परिचय

नास्पातीको उत्पती तथा वितरण

नास्पातीको उत्पती स्थल मध्य एशियाको चीन,ताइवान,कोरिया र जापानमा भएको मानिन्छ । चीनमा त ३००० बर्ष पहिले देखि खेती गरिदै आएको प्रमाणित भएको छ । यहींबाट क्रमशः अष्ट्रेलिया,न्यूजिल्याण्ड, अमेरिका (क्यालीफोर्निया),  पूर्व एसिया, मध्यपूर्व युरोप हुँदै पश्चिम युरोप तिर फैलिएको मानिन्छ । युरोप तिर धेरै चिसो क्षेत्र भएकोले चिसो सहन सक्ने जातको विकास गरिएको छ, यसलाई युरोपियन नास्पाती समुह र एसिया तिर खेती गर्ने समुहलाई एसियन नास्पाती भनेर छुट्याइएको छ । एसियन समुहको नास्पातीलाई विभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै एसियन नास्पाती,चाइनिज नास्पाती,कोरियन नास्पाती,जापानिज नास्पाती,ताइवानी नास्पाती,नाशी नास्पाती,र स्याण्ड पिएर (Sand pear) आदी ।

वैज्ञानिक वर्गिकरण

नास्पाती Rosaceae पविारमा पर्दछ, यसको वंश (Genus) Pyrus हो र प्रजाती (Species) हरु चाँही ३० भन्दा बढी छन् । तर मुख्य खेती गरिने प्रजातीमा Pyrus communis र Pyrus pyrifolia नै मुख्य हुन् ।

समुह:

१. युरोपियन समुह: Pyrus communis अन्तर्गत पर्ने नास्पाती विशेष गरी युरोप र उत्तर अमेरिकामा खेती गरिन्छ । विश्वमा यस समुहको नास्पातीले प्रमुख स्थान ओगटेको छ । तुम्बे आकारका हुने नास्पातीहरुमा बार्टलेट, रेड बार्टलेट, रेड क्वीन, हवाना जातका नास्पातीले विशेष स्थान लिएको छ । तर यस समुहको नास्पाती कम रसिलो र गुलियो पनि एसियनको तुलनामा कम हुने गर्दछ । यी नास्पातीको भण्डारण क्षमता भने धेरै राम्रो मानिन्छ ।

२. एसियन समुह : Pyrus pyrifolia अन्तर्गत पर्ने नास्पातीको आकार स्याउको आकारसंग मेल खान्छ र यो समुहका नास्पाती रसिलो, गुलियो र चुरुम्म हुने  (crisp) किसिमको हुन्छ । नेपाली स्थानिय (फर्पिङ्) नास्पाती, जापानी नास्पाती आदी पर्दछन् । यसलाई sand pear पनि भन्ने गरिन्छ । चीनबाट आउने पहेंलो—सेतो (White pear) चाँही Pyrus * bretschneider बीचको वर्णशंकर जात हो । यसलाई उनीहरुको भाषामा बे—ली (bai-li) भन्ने गर्दछ ।

३. दक्षिणी चीन र दक्षिण एसियामा Pyrus sinkiangensis र Pyrus pashia समुहका नास्पाती पनि खेती गर्ने गरिएको पाइन्छ ।

जातहरु

स्थानिय जात 

(क) फर्पिङ् (स्थानिय)

काठमाण्डौंको जिल्लाको दक्षिणी भागमा फर्पिङ् भन्ने स्थान छ, त्यस क्षेत्रमा सदियौं देखि नास्पातीको खेती हुदै आएको छ । तर कसरी, कहाँबाट ल्याईयो,कहिले देखि लगाइयो त्यसको कुनै अनुसन्धानात्मक रेकर्ड भेटिएको छैन । नेपालमा १३०० देखि २३०० मि.को द्धण् समशितोष्ण फलपूmल खेती प्रविधि उचाइ सम्ममा भिन्न प्रकारका जंगली मयल प्रसस्त पाईन्छ । सायद हाम्रा पुर्खाहरुले त्यसैबाट छनौट गरिएको विकसित रुप नै फर्पिङ नास्पाती हुन सक्ने संभावना छ । यसको बोट धेरै ठुलो, बलियो, रोग पनि कम लाग्ने पाईएको छ । त्यस क्षेत्रमा सय बर्ष पुराना बोटहरु पनि निकै भेटिन्छन् । यसको फूल चाँडै (फागुन) नै फुलेता पनि पाक्ने समय केही ढिलोगरी भदौ—असोजमा मात्र राम्रोसंग पाक्दछ । बोटमा फल अत्यधिक फल्ने प्रकृती (Tendency) भई फलको तौल एक के.जी.सम्मको पनि हुन्छ,ता पनि औषत दानाको तौल ३५० ग्राम सम्मको हुन्छ । फलको गुलियोपन ११—१३% सम्मको राम्रो भएता पनि फलमा रस कम,गुदी खाँदा कडा र खस्रो हुने, फलको कडापन (Hardiness) मापनमा ६—७ के.जी. (Penetrometer) भई कडा फल मध्येमा पर्दछ तर यसको प्रमुख विशेषता भनेको जस्तोसुकै हावापानीमा पनि फल्ने गर्दछ । तराईको २००मि.देखि उच्च पहाडको २५००मि.सम्ममा पनि राम्रै फलेको पाईन्छ ।

(ख) हरियो नास्पाती (स्थानिय)

यो पनि एक किसिमको स्थानिय नास्पाती नै हो । गाँउघर तिर यसलाई हरियो स्याउ पनि भन्ने गरेको पाईन्छ । जहाँसम्म छ यो फर्पिङ् नास्पातीबाट उत्परिवर्तन (mutant) भएर आएको अनुमान गरीएको छ । यसको बोट बलियो र मजबुत भई फर्पिङ् नास्पाती भन्दा होचो हुने,चाँडै फुल्ने,चाँडै पाक्ने (साउनमा) ,धेरै फल्ने,फर्पिङ् भन्दा कमलो,रसिलो,सानो (२०० ग्रामसम्मको), फलको गुलियोपन १०% सम्म पुग्ने, फलको दाना गोलाकार, फलको रंग हल्का पहेंलो—हरियो (Yellow-green) को हुने हुन्छ । यस नास्पातीलाई केही प्राविधिक सुधार गर्न सकिएको खण्डमा यसको गुणस्तरको पाटो सुधार गर्न सकिने देखिन्छ । यसको पनि प्रमुख विशेषता भनेको नेपालको जुनसुकै स्थानमा पनि खेती गर्न सकिने नास्पाती बर्गमा पर्दछ ।

जापानबाट भित्रिएका जातहरु 

१. कोसुई (Kosui)

जापानमा सन् १९५९ मा विकास गरेको बर्णशंकर जात हो । यसको बोट मध्यम आकारको, हाँगाहरुको घनत्व र पातको घनत्व पनि कम हुने र हाँगा सिधा बढ्ने चरित्रको हुन्छ । फूलको कोपिलाहरु तुलनात्मक रुपमा कम लागे पनि परागकणहरु बढी सक्रिय हुनाले राम्रो परागशेचन भई फल राम्रोसंग लाग्दछ । जापानमा सबैभन्दा लोकप्रिय र अगाडी पाक्ने अगौटे जात हो । नेपालमा पनि साउनको तेश्रो हप्ता तिर पाक्ने गरेको छ । फलको दाना गोलाकार,फलको रंग सुनौलो—खैरो (Golden brown) हुने, फलको तौल ३०० ग्राम सम्मको हुने, फलको कडापन २.०के.जी. (Penetrometer), गुलियोपन (TSS) १३% सम्म पुग्ने, फलको स्वाद ज्यादै नरम, रसिलो हुने गर्दछ ।

तर यसको बोटलाई गुलाबी रोग (Pink disease) ले साह्रै प्रभावित पार्ने र संवेदनशिल हुने भएकोले नेपाली कृषकले व्यबस्थापन गर्न गाह्रो हुने भएकोले यसको विरुवा प्रशारण गरी बिक्री वितरण गर्ने गरिएको छैन । कीर्तिपुर स्थित बागबानी केन्द्रमा जातिय संरक्षण गरी राखिएको छ ।

२. होसुई (Hosui)

जापानमा सन् १९७२ मा उन्मोचन गरीएको वर्णशंकर जात हो । यसको बोट बलियो (vigorous) र हाँगाहरुको फैलावट, पातको घनत्व बढी भएको हुन्छ । यसको बोटको उचाँइ ३ मि.सम्म अग्लो हुने र हाँगाको टुप्पा तिरको भाग नुहिँने गर्दछ । फल लाग्ने हाँगाहरु प्रशस्त निस्कने गर्दछ । प्रशस्त फूल लागी फल पनि प्रशस्त नै फल्ने गर्दछ । कोसुई जात भन्दा २ हप्ता ढिलो पाक्दछ । फलको रंग पहेंलो—खैरो (russet), दानाको आकार गोलाकार नभई बीच बीचमा हलका धसिएको हुन्छ । फलको तौल ४०० ग्रामसम्म ठुलो हुन्छ । फलको कडापन (hardiness) २.० के.जी. (penetrometer), गुलियोपन १२% को भई फलको भित्री तह (cortex) मा हल्का अमिलो भएता पनि गुदीको भाग गुलियो र ज्यादै रसिलो हुन्छ । जापानमा पनि यो जातलाई उच्च गुणस्तरको जातको रुपमा लिईन्छ । दश बर्षे बोटमा १०० के.जी. सम्म फलाउन सकिन्छ । यो जातमा रोगको प्रकोप पनि कम भएकोले नेपालमा अगौटे जातको नास्पातीको रुपमा प्रचार प्रसार भएको छ ।

३. चोजुरो (Chojuro)

जापानमा सन् १८९३ मा वीजु बिरुवाबाट अवसरको रुपमा गुणस्तरीय फल प्राप्त भई (Chance seedling) विकास गरिएको जात हो । बोट बलियो (Vigorous) भईकन बोटको वृद्धि कम भई बोट झाँगिन लामो समय लिन्छ । हाँगाको घनत्व मध्यम किसिमको हुने तर त्यसमा प्रष्टसंग फूलको मुना (Spur type flowering bud) देखिन्छ । फूलको कोपिला प्रशस्त फुले पनि प्राकृतिक रुपमा (natural drop) फल झर्ने गर्दछ,जसले गर्दा फल केही कम फल्दछ । तर पनि परागकणहरु धेरै र सक्रिय हुने हुनाले परागशेचित (Pollinizer) गर्नको लागी उपयुक्त जातमा पर्दछ ।त्यसैले जापानी नास्पाती खेती गर्दा २०% जती यो जात मिसाएर रोप्न सल्लाहा दिइएको छ ।

