 

व्यवस्थापन

• नियमित रुपमा क्षतिग्रस्त फल तथा झरेका फूलहरु संकलन गरेर विषादी युक्त पानीमा डुबाएर फलमा भएका औसा मार्ने वा माटोमा कम्तिमा ६० सेमि गहिरो खाडल खनी पुर्ने।
• काँक्रा-फर्सी लगाउने जग्गामा अचल अवस्थामा रहेका प्युपालाई नष्ट गर्न हिउँदको समयमा गहिरो गरी जोत्ने । जसले गर्दा प्युपा माटो बाहिर देखिन्छ र चराहरुले खाइदिन्छन् ।
• चाराको रुपमा पाकेको पहेंलो भएको फर्सीको मसिना टुक्रा वा प्रोटिन मिश्रण वा शख्खर राखी खेतको ठाउँ ठाउँमा राखेर कीरा आकर्षण गर्ने र ०.१ प्रतिशतको मालाथियन ५० इसि को झोल विषादी हालेर कीराहरू मार्न सकिन्छ ।
• क्युलियर वा व्याक्टोसेरा कम्पोजिट फेरोमन ट्रयाप झुण्डाउने। उक्त ट्रयाप अनुगमनको लागि भए २ र व्यवस्थापनको लागि भए ६ वटा प्रति रोपनीको दरले राख्ने ।
• यदि १०% वा बढी नै क्षति हुने देखिन्छ भने मालाथियन ५० इसि १.५ मिलि र २० ग्राम चिनी वा सख्खर प्रति लिटर पानीमा मिसाएर वनाएको मिश्रण पात र फलमा छर्ने। विषादी छरेको ७ दिन भन्दा पहिला फल नटिप्ने ।

गोलभेडाको पात खन्ने कीरा (Tomato leaf minor)

परिचय

Scientific Name: Tuta absoluta

क्षति गर्ने बालीहरु: गोलभेडा

पहिचान

गोलभेडाको पात खन्ने कीरा अन्त्यन्त आक्रमक स्वभावको कीरा हो । यस कीराले गोलभेडाको साथ साथै भण्टा, खुर्सानी र आलु वालीमा समेत नोक्सानी पुर्याउदछ। यस कीराको आक्रमणले ५० देखि १००% सम्म उत्पादनमा कमी आउछ। वयस्क पुतली ५-६ मि. मि. लामो र पखेटा फैलाउँदा १० मि. मि. चौडा हुन्छ । वयस्क पुतली खैरो खरानी रंग मिसिएको र पखेटामा स- साना काला धब्बा देख्न सकिन्छ ।

कीराको जीवनी
गोलभेडाको पात खन्ने कीराको अण्डा, लार्भा, प्युपा तथा वयस्क गरि ४ वटा अवस्थाहरु हुन्छन् । वयस्क पोथी पुतलीले पातमा र केही डांठ, मुना, भेट्नो, फलको पत्रदलमा एउटा-एउटा वा स-साना झुप्पामा गरी एक जीवनकालमा लगभग २६० वटासम्म अण्डा पार्दछ । लार्भा अवस्थामा (१४-१६ दिन) यसले ३ पटक काँचु'ली फेरी प्यूपा अवस्थामा जान्छ । पूर्ण विकसित लार्भा ९ मिमि को हुने र लार्भाको टाउको पछाडिको माथिल्लो भागमा हुने कालो अर्ध-चन्द्रकार धब्बाले पहिचान गर्न सकिन्छ । शुरुको अवस्था हरियो रंगको हुन्छ र पछि गएर अन्तिम अवस्थामा हल्का पहेलो गुलावी रंगको जीउ हुने र टाउको कालो देखिन्छ । प्युपा अवस्थाको अवधि १० दिनको हुन्छ।

tuta

 

लक्षण

पातको बीचको हरियो भाग खाइ, सेतो झिल्लीमात्र छाड्छ । क्षति ग्रस्त पातलाई नियालेर हेर्दा सेतो झिल्ली भित्र लार्भा देख्न सकिन्छ र वरिपरि कालोबिष्टा पनि भेटिन्छ । फलकोभेट्‌नोको वरिपरि मसिनो प्वाल पारी भित्र सुरुङ्ग बनाई क्षति गर्दछ । यसले कलिलो फलमा वढि क्षति गर्दछ । यो कीराको आक्रमण वढि भएमा पुरै पातहरु जलेर नष्ट भएको देखिन्छ ।

tomatotomato

 

व्यवस्थापन

• कीराले सक्रमण गरेका पातहरु र अन्य बिरुवाका भागहरु हटाई नष्ट गर्ने, जलाउने वा कम्तिमा १ फुट गहिराइमा गाड्ने।
• वयस्क माउ पुतलीलाई नियन्त्रण गर्न टि एल एम ल्यूर वटाटि पासो प्रति रोपनी ५ का दरले राख्ने अथवा प्रति रोपनी १ बत्तिको पासो प्रयोग गर्ने।
• निममा आधारित कीटनाशक विषादी एजाडिरिक्टिन १ ५ ईसि ३ मिलि प्रति लिटर पानीमा मिसाइ ७-७ दिनको अन्तरालमा छर्ने ।
• मेटारहिजिएम एनिसोपिलाइ (१x१०८ सिएफयु प्रति ग्राम) ४ केजी प्रति हेक्टरका दरले माटो उपचार गरि लार्भा प्यूपा अवस्थामा जानवाट रोक्न सकिन्छ।
• गहुँत पानी १:५ को अनुपातमा मिसाइ ५-५ दिनको अन्तरालमा छर्ने ।
• बिटि कुस्टाकी १% डब्लुपि २ ग्राम प्रति लिटर पानीमा मिसाइ ७ दिनको फरकमा छर्ने।
• रसायनिक विषादीहरुको प्रयोग गर्दा क्लोरोएन्टानिलिप्रोल १८.५% एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाइ १०-१५ दिनको फरकमा छर्ने वा
• स्पिनोस्याड ४५% एससि १ मिलि प्रति ३ लिटर पानीमा मिसाइ १०-१५ दिनको फरकमा छर्ने वा
• इमामेक्टिन बेन्जोएट ५५ डब्लु डिजी १ मिलि प्रति ३ लिटर पानीमा मिसाइ १०-१५ दिनको फरकमा छर्ने ।
• कीराले विष पचाउने क्षमतावाट बचाउन माथि उल्लेखित कीटनाशक विषादीहरु आलोपालो गरि प्रयोग गर्ने।

बन्दाको पुतली (Cabbage Butterfly)

