परिचय

सामान्य वानस्पतिक चिनारी 

सामान्य वानस्पतिक चिनारी 
मसिनो बीउ हुने खाद्यान्न बालीहरू (जस्तैःकोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा, धानकोदो आदि) सबैलाई वैज्ञानिक भाषामा कोदोबाली भनिन्छ तर नेपाली भाषामा कोदो भन्नाले हातका औंलाहरू जस्तै बाला हुने र मसिना गोलाकार दाना हुने एक परम्परागत अन्नबालीलाई बुझाउँछ । घाँसे परिवार अन्तर्गत पर्ने कोदोको वैज्ञानिक नाम इल्युसिन कोराकाना (Eleusine coracana L. Gaertn.) हो । यसमा ९ जोडा द्विगुणित (AABB) केन्द्रिका रेशाहरू (२n=४x=३६) हुन्छन् । हातको औंला जस्तै देखिने बाला भएको हुँदा यसको अंग्रेजी नाम फिंगर मिलेट (Finger millet) रहन गएको हो। यो ठाडो बढ्ने र गाँज हाल्ने प्रकृतिको एक वर्षीय बाली हो जसको उचाई सामान्यतया ६० देखि ११० से.मी. सम्म हुन्छ तर जीन बैंकमा गरिएको एक अध्ययनमा ३० से.मी. देखि १८० से.मी. सम्म अग्ला कोदोका जातहरू भएको देखिएको छ । अन्य अन्न बालीको जस्तै यसको पनि गुच्छे जरा प्रणाली हुन्छ । यसको डाँठ चेप्टो हुन्छ, तर आँख्ला भने गोलाकार हुन्छन् भने पातहरू १५ देखि ४० से.मी. सम्म लामा हुन्छन् । बोटमा भएका प्रत्येक सराको टुप्पोमा जात हेरी बीउ रोपेको ५० देखि १५० दिनसम्ममा बाला निस्कन्छन् । बालाको फेदबाट २ देखि १० वटासम्म औलाहरू निस्केका हुन्छन् । बाला निस्केको ५ देखि १० दिनमा फूलहरू फुल्छन् र स्वयं सेचन भई यिनै फूलहरू दानाका रुपमा विकसित हुन्छन् । कोदोका बालाहरू जात अनुसार मुट्ठी कसिएको जस्तो, खुकुलो, फिँजारिएको र लत्रिएको गरी विभिन्न किसिमका हुन्छन् भने दानाको रङ पनि हल्का रातो, खैरो, सेतो, हल्का कालो आदि हुन्छन् ।

बालीको हालको अवस्था 

बालीको हालको अवस्था 

संसारमा कोदो मात्रको क्षेत्रफल कति छ भन्ने तथ्याङ्क उपलब्ध छैन । यसले संसारमा कोदो बाली अन्तरगत जुनेलो, बाजरा र कागुनो पछि चौथो स्थान ओगटेको छ । विश्वमा कोदो उत्पादन गर्ने प्रमुख देशहरू क्रमशः भारत, नाइजर, चीन, माली, नाइजेरिया, इथियोपिया, सुडान, बुर्किना फासो, आदि छन् भने नेपाल पन्ध्रौं नम्बरमा छ । विश्वको कुल कोदो उत्पादनको ४०% भारतमा मात्र उत्पादन हुन्छ । 

खेती गरिने क्षेत्रफल र उत्पादनको हिसाबले नेपालमा कोदो बाली धान, मकै र गहुँ पछिको चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । नेपालमा कोदो बालीको क्षेत्रफल पहिलेभन्दा घट्दो क्रममा छ । आ.व. २०७६/०७७ मा देशभर २ लाख ६२ हजार ५४७ हेक्टरमा कोदो खेती गरिएकोमा १२२२ के.जी. प्रति हेक्टरका दरले ३ लाख २० हजार ९५३ मे.टन उत्पादन भएको थियो (कृषि विकास मन्त्रालय, २०७८) । देशको कुल खाद्यान्न बालीहरुको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले ओगटेको कुल क्षेत्रफल मध्ये ९५ प्रतिशत क्षेत्रफल पहाडी भेगमा मात्रै पर्दछ । नेपालको तराई देखि समुद्र सतहबाट ३१०० मी. सम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिन्छ । नेपालका ७७ वटै जिल्लाहरुमा कोदो खेती गरिएको पाइएतापनि सबैभन्दा धेरै यसको खेती हुने जिल्लाहरुमा क्रमशः खोटाङ्ग, बाग्लुङ्ग, सिन्धुपाल्चोक, कास्की, स्याङ्गजा, गोरखा, ओखलढुंगा र सिन्धुली पर्दछन् भने सबैभन्दा थोरै क्षेत्रफलमा यसको खेती हुने जिल्लाहरुमा क्रमशः मनाङ्ग र मुस्ताङ्ग पर्दछन् ।

महत्व तथा विशेषता 

महत्व तथा विशेषता 
प्रायःजसो सीमान्त जग्गामा खेती गरिने कोदो बालीले देशको खाद्य तथा पोषण सुरक्षामा ठुलो योगदान पुऱ्याएको छ । धेरैजसो कुहाएर जाँड, रक्सी जस्ता मादक पदार्थ बनाउन प्रयोग हुने, पुजाआजा तथा व्रतमा नचल्ने, जुठो तर भुत-प्रेत मन्साउन प्रयोग हुने भएकोले कोदोलाई कुअन्न भनिएता पनि खाद्यान्नको रुपमा नेपालमा कोदोको धेरै ठुलो महत्व रहेको छ । कोदो एक पौष्टिकताले भरपुर खाद्यान्न बाली हो । कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ भने चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ । १०० ग्राम कोदोबाट सालाखाला ७६.३ ग्राम कार्बोहाइड्रेट, ९.२ ग्राम प्रोटिन, २.२ ग्राम खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३६० मिलिग्राम क्याल्सियम, २५४ मिलिग्राम फस्फोरस, ७.४ मिलिग्राम फलाम र ३३३ किलो क्यालोरी उर्जा प्राप्त हुन्छ । कोदोमा दुधमा जस्तै मिथायोनिन र सल्फरयुक्त एमिनो एसिड पनि पाइन्छ। कोदोको उपयोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । कोदोको नियमित सेवनबाट हुर्कंदो उमेरका बालबालिका, गर्भवती महिलाका साथै मधुमेह र उच्च रक्तचापका बिरामीलाई समेत फाइदा पुग्छ । अन्नको अलावा कोदोको नल पनि गाईभैसीको लागि अति पोषिलो हुन्छ जसमा ३.८% प्रोटिन र ८.६% खनिज पदार्थ पाइन्छ । 
कोदो बाली कम वर्षा हुने, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चित दुबै अवस्थामा उब्जिन सक्ने भएकोले यस बालीको आर्थिक महत्व छ । कोदोले चौथो खाद्यान्न बालीको हैसियतले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुऱ्याइ रहेको छ । कोदोमा अन्य बालीको तुलनामा कम लागतमै उत्पादन लिन सकिन्छ । कोदोलाई राम्ररी सुकाएर धेरै वर्षसम्म भण्डारण गर्न सकिन्छ, जसले गर्दा जुनसुकै बेला खाद्य संकट आइपर्दा यसलाई प्रयोग गर्न सकिन्छ । नेपालका ७७ जिल्लामध्ये ३७ जिल्ला खाद्य असुरक्षित जिल्लामा पर्दछन् । नेपालका दुर्गम पहाडी भेगहरुमा धान उत्पादन हुन नसक्नु, बाहिरबाट ढुवानी गरेर चामल लैजान ज्यादै कठिन हुनाले भोकमरीको समस्या व्याप्त छ। स्थानीय स्तरमै उब्जनी हुने कोदोले सो समस्या केही हदसम्म भएपनि समाधान गरेको छ । जलवायु परिवर्तन सँगै भित्रिएका विश्वव्यापी समस्याहरू जस्तै खडेरी, सुख्खा, अतिवृष्टि, नयाँ नयाँ रोग र कीराहरू आदिबाट धान, मकै, गहुँ जस्ता प्रमुख खाद्यान्न बालीहरुले जुध्न नसकिरहेको अवस्थामा कोदो बालीले सानो लगानीबाट प्रतिकूल अवस्थामा पनि नियमित उत्पादन दिने हुनाले यसलाई जलवायु अनुकूलित बालीको रुपमा प्रयोग गर्न सकिन्छ । 
नेपालका आदिवासी जनजाति समुदायहरुमा कोदोको साँस्कृतिक महत्व पनि रहेको छ । चाडपर्व तथा पुजाआजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग हुने गर्छ । नेपालको पर्यटन प्रबर्द्धनको लागि कोदोको ढिंडो, सेलरोटी, उच्च गुणस्तरको कोदोको जाँड रक्सी र स्थानीय कुखुराको मासु हरेक घरबास (Homestay) मा पाइने अनिवार्य परिकार बनिसकेको छ।
 