यसको पाकेको फल सुन्तले—खैरो (Orange brown) चिल्लो सतह हुन्छ । फलको तौल ३००देखि४००ग्राम सम्मको हुने,गुलियोपन १४% सम्म पुग्ने,फलको कडापन ४के.जी.भई फल केही कडा लाग्दछ र रस पनि कम भई फपिङ् नास्पातीको जस्तो स्वाद लाग्दछ । यो जातको पाक्ने समय साउनको अन्तिम साता देखि भदौको पहिलो सातासम्ममा टिपी सक्नु पर्दछ । यदी फल टिप्ने काम ढिलो भएमा फलको भित्री भागमा पानीले भिजेको (water core) जस्तो दाग देखा पर्दछ । जसले गर्दा फल चाँडै सड्ने गर्दछ । यो जातले पनि रोगहरु सहन सक्ने भएकोले खेती गर्न सजिलो जातको रुपमा लिईन्छ ।

४. सिन्को (Shinko)

जापानमा सन् १९४१ मा निजीसेइकी (Nijjiseiki) जातको विजुबाट लगाईएको बोटबाट छनौट (selection) गरिएको जात हो । जापानमा यो जात पनि निकै प्रचलित मध्येमा पर्दछ । बोट मध्यम बलियो हुने,छोटो हाँगाहरु प्रसस्त आएर चुसो चुसो परेको देखिन्छ । बोट माथी तिर नबढी चारैतिर फैलन्छ, जसले गर्दा बोट ठुलो हुदैन । यो जातको बोट भिन्न खालको हुँदा सजिलैरी चिन्न सकिन्छ । यसको पूmल फुल्ने समय होसुईको भन्दा ४—५ दिन जती ढिलाई भएता पनि अन्य जातसंग परागशेचनको काम राम्रैसंग गर्दछ । जापानी नास्पाती खेती गर्दा यो जात पनि मिसाउनु उपयुक्त हुन्छ । फलको तौल ४०० ग्राम सम्मको हुने, बोक्रा घ्यू रंग (creamy white) को हुने,फलको गुलियोपन (Total Soluble Sugar) १२% सम्म पुग्दछ । फलको रस होसुईको तुलनामा कम पाईन्छ । फलको कडापन ३के.जी.भई हल्का कडापन पाईन्छ । यो नास्पाती पुरै पाकेपछि मात्र टिप्नु पर्दछ, नत्र स्वादमा हल्कारुपमा अमिलोपन भेटिन्छ । यसको पाक्ने समय भदौको तेश्रो—चौथो हप्तामा उपयुक्त भई पछौटे जातको रुपमा लिईएको छ ।

यो जातको नास्पातीलाई पनि रोगको संक्रमण कम हुने भएकोले खेती गर्न सजिलो जातको रुपमा लिईन्छ ।

नोट : तत्कालिन बागबानी विकास आयोजना (JICA) ले लामो अध्ययन पछि जापानबाट ल्याईएका जातहरु मध्ये माथी उल्लेख गरिएका ४ जातलाई मात्र नेपालको हावापानी र नेपाली कृषकका लागी उपयुक्त छ भनी निश्कर्ष गरेको छ ।

५. निताका (Nitaka)

जापानमा सन् १९२७ मा विकास गएिको वर्णशंकर जात हो । यसको बोट बलियो, हाँगा सिधा नबढी फैलने पकृतिको छ । फलको रंग तामा—पहेंलो (Copper yellow), चिल्लो, चम्किलो किसिमको हुन्छ । फलको तौल ५००— ६०० ग्रामको ठुलो हुन्छ । फलको कडापन ३.० के.जी.सम्म हुने । रस कम, गुदी खस्रो र गुलियोपन १३% सम्मको हुन्छ । भदौको तेश्रो साता तिर टिप्न बेला हुन्छ । यो जातमा पनि रोगको संक्रमण कम देखिएको छ ।

६. आतागो (Atago)

जापानमा विकास गरिएको जात हो । यसको बोट निताकाको जस्तै मिल्दो जुल्दो हुन्छ । यसकोफलको तौल नास्पाती मध्येमा सबैभन्दा ठुलो भई ७०० देखि १००० ग्राम सम्मको हुन्छ । फलको रंग हरियो—खैरो (Green brown) भई त्यत्ति आकर्षक लाग्दैन । गुलियोपन ११.५% भएता पनि खाँदा कडा भई कर्याक कर्याक आवाज निस्कन्छ । भदौको तेश्रो साता तिरमात्र खान योग्य हुन्छ । राम्रोसंग नपाकी खाएमा अमिलो स्वाद हुन्छ । यो जातमा पनि रोगको संक्रमण कम देखिएको छ ।

७. ओकुसाङ्किची (Okusankichi)

जापानमा वीजु विरुवाबाट अबसरको रुपमा गुणस्तरीय फल प्राप्त भई (chance seedling) विकास गरिएको जात हो । यसको बोट बलियो (vigorous) भईकन बोटको हाँगाको बृद्धि कम भई फल्ने मुनाहरु प्रशस्त लाग्दछ । यसको पाकेको फलको रंग नेपाली फर्पिङ्संग मिल्दो जुल्दो हुन्छ । फलको तौल ६००—७०० ग्रामसम्मको ठुलो हुन्छ । गुदीको गुलियोपन १३% सम्म पुग्ने गरेको छ । पाक्ने समय पनि नेपाली फर्पिङ्संग मिल्दो जुल्दो भई असोजको तेश्रोसाता सम्ममा टिप्न सकिन्छ । यो नास्पातीको भण्डारण क्षमता राम्रो पाईएको छ ।

८. मेगाचु (Megatsu)

जापानमा विकास गरिएको यो जातको नास्पातीको बोट मध्यम किसिमको (semi vigorous) हुने गर्दछ । फल्ने हाँगा भन्दा पनि चोर हाँगाहरु (water suckers) बढी आउने भएकोले पूmल बोक्ने मुनाहरु कम निस्कने भएकोले फल पनि कम नै फल्ने गर्दछ । फलको तौल ४००ग्रामसम्मको पाईएको छ । फलको गुलियोपन १३% भएतापनि कडापन ४ के.जी.भई फलको स्वाद कडा हुन्छ । फल भदौको तेश्रो हप्तातिर पाक्ने गर्दछ ।

९.वासेका (Waseka)

जापानमा विकास गरिएको यो जात चोजुरोसंग मिल्दो जुल्दो देखिन्छ । फलको रंग पनि चोजुरो जस्तै देखिएता पनि फलको कडापन केही नरम भई ३.५ के.जी.,फलको गुलियोपन १२%,फलको रस मध्यम र तौल ३५०ग्राम सम्मको हुन्छ । फल पाक्ने समय साउनको अन्तमा उपयुक्त हुन्छ ।

१०. याकुमो (Yakumo)

जापानमा करिब १०० बर्ष पहिले विकास गरिएको वर्णशंकर जात हो । बोट मध्यम किसिमको बलियो (semi vigorous) हाँगाहरु छोटो बढ्ने तर प्रशस्त पूmलका मुनाहरु लाग्ने, फलको रंग हरियो—पहेंलो (Yellow-green) हुने, फलको तौल ३५० ग्रामसम्मको हुने, गुलियोपन १२% सम्म पुग्ने, फलको कडापन ३.० के.जी.,गुदी नरम र रसिलो हुन्छ । फल पाक्ने समय साउनको तेश्रो हप्तातिर हुने भएता पनि यो जातमा टिप्ने समयाबधी छोटो भएकोले सजक हुनु पर्दछ । केही समयमात्र ढिलाई भएमा गुदी भित्र (water core) कालो दाग देखापरी तुरुन्तै बिग्रन्छ । यो जातको नास्पातीमा रोगहरु कम देखा पर्ने भई खेती गर्ने सजिलो भएता पनि पाक्ने समयको ख्याल गरिएन भने फल पुरै खेरजाने संभावना हुन्छ ।

११. किकुसुई (Kikusui)

यो जात पनि जापानमा विकास गरिएको हो । बोटको आकार प्रकार याकुमो जातसंग मिल्दोजुल्दो हुने हुनाले झट्ट छुट्याउन गाह्रो हुन्छ । यसको फलको रंग पनि पहेंलो— हरियो (Yellow-green) भई चम्किलो देखिन्छ । यो जातको नास्पातीको विशेषता भनेको पाकेको फल गोदावरी फूलको जस्तो मिठो बासना आउँदछ ।फलको तौल ३०० ग्रामसम्मको हुने, गुलियोपन १२%सम्म पुग्ने, फलको कडापन ३.०के.जी., गुदी नरम र धेरै रसिलो हुन्छ । फल पाक्ने समय साउनको चौथो हप्तातिर हुने भएता पनि यो जातमा टिप्ने समयाबधी छोटो भएकोले सजक हुनु पर्दछ । केही समयमात्र ढिलाई भएमा गुदी भित्र (water core) कालो दाग देखापरी तुरुन्तै बिग्रन्छ । यो जातको नास्पातीमा रोगहरु कम देखा पर्ने भई खेती गर्ने सजिलो भएता पनि पाक्ने समयको ख्याल गरिएन भने फल पुरै खेरजाने संभावना हुन्छ ।

१२. गोल्डेन निजिसेइकी (Golden Nijiseiki)

जापानमा सन् १८९८ मा विकास गरिएको नास्पातीको जात हो । कीर्तिपुरको चिम्ट्याईलो माटोको कारणले हो वा जातिय चरित्रले हो धेरै नबढ्ने भएर यसको बोट पुड्को देखिन्छ । हाँगाहरुको बृद्धि विकास पनि कमजोर नै देखिन्छ । फलको साईज पनि धेरै ठुलो नहुने, गुदी हलका खस्रो (little griftness) लाग्ने ,फलको बोक्राको रंग हल्का छिर्केबिर्के—पहेँलो (partly tinged with yellow) देखिन्छ । फल साउनको तेश्रो साता तिर पाक्ने गर्दछ ।

युरोपियन समुहका जातहरु 

नेपालमा युरोपियन जातका नास्पातीहरु बि.सं. २०२०—२१ तिर भारतिय मिशन टोलीले जब नेपालमा बागबानी फार्महरु (दामन, ककनी, हेलम्बु, कीर्तिपुर) स्थापना गरे,त्यसैसमयमा भित्रिएको हो । यो समुहको नास्पातीको फल भेट्नो तर्फ साँगुरिएको र टुप्पा तिर फुकेको तुम्बे आकारको हुने गर्दछ । गाँउघरमा यो नास्पातीलाई हरियो स्याउ पनि भन्ने गरेको पाईन्छ । यो समुहको नास्पातीलाई निकै चिसो हावापानीको आबश्यकता पर्दछ ।

1. रेड बार्टलेट (Bartlett)

