परिचय

परिचय र हालको अवस्था

लट्टे नेपालको तराई देखि पहाडको ३५०० मिटरको उचाईसम्म खेती गर्न सकिने बाली हो । नेपालमा विभिन्न ठाउँ अनुसार यसलाई लट्टे, लुड़े, माटे, मार्से भन्ने गरिन्छ । पौष्टिकताले भरिपूर्ण यो बालीलाई आजकल सुपरफुड वा अत्यन्त उपयोगी खाना भनिन्छ । यसको पात रातो, हरियो, प्याजी, कलेजी तथा मिश्रित रंगको हुने गर्दछ । बीउ तथा साग उत्पादनको दृष्टिकोणबाट यो एक वर्षे, ठाडो र अग्लो बोट (२.५ मिटर सम्म) प्रकृति भएको बाली हो । यो बाली मुख्य रूपमा दक्षिण तथा मध्य अमेरिकामा फैलिएको पाइए तापनि यसको करिब ४०० जातहरू विश्वभरिका उष्ण तथा उपोष्ण हावापानीमा फैलिएको पाइन्छ । 
लट्टेलाई अन्न तथा साग दुबै रूपमा प्रयोग गर्न सकिन्छ । विशेषगरी तीन थरीका प्रजातिहरू दाना र सागको लागि प्रचलित रहेका छन् । Amaranthus hypochondriacus र Amaranthus cruentus दाना उत्पादनको लागी लगाउने गरिन्छ भने Amaranthus tricolor लाई सागको रूपमा रुचाउने गरिन्छ । जलवायु परिवर्तनको विद्यमान समयमा यो बालीले कम चिस्यानमा पनि प्रभावकारी प्रकाश संश्लेषण प्रक्रियाबाट सुर्यको प्रकाश र खाद्यतत्वको भरपुर उपयोग गरी उत्पादन दिने गर्दछ। सामान्यतया कालो दाना भएको लट्टेलाई साग तथा हल्का पहेंलो रंग भएकोलाई अन्नको रुपमा प्रयोग गर्ने गरिन्छ । यो बाली अत्यन्त छोटो समय तथा कम व्यवस्थापनमै सागको रूपमा प्रयोग गर्नयोग्य हुने गर्दछ ।

latte

लट्टेबालीको हालको अवस्था

यो बालीको अनुसन्धान पहाडी बाली अनुसन्धान कार्यक्रम, बैतेश्वर-४ काब्रे, दोलखामा हुने गर्दछ । यो कार्यालयको स्थापनासँगै लट्टे बालीको अनुसन्धान कार्यक्रम सिलसिलेवार रूपमा अगाडि बढेको हो । राष्ट्रिय कृषि आनुवांशिक श्रोत केन्द्र, जिन बैंक खुमलटारमा नेपालको स्थानीय स्तरमा प्रचलित विभिन्न जातहरू संरक्षण गरी राखे काम गरिन्छ भने तिनै मध्येका जातहरुलाई परीक्षण गरी उन्मोचन प्रक्रिया बढाइन्छ । हाल पहाडी बाली अनुसन्धान कार्यक्रम मार्फत डोटी, जुम्ला र दैलेखमा रहेका नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यालयहरुमा विभिन्न समन्वयात्मक परीक्षणहरू सञ्चालनमा रहेका छन् र निकट भविष्यमै कुनै न कुनै लट्टेको नयाँ जात उन्मोचन हुने आशा गर्न सकिन्छ ।

लट्टेको महत्व

लट्टेको दाना र पात दुबै पौष्टिकताले भरिपूर्ण हुन्छ। यसको दाना ९०% सम्म पचाउन सकिने भएकोले परम्परागत रूपले हिन्दु रीतिरिवाजहरुमा व्रत बस्नु पर्दा भुटेर दुधसँग खाने गरिन्छ । सुक्ष्म तत्वहरुको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी अवस्थाको महिला तथा वृद्ध-वृद्धाहरुलाई लट्टेमा पाइने खनिज तत्व फाइदाजनक देखिन्छ । विशेषगरी अन्य बालीहरुको तुलनामा यस बालीमा फलाम, क्याल्सियम, भिटामिन सी, फोलिक एसिड र गुणस्तरीय प्रोटिन जस्ता तत्वहरू बढी मात्रामा पाइने गर्दछ । केही लेखहरुमा बताइए अनुसार दैनिक ५०-१०० ग्राम लट्टेको साग खाने गरेमा केटाकेटीमा हुने अन्धोपना कम भएको पाइएको छ । यो बालीको सागमा ३०% सम्म प्रोटिन पाइन्छ । यसको सागमा पोटासको प्रचुरता हुने हुँदा मुटु रोगीको लागि लाभदायक मानिन्छ । अन्य अन्न बालीहरुमा भन्दा लट्टेमा लाइसिन भन्ने एमिनो एसिड बढी पाइन्छ ।