कोदोको प्रयोग 

कोदोको प्रयोग 
नेपालमा कोदोलाई प्राचिन कालदेखि नै खाद्यान्नको रुपमा प्रयोग गरिएको पाइन्छ । कोदोलाई राम्ररी फलेर भुस उडाइ सकेपछि जाँतोमा पिसेर पिठो बनाइन्छ । यही पिठोबाट ढिंडो, रोटी, पुवा र खोले लगायतका परम्परागत परिकारहरू तयार गरिन्छन् । यसको ढिँडो कडा परिश्रम गर्ने श्रमजीवीहरुको पहिलो रोजाईको खाना हो । कोदोको दाना भुटेर अन्य अन्न र गेडागुडीसँग मिसाएर सातु पनि बनाउन सकिन्छ । कोदोबाट केक, पाउरोटी, बिस्कुट, कुकिज, नमकिन, पफ, डोनट, चाउमिन जस्ता आधुनिक परिकारहरू पनि बन्दछन् । आजकल काठमाण्डौ र पोखरा जस्ता मुख्य सहरका बेकरीहरुले कोदोका विविध परिकारहरू उत्पादन गरी बेच्ने गरेको पाइन्छ । यसबाट स्थानीय स्तरमै उच्च गुणस्तरको घरेलु मदिरा (रक्सी, जाँड, छ्याङ्, तोड्वा आदि) बनाइन्छ । कोदोको हरियो तथा सुकेको नल राम्रो पशु आहाराको रुपमा प्रयोग गरिन्छ भने दाना एवं कट (रक्सी बनाइसकेपछि निस्केको छोक्रा) लाई पकाएर दुधालु गाईभैंसी तथा जोत्ने गोरुलाई कुँडो बनाएर खुवाउने चलन छ। कोदो चुटेपछि निस्केको भुस तकिया बनाउन तथा मलखादमा प्रयोग गर्न सकिन्छ । 
 

हावापानी र माटो

हावापानी र माटो

हावापानी 
कोदो वर्षायाममा खेती गरिने बाली हो तसर्थ यसले न्यानो हावापानी मन पराउँछ । नेपालको तराई (६० मी.) देखि उच्च हिमाली क्षेत्र (३१०० मी.) सम्म सफलतापूर्वक कोदो खेती गरिएको पाइन्छ । कोदो सिञ्चित वा असिञ्चित दुवै अवस्थामा उब्जाउन सकिन्छ । यसले सुख्खा सहन सक्ने भएकोले सिँचाई सुविधा नभएको कम उर्वर जग्गामा पनि कोदो लगाउने गरेको पाइन्छ । सिँचाईको सुविधा भएमा यसको उब्जनीमा निकै वृद्धि हुन्छ । वार्षिक ५० देखि २०० से.मी. वर्षा हुने क्षेत्रहरू कोदो खेतीका लागि बढी उपयुक्त हुन्छन् । ५०० से.मी. भन्दा अधिक वर्षा र ८०% भन्दा धेरै आर्द्रता भएमा कोदोमा विभिन्न किसिमका रोगहरुले सताउने गर्दछन् । कोदो उम्रन र उचित वृद्धि विकासको लागि २०-२५ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । फूल फुल्ने बेलाको न्युनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा कम भएमा बाला ननिस्कने वा निस्के पनि दाना नलाग्ने हुन्छ भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियस भन्दा धेरै भएमा पनि परागकणहरू सुकेर सेचन हुन सक्दैन र बाला भुस्सिने हुन्छ।

माटो 
कोदो खेती रुखो देखि ज्यादै मलिलो माटोमा पनि गर्न सकिन्छ । यसका लागि राम्रो जल निकास भएको दोमट वा चिम्टाइलो दोमट माटो राम्रो हुन्छ । पहाडमा बलौटे र रातो माटोमा पनि कोदो खेती गरिन्छ तर ढुङ्गयान वा पत्थरिलो माटो कोदो खेतीको लागि उपयुक्त हुँदैन । अन्य बालीको तुलनामा बढी क्षारीयपन सहन सक्ने हुँदा ५-८.५ सम्म पि.एच. भएको माटोमा कोदो खेती गर्न सकिन्छ। कोदो उम्रनको लागि माटोमा पर्याप्त मात्रामा चिस्यान हुनु अति आवश्यक हुन्छ ।
 

