परिचय

उत्पति तथा परिचय

हलुवावेदको उत्पति चीनमा भएको हो । चीनमा ३००० बर्ष देखि हलुवावेद लगाउदै आएको पाईन्छ । तर टर्रो नहुने जातको विकास भने जापानले गरेको हो । जापानले राष्ट्रिय फलको रुपमा हलुवावेद राखिएको छ । सदियौं वर्ष देखि जापानमा हलुवावेदको खेती हुदैं आईरहेको छ । जापानमा हालसालै ६०० बर्ष पुरानो हलुवावेदको बोट फेला परेको छ । जापानमा सुन्तला,स्याउ,कटुस पछिको चौथो मुख्य फलफूल बालीको रुपमा हलुवावेदलाई लिईएको छ । विश्वमा यसका सयौं जातहरुको विकास गरिएको छ ।

यसको बानस्पतिक नाम Diospyros kaki (टर्रो नहुने बर्ग)Diospyros verginiana (टर्रो हुने बर्ग हो । यो Ebenaceae परिवारमा पर्दछ । Diospyros kaki अन्तर्गत जापानी हलुवाबेद पर्दछन भने Diospyros verginiana अन्तर्गत अमेरिकन हलुवाबेद पर्दछन । हलुवावेदलाई अंग्रेजीमा (Persimmon )भनिन्छ ।

 खेती गरिएका प्रमुख राष्ट्रहरु

विश्वमा हलुवावेदको खेती हुने कूल क्षेत्रफलको ९५ प्रतिशत भूभाग चीन, जापान र कोरियाले ओगटेको छ । विश्वमा हलुवावेदको खेती गर्ने मुलुकमध्ये चीन अग्र स्थानमा पर्दछ । चीन तथा कोरियाले हलुवावेदको खेती गर्ने क्षेत्रफल बढाउदै लगेको छ भने, जापान तथा ईटालीले क्षेत्रफल घटाउदै लगेको पाईन्छ । एसिया प्रान्तका धेरै देशहरुमा हलुवावेदको खेती गरिन्छ । त्यसैगरी ब्राजिल, इटाली, अष्टेलिया, न्यूजिलैण्ड, अमेरिका, ईजरायलमा पनि ब्यापक रुपमा यसको खेती गरिएको पाईन्छ, तर पश्चिमा मुलुकहरुमा ईटाली बाहेक अन्य मुलुकमा यस फलले खासै प्रशिद्धि हासिल गर्न सकेको छैन । यसको मूल कारणमा हलुवावेद खानमा टर्रोपना हुन्छ भन्ने सोचले गर्दा हुन सक्दछ ।

नेपालमा हलुवावेदको वृत्तान्त

 नेपाली जनमानसमा हलुवावेद भन्ने वित्तिकै मुख खुम्च्याउने गरिन्छ र भन्ने गरिन्छ की छ्या ...टर्रो ...हलुवावेद !! मन पर्दैन !! गलेर गिलित्त भए पछि मात्र मिठो हुन्छ ... आदी जस्ता उपमाहरु दिने गरेको पाईन्छ । त्यसैले टर्रो हलुवावेद नरोप्ने ! टर्रो नहुने हलुवावेद पनि हुन्छ र ? एकहद् सम्म त यो भनाई ठिकै पनि हो, किनकी नेपालमा विशेष गरी काठमाण्डौ उपत्यकामा प्रायः पाईने हलुवावेद टर्रो नै हुन्छन ।तर पनि काठमाण्डौका प्रायः जसोका घरको करेशाबारीमा टर्रो भएता पनि एक बोट शोभाका लागी रोपिएकै पाईन्छ । यसको मुख्य कारण नेवारी समाजमा तिहारको पर्वमा सगुनको रुपमा यो फललाई राखिन्छ । त्यस बाहेक कसै कसैले मदिरा बनाउनमा पनि प्रयोग गरेको पाईन्छ । यो टर्रो हुने जात कहिले कहांबाट भित्रियो भन्ने एकिन तथ्याड्ढ प्राप्त हुन सकेको छैन ।

 तर टर्रो नहुने हलुवावेद भने करिब १०० बर्ष पहिले तत्कालिन श्री ३ देब शमशेरको शासन कालमा नेपालीलाई उच्च शिक्षा अध्ययनको लागी स्वीकृती प्राप्त भए पछि आठ जना नेपाली (क्या. जंग नरसिंह राणा, देव नरसिंह राणा, दीप नरसिंह राणा, बाल नरसिंह रायमाझी, क्या. भक्त बहादुर बस्न्यात,रुपलाल सिंह, बिचारमान सिंह र होम बहादुर रायमाझी) हरु अध्ययनको लागी जापान गएका थिए । तिनै नेपाली विद्यार्थीहरुले पहिलो पटक टर्रो नहुने हलुवावेद, जापानी कटुस,नील लहर फूल (wisteria floribunda) गोदावरी फूल भित्र्याईएको हो भन्ने हिमालय शमशेर जबराको लेखमा उद्रित गरिएको छ । उक्त विरुवा १०० वर्ष पहिले देखि नै भित्रिएको भएता पनि राजा र राणाहरुको दरबारमा मात्र सिमित रहेकाले सर्बसाधारणमा परिचित हुन सकेन ।साथ साथै उक्त टर्रो नहुने हलुवावेद प्राय वीयां नहुने भएकाले र कलमी गर्ने प्रविधि पनि नजानेकाले त्यस समयमा विरुवाको प्रशारण र विकास खासै हुन सकेन ।
सन १९८७ मा जापान सरकारको सहयोगमा संचालित बागबानी अनुसन्धान तथा तालिम केन्द्र,कीर्तिपुरमा टर्रो नहुने हलुवावेदका ६ जात र टर्रो हुने ४ जात औपचारिक रुपमा परिक्षणको लागी भित्रिएको हो । परिक्षण पश्चात टर्रो नहुने हलुवावेदका ५ जात र टर्रो हुने १ जात गरी जम्मा ६ जातलाई किसानको बारीमा उपयुक्तताको परिक्षण (Perfermence study) को लागी उपत्यका लगायत काभ्रे जिल्लामा नमुना प्रदर्शन बगैंचा स्थापना गएिका थिए । ती नमुना प्रदर्शन बगैंचाको सफलताको प्रचार प्रसारको कारणले गर्दा हाल यसको ब्यबसायीक खेती गर्ने शुरुवात भएको छ । त्यसैगरी जग्गा नहुनेले करेसाबारीमा एक दुई बोट लगाउनेको चाहनामा ब्यापकता आएको छ । बिगत १०—१५ बर्ष देखि सरकारी तथा निजी नर्सरीबाट बर्षेनी १५—२० हजार विरुवा खपत भई रहेको छ ।

जातहरु

टर्रो नहुने जातहरु 

 १. जिरो (JIRO) : यो जातको हलुवाबेद जापानमा सन् १८४० मा विकास गरीएको हो । यति धेरै पुरानो भईकन पनि अझैसम्म प्रख्यात जातको रुपमा लिईन्छ । फलको आकार गोलाई तर्फ गोलो नभई चार खण्ड (four loped) को पाटा परि,उचाईमा थेप्चो परेको हुन्छ । फलको तौल २०० देखि २५० ग्राम सम्मको हुन्छ । फलको रंग गाढा सुन्तले रंग र गुदी पनि रातो पहेंलो रंगको मिश्रण भएको, गुलियोपन १५ प्रतिशत र खानमा मिठो, क्रिस्पी (crispi) हुन्छ । पाक्ने समय भदौको चौथो हप्ता देखि असोजको पहिलो हप्तासम्ममा पाक्दछ । अगौटे जातको रुपमा यो जातलाई लिईन्छ । यसको फूल (Parthenocarpy) स्वभाब भएकोले भाले फूल बीना पनि फल्ने गर्दछ ता पनि परागशेचन भएमा धेरै फल्ने,फल झर्ने समस्या कम हुनुका साथै,फलको आकार पनि ठुलो हुन्छ । यो जात हल्का रुपमा एक बर्ष बढी र एक बर्ष कम फल्ने स्वभाबको हुन्छ । यो जातको हलुवाबेद बिंया रहीत (Seedless) जात भएता पनि कुनै कुनै फलमा १—२ वटा बिंया हुने गर्दछ । बोटको हांगाको स्वभाब सिधा माथी जाने भई ५—६ मिटर सम्म अग्लो हुन्छ । बोट बलियो (Vigorous) र पातको रंग हल्का पहेंलो हरियो किसिमको हुन्छ ।

