परिचय

परिचय
  • वैज्ञानिक नाम — क्यरिका पपाया ( Carica papaya)
  • मेवा क्यरिकेसी (caricaceae)परीवारमा पर्ने फल हो ।
  • उष्ण र उपोष्ण जलवायु भएको क्षेत्रमा यसको व्यवसायिक खेती गर्न सकिन्छ ।
  • लगभग ४०० बर्ष पहिले भारत हुदै मेवा खेतिको प्रवेश नेपालमा भएको अनुमान छ ।
  • हाल नेपालको तराईदेखी १०० मि संम उचाई भएको स्थानमा, मुख्यतया, घरायसी र ब्यवशायीक रुपमा पनि खेती राम्रो भइरहेको पाईन्छ ।
  • नेपालको बजारमा मेवाको माग निरन्तर रुपमा बढिरहेको हुदा, दुई दशक यता पर्सा मोरङ, नवलपरासी, चितवन, धादिङ, बारा आदि जिल्लामा कृषकहरुबाट व्यवसायिक मेवा खेती सुरु गरेका छन् ।
  • नेपालको बजारमा मेवाको बढदो मागलाई आपनो उत्पादनले धान्न सकेको छैन । बजारको माग पुरा गर्ने ठुलो मात्रामा भारतबाट मेवा आयात हुने गरेको छ । काठमाडौंको बजारलाई मात्रै हेर्ने हो भने ८०५ भन्दा बढी मेवा भारतबाट आयात भएको पाइन्छ । नेपाली उत्पादनले २०५ मात्र आपुर्ती गरेको पाइन्छ । त्यसैले नेपालमा व्यवशायीक मेवा खेतीको राम्रो संभावना छ ।
  • क्षेत्रफल र उत्पादन

  • नेपालमा तराई देखी मध्य पहाडसम्म मेवा खेती सफलतापूर्वक गर्न सकिन्छ ।
  • क्षेत्रफल तथा उत्पादनको हिसाब बाट पर्सा, मोरङ, रोतहट, उदयपुर, रुपन्देही, कन्चनपूर, बदिया, चितवन, नवलपरासी, झापा आदी जिल्लाहरुमा मेवा खेती बढी मात्रा भएको पाईन्छ । अन्य देशहरुको तुलनामा नेपालमा मेवाको उत्पादन ज्यादै न्यून भएको देखिन्छ ।
  • उत्पादन करेसाबारी स्त्तरमा सिमित छ । हाल विदेशबाट फर्केर आएका केही ब्यवशयीकहरुबाट संस्थागत हिसाबबाट व्यवशायीक खेतीको सुरुवात हुन लागिरहेको छ ।
उपयोगिता

पौष्टिक तथा औषधि महत्व

(१) मेवा एक बहुउपयोगी वाली हो पाकेको फल ज्यादै मिठो हुने भएकाले सोझै खान सकिन्छ । पाकेको फलबाट प्रशोधन गरी जाम, जेली, क्यान्डी सुकुटी र विभिन्न प्रकारका पे्य पदार्थहरु बनाउन सकिन्छ । काचो फललाई तरकारी एवं अचारको रुपमा प्रयोग गरिन्छ ।

(२) मेवाफलमा प्रचुर मात्रामा बिभिन्न किसिमका भिटामीनहरु र अन्य पोषक तत्व पाईन्छ । सुन्तलामा भन्दा मेवाको फलमा भिटामीन ‘सि‘ ३३ प्रतिशतले र पोटासियम ५० प्रतिशतले बढि पाइन्छ । त्यसै गरी मेवामा स्याउमा भन्दा १३ गुना बढी भिटामीन ‘सी’ र दुई गुना बढी पोटसियम पाईन्छ । स्याउ र सुन्तलामा भन्दा पनि ४ गुणावढि भिटामिन ई पाईन्छ । मेवामा पाइने क्यारोटेन्वाइड, जियाजान्थीन र लाइकोपिन जस्ता पर्दाथले आखाँको दृष्टी वढाउछ ।