तालिका १ : लट्टे बालीको प्रति १०० ग्राम पात तथा दानामा पाइने विभिन्न पौष्टिक तत्वहरु

क्र.सं.

तत्वहरु

साग

दाना

चिस्यान

८६.९ ग्राम

९.० ग्राम

प्रोटिन

३.५ ग्राम

१५.० ग्राम

चिल्लो पदार्थ

०.५ ग्राम

७.० ग्राम

कार्बोहाईड्रेट

६.५ ग्राम

६३.० ग्राम

रेशा

१.३ ग्राम

२.९ ग्राम

क्यालोरी

३६

३९१

फस्फोरस

६७ मिलिग्राम

४७७ मिलिग्राम

फलाम

३.९ मिलिग्राम

-

क्याल्सियम

२६७ मिलिग्राम

४९० मिलिग्राम

१०

पोटास

४११ मिलिग्राम

-

११

भिटामिन ए

६१०० IU

0

१२

भिटामिन सी-एस्कर्बिक एसिड

८० मिलिग्राम

३.०

श्रोतः O'Brien and Prince २००८. Amaranth grain and vegetable types. Echo Technical note, http://www.echonet.org/

नेपालको मध्य र सुदूर-पश्चिमका हुम्ला, जुम्ला, डोटी, दैलेखका पहाडी भू-भागहरुमा यो बाली अत्यन्त कम लागतमा उत्पादन गरिने हुँदा सीमान्तकृत जग्गाको उपयोगमा यो बाली उपयुक्त देखिन्छ । वर्षायाम सुरू हुनु अघिको सुख्खा मौसममा थोरै सिँचाईले पनि यो बाली उम्रने भएकाले साग उत्पादन लिन सकिन्छ । मकैसँगै लगाएर मकैलाई पहिलो पटक गोड्ने बेलामा करिब एक महिना भित्रै यसको साग भित्र्याउन सकिन्छ । करेसाबारीमा एक पटक लगाई फुल्न र झर्न दिईएमा हरेक वर्ष स्वतः उमेर करेसाबारीको उत्पादकत्व बढाउन पनि सहयोग गर्दछ ।

हावापानी र माटो

खेतीयोग्य हावापानी 

यो बालीलाई सामान्यतया १००० मिटर भन्दा माथिको हावापानी उपयुक्त मानिन्छ । तर नेपालमा तराई, बेसी, मध्य पहाड र उच्च पहाड सबैतिर वर्षे मकै लगाउने समयमा लगाउन सकिन्छ । यो बालीले सुक्खा सहने हुनाले बीउ छर्ने बेलामा सामान्य चिस्यान पुगे मात्रै पनि उत्पादन लिन सकिन्छ ।

जातहरु

जातहरू

नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विभाग र लिबर्डले संयुक्त रूपमा कार्यान्वयन गरेको स्थानीय बाली परियोजनाले प्रकाशित गरेको नेपालको उच्च पर्वतीय क्षेत्रमा सिफारिसयोग्य र सिफारिस ( ७५) गरिएका विभिन्न बालीहरुको जातहरू (१९५९-२०१६) विषयक पुस्तकमा लट्टेको रातो मार्से, लाड़ी मार्से र सुन्तले लट्टे गरी तीन वटा जातहरुलाई दाना उत्पादनको लागी सिफारिसयोग्य भनी सूचीकृत गरिएको पाइन्छ । नेपाल कृषि अनुसनधान परिषद् मार्फत पहाडी वाली अनुसन्धान कार्यक्रम, जिन बैंक र जैविक विविधता, अनुसन्धान तथा विकासका लागी स्थानीय पहल (LIBIRD) सँगको सहकार्यमा हालसम्म सागको लागी "रामेछाप हरियो र दानाको लागि "लाल मार्से" जातहरू पञ्जिकृत गरिएको छ ।

