परिचय

परिचय

खुर्पानीको वैज्ञानिक नाम Prunus armeniaca L. हो । यो स्याउ, नासपाती जस्तै रोजेसी (Rosaceae)परिवारमा पर्दछ । खुर्पानीको फल आकर्षक, स्वादिलो र अत्यन्तै पोषणयुक्त हुन्छ । यसमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । यसमा अन्य फलफूलको तुलनामा कार्वोहाइड्रेट्स, प्रोटीन र फस्फोरस बढी पाईन्छ । खुर्पानीले सुख्खा तथा लवण (Dry and salt resistant) सहन्छ, hardy हुन्छ र अन्य फलफूलको तुलनामा रोग कीरा पनि कम लाग्छ । यसको खेती परापुर्वकाल देखि नै गर्दै आएको पाईन्छ । वैज्ञानिक तथा वनस्पतिशास्त्रीहरुमा पनि खुर्पानीको उत्पत्ति शुरुमा कहाँ भएको हो भन्ने बारेमा मतभेद छ र यसको उत्पत्तिको बारेमा कहिं पनि स्पष्ट उल्लेख गरिएको छैन । तर खुर्पानीको बारेमा आर्मेनियामा (Armenia) धेरै अघि थाहा भएको र यसको खेती गरिएको भन्ने अनुमानका आधारमा यसको उत्पत्ति स्थल आर्मेनिया भन्ने गरेको पाईन्छ । त्यसैका आधारमा खुर्पानीलाई Armenian पनि भन्ने गरिन्छ । Prunus armeniaca सबैभन्दा बढी खेती गरिएको खुर्पानीको प्रजाति हो । यसलाई Ansu apricot, Siberian apricot, Tibetan apricot पनि भनिन्छ ।

हाल खेती गरिने खुर्पानीका पुराना प्रायः सबै जातहरु शुरुमा चीन, कोरिया, जापान, तिब्बत, इरान र अफगानिस्तानमा खेती गरिएको पाइन्छ । फलफूल विकास निर्देशनालय, कीर्तिपुरको आ.व. २०७१/०७२ को वार्षिक प्रगति तथा तथ्याड्ढ प्रतिवेदन अनुसार नेपालमा खुर्पानी बगैंचाले ओगटेको जम्मा क्षेत्रफल ४०३ हेक्टर, उत्पादनशील क्षेत्रफल २९४ हे. र उत्पादन २७३५ मे.टन रहेको छ । उक्त प्रतिवेदन अनुसार नेपालको मध्य पहाडी क्षेत्रमा २११ हे. (११५५ मे. टन) र हिमाली क्षेत्रमा १८४ हे. (१५७९ मे.टन) खुर्पानीको खेती तथा उत्पादन भएको छ । उक्त प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढी खुर्पानी उत्पादन हुने जिल्लाहरुमा क्रमशः रसुवा,  रामेछाप र मुस्ताङ्ग पर्दछन् जसमा क्रमश ९२६ मे.टन, ४३१ मे.टन र २३६ मे.टन ताजा खुर्पानी फल उत्पादन भएको पाईन्छ । क्षेत्रगत हिसावले मध्यमाञ्चल विकास क्षेत्रमा मात्रै कूल उत्पादनको ५२ प्रतिशत खुर्पानी उत्पादन भएको पाइन्छ ।

उपयोग

रुखमा पाकेको ताजा खुर्पानी अत्यन्तै राम्रो dessert fruit को रुपमा लिइन्छ । खुर्पानीलाई Canned, candied, frozen / dried product को रुपमा प्रयोग गर्न सकिन्छ । यसैगरी खुर्पानीबाट जाम र खुर्पानी ब्राण्डी पनि बनाउन सकिन्छ । खुर्पानीको बीयाँ (Kernnel) पनि महत्वपूर्ण मानिन्छ । खुर्पानीको बीयाँ जात अनुसार गुलियो र तीतो हुन्छ । गुलियो बीयाँ कागजीबदाम (Almond) जस्तो हुन्छ । बीयाँबाट Alomond oil जस्तै महत्वपुर्ण व्यवसायिक तेल बनाउन सकिन्छ । यसैगरी खर्पानीको बीयाँ क्यान्सरको उपचारमा पनि प्रयोग गर्न सकिने विश्वास गरिन्छ । यहाँ खुर्पानीका केही महत्वपुर्ण फाइदाहरु उल्लेख गरिएको छ ।