क्र.स पौष्टीक तत्वहरु परिमाण (ग्राम/क्यालोरी)
१ साधारण पानी ८८.८ ग्राम
  प्रोटिन ०.६ ग्राम
  शक्ति ३९ किलो क्यलोरी
  चिनी ५.९ ग्राम
  वोसो ०.१४ ग्राम
  कार्वोहाइड्रेट ९.८ ग्राम
२. खनिज तत्वहरु क्याल्सीयम २४ ग्राम
  फस्फोरस ५ ग्राम
  फलाम ०.५ ग्राम
  म्यागनेसियम १० ग्राम
  पोटासियम २५६ ग्राम
३. भिटामिनहरु भिटामिन वि२ ( रिवोफ्लाभिन ) ०.०५ ग्राम
  भिटामिन ए ५५ ग्राम
  थाएनिन ०.०३३८ ग्राम
  भिटामिन सि ६१.८० ग्राम
  भिटामिन वि ६ ०.१ ग्राम
  भिटामिन वि ७ ०.०४ ग्राम
  विटा क्यारोटिन २७६ ग्राम

 

(३) मेवाको काचो, बीउ र जराबाट निकालेको रस खानाले गर्भवर्तन गराउछ भन्ने भनाई छ । मेवाको चोप बाट छाला चिलाउने, परागकणले स्वास प्रस्वासको समस्या र प्यापेन मिसीएको खानाले एलर्जी गराउछ ।

(४) पाकेको मेवाकोफल जण्डीस रोग निदानमा उपयोग हुन्छ । यसको नियमित सेवनबाट आखाँको दृष्टी शाक्ति बढाई तेजीलो पार्दछ ।

मेवाको काचो फलबाट निस्कने सेतो चोपबाट पेपिन इन्जाइम निकालीन्छ । यो बहुपयोगी इन्जाइम हो यसलाई विभिन्न किसिमको सौन्दर्य सामाग्री, दन्तमन्जन र सावुनमा मिसाईन्छ । यसको प्रयोग औषधिमा मासुलाई पचाउन सजिलो बनाउन, छाला, उन र रेशम धागो प्रशोधनमा र वियरलाई आकर्षक बनाउन पनि गरीन्छ । चुविङगमन को उत्पादन गर्न पोपिनहो प्रयोग हुन्छ । मेवाको काचो फलमा मानव स्वास्थको लागी लाभप्रद अन्य विभिन्न इन्जाइम पनि हुन्छन् तसर्थ काचो फलको नियमित सेवन गर्नाले पाचन शतिमा बुद्दि हुन्छ । मेवाको फलमा पाइने काइमोप्यापेन नामको साएन शल्यकृया र अन्य कारणबाट लागेको घाउ चाडो निको पार्न प्रयोग गरिन्छ ।

जातहरु

जातिय विशेषताहरु

(१) वासिङटन

  • बोट अग्लो र ठुलो (मजबुत) हुन्छ ।
  • काण्डमा बैजनी चक्काहरु हुन्छन् ।
  • कडा बैजनी रँगका पत्रडाँठ पात ठुलो र फराकीलो देखीन्छ ।
  • फलहरु कडा पहेलो रँगका हुन्छन् ।
  • फलहरु काण्डसँग नजिकै टाँसीएर निस्केका हुन्छन् ।
  • फलहरु मध्य देखी ठुला खालका (१देखी १ ५ के जी एउटा ) स्वादिलो गुलीयो हुन्छ ।
  • फलहरु लाम्चीलो आकारका ४० से मी गोलोलाई र २० सेमी लम्बाई भएका फल जोडीएको स्थान नजिकै बैजनी चक्का देखिन्छ ।

(२) होनिड्यु

  • उत्तरी भारतबाट नेपालमा ल्याइएको जात,
  • मध्य उचाई भएको नेपालमा खेती गर्ने राम्रो मानिन्छ ।
  • बोटमा घना फल लाग्ने, फल भित्र बीउको मात्रा कम, फल पनि गुलियो स्वादिलो हुन्छ ।

(३) कुर्ग होनिड्यु

  • यो जात होनिड्यु बाट बिकाशित जात हो
  • फलहरु उभयलिँगी हुन्छन् कतै पोथीफलको मात्रा बढि हुने गर्दछ ।
  • फलको बोट होचा र प्रस्सत फल लाग्ने गुदी बाकलो रस्वादिलो सुन्तला रंगको हुन्छ ।
  • मध्य जुस निस्कने खालको, बासनदार र सुन्तला रगंको हुन्छ ।