तालिका २. लट्टेको हालसम्म पञ्जिकृत जातहरुको विवरण

2

त्यसैगरी पहाडी बाली अनुसन्धान कार्यक्रमले गरेको अनुसनधानमा २ वटा तरकारीको लागी र ११ वटा जातहरू दाना उत्पादनको लागी समन्वयात्मक परीक्षणमा रहेका छन् ।

खेति प्रणाली

बीउको दर र बीउ उपचार 

बीउको दर 
बीउको दर साग वा खाद्यान्न के को लागी लगाइने हो सोही अनुसार फरक हुन्छ । 
सागको लागी बीउ दर 
तरिका १: बोट देखि बोटको दुरी ५-१० से.मि. कायम गर्ने, यसो गर्दा बीउ छरेको ५-७हप्ता भित्र सबै बिरुवा उखेलेर सागको रूपमा प्रयोग गर्न सकिन्छ । 
तरिका २: बोट देखि बोटको दुरी १५-३० से.मि. कायम गर्ने, यसो गर्दा बीउ छरेको ४-६ हप्तामा पहिलो पटक र त्यसपछि हरेक दुई/दुई हप्तामा कलिलो टुप्पो काटेर सागको रूपमा प्रयोग गर्न सकिन्छ । 
खाद्यान्नको लागी बीउ दर 
बोट देखि बोटको दुरी १०-१२ से.मि. र हार देखि हारको दुरी ५० से.मि. कायम राखु पर्दछ । यसरी रोप्दा प्रति रोपनी ६६५० बोट हुन आउँछ । १-२ किलोग्राम बीउ प्रति हेक्टर वा १०० ग्राम बीउ प्रति रोपनी पर्याप्त हुन्छ । 

बीउ उपचार 
बीउ छर्नु अगाडि थाइरम वा क्याप्टान नामक ढुसीनासक विषादी २ ग्राम प्रति कि.ग्रा. बीउको दरले बीउ उपचार गर्नु पर्दछ । यसले बीउबाट सर्ने र सानो उमेरमा लाग्ने जराको ढुसीजन्य रोगहरू नियन्त्रण गर्न मदत गर्दछ ।

रोप्ने समय, जग्गाको तयारी, मलखाद व्यवस्थापन र बीउ रोप्ने तरिका 

रोप्ने समय 
यो बालीलाई माटोमा चिस्यानको मात्रा अनुसार फागुनको पहिलो हप्ता देखि जेष्ठको पहिलो हप्तासम्म बारीमा एकल बालीको रूपमा वा मकैसँग वा करेसाबारीमा अन्य तरकारी बालीहरूसँग मिसाएर पनि लगाउन सकिन्छ । नेपालको विभिन्न भू-भाग अनुसार तराईमा पुष/माघ, मध्य पहाडमा - फाल्गुन देखि जेष्ठसम्म र उच्च पहाडमा चैत्र देखि वैशाख सम्म लगाउन सकिन्छ । 


जग्गाको तयारी, मलखाद व्यवस्थापन र बीउ रोप्ने तरिका 
जग्गाको छनौट गर्दा पारिलो, निकासको राम्रो प्रबन्ध भएको हल्का दोमट माटो भएको उपयुक्त हुन्छ । जग्गा तयार गर्नु अगाडि नै ७-१० क्विन्टल प्रति रोपनी कम्पोस्ट वा राम्ररी कुहिएको गोबर मल र १:१:१ कि.ग्रा. नाइट्रोजन, फस्फोरस र पोटास प्रति रोपनीको दरले प्रयोग गर्नु पर्दछ र १ कि.ग्रा. नाइट्रोजनलाई उकेरा लगाउने वा गोड्ने बेलामा र फूल फुल्ने बेलामा आधा आधा प्रयोग गर्नु पर्दछ । 
बीउ अत्यन्त सानो हुने हुनाले माटो धुलो बनाउँदा बीउको सहि वितरण गर्न सकिन्छ । अन्यथा बीउ ठूला डल्लाहरूको बीचमा परेर नउम्रिन पनि सक्छ । सामान्यतया लट्टेको बीउलाई माटोको सतह भन्दा १.५-२ से.मि. तल छर्नु पर्दछ र धुलो माटोले हल्का पुर्नु पर्दछ । बीउ माथिको माटोको तह धेरै नै पातलो हुने हुनाले माथिल्लो सतहको माटो चाँडै सुक्छ त्यसैले बीउ तथा भर्खरै उम्रेको विरुवालाई सुक्खाबाट जोगाउन विशेष ध्यान दिनु पर्दछ ।