२. फूयु (Fuyu)
सन १८९८ मा जापानमा नयां जातको रुपमा विकसित गरिएको जात हो । यो मात्चुमोतो वासे फूयु’ जातबाट mutation भई नयां जातको रुपमा छनौट भएको हो । यो जात पनि  Parthenocarpic  प्रकृतिले फल्ने गर्दछ । प्रशस्त फूल लागे पनि फलहरु विभिन्न आकारका different shape लाग्ने गरेको पाईन्छ । यसको फूलको कोपिला पनि निकै ठूलो आकारको हुन्छ । यो जातलाई पनि भाले फुल फुल्ने जातसंग मिलाएर रोपेमा धेरै फलाउन सकिन्छ । फलको आकार भेट्नो तिर गोलो भई फेंद तिर हल्का चुचो परेको हुन्छ । फलको औषत तौल २०० देखि २७० ग्राम सम्मको हुन्छ । फलको रंग गाढा सुन्तले रंगको हुन्छ ।यसको गुलियोपन १६ प्रतिशत हुन्छ । असोजको तेश्रो हप्ता तिर फल पाक्ने शुरु हुन्छ । यसको बोटको आकार मध्यम किसिमको भई,हांगाहरु सिधा नबढी झुक्ने प्रबृत्तीको हुन्छ । त्यसैले गर्दा बोट धेरै अग्लो हुदैन । यसको पात गाढां हरियो र चम्किलो हुन्छ ।

३. मायकावा जिरो (MAEKAWA JIRO)
यो जात पनि जापानमा विकास गरिएको हो । जिरो जातको हलुवाबेदबाट mगतबतष्यल भएर नयां जातको रुपमा छनौट भएको हो । यसको फलको गोलाईको तर्फ जिरोको जस्तो चार पाटा परेको नभई एकनासको गोलो हुन्छ । तर उचाई तर्फ जिरो जस्तै थेप्चो नै हुन्छ । फलको औषत तौल २०० ग्राम सम्मको र गुलियोपन १५.५ प्रतिशत हुन्छ । यसको पाक्ने समय जिरो भन्दा एक हप्ता अगाडी शुरु हुन्छ । यो जातमा पनि भाले फूल नफुली पोथी फूल मात्र फुली Parthenocarpic प्रबृत्तिको नै हुन्छ । भाले फूल नभए पनि फल लाग्ने गर्दछ । तर यो जात एक बर्ष बिराएर फल्ने स्वभाबको हुनाले प्रत्येक बर्ष एकनासले फल फलाउन अनिबार्य रुपमा फल छाट्ने गर्नु पर्दछ ।यसको बोट बलियो (Vigorous) र झांगीने स्वभाबको हुनाले कांटछांटमा पनि विशेष ध्यान दिनु पर्दछ ।

४. मात्चुमोतो वासे फूयु (MATSUMOTO WASE FUYU)

यो जात पनि जापानमै विकास गरिएको हो । फलको आकार फूयु जस्तै हुन्छ, तर फूयु भन्दा दुई हप्ता अगाडी नै पाक्दछ । यसको औषत तौल २०० ग्राम सम्मको भई मध्यम आकारको हुन्छ । यो जातको फलको गुलियोपन १५ प्रतिशतको रहन्छ । यो जातको हलुवाबेद अन्य जातको भन्दा चाडैं टर्रोपन निस्कृय हुने हुनाले केही उच्च पहाडमा पनि लगाउन सकिने संभावना रहेको छ । यसको बोटको आकार मध्यम किसिमको भई ,हांगा सिधा माथी नगई बाहीर तिर फैलने (Spreading) स्वभाबको हुन्छ ।

 ५. यूबेनी (Ubeni) : यो जात पनि जापानमा विकास गरिएको हो । यो जात पछिल्लो समयको सन २००० मा मात्र भित्रिएको जात हो । यो जात परिक्षण कै क्रममा रहेको भएता पनि प्रारम्भिक चरणमा नै राम्रो नतिजा प्राप्त भएको छ । यसको फल फूयु जस्तै भई केही लामो र ठूलो आकारको हुन्छ । औषत तौल २५० ग्राम सम्म हुने गर्दछ । यो जातको फलको गुलियोपन १७ प्रतिशतको भई अन्य जात भन्दा गुलियो छ । असोज महिनाको दोश्रो साता तिर यो फल पाक्दछ ।बोटको हांगाको स्वभाब सिधा माथी जाने भई मजबुत किसिमको छ ।

 ६. जिन्जिमारु (Jingimaru)
यो जात पनि नेपालमा जापानबाट नै भित्रिएको हो । जापानमा यो जातको खेती गर्न थालेको १२०० बर्ष भन्दा बढी भएको पाईन्छ । विशेष गरी यो जातमा भाले तथापोथी फूल प्रशस्त फुल्ने भएकाले परागशेचन pollinizer  को लागी भाले बोटकोरुपमा लगाईन्छ । माथी उल्लेख गरिएका जातहरु संग बगैंचामा दश बोट बराबर एक बोट लगाउनाले फल धेरै फल्नुकासाथै परागशेचनको अभाब बाट हुने फल झर्ने समस्याबाट मुक्त हुनुका साथै फलको दाना पनि ठूलो हुने गर्दछ । तर ! यसको फल टर्रो नभएता पनि फलको गुदी कफि रंगको कालो र फलको आकार पनि धेरै सानो (५० ग्राम) हुने भएकोले आर्कषकहीन देखिन्छ । यसको फल भदौको दोश्रो हप्ता तिर पाक्दछ । बोटको आकार सानो भई हांगाहरु तल तिर झुक्ने गर्दछ । यो जात ब्यबसायिक रुपमा नगरी केबल भाले जात (pollinator) को रुपमा मात्र लगाउनु पर्दछ ।

 टर्रो हुने जातहरु

१. हिरातानेनाशी (HIRATANENASHI)
 यो जात जापानबाट भित्रिएको हो ।जापानमा सन १८०८मा यो जात छनौट गएिको हो । धेरै पूरानो र टर्रो हुने जात भएता पनि जापानमा अति प्रचलित छ । विशेष गरी यो जातको हलुवाबेदबाट सुकुटी (dry fruit)  उच्च गुणस्तरको हुने गर्दछ । त्यसैगरी मदिरा उपचार (alcholohol treatment) बाट पनि सजिलै संग यसको टर्रोपन हट्ने गर्दछ ।यसको फलको आकार थेप्चो गोलो हुन्छ । फलको औषत तौल १७० देखि २०० ग्राम सम्मको मझौला हुन्छ । फलको रंग तथा गुदी पहेंलो रंगको हुन्छ । यो जातमा भाले फूल नलागेता पनि (parthenocarpic)  प्रकृतिको भईकन पनि अत्यधिक फल्ने स्वभाबको हुन्छ । फल विंया रहित (Seedless) भएकोले यसको सुकुटी उच्चस्तरको हुन्छ । यसको बोटको आकार मध्यम किसिमको र हांगाहरु फैलने (Spreading type) स्वभाबको हुन्छ । काठमाण्डौ उपत्यका जस्तो हावापानीमा भदौको तेश्रो साता देखि पाक्न शुरु गर्दछ ।