परिचय

Scientific Name: Pieris brassicae nepalensis Doubleday

क्षति गर्ने बालीहरु: तोरी, काउली, वन्दा, ब्रोकाउली, रायो, सलगम

पहिचान

नेपालको तराइ तथा पहाड दुवै क्षेत्रहरुमा पाइने शरीरको लम्बाई १९ देखि २५ मिमि हुने यो कीराको पखेटाहरु हल्का पहेंला सेता रंगका हुन्छन्। लार्भेहरु पहेंलो हरियो शरीर भरी काला थोप्लाहरु र पिठ्यूँतर्फ शिरदेखि पुच्छरसम्म तीनवटा पहेला धर्सा भएका हुन्छन्। काउली, बन्दा, ब्रोकाउलीको साथ साथै यो कीराले सलगम, मूला, रायो र तोरी वालीलाई पनि नोक्सानी गर्छ। शरीर भरी स-साना रौं हुन्छन् । पोथी पुतलीले विशेष गरेर पातको तल्लो सतहमा प्रत्येक झुप्पामा ४०-८० वटा गरी २००-२५० वटा साना लाम्चिला र पहेला अण्डाहरु पार्दछ। अण्डावाट लार्भा हुन ३-५ दिन लाग्छ भने लार्भाले ४ पटक काचुली फेर्दै १४-१७ दिनसम्म लार्भा अवस्थामा रही अचल अवस्थामा जान्छन् । जसको अवधि ८-१० दिनको हुन्छ। त्यसपछि पुतलीहरु निस्किन्छन् ।

क्षतिको लक्षण

लार्भेहरुको आक्रमणवाट स-साना बोटहरुका कलिला पातहरु खाइ नोक्सानी गर्दछ र विरुवाहरु हुर्कन नपाउँदै मर्दछन् । ठूला बोटहरुमा मसिना लार्भेहरुले गर्दा पातहरुमा छिया छिया परेको देखिन्छ। लार्भे बढ्दै गइ ठूला भइ वालीको पातको मूख्य नसाहरु मात्र बाँकी रहने गरी खान्छन् ।

रोकथामका उपाय

• वाली लगाएपछि नभित्राउन्जेल वाली र कीराको नियमित अनुगमन गर्ने।
• पुतलीहरुलाई हातले पक्रेर नष्ट गर्ने।
• कीराले पारेका अण्डा तथा लार्भेहरुलाई जम्मा गरी नष्ट गर्न सकेमा अति प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ ।
• सन्तुलित रूपमा मलखादको प्रयोग गर्ने, नाईट्रोजनको मात्र प्रयोग नगर्ने।
• व्याक्टेरिया जन्य जैविक विषादी (बि.टि.) २ ग्राम प्रति लिटर पानीका दरले छर्ने।
कीराको प्रकोप बढ्दै गएमा मालाथियन ५०% इसि २ मिलि प्रतिलिटर पानीका दरले छर्ने।

पतेरो (Citrus bug)

परिचय

Scientific Name: Leptoglossus gonagra.

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान, लक्षण

पतेरो कीराको माउ र बच्चा दुबैले सुन्तलाजात फलफूलको कलिला फलबाट रस चुसी हानी गर्दछन्। यसो त यसले बोटको सबै भागहरु जस्तै पात, हाँगा, फल आदिमा आक्रमण गरि नोक्सानी पुर्याउँदछन् । पतेरोले चुसेका फलहरु राम्ररी नछिप्पिदै झर्दछन्। यो कीराको प्रकोप मुख्यतः असार, साउन, भदौ महिनामा ज्यादा हुन्छ ।

borer

   

 

व्यवस्थापन
  • बिहान र बेलुकीको समयमा पतेरोको वयस्क र बच्चाहरु समाई मार्नु उचित हुन्छ । 
  • यिनीहरुलाई कीरा समाउने जालीको मद्दतले सजिलै समात्न सकिन्छ ।
  • पतेराको फुलहरुलाई एक प्रकारको सुक्ष्म वारुलाले परजीवीकरण गर्ने, पतेरोको माउ वच्चालाई माकुरा, कमिलाहरुले नष्ट गर्ने, झिङ्गाले पतेरोको माउ र बच्चालाई शिकारीकरण गर्ने हुँदा पतेरोका यी प्राकृतिक शत्रुहरुलाई सुन्तलाजात फलफूल बगैंचामा रासायनिक विषादीको प्रयोग नगरी यी बारुला, झिङ्गा, माकुरा र कमिलाहरुलाई संरक्षण गर्ने। 
  • बिरूवालाई उचित काँटछाँट र मलजलको व्यवस्था गरी स्वस्थ बिरूवा हुर्काउने । 
  • पतेरोको आक्रमण गरेको बोटमा विहानी पख पारेर खरानी छर्कने । 
  • कीटनाशक विषादी डाईमेथोएट वा साईपरमेथ्रिन १.५-२ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।

अनारको पुतली (Pomegranate fruit borer/Anar butterfly)

परिचय

Scientific Name: Virachola isocrates

क्षति गर्ने बालीहरु: अनार

पहिचान

वयस्क पुतलीको पखेटाको फैलावट ४० देखि ५० मिमि सम्म हुन्छ । भालेहरु पोथीको तुलनामा हल्का साना हुन्छन् । पोथी पुतलीको अघिल्लो पखेटामा अंग्रेजी V आकारका प्रष्ट धब्बाहरु देख्न सकिन्छ । यो कीराको अण्डावाट लार्भा हुन ७-१० दिन, लार्भावाट प्युपा हुन १८-४७ दिन र प्युपावाट वयस्क हुन ७-३४ दिन लागि ३२ देखि ९१ दिनमा जीवन चक्र पूरा गर्दछ। कलिला पात हाँगा वा कोपिलामा अण्डाहरु अलग अलग गरी पारेको हुन्छ । लार्भाहरु फलभित्र करिब पाँच पटक काँचुली फेरि पूर्ण विकसित हुन्छन् भने अचल अवस्था हाँगा वा फल वा फल बाहिर बनाउँछन् ।

pomegranate  pomegranate

 

लक्षण

भर्खर अण्डावाट कोरलीएका लार्भाहरुले फूलको कोपिला र कलिला फलहरुमा प्वाल पारेर भित्र पसी फूलको भित्री भाग तथा फलको गुँदी तथा बीउहरु खाइ नोक्सानी गर्दछ । यसले ३० देखि ५० दिनको फलमा बढी आक्रमण गरेको पाइएको छ ।

pomegranate

 

व्यवस्थापन

• वाली तथा कीराको नियमित अनुगमन गर्ने
क्षति भएका फलहरु टिपी खाडलमा गाडेर वा तातोपानीमा डुबाएर नष्ट गर्ने ।
• बगैंचाको सरसफाईमा विशेष ध्यान दिई फूल फुल्ने विरुवाहरु जस्तैः गन्धे, सयपत्री तथा सूर्यमुखी जस्ता वैकल्पिक आश्रयदाता वालीहरु हटाउने ।
• सम्भव भए सम्म कीरा कम लाग्ने जातको अनार लगाउने ।
• बगैचाको घनत्व उपयुक्त राख्ने, बाक्लो नबनाउने ।
• फलहरु ३० दिनका नहुँदै प्रत्येक फललाई कपडा वा कागज वा खबर पत्रिकाले ढाक्ने ।
• अनारको फूल फुल्न थालेपछि कीराले अण्डा पार्ने समयमा ट्राइकोग्रामा १२ हजार प्रति रोपनीको दरले १०/१५ दिनको फरकमा वाली अवधिभर छोड्ने ।
• व्यासिलस थुरेञ्जियन्सिस (बि.टि.) २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।
• निम जन्य विषादी (एजाडिराक्टिन ०.३% इसि) २ मिलि प्रति लिटर पानीका दरले १५ दिनको फरकमा ४ पटक छर्ने ।
• मालाथियन ५०% इसि २ मिलि प्रति लिटर पानीमा मिसाइ छर्कने वा
• स्पाइनोस्याड ४५% एस. जि. ०.२५ मिलि प्रति लिटर पानीका दरले छर्कने ।

