परिचय

परिचय तथा महत्व

परिचय

रुखकटरहरु उष्ण तथा उपोष्ण प्रदेशिय फल हो र यसको वैज्ञानिक नाम (Artocarpus heterophyllus) हो र यो moraceae परिवार अन्तर्गत पर्दछ । खाने फलहरुमध्ये यो सबभन्दा ठूलो फल हो र यो २० देखि ४० के.जी. तौलको हुन्छ । हालसम्म सबभन्दा ठूलो फल श्रीलंकामा रेकर्ड गरिएको छ । जसमा १२० के.जी. तौलको रेकर्ड कायम गरेको थियो । यो फल खासै स्याहार संभार बिना पनि राम्रो उत्पादन दिन सक्ने हुन्छ।

उत्पति

यो फल प्राचीन समयदेखि नै दक्षिण पूर्वी यशियामा लगाएको भएतापनि यसको खेतीको शुरुवात भारतबाट भएको मानिन्छ ।

प्रमुख उत्पादक देशहरु

यो फलको खेतीको सुरुवात् भारतमा भएतापनि अन्य प्रचलित खेती गर्ने देशहरुमा मलेशिया, ब्राजील, जमैका, म्यानमार, श्रीलंकामा, सिंगापुर पर्दछन ।

उपयोगिता

रुख कटहरको कलिलो फल र पाकेको फलको वीउ तरकारी पकाएर खाने प्रयोजनको लागि प्रयोग गरिन्छ भने फल पाकेपछि रसिलो गुदी खाईन्छ । जुन अत्यन्तै स्वादिस्ट हुन्छ । यसको बीउ भुटेर खान समेत प्रयोग गरिन्छ । कटहरको रुख ठूलो भएपछि कफी वा सुपारीजस्ता बालीलाई छहारी दिन प्रयोग गरिन्छ र मरिचको लागि बृद्धिमा सहयोगी हुन्छ । यसको पात, जरा र कलिलो फलको विशिष्ट औषधीय गुण छ जसले मधुमेह, कब्जियत, ईन्फ्लुयञ्जा र छालाको समस्या सम्बन्धी उपचार गर्न सघाउँछ ।

पौष्टिक महत्व

रुख कटहरको पाकेको फल र बीउमा प्रशस्त मात्रामा कार्बोहाईड्रेट र प्रोटिन पाउन सकिन्छ । पाकेको फल धेरै पोषिलो हुन्छ र यसमा प्रशस्त मात्रामा प्रोटिन (१.९%), एस्कर्विक एसिड, कार्बोहाईड्रेट (१९%), क्यारोटिन, फस्फोरस, क्याल्सियम, पोटासियम र फलाम पाईन्छ ।

बानस्पतिक तथा प्रजनन् गुणहरु

बानस्पतिक गुणहरु

बोट सदावहार हुन्छ र भाले तथा पोथी अङ्गहरु एउटै बोटमा हुन्छ भने बोटको उचाई १८ मिटरसम्म बढेको पाउन सकिन्छ । बोटमा जताततै दूध आउने तथा बोक्रा बाक्लो र खस्रो प्रकारको हुन्छ । पातहरु गाढा हरियो एवं चिल्लो भई अण्डाकार तथा १० देखि २० से.मी. लामो र ५ देखि १० से.मी. फराकिला खालका हुन्छन ।

प्रजनन् गुणहरु

रुखकटहरको एउटा परिपक्व फलमा १०० देखि ५०० वीउहरु हुनुका साथै फलहरु बाक्लो षटकोणाकार बोक्रा भएका र दह्रो भेट्नो सहित मुल हाँगोमा झुण्डिएका ३० देखि ९० से.मी. लामो र २५ देखि ५० से.मी. चौडा खालका हुन्छन ।

जातहरु

जातहरु

रुखकटहर आकार, बनौट, गुणस्तर र स्वादको हिसावले फरक फरक खालका हुन्छन । यसका जातहरुमा रुद्राक्षी, करुबाराका, पेन्नी बाराका, जोहारा ज्याक, सिंगापुरे र स्थानीय जातहरु राम्रा जातहरु हुन ।

आवश्यकता

हावापानी तथा माटो

रुखकटहर उष्ण प्रदेशीय फलफूल भएको कारणले गर्मी र सापेक्षिक आर्द्रता बढी भएको ठाँउमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । यसले केही कम तापक्रम र तूषारो सहन्छ र खासगरी समुन्द्री सतहबाट १२०० मिटरसम्म व्यवसायिक खेती गर्न सकिने भएतापनि समुन्द्री सतहबाट २४०० मिटरसम्म यसको खेती गर्न सकिन्छ तर माथिल्लो उचाईमा गुणस्तर राम्रो हुन सक्दैन । यसको सफल खेतीको लागि १६ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम उपयुक्त मानिन्छ । यसको लागि निकासको राम्रो प्रबन्ध भएको, गहिरो दोमट माटो, पर्याप्त चिस्यान भएको र हावाको राम्ररी सञ्चार भएको माटो अति उत्तम मानिन्छ ।

नर्सरी व्यवस्थापन

विरुवा प्रसारण विधि

विरुवा प्रसारण विधि

यसको प्रचलित प्रसारण बिधी बीउद्धारा नै हो । यस विधिमा ताजा निकालिएको वीउ पोलीव्यागमा उमारिन्छ र एक वर्षपछि रोपिन्छ । यसरी ताजा निकालिएको बीउको उमार शक्ति राम्रो हुन्छ । चोप हुने हुनाले गुटी बाँध्ने, बडिङ्ग गर्ने, कलमी गर्ने जस्ता काम गर्न कठिनाई पर्दछ । तापनि एप्रोच ग्राफ्टिंग, बडिङ्ग र गुटी बाँध्ने वानस्पतिक प्रसारण तरिका सफल मानिन्छ । यसको विजु बोट नै रुटस्टकको रुपमा प्रयोग गरिन्छ ।