२. स्थानिय हलुवाबेद (LOCAL PERSIMMON)

बिषेशगरी काठमाण्डौं उपत्याकामा प्राचीन काल देखि लगाईदै आएको टर्रो हलुवाबेद हो । काठमाण्डौं उपत्याकामा पाईने यो टर्रो हलुवाबेद फलको विविधता धेरै पाईन्छ । त्यसमा फलको आकार, प्रकार, साईज, पाक्ने समय, फल तथा गुदीको रंग पनि एकनासको नभई फरक फरक किसिमको पाईन्छ । त्यसैगरी बोटको आकारमा पनि एकरुपता पाईदैन । नेपालमा पाईने हलुवाबेदको टर्रोपन मदिरा उपचारबाट पनि खासै नहट्ने भएकोले साह्रो (कडा) अबस्थामा खान सकिदैन । पाकेर गिलित्त भए पछि मात्र खान सकिन्छ । त्यो अबस्थामा धेरै दिनसम्म राख्न सक्ने अबस्था रहदैन । त्यसैगरी यी हलुवाबेदमा बिंया प्रशस्त हुने भएकोले सुकुटी बनाउन पनि गुणस्तरीय हुदैन । त्यसैले यसको बैकल्पिक प्रयोगको लागी सबैभन्दा उपयुक्त दुई तरिकाले गर्न सकिन्छ । पहिलो, टर्रो नहुने हलुवाबेदको कलमी विरुवा उत्पादन गर्न प्रयोग गरिने मूलबृत्त (rootstock) प्रयोगको लागी धेरै उपयोगी हुन्छ भने दोश्रोमा कपडा रंगाउने रंग बनाउन, जसलाई ‘काकीशिबु’ नामले प्रचलित छ । काकीको अर्थ ‘हलुवाबेद’ र शिबुको अर्थ ‘रस’ भन्ने बुझाउदछ । त्यसैले टर्रो हुने हलुवाबेदको पनि खेती विस्तार गर्न सकेको खण्डमा कच्चा पदार्थ काकीशिबु उत्पादन गरी बाह्य देशमा समेत निर्यात गर्न सकिने संभाबना देखिन्छ ।

आवश्यकता

हावापानी

 हलुवाबेद पतझड फलफूल बर्गमा पर्ने बनस्पती हो । टर्रो नहुने जापानी हलुवावेदको लागी उपोष्ण क्षेत्र देखि समशितोष्ण क्षेत्र (sub tropical to worm temperate) अर्थात समुन्द्र सतहबाट ८०० मि.देखि २००० मि. सम्म सफलतापूर्वक खेती गर्न सकिन्छ । हलुवाबेदको लागी १००—२०० घण्टा चिलिङ्ग (७.२ डिग्री भन्दा कम)पुगेमा समशितोष्ण फलफुल खेती प्रविधि छ फूल फुल्नको लागी पर्याप्त हुन्छ । त्यसैगरी १६—२२ डिग्री सेल्सीयस औषत तापक्रम भएमा फल उत्पादनको लागी राम्रो मानिन्छ । जापानी हलुवावेद ८००मि. भन्दा तल्लो क्षेत्रमा लगाउदा फल नफल्न पनि सक्दछ भने २००० मि. भन्दा माथी रोप्दा, फल फलेता पनि पाक्ने बेलामा उच्च क्षेत्रमा तापक्रम कम हुने हुनाले टर्रो नहुने जापानी हलुवावेदमा पनि टर्रोपना आउन सक्दछ र गुलियोपन पनि राम्रो आउदैन । त्यसैले गुणस्तरीय फल उत्पादनको लागी फल पाक्ने बेला २५ डिग्री सेल्सीयस भन्दा बढी तापक्रम आबश्यक पर्दछ । तर टर्रो हुने हलुवाबेदको खेती गर्नको लागी चिलिङ्ग र तापक्रमको खासै समस्या पर्दैन । यसको लागी समुन्द्र सतहबाट ४०० मि.देखि २५०० मि. सम्म पनि खेती गर्न सकिन्छ । तर हिंउ पर्ने ठांउमा बोट कमजोर पार्दछ भने धेरै गर्मि ठांउमा घामले हांगा सुक्ने( sun scald) समस्या आउनसक्दछ ।

माटो

हलुवावेद खेतीको लागी पानी नजम्ने जस्तोसुकै माटोमा पनि गर्न सकिने भएता पनि प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दुमट देखि दुमट माटो श्रेष्ठकर मानिन्छ, तर धेरै चिम्ट्याईलो माटो हलुवावेदको लागी खासै राम्रो मानिदैन । त्यसैगरी गहिरो माटो नभई ढुङ्ग्यान भएको,पानी जम्ने, धेरै सुख्खा हुने माटोमा फल झर्ने समस्या आउन सक्छ । हलुवावेद खेतीको लागी माटोको पि.एच.६.०—६.८ उपयुक्त मानिन्छ ।

जग्गा तयारी

जग्गाको छनोट

हलुवावेद खेतीको लागी जग्गा छनोट गर्दा धेरै सुख्खा नहुने,पानी नजम्ने,प्रशस्त घाम लाग्ने, प्राङ्गरीक पदार्थ प्रशस्त भएको,सिंचाईको सुविधा भएको,भिरालो जमिन भन्दा समतल परेको जग्गा छनौट गर्नु पर्दछ । जमिनको मोहडाले फरक पार्दैन ।

बगैंचाको रेखाड्ढन

हलुवावेद खेतीको लागी उपयुक्त रेखाड्ढन पद्धतिमा आयातकार (rectangular system) तथा (square system) पद्धति हो । आयातकार पद्धतिमा विरुवा देखि विरुवाको दूरी ४मि. र एक लाईन बाट अर्को लाईनको दूरी ५मि.मा लगाईन्छ भने बर्गाकार पद्धतिमा विरुवा देखि विरुवाको दूरी र एक लाईन बाट अर्को लाईनको दूरी ६ मि.मा लगाईन्छ र पहाडी क्षेत्रको गह्रा कान्ला भएको (कन्टुर)जग्गामा विरुवा देखि विरुवाको मात्र नाप लिई ५ मि.को दूरीमा लगाउनु उपयुक्त हुन्छ ।

खाडल खन्ने र पुर्ने

रोपेको विरुवा राम्रोसंग हुर्कन बढ्नको लागी खाडलको आकार प्रकारले पनि भूमिका खेल्दछ । माटो खुकुलो र मलिलो भएमा विरुवा राम्रोसंग सर्नुका साथै बृद्धि विकास पनि राम्रो हुन्छ । त्यसैले रेखाड्ढन गरिसके पछि १ मि.गहीराई र १ मि.गोलाई भएको खाडल खन्नु पर्दछ । खाडलको माटो निकाल्दा माथिल्लो आधा मिटर सम्मको माटो एकापट्टि र तल्लो तहको आधा मिटर माटो पुनः प्रयोग नगर्ने हिसाबले जमिनमै मिलाई दिनु पर्दछ । त्यसपछि १ महिना जति खाडललाई त्यत्तिकै घाममा सुक्न दिनु पर्दछ,यसले खाडलमा रहेका हानीकारक ढूसी तथा किराका अण्डाहरु नष्ट हुन्छन । खाडल खनेको एक महिना पछि प्रति खाडल बराबर १डोको गोबर मल, कृषि चुन १०० ग्राम,यूरिया मल १०० ग्राम,डि.ए.पी. २०० ग्राम र पोटास ५० ग्राम,खाडलको माटो खन्दा निक्लेको माथिल्लो आधा मिटर सम्मको माटोमा राम्रोसंग मिसाई खाडल पुर्नु पर्दछ । खाडल पुर्दा अनिबार्य रुपमा जमिनको सतह भन्दा एक फिट अग्लो हुने गरी ढिस्को उठाउनु पर्दछ । जसले गर्दा विरुवा रोप्दा कलमी भाग जमिन मूनी धसीन पाउदैन । यो खाडल खन्ने पुर्ने काम विरुवा रोप्नु भन्दा २/३ महिना अघि नै गर्नु पर्दछ । अर्थात असोज कार्तिक महिना यसको लागी उपयुक्त महिना हो ।