भन्टाको डाँठ तथा फलको गबारो (Eggplant fruit nad shoot borer)

परिचय

Scientific Name: Leucinodes orbonalis Guenee

क्षति गर्ने बालीहरु: भन्टा

पहिचान

भन्टा खेति गरिने तराई र मध्य पहाडी क्षेत्रमा डाँठ तथा फलमा लाग्ने गबारो ठुलो समस्याको रुपमा रहेको छ। यो कीराको माउ पुतलीहरु रातमा सक्रिय हुन्छन् । यिनीहरुको पोथीले कलिला पात मुना वा पत्रदलमा अण्डा पार्दछन् जसवाट निस्केका लार्भाले डाँठको मुन्टा वा पहलमा प्वाल पारी खान्छन्। अघिल्ला पखेटामा काला र खैरा दाग भएका पुतलीको शरीरको लम्बाई १२ मि.मि हुन्छ भने लार्भा गुलाबी शरीर भएको १६-१८ मिमि लामो हुन्छ।यो कीराको अण्डावाट लार्भा हुन ३-८ दिन लाग्छ भने लार्भाले ४ पटक काँचुली फेरि १२-२२ दिनमा फल तथा डाँठवाट निस्की सुकेका पात वा मुन्टा वा जमिनमा रहेका पात पतिङ्गरमा अचल अवस्थामा गुजार्दछन् । प्युपावाट वयस्क हुन ६-१७ दिन लाग्दछ । यसरी जीवन चक्र पूरा हुन १ देखि १.५ महिना लाग्दछ भने एक वर्षमा पाँच पुस्तासम्म निस्किन्छन् ।

borer

 

लक्षण

भन्टावालीको महत्वपूर्ण शत्रुको रुपमा रहेको यो कीराको भर्खर अण्डावाट निस्केका लार्भाहरुले डाँठको मुन्टा वा फलमा प्वाल पारी खान थाल्दछन् जसको कारण मुन्टा ओइलाइ मर्दछ र फल खान नहुने गरी नोक्सानी हुन्छ। यो कीराले फूल फुल्ने समय र फल लाग्ने समयमा बढी नोक्सान पुर्याउँदछ ।

borer   borer

 

 

व्यवस्थापन

• वाली लगाएदेखि नभित्राउन्जेल वाली तथा कीराको नियमित अनुगमन गर्ने । कीराको सक्रियता थाहा पाइ राख्न ल्युसिन ल्यूर प्रयोग भएको फेरोमन पासोको प्रयोग गर्ने।
• जालीदार घरमा नर्सरी विरुवा तयार गर्ने।
• विरुवा नर्सरीवाट मूल खेतमा सार्दा विरुवालाई स्पाईनोसाड ४५ एससि ०.३ मिलि प्रतिलिटर पानीका दरले छर्ने दरले बनाइएको घोलमा डुबाइ सार्ने।
• क्षति भएका भन्टाका मुन्टा, पात तथा फल नियमित रुपमा टिपी नष्ट गर्ने।
• फल दिन छाडेका पुरानो बोटहरुलाई जलाउने वा खाडलमा पुर्ने।
• विरुवा सारे देखि अन्तिम टिपाइ सम्म दश दश मिटरको दुरीमा ल्युसीन ल्यूर प्रयोग गरिएको ओटा-टी पासो प्रयोग गर्ने। ल्यूरलाई १५-१५ दिनको फरकमा बदल्ने ।
• कीराको प्रकोप बढ्दै गएमा स्पाईनोसाड एस. सि. विषादी ०.३ मिलि प्रतिलिटर पानीका दरले छर्ने वा
 

तोरीको लाही (Mustard aphid)

परिचय

Scientific Name: Liphaphis erysimi

क्षति गर्ने बालीहरु: तोरी

पहिचान

पखेटा भएका र नभएका दुवै थरीमा पाइने नरम बनावटको २ देखि २.५ मिमि लामा यी कीराको शरीरमा सेतो पाउडर जस्तो पदार्थ भेटिन्छ। पखेटा भएका लाहीहरु मैला हरिया वा पहेला हरिया रङ्गका हुन्छन् । पखेटा नभएका लाहीहरुको शरीरमा काला दागहरु हुन्छन् । रायो, तोरी, मूला, सलगम, काउली र ब्रोकाउलीमा बढी मात्रामा लाग्ने यो कीरा आलु, काँक्रो, केराउ, प्याज र सिमीमा पनि यदाकदा भेटिन्छ ।पोथी लाहीले पातको तल्लो सतहमा अण्डा पार्दछ । प्रशस्त आहारा उपलब्ध भएको अवस्थामा पोथी लाहीले सिधै बच्चा लाही जन्माउन सक्दछन् यस्तो अवस्थामा भालेको आवश्यकता हुँदैन। प्रति दिन ३-६ बच्चा लाहीको दरले १५० भन्दा बढी बच्चा जन्माउन सक्छ । पखेटादार पोथी लाहीहरु कार्तिकको तेस्रो सातादेखि वालीमा देखा परी चैत्र महिनासम्म आक्रमक रुपमा रहन्छन्। यस अवधिमा ११ औं पुस्ता सम्म तयार हुन सक्छ। यो लाही कीरा १५-२१ दिनसम्म बाँच्छ ।

aphid

 

लक्षण

वयस्क र बच्चा दुवै लाहीहरुले बोटका विभिन्न भागहरुवाट रस चुसेर खाइ बोटको रस सन्तुलन बिग्रन र पातहरु पहेला, गुजुमुजु पर्ने वा बटारिने हुन्छ । अत्यधिक आक्रमण भएको अवस्थामा डाँठहरु ओइलिन्छन्, बोटहरुको विकास रोकिन्छ र अन्तमा सुकेर मर्दछन् । लाहीहरुले निकालेको गुलियो बिष्टका कारण पातमा कालो दुसी पनि उम्रन्छ । यो कीराले भाइरस जन्य रोगहरु पनि बोट बिरुवामा सार्दछ ।

aphid

 

व्यवस्थापन

• नाइट्रोजनयुक्त रासायनिक मलको बढी प्रयोग नगर्ने।
• यो कीराको प्राकृतिक शत्रु लेडी बर्ड विटल कीराको संरक्षण गर्ने ।
• स्थानीयस्तरमा नीमको बीउवाट बनेको झोल, खुर्सानीको प्रयोग गरी बनाइएको झोल वा लसुनको झोल प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ ।
• गाइवस्तुको मुत्र र पानी (१:४) को अनुपातमा मिसाइ २-३ दिनको फरकमा छर्ने ।
• प्रकोप बढ्दै गएमा डाइमेथोएट ३५% इसि विषादी १.५ मिलि प्रति लिटर पानीका दरले वा मालाथियन ५०% इसि १ मिलि प्रतिलिटर पानीका दरले विरुवा राम्रोसँग भिज्ने गरी छर्ने ।

लेमन पुतली ( Citrus/ Lemon butterfly)

परिचय

Scientific Name: Papilio demoleus.