जग्गा तयारी

रेखांकन र खाडल तयारी

रेखांकन र खाडल तयारी

कटहरको विरुवा वर्षातको समयमा १२ देखि १५ मिटरको दुरी कायम गरी रोपिन्छ । जहाँ कफी, मरिच जस्ता बालीलाई छहारी दिने प्रयोजनको लागि यो फल लगाईन्छ, त्यस्तो अवस्थामा रुखकटहरको लागि कुनै किसिमको गोडमेल र कृषि कर्म गरिदैन ।

यो एकल बालीको रुपमा लगाईदैन । माथी उल्लेखित दुरीमा रेखांकन गरिसकेपछि १ मीटर लम्बाई, १ मीटर चौडाई र १ मीटर गहिराईको खाडल खनी २० देखि ३० के.जी. गोबरमल, ०.५ के.जी. सिङ्गगल सुपर फस्फेट र १० देखि २० ग्राम फोरेट दाना खाडलमा राखी असार–श्रावण महिनामा माटो समेत मिसाई पुर्नुपर्दछ ।

विरुवा रोपण कार्य

विरुवा रोपण कार्य

जग्गा हेरीकन बर्गाकार, आयताकार वा षटकोणाकार आदी तरीकाबाट रेखाड्ढन गरी १२ देखि १५ मिटरको दुरीमा बिरुवा लगाउन सकिन्छ भने १ मी. ×१ मी. × १ मी. साईजको तयार भएको खाडलमा असार–श्रावणको समयमा माथी उल्लेखित दुरीमा विरुवा लगाउन सकिन्छ । बिरुवा लगाउँदा सीधा जरा भएको लगाउनु पर्दछ भने जरा चुँडिएको भएमा १ ग्राम वेभिष्टिन प्रति लिटर पानीमा मिसाई उपचार गरी लगाउन सकिन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग

रासायनिक मलको हकमा १ देखि ३ बर्षको बिरुवालाई २००:६०:० ग्रामको अनुपातमा नाईट्रोजनःफस्फोरसःपोटास प्रति वर्ष प्रति बोटका दरले, ४ देखि ६ वर्षको विरुवालाई ४००:२४०:१२० ग्रामको अनुपातमा नाईट्रोजनःफस्फोरसःपोटास प्रति वर्ष प्रति वोटका दरले र ७ वर्षभन्दा माथिका विरुवालाई ६००:३००:२४० ग्रामको अनुपातमा नाईट्रोजनःफस्फोरसःपोटास प्रति बर्ष प्रति बोटका दरले मल दिनु पर्दछ ।

अन्तरबाली

अन्तरबाली

रुखकटहर लगाएको बगैंचामा छोटो अवधीका तरकारीहरु, कोशेबालीहरु जस्तैः बोडी, गहत, मास जस्ता बालीहरु लगाउन सकिन्छ ।

सिंचाई

सिंचाई

आवश्यकतानुसार माटोको अवस्था हेरी सिंचाई दिन सकिन्छ भने मुख्यतयाः विरुवाको शुरुको अवस्थामा सिंचाईको अभाव हुन दिन हुदैन ।

रोग व्यवस्थापन

रोगहरु

काण्ड कुहिने रोग, फूलको समूह कुहिने रोग, गुलावी रोग र व्याक्टेरियल सफ्ट  रट जस्ता क्षती गर्ने रोगहरु लाग्छन ।

किरा व्यवस्थापन

किराहरु

धेरै प्रकारका कीराहरुले यस फललाई आक्रमण गर्ने भएतापनि बढी असर गर्ने कीराहरुमा टुप्पो र काण्डमा लाग्ने गबारो, खैरो घुन, मिली बग र कत्ले कीरा प्रमुख हुन जसलाई उपयुक्त सम्पर्क विष प्रयोग गरी मार्न सकिन्छ । 

बाली कटानी तथा भण्डारण

फूल फुल्ने र फल लाग्ने

रुखकटहरमा पौष महिनामा फूल फुल्न शुरु भई चैत्रसम्म जारी रहन्छ र यस फलको बोटमा भाले र पोथी दुबै अङ्ग रहेका हुन्छन् । यस फलमा मौरीबाट परसेचन गर्ने काम हुन्छ र परागसेचन एवं गर्वधारण पश्चात सोरोसिस फलको विकास हुन्छ । फूल फुलेको ९० देखि १०० दिनमा लगभग असार–श्रावणमा फल परिपक्व हुन्छ ।

बाली लिने, उत्पादन र भण्डारण

बाली लिने र उत्पादन

यो एक किसिमको पाकेपछि टिपिने फल हो ।फलमा गुलियो र मिठो बास्ना आएपछि भेट्नु शुद्ध रहने गरी फल टिपिन्छ जसमा फल हरियोबाट हल्का पहेंलो रङ्गमा परिवर्तन हुन्छ । एउटा १५ वर्षको बोटले लगभग २५० फल दिन्छ भने एउटा फलको सरदर तौल १ के.जी.देखि २० के.जी. सम्म हुन्छ ।

भण्डारण

फलहरु ५ डिग्री सेल्सियस र ८५ देखि ९० प्रतिशत सापेक्षिक आर्द्रतामा २ देखि ३ महिना भण्डारण गर्न सकिन्छ भने कोठाको तापक्रममा १ हप्ता भण्डारण गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

राजन चौंलागाईं

फलफूल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - रुखकटहर खेती प्रविधी

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं