लट्टे नेपालको तराई देखि पहाडको ३५०० मिटरको उचाईसम्म खेती गर्न सकिने बाली हो । नेपालमा विभिन्न ठाउँ अनुसार यसलाई लट्टे, लुड़े, माटे, मार्से भन्ने गरिन्छ । पौष्टिकताले भरिपूर्ण यो बालीलाई आजकल सुपरफुड वा अत्यन्त उपयोगी खाना भनिन्छ । यसको पात रातो, हरियो, प्याजी, कलेजी तथा मिश्रित रंगको हुने गर्दछ । बीउ तथा साग उत्पादनको दृष्टिकोणबाट यो एक वर्षे, ठाडो र अग्लो बोट (२.५ मिटर सम्म) प्रकृति भएको बाली हो । यो बाली मुख्य रूपमा दक्षिण तथा मध्य अमेरिकामा फैलिएको पाइए तापनि यसको करिब ४०० जातहरू विश्वभरिका उष्ण तथा उपोष्ण हावापानीमा फैलिएको पाइन्छ ।
लट्टेलाई अन्न तथा साग दुबै रूपमा प्रयोग गर्न सकिन्छ । विशेषगरी तीन थरीका प्रजातिहरू दाना र सागको लागि प्रचलित रहेका छन् । Amaranthus hypochondriacus र Amaranthus cruentus दाना उत्पादनको लागी लगाउने गरिन्छ भने Amaranthus tricolor लाई सागको रूपमा रुचाउने गरिन्छ । जलवायु परिवर्तनको विद्यमान समयमा यो बालीले कम चिस्यानमा पनि प्रभावकारी प्रकाश संश्लेषण प्रक्रियाबाट सुर्यको प्रकाश र खाद्यतत्वको भरपुर उपयोग गरी उत्पादन दिने गर्दछ। सामान्यतया कालो दाना भएको लट्टेलाई साग तथा हल्का पहेंलो रंग भएकोलाई अन्नको रुपमा प्रयोग गर्ने गरिन्छ । यो बाली अत्यन्त छोटो समय तथा कम व्यवस्थापनमै सागको रूपमा प्रयोग गर्नयोग्य हुने गर्दछ ।
लट्टेबालीको हालको अवस्था
यो बालीको अनुसन्धान पहाडी बाली अनुसन्धान कार्यक्रम, बैतेश्वर-४ काब्रे, दोलखामा हुने गर्दछ । यो कार्यालयको स्थापनासँगै लट्टे बालीको अनुसन्धान कार्यक्रम सिलसिलेवार रूपमा अगाडि बढेको हो । राष्ट्रिय कृषि आनुवांशिक श्रोत केन्द्र, जिन बैंक खुमलटारमा नेपालको स्थानीय स्तरमा प्रचलित विभिन्न जातहरू संरक्षण गरी राखे काम गरिन्छ भने तिनै मध्येका जातहरुलाई परीक्षण गरी उन्मोचन प्रक्रिया बढाइन्छ । हाल पहाडी बाली अनुसन्धान कार्यक्रम मार्फत डोटी, जुम्ला र दैलेखमा रहेका नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका कार्यालयहरुमा विभिन्न समन्वयात्मक परीक्षणहरू सञ्चालनमा रहेका छन् र निकट भविष्यमै कुनै न कुनै लट्टेको नयाँ जात उन्मोचन हुने आशा गर्न सकिन्छ ।