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान

यो पुतली वर्गमा पर्ने सुन्तला जात फलफूलको एक हानिकारक कीरा हो। यसको लार्भा अवस्थाले सुन्तलाजात फलफूलको पात, कलिलो मुना आदि खाएर नोक्सान गर्दछ। वयस्क पुतली ठूलो कालो र पहेंलो पुच्छर भएको तथा रंगिचंगी (पहेंला र काला धब्वाहरुले सिंगारिएका) पखेटाहरु भएका हुन्छन् । 

citrus butterfly

 

लक्षण

 बिरुवाको पातमा चराको बिष्टा जस्ता देखिने, हुँदा रातो सिङ निस्कने लाभ्रेहरुले बिरुवाको कलिलो पात मुना खान्छन्। यस कीराले बिरुवाको सानो अवस्थामा ज्यादा असर पुर्याउँछ ।

citrus

 

व्यवस्थापन

बगैंचा तथा नर्सरीको नियमित अनुगमन गर्ने तथा माउ पुतलीको प्रवाहको पनि नियमित अनुगमन गर्ने। 
- पातमा पुतलीको फुल देखिएमा टिपेर नष्ट गर्ने। 
-प्रकृतिमा पाइने विभिन्न प्रकारका परजीवी बारुलाहरुले कीराको लार्भा अवस्थालाई नियन्त्रण गर्दछन् । अतः मित्र कीरा र तिनीहरुको गतिविधिको पनि अनुगमन गर्दै रहने। 
-निमजन्य विषादी ३-५ मिलि प्रति लि. पानीमा मिसाएर छर्ने। 
-सुरुका अवस्थाको लार्भालाई व्यवस्थापन गर्न जैविक विषादी बिटि १ मिलि प्रति लि. पानीमा मिसाएर छर्ने। 
- ठुला बिरुवाहरुमा जरुरत परे कीटनाशक विषादी साईपरमेथ्रिन वा मालाथियन १-२ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने।

 

धानको फट्यांग्रा (Rice grasshopper)

परिचय

Scientific Name: Hieroglyphus banian

क्षति गर्ने बालीहरु: धान

पहिचान

धानवालीमा फट्यांग्राको आक्रमणवाट वर्षेनी ठूलो नोक्सानी हुने गरेको छ । यो कीराले धानको मूल नशा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरु खान्छन् । उखु, मकै, गहुँमा समेत यसले आक्रमण गरी क्षति पुर्याउन सक्दछ । वयस्क फट्यांग्रा हल्का चम्किलो हरियो पहेंलो रंगको हुन्छ र यसको पखेटा र टाउको माथि ३ वटा कालो रंगको धर्साहरु हुन्छन् । वयस्क फट्याङ्ग्रा सरदर ४०-५० मिमि लामो हुन्छ । अपरिपक्व अवस्था हल्का पहेंलो रंगको हुन्छ र सानो साइजको हुन्छ । पोथी फट्यांग्राले बाँझो जमिन, खेतबारीको डिल तथा ढिस्कोको माटोमा ५-८ सेमि गहिरो प्वाल बनाई भाद्रको मध्यदेखि मङ्सिरसम्ममा ३०-४० वटाको समुहमा अण्डाहरु पार्ने गर्दछ । अण्डाहरु ८-९ महिनासम्म सुषुप्त अवस्थामा रही मनसुनको सुरुवातसंगै बच्चाहरु जुका जस्तै गरेर माटोवाट बाहिर निस्कन्छन् । यस पछि यिनीहरुले बिरुवाको पातहरु खान सुरु गर्दछन् र ७-८ पटक काँचुली फेरेपछि ७०-८० दिनमा वयस्क हुन्छन् । वयस्कहरु २ महिनासम्म बाँच्दछन् । सामान्यतया एक वर्षमा एक पुस्ता मात्र विकास हुन्छ ।

gh

 

लक्षण

फट्यांग्राले अण्डावाट निस्कनासाथ धानको पात खान सुरु गर्दछन्। खाँदै काँचुली फेर्दै बढ्‌दै जान्छन् । अधिक आक्रमण भएमा धानको पातको मूल नशा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरु खान्छन् ।

damage

 

व्यवस्थापन

• धान खेतका आलीहरु रोपाइ गर्नु अगाडी ताछेर १० देखि १५ सेमि उचाइसम्म हिलो माटोले हावा छिर्न नसक्ने गरी टाली दिनुपर्छ ।
• शिकारी कीराहरू जस्तैः ब्लिस्टर बिटल, ग्राउण्ड बिटल र शिकारी किर्थो कीराहरूको संरक्षण गर्ने ।
• मैना चरी लगायतका विभिन्न शिकारी जीवहरूको संरक्षण गर्ने । बढी प्रकोप हुने क्षेत्रहरुमा बाँस वा रुखका हाँगाहरु गाडेर चराहरु बस्ने स्थानको व्यवस्था गर्नु पर्दछ ।
• धानको ढुटो (१० भाग), सख्खर (२ भाग) र विषादी  (१ भाग) मिसाइ बनाएको विषादी उक्त चारो धानको व्याड लगायत खेतको वरिपरि छर्ने ।
• कीराको प्रकोप बढ्‌दै गएमा मालाथियन १०% इसि २ मिलि वा साइपरमेथ्रिन २५% इसी. ०.५ मिलि प्रतिलिटर पानीका दरले मिसाएर छर्ने ।

सुन्तलाको फल कुहाउने झिंगा (औंसा) (Citrus fruit fly)

परिचय

Scientific Name: Bactrocera spp.