सिँचाई, पानीको र झारपात व्यवस्थापन 

सिँचाई तथा पानीको व्यवस्थापन 
ज्यादा चिस्यान भएमा जरा कुहिने र ओइलाउने रोग लाग्ने हुनाले उपयुक्त परिमाणको सिँचाई दिनु पर्दछ । निकासको उचित प्रबन्धको लागि खेती लगाउने जग्गा अलिक उठाउन सकिन्छ । ज्यादै सुक्खा भएको अवस्थामा २ पटक पानी दिनु पर्दछ तर पानीको अभाव भएमा फूल फुल्ने बेलामा दिन सकिन्छ । वर्षातको पानी वा सिँचाईको पानी २ घण्टा भन्दा बढी बारीमा जम्न दिनु हुँदैन । ज्यादा पानी र ज्यादा सुक्खा दुबै अवस्थामा सागको लागी लगाइएको लट्टेमा फूल फुल्न सक्ने हुँदा होसियार हुनु पर्दछ । 

झारपात व्यवस्थापन 
वर्षायाममा लगाइने बाली भएकोले झारपातको प्रकोप बढी नै हुने गर्दछ । विशेषगरी भूगोल अनुसारको वर्षे झारहरुको प्रकोप बीउ रोपेको १५-३५ दिन सम्म बढी हुन्छ । पहिलो महिना कुटोको सहायताले झार निकाल्नु पर्दछ भने एक महिना पछि र उकेरा लगाउँदा कोदालोले पनि झारपात निकालेर व्यवस्थापन गर्न सकिन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

रोगकीरा व्यवस्थापन 

कीरा व्यवस्थापन 
यस बालीको सुरुवाती अवस्थामा कीराहरुको प्रकोप खासै देखिंदैन तर फूल फुलिसकेपछिका अवस्थामा विभिन्न कीराहरुले आक्रमण गर्दछन् । विशेषगरी फेद काट्‌ने कीरा, गबारो र पात खाने कीरा बढी मात्रामा लाग्ने गर्दछ। 
१) फेद काट्ने कीरा (Cut worm) को व्यवस्थापन 

  • जैविक विषादी बि.टि. २ ग्राम प्रति किलोग्राम गहुँमा चोकर बनाई आधा के.जी. प्रति रोपनीका दरले बीउ रोप्नु भन्दा १ हप्ता अघि माटोमा चारोको रुपमा राखे । 
  • क्लोरोपाईरिफस १०% गेडा प्रति रोपनीमा १ किलोका दरले राखे । 
     

२) गबारोको (Stem Borer) व्यवस्थापन 

  • डाँठ भित्रका लार्भाको नियन्त्रण कठिन हुने भएकाले फूल पार्दै हिंड्ने पुतली देखासाथ साइपरमेथ्रिन १०% ई.सी. २ मि.लि. प्रतिलिटर पानीमा घोलेर छर्ने । 
  • कीराको प्रकोप बढ्दै गएमा क्लोरानट्रानिलिप्रोल १८.५ एस.जी. (कोराजन) ३ मि.लि. प्रति १० लिटर पानीका दरले छर्कने । 


३) पात खाने कीरा (Leaf Caterpillar) को व्यवस्थापन 

  • यो कीराले पातको हरियो भाग सबै खाएर जाली मात्रै राखे गर्दछ । 
  • उक्त जाली छिट्टै सुक्दछ र उत्पादनमा ह्रास आउँछ । 
  • रातिको समयमा यसको पोथीलाई बत्तीमा पारेर मार्न सकिन्छ । 
  • यसको नियन्त्रणको लागि मालाथियन ५० ई.सी. १ मि.लि. प्रति लिटर पानीमा राखेर बिरुवामा छर्कनु पर्दछ ।

रोग व्यवस्थापन 
लट्टेमा सामान्यतया रोगको प्रकोप हुँदैन। तर निकासको राम्रो प्रबन्ध नभए ओइलाउने र बोट मर्ने रोग लाग्दछ। केही महत्वपूर्ण रोगहरू र व्यवस्थापनहरू यस प्रकार छन्। 