(४) पुसा डेलिसियस

  • यो मध्यम अग्लो जात हो उचाई ७०—८० से मि भएपछि फल्न सुरु हुन्छ ।
  • यो धेरै फलने जातहरु मध्ये एक जात
  • यो गाइनोडायसियस जात– पोथी र उपयलिङ्गी खालका बिरुवाहरु निस्कने ।
  • फलको आकार मझौला खालको, गुदी पहेलो र सुन्तला रंगको गुलीयो खालको, व्रिक्स १० —१२ र्सन हुन्छ । फलको तौल (१—२—० के जी प्रति फल हून्छ ।
  • बोट रोपेको २६० देखी २७० दिन पछि फल्न थाल्छ ।

(५) पुषा डवार्फ

  • यो जातको ज्यादै होचो खालको हुन्छ । २५ — ३० से मि को उचाइमा नै फल्न थाल्दछ ।
  • फलको सरदर तौल १ देखी २ के जी को र फल अण्डाकारको हुन्छ ।
  • यो जात बढि बाक्लो गरेर लगाउन र किचन गार्डेनमा एवं न्युट्सिनल गनर्डेनमा लगाउन उत्तम मानिन्छ ।

(६) पुसा जायन्ट

  • बोट, होचो, बलियो, कडा हावाहुरी सहन सकने खालको हुन्छ ।
  • फल्हरु ठुलो आकार (२ देखी २.५ केजी का हुन्छन् ।
  • यो जातको मेवा तरकारी खान र डिव्वाबन्दी गरी राख्न उपयुत्त हुन्छ ।
  • बोटको उचाइ १ —१—५ मिटर सम्मको हुन्छ ।

(७) पुसा मेजेष्टी

  • यो एक गाइनो डायसियस जात हो
  • यस जातको फल बाटुला र मझौला, फल को गुदी कडा किसीमको हुन्छ ।
  • बिरुवा भाइरस रोगबाट बढि ग्रसिन हुने फलको भण्डारण क्षमता बढि पाइन्छ ।

(८) पुषा नन्हा

  • उभयलिङी स्वभाव –भाले पोथी छुट्टाछुट्टै बोट, वोट होचो खालको
  • रोपेको २३९ दिनमा ४० से मि अग्लो बोटमा फल फल्न थाल्छ । र बढीमा १३० से मि संम बोट बढदै जाँदा अग्लो बन्दछ ।
  • फल मध्य देखी साना खालका हुन्छन्
  • फलको गुदी मोटो खाने जस्तो रातो देखी सुन्तला रगंका हुन्छन् ।
  • ब्रिक्स ६—५—८ सम हुन्छन् ।

(९) सिं ओ

  • एकदमै गुलीयो जात र ताजा फलको रुपमा खाना रुची बिकास
  • रान्ची नामक र स्थानीय जातबाट छनोट भएको
  • बोट होचो, फलहरु गोलो आकारका र भेटनो चौडा हुन्छ ।
  • प्रति फलको सरदर तौल १०—१५ केजी को हुन्छ
  • फल्को रंग पहेलो, पेपिनोको बासना आउदैन घुलनसिल ठोस पदार्थ १०—१२ से मि हुन्छ ।

(१०) सोलो

  • यो गाइनो डायसियस जात हो ।
  • हवाइमा हुने मुख्य जात
  • फलहरु सानो (३५०—५०० ग्राम) गुदी नरम गुलीयो राम्रो गुणस्तरको हुन्छ ।

