परिचय

परिचय

अनार एक वहुवर्षिय, वहुउपयोगि पुनीकेसि (punicaceae) परिवार अन्तरगतको फल हो । यो अति उपयोगि पौष्टिक तत्वयुक्त फलफूल मानिन्छ । विश्वका विभिन्न उष्ण तथा उपोष्ण प्रदेशिय देशहरुमा अनारको व्यवसायिक खेति हुदै आएको पाईन्छ । युरोपको स्पेन, अफ्रिकाको मोरक्को, ईजिप्ट, एशियाको अफगानिस्थान वेलाचिस्थान), चीन, जापान, तथा संयूक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा व्यवसायिक रुपमा खेति गरेको पाईन्छ ।

यसको इतिहाँसलाई हेर्दा अनारको उत्तपत्ति इरानमा भएको मानिन्छ । अन्य अभियानमूखि कार्यक्रम जस्तै फलफूल खेतिमा पनि आयात प्रतिस्थापन गर्ने किसीमवाट अभियानमूखि तथा प्राथमिकता प्राप्त कार्यक्रम संचालन गरी कागति, अनार, अंगुर, लिची, भुइकटहर आदि जस्ता फलफूललाई जलवायु तथा माटोको संभाव्यताको आधारमा विस्तार गर्नु अपरिहार्य देखिन्छ । नेपालको हावापानी तथा माटोको अवस्थालाई हेर्दा अनारको खेति डढेलधुरा, डोटी, आछाम, दैलेख, सुर्खेत, दाँड.,अर्घाखाँचि, पर्वत, नवलपरासि, तनहु, गोर्खा, धादिड., नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली देखि पुर्वको ओखलढुंगा, भोजपुर, धनकुटा, इलाम सम्म समुन्द्र सतहवाट १८५० मीटर उचाइ सम्मको मध्य पहाडको उपोष्ण हावापानीयुक्त क्षेत्रमा सफलता साथ गर्न सकिन्छ । यसको स्थानीय जातलाई दारिम भनिन्छ । अनारको खेतिले नेपालमा पनि विस्तारै व्यवसायिक रुप लिन थालेको देखिन्छ । अनार खेतिमा चासो दिने कृषकहरु मिलेर नेपाल अनार संघ नामक संस्था खोलि व्यवसायिक अनार खेतिको सुरवात गरेको देखिन्छ ।

नेपालमा सर्वप्रथम रामेछापका किसान हिरालाल आचार्यले २०६२ सालवाट अनारको व्यसायिक खेति सुरु गरेको देखिन्छ । नेपालको बजारहरुमा अनार प्रति के.जी. रु.२००–३०० को दरले विक्रि भई रहेको पाईन्छ । नेपालीलाई त अनार खानको लागि विरामी नै पर्नु पर्ने अवस्था छ । नेपालमा वर्षेनी ५–७ करोडको अनार विदेसवाट आयात हुने गरेको देखिन्छ । अनारको विरुवा रोपेको ३ वर्षपछि फल्न सुरु गर्छ र ३०–४० वर्ष सम्म फलि रहन्छ ।

​​​​​​​उपयोग

यसको फल तथा रुखको बोक्रा पखाला तथा आँऊ परेको वेलामा औषधिको रुपमा प्रयोग गरिन्छ । फलको वोक्रालाई कतै कतै कपडा रंगाउने डाँई वनाउन प्रयोग गरिन्छ । यसको फलमा मुख्य पाउने तत्वहरुमा ७८ प्रतिशत पानी, प्रोटिन १.६ प्रतिशत, कार्वोहाईड्रेड १४.५ प्रतिशत, रेशा(फाइबर)५.१ प्रतिशत, चिल्लो पदार्थ ०.१ प्रतिशत, प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फसफोरस, फलाम, तथा भिटामिन वि र सि पाइन्छ । कुष्ठ रोगिलाई यसको फल वढि उपयोगि मानिन्छ । वीउमा करिव १५ प्रतिशत तेल हुन्छ र औद्योगिक प्रयोजनमा ल्याइन्छ । १०० ग्राम वीउमा १.०९मिलिग्राम ओस्ट्रोन, र ०.०३६ ग्राम कुमोष्ट्रोल (commestrol, nonsteroidal oestrone) पाइन्छ । एनिमिया भएको रोगिलाई यसले फाइदा गर्दछ ।

एउटा भनाइ छ एक दाना अनारले सयौ विरामीलाई निको पार्दछ । यसको फूल अति आकर्षक देखिन्छ र वगैचाको सुन्दरता वढाउन मद्दत गर्दछ । अनारको जुसमा एन्टिअक्सिडेन्ट तत्व पाईन्छ जसले रगतको विकार हटाउन, हेमोग्लुविन वढाउनको साथै मुटु स्वास्थ्य वनाइ राख्न मद्दत गर्दछ ।

औषधिको रुपमा उपयोगिता

  • ­अनार फलले एन्टिअक्सिड्याण्टको पनि काम गर्ने, ट्यानिन, इलाजिक एसिड र एन्थोसाइनिन उपलब्ध गराउने तथ्य अनुसन्धानबाट प्राप्त भएको छ । अनारको फूल औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । ब्रोकाइटिस, झाडापखाला, अल्सर, आँखा दुखेको वा मधुमेहको रोगलाई उपाचार गर्न अनारलाई प्रयोग गर्न सकिन्छ । धेरै प्रकारका फेनोलिक यौगकिहरु अनार पाइने भएकाले स्वास्थ्यलाई अनार फाइदाजनक छ ।
  • ­अनारको डाँठको बोक्रा र जरामा आइसोपेलेटेरिन जस्ता अल्काल्वाइड (Alkaloids)पाइन्छन् जुन फित्ते जुकाको (टेपवर्म) उपचारमा उपयोगी हुन्छन् ।
  • ­नाकबाट रगत बग्ने तथा गिजाबाट रगत बग्ने समस्याको समाधानलाई अनारको फूलको, फलको वोक्राको तथा डाँठको बोक्राको रस अचुक औषधिको रुपमा काम गर्दछ ।
  • ­कोलेस्ट्रोलको मात्रा घटाउनलाई लगायत उच्च रक्तचापका विरामी र मुटुका रोगीलाई अनार अति नै उपयोगी हुन्छ ।
  • ­अनारको फलको वोक्रको आयुर्वेदिक औषधीको रुपमा प्रयोग गरिन्छ, झाडा पखालालाई नियन्त्रण गर्न अनारको वोक्रा सुकाएर बनाएको धुलोलाई पानिमा फिटेर खाँदा उपयोगी हुन्छ ।
वानस्पतिक विवरण

अनारको जेनस (Genus) पुनिका (Punica) हो र यस अन्तर्गत पुनिका प्रोटोपुनिका र पुनिका ग्रानाटम (Punica protopunica / Punica granatum) गरी दुई स्पेसिस पर्दछन् । अनारमा १६ वा १८ क्रोमोजोम (2n= 16 or 18) हुन्छन् । अनारको बोट करिब ५–६ मिटर अग्लो हुन्छ तर गोलो देखि अण्डाकारसम्म पाइएको अनारको फलको व्यास ८ देखि १२ से. मी. सम्म पाउन सकिन्छ । अनारको फललाई वालाउस्टा (Balausta) भनिन्छ जस्मा हजारौँ संख्यामा भएका विउको वरिपरि बाक्लो, रसले भरिएको र कमलो भागलाई हामिले खाने गर्छौ । विया विहिन प्रजाति (seedless variety) भएकाहरू विउ कमलो र नरम हुन्छ र खाँदा मुखमा विलाउने खालको हुन्छ । फलको रंग हावापानिमा निर्भर भएकाले अनारको वोक्राको रंग सेतो, र पहेलो देखि रातो रंग पनि पाउन सकिन्छ । अनारको बोक्रा जात अनुसार पातलो र बाक्लो हुन्छ ।

पोषण तत्वको उपलब्धता

अनार एक पोषणयुक्त फल हो जसमा ६८५ खाना योग्य भाग भएको र यसलाई ताजा फलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। त्यसैले अनारमा बढी पोषण तत्व हुने भएकाले डाक्टरले पनि क्यान्सरका विरामिहरुलाई अनारको प्रयोग गर्न सल्लाह दिन्छन् ।अनारको बिजुला संघनित (Frozen) गरेर ६ महिनासम्म राखि प्रयोग गर्न सकिन्छ। अनारको बिजुला विभिन्न किसिमका सलादमा पनि मिसाएर सेवन गर्नुको साथै विजुला वा रस प्रशोधन गरी माड (कन्सन्ट्रेट), जेली, सिरप, सस, वाइन जस्ता र विभिन्न प्रकारका प्रशोधित खाद्य पदार्थ बनाउन सकिन्छ । अनार फलमा पाईने पोषण तत्वको विवरण तालिकामा दिईएको छ ।

तालिका: अनारमा पाईने पोषक तत्वहरु

तत्वहरु मात्रा (प्रति १०० ग्राम )
पानी ७७.९३ ग्राम
शक्ति ३४६.० किलो जुल (८३ Kcal)
काबोहाइड्रेट १८.७ ग्राम
चिनी १३.६७ ग्राम
पच्नेरेसा (डाइटरी फाइवर) ४.० ग्राम
बोसो १.१७ ग्राम
प्रोटिन १.६७ ग्राम
भिटामिनहरु  
थायमिन (भिटामिन बी १) ०.०६७ मिलिग्राम (६५)
राइभोफ्लाभिन (भिटामिन बी २) ०.०५३ मिलिग्राम (४५)
नियासिन (भिटामिन बी ३) ०.२९३ मिलिग्राम (२५)
प्यान्टोथेनिक एसिड (भिटामिन बी ५) ०.३७७ मिलिग्राम (८५)
भिटामिन बी ६ ०.०७५ मिलिग्राम (६५)
फोलेट (भिटामिन बी ९) ३८.० माइकोग्राम (१०५)
कोलिन ७.६ मिलिग्राम (२५)
भिटामिन सी १०.२ मिलिग्राम (१२५)
भिटामिन ई ०.६ मिलिग्राम (४५)
भिटामिन के १६.४ माइकोग्राम (१६५)
खनिज/लवणहरु  
क्यालसियम १०.० मिलिग्राम (१%)
फलाम ०.३ मिलिग्राम (२%)
म्याग्नेसियम १२.० मिलिग्राम (३%)
म्याग्गानिज ०.११९ मिलिग्राम (६%)
फोस्फोरस ३६.० मिलिग्राम (५%)
पोटासियम ३६६.० मिलिग्राम (५%)
सोडियम ३.० मिलिग्राम
जिंक ०.३५ मिलिग्राम

श्रोतः en.wikipedia.org/wiki/pomegranate)

जातहरु

अनारका मुख्य जातहरु

Punicaceae परिवार अन्तर्गत मुख्य २ प्रजातीहरु Punica protoPunica granatum पर्दछन् । Punica granatum अन्तरगत २ उपजातीहरु क्लोरो कार्पा (chlolro carpa), प्रोफाइरो कार्पा (prophyro carpa) पर्दछन्। नेपालमा खेति गरिने उपजाती चाहि क्लोरो कार्पा (chlolro carpa) हो ।

अनार हिउदमा पात झर्ने र सदावहार रहने २ प्रकारका जातहरु पाईन्छन्। भारतको उष्ण प्रदेशिय क्षेत्रमा खेति गरिने सवै जातहरु सदावहार हुन भने नेपालको १०००–१८०० मीटर उचाँइ सम्म खेती गरिने जातहरु पतझर प्रकृतिका हुन्। प्राय उन्नत जातहरु सदावहार जात अन्तरगत पर्दछन्। तर नेपालको हावापानीमा भने यीनै जातहरुले पतझर स्वभाव देखाउछन्। अनारको मुख्य जातहरु यस प्रकार छन् ।

कान्धारी(Kandhari)

यसको फल ठुलो, बोक्रा कडा रातो, वीउको बाहिरी भाग रगत जस्तो रातो, वीउ कडा, रस अलि अलि अमिलो स्वादको हुन्छ । गाढा रातो रंगको ठूलो आकारको फल हुन्छ, फलको रस हल्का अमिलो हुन्छ भने विया कडा र रातो रंगको हुन्छ ।

कावुल(Kabul)

यसको फल ठुलो, बोक्राको वाहिरी भाग रातो पहेलो, वीउको वाहिरी भाग वढि रातो वाक्लो र धेरै हुन्छ , रस अलि अलि तितो हुन्छ ।

मुस्काट रेड (Muskat red)

फलको आकार सानो, मझौला, बोक्रा बाक्लो हुन्छ । यसको खाने भाग नरम, रस गुलियो र वीउ नरम हुन्छ । सानो देखि मध्यम फल, बाक्लो बोक्रा, मध्यम गुलियो, विया त्यति कडा हुँदैन ।

पेपर सेल(Paper shell)

पात मझौला खालको वोक्रा वाक्लो, वीउको बाहिरी खाने भाग रातो गुलावी, स्वाद गुलियो र वीउ नरम हुन्छ । फल मध्यम आकारको हुन्छ, बोक्रा अलिक बाक्लो हुन्छ, विया नरम तथा रातो र कलेजो रंगको हुन्छ भने रस गुलीयो हुन्छ ।

धोल्खा(Dholkha)

यस जातका फलहरु ठुलो हुन्छन्। वोक्रा हरियो, सेतो हुन्छ । वीउको वाहिरी खाने भाग हल्का रातो, सेतो हुन्छ, वीउ नरम र रसमा अमिलोपना वढि हुन्छ । ठूलो दाना, पहेलो रातो बोक्रा, मिठो हुने, कडा बीउ हुन्छ।

मृदुला

सदाबहार प्रकृति, गणेश र गुल शाह रेड बिचको वर्णशंकर जात, २५०–३०० ग्राम फलको साइज, फललको बोक्रा चिल्लो र गाढा रातो, गुलियो र मिठो स्वाद भएको

गणेश 

मध्यम आकारको फल, विया नरम र गुलियो तथा हल्का कलेजी रंगको हुन्छ, पछौटे जात, २२५–२५० ग्राम (सानोदेखि मझौता दाना हुने, पातलो बोक्रा भएको, सदाबहार खालको जात, अलान्दि (ब्बिलमष्) जातबाट छानिएको जात

भाग्वा वा सिन्धुरी

भारत सदावहार जात, सानोदेखि मझौला साइजको फल, पातलो वोक्रा हुने, चिल्लो रातो फल, मिठो स्वाद, नरम विउ हुने

वेदना 

फलको आका मझौला देखि ठूलो (२५०–३०० ग्राम) हुने, हल्का सेतो र खैरो बोक्रा हुने, चिल्लो रातो फल, मिठो स्वाद, नरम विउ हुने, बिया वा बिजुला स्वादिलो, गुलयो तथा नरम र कलेजी रङ्ग भएको, Seedless variety पनि भनिन्छ ।

वन्डरफुल क्यालिफोर्निया

गोलाकार फल, ठूला, गाढा बैजनी रातो, धेरै जुस भएको, बिउ मध्यम कडा हुने जात, स्वयंमसेचित जात, बेढी चिसो सहन सक्ने जात

अराक्टा

नेपालमा त्यति प्रचलित नभएको तर निर्यात योग्य जात भएको, कढा रातो बोक्रा भएको फल, नरम बीउ, धेरै गुलियो जात

स्थानीय अनार

स्थानीय अनारको फल मझौला खालको, बोक्रा हरियो, सेतो र पाक्ने समयमा फलको रंग पहेलो रातोमा परिणत हुन्छ, वीउको वाहिरी भाग रातो र नरम हुन्छ, वीउ कडा र रसको स्वाद टर्रो गुलियो हुन्छ ।

स्थानिय दारिम

यो जात नेपालको ८००–१३०० मीटर उचाइको पहाडी क्षेत्रमा खेति गरिन्छ । फलहरु अनारको जस्तै साना हुन्छन् । फलको वोक्रा रातो र हरियो हुन्छ । यसको वोटमा अनारको भन्दा वढि काँडाहरु हुन्छन् । वीउको वोक्रा काँचोमा सेतो र पाक्ने समयमा रातो र वीउ कडा, रस तिखर अमिलो हुन्छ ।

आवश्यकता

हावापानी

अनारको खेति समुन्द्र सतहवाट १८५० मीटर उचाइ सम्मको क्षेत्रमा गर्न सकिन्छ । गर्मिमा सुख्खा र हिँउदमा चिसो हावापानी हुने ठाउ अनार खेतिको लागि उपयुक्त मानिन्छ । हिउदमा ठण्डा नहुने ठाँउमा वोट सदावहार र ठण्डा हुने ठाँउमा विरुवा पतझर प्रकृतिको हुन्छ । हिउदमा पतझर हुने हुँदा अनारले तुषारो पनि सहन सक्दछ । करिव ३८डिग्रि सेल्सियस तापक्रममा फलको विकास राम्रो र फलको रस वढि गुलियो हुन्छ । वढि आद्रता हुने ठाँउमा फलको गुणस्तर त्यति राम्रो मानिदैन । यसरी हेर्दा नेपालको पश्चिमी मध्य पहाडी क्षेत्र खास गरीकन डडेलधुरा, डोटी, आछाम, दैलेख, सल्यान, प्युठान आदि जिल्लाको माटो सुहाउदो क्षेत्रमा सफलतापुर्वक व्यवसायिक खेति गर्न सकिने संभावना देखिन्छ । त्यस क्षेत्रमा स्थानिय अनार तथा दारिमका वोटहरु परापुर्व कालदेखि लगाउदै आएको पाइन्छ ।

माटो

अनार सवै प्रकारको माटोमा खेति गर्न सकिने भएता पनि दोमट वलौटे तथा पाँगो दोमट माटामा यसको वृद्धि विकास राम्रो हुनुको साथै उत्पादन पनि राम्रो दिन्छ । यसको सवै भन्दा फाइदाजनक पक्ष केछ भने अन्य फलफूल खेति गर्न नसकिने रुखो तथा कमसल खालको वढि चून तथा लवणयुक्त(Alkaline and salty soil) माटोमा पनि अनार राम्रोसंग हुर्कन बढ्न र उत्पादन दिन सक्दछ ।

वर्षा तथा तापक्रम

वार्षिक वर्षा ५०–६० से.मी. हुने ठाउँ यो फलको लागी उपयुक्त हुन्छ । १३–४० डिग्री सेन्टिग्रेडसम्म तापक्रममा अनार खेती गर्न सकिन्छ । ४० डिग्री र सेन्टिग्रेड भन्दा बढी तापक्रम भएमा फलमा घामले डढेको जस्तो दाग लाग्न सक्दछ। हिउँदमा अनार शुसुप्त अवस्थामा रहने भएकाले १० डिग्री सेन्टिग्रेड भन्दा तलको तापक्रमले केही नोक्सानी गर्दैन ।

नर्सरी व्यवस्थापन

विरुवाको प्रसारण

अनारको प्रसारण बीउ तथा वानस्पतिक (कलमि) विधिवाट गर्न सकिन्छ ।

वीउवाट प्रसारण

अनारको दाना भित्रको वियावाट वेर्ना तयार गर्न सकिन्छ । अनार एक परसेंचन विरुवा भएकोले वीउवाट तयार पारिएको वेर्नाहरुमा पुर्ण रुपमा मातृगुण प्राप्त गर्न सकिदैन । साथै बीउवाट तयार गरिएको विरुवाहरुले उत्पादन दिन पनि लामो समय लाग्ने हुन्छ । तसर्थ बीउवाट तयार पारेको विरुवा व्यवसायिक खेतिको लागि त्यति उपयुक्त मानिदैन ।

वानस्पतिक प्रजनन

अनारको विरुवा विभिन्न वानस्पतिक तरिकावाट प्रसारण गर्न सकिने भएता पनि विच्छेदन (cutting) र गुटि विधि (layering) वढि सफल भएकोले लोकप्रिय मानिन्छ ।

कटिङ्ग विधिद्वारा प्रजनन

कटिङ्ग विधिवाट विरुवा तयार गर्दा करिव १ वर्ष पुरानो कडा काँठ पसेको पेन्सिल साइजको हाँगावाट २०–२५ से.मी. लामो कटिङ्ग लिनु पर्दछ। इन्डोल व्युटारिक एसिटिक एसिड(IBA) वा नेप्थेलिक एसिटिक एसिड(NAA) जस्ता विरुवा वद्र्धक रसायनको ५००–१०००पि.पि.एम.झोलमा डुवाएर लगाएमा छिटो जरा पलाउन मद्दत गर्दछ । कडा काँठ पसेको हाँगाहरुमा भन्दा २–३ वटा आँख्ला भएको नरम काँठ पसेको हाँगाहरुवाट राम्रो जरा निस्कन्छ । कटिड.टुक्राहरुलाई नर्सरीमा ६० डिग्री ढल्काएर रोप्नु पर्दछ । नर्सरी व्याडलाई वासको खपेटाले गुम्बज जस्तो वनाई भित्रपटि जुटको वोरा भिजाएर राख्ने र त्यसलार्ए वाहिरवाट प्लाष्टिले ओडाउनाले भित्र आद्रतायुक्त वातावरण सिर्जना हुन जान्छ । साधारणतयाः कटिङ्ग मा १५–३० दिनमा जराहरु निस्कन सुरु गर्दछन् । यसरी तयार पारिएका वेर्नाहरु ९–१२ महिनाको भएपछि सार्नको लागि तयार हुन्छ । वातावरण मिलाउन नसकिने स्थानमा भने कटिड.आषाढ श्रावणमा गर्नु उपयुक्त हुन्छ । तर अनुकुल वातावरण सिर्जना गर्न सकेमा माघ, फाल्गुणमा कटिङ्गलिनु राम्रो मानिन्छ ।

गुटी विधिद्वारा प्रजनन

गुटी विधिद्वारा अनारमा प्रजनन गर्न करिव १ वर्ष पुरानो पेन्सिल आकारको (२ –४ से.मी.डायमिटर) हाँगालाई छनौट गरी २.५से.मी.जति लामो हुने गरी हाँगाको वोक्रा औंठी आकार गराएर निकालिन्छ । वोक्रा हटाएको ठाँउमा ईन्डोल व्युटारिक एसिड (IBA), वा नेप्थेलिक एसिटिक एसिड(NAA)को १ प्रतिशत झोलले उपचार गरेमा छिटो र प्रशस्त जराहरुको विकास हुन मद्दत पुग्दछ । उक्त वोक्रा निकालेको ठाँउमा भिजाएको झयाउ राखेर प्लाष्टिकले लपेटेर दुवै छेउमा राम्रोसंग चिस्यान नउड्ने गरी कसेर वाध्नु पर्छ । यसरी गुटी वाधिएको ठाँउमा ३०–४० दिनमा जराहरु पलाएको वाहिरवाट स्पष्ट देख्न सकिन्छ । जराहरुको राम्रो विकास भई सकेपछि गुटि वाँधेको हाँगोलाई तलवाट काटेर छुटाई नर्सरीमा सार्नु पर्दछ । गुटि गर्न जेष्ठ आषाढ महिनामा उपयुक्त हुन्छ ।

जग्गा तयारी

बगैचा स्थापना

अनारलाई समथर जग्गा भएमा वर्गाकार, आयताकार, पंचबाटिका वा क्विन्कंकस् र षड्कोणकार (त्रिभुजाकार) तथा भिरालो जग्गा भएमा गर्हा (Contour) प्रणालीमा रोप्न उपयुक्त हुन्छ ।

­वर्गाकार प्रणाली

यस प्रणालीमा वोटदेखि वोटसम्मको दुरी र हारदेखि हारसम्मको दुरी बराबर हुन्छ । जस्तैः ४ मिटर ×४ मिटरको वा ५ मिटर ×५ मिटरको दुरीमा यो विधि बगैचा स्थापना गर्दा प्रयोग गर्न सकिन्छ।यो प्रणालीमा कम विरुवा अट्दछन र छोटो समयमा उत्पादन लिन सकिने अन्तरबालीहरु जस्तैः केरा, मेवा आदि लगाइन्छ र यस विधिलाई पंचबाटिका वा क्विन्कंकस् (एभलतबनयल यच त्रगष्लअगलह) भनिन्छ ।

­आयातकार प्रणाली

यस प्रणालीमा वोटदेखि वोटसम्मको दुरी र हारदेखि हारसम्मको दुरी फरक हुन्छ । जस्तैः ५ मिटर ×४ मिटरको वा ४ मिटर ×३मिटरको दुरीमा बगैचा स्थापना गर्दा यो विधि प्रयोग गर्न सकिन्छ ।