यो युरोपियन समुहको रातो रंगको तुम्बे आकारको हुन्छ । यो जातको नास्पातीलाई १०००—१२०० घण्टा चिलिङ् चाहिन्छ,तबमात्र फूल र फल लाग्दछ । यसको बोट स्थानिय भन्दा सानो,जापानी नास्पाती भन्दा ठुलो हुन्छ । फलको तौल २०० ग्रामसम्मको हुने,स्वाद बासनादार मिठो हुन्छ । यो जातको नास्पाती मुस्ताङ् स्थित बागबानी केन्द्रमा लगाईएको छ ।

2. बार्टलेट (Bartlett)

बेलायतमा करिब २५० बर्ष पहिले विकास गरिएको जात हो । युरोप बाट भारत हुँदै ल्याईएको हरियो खालको तुम्बे नास्पाती हो । यसको बोट पनि मध्यम ठुलो (स्थानिय भन्दा सानो,जापानी नास्पाती भन्दा ठुलो) हुने गर्दछ । फलको तौल २२०ग्राम, कडापन ३.०के.जी.सम्मको,गुलियोपन १४% सम्म पुगेको देखिन्छ । पाक्नेबेला फलको रंग हरियो—पहेंलो (Yellow-green) देखिन्छ । फल पाक्ने थाहापाउनको लागी (Check the neck) भन्ने गरिन्छ । फलको भेट्नो तिर बुढी औंलाले हलका थिच्ने र थिच्दा नरम भएमा पाकेको संकेत गर्दछ । यो जातको नास्पाती पहिले भित्रीभाग (गुदी) पाकेपछि मात्र बाहिर बोक्रामा परिबर्तन देखिन्छ । फल साधारणतः भदौको दोश्रो साता तिर टिप्न सकिन्छ ।

युरोपियन नास्पाती आंशिकरुपमा Climacteric स्वभावको हुन्छ । त्यसैले भण्डारण गर्नको लागी फल पुर्णरुपमा पाक्नु अघि टिपेर २—३ महिनासम्म भण्डारण गर्न सकिन्छ । भण्डारण गरेपछि मिठो बासना पनि आउने गर्दछ ।

३. हवाना (Hawana)

यो पनि युरोपियन समुहको नास्पाती हो । यो जातले पनि चिसो मन पराउने गर्दछ । यसको बोट मध्यम आकारको हुन्छ, तर हाँगा भने मसिनो (Thin branch) लुलो हुन्छ । फल लामो तुम्बे आकारमा र फलको भेट्नो लामो हुने, फलको रंग पहेंलो—हरियो (Yellow-green), फल रसिलो, गुलियोपन १३% र फलको कडापन ४.० के.जी. सम्म हुने गरेको छ । फल भदौमा पाक्दछ ।

4. अञ्जु (Anju)

यसको बोट बलियो र हाँगा सिधा बढ्ने हुन्छ । फल हरियो रंगको,गुदी कडा खाल्को हुन्छ । पाक्ने समय भदौको तेश्रो साता तिर हुन्छ ।

आवश्यकता

नास्पातीको लागी उपयुक्त हावापानी

नास्पाती समशितोष्ण (Warm temperate) हावापानीमा हुने, हिँउदमा पात झर्ने पतझड फलफूल हो । तर नेपालको स्थानिय नास्पातीलाई कुन हावापानीको लागी भनेर परिभाषित गर्न गाह्रो छ, किनकी यो नास्पाती गर्मी हावापानी भएको स्थानमा पनि राम्रोसंग फलेको पाइन्छ । त्यसैले नास्पातीको समुह र जात अनुसार उपयुक्त हुने हावापानीको पनि विविधता पाइन्छ । त्यसैले नास्पाती लगाउन चाहने व्यक्तिले यसको प्रकृति बुझेर कुन जातको नास्पाती कस्तो स्थानमा लगाउने भन्ने राम्रोसंग बुझेर मात्र खेती गरेमा मेहनत खेर जाँदैन । जस्तै :

१. नेपाली नास्पाती

काठमाण्डौं जिल्लाको दक्षिणी भागमा फर्पिङ् भन्ने स्थान छ । त्यस क्षेत्रमा सयौं बर्ष पहिले देखि नास्पातीको खेती हुँदै आइरहेको छ । कालन्तरमा त्यस नास्पातीलाई नै र्फिर्पङ् नास्पातीको नामले पुकारिन थालियो, यसलाई नेपालको स्थानिय नास्पाती भनेर पनि बुझ्दछौं । यो नास्पातीको विशेषता भन्नु नै जस्तो सुकै हावापानीमा पनि फल्ने गर्दछ । नेपाली नास्पातीलाई समशितोष्ण (warm temperate) वर्गमा राखेता पनि नेपालको तराईको वीरगंज देखि उच्च पहाड मुस्तांगसम्ममा जहाँ जस्तोसुकै स्थानमा रोपे पनि फल्ने अनौठो जातको नास्पाती मान्न सकिन्छ । त्यसैले यस्को लागी चिस्यानको आधारभुत आवश्यकता (Chilling requirement) यत्ति नै चाहिन्छ भन्ने नै छैन, जब कि अन्य मुलुकबाट आयातित नास्पातीको लागी यस्ले अति महत्वपुर्ण अर्थ राख्दछ ।

यो स्थानीय नास्पाती परापुर्व काल देखि खेती हुँदै आएकोले यसको प्रशारण पनि बीउबाट गरिदै र फैलिंदै आएको मान्न सकिन्छ, जसले गर्दा यस नास्पातीमा पनि विविधता निक्लदै गएर खैरो रंगको ठूला दाना हुने देखि हरियो रंगको मझौला साइजका, जंगलमा पाइने केही ठूलो साइजको भोटे मयल देखि मसिनो दाना फल्ने मयलसम्म (जसलाई wild pear पनि भन्ने गरिन्छ) को विविधता पाइन्छ । पुर्वजहरुले यिनैबाट छनौट गरेर ठूला दाना भएकाको खेती गर्न थालियो होला । पछिल्लो समयमा आएर हाँगा काटेर जमिनमा गाडी, गुटी बाँधी नयाँ बिरुवा उत्पादन गर्न थालेपछि यसको जातिय शुद्धताको पनि क्रमशः स्थापित भएको हुन सक्दछ । यद्यपी यसको अनुसन्धान हुन आवश्यक छ ।

२. जापानी नास्पाती (नाशी)

सन् १९८० को दशकमा जापानबाट अध्ययन अनुसन्धानको लागी नेपालमा भित्रिएको जापानी नास्पातीका केही जातले गुणस्तरीय सफलता हासिल गरी हाल आएर ती जापानी नास्पातीले नेपालीको जनजिब्रोमा बासना र स्वाद बसी विशिष्टता प्राप्त गरेको छ । तर यसको खेतीमा सफलता प्राप्तीको लागी नेपाली नास्पातीलाई भन्दा बढी प्राविधिक पाटोको आवश्यकता पर्दछ, किनकी यो नास्पातीको स्वभाव (Behavior) पनि विशेष किसिमको छ । यसलाई आधारभुत चिस्यान (Chilling requirement) ले यति ठूलो भुमिका र महत्व राख्दछ की अलिकती मात्र च्भत्रगष्चझभलत पुगेन भने पनि फल लाग्दैन । त्यसैगरी आवश्यकता भन्दा बढी चिलिङ् भयो भने पनि फल लाग्दैन । हाम्रो जस्तो देशमा त झन जलवायुको विविधता (micro-climate) भएको हुनाले थप विरोधाभास (confuse) परिस्थिती रहेको देखिन्छ । नेपालको परिप्रेक्षमा ठ्याक्कै यति नै चिलिङ् चाहिन्छ भन्न सक्ने स्थिती देखिदैन । किनकी १००० मिटर उत्तरी मोहडा भएको शितल ठाँउमा पनि फल लागेको पाइन्छ भने दक्षिणी मोहडा भएको १४०० मिटरमा नफल्ने गरेको पनि पाइन्छ । त्यसैले कती उचाँइमा रोप्ने भन्दा पनि सेपिलो चिस्यान कत्तीको छ भन्नेमा बढी महत्व राख्दछ ता पनि नेपालको मध्य पहाडका महाभारत पर्वतको उत्तर मोहडा भएका १३०० मि.देखि १८०० मि.सम्मको क्षेत्र जापानी नास्पातीको लागी उपयुक्त क्षेत्र मान्न सकिन्छ भने वर्षा कम हुने मुस्ताङ्, डोल्पा, जुम्ला जस्तो जिल्लाको २३०० मि. सम्मको स्थानमा पनि जापानी नास्पाती लगाउन सकिन्छ । जापानमा नास्पातीको लागी १३०० देखि १५०० घण्टा चिलिङ् आबश्यक पर्दछ भनी तोकिएको छ, तर नेपालमा हुबहू त्यत्ति नै चाहिन्छ भन्ने छैन । यो भन्दा थोरै ६०० देखि ८०० घण्टा चिलिङ् पुगेमा पनि फल फलेको पाइन्छ ।

३. युरोपियन नास्पाती (तुम्बे)

युरोपियन नास्पाती भन्नाले विशेषगरी हल्का पहेंलो -हरियो (Yellow-green) , देखि पुरै रातो रंग (Red Colour) मा र आकारमा लाम्चो तुम्बे किसिमको फल भनी चिनिन्छ । नास्पातीलाई समशितोष्ण बर्गमा राखेता पनि यो युरोपियन नास्पाती शितोष्ण क्षेत्र (Temperate zone) मा राम्रो हुने गर्दछ । यसको फल बास्नादार, रस कम भएको हुन्छ ।

४. चाइनिज नास्पाती (बे—ली)

नेपालको फलफूल बजारमा देखिने सेतो घिउरंगको नास्पाती फल चीनबाट भित्रिएको हो । फलको आकार प्रकार पनि आकर्षण, रसिलो भइकन गुलियोपन केही कमी भइ स्वादमा केही खल्लोपना देखिन्छ ,ता पनि नेपाली कृषकहरुले यो नास्पातीको विरुवाको माग गर्न थालिएको छ । नेपालमा यो जातको नास्पातीको विरुवा भित्रिन सकेको छैन ।

तत्काल विरुवा ल्याउन संभव नभएकोले ७ बर्ष पहिले केन्द्रीय बागबानी केन्द्र,कीर्तिपुरमा यसबाट निकालिएको विउबाट विरुवा उत्पादन गरी परिक्षणको लागी लगाइएको छ । यदी विजु विरुवाबाट आमाको गुण बोकेको (true-to-type) फल फलेमा ठूलो उपलब्धी हुन सक्दछ । यसलाई कस्तो हावापानी र तापक्रममा उपयुक्त हुन्छ, त्यसका लागी थप परिक्षण गर्नु पर्ने हुन्छ ।