जातहरु

जातहरु 

जातहरु 
खुमलटार स्थित राष्ट्रिय जीन बैंकमा ९५० भन्दा बढी कोदोका स्थानीय जातहरू संरक्षण गरिएको छ भने अनुसन्धानबाट ५ वटा विकासे जातहरू सिफारिस गरिनुका साथै एउटा रैथाने जात दर्ता भएको छ । हाम्रा स्थानीय जातहरुमा बालाको आकार, बीउको रंग, पाक्ने समय, बोटको उचाई आदिमा विविधता पाइन्छ । दानाको आधारमा सेतो कोदो, रातो कोदो, कालो कोदो आदि मुख्य छन् भने पाक्ने महिनाको आधारमा असोजे कोदो, कात्तिके कोदो, भदौरे कोदो, मंसिरे कोदो आदि छन् । बालाको आकार अनुसार मुड्के कोदो, डल्ले कोदो, लाफ्रे कोदो, घुम्रे कोदो आदि छन् भने नेपालमा खेती हुने अन्य प्रमुख स्थानीय जातहरुमा नंग्रे कोदो, चुल्ठे कोदो, च्याल्से कोदो, लुर्के कोदो, नंगकटुवा कोदो, पाउंदुरे कोदो, सानो कोदो, ठुलो कोदो, तेमासे कोदो, सम्धी कोदो आदि छन् । 
नेपालमा २०२९ सालदेखि कोदोको जातीय सुधार कार्यक्रम सुरू भएको हो । बढी उत्पादन दिने, नढल्ने, रोग अवरोधी, सबै बालाहरू एकै समयमा पाक्ने, चुट्दा दाना सजिलै झर्ने र उच्च पौष्टिक गुणस्तर भएका कोदोका जातहरू अनुसन्धान गरी विकास भएका छन्। नेपालको विभिन्न क्षेत्रका लागि सिफारिस गरिएका कोदोका उन्नत जातहरू र तिनका गुणहरू तल तालिकामा दिइएको छ ।

जात

महत्वपूर्ण गुणहरु

चित्र

ओख्ले-१

खुल्ला तथा ठाडा बाला, टुप्पा घुम्रिएका औंलाहरु, प्रति बाला औंलाको संख्याः ६.६, हल्का रातो रंगको दाना, बोटको औसत उचाईः ८० से.मी., फूल फुल्ने अवधिः १००-१४० दिन, पाक्ने अवधिः १५४-१९४ दिन, औसत उत्पादनः ३.३ टन/हेक्टर, सुख्खा सहने, नढल्ने, औंला र घाँटीको मरुवा रोग तथा पात थोप्ले रोग नलाग्ने; मध्य तथा उच्च पहाडको लागि उपयुक्त, ओखलढुंगा जिल्लाको स्थानीय जातबाट छनौट गरी वि.सं. २०३७ मा सिफारिस गरिएको ।

okhle

 

डल्ले-१

मुट्ठी जस्तै कसिलो, सानो बाला, बालाको फेदमा अतिरिक्त औंला, प्रति बाला औंलाको संख्याः ६, गाढा खैरो रंगको दाना, बोटको औसत उचाईः ११० से.मी., फूल फुल्ने अवधिः ८० दिन, पाक्ने अवधिः १२५-१५० दिन, औसत उत्पादनः ३.३ टन/हेक्टर, १००० दानाको तौलः ३.१ ग्राम, सुख्खा सहने, नढल्ने, धेरै वर्षा हुने स्थानमा मरुवा तथा थोप्ले रोग सम्वेदनशील, तराई तथा तल्लो पहाडको लागि वि.सं. २०३७ सालमा सिफारिस गरिएको

dalle

 

काब्रे कोदो-१

खुल्ला तथा ठाडा बाला, प्रति बाला औंलाको संख्याः ६-७, हल्का रातो खैरो रंगको दाना, बोटको औसत उचाईः १००-११४ से.मी.. फूल फुल्ने अवधिः ९७-११५ दिन, पाक्ने अवधिः १५१-१६२ दिन, औसत उत्पादनः २-४ टन/हेक्टर, १००० दानाको तौलः २-३ ग्राम, सुख्खा सहने, नढल्ने, औंला तथा घाँटीको मरुवा रोग अवरोधी, पात थोप्ले रोग अवरोधी, मध्य तथा उच्च पहाडको लागि वि.सं. २०४७ सालमा सिफारिस

kabre

 

काब्रे कोदो-२

खंदिला बाला, प्रति बाला औंलाको संख्याः ६. हल्का खैरो रंगको दाना, बोटको औसत उचाईः ९१ से.मी., औंलाको औसत लम्बाईः ४.५ से.मी., फूल फुल्ने अवधिः १०२ दिन, पाक्ने अवधिः १५३ दिन, औसत उत्पादनः २.५३ टन/हेक्टर, १००० दानाको तौलः ३ ग्राम; सुख्खा सहने, नढल्ने, औंला तथा घाँटीको मरुवा रोग कम लाग्ने, पात थोप्ले रोग अवरोधी; तल्लो तथा मध्यपहाडको लागि वि.सं. २०७२ सालमा सिफारिस गरिएको

kabre2

 

शैलङु कोदो-१

खँदिला बाला, भित्रपट्टि घुम्रेका औलाहरू, प्रति बाला औंलाको संख्याः ६-७, गाढा खैरो रंगको दाना, बोटको औसत उचाईः १०० से.मी.. औंलाको औसत लम्बाईः ५.२ से.मी.. फूल फुल्ने अवधिः १०४ दिन, पाक्ने अवधिः १५५ दिन, औसत उत्पादनः २.४९ टन/हेक्टर, १००० दानाको तौलः २.८ ग्राम; नढल्ने, औंला तथा घाँटीको मरुवा रोग अवरोधी, पात थोप्ले रोग अवरोधी; उच्च पहाडको लागि वि.सं. २०७२ सालमा सिफारिस गरिएको

saulang

 

जुम्ली रातो कोदो

खँदिला बाला, भित्रपट्टि घुम्रेका औंलाहरू, हल्का रंगको दाना, बोटको औसत उचाईः १०० से.मी., औंलाको औसत लम्बाईः ४-५ से.मी., फूल फुल्ने अवधिः ११० दिन, पाक्ने अवधिः १५० दिन, औसत उत्पादनः २.५ टन/हेक्टर, सुख्खा तथा चिसो सहने, नढल्ने, औंला तथा घाँटीको मरुवा रोग अवरोधी, पात थोप्ले रोग अवरोधी, उच्च पहाड र हिमाली क्षेत्रका लागि जुम्लाको स्थानीय रैथाने जातबाट सुधार गरी वि.सं. २०७७सालमा पञ्जिकरण गरिएको

julmi

 

बाली चक्र

बाली चक्र 

बाली चक्र 

कोदो बालीलाई स्थान अनुसार एकल, मिश्रित, घुसुवा वा अन्तरबालीको रुपमा खेती गरिन्छ । तराई र मध्य पहाडमा कोदोपछि आलु, केराउ, मुसुरो, चना, गहुँ, जौ, तोरी, सर्सियूँ, आलस वा हिउँदे तरकारीहरू लगाउन सकिन्छ । भौगोलिक अवस्था, खेती प्रणाली र सामाजिक अवस्थाले कोदो खेतीको बालीचक्रमा अन्तर ल्याउँछ । समुन्द्र सतहबाट ६०० मि. उचाई सम्मको तराई तथा भित्री मधेशमा कोदो-धान, मकै-कोदो-गहुँ, मकै-कोदो-तेलबाली आदिको बाली चक्र अपनाउन सकिन्छ भने समुन्द्र सतहबाट ६००-२००० मि. उचाईसम्मको मध्य पहाडमा कोदो मकै-गहुँ/तेलबाली, कोदो+मकै-खाली, कोदो-गहुँ/तेलबालीको बाली चक्र अपनाउन सकिन्छ । समुन्द्र सतहबाट २००० मि. भन्दा माथिको उच्च पहाडी तथा हिमाली क्षेत्रमा भटमास+कोदो-गहुँ/जौ, कोदो-जौ-फापर/लट्टे, कोदो-आलु-गहुँ/जौ (२ वर्षे चक्र) वा कोदो+लट्टे-फापर लगाउन सकिन्छ भने मिश्रित वा अन्तरबालीका रुपमा कोदोसँग मकै, लट्टे, जुनेलो, कागुनो, वर्षे तेलहन वा दलहन बालीहरू लगाउन सकिन्छ ।

खेति प्रणाली

जमिनको तयारी र मलखाद

जमिनको तयारी

कोदो रोप्नका लागि जमिनको तयारी राम्रोसँग गर्नुपर्छ, माटो बुर्बुराउँदो र झारपात रहित तुल्याउनु आवश्यक छ । सामान्यतया नेपालमा मकैमा घुसुवा बालीको रुपमा कोदो लगाइने स्थानमा मकै बाली भित्र वा तल्लो पहाडी क्षेत्रमा मकै भाँचेपछि कोदालीले माटो पल्टाएर झारपात सफा गरेपछि कोदोको बेर्ना रोप्ने प्रचलन छ । तर एकल बालीको रुपमा कोदो खेती गर्न हलो वा ट्रयाक्टरले एक दुई पटक राम्ररी जोतेपछि डल्ला फोरेर, झारपात हटाई जमिनको तयारी गर्नुपर्छ । सामान्यतया कोदोको बेर्ना रोप्न माटो धेरै मसिनो र मिहिन बनाउन पर्दैन तर कोदोको छरुवा खेतीको लागि मसिनो माटो नै उपयुक्त हुन्छ । कोदो खेती गरिने जमिनमा पानी जम्न नदिन निकासको राम्रो प्रबन्ध मिलाउनु पर्छ ।

मलखाद

पहाडी क्षेत्रमा कोदो प्रायः असिञ्चित जग्गामा उब्जाइन्छ । असिञ्चित अवस्थामा माटोमा चिस्यान संरक्षण गर्न प्राङ्गारिक मलहरुले महत्वपूर्ण भूमिका खेल्छन् । जमिनको तयारी गर्ने बेलामा १००-२०० क्वी. प्रति हे. दरले राम्ररी पाकेको गोठेमल वा कम्पोष्ट मल प्रयोग गर्नुपर्छ । प्राङ्गारिक मल हाल्नाले माटोको जलधारण क्षमता बढ्छ । रासायनिक मलहरुले कादोको उब्जनी बढाउन मद्दत गर्छन् । रासायनिक मल कति हाल्ने भन्ने कुरा कोदोको जात, माटोमा प्रांगारिक पदार्थ, बाली लगाउने तरिका आदिले फरक पार्दछ । माटो जाँचका आधारमा माटोमा अपुग खाद्यतत्वहरू मात्र सन्तुलित मात्रामा दिनु उत्तम मानिन्छ । माटो विश्लेषणको नतिजा उपलब्ध नभएमा सिञ्चित वा पर्याप्त वर्षा हुने क्षेत्रमा ४५:३०:२० के.जी. नाइट्रोजन, फस्फोरस र पोटास मल प्रति हेक्टरका दरले दिनुपर्छ । नाइट्रोजनको आधा भाग तथा फस्फोरस र पोटासको पुरै भाग जमिनको अन्तिम तयारीको बेलामा राखुपर्छ भने बाँकी आधा नाइट्रोजनलाई पहिलो गोडाइको बेलामा दिनुपर्छ । असिञ्चित जमिनमा माथि भनिएको मलको मात्रा एक तिहाइले घटाउन सकिन्छ।

बाली लगाउने समय र बीउको दर

बाली लगाउने समय

कोदो छर्ने समयमा माटोमा बीउ उम्रन सक्ने चिस्यान हुनु आवश्यक हुन्छ भने वेर्ना रोप्ने समयमा माटोमा प्रशस्त चिस्यान जरुरी हुन्छ । खासगरी असिञ्चित क्षेत्रमा समयमा मनसुन सुरू हुनासाथ नै कोदो रोप्ने गर्नुपर्छ । तराईदेखि मध्य पहाडी भेगसम्म छरुवा वा पाउँदुरे कोदो वैशाखमा छरिन्छ भने रोप्ने कोदो व्याडमा वेर्ना तयार गरी मध्य तथा उच्च पहाड (१०००-२००० मी.) मा जेठ-असारमा तथा तराई वा तल्लो पहाड (१००० मी. सम्म) मा असार-साउनमा रोपिन्छ । उच्च पहाडी भेगमा भने चैत्र-वैशाखमा कोदो छर्ने गरिन्छ ।

बीउको दर र रोप्ने तरिका

छरुवा तरिकाले खेती गर्दा प्रति हेक्टर १० के.जी. र बेर्ना रोप्दा ६ के.जी. का दरले कोदोको बीउ प्रयोग गर्नुपर्छ । व्याड राखे तरिका धानको धुले व्याड राखे जस्तै हो । बीउलाई सुख्खा माटोमा या वालुवामा मिसाई छर्न सकिन्छ । बीउ छर्नुभन्दा पहिले भाईटाभ्याक्स २.५ ग्राम प्रति के.जी. बीउका दरले बीउ उपचार गरेमा ढुसीजन्य रोगहरुबाट बच्न सकिन्छ । छरुवा तरिकाले रोप्दा बीउ समान रुपले वितरण हुने र बीउ करिब ३ से.मी. गहिराईमा पर्ने गरी छर्नुपर्छ भने लाइनमा रोप्दा लाइन-लाइनको दुरी २०-२५ से.मी. कायम गरी ३-४ से.मी. गहिराईमा बीउ छर्नुपर्छ । पछि लाइनमा बाक्लो उखेका बिरुवाहरू उखलेर छाँटी बोटदेखि बोटको दुरी १० से.मी. कायम राखुपर्छ। यो विधिमा बीउदर कम लाग्छ, बीउ समान गहिराईमा रोप्न सकिन्छ र गोडमेल गर्न सजिलो हुन्छ । मनसुन ढिला सुरू हुने वा अन्य कारणले कोदो रोप्न ढिला हुने परिस्थितीमा कोदोको वेर्ना रोप्ने तरिका (रोपुवा खेती) लाभदायक हुन्छ । बेर्ना सारेर रोपेको कोदो खेतीबाट सोझै बीउ छरेको भन्दा बढी उब्जनी हुन्छ । रोपुवा खेतीका लागि ठाउँ अनुसार वैशाखको मध्यदेखि जेठको अन्तिमसम्ममा व्याड राखुपर्छ । पर्याप्त चिस्यान उपलब्ध हुने ठाउँमा मात्र कोदोको बेर्ना रोप्न सकिन्छ । तराई, भित्रीमधेश र बेसी टारमा कोदोका बेर्ना २५-३० दिनको भएपछि रोप्न उपयुक्त हुन्छ । बढी उमेरका बेर्ना रोप्दा उब्जनी कम हुन्छ । पहाडी क्षेत्रमा ३५-४० दिनसम्मका बेर्ना रोप्न सकिन्छ । बेर्ना उखेल्नु पूर्व व्याडमा सिँचाई दिनुपर्छ र कुटोको सहायताले डाँठ र जराहरू नचुँडिने गरी उखेल्नु पर्छ । राम्ररी खनजोत गरेर तयार गरेको प्रशस्त चिस्यान भएको माटोमा बेर्ना रोप्नुपर्छ । बेर्ना रोप्दा लाइन-लाइनको दुरी २० से.मी. र बोट-बोटको दुरी १० से.मी. कायम गरी २-३ से.मी. को गहिराईमा पानी परिरहेको वा घाम नचर्केको दिनमा रोप्नु राम्रो हुन्छ।

सिँचाई र गोडमेल

सिँचाई

वर्षाको पानी उपलब्ध नभएको ठाउँमा बेर्ना सारेको तेस्रो दिनमा सिँचाई दिनु जरुरी हुन्छ र सारेको बिरुवाहरू राम्ररी स्थापित नहुन्जेलसम्म आवश्यकतानुसार सिँचाई दिनु उपयुक्त हुन्छ । कोदो एक सुख्खा सहन सक्ने र वर्षे बाली पनि भएकोले यसलाई सामान्यतया सिँचाईको आवश्यकता पर्दैन । तर यदि लामो समयसम्म खडेरी परेमा वा जमिन निकै सुख्खा छ भने सरा गँजाउने वा गाँज हाल्ने र फूल फुल्ने बेलामा सिँचाई दिंदा बालीको उत्पादनमा वृद्धि हुने देखिन्छ । तर कोदो बालीमा पानी जम्न नदिने गरी निकासको व्यवस्था गर्नु जरुरी हुन्छ ।

गोडमेल

पाखो बारीमा एकल वा मिश्रित बालीको रुपमा कोदो खेती गर्दा बालीको प्रारम्भिक अवस्थामा नै झारपात नियन्त्रणको लागि गोडमेल जरुरी हुन्छ । कोदो बालीमा झार नियन्त्रणका दृष्टिले कोदो रोपेदेखि ६० दिनको अवस्था ज्यादै संवेदनशील हुन्छ । वर्षेबाली भएकोले कोदो बाली भित्र झारको प्रकोप निकै हुन्छ । समयमा झारपात नियन्त्रण गरिएन भने उत्पादनमा कमी हुन्छ । बाली विज्ञान महाशाखा खुमलटारमा गरिएको परीक्षणको नतिजाले व्युटाक्लोर झारनाशक विषादी १.५ लिटर प्रति हेक्टरका दरले छर्कदा झारपात नियन्त्रणमा असरदार देखिएको छ । झारपात व्यवस्थापन गर्ने सबैभन्दा सरल उपाय गोडमेल नै हो। रोपेको ३० दिनभित्र पहिलो पटक र त्यसपछि आवश्यकता अनुसार गोडमेल गर्नुपर्छ । पंक्तिमा रोपेको बाली गोडमेल गर्न सजिलो हुन्छ। समयमै गोडमेल गरिएमा मुसा तथा रोगको प्रकोप पनि कम हुन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

रोग र कीरा

कोदो बालीमा रोग र कीराले उल्लेख्य क्षति पुऱ्याउँछन् तर किसानहरुले रोग कीराको व्यवस्थापनमा त्यति ध्यान दिएको पाइन्न । कोदो बालीमा लाग्ने मुख्य मुख्य रोग तथा कीराहरु, पहिचान वा क्षतिको लक्षण र तिनको व्यवस्थापनका उपायहरू निम्नानुसार दिइएको छः

मरुवा रोग (Blast)

मरुवा कोदो बालीको सबैभन्दा महत्वपूर्ण ढुसीजन्य रोग हो । पाइरिकुलेरिया ग्रिसी भन्ने वीउजन्य जीवाणुको कारणले लाग्ने यो रोगले कोदोको पात, घाँटी र औलाहरुमा नोक्सान पुऱ्याउँछ । कम तापक्रम, उच्च आद्रता (७० प्रतिशत भन्दा बढी) र नाइट्रोजन बढी भएमा मरुवा रोगले उग्ररुप लिन्छ । यो रोग बालीको कुनैपनि वृद्धि अवस्थामा लाग्न सक्छ । व्याडमा बेर्नाहरुमा या खेतमा रोपेको बिरुवामा पनि लाग्न सक्छ तर दानामा दुध भरिने अवस्थाभन्दा अघि नै यो रोग देखिएमा उत्पादनमा धेरै क्षति पुग्दछ । यो रोग लागेपछि पातको सतहमा आँखा आकारका दागहरू देखा पर्छ । दागको किनारा पहेंलो र मध्य भाग खरानी हरियो रङ्गको हुन्छ र पछि दागको विच भागमा सेतो खरानी रङ्गको हुन्छ । डाँठमा संक्रमण पुगेपछि आँख्लाको दुवैतिर कालो हुन्छ । यो रोगको लक्षण बिरुवाको बाला, औंला र घाँटीमा कालो हुनु हो। संक्रमित बालामा भुस मात्र बढी हुने र दानाहरू चाउरिएका हुन्छन् । यसको व्यवस्थापनको लागि रोग अवरोधक जातहरू तथा स्वस्थ बीउमात्र रोप्ने, बीउ रोप्नुपूर्व क्याप्टान/कार्बेन्डाजिम २.५ ग्राम/के.जी. बीउका दरले उपचार गरेर मात्र बीउ रोप्ने, खेतमा रोपिसकेपछि रोगको आक्रमण भएमा ढुसीनाशक विषादी १५ दिनको फरकमा एक दुईपटक छर्ने, रोगग्रस्त बालीबाट बीउ नलिने जस्ता उपायहरू अपनाउन सकिन्छ ।

थोप्ले रोग (Leaf spot)

यो कोदोबालीको दोस्रो महत्वपूर्ण रोग हो जुन सर्कोस्पोरा इलिउसिन भन्ने ढुसीको कारणले लाग्दछ। यो रोग लागेपछि पातमा आयताकार, बाटुला वा अनियमित आकारका पृथक पृथक थोप्लाहरू देखा पर्छन् । बाली पाक्ने अवस्थातिर बोटको पुराना पातहरुमा यो रोगले निकै आक्रमण गर्दछ । यसको रोकथामका लागि कार्बेन्डाजाम ०.०५ प्रतिशत आधा ग्राम प्रति लिटर पानीमा मिसाई रोगको तिव्रताको आधारमा १०-१५ दिनको फरकमा छर्नुपर्छ ।

पाते फेद डढुवा रोग (Sheath blight)

डढुवा रोग राइजोक्टोनिया सोलानी भन्ने ढुसीको कारणले लाग्दछ । २८-३० डि.से. तापक्रम तथा ७०% भन्दा बढी आर्द्रता भएमा यो रोगले उग्ररुप लिन्छ । यो माटोजन्य रोग हो । वर्षायाममा यो रोगका जीवाणुहरू सक्रिय हुन्छन् । यो रोग नेपालमा पहिलोपटक सन् २०१५ मा पोखरामा भेटिएको हो । यो रोग लागेको बोटको पातको फेदमा अण्डाकार वा अनियमित आकारका हल्का देखि गाढा खैरो रङ्गका थोप्लाहरू देखा पर्छन् । रोग बढ्‌दै जाँदा थोप्लाको बीचमा सेतो वा पराले रङ्गका धब्बाहरू विकसित भई पुरै पातको फेदसम्म डढेको देख सकिन्छ । यस रोगको व्यवस्थापनको बारेमा अनुसन्धान भइरहेको छ । सन्तुलित मलखाद दिएर बिरुवाहरू बलिया र स्वच्छ बनाउने, गोडमेल गर्दा बिरुवामा घाउचोट नलगाउने तथा निकासको राम्रो व्यवस्था मिलाउने गरेमा यो रोगको प्रकोप कम गर्न सकिन्छ ।

 

गबारो कीराहरू (Stem borers)

कोदो बालीमा गुलाबी गबारो र धर्के गबारोको प्रकोप हुन सक्छ । डाँठमा लाग्ने गुलाबी गवारोको रात्रीचर पुतली पराले रङ्गको हुन्छ र यसका अघिल्ला पखेटामा खैरा रङ्गका गाढा खैरा धर्सा हुन्छन् र पछिल्ला पखेटा सेता हुन्छन् । पोथी पुतलीले पातको फेदको भित्रपट्टी गुच्छामा फूल पार्छ । लाभ्रे करिब २ से.मी. लामो र गुलाबी रङ्गको हुन्छ । लाभ्रेले डाँठलाई छेडी भित्र पसी गुबोलाई खान्छ । बालीको वृद्धि अवस्थामा आक्रमण भएमा बालीको वृद्धि रोकिन्छ वा गाँज कम निस्कन्छ भने बालीको पछिल्लो अवस्थामा आक्रमण भएमा सेतो बाला (White head) निस्कन्छ र बाला सुक्छ । यसको व्यवस्थापनको लागि कीराको आक्रमण थोरै मात्र विरुवामा भए गुभो मरेका बिरुवाहरू उखेलेर नष्ट गर्ने, राम्रोसँग गोडमेल वा बारीको सरसफाई गर्ने, कीराको प्रकोप धेरै भएको खण्डमा नयाँ विषादी फर्टेरा (०.४% दानेदार) ३०-४० के.जी. सक्रिय पदार्थ प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्ने जस्ता उपायहरू अपनाउन सकिन्छ ।

खुझे कीरा (White grubs)

काँचो गोबरमा हुने चिल्लो गाढा खैरो खपटेको लार्भा नै खुस्रे कीरा हो । सेतो रङ्गका यी खुस्रेहरू माटोमुनि लुकेर अंग्रेजी सी आकारमा बसेका हुन्छन् । यिनले कलिला विरुवाहरुको जरा खान्छन् र बिरुवाहरू पंहेलिएर सुक्छन् । यिनले प्रौढ बिरुवाहरुमा पनि क्षति गर्न सक्छन् । यसको व्यवस्थापनको लागि कीराको आक्रमण थोरै मात्र भएमा पहेंलिएका बिरुवाहरू उखेलेर फेदमा भएका खुनेहरुलाई खोतलेर मार्ने, माटोमा चिउरी वा निमको पिना प्रयोग गर्ने, रोप्नु अघि डर्सबान (१०% दानेदार) कीटनाशक विषादी २० के.जी. प्रति हेक्टरका दरले माटो उपचार गर्ने वा क्लोरोपाईरिफस (२० ई.सी.) २.५ देखि ५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्ने, राम्ररी पाकेको गोबर मल वा कुहिएको कम्पोष्ट मल मात्र प्रयोग गर्ने आदि उपायहरू अपनाउन सकिन्छ ।

कोदोखेतीमा अन्य समस्या र व्यवस्थापन

कोदोखेतीमा अन्य समस्या र व्यवस्थापन

मुसा

अन्य अन्नबालीमा जस्तै कोदो बालीमा पनि मुसाले दुख दिन्छ । बाली पाक्न थालेपछि मुसाले बाला काटेर लैजान्छ । यसको व्यवस्थापनको लागि झारपात तथा ठुटाठुटिहरू हटाई खेतबारीको सरसफाई गर्ने, धेरै छिटो वा धेरै ढिलो पाक्ने खालका जातहरू नलगाउने, मुसाको प्वालहरू टाल्ने, खन्ने तथा नष्ट गर्ने साथै मुसाको प्रकोप धेरै नै भएमा विषयुक्त चाराको प्रयोग गरेर मुसा नियन्त्रण पनि गर्न सकिन्छ ।

बाँदर तथा अन्य जङ्गली जनावरहरु

कोदो बालीलाई बाँदर, मृग, दुम्सी लगायत अन्य जंगली जनावरहरुले पनि दुख दिन्छन् । यसको व्यवस्थापन त्यति सहज नभएता पनि हालै विकसित बाँदर धपाउने यन्त्रको प्रयोग गर्न सकिन्छ भने गाउँले मिलेर हेरालुको पनि व्यवस्था गर्न सकिन्छ । दुम्सी जस्ता रात्रीचर जनावरहरुको लागि राति कुरेर पनि जनावर धपाउन सकिन्छ ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

बाली भित्र्याउने समय

बाली भित्र्याउने समय

खेती गरिएको स्थान र लगाइएको जात अनुसार रोपेको ४-५ महिनामा अथवा बाला निकालेको ४०-४५ दिनमा कोदो बाली भित्र्याउनको लागि तयार हुन्छ । तराई र भित्री मधेशमा भन्दा उच्च पहाडमा पाक्ने अवधि बढी हुन्छ । उपयुक्त समयमा रोपेको कोदो बाली तराईमा असोज तेस्रो सातामा र पहाडमा कार्तिक दोस्रोदेखि मंसिर दोस्रो सातासम्ममा परिपक्व हुन्छ । काट्‌ने बेला भएपछि कोदोको बालामा भएका औंलाहरू खुम्रिएर खैरो रङ्गका भएका हुन्छन् । दानामा भुस गाढा खैरो देखिन्छ । पाकेका दानाहरू कडा हुन्छन् भने दानाको चिस्यान २०-२५% को हाराहारीमा रहेको हुन्छ ।

नेपालमा दुई तरिकाबाट कोदो कटानी गरिन्छ । कतै हँसियाले कोदोको बाला काटिन्छ र थैला वा डोकोमा लगेर ४-५ दिनसम्म गुम्साएर राखेपछि लठ्ठीले चुटेर, खाली खुट्टाले माडेर, मुंग्रोले चुटेर वा गोरुले दाइँ गरेर कोदो झारिन्छ । त्यसपछि नल जमिनको सतह नजिकबाट काटिन्छ । कतै-कतै भने धान जस्तै कोदोको फेदमै नल सहित पुरै बोट काटेर ४-५ दिनसम्म सुकाएरपछि मात्र चुटेर झार्ने गरिन्छ । परम्परागत रुपमा कोदोको बाला काटेर घाममा सुकाएपछि बालालाई लठ्ठीले हिर्काएर कोदो चुट्ने काम गरिन्छ । कोदोको दाना बालाबाट झारिसकेपछि गेडामा रहेको भुस हटाउन ओखल वा ढिकीमा कुटेर फल्ने काम गरिन्छ । यसरी परम्परागत रुपबाट कोदो चुट्ने, फल्ने कार्य गर्दा दिनभरीमा एकजनाले मुस्किलले १०-१५ के.जी. कोदोको दाना निकाल्न सक्छ । तर नेपालमा विकास गरिएको कोदो चुट्‌ने मेशिनले प्रतिघण्टा ६०-७० के.जी. कोदो चुट्न सक्छ । यसप्रकार कोदोबालीको कटाई तथा चुटाई दुई चरणमा पुरा हुन्छ । भण्डारण गरिएको कोदो बालीमा त्यति कीरा लाग्दैन तरपनि ढुसीजन्य रोगले आक्रमण नगरोस् भन्नका लागि कोदोलाई सुकाएर दाँतले टोक्दा कुटुक्क आवाज आउने (१२-१३% चिस्यान हुने) भएपछि राम्रोसँग बन्द गर्न टिनको भकारी वाअन्य उपलब्ध भाँडामा ओस नलाग्ने ठाउँमा भण्डारण गर्नुपर्दछ । यसरी सफा गरेर राम्ररी सुकाएर भण्डारण गर्ने हो भने ८-१० वर्षसम्म भण्डारण गर्न सकिन्छ ।

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण

हिजोआज कोदोका परम्परागत परिकारहरुका अतिरिक्त सहरी जनसंख्याले कोदोका मूल्य अभिवृद्धि गरिएका परिकारहरू उपभोग गर्न रुचाउँछन् । सहर बजारका विभिन्न उद्योगहरुबाट केक, बिस्कुट, चाउचाउ, मिठाइहरू आदि एवं होटल र रेष्टुराँहरुबाट पाउरोटी, चाउचाउ, केक तथा ढिंडोको लागि पनि कोदोको धेरै माग हुन थालेकोले कोदो औद्योगिक बालीको रुपमा विकसित हुन थालेको छ । कोदोको मूल्य अभिवृद्धि गरी विविध उत्पादनहरू बजारमा लैजान सके कृषकहरुको क्षेत्रमा घरेलु तथा साना उद्योगको रुपमा यी परिकार तयार गरी बिक्री वितरण गर्न सकिन्छ । कोदाको पिठोमा ग्लुटिन भन्ने तत्व नहुने भएकोले पिठो मुछेर गहुँको जस्तो डल्लो बनाउन सकिँदैन। तर कोदोको पिठोमा गहुँको पिठो र थोरै ग्लुटिनको समिश्रणबाट बिस्कुट, कुकिज, पाउरोटी, केक, प्यान केक, चाउचाउ, आदि बनाउन सकिन्छ (खाद्य अनुसन्धान महाशाखा २०७१)।

बजारीकरण

पहिले पहिले कोदो खाने मानिसलाई पाखे वा गरीब भनेर हेप्ने चलन थियो। बदलिंदो खाद्य आनीबानीका कारण कोदो उत्पादन हुने ग्रामिण भेगमा भन्दा सहरी क्षेत्रमा यसको उपयोग बढ्दो छ । कम शारीरिक श्रम गर्ने सहरी जनसंख्या उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता समस्याबाट पीडित हुन थालेकाले र सहर बजारका होटल-रेष्टुरेन्टमा समावेश भएको मेनुको कारणले पनि हिजोआज कोदोको खपत गाउँघर भन्दा सहर बजारमा धेरै छ । नेपालको कोदो बाली प्रांगारिक भएकोले पनि सचेत नागरिक तथा तारे होटलका पाहुनाहरू समेत कोदोको ढिंडो र अन्य परिकार खोज्दछन् । तसर्थ गाउँघरमा प्रति के.जी. रु. ६०-८० सम्ममा बिक्री हुने कोदोको पिठो ठुला डिपार्टमेन्टल स्टोरहरुमा प्रति के.जी. रु. १००-१५० सम्ममा बिक्री हुने गरेको छ । आ.व. २०७६/०७७ मा नेपालमा विदेशबाट रु. ७ करोड १५ लाख मूल्य बराबरको कोदो आयात भएको तथ्यांक देखिन्छ। यसले पनि स्वदेशमै पर्याप्त उत्पादन गर्न सकेमा कोदो खेतीलाई बजारको कुनै समस्या हुनेछैन र आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने देखिन्छ ।

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरु

सरकारले मात्रै नभएर नेपाली कृषकहरुले पनि कोदोलाई त्यति माया गरेको पाईदैन । कोदो बाली अति सीमान्त वा कम मलिलो, असिञ्चित र फालिएको जग्गामा छर्ने वा रोप्ने चलन छ । सामाजिक रुपमा पनि कोदो धेरै हेलाँमा परेको छ । एकातिर भाते संस्कृति विकसित भइरहेको छ भने अर्कातिर फाष्टफुड र ड्राइफुडहरुले हाम्रा परम्परागत नेपाली स्वादमा धावा बोलिरहेका छन् । एकातिर स्थानीय जातको उत्पादन कम हुने हुँदा किसानहरुले विकासे जात लगाउने गरेका छन् भने अर्कातिर खेती नै कम हुन थालेकाले कोदोका स्थानीय जातहरू र सम्बन्धित परम्परागत ज्ञान पनि लोप हुने खतरामा रहेका छन् । जातीय संरक्षणबाट हाम्रा रैथाने विविधता जोगाउन सकिन्छ जसले किसानहरुलाई छनौटको विकल्पहरू वृद्धि हुन्छन् र जलवायु परिवर्तनबाट सिर्जित जैविक तथा अजैविक समस्याहरुसँग जुध्ने क्षमता बढाउँछ । हाम्रा यी स्थानीय जातहरुमा स्वाद मिठो हुने, छिटो पाक्ने, पिठो धेरै पर्ने, नल पशुले मन पराउने लगायत अन्य विशेष औषधीय गुणहरू रहेका हुन्छन् जुन बाली प्रजनन् मार्फत् नयाँ जातहरुमा सार्न सकिन्छ । स्थानीय जातहरुमा भएका यी अमूल्य गुणहरुलाई संरक्षण गर्न कृषक समुदायसँग मिलेर जातीय सुधार गर्नु अति आवश्यक छ। कोदो खेतीमा लागेका संरक्षक कृषकहरुलाई राज्यले विशेष अनुदानको व्यवस्था गरेमा कृषकहरुमा पनि हौसला प्राप्त हुन्छ । 
खुमलटार स्थित राष्ट्रिय जीन बैंकमा नेपालमा पाइने अधिकांश स्थानीय जातहरू संकलन गरी सयौं वर्षसम्म सुरक्षित रहने किसिमले नियन्त्रित वातावरणमा संरक्षण गरिएको छ । संरक्षित जातहरू अध्ययन अनुसन्धान र उत्पादनको लागि कृषक, विद्यार्थी र अनुसन्धानकर्तालाई निशुल्क उपलब्ध हुन्छन् । तपाईं हामी पनि हाम्रो आ-आफ्नो क्षेत्रमा खेती गरिदै आएका विशेष गुणयुक्त स्थानीय जातहरुलाई आवश्यक पासपोर्ट डाटा सहित राष्ट्रिय जीन बैंकमा संरक्षण गर्न सक्छौं । हरेक पालिकाहरुमा अनिवार्य सामुदायिक बीउ बैंकको स्थापना गर्ने, स्थानीय जैविक विविधताको संकलन तथा अभिलेखिकरण गर्ने, सामुदायिक बीउ बैंकहरू मार्फत् गुणस्तरीय बीउ उत्पादन गर्ने साथै उत्पादित अनाजको प्रशोधन तथा खाद्य परिकार विविधिकरणमा जोड दिनु जरुरी देखिन्छ । कोदो खेतीको प्रबर्द्धन तथा जातीय संरक्षणको लागि नेपाल सरकार, कृषि अनुसन्धान तथा विकास संस्थाहरू तथा कृषक समुदाय मिलेर संयुक्त संस्थागत पहल हुन जरुरी छ ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री सूची 

सन्दर्भ सामग्री सूची 

  • Ghimire KH, B Bhandari, SB Gurung, NB Dhami and BK Baniya. 2017. Diversity and Utilization Status of Millets Genetic Resources in Nepal. In: Joshi BK, HB KC and AK Acharya (eds). 2017. Conservation and Utilization of Agricultural Plant Genetic Resources in Nepal. Proceedings of 2ndNational Workshop, 22-23 May 2017, Dhulikhel; NAGRC, FDD, DoA and MoAD; Kathmandu, Nepal. http://moad.gov.np/public/uploads/855517450-Plant%20Genetic% 20Resources_CUAPGR_Nepal-min.pdf 
  • Joshi BK, MR Bhatta, KH Ghimire, M Khanal, SB Gurung, R Dhakal, and BR Sthapit. 2017. Released and Promising Crop Varieties of Mountain Agriculture in Nepal (1959-2016).LI-BIRD, Pokhara; NARC, Kathmandu and Bioversity International, Pokhara, Nepal. 
  • Joshi BK, R Shrestha, IP Gautam, AP Poudel and TP Gotame. 2019. Neglected and Underutilized Species (NUS), and Future Smart Food (FSF) in Nepal. National Agriculture Genetic Resources Center (NAGRC, National Genebank), NARC, Khumaltar, Kathmandu, Nepal. 
  • Manandhar HK, RD Timila, S Sharma, S Joshi, S Manandhar, SB Gurung, S Sthapit, E Palikhey, A Pandey, BK Joshi, G Manandhar, D Gauchan, DI Jarvis and BR Sthapit. 2016. A field guide for identification and scoring methods of diseases in the mountain crops of Nepal. NARC, DOA, LI-BIRD and Bioversity International, Nepal. 
  • MoAD. 2021. Statistical Information of Nepalese Agriculture 2076/077 (2019/020). Monitoring, Evaluation and Statistics Division, Agriculture Statistics Section, Ministry of Agriculture, Land Management and Cooperatives, Kathmandu, Nepal. http://www.moad.gov.np/en/publication/
  • आलेमगर ललिता, प्रगति बाबु पनेरू, र निरन्जन पुडासैनी । २०७६ । रातोकोदोःपरिचय तथा खेती प्रविधि । जानकारी-पत्र, अङ्क १४ । ली-बर्ड, राष्ट्रीय जीन बैंक, कृषि विभाग र बायोभर्सिटी इन्टरनेसनल, नेपाल । 
  • कृषि सुचना तथा प्रशिक्षण केन्द्र । २०७८ । कृषि डायरी । नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि सुचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर, नेपाल । 
  • खाद्य अनुसन्धान महाशाखा । २०७१ । फापर र कोदोबाट पाउरोटी, बिस्कुट र चाउचाउ बनाउने प्रविधि । खाद्य अनुसन्धान महाशाखा, राष्ट्रीय कृषि अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, खुमलटार, ललितपुर, नेपाल । 
  • घिमिरे कृष्ण हरि, बालकृष्ण जोशी, देवेन्द्र गौचन र भरत भण्डारी । २०७५ । हिमाली भेगको लागि स्थानीय बालीका उत्कृष्ठ जातहरू । जीन बैंक नार्क, ली-बर्ड र बायोभर्सिटी इन्टरनेसनल नेपाल । 
  • घिमिरे कृष्ण हरि । २०७२ । कोदो खेती र बीउ उत्पादन प्रविधि। जानकारी-पत्र, अङ्क ५ । ली-बर्ड, राष्ट्रिय जीन बैंक, कृषि विभाग र बायोभर्सिटी इन्टरनेसनल, नेपाल । 
  • घिमिरे कृष्ण हरि । २०७० । चुनौति र सम्भावनाहरुको बीचमा नेपालको कोदो खेती । हाम्रो सम्पदा १३(३): ४२-४५ । 
  • घिमिरे कृष्ण हरि र शबनम शिवाकोटी । २०७६ । कोदो (Finger millet)। स्थानीय/रैथाने बाली खेती प्रविधि तथा उत्पादन विविधिकरणः तालीम स्रोत पुस्तिका । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुर । 
  • जोशी बाल कृष्ण र कृष्ण हरि घिमिरे । २०७५ । कोदोको बीउ संरक्षण । राष्ट्रीय कृषि आनुवंशिक स्रोत केन्द्र, खुमलटार, ललितपुर । नेपाल जीनबैंक पत्र, अङ्क १७ । 
  • पोखरेल भानुभक्त र किरण बराल । २०७० । कोदो खेती प्रविधि । हाम्रो सम्पदा १३(३): ४२-४५ । 
  • साउद नर बहादुर । २०६७ । नेपालका बालीनाली र तिनको दिगो खेती । साझा प्रकाशन, ललितपुर । 
  • साउद नर बहादुर । २०७० । एक्काइसौं शताब्दीको सुअन्न कोदो । हाम्रो सम्पदा १३(३): १०-२३ ।