­षड्कोणकार (त्रिभुजाकार) प्रणाली

यस प्रणालीमा समान भुजा हुने गरी त्रिभुजको रेखाड्ढन गरी समबाहु त्रिभुजको कुनामा बिरुवा रोपिन्छ । १५५ बढी विरुवा आयताकार वर्गाकार प्रणाली भन्दा यस प्रणालीमा अट्दछ । यस प्रणालिमा प्रत्येक छ वटा बिरुवाले षटकोण बनाउँछ र बिचमा सातौ विरुवा पर्दछ ।

­गर्हा (Contour) प्रणाली

पहाडी क्षेत्रका भिरालो जग्गामा उपयुक्त हुने यस प्रणालीमा वोटदेखि वोटसम्मको दुरी र हारदेखी हारसम्मको दुरी गह्रैपिच्छे फर पर्न सक्दछ। पुछारको गह्राबाट चिन्न लगाउदै माथितिरको गह्रामा रेखाड्ढन गर्दै पछि गह्राहरु बनाएर गह्राको बीच बीचमा अनारका बिरुवाहरु लगाउनु पर्दछ ।

जग्गा तयारी

अनार खेतिको लागि घाम लाग्ने, सिंचाईको सुविधा भएको, पानी नजम्ने, तुषारो नपर्ने जमिन उपयुक्त हुन्छ । रोप्न छानिएको जमिनको झारपात हटाएर सफा गर्नु पर्छ र राम्ररी जोतेर माटो तयार पार्नु पर्छ।जात अनुसार बिरुवा–बिरूवा बीचको दूरी फरक पर्दछ । एक रोपनिमा ३० वटा र एक हेक्टर जग्गामा ६०० विरुवा अट्ने गरी कम्तिमा ४×४ मिटर लम्बाइ र चौडाइका खाडल खनि माटोको मलिलोपना, सिंचाई सुविधा आदिलाई ध्यान दिनुपर्दछ । ५×३ वा ५×२ मिटर लम्बाइ र चौडाइमा पनि सघन खेती गर्न सकिन्छ । बिरूवा रोप्नु अघि ६० से. मि. लम्बाई, ६० से. मि.चौडाई र ६० से. मि.गहिराईका खाडल खन्नु पर्छ । खाडल खनेको माथिको आधा भागको मलिलो माटो र तलको कमसल माटो बेग्ला बेग्लै राख्नु पर्दछ । १५० से. मि.लम्बाई, १० से. मि. चौडाई र ३ से. मि. मोटाई भएको प्लान्टिङ्ग बोर्ड प्रयोग गरि बोर्डका दुबै पट्टि छेउछेउमा र बिच भागमा भएको अंग्रेजी ख आकारको दाँतीमा किला ठोकेर खाडलको निर्धारण गर्नु पर्दछ । खाडल खनेर केही दिन सुक्न दिनुपर्छ, दुई डोको (४०–५० के.जी.) राम्ररी कुहिएको गोबर मल र २०० ग्राम बोनमिल (हड्डीको धुलो) राखी खाडल जमिनबाट एक फिट माथि सम्म उठाउनुपर्दछ। त्यसले गर्दा पानी जम्न दिदैन र माटो रोप्दा बसेपछि खाडल जमिनको सतहको बराबर हुन्छ । प्लान्टिङ्ग बोर्डको बिच भागमा भएको अंग्रेजी ख आकारको दाँतीमा पर्ने गरि विरुवा रोप्नु पर्दछ ।

विरुवा लगाउने तरिका र दुरी

अनार वगैचा वनाउदा वर्गाकार वा षटकोणकार पद्धति अनुसार ५×३ मीटर देखि ५×५ मीटरको दुरीमा लगाउनु उपयुक्त हुन्छ । यसरी हेर्दा प्रति रोपनी ३३ वटा विरुवा लगाउन सकिन्छ र प्रति हेक्टर ६६० विरुवा अटाउछन्। वर्षा सुरु भएपछि आषाढ महिनामा विरुवाको जरा नखल्वलाउने गरी खाल्डोको विचमा पर्ने गरी विरुवा सार्नु पर्दछ । शुरुको १–२ हप्ता सम्म माटोको चिस्यानको अवस्था हेरी पानी दिनु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

जगाको रेखांकन चैत्र, वैशाख महिनामा गरी खाल्डो खनि १ डोको राम्ररी कुहिएको प्रांगारिक मल, ५० ग्राम डि.ए.पि., ३० ग्राम म्युरेट अफ पोटास, १के.जी. हाडको धुलो, १ के.जी.पिना मल तथा ५० ग्राम डर्सभान धुलो राम्रोसंग मिसाई सतह भन्दा १५–२५ से.मी.अग्लो हुने गरी खाल्डो पुर्नु पर्दछ । प्रत्येक वर्ष प्रति विरुवा वर्ष याम सुरु हुनु भन्दा अगाडि तथा फूल खेल्नु अगावै २०–२५ के.जी. प्रांगारिक मल दिनु पर्दछ । वोट १ वर्षको भएपछि डि.ए.पि. २७० ग्राम, युरिया २४० ग्राम, म्युरेट अफ पोटाश १२० ग्रामको दरले प्रति वर्ष थप्दै जानु पर्दछ । नाइट्रोजनको आधा भाग र अन्य सवै मल अनार फुल्ने समयमा दिनु पर्दछ भने नाइट्रोजनको वाँकी भागलाई फलहरुको विकास भइरहेको समयमा र फल टिपे पछि दिनु राम्रो हुन्छ ।

सिंचाई व्यवस्थापन

विरुवालाई शुरुको अवस्थामा माटोमा हल्का चिस्यान हुन आवशयक हुन्छ । विरुवा वर्ष दिनको भएपछि भने सूख्खा समयमा लामो समय पानी नपरेको अवस्थामा मात्र सिंचाई गरे पुग्छ । बलौटे माटो भएको स्थानमा १५–२० दिनको फरकमा सिंचाई दिनु राम्रो मानिन्छ । मलखाद दिए पछि र विरुवामा फूल तथा फल लागेपछि सिंचाईको वढि आवशयकता पर्दछ । माटोमा चिस्यानको मात्रा कमि भएमा फूल तथा फल झर्ने र फलहरु फुटने गर्दछ । पानी सिंचाई गर्दा वोटको वरीपरी घेरा (basin) वनाएर दिनु उपयुक्त हुन्छ । वोटको वरीपरी माटो उठाएर केही उँचो बनाएर फेदमा पानी नजम्ने किसीमले निकासको प्रवन्ध गर्नु पर्दछ । वढि चिस्यान भएमा अनार कम फुल्दछ । अनारलाई सिंचाई नदिई केहि जराहरु खलवलाई दिएमा यसको वृद्धि रोकिन्छ, पातहरु झर्छन र केहि दिन पछि फुलको कोपिलाको विकास हुन्छ ।