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान

सुन्तला वालीमा विभिन्न प्रजातिका फल कुहाउने झिंगाले नोक्सान पुर्याउछन् । यो झिंगा साधारण झिंगा भन्दा केहि ठुलो हुन्छ । यो कीराको छातीको भागमा पहेंलो र गाढा खैरो रंगिन धब्बा हुन्छ । पोथी झिंगाको पेटको अन्तिम भागमा चुच्चो वान्कीको लम्चिलो अण्डा पार्ने अंग स्पष्ट देखिन्छ । औसा १० मिलि लामो र सेतो रंगको हुन्छ । भाले लागेको वयस्क पोथी फलको बोक्रामा आफ्नो तिखो अण्डा पार्ने अंगले छेडेर एक फलमा १५ देखि २० वटा अण्डा पार्दछ । अण्डावाट ४-५ दिनपछि औसा निस्किन्छ । यी औसाहरु ४-१२ दिन पछाडि माटोमा प्युपा वा अचल अवस्थामा जान्छन् । वातावरण अनुकुल भएमा ७-१० दिनमा प्युपा वयस्क झिंगा हुन्छ। जाडोको मौसममा प्युपा माटोमै अचल अवस्थामा रहन सक्छ ।

o

 

लक्षण

यो झिंगाले फुल पारेको फलको भाग दागी देखिन्छ । औसा फल छेड्दै र खाँदै भित्र पस्दछ। औंसाको बृद्धि संगै फल पहेलिने, कुहिने र बोटवाट झर्ने हुन्छ । झिंगाले आक्रमण गरेका फलहरु भित्र हेर्दा सेतो औंसाहरु देखिन्छन्। यो झिंगाले धेरै प्रजातिका फलफुल र तरकारी वालीमा आक्रमण गरेर ठुलो आर्थिक नोक्सानी पुर्याउँछ ।

pest

 

व्यवस्थापन

• कीरा लागेर झरेका फलहरु तत्काल बटुलेर कम्तिमा ६० सेमि गहिरो खाडल खनी नष्ट गर्ने जसले गर्दा औंसाहरु मर्दछन् र वयस्क कीरा बन्नवाट रोकिन्छ ।
• समय समयमा गोडमेल गरि बगैंचा सधैं सफा राख्ने ।
• हिउँदको समयमा फेद वरिपरिको माटोलाई पल्टाई डल्ला फोर्नाले माटो भित्र अचल अवस्थामा रहेका प्युपा घाम र चराहरुवाट नष्ट हुन्छन् जसले गर्दा आउँदो मौसममा वयस्क झिंगाको संख्यामा कमि हुन्छ ।
• वर्षा मौसम पछि बोटको ३ मिटर वरिपरि मालाथायन धुलो ५% प्रतिबोट ५० देखि १०० ग्राम छरी माटोलाई हलुका खन्ने। माघ/फागुन महिनामा जमिनको खनजोत गर्दा प्रति रोपनी १ केजी को दरले मालाथायन ५% धुलो प्रयोग गरी निस्किदै गरेका वयस्क झिंगाको व्यवस्थापन गर्न सकिन्छ ।
• चैत्र-वैशाख देखि कात्तिक-मङ्सिरसम्म मिथाइल यूजिनल वा व्याक्टोसेरा कम्पोजिट फेरोमन ट्रयाप झुण्डाउने । ट्रयापमा कीराको संख्या बढी पर्न थालेमा अन्य व्यवस्थापनका उपाय अपनाउनु पर्छ । फेरोमन ट्रयाप अनुगमनको लागि भए २ र व्यवस्थापनको हिसाबले भए ६ वटा प्रति रोपनीको दरले राख्ने ।
• पाकेको फर्सी वा प्रोटिनको मिश्रण वा शख्खरको चारा बनाई आकर्षण गर्ने र मालाथायन झोल विषादीले कीराहरू नष्ट गर्न सकिन्छ ।
• मालाथायन ५०% इसि र हाईड्रोलाइज्ड प्रोटिनमा सख्खर २ ग्राम प्रति लिटरका दरले मिसाइ बोटमा छर्ने ।
• इमिडाक्लोरपिड १७.८ एसएल ०.२ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने।

स्याउको भुवादार लाही (Wooly apple aphid)

परिचय

Scientific Name: Eriosoma lanigerum

क्षति गर्ने बालीहरु: स्याउ

पहिचान

यो कीराको वयस्क र शिशु लाही रातो नीलो शरीरलाई सेतो भुवाले ढाकेको हुन्छ। वयस्क लाही १.५ देखि ३ मिलि लामो हुन्छ । कीराको दुइ अवस्था मध्ये अण्डा रुखको बोक्रामा र शिशु कीरा (निम्फ) माटोमा जरामा जाडो भारी बाँच्दछन् । गर्मी बढेपछि फाल्गुण महिनातिर यी अण्डावाट बच्चा निस्किन्छन् र भालेसँग समागम नगरीकनै बच्चा पैदा गर्न थाल्दछन् । यसरी पैदा गरिएका बच्चाहरु सबै पोथी हुन्छन्। गर्मी र वर्षा याममा कीराको बृद्धि खुब छिटो छिटो हुन्छ । यती बेला पखेटा भएका र नभएका दुवै थरी लाहीहरु पाइन्छन् । पखेटा भएकाहरु अन्यत्र फैलिन्छन् । जाडो आउन लागेपछि भाले लाही कीरा पैदा हुन्छन् र पोथीसँग समागम गरेपछि पोथी लाहीले रुखको बोक्रामा सुरक्षित स्थान खोजेर अण्डाहरु पार्दछन् । जाडोको शुरुमा बाँकी रहेका लाहीका बच्चाहरु बोटवाट तल ओर्लेर जमिनमुनि जरातिर पस्दछन् र पछि गर्मी बढेपछि बिरुवाको माथिल्लो भागतिर उक्लन्छन् ।

woolyaphid

 

लक्षण

यी कीराहरुको माउ र बच्चा दुबैले सयौको संख्यामा स्याउको मूल स्तम्भ, हाँगा, पात र जरामा बसेर रस चुस्दछन्। हाँगामा सेतो भुवाहरु देखिन्छन् । रस चुसेका भागमा विभिन्न आकारका गाँठहरुको विकास हुन्छ । बोटहरु राम्ररी बढ्न सक्दैनन्, रोगउदै जान्छन् र पछि मर्दछन् । आक्रमण गरेका बोटहरु ज्यादै कम फल लाग्दछन् र फलहरु पनि गुणस्तरीय हुँदैनन् । कीरा धेरै लागेका जराहरु मजबुत नहुने हुनाले हावाहुरीमा ढल्न पनि सक्दछन् ।

woolyaphid

 

व्यवस्थापन

• लाही ग्रसित नर्सरी विरुवावाट बगैचा नलगाउने ।
• कीरा लागि मर्न लागेका बुढा बोटहरुलाई काटी तिनमा रहेका लाहीहरुलाई नष्ट गर्ने ।
• एफिलिनस माली नामक परजीवि कीराको संरक्षण गर्ने ।
• विरुवा रोप्नु अघि मालाथियन ३० इसी १ मिलि लिटर वा इमिडाक्लोरोपिड १७.८%, एसएल ०.३ मिलि प्रतिलिटर पानीका दरले मिलाइ बनाएको झोलमा डुबाएर रोप्ने ।
• खनिज तेल १५ मिलि प्रति लिटर पानीका दरले छर्ने ।
• बोटको माथिल्लो भागमा रहेका लाहीलाई व्यवस्थापन गर्न डायमेथोएट ३० इसी १ मिलि प्रति लिटर पानीका दरले बोटमा छर्ने ।

आलुको पात खन्ने झिंगा (Potato leaf minor)

परिचय

Scientific Name: Liriomyza huidobrensis Blanchard

क्षति गर्ने बालीहरु: आलु

पहिचान

झिंगा वर्गमा पर्ने यो कीराको शरीर २-६ मिमि लामो र ढाडमा त्रिभुज आकारको पहेंलो रंगको चिन्ह हुन्छ। आलु टुसाउने समयदेखि छिप्पिने समयसम्म खेतबारीमा देखिने गर्छ। यस कीरा काठमाडौँ उपत्यका भित्रका जिल्ला तथा काभ्रे जिल्लाका आलुखेतीका पकेट क्षेत्रहरुमा समस्याको रुपमा देखा परेको छ।यो कीराको अण्डावाट लार्भा हुन २-५ दिन, लार्भावाट प्युपा हुन ४-१० दिन र प्युपावाट वयस्क हुन ७-१७ दिन लागि १३ देखि ३२ दिनमा जीवन चक्र पूरा गर्दछ।

plm

 

लक्षण

भर्खर अण्डावाट कोरलिएका लार्भाहरुले कलिला पातहरुमा सुरुङ्ग बनाई क्षति गर्न सुरु गर्छ भने पछि छिप्पिएका पात तथा डाँठहरुमा समेतमा सुरुङ्ग बनाई क्षति गर्दछ। यसको आक्रमणवाट आलुको उत्पादन २० प्रतिशत सम्म घटेको पाइएको छ ।

plm

 

व्यवस्थापन

• वाली तथा कीराको नियमित अनुगमन गर्ने।
• स्वस्थ बीउ आलुको प्रयोग गरी खेति गर्ने।
• उपयुक्त समयमा सिचाई गर्ने तथा उचित मात्रामा मलखादको प्रयोग गर्ने।
• पहेलो रङको फ्लेक्स प्रिन्ट (२-४ मिटर लम्बाई र २०-१०० सेन्टिमिटर चौडाई) लाई घ्यु रंगको ग्रिज दली बनाएको चलायमान पासोको प्रयोग गर्ने । यसको प्रयोग गर्दा पासोले आलुको बोटको टुप्पा छुने गरी २-३ पटक ओहोर दोहोर गर्ने गरिन्छ। यो प्रक्रिया आलु छिप्पिने अवधि सम्म ८-१० दिनको फरकमा दोहोर्याउनु पर्दछ ।
• इमामेक्टिन वेनजोयट ५% एससि १.५ मिलि लिटर प्रतिलिटर पानीका दरले पुरै बोट भिज्ने गरी छर्कने ।

खुम्रे कीरा (White grub)

परिचय

Scientific Name: Phyllophaga/Anomala spp.

क्षति गर्ने बालीहरु: मकै

पहिचान

वयस्क खपटे खैरा रङ्का हुन्छन। लार्भाको शरीर सेतो, टाउको खैरो हुन्छ भने यो "सी" आकारमा बसेको भेटिन्छ।

grub

 

लक्षण

लार्भा माटो भित्र बसी उम्रिएको मकैको जराहरु खान्छन र बोट मर्दछ।

व्यवस्थापन

१. काँचो गोवरमल प्रयोग नगर्ने ।

२. प्रकाश पासोको प्रयोग ले वयस्क खपटे लाई आकर्सित गरी नष्ट गर्ने ।

३. बाली काटेपछी गहिरो गरी जोत्नाले माटो भित्र बस्ने कीरा सुर्यको ताप ले मार्न सकिन्छ साथै परजीवी एवं चराहरूले खाई दिन्छन् ।

४. खपटे माउलाई बिजुली बत्तीको पासोमा आकर्षण गरी मार्ने ।

५. १ के.जी. प्रति रोपनीका दरले दानामा उत्पादित हरियो ढुसी (Metarhizium anisopliae) मकै छर्ने समयमा लाईनमा छर्ने ।

 

कफीको सेतो गबारो (Coffee stem borer)

परिचय

Scientific Name: Xylotrechus quaddripes

क्षति गर्ने बालीहरु: कफी

पहिचान

नेपालमा कफी वालीलाई हानी पुर्याउने प्रमुख शत्रुको रूपमा रहेको यो कीराको शरीरको लम्बाई १-२ सेमि भएको खपटे वर्गमा पर्ने कीरा जसका अघिल्ला पखेटाहरुमा कालो र सेतो धर्सा भएको सिङ्ग लामो भएको हुन्छ। भाले कीरा पोथी भन्दा साना हुन्छन् । जीवन चक्रको धेरै समय कफीको डाँठ भित्र व्यतित हुने भएकाले यसको नियन्त्रण सहज हुन सकेको छैन । पूर्णकालीन जीवन चक्र भएको कीरा हो जसको अण्डा, गबारो, अचल र वयस्क अवस्था गरी ४ अवस्था हुन्छ । यो कीराको अण्डावाट लार्भा हुन ९-१५ दिन, लार्भावाट प्युपा हुन लगभग ११ महिना र प्युपावाट वयस्क हुन ६-९ दिन लागि करिव १ वर्ष मा जीवन चक्र पूरा गर्दछ । कीराको लार्भा तथा प्युपा अवस्था डाँठ भित्र पूरा हुन्छ ।

cp

 

लक्षण

गबारो लागेको काण्डको वरिपरिको बोक्रा अलिकति उठेको र चर्केको हुन्छ । पातहरु पहेंलो भइ ओइलाउँछन् र खस्न थाल्दछन् । गबारोले जीवनचक्र पुरा गरी सकेको भए काण्डमा प्वालहरु देखिन्छन् । हाँगालाई विस्तारैभुइँ तिर तान्दा पिटिक्क भाँचिन्छ। अत्याधिक आक्रमण भएको अवस्थामा एक वर्षमा बोट मर्न पनि सक्छ। बोट चिरेर हेर्दा यसले खाएर बनाएको प्वाल आफ्नै विष्टाले भरेको हुन्छ ।

borer

 