१) सेतो ढुसी (White Rust) को व्यवस्थापन 
यो रोग लागे पछि पातको तल्लो भागमा सेता सेता ढुसीका पोका देखिन्छन् र माथिल्लो पट्टि पहेंलो देखिन्छ । यो रोगको व्यवस्थापनको लागि 

  • खेतबारी सफा राखे र रोग लागेका पात र झारहरू नस्ट गर्नु पर्दछ 
  • दुई भाग चुन र एक भाग गन्धकको धुलो मिसाएर मलमलको कपडामा पोको पारेरा राम्ररी छर्ने वा इन्डोफिल एम ४५ २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ । 


२) फेद तथा जरा कुहिने Damping off (Pythium, Rhizoctonia) रोगको व्यवस्थापन 
यो रोग लागेपछि जरा कुहिने वा माटोको सतहमा कलिलो बोटको डाँठ कुहिने हुन्छ र बोट लड्छ । यो रोगको व्यवस्थापनको लागि -

  • ड्याङ्ग उठाएर मात्रै बीउ/बेर्ना लगाउने 
  • कम्पोस्टसँगै ट्राइकोडर्मा नामक ढुसीको प्रयोग गर्ने 
  • माटोलाई गहिरो गरी जोतेर घाममा सुक्न दिने 
  • क्लोरनेव नामक विषादीसँग बीउ र वेर्ना उपचार गर्ने 
  • बाली चक्र अपनाउने 
  • ओसिलो जग्गामा सकेसम्म खेती नगर्ने र धेरै र लामो समयसम्म सिँचाई नगर्ने 

३) थोप्ले रोग (Cercospora leaf spot) को व्यवस्थापन 
यो रोग पुरानो पातबाट नयाँ पालुवातिर सर्दै जान्छ। सुरुमा सानो सानो थोप्ला जस्तो देखिने यो रोग फैलिदै ठुलो धब्बा बनाउँछ र पात पहेंलिन्छ । यो रोग व्यवस्थाप गर्नको लागी 

  • रोगी बोटको अवशेष जलाउने र लक्षण बोकेका पातहरू हटाउने 
  • रासायनिक मलको सन्तुलित प्रयोग गर्ने 
  • ढुसीनासक विषादी कार्बेन्डाजिम ५०% डब्लु.पी. १ ग्राम/लि. पानीमा मिसाई छर्कने ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

साग उत्पादन र टिप्ने तरिका 

साग उत्पादन र टिप्ने तरिका 
रोप्ने विधि अनुसार बोटै उखेलेर वा कलिलो टुप्पो काटेर उत्पादन लिन सकिन्छ । बीउ छरेको ४-६ हप्ता भित्र बोट उखेल्न मिल्ने हुन्छ भने ५-७ हप्तामा पहिलो पटक टुप्पो काटेर उत्पादन लिन सकिन्छ । पहिलो पटक टुप्पो काटेको दोश्रो हप्तामा अर्को उत्पादन लिन सकिने हुन्छ । यसरी पहिलो उत्पादन पछि फूल फुल्नु अगाडिको ६० दिन सम्म वा करिब ५-६ पटकसम्म उत्पादन लिन सकिन्छ । यो साग अत्यन्त छिटो ओइलाउने हुनाले तुरुन्त बजार पुऱ्याउनु पर्दछ वा टिपेर प्लास्टिक भित्र राखेर फ्रिजमा राखु पर्दछ ।

साग उत्पादन, टिप्ने तरिका र बीउको उत्पादन 

साग उत्पादन र टिप्ने तरिका 
रोप्ने विधि अनुसार बोटै उखेलेर वा कलिलो टुप्पो काटेर उत्पादन लिन सकिन्छ । बीउ छरेको ४-६ हप्ता भित्र बोट उखेल्न मिल्ने हुन्छ भने ५-७ हप्तामा पहिलो पटक टुप्पो काटेर उत्पादन लिन सकिन्छ । पहिलो पटक टुप्पो काटेको दोश्रो हप्तामा अर्को उत्पादन लिन सकिने हुन्छ । यसरी पहिलो उत्पादन पछि फूल फुल्नु अगाडिको ६० दिनसम्म वा करिव ५-६ पटकसम्म उत्पादन लिन सकिन्छ । राम्रो व्यवस्थापनमा एक हेक्टरमा ४-६ पटक लट्टेको मुन्टाबाट उत्पादन लिदा सरदर १०-१५ टन सम्म हरियो साग लिन सकिन्छ । यो साग अत्यन्त छिटो ओइलाउने हुनाले तुरुन्त बजार पुऱ्याउनु पर्दछ वा टिपेर प्लास्टिक भित्र बन्द गरेर फ्रिजमा राखु पर्दछ । 