काँटछाँट

अनारको वोटमा एकै पटकमा प्रशस्त काण्डको विकास हुने भएकोले एउटा मूल काण्ड छनौट गरी अन्य काण्डहरु काटेर हटाउन सकिन्छ । अर्थात २–३ वटा काण्डहरु बढ्न दिई वाँकी हटाउन पनि सकिन्छ । वोट १ मीटर जति अग्लो भएपछि ७५ से.मी.माथीको टुप्पो काटेर हटाइ दिनु पर्दछ । यसो गर्दा काटिएको भाग भन्दा तल नँया हाँगाहरु पलाउन सुरु गर्दछन्। जमिन देखि करिब ६०–७० से.मी. माथीका ४–५ वटा ठुलो कोण भएको हाँगलाई छनौट गरी वाँकि अन्य हाँगाहरु हटाउनु पर्दछ । यसरी काँटछााट गर्दा मुलकाण्डमा ४–५ मुख्य हाँगा रहन्छन्। यसरी छ तयार पारिएका हाँगाहरुमा सूर्यको प्रकाश वढि प्राप्त हुनुको साथै उच्चस्तरको फलहरु प्राप्त गर्न सकिन्छ । एउटै मात्र मुलकाण्ड राख्दा कहिलेकाहि गवारोले आक्रमण गरेमा पुरै वोट नष्ट हुने अवस्था आउन सक्दछ । तसर्थ अनारमा ३–४ वटा मुलकाण्ड कायम गर्नमा वढि फाइदाजनक मानिन्छ । अनारमा फेददेखि सर्लक्क वढेका पानी हाँगाहरु (water sprouts or sucker) पलाएर आउछन्। यी हागाहरु अनुत्पादक भएकोले हटाउनु पर्दछ । रोग कीरा लागेका तथा एक आपसमा टासिएका, सानो कोण भएका हागाहरुलाई फल टिपे पछि वा हिँउदमा काटेर हटाउनु पर्दछ ।

फुल तथा फलको विकास

अनारको सदाबहार वा पतझड स्वभाव अनुसार फल लाग्ने हाँगाहरु फरक फरक हुन्छन्। सदावहारमा १ वर्षे हागामा र पतझरमा नँया हागामा फूल लाग्न सुरु गर्दछ । पतझड वोटहरु श्रावण भाद्रमा फुल्दछन् भने सदाबहार वोट माघ फाल्गुन तिर फुल्दछन् । कतिपय जापानिज जातहरु वसन्तमा नया पालुवासंगै फुल्दछन् । अनारमा भाले पोथी र उभय लिङ्गी फूलहरु लाग्दछन् । पोथी फूलको परागकण ग्रहण गर्ने क्षमता फूल खुल्नु १ दिन अघि देखि फूल खुलेको २–३ दिन सम्म रहन्छ । परागसेंचन क्रिया स्वयम सेंचन तथा परसेंचन दुवै क्रियावाट हुन्छ ।

बाली व्यवस्थापन

अनारको विरुवा ३–४ वर्ष भएपछि मात्र फल दिने भएकोले त्यो विचको अवधिमा कोशेवालीहरु जस्तो मास, मसुरो, गहत, केराउ, वकुल्ला, वुटे सिमी, आकाश प्रकास वोडी आदि अन्तर वालीको रुपमा लिन सकिन्छ । राम्रोसंग बाली व्यवस्थापन नगरेमा अनारमा वर्षै भरी अलि अलि फुल्ने र राम्रोसंग फल नलाग्ने हुदा वर्षैभरी फुल्ने क्रियालाई रोक्नु पर्दछ । अनारमा वर्षे (Ambe bahar) र हिउदे(Spring bahar) उत्पादन लिन सकिन्छ ।

आफुले कुन कुन सिजनमा फल लिने हो त्यसै अनुसार फुल्ने क्रियालाई नियन्त्रण गर्नु पर्दछ । वर्षे वाली लिने हो भने त्यसै अनुसार मंसिर, पुस देखि वगैचाको माटोलाई सुख्खा राखि माघ फाल्गुनमा मलखाद दिनु पर्दछ । यसो गर्दा माघ फाल्गुण तिर अनारमा प्रशस्त मात्रामा फुल लाग्दछ र श्रावण भाद्रमा फल उत्पादन लिन सकिन्छ । हिउदे वाली लिने हो भने जेष्ठ आषाढमा केहि दिन वोटलाई सुख्खा रहन दिई त्यसपछि रिड. वनाएर मलजल दिनु पर्दछ । यसो गर्दा आषाढ श्रावणमा फुलहरु फुलि पौष माघमा फल उत्पादन लिन सकिन्छ ।

रोग व्यवस्थापन

फल कुहिने (fruit rot)

यो एक प्रकारको ढुसि (Glomerellai congulate) को आक्रमणवाट लाग्दछ । ढुसिको आक्रमण पश्च्यात फलको तलपटि कालो वा छेउतिरवाट सुके जस्तो दाँग देखा पर्दछ र ७१० दिनमा नै फल कुहिएर झर्दछ । वर्षादको समयमा ढुसिले विरुवाको फूल फुल्न थालेपछि नै आक्रमण गर्दछ । त्यस्ता फूलहरुमा फल लाग्दैन। फलमा यो रोग लोपछि फलहरु भेटनो भएतिरवाट पहेलो कालो दाँग देखा पर्न थाल्दछ र दागहरु बढदै जादा फल कुहिएर झर्दछ । रोगको लक्षण देखिन थाले पछि रोगि फलहरु बटुलेर खाल्डोमा राख्ने तथा रोगि हाँगाहरु काटेर डढाउने गर्नु पर्दछ । क्याप्टान नामक ढुस िनाशक विषादि २ ग्राम प्रति लिटर पानीमा राखि १०१५ दिनको फरकमा ३ पटक छरेमा रोगको प्रकोप विस्तारै कम भएर जान्छ ।

पात तथा फलको थोप्ले(leaf and fruit spots)