व्यवस्थापन

• अराविका जातको कफिमा बढी आक्रमण गर्ने भएकाले अन्य जातहरु लगाउने ।
• उत्तर मोहडा भएको जमिनको छनौट गरी कफी बगैंचा लगाउने ।
• बगैचाको सरसफाइमा विशेष ध्यान दिने र माटोमा उपयुक्त चिस्यान कायम राख्ने ।
• विरुवा लगाउँदा उचित घनत्व कायम गरी चारैतिरवाट हावा खेल्ने वातावरण बनाउने ।
• बाह्रै महिना छाँया दिने वाली जस्तै कटहर, बडहर, मेवालाई छायाँदार वालीको रूपमा रोप्ने, कफी रोप्नु भन्दा दुई वर्ष अघि छायाँदार विरुवा रोप्ने ।
• प्रत्येक वर्ष कीराले अण्डा पार्ने समय भन्दा पहिल्यै नै कफी बोटहरुको निरीक्षण गरी कीरा लागेका हाँगाहरुलाई हटाउनु पर्छ। यौन जन्य पदार्थ राखी तयार गरिएको मदानी आकारको (क्रस भेन ट्रयाप) प्रति रोपनी ३ वटाको दरले राखी आकर्षण गराई मार्ने ।
• निमजन्य विषादी जस्तैः एजाडिराक्टीन १५०० पि पि एम ५ मिलि/प्रति लिटर पानीका दरले बोट भिज्ने गरी छर्ने ।
• साइपरमेथ्रिन वा डेल्टामेथ्रिन रासायनिक विषादी १-२ मिलि प्रति लिटर पानीका दरले बोट भिज्ने गरी छर्ने ।

गोलभेडाको फलको गबारो (Tomato fruit borer)

परिचय

Scientific Name: Helicoverpa armigera

क्षति गर्ने बालीहरु: गोलभेडा

पहिचान

गोलभेडाको फलको गबारोले कपास, चना, अरहर लगायत थुप्रै वालीमा आक्रमण गर्दछ । यो कीराले गोलभेडाको उत्पादन र गुणस्तरमा ६०% सम्म नोक्सानी गर्दछ । यस कीराको वयस्क रात्रिचर पुतली हो जुन पराले रङ्गको हुन्छ र यसको लम्बाई ३०-३८ मिमि सम्मको हुन्छ ।माउ पुतलीले कलिलो फलमा चम्किला, हल्का पहेलो रंगका गोल अण्डाहरु अलग अलग गरी पार्दछ । यी अण्डावाट ४-६ दिनमा लार्भा निस्किन्छन् लार्भा अवस्था १४-२१ दिनमा पूरा भइ ७-१० दिनको प्युपा अवस्था विताइ पूर्ण विकसित पुतली हुन्छ ।

tomato

 

लक्षण

गर्मी समयमा खेति गरिएको गोलभेडामा यो कीराले धेरै क्षति गर्दछ । किनकि यस समयमा कीराको सन्तान उत्पादन दर अत्यधिक हुन्छ । गोलभेडा वालीमा अण्डा लाग्न सुरुवात संगै वयस्क पोथी पुतलीले फूलको वरिपरी रहेका कलिलापातहरुमा अण्डाहरु पार्दछन् । अण्डा पारेको २-३ दिन भित्र साना साना मसिना लार्भा जन्मी चिचिला फलहरुमा आक्रमण गर्दछन् । लार्भेहरु सानो छँदा हल्का हरियो भइ उमेर बढ्दै जाँदा यिनीहरुको रंग हल्का खैरो हुन्छ। लार्भेको साइज सानो देखि मध्यम आकारको (२-३ सेमि) भइ फलहरुमा प्वाल पारी फलको भित्रि भागमा गुदी खाइ नोक्सानी पुर्याउदछ ।

tomato

 

व्यवस्थापन
  •  गवारोले नोक्सान गरेका फलहरु र सुकेका हाँगा एवं पातहरु संकलन गरी नष्ट गरिदिने ।
  • रातको समयमा १-२ वटा लाइटट्रयाप प्रति रोपनीको दरले समान दूरीमा पर्ने गरी प्रयोग गर्ने।
  •  गोलभेडा वालीमा फूल फुल्न सुरु गरेपछि गवारोको वयस्क भाले पुतलीलाई आकर्षण गरी फसाउने हेली ल्यूर पासो प्रति रोपनी जगामा १-२ वटाको दरले वालीको उचाई भन्दा १ फिट माथि राखी प्रयोग गर्ने। यो पासोले वयस्क पुतलीहरुलाई फन्दामा पारी कीराको व्यवस्थापन गर्दछ ।
  •  यसको अण्डाको परजीवि ट्राइकोग्रामा एक हेक्टरको लागि १० वटा ट्राइकोकार्डको रुपमा प्रयोग गर्ने ।
  •  यस कीराको व्यवस्थापन गर्न बेलुकीपख फाइदाजनक भाइरस (एन.पि.भि.) १ मिलि को वा वि.टि. (कुर्तकी) ३ ग्राम प्रति लिटर पानीका दरले घोली १० दिनको अन्तरमा २ पटक एकनासले बोटमा छर्ने ।
  • नट्रानिलिप्रोल १८.५ % एस सी ०.४ मिलि वा ल्याम्डासाइहिलोथिन ५% इसी ०.५ -१ मिलि वा नोभालुरन १०% इसी १ मिलि प्रति लिटर पानीको दरले प्रयोग गर्ने ।

खुर्सानीको थ्रिप्स (Chilly thrips)

परिचय

Scientific Name: Scirtothrips dorsalis

क्षति गर्ने बालीहरु: खुर्सानी

पहिचान

हाम्रो खाली आँखाले देख्न मुस्किल पर्ने यी कीराहरू एउटै बिरुवामा हजारौको संख्यामा बसी बिरुवाको कलिलो भागमा कोत्रेर चुस्दछन्। यसले चुसेपछी बिरुवाहरूमा भाइरसजन्य रोग पनि सर्न सक्दछ। जसको कारणवाट वाली उपचार हुन नसकी कृषकलाई ठुलो नोक्सानी हुन जान्छ। धेरै मसिना कीरा भएकाले कृषकहरुको नजरमा नपर्ने र पत्याउन पनि गार्हो मान्ने हुन्छ।यो कीराको वयस्क बढीमा २० दिनसम्म बाच्छ । अण्डावाट बच्चा थ्रिप्स बन्न ४-९ दिन लाग्छ । निम्फ अवस्था ४-६ दिनको हुन्छ। जसमा ४ अवस्था पार गरी माटो भित्र प्युपा अवस्थामा जान्छ जसको अवधि ३-५ दिन हुन्छ। यसरी जीवन चक्र पुरा हुन ११-२० दिन लाग्छ।

chilli

 

लक्षण

यसको आक्रमण वर्षा सिजनमा भन्दा सुख्खा मौसममा बढी हुन्छ । यी कीराहरूको वंश बृद्धि छिटो हुन्छ। खासगरी खुर्सानी, गोलभेडा, आलु, भन्टा, काँक्रो वालीमा यसको आक्रमण बढी हुन्छ । यो कीराको प्रकोप बढी भएमा ७० देखि ८० प्रतिशत सम्म वाली नोक्सानी हुन जान्छ। ठुलो हुरी बतास जतातिर चलेको छ त्यतैतिर यो कीरा हावाले उडाएर लैजान्छ। यसको आक्रमण बढी भएको बिरुवामा पातहरु फुस्रो, कोत्रिएको तथा बिरुवा नबढेको देख्न सकिन्छ ।

chilli

 