बीउको उत्पादन 
लट्टेको बीउ धेरै नै सानो (११०० बीउ प्रति ग्राम) हुने हुँदा बाली काट्दा र थन्क्याउँदा सावधानी अपनाउनु पर्दछ । बालालाई माडेर हेर्दा बीउ सरर झर्यो भने बाली पाक्यो भन्ने बुझ्नु पर्दछ । बीउको उत्पादन लिंदा काट्ने, सुकाउने, चुट्ने र छान्ने/निफन्ने गर्नु पर्दछ। लट्टेको फूललाई हँसियाले काटेर, साना साना फूलहरुलाई छुट्याएर बोरामा राखेर बन्द गर्न सकिन्छ। यसरी बन्द गरिएको बोरालाई २ देखि ३ घाम सुकाएर लौरीले बोरा बाहिरैबाट चुट्दा दाना र भुस सजिलै अलग हुन्छन् । तब मात्र सफा बीउ भण्डारण गर्नु पर्दछ । लट्टेलाई ९% चिस्यानमा भण्डारण गर्दा ७ वर्षसम्म पनि उमारशक्ति कायमै गराउन सकिन्छ । उचित व्यवस्थापनमा लट्टेको औसत उत्पादन १० क्विन्टल प्रति हेक्टर वा ५० के.जी. प्रति रोपनी हुन्छ ।

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 

पात/सागको प्रयोग 
सामान्यतया तराई र मध्य पहाडमा फाल्गुन चैतको मौसममा बोटै उखेलेर खाने हो भने बीउ छरेको एक महिना भित्र सागको लागी तयार गर्न सकिन्छ । तर बोट नउखेली मुन्टा मात्रै टिप्ने हो भने ४०-४५ दिनमा पहिलो पटक मुन्टा टिप्न सकिन्छ । लट्टेको पात र कलिलो डाँठ सहितको मुन्टालाई काँचै सलादको रूपमा, उमालेर मात्रै, अचार बनाएर वा अन्य स्वाद अनुसारको तरकारी सँग मिसाएर पकाएर खाने प्रचलन छ । धेरै समयसम्म पकाउँदा यसमा भएको तत्वहरू नष्ट हुने र उमालेर पानी फ्याँक्दा तत्वहरू गुम्ने भएकोले उच्च तापक्रममा लामो समयसम्म पकाउनु हुँदैन ।

1

दानाको प्रयोग 
पहाडी बाली अनुसन्धान कार्यक्रम र रैथाने बालीहरुको संरक्षण र सम्बर्द्धनमा संलग्न लिबर्डले बेला बेलामा विभिन्न ठाउँहरुमा रैथाने बालीहरुको खाद्य विविधिकरण सम्बन्धी तालिम तथा प्रदर्शन दिँदै आएको छ । लट्टेको दानालाई भुटेर मह वा चिनीको चास्नीमा मोलेर डल्लो बनाई खान सकिन्छ भने भुटेको लट्टेलाई तातो दुधसँग पनि खान सकिन्छ। त्यसैगरी बाल आहारमा यसको पिठो प्रयोग गर्दा उत्तम हुन्छ । 
लट्टेको रोटी, पाउरोटी, चकलेट बार पनि बनाउन सकिन्छ । विकसित मुलुकहरुमा लट्टेजन्य खाद्य परिकार महँगो रूपमा कारोबार गरिने पाइएको छ । नेपालमा रैथाने खाद्य बालीहरुको खाद्य परिकार सम्बन्धी अध्ययन र अनुसन्धान खाद्य अनुसन्धान महाशाखा खुमलटारले गर्दै आएको छ । 

1        2
लट्टेको नेपाली बजार 
यो बालीलाई स्वतः उम्रने खानयोग्य झारको रूपमा पनि लिने गरिन्छ र यसका कलिला मुन्टाहरुलाई परापूर्वककाल देखि सागको रूपमा प्रयोग गरिएको पाइन्छ । पहाडी बाली अनुसन्धान कार्यक्रमको सर्वेक्षण अनुसार विशेषतः नेपालको सुदूर पश्चिम क्षेत्रमा अन्नको रूपमा यसको व्यापक उत्पादन गरी भारतीय बजारमा बिक्री गर्ने तथा अन्य खाद्य बालीहरुसँग साट्ने गरिएको पाइएको छ तथापि यसको उत्पादन र कारोबारका सरकारी तथ्यांक अझै उपलब्ध छैन । 
नेपालकै तराई क्षेत्रका चितवन, नेपालगंज, सर्लाही र मध्य पहाडका पोखरा, काठमाण्डौ जस्ता व्यापारिक केन्द्रहरुका विभिन्न तरकारी बजारहरुमा पनि यो सागको व्यापक कारोबार रहने गरेको पाइएको छ । अन्य सागजन्य तरकारीको आपूर्ति कम रहने मुख्यतया फाल्गुन देखि जेष्ठ महिना सम्मको सुक्खा समयमा यसको उत्पादन लिन सकिने हुँदा यो बाली उक्त समयमा तरकारी बजारहरुमा उच्च मागमा रहने गर्दछ । अहिलेसम्म बजारमा कारोबारमा रहेका लट्टेका जातहरू ठाउँ अनुसारका स्थानीय जातहरू नै रहेको पाइएको छ । तर साग र दाना बाहेक यो बालीको खाद्य परिकारहरू बनाएर व्यापारिक प्रयोजनले कारोबार गरिएको पाइएको छैन ।

3     4

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरु 

नेपालमा लट्टेको जातीय विविधता अध्ययनको ठोस प्रतिवेदन अझैसम्म प्रकाशित भएको पाइंदैन । हालसम्म जिन बैंक खुमलटारमा संरक्षित तथा पहाडी बाली अनुसन्धान कार्यक्रम काभ्रेमा परिक्षित स्थानीय जातहरू हेर्दा पात, फूल, डाँठ तथा बीउमा स्पष्ट विविधता पाइन्छ । लट्टेको जात अनुसार संरक्षित जातहरू साग, दाना, साग र दाना दुवै तथा सुन्दरताको लागि उपयुक्त हुने देखिन्छन् । समयमै यी जातहरू संरक्षण गर्न नसकिए जातीय गिरावट हुनुका साथै स्थानीय उत्पादनमा ह्रास आउने सम्भावना रहन्छ । 
लट्टेमा ५-१०% सम्म हावा तथा कीराको माध्यमबाट पर-परागसेचन हुने हुँदा स्थानीय जातहरुलाई संरक्षण गर्न चुनौती पूर्ण हुने गर्दछ । विभिन्न जातहरू एकै ठाउँमा लगाउने हो भने फूल फुल्ने समयमा झुल लगाउनु अनिवार्य हुन्छ अन्यथा एक जातबाट अर्को जात बीचको पृथकता दुरी २००-४०० मिटर कायम गर्नु पर्दछ वा करिब एक महिनाको फरकमा लगाउनु पर्दछ। यसका लागि नेपालमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरू सक्रिय रहेको पाइन्छ । समुदायस्तरमा दोलखा, जुम्ला, डोटी, हुम्लामा सामुदायिक जिन बैंक पनि स्थापना गरी सञ्चालनमा रहेको पाइन्छ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्रीहरु 

रामेछाप हरियो लट्टे - संक्षिप्त परिचय । राष्ट्रिय पहाडी बाली अनुसन्धान कार्यक्रम, काब्रे, दोलखा, २०७१ । 
लट्टे (Grain Amaranth) पौष्टिकताले भरिपूर्ण बाली । राष्ट्रिय पहाडी बाली अनुसन्धान कार्यक्रम, काब्रे, दोलखा । 
वार्षिक प्रतिबेदन - पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे, दोलखा २०७४ । 
O'Brien and Prince 2008. Amaranth grain and vegetable types. Echo Technical note, http://www.echonet.org/
Joshi, B.K., Bhatta, M.R., Ghimire, K.H., Khanal, M., Gurung, S.B., Dhakal, R. and Sthapit, B.R. 2017. Released and Promising rop Varieties of Mountain Agriculturein Nepal (1959-2016). LI-BIRD, Pokhara; NARC, Kathmandu and BioversityInternational, Pokhara, Nepal. 
https://sqcc.gov.np/storage/listies/November2021/Notified_and_Denotified_Varieties_till_2078 -04-32.pdf