खुर्पानी विश्वका अति स्वस्थकर फलफुल मध्ये एक हो, जसमा धेरै फाइदाहरु छन् । १०० ग्राम ताजा खुर्पानीको फलमा १२ प्रतिशत भिटामिन सी, १२ प्रतिशत भिटामिन ए र ६ प्रतिशत पोटासियम पाइन्छ । स्याउको पोषण तथा औषधीय महत्चलाई बुझाउन भनिने ‘An apple a day, keeps doctor away’ भन्ने भनाइ जस्तै खुर्पानीलाई पनि ‘an apricot a day, can also keep the doctor away’ भन्ने भनाई छ ।

खुर्पानी भिटामिन ए (Retinol / Beta Carotene) को राम्रो स्रोत हो । यसले प्रतिरक्षा प्रणाली (immune system) लाई मजबुत बनाउँछ । Retinol  र Beta Carotene ले बुढ्यौलीमा हुने आँखाको दृष्टि सम्बन्धी समस्या लाई घटाउन सहयोग गर्छ । खुर्पानीमा हुने प्रशस्त रेशादार पदार्थले महत्वपूर्ण Dietary fiber को काम गर्छ । खुर्पानीमा हुने रेटिनोल चिल्लोमा घुलनशील (Fat soluble) हुन्छ र शरीरमा सजिलै घुल्छ । यसले Fatty acids लाई टुक्र्याउँछ र पाचनप्रणालीलाई ठीक गर्छ । खुर्पानीको प्रयोगले आन्द्रालाई नियमित रुपमा सफा गर्छ । खुर्पानी मुटुको लागि अत्यन्त फाइदाजनक फल हो । यसमा हुने अधिक रेशादार पदार्थले हाम्रो शरीरमा हुने खराब कोलेष्टेरोल (Bad cholesterol) लाई घछाउँछ जसले गर्दा मुटुलाई बचाउँछ । यसैगरी यसले असल कोलेष्टेरोललाई बढाउँछ । यसमा हुने पोटासियमले मुटुको मांशपेशीलाई मिलाएर राख्छ । यसका लागि हामीले प्रत्येक दिन १ देखि २ वटा ताजा वा एक मुठ्ठी खुर्पानीको सुकुटी खाने गर्नुपर्दछ । खुर्पानी एन्टीअक्सिडेन्टको प्राकृतिक स्रोत हो । खुर्पानी दैनिक रुपमा खानाले हाम्रो शरीरमा विषाक्त पदार्थ जम्मा हुन पाउँदैन । एन्टीअक्सिडेन्टले हाम्रो शरीरका कोष नष्ट गर्ने Free Radical  नष्ट गर्छ । खुर्पानी खानु रगतको लागि अत्यन्त लाभदायक छ । खुर्पानीमा Non hemoglobin Iron (Non -heme iron) पाईन्छ जुन हाम्रो प्रणालीमा लामो समयसम्म रहन्छ जसले रक्त अल्पता हुन बाट बचाउँछ । खुर्पानी हाम्रो छालाको लागि राम्रो मानिन्छ । खुर्पानीमा हुने भिटामिन ए, सी र बनस्पतिजन्य पोषक तत्वले छालालाई राम्रो बनाउँछ । खुर्पानीमा हुने एन्टीअक्सिडेन्टले बुढ्यौलीपन ढिलो गराउँछ । खुर्पानीमा प्रशस्त मात्रमा क्याल्सियम हुने हुनाले खुर्पानी खानाले हाम्रो हड्डी मजबुत हुन्छ । शरीरमा प्रशस्त मात्रामा पोटासियम नभएमा शरीरमा क्याल्सियम सोसिन सक्दैन । तर खुर्पानीमा प्रशस्त मात्रामा पोटासियम पनि हुने हुनाले यसले क्याल्सियम सोस्नमा मद्दत गर्छ ।