व्यवस्थापन

• नियमित अवलोकन गरी कीराको आक्रमण भए नभएको थाहा पाउनु पर्दछ ।
• खुर्सानी, काँक्रो, भन्टा र रामतोरिया वालीलाई समानान्तर वालीको रुपमा खेति नगर्ने।
• हप्ता दिनको फरकमा गाईवस्तुको मुत्र १:५ को अनुपातमा पानी संग मिसाइ छरेमा प्रकोप कम गर्न सकिन्छ ।
• नीमजन्य विषादी एजाडीराक्टिन ०.१५% इसि ३-५ मिलि प्रति लिटर पानीका दरले मिसाएर छर्ने ।
• रासायनिक विषादीको प्रयोग गर्नु परेमा मालाथियन ५०% इसि २ मिलि प्रति लिटर पानीका दरले १५ दिनको फरकमा छर्ने वा
• इमिडाक्लोरपिड १७.८ एसएल ०.२ मिलि प्रतिलिटर पानीमा मिसाइ बोट भिज्ने गरी छर्ने।

फल चुस्ने सुँडे पुतली ( Citrus Fruit piercing moth)

परिचय

Scientific Name: Othreis fullonia

क्षति गर्ने बालीहरु: जुनार, सुन्तला, कागती

पहिचान, लक्षण

फल चुस्ने कीराको माउ पुतली रातीमा सक्रिय हुन्छ। यसले फलको बोक्रामा सुँड गाडेर रस चुस्दछ। सुन्तलाजात फलफूलको फल चुस्ने कीराले चुसेको ठाउँमा सानो प्वाल र गोलाकार धब्वा देखिन्छ र फल नपाक्दै झर्दछ र कुहिन्छ।

fruit moth   3

 

व्यवस्थापन
  • बगैंचा वरपर जंगली झारपातहरु, झाडीहरु लगायतका आश्रयदाता वनस्पतीहरु नष्ट गर्ने, सरसफाई गर्ने। 
  • थोरै क्षेत्र भएमा पुतलीलाई जालीले समातेर मार्ने, नष्ट गर्ने।कीराले आक्रमण गरेका फलहरुमा माउ पुतली आकर्षित हुने हुँदा संकलन गरि नष्ट गर्ने। 
  • सुकेका घाँसपात, पातपतिंगर जलाएर धुँवा निकाली कीरालाई भगाउन सकिन्छ । 
  • खाद्य पासो (फलको टुक्रा राखी) प्रयोग गरी माउ पुतली मानें। 
  • फललाई ब्यागिङ्ग गर्ने (प्लाष्टिकको थैलामा स-साना प्वालहरु पारेर फललाई बेर्ने)। 
  • कीटनाशक विषादी मालाथियन २ मिलि प्रति लिटर पानी साथमा सक्खर मिसाई छर्ने ।

पहेलो तथा सेतो गवारो (Yellow borer / White borer)

परिचय

Scientific Name: Scirpophaga incertulas / Scirpophaga incertulas

क्षति गर्ने बालीहरु: धान

पहिचान

वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतली हुन्छन् । लाभ्रेहरू फिका पहेंला अथवा गुलावी रङ्गका अथवा शरीरमा धर्का भएका हुन्छन् र यिनीहरू विरुवाको डाँठभित्र रहन्छन् ।                                                                          

borer        borer 

 

लक्षण

बिरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गावा देखिन्छन्। यदि विरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो वाला देखिन्छन् ।

borer

 

व्यवस्थापन

१. गवारोको क्षति कम गर्न हरेक वर्ष धान काटी सकेपछि रहेको सम्पूर्ण ठूटा निकाली जलाइ दिने अथवा ठूटा डुब्ने गरी पानी पटाइ दिने अथवा धान काटेपछि खेतलाई जोतिदिने
२. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने
३. प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने
४. ट्राइकोग्रामा परजीवी कीरा ५०,०००–१,००,००० प्रति हेक्टरका दरले रोपाइ गरेको ३–४ हप्ता पछि छाड्ने
५. धानखेतको आलीमा भटमास लगाउने
६. व्यासीलस थुरीनजियन्सीस ३ ग्राम प्रति लिटर पानीका दरले छर्कने
७. गवारोहरूको धेरै प्रकोप भएको खेतमा कार्वोफ्यूरान (फ्यूराडन, डाइफयूरान, की फयूरान आदि) वा कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) वा फिप्रोनिल ०.३% जीआर(रीफ्री, रिजेन्ट, टाटाजेन्ट आदि) दाना विषादी कुनै एक १.२५ के.जी. प्रति रोपनीका दरले वा क्लोरानट्रानीलीप्रोल ०.४% जिआर (फेरटेरा) खेतमा छिपछिपे पानी जमाइ छर्ने । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन
८. माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने

अमेरिकन फौजी कीरा (American Army Worm)

परिचय

Scientific Name: Spodoptera frugiperda

क्षति गर्ने बालीहरु: मकै

पहिचान

वयस्क पुतली ध्वाँसे रङ्का हुन्छन। यसको अघिल्लो पखेटामा कालो धब्बा र छेउमा हल्का रङ्का धर्काहरु हुन्छन भने पछील्ला पखेटा खैरा रङ्का हुन्छन। लार्भाको शरीरमा लामो तीन रेखाहरु हुन्छन र यिनिहरुको रङ हरियो र गुलावी मिसिएको हुन्छ।

army worm

 

लक्षण

यसको लार्भाले मकैको पातहरु खान्छन। यिनिहरुले मुल नसा मात्र बाँकी राखेर अरु सबै खाइदिन्छन। फौजी कीराले क्षति गरेको विरुवाको गुभोमा कालो रङ्को दिसाहरु भेटिन्छन्।

fall army worm

 

व्यवस्थापन

१. बत्तीको पासो को प्रयोग गरि वयस्क पुतली नाश गर्ने ।
२. मकैको गुभोलाई बाहिर बाट हात ले थिचिदिँदा भित्र बसेको लार्भा लाई मार्न सकिन्छ।
३. कुलो खनेर त्यसमा खरानी हाली दिनाले एक ठाउबाट अर्को ठाउमा लार्भा सर्न कम गर्न सकिन्छ ।
४. स्पिनोस्याड ४५ % को झोल बिषादी ०.२ एम एल प्रती लिटर पानी मा मिसाएर छर्ने । 

धानको काँडेदार खपटे हिस्पा (Rice Hispa)

पहिचान

वयस्क खपटे कीरा निलो–कालो रङ्गको काँडादार पँखेटा भएको हुन्छ ।

hispa

 

लक्षण

यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन् ।

व्यवस्थापन

१. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने ।
२. व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने ।
३. प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्र्पक विषादी लाम्डासाइहेलोथ्रिन ५% इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा मालाथियन ५०% इसी(साइथियन, अनु मालाथियन, सूर्याथियन) १.५ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।

परिचय

Scientific Name: Dicladispa armigera

क्षति गर्ने बालीहरु: धान