अन्य जानकारी

  • क्षेत्रीय कृषी अनुसन्धान केन्द्र लुम्लेले मेवाको जातिय छनोट सम्वन्धि भएको अध्ययन परिक्षणको नतिजा अनुसार नेपालको लागी रेड लोडिन फर्म सेलेक्सन १ र पुसा ड्वार्फ नामकी मेवाका जातहरु सिफारीस गरिएको छ । जसको जातिय विवरण निम्न छ ।
  • मेवाको बोटहरु निकै चाडो बढदछन् । मेवाको बोट रोपेको पहिलो बर्ष ३ मि सम्म र जीवनकालमा १० मि सम्म बढ्दछ । मेवाको आयु फल फलको तुलनामा १०—१२ बर्ष सम हुन्छ । पातहरु ५—६ महिनामा झर्दछन् । सबै भागमा सेतो चोप हुन्छ ।
  • बोटको सोझै र ठाडो वृद्धि हुन्छ । हाँगामा साधारणतया फल हुदैनन् तर टुप्पोमा चोट पटक लागेमा हाँगा पलाएर आँउछ । मेवाको डाँठको भित्री भाग धोत्रो हुन्छ बाहिरी सतह हल्का हरियो रंगको हुन्छ ।
  • मेवामा भाले पोथी र उमपलिङ्गी गरी ३ प्रकारका फल फल्छन् । मेवाको बोट भाले, पोथी र उभयालिङ्गी गरी ३ थरीका हुन्छन् ।
  • पात र डाँठको च्यापबाट फलहरु एक्लएक्लै वा झुप्पामा फल्छन । मेवाको बोटका सबै भागमा सेतो चोप हुन्छ ।
  • पोथीफलहरु ठुलो र भेट्नो छोटो भएका हुन्छन् । यिनिहरु साधारणतया एक्लाएक्लै र कहिलेकाही २—३ वटाको झुप्पामा फल्दछन् ।
  • भाले फूलहरु साना हुन्छन् । यिनीहरु ५०—६० से मि लामो डाँठमा झुप्पाझुप्पामा फल्छन् । उभयलिङ्गी फूलहरु भाले भन्दा ठुला र पोथी फल भन्दा साना हुन्छन् ।

 

आवश्यकता

हावापानी तथा माटो

हावापानी

  • मेवा उष्ण प्रदेशिय, गर्मि र बढि रुचाउने बाली हो । उपोष्ण प्रदेशका गर्मि हुने स्थानमन यसको खेती गर्न सकिन्छ ।
  • लामो समयमा १५ से भन्दा तलको तापक्रम भइरहेको जरा बोट र फलको बुद्धि राम्ररी हुन सक्दैन । कम तापक्रम फलको स्वाद र गुलियो पनको विकाश कम हुन्छ । मेवाको बोटले तुसारो पटक्कै सहन सकदैन ।
  • मेवाको फल पाकने समयमा सुख्खा मौषम भएमा गुलियोपन बढदछ । व्यवशायीक खेती गर्न उपयुत तापक्रम २१ देखी ३२ से मनिन्छ । तापक्रम १० से भन्दा कम भएमा बोटविस्वा, फलको
  • बुद्दि बिकाश र पाकने प्रकुया कम हुन्छ । बोट तथा फलमा कालो दाग लाग्दछ । ज्यादागर्मि र सुख्खा भएमा पनि परागसेचन कृया राम्रो नहुने फलमा भित्र अर्को फलको आकार बन्ने गर्दछ । रातमा २० से भन्दा कम र दिउसो ३५ से भन्दा बढि भएमा कारपोलिडिक हुने गर्दछ ।
  • स्थानिय जातहरुको तुलनामा होचो उन्नत हाइव्रिड जातहरु तर मलेन बढि नराम्रो असर पार्दछ । तसर्थ स्थानिय जातहरु १५०० मिटर भन्दा बढि उचाइ भएका पाहाडको बेसीमा सफलता साथ खेती गर्ने सकिन्छ तर उन्नत तथा हाइव्रिड जातहरुको खेती गर्न सकिदैन ।
  • वार्षीक साल खाल ३५० देखी २५०० मि.मि बर्ष भएमा व्यवशायीक मेवा खेती उपयुत्त हुन्छ ।
  • चिसो हावापानी सुख्खा र असिंचीत, धेरै हुरी बतास चल्ने र ओसिलो घाम नलाग्ने स्थानमा मेवाको व्यवसायीक खेतीका लागी उपयुक्त हुदैन ।