जातहरु

जातहरु

नेपालमा मध्य पहाड देखि उच्च पहाडी क्षेत्रमा फरक फरक हावापानी भएका ठाउँहरुमा खुर्पानीको खेती गरिएको पाईन्छ । मध्य पहाडी क्षेत्रमा उपयुक्त हुने जातहरु उच्च पहाडी र सुख्खा क्षेत्रमा उपयुक्त हुँदैनन् । चीन, भारत लगायत युरोपमा धेरै जातका खुर्पानीको खेती गरिने भएपनि नेपालमा भने हालसम्म थोरैमात्र खुर्पानीका जातहरुको खेती गरेको पाईन्छ । नेपालमा खेती गरिने प्रायः सबै उन्नत खुर्पानीका जातहरु बिदेशबाट आयात गरिएका जातहरु हुन् ।

नेपालमा खेती गर्न सिफारिस गरिएका खुर्पानीका जातहरु साकरपारा (Shakarpara) कैसा (Kaisha)  र न्यु क्यासल (New Castle) हुन् जुन कम चिसो चाहिने जातहरु हुन् । यिनीहरुलाई मुस्ताङ जस्तै सुख्खा र शितोष्ण हावापानी उपयुक्त हुन्छ ।

साकरपारा (Shakarpara)

यो जातको खुर्पानीको फल साना देखि मझौला हुन्छन् । यसको फलको बोक्राको रंग क्रिम/पहेंलो (Creamy yellow) हुन्छ भने फलको भेट्नोको नजिकमा हल्का उष्लप रंगको थोप्ला हुन्छ । यसको गुदीको रंग हल्का पहेंलो र बास्नादार हुन्छ । फलभित्रको बीयाँ गुलियो हुन्छ । यसको फल असारमा पाक्छ । यो जातको खुर्पानीलाई बढी चिसो आवश्यक पर्दछ ।

न्यू क्यासल (New Castle)

यो अगौटे जातको खुर्पानी हो तर फल तयार हुन खेती गरिने ठाउँको उचाईले फरक पार्दछ । यसको फल गोलो, मझौला आकारको र पहेंलो हुन्छ । गुदी एकदमै गुलियो र रसिलो हुन्छ ।

कैसा (Kaisha)  

यो जातको खुर्पानीको फल पनि गोलो, मझौला साइजको, फलको बोक्रा पहेंलो र हल्का रातो थोप्ला हुन्छ । फलको गुदी सुन्तला रंगको, गुलियो र स्वादिलो हुन्छ । यो जातको खुर्पानी एकदमै बढी/बाक्लो फल्छ । यो अलि पछौटे जात हो र यसको फलको बीयाँ तीतो हुन्छ ।

आवश्यकता

हावापानी र माटो

खुर्पानी मध्य पहाडको उपल्लो क्षेत्र तथा सुख्खा र शितोष्ण क्षेत्रहरुमा राम्रो संग खेती गर्न सकिन्छ । हाल खेती गरिएका खुर्पानीको उत्पत्तिस्थल उत्तर पुर्वी चीनमा भएको मानिन्छ । भारतमा पाइने स्थानीय खुर्पानी जसलाई जर्दालु (Zardal) भनिन्छ जुन हिमाञ्चल प्रदेशको शिम्ला र किन्नाउर जिल्लामा पाईन्छ । भारतको जम्मु काश्मीरमा पाइने खुर्पानीलाई लदाख (Ladakh) भनिन्छ । नेपालमा विषेश गरी मुस्ताङमा पाइने स्थानीय खुर्पानीलाई स्थानीय भाषामा चिली (Chilli) भनिन्छ जुन खुर्पानी, आरु, आरुबखडामा रुटस्टकको रुपमा प्रयोग गरिन्छ ।