विरुवा रोपण

हलुवाबेदको विरुवा रोप्ने उपयुक्त समय पुस माघ महिना हो । उन्नत जातको हलुवाबेदको विरुवा सबै कलमी विधिद्वारा उत्पादन गरिएको हुन्छ । त्यसैले विरुवा रोप्दा हमेसा के ध्यान पुर्याउनु पर्दछ भने विरुवाको कलमी भाग जमिनको सतह भन्दा माथी नै रहनु पर्दछ । विरुवा सिधा रहने गरी रोप्नु पर्दछ र संगसंगै निगालोको लठ्ठीले टेका दिई बाध्नु पर्दछ र खाडलको परिधि भित्र खर वा परालले छापो (Mulching) दिनु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग

हलुवाबेदमा मलखादको प्रयोग पुस माघ महिनामा गर्नु पर्दछ । एउटा बयस्क बोटको लागी गोबर मल ५० के.जी. (२ डोको, युरिया १०० ग्राम,डि.ए.पी. ३०० ग्राम,र म्युरेट अफ पोटास १५० ग्राम हाल्नु पर्दछ । हलुवाबेदमा नाईट्रोजनको मात्रा बढी हाल्नु हुदैन । हलुवाबेदमा नाइट्रोजनको मात्रा बढी भएमा फल झर्ने समस्या आउने अध्ययनहरुले देखाएको छ ।

छापो दिने (मल्चिंग)

विरुवालाई नछोईकन विरुवाको वरिपरि घांस पराल आदीले छापो दिनु पर्दछ । यो कार्य साधारण देखिएता पनि यसले विरुवाको भौतिक अबस्था सुधार्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । छापोको कारणले गर्दा विरुवाको वरिपरि झारपात नियन्त्रण हुनुका साथै माटोमा चिस्यान कायम राख्दै,माटोको भौतिक गुणस्तर सुधार गर्नमा पनि मद्दत गर्दछ । त्यसैले बगैंचाबाट निस्किएको घाँसपात खेर नफाली छापो दिनु पर्दछ ।

 सिंचाई

हलुवावेदको जरा गहिरिएर जाने स्वभाबको भएता पनि विरुवा रोपेको शुरुका एक दुई बर्ष सम्म सुख्खाबाट बचाउन आबश्यकता अनुसार सिंचाईको प्रबन्ध मिलाउनु पर्दछ । यसको फूल फुल्ने बेला (चैत,बैशाख)सुख्खा महिना पर्ने भएकोले फूल झर्ने समस्याबाट जोगाउन सिंचाई अनिबार्य हुन्छ । त्यसै गरी फल बढ्ने क्रममा सुख्खा मौसम भएमा अबस्था हेरी सिंचाई गर्नु उपयुक्त हुन्छ । तसर्थ विरुवालाई चिस्यान पर्याप्त मात्रामा भएमा राम्रो फूल फुल्नमा मद्दत पुग्नुको साथै गुणस्तरीय फल उपादन गर्न सकिन्छ ।

अन्तरबाली

बगैंचामा बोटले पुरै जमिन नढाके सम्म बोटले ओगटेको क्षेत्र भन्दा बाहिर खाली जग्गामा अन्तरबालीको रुपमा तरकारी तथा कोशे बालीहरु लगाउन सकिन्छ तर अदुवा र बेसार बाली लगाउनु त्यत्ति उपयुक्त हुदैन किनकि अदुवा र बेसारले जमिनमा भएको खाद्य तत्व अधिक मात्रामा अबशोषण गर्ने हुनाले विरुवासंग प्रतिस्पर्धा हुन गै विरुवालाई खाद्य तत्व अपुग हुन सक्दछ । पशु पालनको लागी घांसेबालीको रुपमा बर्सिम,जै, क्लोभर घांस लगाउन सकिन्छ ।

 झारपात नियन्त्रण

आफुले लगाएको बाली बाहेक अनाबश्यकरुपमा खेतबारीमा उम्रेका,पलाएका बनस्पतीहरु झारपात हुन् । यी झारपातले अनाबश्यक रुपमा हावा,पानी,प्रकाश तथा खाद्यतत्वहरु आफुले लगाएको बालीसंग प्रतिस्पर्धा गरीरहेको हुन्छ भने अनेक रोग तथा किराको आश्रय स्थलको रुपमा रहेको हुन्छ । त्यसैले यसको नियन्त्रण बेलैमा गरीएन भने बाली उत्पादनमा ह्रास आउंदछ । विशेषगरी बर्षा याममा घांस, झारपात, लहराहरुको बृद्धि हुने हुंदा बगैचाको स्वरुप नै बिगारी दिन्छ ।

झारपात नियन्त्रणका उपायहरु
१. खनजोतः बगैचामा बोटको वरिपरिको भाग छाडेर बेला बेलामा खनजोत गरी झारपात आउन नदिने उपाय गर्न सकिन्छ । तर खनजोतको कारणले कहिले काहीं अत्यधिक बर्षाले भूक्षयको कारण बन्न सक्दछ ।
२. घांस काटेर सफागर्ने : झारपातलाई बढ्न फुल्न नदिई बारम्बार घांस काटेर बगैंचाको सर सफाई भई रहनु उत्तम विकल्प हो । यसले भूक्षय पनि रोक्दछ ।
 ३. रसायनिक तरिकाले झारपात नियन्त्रण : तेश्रो विकल्पको रुपमा रसायनिक तरिकाले झारपात नियन्त्रणको उपाय अपनाउन सकिन्छ । तर झारपात नियन्त्रण गर्नु अघि यसबारे स्पष्ट बुझेर मात्र यो उपाय अपनाउनु उपयुक्त हुन्छ ।

विरुवाको स्याहार संभार

पहिलो बर्षः विरुवा रोपी सके पछि जमिनबाट ५० देखि ६० से.मि.अग्लो राखि बांकी भाग हटाई दिनु पर्दछ । कलमी भाग भन्दा तलबाट पलाएका मुनाहरु (suckers) नियमित रुपमा हटाई रहनु पर्दछ । सुख्खा समयमा चिस्यानको अवस्था हेरी सिंचाई पनि दिई रहनु पर्दछ ।

दोश्रो बर्ष : दोश्रो वर्ष देखि हांगालाई ब्यबस्थापन गर्दै जानु पर्दछ । ३ देखि बढीमा ४ वटा हांगा राखि बांकी हांगालाई हटाई दिनु पर्दछ । दोश्रो बर्षमै पनि फूल लाग्न सक्ने भएकाले,बोटको बृद्धि विकासमन्द हुने भएकाले फूल हटाई दिनु नै उपयुक्त हुन्छ ।

तेश्रो बर्ष : तेश्रो वर्ष देखि हांगालाई सिफारिस पद्धति अनुसार तालिम गराउनु पर्दछ । यस बर्षमा पनि फल लाग्ने भएकाले थोरै फल राखि विरुवाको बृद्धि विकासमा नै जोड दिनु पर्दछ ।

चौथो तथा पाचौं बर्ष : सिफारिस पद्धति अनुसार विरुवाको आकार प्रकारमा तालिमको पूर्णता दिनु पर्दछ । अब यि उमेरका बोटमा फल आश्यकता अनुसार राख्न सकिन्छ ।

 तालिम

विरुवा रोपेको दोश्रो बर्ष देखि नै विरुवालाई आकार प्रकार मिलाउन तालिम गर्दै जानु पर्दछ । हलुवावेदमा विशेष गरी परिवर्तित केन्द्रिय अगुवा प्रणाली (modified central leader system) तालिम गर्नु उपयुक्त मानिन्छ । यसका लागी चार वटा हांगा छानी, एउटा लाई मूल हांगा मानी सिधा माथी बढ्न दिने र बांकी तीन हांगालाई तिन दिशा तिर डोरीको सहायताले तन्काएर फैलाउने । यसरी प्रत्येक वर्ष विरुवाको आकारलाई कायम राख्दै मूल हांगालाई चांही निश्चित उचाई (४ मिटर) सम्म बढ्न दिई, त्यस पछि टुप्पा काटी दिनु पर्दछ । यस बीचमा सहायक हांगाबाट शाखा उपशाखा हांगाहरु प्रशस्त मात्रामा निकाल्ने कोशिस गर्नु पर्दछ । यसरी पाचौं वर्षमा पुग्दा बोटको आकार प्रकारमा पूर्णता पाउनु पर्दछ ।

कांटछांट 

हलुवावेदमा अन्य हिंउदे फलफूल स्याउ,नास्पाती झै एक तिहाई भाग नै हटाउने गरी कांटछांट गर्नु पर्दैन । तर पनि नजानी नबुझीकन हांगा कांटछांट गरेमा फल उत्पादन सून्य पनि हुन सक्दछ । किनकी यसको फूल फुल्ने तरिका अन्य हिंउदे फलफूल भन्दा भिन्न प्रकारको छ । त्यसैले बोट कांटछांट गर्दा सुकेका ,खप्टीएका,लाछीएका, रोग कीरा लागेका हांगा, फली सकेको फलको भेट्नो,अनावश्यक बाक्लो हांगा हटाउनु पर्दछ । त्यसैगरी फली सकेको मूना देखि तल्लो भागबाट अर्को साल नफल्ने भएकोले अबस्था हेरी बैकल्पिक हांगाहरु (Replishment shoots) निकाल्नको लागी कोशिस गर्नु पर्दछ । यी कांटछांट गर्ने कार्य पुस माघ महिनामा गर्नु पर्दछ ।

फूल फुल्ने, परागशेचन, फल लाग्ने अवस्था

हलुवाबेदमा फूल तिन थरिको फूल्दछ, कुनै बोटमा पोथी फूल मात्र,कुनै बोटमा भाले फूल मात्र र कुनै बोटमा भाले तथा पोथी दुबै फूल फुल्दछ । हलुवावेदमा १ बर्षको पुरानो हांगाको टुप्पाबाट पलाएको नयां मूनामा मात्र फूल लाग्ने भएकोले कांटछांट गर्दा होस पुर्याउनु पर्दछ । उन्नत जातको हलुवावेदमा प्रायः पोथी फूल मात्र फुल्दछ । बिना भाले फूल भईकन पनि फूलबाट फल लाग्ने हुनाले (parthenocarpic ) स्वभावको हुन्छ । यसले गर्दा कहिले काहीं चिचिलो अबस्थामा फल झर्ने समस्या देखिन्छ । तर परागशेचित (pollinizer) जात (जस्तैः जिन्जिमारु) मा भाले पोथी दुबै फूल फुल्ने भएकाले बगैचामा यो जात मिसाएर रोपेको खण्डमा राम्रो परागशेचन भई धेरै फल लाग्नमा मद्दत गर्दछ ।परागशेचनको लागी १ परागशेचित जात बराबर १० वटा अन्य फल उत्पादन गर्ने जात लगाउनु पर्दछ । हलुवावेदको फल झुप्पा झुप्पा गरी फल लाग्ने गर्दछ, र चिचिलो अबस्थामा फल आफै पनि झर्न सक्दछ । यो झराई प्राकृतिक अबस्था (Natural fruit drop) को झराई हुन सक्दछ । तर फलको आकार केही ठुलो भएर झरेमा परागशेचनको समस्याको कारणले हुन सक्दछ ।

 

फल झर्ने समस्या 

हलुवावेदमा फूल फुली सके पछि चिचिलो अबस्था देखि कागतीको दाना अबस्था सम्ममा विविध कारणले गर्दा फल झर्ने समस्या देखिन्छ । यसका निम्न कारण हुन सक्दछ ।

१. अत्यधिक धेरै फूल फुलेमा पनि फूल तथा चिचिलो झर्ने गर्दछ । यो अबस्थामा विरुवाले सन्तुलन कायम गर्न यो प्रकृया अपनाएको हुन्छ । यो प्राकृतिक अवस्था हो, जसलाई Natural drop अथवा Physiologycal  drop पनि भनिन्छ । यो खासै समस्याको विषय होईन । तर अत्यधिक मात्रामा झरेमा सचेत हुनु पर्दछ ।

२. फूल फुल्ने बेलामा थ्रिप्स (Thrips) नामक मसिनो किराको प्रकोप बढी भएमा फूलमा भएको रस चुसेर सुख्खा बनाई फूल तथा चिचिलो झर्ने समस्या आउदछ ।

 ३. परागशेचनको अपर्याप्तताले पनि फलको चिचिलो झर्ने गर्दछ ।

४. चिस्यानको मात्रा कम भई जमिन धेरै सुख्खा भएमा (Moisture stress) पनि फूल तथा फल झर्ने गर्दछ ।

 ५. नाईट्रेजन तत्वको मात्रा बढी भएमा (Excessive Nitrogen) पनि फल झर्ने समस्या हुन सक्दछ ।

६. अन्य किराको क्षतीले गर्दा पनि फूल तथा फल झर्ने गर्दछ ।

 

रोग व्यवस्थापन

फेंद कुहिने रोग (Colar rot)

 विशेष गरेर पानी जम्ने स्थानमा जरा तथा फेंद कुहिने समस्या देखिने गरेको छ । त्यसैगरी कलमी गरेको भाग जमिन मूनी पुरिने गरी लगाएमा पनि यि समस्या आईलाग्दछ ।

नियन्त्रण

१. रोपेको विरुवाको वरिपरी पानी जम्न नदिईकन पानी निकासको प्रबन्ध मिलाउने ।

२. विरुवा रोप्दा हमेसा कलमी गरेको भाग जमिन माथी नै रहने गरी रोप्ने ।

३. फेंद कुहिएको लक्षण देखिएमा फेंदको वरिपरीको बोक्रा खुर्केर बोर्डो पेन्ट लगाई दिने ।

पातमा लाग्ने थोप्ले रोग (Algel leaf spot)

पातको बीच तथा किनारमा खैरो धब्बाहरु देखिने गर्दछ । यसको संक्रमण धेरै भएमा पातले प्रकाश पराबर्तन प्रकृयामा (Photosynthesis) अबरोध पुगेर पातहरु सबै झर्ने गर्दछ । जसले विरुवाको बृद्धि विकासमा ह्रास आउनाका साथै फलको गुणस्तरमा पनि नकरात्मक प्रभाव पर्दछ ।

नियन्त्रण

 १. बगैंचामा प्रशस्त घाम लाग्ने गरी सरसफाई गर्ने ।

 २. प्रशस्त मात्रामा मलखादको ब्यबस्थापन गर्ने ।

 ३. पातमा रोगको लक्षण देखिएमा मान्कोजेव नामक विषादी २ ग्राम प्रति लिटर पानीमा घोली १५ दिनको अन्तरमादुई पटक स्प्रे गरी दिने ।

हांगाको टुप्पा सुक्ने रोग (Twig dieback)

फल टिप्दा फलको भेट्नो हांगामा नै रहेमा भेट्नो सुक्दै गएर हांगाको टुप्पा समेत सुक्दछ । त्यसैगरी बोट बढी झांगीएर घामको प्रकाश भित्रसम्म पुग्न नसकेमा पनि हागाका टुप्पाहरु सुक्दछ ।सुख्खा समयमा चिस्यानको अभाबले गर्दा पनि हागाका टुप्पाहरु सुक्दछ ।