माटो

  • पानीको निकाश भएको गहिरो हावाको परीवहन हुने प्रसस्त प्राङ्गरीक बस्तु भएको दोमट माटो मेवा खेती गर्ने सबभन्दा राम्रो हुन्छ ।
  • माटोमा ६ देखी ७ सम्म पि एच भएमा खेतीको लागी ज्यादै उपयुक्त हुन्छ ।
  • व्यवसायिक मेवा खेतीको लागी सुबीधा उपलब्ध हुनुपर्छ तर पानी जम्न हुदैन । मेवाको फेंदमा एक दिन भन्दा बढी समय पानी जमेमा बोटहरु मर्दछन् ।
  • मेवाका जराहरु सतहमा हुने हुदा कम्तीमा ४५ से.मी गहिराई भएको माटोमा मेवाको खेती सफलताका गर्न सकिन्छ ।

नर्सरी व्यवस्थापन

मेवाको विरुवा उत्पादन र प्रसारण

(१) मेवाको प्रसारण बीउबाट गरीन्छ । व्यवसायिक रुपमा मेवाको खेती गर्न, सिफारीस गरिएको मेवाको जातको बीउ भरपर्दो श्रोतबाट प्राप्त गर्नुपर्दछ । आफैले मेवाको बीउको जोहो गर्नुपरेमा उच्च गुणस्तरको राम्ररी पाकेका फलबाट बीउ बाहिरी भागमा भएको पातलो झिल्ली वा च्यापच्यापे पदार्थ हटाउनु पर्छ । त्यस २—३ दिन छायामा सुकाएर नर्सरी रोप्न सकिन्छ ।

(२) बीउ लाई भण्डारण गरेर पछिको लागी राख्न सकिन्छ । भण्डारण गर्ने विउ राम्ररी सुकेको हुनुपर्ने र यसलाई हावा नछिर्ने प्लाष्टिकको थैलोमा बन्द गरी साधारण वातावरणमा ८—९ महिनामा र ४—५⁰ से तापक्रममा राखेमा २ बर्ष सम उमारशत्ति रही रहन्छ ।

(३) मेवाको बिरुवा नर्सरी व्याडमा प्लाष्टिक थैलामा उत्पादन गर्न सकिन्छ । जरा कुहिने रोगबाट बचाउन रोप्नु अगाडी बीउलाई ०.१५ वेबिष्टीन वा डाईथन एम विषादी घोलले उपचार गर्नुपर्छ ।

(४) नर्सरी ब्याडमा बिरुवा उत्पादन गर्ने तरीका

  • नर्सरी १ मिटर चौडाई आवश्यकता अनुसारको लम्बाई र १० से मी उचाई हुने गरी तयार गर्ने ।
  • माटोमा राम्ररी कुहेको गोबरमल मिसाउने
  • कुहिने रोगबाट बचाउन ५ ५ फर्मालिनले मिजाएर प्लाष्टिकले छोप्ने ।
  • २०—२५ दिनपछि प्लाष्टिक हटाएर कुटाले खनेर माटो कुर्वुराउदो बनाउने।
  • लाइन देखी १० से मि हुने गरी १ से मि गहिराइमा लगातार बीउ रोपेर पराल वा पात पतिङगरले व्याडलाई छोपी हजारीले पानी दिने ।
  • समयमा व्याडको चिरयान हेरी पानि दिने आवश्यकता अनुसार सिचाइ गर्ने ।
  • १ रोपनी जमिनको लागी २०—२५ ग्राम बीउ को आवश्यकता पर्छ ।

(५) प्लाष्टिक थैलामा बिरुवा उत्पादन गर्ने तरीका

  • प्वाल बनाएको २० से मि उचाई, १५ से मि चौडाई भएको प्लाष्टिकका थैलाहरुको व्यवस्था गर्ने ।
  • माटो, राम्ररी कुहीएको गोबरमल र बालुवा बराबर मिलाएर १:१:१ अनुपातमा मिलाएर थैलामा भरेर थिच्ने ।
  • प्रत्येक थैलामा ४—५ वटा बीउ रोप्ने र नियमित रुपमा हजारीले पानि दिने ।
  • बीउ उम्रेपछि ३ वटा राखेर अन्य बिरुवाहरु हटाउने ।
  • नर्सरीमा बेर्ना ओइ लगाउने रोगबाट बचाउन १५ वोर्डो मिक्चर वा ०.२५ कपर अकसीकोराइड छर्ने ।
  • २ महिनामा करीब २५ से मि अग्ला बिरुवा सार्न योग्य हुन्छन् ।
  • नर्सरी व्याडमा भन्दा थैलाहरुमा मेवाको बिरुवाहरु उत्पादन गर्नु ज्यादै उपयुक्त मानिन्छ ।