खुर्पानीको समुद्री सतहबाट ९०० देखि २००० मिटरसम्मको उचाईमा सफलताका साथ खेती गर्न सकिन्छ । तर मुस्ताङ जिल्लामा समुद्री सतहबाट २७०० मिटर सम्ममा पनि राम्रै भएको पाईएको छ । सेतो गुदी भएको र गुलियो बीयाँ भएको खुर्पानीको लागि बढी चिसो हावापानी राम्रो हुन्छ र ३००० मिटर सम्मको उचाइमा पनि खेती गर्न सकिन्छ भने पहेंलो गुदी र तीतो बीयाँ भएको खुर्पानी ९०० देखि १५०० मिटर सम्मको हल्का न्यानो हावापानीमा पनि खेती गर्न सकिन्छ । खुर्पानीको लागि फुल फुल्ने र फल लाग्नको लागि तुषारो नपर्ने र केही न्यानो मौसम राम्रो मानिन्छ । फलको राम्रो बृद्धि विकास र गुणस्तरीय फलको लागि औषत Summer temperature 17-32º C हुनु पर्दछ । फुल फुल्ने बेलामा ५–६ डिग्री र फल पाक्ने बेलामा १५–२० डिग्री सेन्टीग्रेड तापक्रम राम्रो हुन्छ । वार्षिक औषत वर्षा खुर्पानीको सिजनभरी एकनासले १००० मिलि मिटर भएमा राम्रो हुन्छ । खुर्पानीले बढी चिसो सहने र रुखो माटोमा पनि बृद्धि विकास हुन सक्ने भएतापनि यसको राम्रो खेतीको लागि उर्भर, पानीको निकासको राम्रो प्रवन्ध भएको दोमट माटो राम्रो मानिन्छ । माटोको पी.एच. ६–७ भएको ठाउँमा यसको खेती राम्रो हुन्छ । तर मुस्ताङमा हुने स्थानीय खुर्पानी पानीको निकास भएको बलौटे र कम उर्भरायुक्त माटोमा पनि राम्रै भएको पाइएको छ ।

नर्सरी व्यवस्थापन

बिरुवा प्रसारण र रुटस्टक (Propagation and Rootstocks)

खुर्पानीको व्यवसायिक रुपमा वानस्पतिक प्रसारण (Vegetative method) विधिबाट बिरुवा उत्पादन गरिन्छ । वानस्पतिक प्रसारण विधिमा मुख्यतयाः ग्राफ्टिङ्ग (Tongue grafting) र बडिङ्ग (Chip budding) प्रचलित र राम्रो विधि मानिन्छ । बडिङ्गको लागि जेठ–आषाढ महिना राम्रो हुन्छ भने ग्राफ्टिङ्ग को लागि पौष–माघ महिनामा गर्नु पर्दछ । खुर्पानीमा रुटस्टकको लागि स्थानीय खुर्पानी र आरु राम्रो मानिन्छ । शितोष्ण बागवानी विकास केन्द्र, मार्फामा खुर्पानीको ग्राफ्टिङ्ग र बडिङ्गको लागि स्थानिय खुर्पानी (जसलाई स्थानीय भाषामा चिली भनिन्छ) को प्रयोग गर्दै आइएको र राम्रो सफलता पाइएको छ । जंगली खुर्पानीमा ग्राफ्ट युनियन राम्रो हुन्छ र रुख पनि अग्लो हुन्छ भने बलौटे र हल्का माटो तथा सुख्खा अवस्थामा जंगली आरुको रुटस्टक राम्रो पाईएको छ तर कहिलेकाहीं ग्राफ्ट युनियन बढेको र खस्रो पाईएको छ । खुर्पानीको रुटस्टक विरुवा उमार्नको लागि राम्रोसंग पाकेको जंगली खुर्पानीको फल संकलन गरी बीउ तयार गर्नु पर्दछ । खुर्पानीको बीउको शुषुप्त अवस्था (Dormancy) हटाउनको लागि ४५–५० दिनसम्म ४ डिग्री सेल्सियस तापक्रममा स्ट्राटिफिकेसन (Stratification) गर्नु पर्दछ । खुर्पानीको बीउलाई रोप्नु भन्दा अगाडि ५०० पी.पी.एम. को GA3 वा ५ पी.पी.एम. को काइनेटिन (Kinetin) को घोलमा २४ घण्टा डुबाएर रोपेमा उमार (Germination) राम्रो र छिटो हुन्छ । यसरी तयार गरेको बीउ राम्रो संग तयार गरेको जग्गामा ५–१० से.मी. गहिराईमा एक लाइन देखि अर्को लाइनको दुरी ३०–४५ से.मी. र लाइनमा एक बीउ देखि अर्को बीउको दुरी १०–१५ से.मी. हुने गरी एकनासले बीउ रोप्नु पर्दछ । त्यसपछि करीब १० से.मी. मोटाइ हुनेगरी मल्चिङ्ग गर्ने र हल्का सिंचाई गर्नु पर्दछ ।