पातको थोप्ले रोग ढुसि वा ब्याटेरियाको आक्रवाट लाग्दछ । सुरुको अवस्थामा पातको माथिल्लो सतहमाा सानो कालो दागहरु देखा पर्दछ । विस्तारै रोग वढदै जादा दागहरु फलमा पनि देखिन थाल्दछ । दाँगको वरीपरी पहेलो तथा हरियो घेरा बन्दछ र पात तथा फल झर्न थाल्दछ । रोगको लक्षण देखिनसाथ डाइथेन एम ४५ वा क्याप्टान २ ग्राम प्रति लिटर पानीमा राखि१०–१२ दिनको फरकमा छर्नाले रोग नियन्त्रण गर्न सकिन्छ ।

फल टिपेपछि लाग्ने रोग(Post-harvest diseases)

अनारको फल भण्डारण गर्दा धेरै प्रकारका ढुसि तथा ब्याक्टेरियाको आक्रमण हुन सक्दछ । खासगरेर भण्डारण गर्दा चोटपटक लागेका फलहरुमा ढुसि तथा ब्याक्टेरियाको आक्रमण वढि हुने गर्दछ । तसर्थ फल टिप्दा वा ओसारपसार गर्दा घाउ चोट लगाउनु भएन । भणडारण गर्नु पुर्व फललाई टु फोर डि को ५०० पि.पि.एम वा वेभिष्टिन वा वेनलेट ०.१ प्रतिशतको झोलमा डुवाएर भण्डारण गरेमा ढुसि तथा ब्याक्टेरियाको आक्रमणवाट बचाउन सकिन्छ ।

किरा व्यवस्थापन

सुलसुले (Mites, Brevipalpuslewisi)

च्याप्टो परेका सुलसुले (Flat Mites, Brevipalpus lewisi) फलको भेट्नो हूदै फलसम्म पुगी आक्रमण गर्दछन् र फलको हरियो रङ्गलाई खैरोमा परिवर्तन गर्दछन् । यसले गर्दा फल फुट्ने समस्या भई फुटेका ठाउँमा सुलसुले लुकेर बस्छन् । जाडो मौसमभर अनारको केस्रा छुट्टिएका बोक्रामा जिवित रहेर गर्मी बढेपछि पात र फलमा सर्दछन् । फलको बोक्रा कोर्त्याएर यी कीरहरूले क्षति गर्दछन् ।

रोकथाम नियन्त्रणका उपायहरु: सुलसुलेनाशक विषादी (Miticides) झोल चैत्र, बैशाख र जेष्ठमा गरी ३ पटक छर्दा यी कीराहरूको रोकथाम गर्न सकिन्छ । 
सल्फर झोल पनि ३ पटक (चैत्र, बैशाख र जेष्ठमा) छर्दा पनि यी कीराहरूलाई रोकथाम गर्न सकिन्छ । फूल फुल्नुभन्दा अगाडी र पछाडी सल्फरको प्रयोग गर्दा सुलसुलेको जनसंख्या घट्छ ।

कत्ले कीरा (scale insects)

कत्ले कीरा विरुवाको पातमाा टाासिएर रस चुस्ने हुदा पातहरु ओइलाएर जान्छ र विरुवा को वृद्धि रोकिन्छ । विरुवाको काण्ड तथा हागाको वोक्रा भित्र वसेर पनि कत्ले कीराले विरुवाको रस चुस्दछ । विरुवाको समयमा काँटछाट गर्ने तथा काण्डमा रहेको खुकुलो वोक्रा हटाउने आदि गर्नाले कीराको प्रकोपलाई कम गर्न मद्दत पुग्दछ र ०.१ प्रतिशतको फोलिथायन विषादि १० –१५ फरकमा २–३ पटक छर्नाले कीराको नियन्त्रण गर्न सहयोग पुग्दछ ।

थ्रिप्स (Thrips)

यी मसिनो खालका कीराहरु पातको तल्लो सतहमा वसेर विरुवाको रस चुसेर वाँचेका हुन्छन । थ्रिप्सले रस चुसेको पातहरुमा सेतो दाँगहरु देखा पर्दछन्। पछि रोगि पातहरु पहेलो हुन्छन्र पातहरु झर्न थाल्छन्। यसको रोकथामको लागि फल पाक्नु अगावै ०.०२ प्रतिशतको मालाथियन झोल पातमा छर्कनु पर्दछ ।

अनारको पुतली(pomegranate butterfly)

यो कीरा अनारको सवै भन्दा नोक्सानदायक हो । यसलाई अनारको गवारो पनि भनिन्छ । यो पुतलीले फलको वोक्राको भित्रपटि फुल पारेर छोडदछ र फलको विकास संगै फुलवाट लार्भाको विकास भई फल भित्रको गुदि खान सुरु गर्दछ । फललाई राम्ररी नियालेर हेरेमा यस्तो गवारे लागेको फलको वाहिर पटि किराको विष्ट टासिएर रहेको हुन्छ । गवारो लागेको फल फोरेर हेर्दा भित्रपटि १–२ लार्भाहरु चलवलाई रहेको देख्न सकिन्छ । यो कीराले अनारको ५०–९० प्रतिशत सम्म नोक्सानी हुने गर्दछ । ससाना फलमा आक्रमण भएमा फलहरु झर्दछन्। परिपक्क फलमा आक्रमण भएमा कहिलेकाहि वाहिर फल राम्रो देखिएता पनि भित्र लार्भाहरु हुर्किरहेका हुन्छन्। यसको नियन्त्रणको लागि मेटासिड, सेभिन, डेमिक्रन, मध्ये कुनै एक विषादि २ मिलीलिटर प्रति लिटर पानीमा मिसाइ १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ । फलहरुलाई कागज वा कपडाले ढाकेर पनि कीराको आक्रमणवाट जोगाउन सकिन्छ ।

काण्डको गवारो (stem borer)

यस्ले विरुवाको काण्ड तथा हाँगाहरुमा प्वाल पारेर भित्रको गुदि खाई दिन्छ र विरुवा कमजोर भई विस्तारै सुक्दै जान्छ । काण्ड वा हाँगामा कीराले बनाएको प्वालमा तारले घोचेर वा रुई (कपास)लाई पेट्रोल वा फर्मालिन वा कार्वडाई सल्फाइडको झोलमा मा चोपेर प्वालमा कोचेर लेसिलो माटो वा मैनले प्वाल टालेर कीरालाई नियन्त्रण गर्न सकिन्छ ।

वोक्रा खाने झुसिल कीरा (Bark eating caterpillar)

यस प्रकारको झुसिल कीरा विरुवाको काण्डमा लुकेर वस्दछ । र रातमा बाहिर निस्केर मुलकाण्ड वा हाँगाहरुको वोक्रा खाने गर्दछ । यसको आक्रमण खासगरेर सरसफाइमा ध्यान नदिएको वगैचा वा फलफूल विरुवामा वढि देखिन्छ । वगैचाको नियमित सरसफाई तथा राम्रो हेरविचार गरेमा कीराको प्रकोप स्वतः घटदछ भने कीरा लागि सकेको अवस्थामा भने मेटासिड, सेभिन, डेमिक्रन, मध्ये कुनै एक विषादि २ मिलीलिटर प्रति लिटर पानीमा मिसाइ १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।

निमाटोड (Nematode)

फलफूल विरुवाको जरामा निमााटोडको आक्रमणले गर्दा वोटको वृद्धि विकासमा असर पर्न जान्छ । यसको आक्रमणले विरुवाको पातहरु पहेलिएर झर्न थाल्दछन् । निमागन वा फयूराडनको प्रयोगले निमाटोडस्को प्रकोपवाट बचाउन सकिन्छ । वगैचाको विच विचमा सयपत्री फूल रोप्नाले पनि निमाटोडको प्रकोप कम गर्न मद्दत पुग्दछ ।

बाली कटानी तथा भण्डारण

उत्पादन

अनारको विरुवा रोपेको ३ वर्षपछि फल्न सुरु गर्दछ । अनारमा फूल लागि सकेपछि परागसेंचन भएमा ७ महिनामा फलहरु टिप्नको लागि तयार हुन्छन्। कुनै कुनै जातमा भने फल छिप्पि सकेपछि फलको वाहिरी वोक्रा पहेलो रंगमा बदलिन्छ । छिप्पिएको फललाई औलाले फटकारेर हान्यो भने धातुको भाँडो जस्तो आवाज आउछ । पाकेको फलको रसमा कुल घुलशिल ठोस पदार्थ (TSS) करिव १५ ब्रिक्स हुन्छ । सुख्खा क्षेत्रमा फलहरु छिप्पि सकेपछि पनि धेरै दिन सम्म वोटमा राख्दा फुट्ने हुदा फलहरु तयार भएपछि टिपी हाल्नु पर्दछ । अनारको फल टिपेपछि नपाक्ने (Non-climacteric fruit) प्रकृतिको भएकोले फलहरु वोटमा परिपक्क भएपछि मात्र टिप्नु उपयुक्त हुन्छ र गुणस्तरीय फल प्राप्त गर्न सकिन्छ । अनारको उत्पादन नेपालको परिपे्रक्षमा वोटको उमेर, माटोको मलिलोपना तथा हावापानीले प्रभाव पारेको देखिन्छ । राम्रो व्यवस्था गरेको वगैचावाट प्रति रोपनी ४००५०० केजी. भन्दा वढि उत्पादन लिन सकिन्छ भने इजरायल तथा अन्य विकसित मुलुकमा प्रति रोपनी २००० के.जी.सम्म उत्पादन हुने गरेको पाइन्छ ।

भण्डारण

अनारको बाहिरी बोक्रा कडा हुने र फल टिपेपछि नपाक्ने स्वभाव भएकोले साधारण अवस्थामा पनि अन्य फलको तुलनामा वढि समय सम्म भण्डारण गर्न सकिन्छ । हावा लाग्ने ठाँउमा फलहरु झुण्डाएर राखेमा पनि एक डेढ महिना सम्म सजिलै राख्न सकिन्छ भने कोल्डस्टोरमा ०–४.५ डिग्री सेल्सियस तापक्रम र ८०–८५ प्रतिशत सापेक्षिक आद्रता कायम गरेमा ६–७ महिना सम्म भण्डारण गर्न सकिन्छ । भणडारणमा कुहिने रोगवाट बचाउन ०.२ प्रतिशतको वेभिष्टिन ले उपचार गरेर राख्नु पर्दछ । कोल्डस्टोरमा फललाई काठको वाकसमा कागजले मोरेर तह तह बनाइ राखेमा फललाई कुहिनवाट जोगाउन सकिन्छ ।

अन्य जानकारी

अनारको फल फुट्ने समस्या (fruit cracking or splitting)

सुख्खा ठाउमा अनारको फल फुटने जटिल समस्याको रुपमा देखिन्छ । प्रायजसो फलहरु पाकी सकेपछि फुट्ने भएकोले त्यस्ता फुटेका फलहरुलाई भण्डारण गरेर राखन सकिदैन । फल फुट्नुको मुख्य कारण भनेको सुख्खा वातावरण र माटोमा चिस्यानको कमि भएर हो भन्ने एउटा भनाई छ भने अर्कोतिर सुख्खा मौसममा माटोमा सिंचाइ गरेमा पनि फलहरु फुट्छन् भन्ने छ । तर फल फुट्नुको मुख्य कारण भनेको माटोमा क्याल्सियम र वोरन तत्वको कमि भएर हो भन्ने पनि गरिन्छ । तर कतिपय अवस्थामा फल फुट्नुमा त्यस्को जातिय गुणले पनि प्रभाव पारेको देखिन्छ । फल फुट्ने समस्या समाधानको लागि विरुवामा मल दिदा क्याल्सियम र वोरन तत्व दिएमा पनि यो समस्या केहि मात्रामा कम गर्न सकिन्छ । त्यसैगरी पाईनोलिन (Anti-transpirant) ५० प्रतिशत वा जिवे्रलिन (Gibberellin)१२० पि.पि.एम.फल परिपक्क हुनु करिव ४ हप्ता अघि छरेमा पनि फल फुट्ने समस्या केहि मात्रामा कमि हुन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

नेपालमा अनार खेति विस्तारको लागि प्राविधिक पक्ष

कुलप्रसाद सुवेदी

कृषि प्रसार अधिकृत

क्षेत्रीय कृषि निर्देशनालय मध्यमांचल

 

अनार खेती प्राविधिक पुस्तिका 

अनुशा कार्की, कृषि अर्थ विज्ञ 

डा. शान्ता कार्की, प्रमुख

राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुर, नेपाल