 

जग्गा तयारी

विरुवाको रोपण र दुरी

 

  • मेवाको विरुवा रोप्ने दुरी समयले बोटको बृद्रि र फल उत्पादन ठुलो असर पार्दछ ।
  • विरुवा रोप्न दुरी जात अनुसार फरक पर्दछ । अग्लो बोट हुने जातलाई २*२ मिटरलाई दुरीमा र होचो वो हुने जातलाई १.५*१.५ मिटरको दुरीमा लगाउन सकिन्छ । नेपालमा सिफरीस भएका जातहरुलाई १.९*१.९ मिटरको दुरीमा लगाउँदा सब भन्दा राम्रो उत्पादन भएको छ ।
  • खाल्टो खन्नको लागि विरुवा रोप्ने दुरी अनुसार चिन्ह लगाउने ।
  • चिनो लगाएको स्थानमा ०.५ मि. लम्बाई, चौडाई र उचाईको खाल्टो खन्ने र निस्केको जमिनको माथिल्लो सतहको माटो एक पट्टि र तलको रुखो माटो अर्को तर्फ राख्ने ।
  • निस्केको माथिल्लो माटोले खाल्टो पुर्ने र करीब १५ किलो कुहेको गोबर मल माटोमा मिसाएर खाल्टोको माथिल्लो भाग समेत पुरेर राम्ररी थिच्ने यो जमिनको सतहबाट करीब १ –२ फिट अग्लो हुनुपर्छ । खाल्टो पुरेको १ महिना पछि विरुवा रोप्नु पर्छ । खाडलको केन्द्रमा पर्नेगरी रोप्नु पर्छ ।
  • मेवाको बिरुवा असार, असोज र महिनामा रोप्न उपयुत्त हुन्छ ।
  • जरा नचुडिनेगरी नर्सरीमा तयार भएको विरुवालाई उखेलेर एउटा खाडलमा ३ वटा–विरुवाको दरले रोप्नुपर्छ।
  • प्लाष्टिक थैलामा भएमा, प्लाष्टिक हटाई माटो सहित रोप्नुपर्छ ।

 

बाली व्यवस्थापन तथा हेरचाह

मल सिचाई र बगैचा हेरचाह

 

  • मेवाको बोट अत्यन्तै चाडौ बढने र रोपेको ८—९ महिनाबाट नै फल्न सुरु गर्ने भएकोले यिनलाई मलको आवश्यकता पर्दछ ।
  • रासाइनिक एवं प्राङ्गरीक दुवै क्ष्रोतबाट मलको व्यवश्यापन गर्नुपर्छ ।
  • रासाइनिक मलको क्ष्रोतबाट प्रत्येक बर्ष एउटा मेवाको बोटमा २५० ग्राम फस्फोरस र ४०० ग्राम पोटास दिनुपर्छ ।
  • रासायनिक मल एकै पटक मात्र नहाली पटक २ पटक बराबर बाडेर दिनुपर्छ ।
  • पहिलो पटक: विरुवा सारेको ४ महिनापछि र हरेक ४–४ महिनामा वाकि मलहरु दिनु पर्छ ।
  • मुख्य खाद्यतत्वहरु मलवाट दिनुको साथै वोरोन, म्याग्नेसियम तामायुक्त सुक्ष्म तत्व पनि मल वा झोल रुपमा दिनु अति जरुरी छ । हिउदमा कम्तिमा १० किलोग्राम पाकेको गोवरमल प्रतिवोटका दरले प्रयोग गर्नुको साथै सिचाइ दिनुपर्दछ ।
  • वोटहरुमा फूल फूल्न थालेपछि, भाले र पोथि वोटहरु चिनेर अनावश्यक भाले वोटहरु हटाउनुपर्छ । भाले र पोथि छुट्टाछ्ट्टै हुने जातमा हरेक १० पोथिवोट वरावर १ भाले वोट रहने गरी विरुवा राखी वगैचा व्यवस्थापन गरीन्छ । सुरुमा खाडलमा रोपिएका ३ वटा बोट मध्ये १ वटा मात्रै पोथि वोट कायम गरी अन्य वोटहरु हटाउनुपर्छ । अन्य खालमा उभयलिङ्गी वा पोथि वोट छुट्टै हुने हुनेमा पनि राम्रो वोट एउटा राखी अन्य हटाउनुपर्छ ।