एक वर्षमा खुर्पानीको रुटस्टक बिरुवा ग्राफ्टिङ्ग र बडिङ्ग को लागि तयार हुन्छ । बडिङ्ग गर्दा पेन्सिल साइजको मोटाई भएको रुटस्टकमा जमिनको सतहबाट १५–२० से.मी. माथि चिल्लो सतह (Smooth bark surface) भएको ठाउँमा गर्नु पर्दछ । बडिङ्ग गरेको एक हप्ता पछि रुटस्टकलाई बडिङ्ग गरेको भागबाट १० से.मी. माथिबाट हटाइदिनु पर्दछ भने १५–२० दिन पछि बडिङ्ग भन्दा माथिमो रुटस्टकको सबै भाग हटाइदिनु पर्दछ । बडिङ्ग युनियन बलियो भएपछि बडिङ्गको लागि प्रयोग भएको प्लाष्टिक हटाउनु पर्दछ ।

बिरुवा रोपण (Planting)

खुर्पानीको बिरुवा यसको शुषुप्त अवस्था (dormant season) मा रोपिन्छ । नेपालमा सामान्यतया पौष देखि फागुन महिना सम्म यसको बिरुवा रोपिन्छ । तर पछि भन्दा अगाडि रोपेको बिरुवा राम्रो संग सर्ने सम्भावना बढी हुन्छ । बिरुवा रोप्नु भन्दा करिब १ महिना अगावै एक मिटर गहिराइ र एक मिटर चौडाइको खाडल खन्नु पर्दछ । प्रत्येक खाडलमा ४०–५० के.जी. राम्रोसंग पाकेको गोवर मल/कम्पोष्ट मल र माटो मिसाइ खाडल पुर्नु पर्दछ । करिब १ के.जी. सुपर फस्फेट र १० एम.एल. क्लोरोपाइरिफस १० लिटर पानी मिसाई प्रत्येका खाडलमा हाल्नु पर्दछ । समथर जग्गामा बर्गाकार वा त्रिकोणाकार तथा भिरालो जग्गामा गर्हा प्रणाली (Contour system) बाट बगैंचा रेखांकन गरी ६ मिटर * ६ मिटरको दुरीमा खाडल तयार गर्नु पर्दछ । यसरी खाडल तयारी गरेपछि एक वर्ष उमेरको खुर्पानीको स्वस्थ बिरुवा खाडलको बीच भागमा पर्ने गरी रोप्नु पर्दछ र माटोलाई हल्का दबाउनु पर्दछ । बिरुवा रोपेपछि माटो र बिरुवाको जरा राम्रो संग मिल्नको लागि सिंचाई गर्नु पर्दछ । बिरुवा रोपेपछि बिरुवाको बेसिनमा १० से.मी. बाक्लो मल्चिङ्ग गर्नु पर्दछ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद (Manure and Fertilizer)

खुर्पानीको बोटले माटोबाट प्रत्येक वर्ष ठुलो परिमाणमा पोषकतत्व उपभोग गर्ने हुनाले यसलाई पुर्ति गर्न प्रत्येक वर्ष प्रांगारिक तथा रासायनिक मल प्रयोग गर्नु पर्दछ । कति मात्रामा मल प्रयोग गर्ने भन्ने कुरा बिरुवाको उमेर, माटोको किसिम, हावापानी, खेती प्रविधि आदिले फरक पार्दछ । एउटा ७ वर्ष वा सो भन्दा बढी उमेरको बोटलाई ४० के.जी. गोबरमल, ५०० ग्राम नाइट्रोजन, २५० ग्राम फस्फोरस र २०० ग्राम पोटासको आवश्यकता पर्दछ । गोवरमल/कम्पोष्ट मल, फस्फोरस र पोटासको पुरै मात्रा पौष–माघमा र नाइट्रोजनको आधा भाग फुल फुल्ने समय भन्दा २–३ हप्ता अगाडि र बाँकी आधा भाग फूल फुलेको १ महिना पछि प्रयोग गर्नु पर्दछ । नाइट्रोजनयुक्त मल प्रयोग गर्दा छरुवा (Broadcasting) विधि भन्दा लाइनमा (Band application) राम्रो मानिन्छ । I