तापक्रम र वर्षा

जापानी नास्पातीको सफल खेतीको लागी तापक्रम र बर्षाले प्रमुख भुमिका निर्बाह गरेको हुन्छ । जापानको नास्पाती खेती गरिने अंन्चल (Perfecture) हरुमा नास्पातीको लागी उपयुक्त तापक्रमको मापन गरिएको छ जसमा बार्षिक औषत तापक्रम १२ देखि १५ डिग्री सेन्टीग्रेट र विरुवाको वृद्धि विकास, फूल फुल्ने, फलको वृद्धिविकास, छिप्पिने अवस्था देखि पाक्ने समयसम्मको समय (वैशाख देखि असोजसम्म) को औषत तापक्रम १९ देखि २१ डिग्री सेन्टीग्रेट र हिंउदको (पुस, माघ महिनाको) न्युनतम औषत तापक्रम —५ देखि ४ डिग्रीसम्मको तापक्रम उपयुक्त मानिन्छ ।

तर नेपालको काठमाण्डौंको तापक्रमसंग तुलना गर्दा वार्षिक औषत तापक्रम १७.५ देखि १८ डिग्री सेन्टीगे्रट र न्युनतम औषत तापक्रम १ देखि १० डिग्रीसम्मको भई फराकिलो अन्तर देखिन्छ । जसले गर्दा काठमाण्डौंको किर्तिपुर क्षेत्र जापानी नास्पातीको लागी उपयुक्त स्थान भन्न अझै गाह्रो छ । यसको अर्थ जापानी नास्पातीको सफल खेती गर्न अझै केही चिसो ठाँउमा गर्नु पर्ने हुन्छ ।

त्यसैगरी नास्पाती खेतीको लागी औषत बार्षिक बर्षा १२०० देखि २००० मिली मिटरसम्म उपयुक्त हुन्छ । यो बालीले केही बढी बर्षा सहन सक्ने भएता पनि अधिक बर्षा भएमा रोग तथा किराहरुको संक्रमण हुने गर्दछ । जसको परिणाम चाँडै पातहरु झर्न थाल्दछ र बेमौषममा फूल फुल्ने भई अर्को सिजनको फूल फुल्नमा प्रभावित गर्दछ । त्यसैले बेमौषममा (भदौ,असोज) पात झर्नबाट रोक्नु अनिबार्य हुन्छ । त्यसैगरी नेपालको मौषमी चरित्र हेर्दा फागुन चैतमा बर्षा नहुने महिना भएको र जापानी नास्पातीको फूल त्यहीबेला फुल्ने भएकोले चिस्यानको अभाबले फूल कम फुल्ने, फल कम अड्ने, फलको चिचिलो झर्ने आदी समस्या पनि देखिने गरेको छ ।

माटो

नास्पाती खेती सबै किसिमको माटोमा गर्न सकिन्छ, तापनि प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दुमट माटो सबै भन्दा उपयुक्त मानिन्छ । थप माटोको गुणस्तर हेर्ने हो भने गहिरोसम्म माटो भएको,बगर, ढुङ्ग्यान नभएको,पानी जम्ने नभएको, पानी एकछिन पनि नअड्ने जमिन हुनु हुदैन । खासगरी नेपालको पहाडी भागमा नाइट्रोजन लगायत जिन्क, बोरन र म्याग्नेसियम जस्ता शुक्ष्म तत्वहरुको कमि देखिन्छ । नास्पातीको लागी नाइट्रोजनको धेरै समस्या नभएपनि जिन्क, बोरन र म्याग्नेसियम जस्ता शुक्ष्म तत्वहरुको थोरै भएपनि महत्वपुर्ण आबश्यकतामा पर्दछ । त्यसैगरी नास्पाती खेतीको लागी माटोको पि.एच. ५.५ देखि ६.५ सम्म भएमा उपयुक्त हुन्छ ।

जग्गा तयारी

बगैंचा रेखाङ्कन

नास्पातीको बगैंचाको रेखाङकन गर्दा विशेष ख्याल गर्नु पर्दछ, किनकी यसको समुहको प्रकृति अनुसार विरुवाको दूरी पनि फरक फरक राख्नु पर्ने हुन्छ । जस्तै फर्पिङ् जातको नास्पातीको लागी रेखांकन गर्ने हो भने १०*१०मि.को दूरी कायम गर्नु पर्दछ, भने बार्टलेट जातको नास्पातीको लागी हो भने ८*७ मि. र जापानी जातको नास्पातीको लागी ५ह४ मि.कायम गर्नु पर्दछ । बोटको स्वस्थता कायम गर्न, फल उत्पादनसिल बनाइ राख्न, बगैंचा आकर्षण बनाउन बोटको दूरीले महत्वपुर्ण भुमिका खेल्दछ । बगैचा रेखाङ्कन गर्दा प्लान्टिङ् बोर्डको प्रयोग गर्नु पर्दछ ।यसको प्रयोगले दूरीको स्थान निश्चित गराउँदछ ।

खाडल खन्ने र पुर्ने

रोपेको विरुवा राम्ररी सर्न,चाँडै हुर्कनको लागी विरुवा रोप्नु भन्दा कम्तिमा दुई महिना अगाडी खाडल खनेर राख्नु पर्दछ । रेखाङ्कन गर्दा ल्पान्टिङ् बोर्डले निश्चित गरेको स्थानलाई केन्द्रबिन्दुबाट खाडल १ मि. गोलाई,१ मि. गहिराई खाडल खनेर १महिनासम्म घाममा सुकाउनु पर्दछ । यसरी घाममा सुकाउनाले माटोमा भएका हानीकारक रोग तथा किराको अबशेष निर्मलीकरण हुने गर्दछ । त्यसपछि प्रति खाडल १ डोको पाकेको गोबर मल, १०० ग्राम युरिया, २०० ग्राम डि.ए.पि., १०० ग्राम पोटास, ५०० ग्राम हड्डीको धुलो, सकिन्छ भने भुसको खरानी र माटो राम्ररी मिसाई खाडल पुर्ने । खाडल पुर्दा जमिनको सतह भन्दा डेढ् फिट अग्लो हुने गरी थुप्रो बनाउनु पर्दछ । त्यसको एक महिना पछि विरुवा रोप्ने बेला माटोको थुप्रो खाँदीएर ६ ईन्च अग्लो जमिन देखि माथी भाग रहन्छ । त्यसमाथी मात्र विरुवा रोप्ने गर्नु पर्दछ ।

बिरुवा रोप्ने

नास्पातीको बिरुवा हिंउदमा (पुस—माघ) रोप्नु पर्दछ । रेखाङ्कन गर्दा प्लान्टिङ् बोर्डले निश्चित गरेको बिन्दुमा विरुवाको काण्ड बीचमा पर्ने गरी जमिनको सतहभन्दा १ फिट माथी विरुवालाई सिधा हुनेगरी,कलमी गरेको भागलाई माटोले नपुरिने गरी,जरालाई चारैतिर फैलाएर विरुवा रोप्नु पर्दछ र विरुवाको फेंदको वरिपरी खुट्टाले थिच्नु पर्दछ । जराले माटो नसमाएकोले विरुवा हल्लिएर नसर्न पनि सक्छ त्यसैले अनिबार्य रुपमा विरुवाको नजिकै टेको गाडी सुतरी डोरीले हल्कारुपमा बाँधीदिनु पर्दछ । यसो गर्नाले विरुवा पनि सिधा हुन्छ र अन्य बस्तुले पनि हल्लाउन सक्दैन र विरुवाको उचाँई फेंदबाट ६० से.मि.राखि टुप्पा काटी दिनु पर्दछ ।

बिरुवा रोपेको १ मि. वरिपरी खर वा परालले छापो (मल्चिङ्) पनि दिनु पर्दछ । यसले चिस्यान कायम गरी राख्दछ भने झारपात पनि केहीहद्सम्म नियन्त्रण गर्दछ । यसरी मल्चिङ् गरीसके पछि विरुवा रोपेपछि अनिबार्यरुपमा सिंचाई गरिदिनु पर्दछ । सिंचाईको श्रृखला चिस्यानको आबश्यकता अनुसार विरुवा पालुवा नपलाएसम्म दिई रहनु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

पहिलो ३ वर्षसम्म विरुवाको व्यवस्थापन

हरेक कामको भविश्यको निर्धारण पहिलो खुड्किलोबाट शुरु हुन्छ, शुरुवात नै बिकृती र बिसंगती भएमा भविष्य पनि असफल हुन्छ भने झै विरुवाको आकार प्रकार,स्वरुप,स्वस्थता र आकर्षण बनाउन बिरुवा रोपेको वर्ष देखि तीन वर्ष भित्र विरुवाको पुर्बाधार बनाउने महत्वपुर्ण समय हो । शुरुवाती अबस्थामै विरुवाको स्वरुप बिग्रीयो भने पछि सुधार्न गाह्रो हुन्छ ।

विशेष गरी जापानी जातका नास्पातीको लागी यो प्रकृया र प्रविधि लागु हुन्छ । विरुवालाई कुन पद्धतीमा ढाल्ने निश्चय गरी त्यसको सिद्धान्त अनुसार अबलम्बन गर्नु पर्दछ । जस्तो जापानी नास्पातीलाई मुख्यगरी केन्द्रीय खुला प्रणाली (Open center system) पद्धतीमा ढाल्ने गरिन्छ ।

पहिलो बर्ष : यसको लागी पहिलो बर्षमा पलाएका हाँगालाई नै निश्चित गरी ६ ईन्च देखि १फिटको अन्तरमा भएका हाँगालाई निंगालोको सहायताले तिन दिशा तिर फैलाई (ओदाने आकारमा) बाँधीदिनु पर्दछ । यी तिन हाँगा मुल हाँगाको रुपमा विकास गर्नु हो ।

दोश्रो बर्ष : दोश्रो बर्षको काछाँटमा पहिलो बर्ष सेटिङ् गरेको तिन मुल हाँगालाई कायम राख्दै टुप्पाको भाग मात्रै काटछाँट गरिदिनु पर्दछ । यि तिन हाँगालाई ४५ डिग्रीको कोण बनाई बढाउँदै लैजानु पर्दछ र ती मुल हाँगाबाट शाखा प्रशाखा हाँगा तथा मुनाहरु निस्कन्छ । आवश्यकता अनुसार तिनीहरुलाई राख्ने वा हटाउने गर्नु पर्दछ । यसो गर्दा अब उल्टो छाताको आकार बन्दछ । यो आकारमा ल्याउन सक्नु नै मुख्य सिद्धान्त हो ।

तेश्रो बर्ष : तेश्रो बर्षमा आईपुग्दा विरुवाले निश्चित आकार लिईसकेको हुन्छ । यो बर्षमा आईपुग्दा फल फल्न पनि शुरुवात गर्दछ । अब फल्ने हाँगाको प्रशस्त विकास गर्नु पर्दछ साथै बोटको उचाई पनि निश्चय गर्दै गर्नु पर्दछ ,एकै बर्ष धेरै माथी बढ्न दिनु हुँदैन । हाँगालाई नियन्त्रण गर्दै बाहीर तिर फैलाउदै जानु पर्दछ । बोटको उमेर ७ वर्ष पुग्दा बोटको उचाई बढीमा ७—८ फिट भन्दा अग्लो बन्न दिनु हुदैन, सधै यती नै उचाईमा कायम गरी रख्नु पर्दछ ।

तालिम

बोटलाई गरिने तालिम, सिद्धान्तले निर्देशित गरे बमोजिम व्यबहारमा उतारेर देखाउनु नै तालिम हो । तालिमका विभिन्न सिद्धान्त भएकोले फलफूलको किसिम , जात र प्रकृती अनुसार तिनमा आधारित भएर बोटलाई गरिने तालिमले बोटलाई आकर्षक बनाउने काम गर्नुका साथै बोट स्वस्थ र उत्पादनशिल बनाई राख्नमा मद्दत पुर्याउदछ । विशेषगरी विरुवा रोपे देखि रोपेको ५बर्ष भित्र विरुवालाई सिद्धान्तले तोके अनुसार तालिम गरीसक्नु पर्दछ । बोट हुर्किसके पछि तालिम गर्नु गाह्रो र संवेदनशिल हुन्छ । किनकी हुर्किसकेको बोटका हाँगाहरु लाई धेरै काट्कुट् गर्नु पर्ने हुन्छ ,त्यो अबस्थामा बोट सुक्न पनि सक्दछ वा रोगी पनि हुन सक्छ वा बोट तग्रिँन (बलियो हुन) समय लाग्न सक्दछ । त्यसैले कुनै पनि फलफूल (सदाबहार वा पतझड) को बोटलाई सिद्धान्त अनुसार तालिम गर्ने हो भने सानै देखि गर्नु जरुरत हुन्छ । बोटलाई तालिम गर्नको लागी निगालो,बाँस,किला,डोरीको सहायताले गर्ने गरिन्छ ।

हिउँदे काटछाँट (Winter pruning)

फलफूलको किसिम, जात,र प्रकृती अनुसार काटछाँटको तौर तरिका र मात्रा पनि फरक फरक हुन्छ । सदाबहार फलफूलका हकमा छिप्पिएको पातमा खाद्य तथा पोषण तत्वहरु संग्रहित भएका हुन्छन् भने पतझड फलफुलमा हिउँदमा पात बिहीन हुनाले ती बोटका खाद्य तथा पोषण तत्वहरु काण्ड तथा हागाँहरुमा संग्रहित भएका हुन्छन र कलिला हागाँहरुमा कम मात्रामा ती तत्वहरु संग्रहित हुन्छन् । त्यसैले ती तत्वहरुलाई पनि ख्याल राखीकन काटछाँटको मात्रा थाहा हुनु पर्दछ । त्यसकारण प्राविधिक ज्ञान नभईकन जसले पनि, जहिले पनि, जथाभावी काटछाँट गरेमा बोटलाई झन नकरात्मक असर पार्दछ । त्यसैले तालिम तथा काटछाँट दक्ष प्राविधिकले वा अनुभवी कामदारद्वारा मात्र गर्नु गराउनु पर्दछ । नास्पातीको हकमा विरुवाको कूल भागको १०देखि १५ प्रतिशत मात्र काटछाँट गर्नु पर्दछ । बढी काटछाँट गरेमा फल नफल्ने वा कम फल्ने, बोट कमजोर हुने र सुक्ने पनि हुन सक्दछ । त्यसैगरी काटछाँट नै नगर्ने हो भने पनि बोटलाई नकरात्मक प्रभाव पर्दछ । जसले गर्दा बोट झाँगीएर अनुत्पादक हुने, उत्पादन भए पनि गुणस्तर नहुने,रोग किराको बासस्थान बन्ने, बगैंचा आकर्षक नदेखिने र बोट चाँडै मर्ने हुन्छ । त्यसैले नियमित रुपमा काटछाँट गरेमा फल बर्षेनी नियमित रुपमा फलाउन (Regular bearing) मद्दत पुर्याउँदछ, बोट स्वस्थ र उत्पादनशिल बनाई राख्नमा मद्दत पुर्याउँदछ ।

बोटको भित्री भागसम्म प्रकाशको किरण पुगी फलको गुणस्तर बढाउछ, प्रशस्त प्रकाश पुगेको कारणले रोग र किराको प्रकोप पनि कमी हुन्छ । बोटमा पुर्याउनु पर्ने रेखदेख र अन्य व्यबस्थापकिय कार्यहरु (फल छाट्ने, टिप्ने, पोषण तत्वहरु छर्न, विषादी छर्न) गर्न सहज हुन्छ अन्तमा बोट दीर्घजिवी रहन्छ । काटछाँट गर्दा कहिलै पनि हसिँया, खुकुरी, बन्चरोको प्रयोग गर्नु हुदैन । केबल हागाँ काट्ने कैची (Secature) र हागाँ काट्ने करौंती (Pruning saw) मात्र प्रयोग गर्नु पर्दछ । खासगरी साना बोटहरुमा तालिम गरीसके पछि अनाबश्यक लागेका हागाँ तथा मुनाहरु मात्र काटछाँट गर्नु पर्दछ भने ठुला बोटहरुमा काटछाँट गर्दा फूल लाग्ने हागाँ र पालुवा आउने हागाँको पनि ख्याल गर्नु पर्दछ । यसमा फूल लाग्ने हागाँ कम र पालुवा आउने हागाँ बढी काट्नु र छाट्नु पर्दछ । त्यसैगरी बोटको आकार प्रकार ९क्जबउभ ७ क्ष्शभ० मिल्ने गरी छाट्नु पर्दछ, अन्यमा धेरै बाक्लो झाँगिएका, आपसमा खप्टिएका, कमजोर हागाँ, रोग र किराले विकृत बनाएका हागाँ, सिधा बढेको चोर हागाँ, आबश्यक भन्दा बढेका हागाँ ...आदी हटाउनु नै सहीरुपको काटछाँट हो । यस किसिमको काटछाँट हिउँदको पुस र माघ महिना भित्र गरिसक्नु पर्दछ ।

वर्षे काटछाँट (Summer pruning)

फलफूलको बोटहरुमा बर्षे काटछाँट गर्ने चलन व्यबहारिक रुपमा त्यत्ति गर्ने गरेको नपाईएता पनि यो निकै महत्वको विषय हो । नास्पातीको बोटमा पनि बर्षे काटछाँट गर्नु आवश्यक छ । बर्षे काटछाँटको अर्थ बोटको भित्री भागमा पलाएको चोर मुनाहरु (Water suckers), हागाँको मुनाबाट फेरी अर्को मुना पलाउनु (Side branching), प्रकाश र हावा नै छिर्न नमिल्ने गरी आएका बाक्ला हागाँ (Crowded branches), पातलो खिरीलो हागाँ (thin branches), काण्डबाट पलाएका रुटस्टकका सकर्स (Suckers) हरु राखी राख्नु भन्दा हटाउनु नै उपयुक्त हुन्छ । यस्ता अनाबश्यक हागाँहरु रहन दिएमा खाद्यतत्व अनाबश्यक रुपमा बढी खपत हुन्छ, प्रशस्त प्रकाश, खाद्यतत्व नपुगेर फलको गुणस्तरमा कमी आउँदछ । त्यसैगरी अनाबश्यक हागाँहरु झाँगीएर रोग र किराको संक्रमण बढी हुने पनि गर्दछ ।

मलखाद

गुणस्तर फल उत्पादन गर्न, प्रत्येक बर्ष नियमित फलाउन, बोटलाई स्वस्थ राख्न, मलखादको प्रमुख भुमिका हुन्छ । त्यसैले प्रत्येक हिंउदमा (पुस माघ) काटछाँट गरीसके पछि सिफारिस गरे अनुसार अनिबार्य रुपमा मलखाद दिनु पर्दछ । ५ बर्ष भन्दा मुनीको विरुवालाई मलखाद दिंदा गोबर मल २५ के.जी.,युरिया २०० ग्राम, डि.ए.पि.२०० ग्राम र पोटास १०० ग्रामका दरले दिनु पर्दछ भने बयस्क बोटलाई गोकर मल ५० के.जी., युरिया ५०० ग्राम, डि.ए.पि. ४०० ग्राम,र पोटास २०० ग्रामका दरले हाल्नु पर्दछ ।

मलखाद दिने तरिका

मलखाद कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा पनि बुझेर हाल्नु पर्दछ । ५ बर्ष मुनीको विरुवालाई मल प्रयोग गर्दा बोटको काण्डबाट ०.५ मि. देखि १.० मि.बाहिर मात्र हाल्ने र बयस्क बोटलाई मल प्रयोग गर्दा बोटको काण्ड देखि १.५ मि. देखि २.०मि.बाहिर हाल्नु पर्दछ । अब मल कसरी हाल्ने भन्ने बारेमा दुई तरिकाले हाल्न सकिन्छ । पहिलो तरिकामा माथी उल्लेख गरेको काण्ड देखिको दुरी नापी १.५ फिटको चौडा र १.५फिट गहीरो कुलेसो (Trench) को पुरै घेरा खनी त्यसमा मलखाद हालेर माटोले पुरी दिनु पर्दछ । दोश्रो तरिकामा माथी उल्लेख गरेकै दुरीमा एक बर्ष पुर्ब—पश्चिम दिशामा १.५ फिटको चौडा र १.५ फिट गहीरो, २ मि.लामो कुलेसो खनी त्यसमा मलखाद हालेर माटोले पुरी दिनु पर्दछ र दोश्रो बर्षमा उत्तर—दक्षिण दिशामा १.५ फिटको चौडा र १.५ फिट गहीरो, २ मि. लामो कुलेसो खनी त्यसमा मलखाद हालेर माटोले पुरी दिनु पर्दछ । यसरी दूई बर्षमा एक चक्र पुरा हुन्छ ।

छापो (Mulching)

हाम्रो जस्तो देशमा असोज देखि बैशाखसम्म पानी कम पर्ने गर्दछ । सिंचाईको सुविधा नभएको स्थानहरुमा पालुवा तथा फूल फुल्ने बेलामा (फागुन,चैत) झन सुख्खा लाग्ने भएकोले फुल चाँडो झर्ने,फल चिचिलोमै झर्ने जस्ता समस्या खेपी रहेका छौं । यस समस्याको समाधानको बाटो बोटको फेंदको वरिपरी घाँसपात वा खर वा पराल जे सम्भव छ ४—६ ईन्च बाक्लो गरी छापो दिएमा बोटको फेंदमा भएको चिस्यान वास्पिकरण भई सुक्न पाउदैन,बोटको वरिपरी झारपातहरु चाँडै उम्रन पाउदैन । अन्तः मल्चिङ् कुहिएर माटोको गुणस्तर पनि सुधार हुँदै जान्छ ।

सिँचाइ

पानी सबैको प्राण हो । पानी बीना बनस्पती पनि बाच्न सक्दैनन्, झन व्यावसायिक फलफूल खेती गर्दाखेरी राम्रो आम्दानीको लागी सिंचाई बीना सम्भव छैन । कलिलो विरुवा हुर्काउन बर्षाद याममा बाहेक अरुबेला सधै चिस्यान भईरहेमा विरुवा स्वस्थ हुनुका साथै सप्रीएर चाँडै हुर्कन्छन् । फल लागीसकेको बयस्क बोटलाई फूल फुल्ने समयमा,फलको वृद्धि विकासको बेला पानीको अत्याबश्यक हुन्छ । यसबेला सिंचाइको अभाव भएमा फल कम लाग्ने,फलको बृद्धि विकास राम्रो नहुने,बोट कमजोर हुने जस्ता समस्या देखिन्छ । तर फल पाक्ने बेलामा चाँही पानी कम हुनु पर्दछ ,यदी पानी बढी भएमा फल खल्लो भई गुलियोपन कम हुन्छ ।

सिँचाइका तरिकाहरु :

१. थोपा सिंचाइ तरिका (Drip irrigation)

२. फोहोरा सिंचाइ तरिका (Sprinkle method)

३. बेसिन सिंचाइ तरिका (Basin method)

४. रिङ्ग सिंचाइ तरिका (Ring irrigation)

गोडमेल

बगैंचा हर हमेसा सफा राख्नु पर्दछ । बगैंचामा घाँस, झारपात आएमा बिरुवा दिइएको मलखाद सोसेर लिई दिने हुनाले झारपात आउन दिनु हुदैन । त्यसैगरी बढी झारपात भएमा बगैंचामा हावाको संचार हुन पाँउदैन र प्रकाशको अपर्याप्तताले रोग र किराहरुको आश्रयस्थल बन्दछ । यदी श्रमिकहरुको अभाव भएमा झार मार्ने विषादी (Weedicide) प्रयोग गरेर पनि झारपातको नियन्त्रण गर्न सकिन्छ । यसका लागी राउण्डअप (Glyphosate) नामक झारनाशक विषादी ८ मि.लि. प्रतिलिटर पानीमा घोली स्प्रे गर्न सकिन्छ । तर विरुवाको पातमा छिटा नपर्ने गरी साबधानी पुर्वक छर्कनु पर्दछ ।

फल छाट्ने (Fruit thinning)

फल छाट्नु एक महत्वपुर्ण प्राविधिक विषय हो । नेपालमा फल छाट्ने कार्य व्यवहारमा खासै गरिएको पाँइदैन । कीर्तिपुर स्थित बागबानी केन्द्रमा चाँही यो कार्य निरंन्तर रुपमा गरिदै आएको छ । फल छाट्नेगर्नाले फलको आकारमा बढोत्तरी हुने, गुलियोपना बढ्ने भई फलको गुणस्तर ज्यादै राम्रो हुन्छ भने अर्कोतर्फ बोटलाई अतिरिक्त भार नपरी अर्को सालमा पनि सोही अनुपातमा फल फलाउनमा ठुलो सहयोग पुर्याउँदछ । साथै भारीरुपमा हागाँमा फल रहन दिएमा फल ठुलोभएपछि हागाँले थेग्न नसकि हाँगा भाँचिने संभावना पनि रहन्छ । त्यसैले पहिलो पटक नास्पाती फुलेको १ महिनामा फलको दाना गुच्चा आकारमा पुगे पछि फल छाट्ने कार्य गर्नु पर्दछ । नास्पातीको फल झुप्पा झुप्पामा फल्ने गर्दछ ,यसका लागी पहिलो पटक एक झुप्पामा ३—४ गोटा फल रहने गरी,आकास तिर फर्केका, संगै जोडिएका, किराले कोतरेका, बेआकारका, असिनाले चोट पुर्याएका, तुलनात्मकरुपमा भेट्नो छोटो भएका, धेरै मसिना फलहरु कैचीले भेट् नो सहित काटेर हटाउनु पर्दछ, भने दोश्रो पटक पहिलो छँटाईको २०—२५ दिन पछि जब फल कागतीको दाना आकारमा पुग्दछ ,त्यसबेला एक झुप्पामा २ दाना मात्र राखी हटाइ दिनु पर्दछ । सिद्धान्तः नास्पातीमा ३० पात बराबर १ दाना फल राख्नु पर्दछ भन्ने छ । यसको अर्थ १ दाना फललाई आबश्यक खाद्य र पोषणतत्व पुरागर्न ३० गोटा पातको आबश्यकता पर्दछ । त्यसैले धेरै फल फलाएमा सबै फललाई खाद्य र पोषणतत्व आपुर्ति गर्न नसकी फलका दाना ससाना हुने हुन्छ । मसिना दाना धेरै फलाउनु भन्दा गतिलो दाना थोरै फलाउनु आर्थिक हिसाबले पनि लाभप्रद हुन्छ ।

फलमा थैलो हाल्ने (Bagging)

फलमा रोग किराले आक्रमण नगरोस् भन्नाका लागी फल छाँटी सकेपछि बोटमा एक पटक ढुसी तथा किट नाशक विषादी प्रयोग गर्नु उपयुक्त हुन्छ । फलमा थैलो हाल्ने काम खर्चालु र झन्झटिलो भएता पनि विशेषतः जापानी नास्पातीमा अनिबार्य नै हुने गर्दछ । जापानी नास्पातीको फल सानो हुँदा नै कमलो र गुलियो पस्न थालिसकेको हुन्छ । यसैबेला देखि चरा, अरिङ्गाल, चपाउने खाल्का किरा,चुस्ने खाल्का किरा, फल कुहाउने औंसे किरा (fruit fly) तथा असिना आदीले दुख दिने गर्दछ । माथीका यि बस्तुहरु बाट बचाउनुका साथै फललाई आकर्षक र गुणस्तरयुक्त फलाउनको लागी पनि व्यागिङ्ग गर्ने गरिन्छ । व्यागिङ्गका लागी दुई तरिका मध्ये एक तरिका अपनाउन सकिन्छ ।

पहिलो तरिका

पुरानो पत्रिका बाट थैलो तैयार गर्ने । सकभर पानी तर्केर जाने (Wash-out) किसिमको पत्रिका प्रयोग गर्नु प्रभावकारी हुन्छ । यदी त्यस्तो पत्रिका नपाइएमा जुनसुकै पत्रिकालाई थैलो बनाए पछि आलसको तेल वा अन्य कुनै खाने तेलले लेपन गरेर सुकाउने । यसो गर्नुको कारण फलमा थैलो राखे पछि पानी सजिलै तर्केर जाओस र पानीले गलेर नच्यात्तियोस भन्नाका लागी ले गरेको हो । तैयारी थैलोको साईज १५ से.मि.चौडा र २० से.मि. लम्बाई हुनु पर्दछ, र थैलोको तल पट्टीको एक कुनामा (corner) हावा संचार हुनको लागी सानो प्वाल बनाईएको हुन्छ । फललाई थैलोमा घुसारे पछि मसिनो तामाको तारले फलको भेट्नोमा हलुकासंग बेह्री दिनु पर्दछ । यो थैलो एक सिजन मात्र प्रयोगमा ल्याउन सकिन्छ र यस्तो कागजको थैलोलाई चराहरुले चिथारेर च्यातिदिने गरेको पनि पाईन्छ । जापान तथा चीनमा बनीबनाउ (readymade) यस्ता कागजका थैला किन्न पाईन्छ ।

दोश्रो तरिका

नाइनलको मसिनो जाली (Insect free net) बजारमा पाईने यस किसिमको जालीलाई १५ से.मि.चौडा र २० से.मि. लम्बाईको हुनेगरी थैलो सिलाउने र त्यस थैलो भित्र त्यही साईजको पत्रिकाको टुक्रा काटेर फललाई व्यागिङ्ग गर्न सकिन्छ । यस तरिकामा चराहरुले कागज च्यातेर फल खान सक्दैनन्, साथै अन्य माथी भनिएका नोक्सान गर्ने जिबहरुले पनि फललाई क्षति पुर्याउन सक्दैनन् र यो जालीको थैलो ५ बर्षसम्म पनि पुनः प्रयोगमा ल्याउन सकिन्छ । तर हरेक पटकको प्रयोग पछि धोएर सफा गरी राख्नु पर्दछ ।

रोग व्यवस्थापन

पातमा लाग्ने थोप्ले रोग (Leaf spot)

नेपालको नास्पाती लगाईएको सबैजसो क्षेत्रमा यो रोगको संक्रमण देखिन्छ । लक्षणको शुरुमा पातमा मसिना मसिना खैरो थोप्लाहरु देखा पर्दछ, र ती थोप्लाहरु क्रमश बढ्दै गएर १ से.मि.सम्मको व्यास भएको थोप्लाहरु त्यसकोबीचमा खरानी रंगको डढेको जस्तो देखिन्छ । यस्ता रोगी पातहरु छिट्टै झर्ने गर्दछ । यसको संक्रमण असार साउन महिनामा ज्यादा देखा पर्दछ । जसले गर्दा गुणस्तर फल उत्पादनमा ह्रास आउँदछ भने हाँगाको पात झरेकोहुनाले जबरजस्ती पुर्व शुसुप्तावस्था ९ (Forced pre-dormancy) मा गएर असोज कात्तिकमै फूल फुलेर विरुवाको चक्र नै विग्रने भई अर्को सिजनको फल उत्पादनमा कमी हुन जान्छ ।

रोकथाम 

१. जेठ देखि साउनसम्म महिनाको एक पटक कपरअक्सिल्कोराइड ढुसीनाशक विषादी छर्ने गर्नु पर्दछ ।

२. हिंउदको समयमा बोटको वरिपरि झरेका पातहरु संकलन गरी जलाई दिने ।

गुलावी रोग (Pink disease)

यो रोग Corticium salmonicolor नामक जीवाणुले गर्दा लाग्दछ । यो रोगले नास्पाती लगायत स्याउ तथा सुन्तलाजात फलफुलमा पनि निकै क्षती पुर्याउने गरेको छ । तापक्रम र आद्र्रता बढेसंगै यो रोगको प्रकोप पनि बढ्दै जान्छ । विशेषगरी जेठबाट शुरुभई भदौसम्ममा यसको प्रकोप बढी देखिन्छ । शुरुमा रोग लागेको हाँगामा माकुराको जालो जस्तो ढुसीको जालो देखा पर्दछ, जसलाई हाइफी भनिन्छ । यी ढुसीहरु क्रमसः हाँगामा फैलदै बढ्दै गएर हाँगाको बोक्रा खस्रो र चिरा चिरा परेर फुटेको हुन्छ । हाँगाको चारै तर्फ असर गरी टुप्पातिरको पात ओईलाएर पहेंलो हुँदै अन्तमा हाँगा सुक्दछ । यसैलाई गुलावी रोग भनिन्छ । समयमै उपचार नगरेमा यसको असरले बोट नै सुक्ने गर्दछ ।

रोकथाम 

१. बगैंचामा हावा,प्रकाश प्रशस्त पुग्नेगरी खुला हुनु पर्दछ ।

२. जेठ देखि साउनसम्म महिनाको एक पटक कपरअक्सिल्कोराइड ढुसीनाशक विषादी छर्ने गर्नु पर्दछ ।

३. रोगको लक्षण देखिनासाथ असर गरेको भागलाई चक्कुले खुर्केर घाउमा चौवाटिया पेन्ट वा बोर्डो पेन्ट लगाइदिने ।

४. हिंउदको काटछाँट गर्दा रोग लागेको हाँगाहरु काटेर जालाउने,काटीएको घाउमा चौवाटिया पेन्ट वा बोर्डो पेन्ट लगाइदिने ।

किरा व्यवस्थापन

फल कुहाउने औंसा (Fruit fly)

यो एक किसिमको झिँगा (Dacus spp.) हो । यसका धेरै प्रजातीहरु छन् । यसको रंग खैरो—पहेंलो (Yellow brown) रंगको हुन्छ । यसको पोथी झिँगा बढी हानीकारक हुन्छ । यसले फलको सतहमा मसिनो प्वालपारी त्यसभित्र अण्डापारी दिन्छ, र केही दिनमा नै अण्डाबाट औंसाहरु विकसित भएर फलको भित्रीभागको गुदी खाई फललाई कुहाई दिन्छ, जसले गर्दा फल कुहिएर झर्छ । यो झिँगाको प्रकोप बढी भएमा फल उत्पादन सुन्यसम्म हुन्छ । यो झिँगाले असार साउनमा बढी क्षती पुर्याउँदछ ।

रोकथाम

१. जेठ महिना देखि नै मोहनी पासो (Pheromone trap) प्रत्येक बोटमा झुण्याउने र त्यसको १५—१५ दिनमा (क्यूलियर, युजिनल र मालाथायन)पुनः थप्ने । यो रसायनले भाले झिँगालाई आकर्षण गर्दछ र पासोमा गई सुँघेर मर्दछ । जसले गर्दा भालेको कमीले पोथीले अण्डा पार्न पाउँदैन ।

२. हाल बजारमा प्रोटिन चारा (Protein bait) पाईन थालेको छ । यो केही महँगो भएता पनि प्रभावकारी हुन्छ । यो चाराले झिँगाको प्रजनन् क्रिया (Reproduction system) लाई निस्कृय पारी दिन्छ र प्रकोप कम हुन्छ ।

३. जेठको दोश्रो हप्ता देखि नै कागजको थैलो (Paper bag) ले फललाई छोप्नु (Bagging) पर्दछ ।

४. यदी फल कुहिएर झरेको देखेमा तुरुन्त झरेको फललाई ल्पाष्टिकको थैलोमा संकलन गरी हावा नछिर्ने गरी बाँधेर किरा नष्ट गर्नु पर्दछ । यसलाई सचेतका साथ पालना गरेमा झिँगाको प्रकोप कम गर्न सकिन्छ ।

थ्रिप्स (Thrips, Scirtothrips dorsalis H.)

यो एकदमै मसिनो किरा हो । यसको रंग हल्का पहेंलो,खैरो हुन्छ । वयस्क किराको पखेटा हुन्छन् तर नाङ्गो आँखाले देख्न सक्दैन । यो किरा उपिँया जस्तै उफ्रेर हिड्छ । यसको मुखको भागले फूल, पात, तथा फलको सतहमा कोतरेर त्यसबाट रस निकाली चुस्दछ । यसले कोतरेको ठाँउमा खैरा धर्साहरु देखिन्छन् । फलको वृद्धि संगै यसले पुर्याएको दागको सतह पनि बढ्दै जान्छ र फलको गुणस्तर घटाउँदछ भने फूल फुल्ने समयमा यसको प्रकोप बढी भएमा फल नै नबस्ने संभावना हुछ ।

रोकथाम 

१. यो किराको आश्रयस्थल (Host plant) क्लोभर घाँसको फूलमा बस्ने भएकोले क्लोभर घाँसलाई फुल्न नदिई घाँस काट्ने ।

२. चुसाहा किरा भएकोले दैहिक विषादी (Systemic poison) ईन्ट्रापिड् ०.५मि.लि.प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।

सुलसुले (Mites, (Bryobia praestia Koch.,Tetranychus urtiae Koch.)

यो सुलसुले रातो रंगको साह्रै मसिनो भई नाङ्गो आँखाले नियाँलेर हेरेमा मात्र देख्न सकिन्छ । जाडो मौषममा रुखको बोक्राभित्र बसेको हुन्छ जब चैत महिनाको अन्ततिर नयाँ पालुवा पलाउछ,पातको उल्टो पट्टी मसिनो जाली बनाएर आफ्नो तिखो सुडले विरुवाको कलिलो भागबाट रस चुस्दछन् । क्षतीग्रस्त पातहरु फिका पहेंलो भएर मसिना छिद्रहरु बनेर पात दोब्रिने हुन्छ । यस्ता पातहरु खेरो,कालो रंगको भई झर्ने गर्दछ । पात कमजोर भएपछि फलको गुणस्तरमा पनि ह्रास आउँदछ । यो सुलसुले किराले बढी क्षती सुख्खा सिजनमा गर्छ र पानी पर्न थाले पछि विस्तारै हराउदै जान्छ ।

रोकथाम 

1. बोटको पाप्रा परेको बोक्राहरु खुर्केर हटाउने ।

2. गन्धक (Sulfur) मिसिएको विषादी प्रयोग गरेमा राम्रोसंग नियन्त्रण हुन्छ ।

लाही किरा (Aphids, Aphis spp.)

लाही किराले बोट विरुवामा पालुवा पलाउन शुरु गरे देखि नै नयाँ पातमा, कलिलो डाँठमा, मुनाहरुको रस चुस्न थाल्दछ । यसको माउ तथा बच्चा दुबेले क्षती गर्दछ । यसको क्षतिले पातहरु बटारिने, सुख्खा हुने गर्दछ र हाँगाको बृद्धि विकासमा असर गर्दछ ।

रोकथाम 

१. लाई किराको नियन्त्रण जैविक विषादीले पनि नियन्त्रण गर्न सकिन्छ ।

२. यदी जैविक विषादीले पनि नियन्त्रण भएन भने नुभान विषादी २ मि.लि.प्रति लिटर पानीमा मिसाई छर्केमा नियन्त्रण गर्न सकिन्छ ।

डाँठमा लाग्ने गवारो (Stem Borer): (Bacchisa fortunei)

गबारोको बयस्क पोथी खपटेले विरुवाको बोक्रामा अण्डा पार्दछ, अण्डाबाट लार्भाहरु निस्किएपछि विरुवाको डाँठको कलिलो भागबाट छेंडेर भित्र पस्दछन् र सुरुङ् बनाउदै डाँठको भित्रीभाग खाँदै हाँगाको माथी तिर जान्छ । प्वालबाट लार्भेले बिस्ट्याएको काठको धुलो बाहिर निक्लेर हाँगाको फेंदमा जालो बनेर थुप्रिएको देखिन्छ । यसले क्षती पुर्याएको हाँगा ओइलाएर सुक्ने गर्दछ । नास्पातीको बोटमा काण्ड तिर भन्दा टुप्पा तिरको हाँगामा बढी आक्रमण गर्दछ । यो किराको जीवनचक्र दुई बर्षसम्म लामो हुन्छ । हिउँदमा लार्भाहरु बोक्रा भित्र बसिरहन्छ र गर्मि लागेपछि डाँठको भित्रीभाग खान थाल्दछन् ।

रोकथाम 

१. हिउँदको काटछाँटमा किरा लागेको भाग काटछाँट गरी हटाउने र जलाउने ।

२. डाँठमा प्वाल देखिएमा वा किराले निकालेको काठको धुलो देखेमा तुरुन्त प्वाल खोली कपासमा मट्टीतेल वा कुनै पनि विषादी चोपेर प्वाल भित्र घुसारी बाहिरबाट प्वाल टाली दिएमा रोकथाम गर्न सकिन्छ ।

खपटे किरा (Beetle): (Basilepta spp.)

खपटे किराका रंगहरु खैरो,कालो,पहेंलो गरी थरी थरीका र साना आकारका हुन्छन् । बयस्क खपटेले विरुवाको पातहरु खाएर नोक्सान गर्दछ । यो खपटेले क्षती पुर्याएएका पातहरुका किनाराहरुमा र पातको बीचमा खोंडे परेको,प्वाल परेको पातहरु देख्न सकिन्छ ।

रोकथाम 

१. यो खपटेको आक्रमण बैशाख महिना देखि जेठसम्म ज्यादा देखिन्छ । त्यस समयमा खपटेहरु लाई हातैले टिपेर पनि कम गर्न सकिन्छ ।

२. रोगर विषादी २मि.लि.प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने ।

नास्पाती हाँगाको बोक्रा खन्ने किरा (Pear Bark Miner): (Spulrina astaurota)

यो किरा मसिनो भएकोले देख्न गाह्रो हुन्छ । यसले पुर्याएको क्षती पछि मात्र देखिन्छ । डाँठको बोक्राको भागमा बाङ्गो टिङ्गो सुरुङ् बनाएर बोक्राको भित्री भाग कोतरेर खाँदै जान्छ । पछि गएर हाँगाको क्षतीग्रस्त भाग खैरो भई बोक्राको छाला उप्केर कागज जस्तो पाप्रा निस्कन्छ । जसलाई पेपरी बार्क (Papery bark) पनि भन्ने गरिन्छ ।

रोकथाम 

असार साउन महिनामा हाँगा,डाँठमा पुरै भिज्ने गरी रोगर विषादी २मि.लि.प्रति लिटर पानीमा मिसाई छर्किदिनु पर्दछ ।

चिप्लेकिरा जस्तो लार्भे (Slug caterpillars): (Cania sp.,Orthocraspeda sp.)

यो लार्भाले सबैजसो पतझड फलफुलमा आक्रमण गर्ने गर्दछ । यी लार्भाहरु चिप्ले किरा जस्तै थलथले परेका हरियो,पहेंलो,खैरो रंगका हुन्छन् । बयस्क लार्भाहरुको बाहिरी भागमा कडा पत्रले ढाकेको सेता, खैरा धर्साहरु देखिन्छन् । यी लार्भाले डाँठको पात सबै चपाएर खाई नाङ्गै बनाई दिन्छन् ।

रोकथाम 

१. डाँठमा वा पातमा त्यस्ता लार्भे देखेमा हातैले टिपेर नष्ट गर्ने ।

२. बोटको पात झर्ने मौषममा (कात्तिक,मंसीर) पातसंगै शुषुप्त अवस्थाका प्यूपाहरु संकलन गरी नष्ट गर्ने ।

३. असार, साउनमा थायोडान विषादी २ मि.लि.प्रति लिटर पानीमा घोली पात भिज्ने गरी स्प्रे गर्ने ।

बाली कटानी तथा भण्डारण

फल पाकेको थाहा पाउने तरिका (Maturity)

जापानी नास्पाती बोटमै पाकेर टिप्नु पर्ने फल हो । यो non-climacteric फल अन्तरगत पर्दछ । नास्पातीको जातिय चरित्र (Varietal character) अनुसार पाक्ने समय फरक फरक हुन्छ र पाक्दाखेरी जात अनुसार गुलियोपन पनि फरक हुने हुने गर्दछ । यसको बारेमा जातहरुमा उल्लेख गरिएको छ । तर पनि पाक्ने बेला बोक्राको रंगमा परिबर्तन आँउछ, बासना पनि आउँछ । पाकेको थाहा पाउने मुख्य आधार चाँही रिफ्याक्टोमिटर (refractometer) ले गुलियोपन मापन गर्ने र फलको कडापन (hardiness) मापन गर्ने हो । जातमा उल्लेख गरे अनुसार मापडण्ड पुगेमा फलको टिपाइ कार्य गर्नु पर्दछ । ढिलाइ गरी टिपेमा फल चाँडैं बिग्रने संभावना हुन्छ ।

फल टिप्ने (Fruit harvest)

नास्पातीको फल टिप्दा होसियारी पुर्बक टिप्नु पर्दछ । फल साह्रै नरम हुने भएकोले दाग लाग्ने,बिग्रने हुन्छ । फल टिप्दा लठ्ठीले हान्ने, हाँगा हल्लाउने, फललाई तान्ने, फल टिपेर हुर्र्याउने गर्नु हुदैन । फललाई एक एक गरी समातेर माथी तिर मर्काएमा सजिलैरी चुडिन्छ र जतनसाथ ट्रे मा राखि शितल हावादार कोठामा फिंजाउनु पर्दछ ।

सर्टिङ् ,क्युरिङ् ,ग्रेडिङ् (Sorting, curing, grading)

नास्पातीको फल टिपेर ल्याएपछि थैलोहरु निकाल्ने,कैचीले भेट्नो काट्ने काम सकेपछि, थिचिएको, दाग लागेको, बेआकारको, किराले चोट पुर्याएको, बढी पाकेको, काँचो फललाई छुट्याएर राख्ने कामलाई सर्टिङ् गर्ने भनिन्छ र २४ घण्टा शितल ठाँउमा राख्नु पर्दछ, यसबाट फलको स्वासप्रस्वास प्रकृया मन्थर भई भण्डारण क्षमता बढ्छ, यसलाई क्युरिङ् गर्ने भनिन्छ । यिनै प्रकृया पछि फललाई साईजको आधारमा ग्रेडिङ् गर्नु पर्दछ । फललाई धेरै ठुलो,ठुलो र सानो गरी तीन तहमा ग्रेडिङ् गर्न सकिन्छ ।

उत्पादन

नास्पातीको फल उत्पादनमा धेरै कुराले प्रभाव पार्दछ । राम्रो व्यवस्थापन पुर्याउन सकेको खण्डमा ७ वर्षे बोटमा २००—२५० दाना र १० बर्षे बोटमा ५००—७०० दाना फलाउन सकिन्छ । अर्थात बयस्क बोटले १०—१५ मे.ट. प्रति हेक्टर उत्पादन दिन सक्दछ ।

अन्य जानकारी

बगैंचामा जातिय परिबर्तन गर्ने प्रविधि : टप वर्किङ् (Top grafting)

खासगरी यसको अबधारणा अनुसन्धानात्मक प्रजनन् कार्यमा (Breeging process) छिटो परिणाम हाँसिल गर्न टप ग्राफिटङ्को विकास भएको हो । तर यसको प्रभावकारिता र अनुकुलनले गर्दा व्यबसायिक रुपमा पनि यसको प्रयोगले व्यापकता प्राप्त गरेको छ । पछिल्लो समयमा बिद्यमान (Existing) बगैंचामा, यदी अनुसन्धानबाट नयाँ जातको विकास (Variety Release) भई बजारमा बढ्दो माग भएमा, भईरहेको बिद्यमान बगैंचामा भएको जातलाई नयाँ जातले परिपुर्ति (Variety replacement) गर्न र चाँडो उत्पादन लिई राम्रो आर्थिक लाभ प्राप्त गर्नको लागी एउटा मात्रै प्रविधि हो टप वर्किङ् । आज विश्वका विकसित मुलुकमा बजारको माग र आबश्यकता अनुसार फलफुलको जात परिबर्तन गर्ने लहर नै चलेको छ । किनभने प्रजनन् कर्ताले (breeder) फलफुलमा नयाँ नयाँ जातको विकास गर्दै लगेको अबस्थामा यो प्रविधिले पनि व्यापकता पाउदै गएको छ । यो प्रविधिमा बगैंचाको बोटको तल्लो भाग (काण्ड) नहटाई परिपक्व काण्डमै नयाँ जात जोड्ने हुनाले समय र थप आर्थिक भार नपर्ने भई छोटो समयमा नै आर्थिक लाभ लिन सकिने प्रविधि नै टप वर्किङ् हो ।

विशेषगरी यो प्रविधिको उपयोग विकसित मुलुकमा सुन्तलाजात फलफुल (सुन्तला, जुनार, कागती, भोगटे)मा गर्ने गरिएको छ त्यसको अलावा हिउँदे फलफुलमा (स्याउ, नास्पाती, हलुवाबेद, किवीफ्रुट, आरु, आरुबखडा, कागजीबदाम, ओखर, लप्सी,) पनि सफलताका साथ टप वर्किङ गर्न सकिन्छ । तर यसका विधि,प्रकृया र समय भने मिलाउनु पर्ने हुन्छ ।

यसका लागी २—३ वर्षका देखि १०—१५ वर्षसम्मका परिपक्व बोटमा टपवर्किङ् गर्न सकिन्छ । टपवर्किङ् भन्ने वित्तिकै धेरै माथी गर्ने होईन । जमिनको फेंद वा सतहबाट बढीमा १मि.माथी बोटको काण्डमा जोड्ने काम गरिन्छ । जोड्ने विधिमा वडिङ् वा ग्राफ्टिंग विधि अपनाईन्छ । यसमा कुनै रसायनको प्रयोग गरिदैन । टपवर्किङ् गर्ने उपयुक्त समय फागुनको मध्य देखि चैतको पहिलो हप्तासम्ममा यो कार्य गरीसक्नु पर्दछ । टपवर्किङ् गर्नको लागी बोटको हाँगा तथा काण्डको बोक्रामा रसिलो पदार्थ (Sap flow) आएको हुनु पर्दछ ।

त्यसैगरी के र कुन जात जोड्ने हो, त्यसको सायन (Scion stick) पनि पहिले नै (पालुवा फुट्नु भन्दा अगावै) जोहो र संरक्षण गरीराख्नु पर्दछ । त्यसका लागी सुन्तलाजात फलफुलमा टपवर्किङ् गर्ने हो भने स्वस्थ र पोटिला आख्ला (bud) भएका हाँगा काटेर ल्याई पातहरु निकालेर १—१फिटको टुक्रा बनाई पत्रिकामा लपेटी हल्का पानीले भिजाई हावा नपस्ने गरी ल्पाष्टिकले बेह्रेर ५—१०डिग्री से. तापक्रम हुने गरी रेफ्रिजेरेटरमा १—२ महिना राख्न सिकन्छ । यदी पतझड फलफुलमा टपवर्किङ् गर्ने हो भने शुषुप्ताबस्थाको पोटिला आख्ला भएको स्वस्थ हाँगा काटेर ल्याई ३—३ आख्लो हुने गरी टुक्रा बनाउने,त्यस टुक्रालाई ७०—८० डिग्री से.तापक्रममा मैन पगालेर राख्ने (पगालेको मैनको तापक्रम स्थिर हुनु पर्दछ ) र टुक्रा पारेको सायनलाई निमेश भरमा मैनमा चोपलेर निकाल्ने,यसले बाहिरको तापक्रमलाई सन्तुलन गरी डाँठमा भएको पानी सुक्न दिदैन अर्थात ईन्सुलेटर(Insulator) को काम गर्दछ । मैन सेलाए पछि हावा नपस्ने गरी ल्पाष्टिकले बेह्रेर ५—१०डिग्री से. तापक्रम हुने गरी रेफ्रिजेरेटरमा २—३ महिना राख्न सिकन्छ । यिनै स्टोर गरिएका सायनहरु पछि टपवर्किङ्मा प्रयोग गरिन्छ । टपवर्किङ्मा प्रयोग हुने अन्य औजार तथा सामानमा सिकेचर,प्रुनिङ्—स, ग्राप् िmटङ् चक्कु,ल्पाष्टिक सिट, सुतरी डोरी, रबरट्युब, मैन आदी आबश्यक पर्दछ ।

टप वर्किङ् पछिको व्यवस्थापन 

टप ग्राफ्टिंग गरेको १ महिना पछि नै जोडेको हाँगाबाट पालुवा पलाउन थाल्दछ । त्यसलाई हावाहुरी,पशु तथा मानवियद्वारा हुनसक्ने क्षतीबाट बचाउन ती कलिलो पलाएका हाँगालाई अनिवार्यरुपमा लट्ठीले टेका (Support) दिएर डोरीले हलुकासंग बाँधी दिनु पर्दछ । टप ग्राफ्टिंग गरेको सबै हाँगा पलाएर २—३फिट लामो भएपछि निगाँलोको सहायताले हाँगाहरुलाई चारैतर्फ फैलाई दिनु पर्दछ । अर्थात खुला केन्द्र प्रणाली (Open center system) अनुसार हाँगालाई तालिम गराउनु पर्दछ । टप ग्राफ्टिंग गरेको ५—६ महिना पछि मात्र ल्पाष्टिक तथा डोरी हटाई दिनु पर्दछ । लामो समयसम्म त्यहीं रहन दिएमा घाउ पुरिन सक्दैन, साथै डोरीले हाँगामा गडेर भाँचिने गर्दछ । साथसाथै जरा,काण्ड तथा जोडेको ठाँउ बाहेक अन्यत्रबाट पलाएका मुना तथा पालुवाहरु बारम्बार हटाई रहनु पर्दछ । यसरी राम्रोसंग स्याहारेको खण्डमा दोश्रो बर्षबाट देखि नै फल लाग्न सक्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सामग्री

नास्पाती खेती प्रविधि

धन बहादुर थापा

फलफूल विकास अधिकृत

फलफुल विकास निर्देशनालय