पोथि वोट मात्रै भन्दा उभयलिङगी वोट राख्दा राम्रो हुन्छ किनकी यसवाट निस्केका फल लाम्चा र आकर्षक हुन्छन् |

रोग व्यवस्थापन

फेद कुहिने रोग (Pythium sp.)

क्षति

बोक्रा कालो भएर खुइलिएर जान्छ र डाँठ, काण्ड कुहिन्छ । पातहरु ओइलाउँछ । फलहरु पनि झर्दछन्।

व्यवस्थापन

पानीको निकास राम्रो बनाउने। रोगी बिरुवाहरु उखेलेर जलाउने। बोर्डोमिक्सर ५ः५ः५० को घोल वा कपरअक्सिक्लोराइड ५०% डब्लु.पी ३ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१५ दिनको फरकमा ३ पटक छर्ने वा माटो भिजाउने। क्याप्टन ५०% डब्लु.पी ३ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा माटो उपचार गर्ने ।

एन्थ्राक्नोज (Colletotrichum gloeosporioides)

क्षति

फल पाक्न थालेपछि फलमा थोप्लाहरु देखिन्छ । पछि यी बढदै जान्छन र फल भित्रसम्म कुहिन्छ ।

व्यवस्थापन

कपरअक्सिक्लोराइड ५०% डब्लु.पी ३ ग्राम प्रति लिटर पानीमा मिसाई फल लागेको बेला छर्ने । बोर्डोमिक्सर ५ः५ः५० को घोल छर्ने ।

मेन्कोजेब ७५% डब्लु.पी ३ ग्राम लिटर पानीमा मिसाई छर्ने ।

रिङ्ग स्पट (Papaya Ring Spot Virus)

क्षति

पातको नसा पहेँलिने, पात सानो र बोट पुडको हुने हुन्छ । फलमा सानो सानो औंठी आकारका घेरा भएका दाग देखिन्छन । (पपाया रिङ्ग स्पट नामक भाइरसबाट लाग्दछ र यसलाई कीराले सार्दछन्)

व्यवस्थापन

कीरा नियन्त्रण गर्न मालाथियन ५०% ई.सी. २ मि.लि वा डाइमेथोयट ३०% ई.सी. (रोगर) १.५ मि.लि प्रति लिटर पानीमा मिसाएर छर्ने । रोगी बोटहरु नष्ट गर्ने ।

मोज्याक (छिर्केमिर्के रोग) (Papaya Mosaic Virus)

क्षति

नयाँ पातहरु सानो घुँघुरिएको टाटेपाटे (हरियो र पहेंलो रङ्गको) र दोब्रिएको हुन्छ । पातहरु खुम्चिएर पोको पर्दछ । रोगी फलहरु लाम्चा र साना हुन्छन्।

व्यवस्थापन

कीरा नियन्त्रण गर्न मालाथियन ५०% ई.सी. २ मि.लि वा डाइमेथोयट ३०% ई.सी. (रोगर) १.५ मि.लि प्रति लिटर पानीमा मिसाएर छर्ने । रोगी बोटहरु नष्ट गर्ने ।

किरा व्यवस्थापन

कत्ले कीरा

क्षति

वयस्क र बच्चाले पातबाट रस चुस्दछ र पातहरु सुकेर बोट रोगी हुन्छ । साथै फलको गुणस्तर पनि बिग्रन्छ ।

व्यवस्थापन

खनिज तेल १० मि.लि वा डाइमेथोयट ३० %ई.सी. (रोगर) १ मि.लि/लिटर वा इमिडाक्लोप्रीड १७.८% एस.एल. ०.५ मि.लि/लिटर पानीमा मिसाई ७ दिनको फरकमा ३ पटक छर्ने ।