सिंचाई (Irrigation)

खुर्पानीले सुख्खा सहन सक्ने भएपनि यसका जरा धेरै गहिरो नजाने र सतहमा हुने (Shallow rooted) भएकोले माटोमा प्रशस्त मात्रामा चिस्यान हुनु आवश्यक हुन्छ । फलको बृद्धि र विकास भै रहेको समयमा सिंचाइ अति आवश्यक हुन्छ । खुर्पानी बगैंचामा चैत्र देखि जेठ सम्म प्रशस्त चिस्यानको आवश्यकता पर्दछ । बगैंचामा चिस्यान जोगाइ राख्न १०–१५ से.मी. बाक्लो पराल/खरको छापो (Hay mulch) वा कालो प्लाष्टिकको छापो (Black plastic mulch) राख्न सकिन्छ ।

बिरुवाको तालिम र काँटछाँट (Training and pruning)

खुर्पानीलाई खुल्ला केन्द्र प्रणाली (Open center)र रुपान्तरित केन्द्रीय नेता प्रणाली (Modified central leader system) बाट तालिम गरिन्छ तर पहाडी क्षेत्रहरुमा खुल्ला केन्द्र प्रणाली बढी प्रचलित छ । बिरुवा रोप्ने बेलामा एक वर्षे विरुवाको मुख्य काण्डलाई ६०–७० से.मी. माथिबाट काट्नु पर्दछ र ३–५ वटा १०–१५ से.मी.को फरकमा एकनासले चारै दिशातर्फ फैलिएका हाँगाहरुलाई बढ्न दिनु पर्दछ । बिरुवाको पहिलो शुषुप्त अवस्थामा काँटछाँट धेरै महत्वपुर्ण मानिन्छ किनकी यो बेला विकास गरिने विरुवाले नै पछिसम्मको बिरुवाको आकार दिन्छ । सबैभन्दा तलको हाँगा जमिनको सतहबाट ४०–४५ से.मी. माथि हुनु पर्दछ । यसरी राखिएका सबै मुख्य हाँगाहरुबाट सहायक हाँगाहरुको विकास गर्न तिनको आधा भाग माथिबाट हटाउनु (Heading back) पर्दछ । अव दोस्रो वर्षको काँटछाँटमा प्रत्येक मुख्य हाँगाहरुमा निश्चित दुरीमा ५–७ वटा सहायक हाँगाहरु छानी अन्य अनावश्यक हाँगाहरु हटाउनु पर्दछ । तेस्रो वर्षको काँटछाँटमा बढी बाक्ला, अनावश्यक र एक आपसमा जेलिएका हाँगाहरु हटाई बिरुवाको संरचनाको पुर्ण विकास गरी बिरुवाको सबैभागमा सुर्यको प्रकाश छिर्नेगरी आवश्यक काँटछाँट गर्नु पर्दछ ।

खुर्पानीको फल स्पर (spur) मा र छेउछाउ (Lateral bearer) मा एक वर्षको हाँगामा लाग्दछ । स्परको आयु ३–४ वर्षको हुन्छ । त्यसैले नयाँ स्परको विकासका लागि नयाँ हाँगाहरुको विकास गर्नु आवश्यक हुन्छ । नयाँ र भर्खरै फल्न थालेका बोटमा हल्कामात्र काँटछाँट गर्नु पर्दछ तर धेरै वर्षका बुढा रुखमा हाँगाको बृद्धि र फलमा सन्तुलनको लागि बढी काँटछाँछ (Heavy pruning) आवश्यक हुन्छ । खुर्पानीमा फलको साइज र गुणस्तर सुधारका लागि २५–३० % एक वर्षका हाँगाहरु हटाउनु पर्दछ वा एक तिहाई भागलाई हटाउनु (Heading back) पर्दछ । काँटछाँटपछि काटेको भागमा बोर्डोपेष्ट बनाई लगाउनु पर्दछ ।

रोग व्यवस्थापन

रोगहरु

Brown rot (Monilinia laxa, Sclerotinia spp): यो रोगले खुर्पानी खेती गरिने प्रायः सबै क्षेत्रमा आक्रमण गरेको पाइन्छ । यो रोग खुर्पानी फुलेको पहिलो हप्तामा वर्षा भएमा बढी लाग्ने गर्दछ । यसले फूल र फल दुवैमा नोक्सान पुर्याउँछ । यसको नियन्त्रणका लागि १% को DNOC बोटको शुषुप्त अवस्थामा छर्नु पर्दछ । यसैगरी ०.३% को (Zineb) फलको बृद्धि अवस्थामा छर्न सकिन्छ । ०.१% को Benomyl फूल फक्रने बेलामा छरेका यसको प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिन्छ । Bordomixture ले विरुवामा असर पुर्याउने (Phytotoxicity) हुनाले स्प्रे गर्नु हुँदैन ।

Wilt (Verticillium albo-atrum)

यो रोग धेरै मात्रामा शितोष्ण क्षेत्रमा लाग्दछ । यो रोगले खुर्पानीको बोटको टुप्पो सुक्दै मर्ने (Dieback) हुन्छ । असर गरेको भागका पात झर्ने हुन्छ । सामान्य पुड्कोपना बाहेका यो रोग लाग्दा खासै बाहिरी रुपमा अन्य असर देखिंदैन । माटोमा हुने ढुशीका कारण यो रोग लाग्ने र जराबाट आक्रमण गर्ने गर्दछ । यो रोग लागि सकेपछि व्यवस्थापन गर्न कठीन हुने हुँदा रोग लाग्नै नदिने उपाय अपनाउनु पर्दछ । नयाँ बिरुवा रोप्नु अगाडि खाडललाई फर्मालिनले उपचार गर्नु पर्दछ ।

किरा व्यवस्थापन

कीराहरु

खुर्पानीमा लाग्ने विभिन्न कीराहरु मध्ये Indian Gypsy Moth (Lymantrio obfuscuta), European Red Mite (Panonychus ulni), Apricot Chalcid (Eurytoma samsonavi), Peach stem borer (Sphenoptero lafertei) मुख्य हुन् । Indian Gypsy Moth विनाशकारी कीरा हो । यसको झुसिलकीरा (Caterpillar) जुन एकदमै खन्चुवा हुन्छ र रातको समयमा नोक्सान पुर्याउँछ । बढी क्षति भएको रुखमा कीराले पात खाएर नाङ्गै बनाइदिन्छ । यसलाई नियन्त्रण गर्न यसको अण्डाको झुण्डलाई टिपेर नष्ट गने तथा रासायनिक तरिकामा साइपरमेथ्रिन कीटनाशक विषादी प्रयोग गर्न सकिन्छ । European Red Mite को व्यवस्थापनका लागि काराथियन अथवा ओमाइट भन्ने विषादी प्रयोग गर्न सकिन्छ । यसैगरी Apricot Chalcid जुन खर्पानीको अत्यन्तै हानिकारक कीरा हो र कलिलो फलमा अण्डा पारेर बच्चा निस्केपछि फलको भित्री भाग र बीयाँ खान्छ जसले गर्दा कलिला र विकसित हुँदै गरेका फलहरु झर्दछन् ।

यसको नियन्त्रणका लागि कीराले नोक्सान गरेर झरेका फलहरुलाई संकलन गरी नष्ट गर्नु पर्दछ ।  व्यवस्थापनका लागि बढी नोक्सान पुगेका हाँगाहरु हटाइ जलाउने, मार्च महिनामा बयष्क खपटे (beetle) लाई मार्ने गर्नु पर्दछ ।

बाली कटानी तथा भण्डारण

फल छाँट्ने/पत्ल्याउने (Fruit thinning)

खुर्पानीमा अत्याधिक मात्रामा फल लाग्ने र यसका कारण फलको साइज सानो हुने र वर्ष विराएर फल्ने (Biennial bearing) सम्भावना बढी हुन जान्छ । यसका लागि बढी भएका अनावश्यक फललाई हटाउनु पर्दछ जसले वर्षैपिच्छे फल्ने, हाँगा भाँचिने समस्या कम गर्ने र रुखको यथोचित बृद्धि विकासमा सहयोग पुग्छ । फल लागेको ४० दिनपछि fruit thinning गर्नु पर्दछ । अनावश्यक फललाई हातैले टिपेर वा रसायनको प्रयोग गरेर फल पत्ल्यान सकिन्छ । एउटा स्परमा २ वटा भन्दा बढी फल राख्नु हुँदैन । फल लागेको २० दिन पछि NAA को २५–५० ppm पातमा छरेर (Foliar spray) फल छाँट्न सकिन्छ ।

फलको परिपक्वता र फल टिप्ने (Fruit maturity and harvesting)

राम्रोसंग नपाक्दै फल टिपेमा फलको स्वाद मीठो हुँदैन । फल कहिले टिप्ने भन्ने कुरा यसको जात, खेती गरिएको क्षेत्र र हावापानी आदिले फरक पार्दछ । न्यू क्यासल जातको खुर्पानी मध्य पहाडी क्षेत्रमा फुल फुलेको ६४ दिनमा टिप्न तयार हुन्छ । सामान्यतया फलको TSS को आधारमा, फलको बोक्राको रंग हरियो बाट पहेंलो भएपछि, फलको गुदीको कडापन हल्का कम भएपछि टिप्न तयार भएको मानिन्छ । खुर्पानीको फल छिट्टै सड्ने (perishable) भएकोले फल टिप्दा, प्याकेजिङ्ग गर्दा र ढुवानी गर्दा विशेष ध्यान दिनु पर्दछ । फल बिहानपख टिप्नु पर्दछ र फल टिपेपछि ग्रेडिङ्ग र प्याकिङ्गको बेलामा सुर्यको घामबाट जोगाउनु पर्दछ । खुर्पानीको बोटले ५ वर्षबाट उत्पादन दिन शुरु गरी ३०–३५ वर्ष सम्म फल दिन्छ । खुर्पानीको बोटले ७–१० वर्षपछि पुरा फल दिन शुरु गर्दछ र एउटा बोटमा करिब ५०–८० के.जी. फल लाग्दछ ।

उत्पदनोप्रान्त गरिने क्रियाकलापहरु

खुर्पानीको उत्पादन उपरान्त गरिने क्रियाकलापहरु (Post harvest handling)

फल टिपेपछि प्याकिङ्ग गर्नुभन्दा अगाडी फललाई साइजको आधारमा ग्रेडिङ्ग गर्नु पर्दछ । त्यसपछि काठको बक्समा वा CFB कार्टुनमा प्याकिङ्ग गर्नु पर्दछ । खुर्पानीमा प्रत्येक फललाई Wrapping गरिंदैन । फललाई काठको बक्समा तहहरुमा मिलाएर राखी माथिबाट कागजले ढाक्नुपर्छ । खुर्पानी छिट्टै विग्रिने भएपनि तापक्रम र ८५–९५% सापेक्षिक आद्र्रतामा १–२ हप्ता सम्म भण्डारण गरी राख्न सकिन्छ । खुर्पानी चाँडै विग्रिने (perishable) र भण्डारण गरी राख्न सकिने अवधि छोटो हुने (very short storage life of fruits) भएकोले स्थानीय बजार र नजिकैका अन्य सहरहरुमा विक्रि गर्नु पर्दछ । खुर्पानीको ताजा फल विक्रि नहुने समस्या छ भने यसबाट प्रशोधित बस्तुहरु जस्तै खुर्पानीको सुकुटी (मचथ बउचष्अयत), ब्राण्डी, जाम आदि बनाएर विक्रि वितरण गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ

बालकृष्ण अधिकारी

बरिष्ठ बागवानी विकास अधिकृत