रोकथाम

१. सुख्खा समयमा आबश्यकतानुसार सिंचाई गर्ने ।

२. फल टिप्दा हांगामा फलको भेट्नो नराख्ने ।

३. फल टिपीसके पछि (copper oxochloride )धुलो २ग्राम प्रति लिटरका दरले घोली स्प्रे गरी दिने । ४. कांटछांट गर्दा झांगीएका तथा सुकेका हांगाहरु हटाउने ।

किरा व्यवस्थापन

फल कुहाउने झिंगा (Oriental fruit fly)

यो झिंगा माहुरी भन्दा केही सानो आकारको हुन्छ । यसको पोथी भिंmगाले फलको रंग चढ्ने बेलामा फलमा सुईरो घोपी अण्डा पारी दिन्छ र फल भित्रै औंसा बनी फल कुहाई दिने गर्दछ । हलुवाबेद फलमा केही बर्ष पहिले यसको प्रकोप खासै देखिएको थिएन तर दुई चार बर्ष देखि यसको प्रकोप ब्यापक रुपमा देखिएर धेरै क्षती पु¥याएको छ । क्षतीको मात्रा हेर्दा बोटमा सत प्रतिशत नै क्षती पुर्याएको देखिन्छ । विशेषगरी साउन र भदौ महिनामा यसको प्रकोप बढी देखिन्छ ।

नियन्त्रण

१. किटनाशक विषादी स्प्रे गरेर प्रभावकारी नियन्त्रण गर्न सकिदैन ।

२. समयमै मोहनी पासो (Pheromone trap) प्रयोग गरेको खण्डमा यसको प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिन्छ । तर यी झिंगाका भाले पोथीको समागम भई सके पछि यो पासो प्रयोग गरेमा कुनै प्रभाबकारी हुदैन ।

३. मोहनी पासोको लागी मिथाईल युजेनल (mythyle eugenol; (4-allylveratrole)नामक बासनादार तरल पदार्थ (जुनमा भाले झिंगा आकर्षक हुन्छ) र किटनाशक विषादी मालाथायन मिसाएर पासोको रुपमा रुखमा झुण्याएर राखेमा आधा माईल टाढा सम्मका भाले झिंगाहरु आकषिर्त हुन्छन र रस चुसेर मर्दछन ।

 

डांठको गबारो (Flat headed stem borer) Bactocera refomaculata 

ठूलो खालको खपटे किराले रुखको फेंद तथा हागांको खुकुलो बोक्रामा फुल पार्दछ र फुलबाट लाभ्रे निस्के पछि बोटको काण्ड तथा हांगामा सुरुङ्ग बनाउदै भित्र पस्दछन । जसले गर्दा हांगाको भित्री भाग खाएर खोक्रो बनाई सुकाई दिन्छ ।

नियन्त्रण 

 १. माउ खपटे किरालाई देखेमा मास्नु पर्दछ ।

२. रुखको खुकुलो बोक्राहरु खुर्केर हटाई दिनु पर्दछ ।

३. हांगाहरुमा प्वाल देखिएमा हांगा काटेर हटाई लाभ्रेलाई मारी दिनु पर्दछ ।

४. मूल हांगा तथा काण्डमा प्वाल देखिएमा मट्टीतेल वा कुनै विषादी कपासमा भिजाएर प्वाल भित्र हाली मुखलाई माटोले बन्द गरी दिएमा निस्सासिएर मर्दछ ।

मिलीबग् (Mealy bugs)

यसको शरीर पंख बिहिन भई नरम चेप्टो मैन जस्तो सेतो पदार्थले ढाकिएको हुन्छ । तर यसलाई हातले मिचेमा भित्री भाग रगत जस्तो रातो हुन्छ । यसले कलिलो पात, डांठ, तथा फलको रस चुस्दछ र विरुवामा एक प्रकारको गुलियो पदार्थ फाल्दछ, जसमा कालो ढूसी जम्दछ । यसको प्रकोप बढी भएमा फल तथा बोट सबै कालो ढूसीले ढाकेर बोटलाई नै मार्दछ ।

 नियन्त्रण

१. यसले चुसेर खाने भएकोले दैहिक विषादी (Systemic Poison) मध्ये कुनै एक विषादी प्रयोग गर्नु पर्दछ ।

 २. बैशाख जेठ तिर यसका फुलहरु काण्डको वरिपरि पार्ने भएकाले त्यसबेला काण्डको वरिपरि खनिखोस्रि गरेर ल्कोरोडेन धुलो प्रयोग गर्नाले फुलहरु नष्ट हुन्छन ।

झुसिलकिरा (Hypocola larva)

झुसिलकिराले पनि पातहरु खाएर नष्ट गरी दिन्छन । एक दुई गोटा संख्यामा किरा देखिएमा हातैले पनि नियन्त्रण गर्न सकिन्छ तर प्रकोपकै रुपमा धेरै संख्यामा देखिएमा रोगर विषादी २मि.लि.प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ ।

सुलसुले (Mites) Aceria diospyri)

यसका चार जोडा खुट्टा हुने भएकाले माकुरा समुहमा पर्दछन । यसले पनि विरुवाको पातको उल्टो पट्टी बसेर रस चुस्ने गर्दछ । जसको असरले पातको रंग हरियो नभई पहेंलो देखिन्छ भने फलको बाहिरी भागमा रस चुसेर ठांउ ठांउमा पहेंला दाग देखिन्छ ।

नियन्त्रण

१. सल्फर मिश्रित विषादी प्रयोग गर्नाले नियन्त्रण गर्न सकिन्छ ।

२. दैहिक विषादी (systemic poison) छर्नाले पनि रोकथाम हुन्छ ।

 

बाली कटानी तथा भण्डारण

एक बर्ष बिराएर बढी फल लाग्ने (Alternate Bearing) तथा फल छाट्ने (Fruit thining)

हलुवावेदमा हल्का रुपमा एक साल बढी फल्ने र अर्को साल कम फल्ने (Alternate Bearing)  स्वभाबको हुन्छ । त्यसलाई नियन्त्रण गरी हरेक साल समानरुपमा फलाउनको लागी बाक्लो फलेको बर्षमा फल छाट्ने (Fruit thining) गर्नु पर्दछ । फल छाट्ने कार्य निश्चित समयमा गर्नु पर्दछ । फुल फूलेको (full bloom) २० दिन भित्रमा चिचिलो फल छाटेको खण्डमा बर्ष विराएर फल्ने बानी लाई कम गर्न सकिन्छ । यसरी चिचिलो अबस्थामै फल छाट्ने गरेमा फलको आकार प्रकार पनि बढ्ने गर्दछ । त्यसैगरी फल छाट्ने आधारमा एक झुप्पामा २ वटा सम्म फल राख्नु पर्दछ, भने अर्को तरिकामा ३० पात बराबर १ दाना फल राख्नु पर्दछ ।

फल टिप्ने उपयुक्त अवस्था

हलुवाबेदको फल टिपाई कार्य यसको जात, हावापानी,रोपेको स्थान,मोहडा अनुसार पाक्ने समय फरक फरक हुन्छ । केही गर्मी स्थानमा रोपेको हलुवाबेदको फलको बोक्राको रंग राम्ररी नचढे ता पनि भित्री गुदी पाकी सकेको अवस्था हुन्छ । तर पनि बाहीरी रंग नचढ्दै टिप्नु चाही उपयुक्त हुदैन । खासगरी फलको रंग ६० देखि ७० प्रतिशत रंग चढे पछि टिप्नु हरेक दृष्टिकोणले उपयुक्त मानिन्छ भने अर्को तरिकामा फलको गुलियोपन (total soluable sugar) १४ प्रतिशत पुगेपछि पनि टिप्न सकिन्छ । जापानमा हलुवाबेदको फल टिप्ने उपयुक्त अबस्था थाहा पाउनको लागी Standard color chart बनाएको छ र त्यसैको आधारमा फल टिप्ने कार्य गर्दछ ।