सुलसुले

क्षति

पाकेको फलमा सेता दागहरु देखिन्छन्  । पातहरु पहेलो देखिन्छन्।

व्यवस्थापन

गन्धकको धुलो ०.६ ग्राम/लि पानीमा मिसाई छर्ने वा फेनाजाक्विन १०% डब्लु.पि. २.५ प्रति लिटर वा स्पाइरोमेसिफेन २२.९% डब्लु.पि. १ मि.लि प्रति लिटर पानीमा राखेर १० दिनको फरकमा ३ पटक छर्ने ।

लाही

क्षति

पात र फुलबाट रस चुस्दछन र मेवाको छिरविरे रोग पनि सार्दछन्।

व्यवस्थापन

रोगी विरुवाहरु हटाउने। बगैँचाभित्र फर्सी समूहका बाली, आलुतथा सुर्ती जस्ता बालीहरु नलगाउर्ने, इमिडाक्लोप्रीड १७.८% एस.एल. ०.५ मि.लि प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा ३ पटक छर्ने ।

मिलि बग

क्षति

कीरा लागेका पातहरु साना र गज्याङ्गगुजुङ्ग पर्दछन्। कलिला पात पहेलिएर झर्दछन । पातहरु कालो ध्वांसो जस्तो पदार्थले ढाक्दछ ।

व्यवस्थापन

रुखको जरामा चिप्लिने पदार्थ प्रयोग गर्ने, जरा वरिपरि माटो खनजोत गर्ने, प्रकोप बढी भएमा इमिडाक्लोप्रीड १७.८% एस.एल. ०.५ मि.लि प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा ३ पटक छर्ने ।

बाली कटानी तथा भण्डारण

फलको टिपाइ, उत्पादन र व्यवश्थापन

 

  • मेवा परिपक्क हरीयो अवश्थामा टिपेपछि पाक्ने हुन्छ र वजारमा वेच्न सकिन्छ । काचो मेवा लामो समय सम्म राख्न सकिन्छ तर पाकेको मेवा नजिकको वजारमा चाडै वेच्नुपर्छ ।
  • मेवाको वोक्राको रंग गाढा हरियोवाट हल्का हरियोमा परिणतमै फलको टुप्पो पहेलो हुन थालेपछि फल टिप्न लायक हुन्छ ।
  • फलको गुणस्तर कायम राख्न उत्पादनोपरान्त क्षतिलाई कम गर्न फल टिप्ने काम सहि तरिकाले गर्ने, फल हातले वटारेर वा चक्कुले भेट्नोलाई फेदैवाट काटि हटाउनुपर्छ । ठूलो वोटमा चक्कु वाधेर फल टिप्ने झोला (harvesting bag) को प्रयोग गरी टिप्नुपर्छ ।
  • फल टिपि सकेपछि ग्रेडिङ गर्नुपर्छ फरक आकार अनुसार विक्री वितरण गरीन्छ ।
  • विक्रि वितरण गर्दा, राम्ररी प्याकिङ गरेर मात्र वजारमा पठाइन्छ । प्याकिङ गर्दा हरेक फललाई पुरानो पत्रिका वा अन्य कागजले वेरेर क्रेट, टोकरी डोकोमा साइज अनुसार हार मिलाएर टिमिक्क मिल्ने गरी राखी पठाउनुपर्छ । यसो गर्दा घस्रेर हुने चोट लाग्न वाट वचाउन सकिन्छ ।
  • परिपक्क हरियो अवश्थामा टिपेको फललाई साधारण कोठामा २५–२८ डि.से  तापक्रम १ हप्तासम्म र १० देखि १२ डि.से तापक्रममा ८५–९५ प्रतिशत आद्रता भएको कोल्ड स्टोरेजमा ३ हप्ता सम्म भण्डारण गर्न सकिन्छ ।

उत्पादन

सिफरीस प्रविधिको अनुसरण गरी खेति गर्दा जात अनुसार फरक फरक उत्पादन हुन्छ । सामान्यतया ५५–६० कि.ग्रा प्रति वोट उत्पादन गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

महेश्वर लामिछाने

बरिष्ठ फलफूल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - मेवा खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं