१. जिरो (JIRO) : यो जातको हलुवाबेद जापानमा सन् १८४० मा विकास गरीएको हो । यति धेरै पुरानो भईकन पनि अझैसम्म प्रख्यात जातको रुपमा लिईन्छ । फलको आकार गोलाई तर्फ गोलो नभई चार खण्ड (four loped) को पाटा परि,उचाईमा थेप्चो परेको हुन्छ । फलको तौल २०० देखि २५० ग्राम सम्मको हुन्छ । फलको रंग गाढा सुन्तले रंग र गुदी पनि रातो पहेंलो रंगको मिश्रण भएको, गुलियोपन १५ प्रतिशत र खानमा मिठो, क्रिस्पी (crispi) हुन्छ । पाक्ने समय भदौको चौथो हप्ता देखि असोजको पहिलो हप्तासम्ममा पाक्दछ । अगौटे जातको रुपमा यो जातलाई लिईन्छ । यसको फूल (Parthenocarpy) स्वभाब भएकोले भाले फूल बीना पनि फल्ने गर्दछ ता पनि परागशेचन भएमा धेरै फल्ने,फल झर्ने समस्या कम हुनुका साथै,फलको आकार पनि ठुलो हुन्छ । यो जात हल्का रुपमा एक बर्ष बढी र एक बर्ष कम फल्ने स्वभाबको हुन्छ । यो जातको हलुवाबेद बिंया रहीत (Seedless) जात भएता पनि कुनै कुनै फलमा १—२ वटा बिंया हुने गर्दछ । बोटको हांगाको स्वभाब सिधा माथी जाने भई ५—६ मिटर सम्म अग्लो हुन्छ । बोट बलियो (Vigorous) र पातको रंग हल्का पहेंलो हरियो किसिमको हुन्छ ।
२. फूयु (Fuyu)
सन १८९८ मा जापानमा नयां जातको रुपमा विकसित गरिएको जात हो । यो मात्चुमोतो वासे फूयु’ जातबाट mutation भई नयां जातको रुपमा छनौट भएको हो । यो जात पनि Parthenocarpic प्रकृतिले फल्ने गर्दछ । प्रशस्त फूल लागे पनि फलहरु विभिन्न आकारका different shape लाग्ने गरेको पाईन्छ । यसको फूलको कोपिला पनि निकै ठूलो आकारको हुन्छ । यो जातलाई पनि भाले फुल फुल्ने जातसंग मिलाएर रोपेमा धेरै फलाउन सकिन्छ । फलको आकार भेट्नो तिर गोलो भई फेंद तिर हल्का चुचो परेको हुन्छ । फलको औषत तौल २०० देखि २७० ग्राम सम्मको हुन्छ । फलको रंग गाढा सुन्तले रंगको हुन्छ ।यसको गुलियोपन १६ प्रतिशत हुन्छ । असोजको तेश्रो हप्ता तिर फल पाक्ने शुरु हुन्छ । यसको बोटको आकार मध्यम किसिमको भई,हांगाहरु सिधा नबढी झुक्ने प्रबृत्तीको हुन्छ । त्यसैले गर्दा बोट धेरै अग्लो हुदैन । यसको पात गाढां हरियो र चम्किलो हुन्छ ।
३. मायकावा जिरो (MAEKAWA JIRO)
यो जात पनि जापानमा विकास गरिएको हो । जिरो जातको हलुवाबेदबाट mगतबतष्यल भएर नयां जातको रुपमा छनौट भएको हो । यसको फलको गोलाईको तर्फ जिरोको जस्तो चार पाटा परेको नभई एकनासको गोलो हुन्छ । तर उचाई तर्फ जिरो जस्तै थेप्चो नै हुन्छ । फलको औषत तौल २०० ग्राम सम्मको र गुलियोपन १५.५ प्रतिशत हुन्छ । यसको पाक्ने समय जिरो भन्दा एक हप्ता अगाडी शुरु हुन्छ । यो जातमा पनि भाले फूल नफुली पोथी फूल मात्र फुली Parthenocarpic प्रबृत्तिको नै हुन्छ । भाले फूल नभए पनि फल लाग्ने गर्दछ । तर यो जात एक बर्ष बिराएर फल्ने स्वभाबको हुनाले प्रत्येक बर्ष एकनासले फल फलाउन अनिबार्य रुपमा फल छाट्ने गर्नु पर्दछ ।यसको बोट बलियो (Vigorous) र झांगीने स्वभाबको हुनाले कांटछांटमा पनि विशेष ध्यान दिनु पर्दछ ।
४. मात्चुमोतो वासे फूयु (MATSUMOTO WASE FUYU)
यो जात पनि जापानमै विकास गरिएको हो । फलको आकार फूयु जस्तै हुन्छ, तर फूयु भन्दा दुई हप्ता अगाडी नै पाक्दछ । यसको औषत तौल २०० ग्राम सम्मको भई मध्यम आकारको हुन्छ । यो जातको फलको गुलियोपन १५ प्रतिशतको रहन्छ । यो जातको हलुवाबेद अन्य जातको भन्दा चाडैं टर्रोपन निस्कृय हुने हुनाले केही उच्च पहाडमा पनि लगाउन सकिने संभावना रहेको छ । यसको बोटको आकार मध्यम किसिमको भई ,हांगा सिधा माथी नगई बाहीर तिर फैलने (Spreading) स्वभाबको हुन्छ ।
५. यूबेनी (Ubeni) : यो जात पनि जापानमा विकास गरिएको हो । यो जात पछिल्लो समयको सन २००० मा मात्र भित्रिएको जात हो । यो जात परिक्षण कै क्रममा रहेको भएता पनि प्रारम्भिक चरणमा नै राम्रो नतिजा प्राप्त भएको छ । यसको फल फूयु जस्तै भई केही लामो र ठूलो आकारको हुन्छ । औषत तौल २५० ग्राम सम्म हुने गर्दछ । यो जातको फलको गुलियोपन १७ प्रतिशतको भई अन्य जात भन्दा गुलियो छ । असोज महिनाको दोश्रो साता तिर यो फल पाक्दछ ।बोटको हांगाको स्वभाब सिधा माथी जाने भई मजबुत किसिमको छ ।
६. जिन्जिमारु (Jingimaru)
यो जात पनि नेपालमा जापानबाट नै भित्रिएको हो । जापानमा यो जातको खेती गर्न थालेको १२०० बर्ष भन्दा बढी भएको पाईन्छ । विशेष गरी यो जातमा भाले तथापोथी फूल प्रशस्त फुल्ने भएकाले परागशेचन pollinizer को लागी भाले बोटकोरुपमा लगाईन्छ । माथी उल्लेख गरिएका जातहरु संग बगैंचामा दश बोट बराबर एक बोट लगाउनाले फल धेरै फल्नुकासाथै परागशेचनको अभाब बाट हुने फल झर्ने समस्याबाट मुक्त हुनुका साथै फलको दाना पनि ठूलो हुने गर्दछ । तर ! यसको फल टर्रो नभएता पनि फलको गुदी कफि रंगको कालो र फलको आकार पनि धेरै सानो (५० ग्राम) हुने भएकोले आर्कषकहीन देखिन्छ । यसको फल भदौको दोश्रो हप्ता तिर पाक्दछ । बोटको आकार सानो भई हांगाहरु तल तिर झुक्ने गर्दछ । यो जात ब्यबसायिक रुपमा नगरी केबल भाले जात (pollinator) को रुपमा मात्र लगाउनु पर्दछ ।