 फल टिप्ने

हलुवाबेदको फल टिपाई कार्य हातले तानेर,लुछेर कदापी गर्नु हुदैन । फलको भेट्नोमा चोट पुग्यो भने फल चाडै गल्ने र कुहिने हुन्छ र भण्डारण गर्न सकिदैन । यदी भेट्नो बोटमा नै रहेमा, भेट्नोबाट सुक्दै गएर हांगा समेत सुक्ने गर्दछ, जसले गर्दा नयां पालुवा आउनमा बाधा पुर्याउदछ । त्यसैले अनिबार्य रुपमा फल टिप्ने कैची (Fruit clipper) ले फल टिप्ने कार्य गर्नु पर्दछ ।

फल छान्ने, ग्रेडिङ्ग गर्ने

हलुवाबेदको फल टिपे पछि बजार ब्यबस्थापनको लागी छान्ने (Serting) गर्नु पर्दछ । त्यसमा किराले खाएको,दाग लागेको,बेआकारको,साह्रै मसिनो फलहरु छुट्याउनु पर्दछ । र जात अनुसार प्रमाणीत टेबुलको आधारमा ग्रेडिङ्ग गर्नु पर्दछ ।

ग्रेड्

आधार

A

 १८० ग्राम भन्दा माथी

B

१४० ग्राम देखि १८० ग्राम सम्म

C

१०० ग्राम देखि १४० ग्राम सम्म

प्याकेजिङ् तथा भण्डारण

पाकेको हलुवाबेद साधारण अवस्थामा राख्दा चांडै नै गिलो भई धेरै दिन राख्न सकिदैन तर सुन्य डिग्री तापक्रम र ८५ देखि ९० प्रतिशतको सापेक्षित आर्द्रतामा ०.०६ मि.मि.को ल्पाष्टिक थैलोमा हावा निकाली सील गरी भण्डारण गर्न सकेमा ४ महिना सम्म राख्न सकिन्छ ।

अन्य जानकारी

हलुवावेद टर्रो हुनुको कारण र टर्रोपना हटाउने उपायहरु

हलुवावेदमा टर्रो हुने तत्व ट्यानिन् (Tannin) हो ।टर्रो हुने जातको फलको सबै भागमा घुलनशिल ट्यानिन् (Soluble tannin) बिद्यमान हुन्छन, त्यसैले जिब्रोमा छुना साथ टर्रो महसुस भई हाल्दछ । त्यही घुलनशिल ट्यानिनलाई अघुलनशिल ट्यानिन (Insoluble tannin) मा परिणत गरी एउटा विन्दुमा एकत्रित गरी राख्न सकेमा टर्रो हलुवावेद पनि टर्रो रहीत भई खानमा मिठो हुन्छ । त्यसैले यस सिद्धान्तमा आधारित भई हलुवावेदको टर्रोपना हटाउने विधिहरुको विकास विभिन्न तरिकाले गरिएको छ । जुन निम्नानुसार रहेको छ ।

१. तातो पानीबाट उपचारः यो विधिबाट टर्रोपना हटाउनको लागी स्टीलको भांडोमा ४० देखि ५० डिग्री सेल्सीयसको मन्द आंचको एकनासको तातो पानी कायम राखि, त्यसमा ५० देखि ६० प्रतिशत रंग चढेको (धेरै पाकेको तथा धेरै कांचो पनि हुनु हुदैन) फललाई १५ देखि २४ घण्टासम्म डुबाएर राख्ने र त्यसपछि निकालेर २४ घण्टा ओभानो ठांउमा फिजाएर राखे पछि टर्रोपना हटेर खान योग्य हुन्छ । तर यस विधिमा तातो पानी स्थीर राख्न गाह्रो हुने र पानीको तापक्रम घटीबढी भएमा फल खान अयोग्य पनि हुन सक्दछ । त्यसैले यो प्रविधि थोरै परिमाणको घरायसी प्रयोजनको लागी मात्र उपयुक्त हुन्छ । त्यसैगरी यो विधिबाट उपचार गरिएको फल धेरै गुलियो नहुने र भण्डारण पनि धेरै दिन गर्न सकिदैन ।

२.कार्बन डाईअक्साईड ग्यास (Carbon dioxide) बाट उपचार :

 थोरै परिमाणको लागी यो विधि धेरै खर्चिलो हुने भएकोले ठुलो परिमाण उपचार गर्नमा यो प्रविधि उपयुक्त हुन्छ । यस प्रविधिमा ग्यास च्याम्बरमा फल राखि कार्बन डाईअक्साईड ग्यास प्रबाहित गरी उपचार गरिन्छ तर नेपालमा यो प्रविधि उपलब्ध छैन ।

३. अल्कोहोल (Alcohol) बाट उपचार

 यो सरल,सुलभ,सजिलो र ब्यबहारीक उपचार विधि हो । यसबाट उपचार गर्नको लागी ५० देखि ६० प्रतिशत रंग चढेको फललाई फल टिप्ने कैचीको सहायताले टिप्ने । १० के.जी.फल अटाउने हावा नछिर्ने ल्पाष्टिकको थैलोमा फलको भेट्नोलाई माथी तिर पर्ने गरी तह तह मिलाउने । एक थैलो बराबर १० के.जी. फल राखी त्यस फल माथी १०० मि.लि. घरेलु मदिरा (३५%को अल्कोहल मात्रा भएको छर्की दिने र हावा नपस्ने गरी मुख बांधी २५ डिग्री सेल्सीएस तापक्रम भएको साधरण कोठामा ४८ घण्टा गुम्स्याएर राख्ने । ४८ घण्टा पछि ल्पाष्टिकको मुख खुला राख्ने र २४ घण्टासम्म त्यत्तिकै रहन दिने, यति बेलासम्म टर्रोपना हटेर खान योग्य भई सकेको हुन्छ ।जापानी जातको हिरातानेनाशी नामक टर्रो हलुवाबेदमा यो तरिकाबाट उपचार गर्दा सजिलैसंग टर्रोपना हटी गुलियो हुन्छ भने नेपालको स्थानिय टर्रो हलुवाबेद ज्यादै कडा किसिमको टर्रो हुने भएकोले त्यत्ती राम्रोसंग टर्रोपन हटेको पाईएन । त्यसैले नेपालको स्थानिय टर्रो हलुवाबेदलाई कपडा रंगाउने रंग बनाउने (काकीशिबु प्रयोजनको लागी उत्तम देखिएको छ ।

