अर्गानिक किवीफल खेती गर्दा फलको गुणस्तर राम्रो हुने र फलमा पाइने पोषण तत्वहरु पनि प्रशस्त हुने हुँदा किवीफलको अर्गानिक खेती प्रविधिलाई सुधार गरि राम्रो उत्पादन लिन सकिन्छ । हाम्रो जस्तो पहाडी जिल्लाहरु जहाँ सजिलै रसायनिक मलखाद पाईदैन, त्यस्तो ठाउँमा अर्गानिक खेती प्रविधि अपनाउनु दिगो र नाफामुखी व्यवसाय हुन्छ ।
यसै परिप्रेक्षमा बागवानी अनुसन्धान महाशाखाले २०६९ देखि २०७२ सालसम्म सूर्य किबी फार्म, फस्कोट, काभ्रेमा विभिन्न मलखाद तथा खाद्यतत्वको अनुपात मिलाई अनुसन्धान गरेको थियो । चार सालको उत्पादनको तथ्याङ्कको औसत आंकडा अनुसार भर्मिकम्पोष्ट र कोसेबाली समुहको कम्पोष्ट मल प्रयोग गर्दा उत्पादन क्रमशः २२.२८ के.जी. प्रति बोट र २६.८४ के.जी. प्रति बोट पाइयो ।
अर्गानिक किवीखेती गर्न किवीफललाई चाहिने खाद्यतत्वहरु प्रचुरमात्रामा पुग्ने गरि कुहिएका विभिन्न किसिमका जैविक पदार्थहरु जस्तैः भर्मिकम्पोष्ट, कम्पोष्ट, खरानी, पातपतिङ्गरको छापो, गोबरमल, गाईभैंसीको पिसाप, तोरी/सस्र्यूको पिना, कुखुराको मल आदि राख्न सकिन्छ ।
भर्मिकम्पोष्ट
सामान्यतय भर्मिकम्पोष्टमा ०.५% नाइट्रोजन, ०.२५% फोस्फोरस र २% पोटास पाइन्छ । २१० ग्राम फोस्फोरस उपलब्ध गराउन १०० × २१०/०.२५ = ८४ के.जी. भर्मिकम्पोष्ट चाहिन्छ । साधारणतय नाइट्रोजन र फोस्फोरसको तीन भागको दुई भाग मात्र त्यसै वर्ष विरुवाले उपयोग गर्न सक्दछ । भर्मिकम्पोष्टको ७०% (५५—६० के.जी.) माघ महिनामा र ३०% (२०—२५ के.जी.) असारमा राख्नु पर्दछ ।
कम्पोष्ट
उतिस, टेफ्रोसिया, फ्लेमेन्जीय जस्ता बार बन्देज र जंगलका पात पतिंगर, स्याउला, झारपात आदि संकलन गरी खाडलमा पुरेर कुहाई बनाइएको कम्पोष्ट मल किवीफलको लागि राम्रो मलखादको श्रोत हो । यस्ता वनस्पतिजन्य पदार्थहरुलाई कम्तिमा पनि ६ महिना कुहाउनु पर्दछ ।
उतिस वा टेफ्रोसिया नपाईएमा कोसेवाली, फार्ममा पाईने झारपात, खेरजाने वनस्पतिजन्य पदार्थ आदिलाई कुहाएर पनि प्रयोग गर्न सकिन्छ ।
कम्पोष्ट मल पनि ८० के.जी. प्रति बोटका दरले राख्नु पर्दछ । ६० के.जी. कम्पोष्ट माघमा र २० के.जी. कम्पोष्ट असार— श्रावणमा बोटको १ मिटर टाढा वरिपरी कुलेसो बनाई मल राखी पुर्नु पर्दछ । मलखाद राखेपछि हल्का सिचाई गर्नु पर्दछ ।