खुर्पानीको वैज्ञानिक नाम Prunus armeniaca L. हो । यो स्याउ, नासपाती जस्तै रोजेसी (Rosaceae)परिवारमा पर्दछ । खुर्पानीको फल आकर्षक, स्वादिलो र अत्यन्तै पोषणयुक्त हुन्छ । यसमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । यसमा अन्य फलफूलको तुलनामा कार्वोहाइड्रेट्स, प्रोटीन र फस्फोरस बढी पाईन्छ । खुर्पानीले सुख्खा तथा लवण (Dry and salt resistant) सहन्छ, hardy हुन्छ र अन्य फलफूलको तुलनामा रोग कीरा पनि कम लाग्छ । यसको खेती परापुर्वकाल देखि नै गर्दै आएको पाईन्छ । वैज्ञानिक तथा वनस्पतिशास्त्रीहरुमा पनि खुर्पानीको उत्पत्ति शुरुमा कहाँ भएको हो भन्ने बारेमा मतभेद छ र यसको उत्पत्तिको बारेमा कहिं पनि स्पष्ट उल्लेख गरिएको छैन । तर खुर्पानीको बारेमा आर्मेनियामा (Armenia) धेरै अघि थाहा भएको र यसको खेती गरिएको भन्ने अनुमानका आधारमा यसको उत्पत्ति स्थल आर्मेनिया भन्ने गरेको पाईन्छ । त्यसैका आधारमा खुर्पानीलाई Armenian पनि भन्ने गरिन्छ । Prunus armeniaca सबैभन्दा बढी खेती गरिएको खुर्पानीको प्रजाति हो । यसलाई Ansu apricot, Siberian apricot, Tibetan apricot पनि भनिन्छ ।
हाल खेती गरिने खुर्पानीका पुराना प्रायः सबै जातहरु शुरुमा चीन, कोरिया, जापान, तिब्बत, इरान र अफगानिस्तानमा खेती गरिएको पाइन्छ । फलफूल विकास निर्देशनालय, कीर्तिपुरको आ.व. २०७१/०७२ को वार्षिक प्रगति तथा तथ्याड्ढ प्रतिवेदन अनुसार नेपालमा खुर्पानी बगैंचाले ओगटेको जम्मा क्षेत्रफल ४०३ हेक्टर, उत्पादनशील क्षेत्रफल २९४ हे. र उत्पादन २७३५ मे.टन रहेको छ । उक्त प्रतिवेदन अनुसार नेपालको मध्य पहाडी क्षेत्रमा २११ हे. (११५५ मे. टन) र हिमाली क्षेत्रमा १८४ हे. (१५७९ मे.टन) खुर्पानीको खेती तथा उत्पादन भएको छ । उक्त प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढी खुर्पानी उत्पादन हुने जिल्लाहरुमा क्रमशः रसुवा, रामेछाप र मुस्ताङ्ग पर्दछन् जसमा क्रमश ९२६ मे.टन, ४३१ मे.टन र २३६ मे.टन ताजा खुर्पानी फल उत्पादन भएको पाईन्छ । क्षेत्रगत हिसावले मध्यमाञ्चल विकास क्षेत्रमा मात्रै कूल उत्पादनको ५२ प्रतिशत खुर्पानी उत्पादन भएको पाइन्छ ।