टर्रो हलुवाबेदको मिठो सुकुटी (Dry Fruit) बनाउने तरिका

 जापानमा टर्रो नहुने हलुवाबेदको जति महत्व छ, त्यत्तिकै टर्रो हुने हलुवबेदको पनि महत्व छ । जापानीहरुले टर्रो नहुने हलुवाबेदलाई ताजा फलको रुपमा प्रयोग गर्ने गर्दछ भने टर्रो हुने हलुवाबेदलाई काकीशिबु (कपडा रंगाउने रंग) बनाउने र सुकुटी बनाउनु हो । पा्रचीन समय देखि हलुवाबेदको सुकुटी बनाउने परंम्परा यथावत छ । जापानीहरुले हलुवाबेद को सुकुटी बाह्य देशमा समेत निर्यात गर्ने गर्दछ । सुकुटी बनाउनको लागी फल भित्रको वींया जति कम संख्यामा हुन्छ, त्यत्तिकै गुणस्तर राम्रो हुन्छ । त्यसैले जापानमा टर्रो हुने तर वीयां नहुने वा कम हुने हिरातानेनाशी, हाचिया जातको हलुवाबेद प्रख्यात छ । यी जातको सुकुटी उच्चकोटीको रहेको जापानीहरु नै भन्ने गर्दछन । विशेषगरी सुकुटीको लागी यही जातको खेती गर्ने गर्दछ । घरेलु तरिकाले हलुवाबेदको सुकुटी बनाउनको लागी फल ६० देखि ७० प्रतिशतपाकेको अबस्थामा भेट्नोको काठ सहित रहने गरी कैचीले टिपेर सफा पानीमा पखाली आलु ताछ्ने (Skin peeler)ले फलको बोक्रा ताछ्ने र धागोमा एकनाशले बाधी तोरण झै झुन्ड्याएर हावा संचार हुने तर घाम प्रतक्ष्य नलाग्ने खुला कोठामा सुकाए पछि फलमा भएको पानीको मात्रा १५ देखि २० प्रतिशतमा झारी ,फलमा च्याप च्याप लाग्ने गरी चिनीको मात्रा बढे पछि त्यसमा भएको टर्रोपना हटी सुकुटी नरम मुलायम र गुलावी रंगको आकर्षक र खान योग्य हुन्छ । त्यसपछि ल्पाष्टिक ब्यागमा प्याक गरी लामो समयसम्म भण्डारण गर्न सकिन्छ । तर यो सुकुटी प्रशोधन गर्दा कोठाको तापक्रम २५ देखि ३० डिग्री सेल्सियस र सापेक्षीत आद्र्रता ५० देखि ६० प्रतिशत रहनु पर्दछ । यदी सापेक्षीत आद्र्रता बढी भएमा सुकुटीमा ढुसी पैदा हुन्छ,भने तापक्रम बढी भएमा सुकुटी सुख्खा र कडा भई गुणस्तरहीन बन्दछ । तर ब्यबसायकि तवरले ठुलो पमिाणमा प्रशोधन गर्ने हो भने एउटा च्याम्बर कोठा तथा ड्रयरको आबश्यकता पर्दछ । यस तरिकाको प्रशोधनमा सर्बप्रथम ताछेको फललाई सल्फर डाईअक्साईड (Sulphur dioxide) को धुंवा दिएर त्यसबाट निकाली ३० देखि ३२ डिग्री से. को ड्रयरमा २५ देखि ३० दिन सुकाएमा राम्रो सुकुटी बन्दछ ।

 

काकीशिबु (KAKISHIBU)

 काठमाण्डौं उपत्यकामा पाईने अधिकांश हलुवाबेद टर्रो हुने गर्दछ । यस्तो हलुवाबेदको बजार मूल्य खासै राम्रो पाईदैन । त्यसैले यस्तो टर्रो हुने हलुवाबेदलाई कसरी उपयोग गरेर राम्रो आम्दानी लिन सकिन्छ भनेर केन्द्रीय बागबानी केन्द्र, कीर्तिपुर र जाईका जे.ओ.सि.भि.स्वयंसेवकको संयुक्त पहलमा नेपाली कृषक तथा कृषि प्राविधिकहरु लाई यस प्रविधिबारे जानकारी तथा तालिम समेत दिईएको छ । तालिम लिएका केही कृषकहरुले हलुवाबेदको कच्चा तरल पदार्थ काकीशिबु उत्पादन गरी बिक्री वितरण गर्दै आएका पनि छन् । जापानमा यो रसलाई ‘काकीशिबु’ नामले प्रचलित छ । काकीको अर्थ ‘ हलुवाबेद’ र शिबुको अर्थ ‘रस’ भन्ने बुझाउदछ । यो रस कपडा रंगाउने (dying) काममा उच्चकोटीमानिएको छ । त्यसको अलावा कागज, फर्निचर तथा घरमा प्रयोग गरिने बांस तथा काठमा यसको रसको पालीस गरेमा किरा तथा धमिरा नलाग्ने गरेको जापानीजहरुको अनुभव छ |

हलुवावेदको बारेमा विभिन्न मान्यता
  • नियमित रुपमा हलुवावेद खाने गरेमा बुढौलीपन ढीलो हुने गर्दछ ।
  •  टर्रो हलुवावेदको रसबाट कपडा रंगाउन (dying) को लागी प्रयोग गरीन्छ ।
  • मदिरा पानबाट हुने Hangover बिहान उठ्ना साथ पाकेको हलुवावेद दुई चार टुक्रा खाएमा तत्काल ताजा तरोजा भईन्छ ।
  • पाकेको हलुवावेदको वीउ भुटेर धुलो बनाई प्रयोग गरेमा कफीको काम गर्दछ ।
  •  टर्रो हलुवावेदबाट धेरै मिठो सुकुटी (dry fruit ) बन्दछ । हलुवावेदको छिप्पिएको पातलाई सुकाएर धुलो बनाई उमालेर, सेलाए पछि खाने गरेमा पक्षाघात रोग हुनबाट बचाउदछ ।
  • कांचो हलुवावेदको गुदीमा र पाकेको हलुवावेदको बोक्रामा धेरै मात्रामा Tannin तत्व पाईने भएकोले कांचो हलुवावेदको गुदी र पाकेको हलुवावेदको बोक्रा खान नहुने विशेषज्ञको भनाई छ ।
  • नियमित रुपमा हलुवाबेदको सेवनले आंखा तेजिलो हुने र अनुहारको छाला मुलायम र नरम बनाउछ ।
  • कांचो हलुवाबेद धेरै खाएमा शरीरमा रगत कम हुने (Anemia) समस्या देखिन सक्छ ।

हलुवाबेदको खेती गर्ने कृषकहरुले दिएको जानकारी (Feedback) अनुसार विरुवा सर्न गाह्रो हुने भन्ने गुनासो प्रायः आएको देखिन्छ । यसका समाधानका उपाय निम्न हुन सक्दछ ।

१. हलुवाबेदको जरा अन्य फलफूलको जरा भन्दा भिन्न प्रबृत्तिको हुन्छ, यसको जरा कमलो नरम हुनुका साथै मसिनो जरा (Fibrous root) थोरै हुने भएकोले विरुवा सर्न गाह्रो हुन्छ, त्यसैले विरुवा रोप्ने बेला लामो समयसम्म जरा खुल्ला राखेमा वा धेरै दिनसम्म विरुवा नरोपीकन राखेमा वा विरुवा रोप्दा माटो राम्रोसंग नखांदिएमा विरुवा सुक्ने संभाबना धेरै हुन्छ ।

२. विरुवा रोपे पछि तत्काल सिंचाई नगरेमा तथा नियमित सिंचाई नगरेमा ।

३. विरुवा रोपे पछि टेका नदिईकन त्यत्तिकै छोडी दिएमा हावाहुरी, केटाकेटी, गाईबस्तुले हल्लाई दिएको खण्डमा ।

 ४. हलुवाबेद विरुवाको पालुवा अन्य फलफूको विरुवाको पालुवा भन्दा निकै ढिलो (वैशाख तिर) आउने भएकाले किसानले सुक्यो भनी ठानी हेरविचार गर्न छोडी दिन्छ र चिस्यानको अभाबले झन विरुवा सुक्ने संभावना रहन्छ ।

 यि उल्लेखित कुराहरु लाई ध्यान दिएर स्याहार गरेको खण्डमा विरुवा मर्ने समस्या समाधान गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ ग्रन्थ

हलुवावेद खेती (धन बहादुर थापा, २०६८ केन्द्रीय बागबानी केन्द्र, कीर्तिपुर)
समशितोष्ण फलफुल खेती (बागबानी विकास आयोजना २०५६)
Bose& Mitra;Fruits (tropical and sub tropical)

Persimmon nutrition, nutritional value of persimmon(web site)
बाली विरुवाका शत्रुहरु र तिनका रोकथाम (डा.फणीन्द्र प्रसाद नेउपाने)