परिचय

सामान्य वानस्पतिक चिनारी

सामान्य वानस्पतिक चिनारी 
कागुनो [Foxtail millet: Setariaitalica (L.) Beauv.] विश्वका प्राचिनतम अन्नवालीहरू मध्येको एक बाली हो जुन कोदो वर्गको बालीहरू अन्तरगत पर्दछ । कागुनो एक स्वयंसेचित वाली हो जसमा नौ जोडा (२n=२x=१८) क्रोमोजोम रहेका हुन्छन् । यो पनि कोदो जस्तै घाँस परिवारको एकवर्षीय बाली हो जसमा गुच्छेदार मसिना जराहरू रहेका हुन्छन्। यसको बोट लगभग धान जस्तै हुन्छ तर डाँठ छिप्पिएपछि कडा हुन्छ । यसको वाला फ्याउरोको पुच्छर जस्तो आकारको हुने हुनाले यसलाई फक्सटेल मिलेट भनिएको हो । यसको डाँठ मसिनो र ठाडो बढ्‌ने हुन्छ । बोट १००-२०० से.मी. सम्म अग्लो हुन्छ । पाकेको बोट प्रायः वालाको भारले नुहेको हुन्छ । पातहरू साँगुरा लाम्चा र मध्य नशा प्रष्ट देखिने मसिना रौहरुले भरिएका हुन्छन् । फ्याउरोको पुच्छरजस्तो देखिने बालाहरू १०-३५ से.मी. सम्म लम्बाईका लामा वा छोटा झुसहरुले ढाकिएका हुन्छन्। दानाहरू मसिना (२ मि.मी. सम्मका) अण्डाकारका सेतो, पहेंलो, सुन्तले, रातो, वैजनी, खैरो, कालो आदि रंगमा हुन्छन् । दानालाई चिल्लो र कडा खोस्टाले ढाकेको हुन्छ ।

1

                                        चित्र: जुम्लाको रातो कागुनो 

बालीको हालको अवस्था 

बालीको हालको अवस्था 
कागुनो संसारमा खेती गरिने कोदो बाली मध्ये जुनेलो र बाजरा पछिको तेस्रो प्रमुख बाली हो । पूर्वी, दक्षिणी तथा पश्चिमी एशिया, दक्षिणी युरोप, उत्तरी अफ्रिका र उत्तरी अमेरिकाका देशहरुमा कागुनोको धेरै खेती हुन्छ । चीन विश्वको सबैभन्दा ठुलो कागुनो उत्पादक राष्ट्र हो भने त्यसपछि जापान, दक्षिण कोरिया र भारत पर्दछन् । चीनमा कागुनो धान र गहुँ पछिको महत्वपूर्ण खाद्यान्न बाली हो । एशियामा मुख्यतः खाद्यान्न बालीको रुपमा तथा युरोपमा चाराबालीको रुपमा कागुनोको खेती गरिन्छ । 
नेपालमा विशेषगरी कर्णाली प्रदेशका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, सुदुर पश्चिम प्रदेशका हिमाली जिल्लाहरू बाजुरा र बझांग, गण्डकी प्रदेशका लमजुङ, गोरखा र कास्की तथा बागमती प्रदेशका रामेछाप, काभ्रे आदि जिल्लाहरुमा असिञ्चित, कमसल, सीमान्त वा रुखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ । नेपालमा कागुनोको उत्पादन र क्षेत्रफलबारे आधिकारिक तथ्यांक उपलब्ध छैन, तर औसतमा करिब ८१५ के.जी./हेक्टर उत्पादन हुने विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । खुमलटार, ललितपुरमा गरिएको परीक्षणमा अधिकतम ३१०० के.जी./हेक्टरसम्म कागुनोको उत्पादन रेकर्ड भएको छ । कागुनो हाम्रो देशमा कोदो र चिनो पछिको तेस्रो कोदोबाली हो तथापि विविध कारणहरुले गर्दा हालका दिनहरुमा यसको क्षेत्रफल घट्दो क्रममा रहेको छ ।

महत्व तथा विशेषता 

महत्व तथा विशेषता 
कागुनो पौष्टिकताले भरपुर बाली हो । विभिन्न पौष्टिक तत्वहरू जस्तैः प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा कागुनोलाई धान र गहुँ भन्दा श्रेष्ठकर बाली मानिन्छ । यसमा ९-११% प्रोटिन, ४.६% चिल्लो पदार्थ, ६६% कार्बोहाइड्रेट, ८.८% रेसा तथा २.८% खनिज तत्वहरू पाइन्छ । प्रति १०० ग्राम कागुनोबाट ३५२ मि.ग्रा. फस्फोरस, ७.१ मि.ग्रा. क्याल्सियम, ३.७मि.ग्रा. फलाम, ०.६ मि.ग्रा. थायामिन, ०.११ मि.ग्रा. राइवोफ्लाभिन र ३४६ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । यसमा पोलिफिनोल्स, ट्यानिन्स, स्यापोनिन्स, अल्कोलोइड्स, फ्लाभोनोइड्स जस्ता क्यान्सर निरोधक रसादिहरू पाइन्छन् । अन्य आडिलो खाना पचाउन नसक्ने व्यक्तिका साथै ग्याष्ट्रिक, मधुमेह, उच्च रक्तचाप आदिका बिरामीको निम्ति पनि कागुनोको भात राम्रो मानिन्छ । 

कोदो जस्तो धेरै ठुलो क्षेत्रफलमा खेती नगरिने भएकोले यसले हाम्रो राष्ट्रिय अर्थतन्त्रमा त्यस्तो ठुलो हिस्सा ओगटेको छैन तापनि कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुको खाद्य तथा पोषण सुरक्षामा यसले महत्वपूर्ण भूमिका खेलेको छ। कोदो जस्तै कागुनो पनि कम वर्षा हुने, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चित दुवै अवस्थामा कम लागतमै उब्जिन सक्ने बाली भएकोले सीमान्त कृषकहरुको लागि यो बालीको आर्थिक महत्व छ । छोटो समय (करिब ३-४ महिना) मा नै पाक्ने बाली भएकोले यसलाई अन्य बाली असफल भएको अवस्थामा पनि पूरक बालीको रुपमा खेती गर्न सकिन्छ । यो प्रतिकूल समयमा पनि धेरथोर उत्पादन दिने भएकोले हामीलाई भोकमरीबाट बचाउन सक्ने बाली पनि हो । यसको माग हिजोआज सहरी क्षेत्रमा बढेर गएको हुँदा उच्च पहाडी भेगका कागुनो खेती गर्ने किसानहरुको लागि यो बाली आय आर्जनको एउटा राम्रो स्रोत बन्न सक्ने देखिन्छ । 
कागुनोको सांस्कृतिक महत्व पनि रहेको छ । यसको चामल कोदो वा अन्य अन्न बालीहरू जस्तो बिटुलो नमानिने भएकोले चोखो अनाजको रुपमा लिइन्छ । पुजाआजामा प्रसादको रुपमा यसको लड्डु चढाउने पनि चलन छ भने व्रत-व्रतादिमा चोखो खानको लागि पनि कागुनोको चामल प्रयोग हुन्छ । यसबाट कोदोमा मिसाएर उच्च गुणस्तरको मदिरा पनि बन्ने भएकोले खासगरी गुरुङ, मगर, तामाङ जस्ता आदिवासी जनजातीहरुले कुलदेवतालाई यसको रक्सी चढाउने परम्परा पनि रहेको छ । नेपालको पर्यटन प्रवर्द्धनको लागि कोदोको ढिडो जस्तै कागुनोको खिर, सेलरोटी, स्थानीय मदिरा र स्थानीय कुखुराको मासु कतिपय होमस्टेले आफ्नो मेनुमा राख थालेका छन् ।

1

चित्र २ः कालो कागुनो

कागुनोको प्रयोग 

कागुनोको प्रयोग 
नेपालमा कागुनोबाट भात, खिर, रोटी, ढिंडो आदि परिकार बनाएर खाने गरिन्छ भने पशुपन्छीलाई आहाराको रुपमा पनि प्रयोग गरिन्छ । कागुनो फलेर भुस हटाएपछि भात वा खिर पकाउन वा पिनेर रोटी वा ढिंडो बनाएर खान उपयोग गरिन्छ । कागुनो मिठाई र अन्य रुचीकर परिकारहरू बनाउन पनि प्रयोग गरिन्छ । यसको दाना पशुपन्छीको चाराको लागि पनि प्रयोग हुन्छ भने हरियो तथा सुकेको नल पशुको लागि सुपाच्य आहारा हो ।

हावापानी र माटो

हावापानी र माटो

हावापानी 
कोदो जस्तै कागुनो पनि वर्षायाममा खेती गरिने बाली भएको हुँदा यसले न्यानो हावापानी मन पराउँछ । तथापि यो बाली विविध प्रकारको हावापानी भएको क्षेत्रमा उब्जनी हुन सक्दछ । यसको खेती उष्ण, उपोष्ण र समशितोष्ण क्षेत्रहरुमा गर्न सकिन्छ । समुद्र सतहदेखि ३००० मि. सम्मका र वार्षिक ५०-१०० से.मि. वर्षा हुने क्षेत्रमा कागुनो खेती सफल हुन्छ । यस बालीलाई यसको जीवन अवधिभर मध्यम तापक्रम चाहिन्छ । कागुनो उम्रन र उचित वृद्धि विकासको लागि १५-२७° से. तापक्रम उपयुक्त हुन्छ । फूल फुल्ने बेला न्युनतम तापक्रम १०० से. भन्दा कम भएमा बाला ननिस्कने वा निस्के पनि दाना नलाग्ने हुन्छ भने अधिकतम तापक्रम ३०० से. भन्दा धेरै भएमा परागकणहरू सुकेर सेचन नहुने र बाला भुस्सिने हुन्छ । यो धेरै सुख्खा सहन सक्ने बाली भएको हुँदा सिँचाई सुविधा नभएको र कम वर्षा हुने क्षेत्रमा वर्षे बालीको यसको खेती गर्न सकिन्छ । वर्षाकालिन र छोटो अवधिमा पाक्ने बाली भएकोले यसले चिस्यानको अभाव प्रायः सहनु पर्दैन । सिञ्चित क्षेत्रमा वसन्त गृष्मकालिन बालीका रुपमा पनि कागुनो उब्जाउन सकिन्छ ।

माटो 
कागुनो पनि कोदो जस्तै रुखोदेखि ज्यादै मलिलो माटोमा पनि खेती गर्न सकिन्छ । यसका लागि नयाँ, डैडेलो लगाएको, राम्रो जल निकास भएको दोमट वा चिम्टाइलो दोमट माटो राम्रो हुन्छ । पहाडमा रातो दोमट, पाँगो वा अन्य प्रकारका माटोमा पनि यसको खेती हुन सक्छ तर ढुङ्गयान वा पत्थरिलो माटो त्यति उपयुक्त हुँदैन । कागुनो खेतीको लागि पि.एच. (pH) मान ५.५-७.० सम्म भएको माटो उपयुक्त हुन्छ । कागुनो उम्रनको लागि माटोमा पर्याप्त मात्रामा चिस्यान हुनु अति आवश्यक हुन्छ ।

जातहरु

जातहरु 

जातहरु 
नेपालमा हालसम्म कागुनो बालीको कुनै खासै अनुसन्धान भएको छैन, त्यसैले कुनैपनि उन्नत जातहरू सिफारिस गरिएका छैनन् । तर हाम्रा स्थानीय जातहरुमा प्रशस्त विविधता पाइन्छ । बोटको उचाई, बालाको साइज, पात र दानाको रंग, झुस र टुंडोको आधारमा जातहरुमा विविधता पाइन्छ । नेपालमा खेती गरिने स्थानीय जातहरुमा कालो कागुनो, सेतो कागुनो, रातो कागुनो, पहेंलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठुलो कागुनो, आदि छन् । 


तालिका १: नेपालमा खेती गरिने केही कागुनोका स्थानीय जातहरू र तिनका मुख्य मुख्य गुणहरु

जात

महत्वपूर्ण गुणहरु

चित्र

  • बरियो कागुनो

ठुला ठुला आकर्षक हल्का खैरो बाला, घिउ रंगको दाना, बोटको औसत उचाईः १६७से.मी., फूल फुल्ने अवधिः ६५ दिन, पाक्ने अवधिः १०० दिन, औसत उत्पादनः २-२.५ टन/हेक्टर, बालाको औसत लम्बाईः २५-३० से.मी., सुख्खा सहने, नढल्ने, मरुवा रोग अवरोधी, मध्य पहाडी क्षेत्रको लागि उपयुक्त, २०७७ सालमा पञ्जिकरण गरिएको लमजुङ जिल्लाको रैथाने जात।

 

kagune

 

  • कालो कागुनो

आकर्षक गाढा खैरो बाला, कालो रंगको दाना, बोटको औसत उचाईः १७५ से.मी.. फूल फुल्ने अवधिः ७५ दिन, पाक्ने अवधिः ११० दिन, औसत उत्पादनः २.५ टन/हेक्टर, बालाको औसत लम्बाईः २५ से.मी., सुख्खा सहने, नढल्ने, मरुवा रोग अवरोधी; कर्णाली प्रदेशको हिमाली क्षेत्रको लागि उपयुक्त, हुम्ला जिल्लाको रैथाने जात ।

Kagune2

 

बाली चक्र

बाली चक्र

बाली चक्र
कागुनो वालीलाई स्थानअनुसार एकल, मिश्रित, घुसुवा वा अन्तरबालीको रुपमा खेती गरिन्छ । भौगोलिक अवस्था, खेती प्रणाली र सामाजिक अवस्थाले कागुनो खेतीको बाली-चक्रमा अन्तर ल्याउँछ । वर्षे बालीको रुपमा कागुनो लगाइएको भए त्यसपछि जौ, गहुँ, चना, केराउ, आलस, तोरी आदि लगाउन सकिन्छ भने वसन्ते कागुनो पछि कोदो वा धान लगाउन सकिन्छ । कर्णाली प्रदेशमा कागुनो प्रायः कोदो, चिनो वा मार्सेसँग मिश्रित खेती गरिन्छ भने तल्लो पहाडमा प्रायः धैया धान, मकै, बदाम, मुङ, तिल आदिसँग मिश्रित खेतीको रुपमा लगाउन सकिन्छ ।

खेति प्रणाली

रोग र कीरा

कागुनो बालीमा पनि रोग र कीराले उल्लेख्य क्षति पुऱ्याउँछन् तर किसानहरुले रोगकीराको व्यवस्थापनमा त्यति ध्यान दिएको पाइन्न । कागुनो बालीमा लाग्ने मुख्य मुख्य रोग तथा कीराहरु, पहिचान वा क्षतिको लक्षण र तिनको व्यवस्थापनका उपायहरू निम्नानुसार दिइएको छः 


कालो पोके (Loose smut) 
कालोपोके एक ढुसीजन्य रोग होजुन अस्टिलागो क्रामेरी भन्ने ढुसीको कारणले लाग्दछ । यो रोगका जीवाणु बीउको बाहिरी सतहमा टाँसिएर बसेका हुन्छन् र बीउ उसँदा सँगसँगै बोट भित्र प्रवेश गरी फूल फुलेपछि रोगका लक्षण बालामा प्रकट हुन्छन् । रोगग्रस्त बिरूवाको वृद्धि कम हुन्छ । यस ढुसीले बालाका अधिकांश दानामा प्रभावित गर्छ र बाला कालो धुलो पाउडरको पोकोले भरिएको हुन्छ । बाली परिपक्व हुने बेलामा कालो पोका फुट्छन् र हावाको सहायताले टाढा टाढासम्म पनि फैलिन्छन् । यो रोगको व्यवस्थापनको लागि वीजाणुहरू माटोमा बाँच्न सक्ने भएकोले घुम्ती बाली प्रणाली अपनाउने, रोग देखिएमा धुलो नझर्दै रोगी बोटहरू उखेलेर खाडल खनी गाडिदिने वा जलाउने, रोगी बोटहरू पशुहरुलाई नखुवाउने, भाइटाभ्याक्स वा थिराम २.५ ग्राम प्रति के.जी. बीउका दरले बीउ उपचार गर्ने जस्ता उपायहरू अबलम्बन गर्न सकिन्छ । 


मरुवारोग (Blast) 
यो रोग पाइरिकुलेरिया सेटारी भन्ने ढुसीको कारणले लाग्दछ । यस रोगले कागुनोका पातहरुमा अत्याधिक क्षति गर्छ । पातमा आँखा वा डुङ्गा आकारका दाग उत्पन्न हुन्छन् । दागको किनारा पहेंलो र मध्य भाग खरानी रङ्गको हुन्छ । यो रोग बालीको सुरू अवस्थादेखि नै लाग्न थाल्छ ।  रोग अवरोधक जातहरू तथा स्वस्थ बीउमात्र रोप्ने, बीउ रोप्नुपूर्व क्याप्टान/कार्बेन्डाजिम २.५ ग्राम/के.जी. बीउका दरले उपचार गरेर मात्र बीउ रोप्ने, खेतमा रोपिसकेपछि रोगको आक्रमण भएमा ढुसीनाशक विषादी १५ दिनको फरकमा एक दुई पटक छर्ने, रोगग्रस्त बालीबाट बीउ नलिने जस्ता उपायहरू अपनाउन सके यो रोगबाट बच्न सकिन्छ ।

गबारो कीरा (Stem borer) 
कोदो बालीको तुलनामा कागुनो बालीमा कीराको प्रकोप कमै हुन्छ । यसमा पनि गुलाबी गबारो र धर्के गवारोले बाला निकाल्ने समयमा दुख दिन सक्छ । लाभ्रेले डाँठलाई छेडी भित्र पसी गुवोलाई खान्छ । बालीको वृद्धि अवस्थामा आक्रमण भएमा बालीको वृद्धि रोकिन्छ वा गाँज कम निस्कन्छ भने बालीको पछिल्लो अवस्थामा आक्रमण भएमा सेतो बाला (White head) निस्कन्छ र बाला सुक्छ । कीराको आक्रमण थोरै मात्र विरुवामा भए गुभो मरेका बिरुवाहरू उखेलेर नष्ट गर्ने, राम्रोसँग गोडमेल वा बारीको सरसफाई गर्ने, कीराको प्रकोप धेरै भएको खण्डमा नयाँ विषादी फर्टेरा (०.४% दानेदार) ३०-४० के.जी. सक्रिय पदार्थ प्रति हेक्टरका दरले माटोमा प्रयोग गरेमागभारो कीराको व्यवस्थापन गर्न सकिन्छ । 


पतेरो कीरा (Bug) 
कागुनोको बालामा दुध भरिने समयमा पतेरो कीराले आक्रमण गर्ने सम्भावना हुन्छ । पतेरोले आक्रमण गरेका बालाका दानाहरूमा खैरो दाग देखिने, दानाहरू फोस्रा हुने अथवा आधा फोस्रिएको हुने गर्दछ । यसको व्यवस्थापनको निम्ति प्रकाशको पासोको माध्यमबाट वयस्क कीरालाई मार्ने, खेतबारी भित्र तथा वरिपरिको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रयस्थललाई नष्ट गर्ने, डर्टी ट्रयापको प्रयोग गर्ने, जसको लागि गाईभैंसीको ताजा पिसाबमा कपडा वा जुटको बोरालाई भिजाएर एउटा घोचोको एक छेउमा बाँध्ने र उक्त घोचोलाई बारीको बिचमा लगेर गाड्ने, ट्रयापमा आकर्षित भएका पतेरोहरूलाई बाहिरबाट प्लास्टिकको झोलाले छोपी संकलन गरी मार्ने जस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ ।

जमिनको तयारी र मलखाद

जमिनको तयारी 
कागुनो रोप्नका लागि धेरै खनजोत गर्नु आवश्यक छैन । मनसुन सुरू हुनअघि एकपटक माटो पल्टाउन हलोले जोताई गर्नुपर्छ र वर्षायाम सुरू भएपछि दुई पटक ह्यारोले या स्थानीय हलोले जोतेर जमिनको तयारी गर्नुपर्छ । पाटा लगाएर माटो बुर्कुराउँदो डल्लारहित बनाउनुपर्छ । 

मलखाद 
कागुनो रोप्नु भन्दा करिव एक महिना पहिले राम्ररी कुहिएको गोबरमल वा कम्पोष्ट मल ५-१० टन प्रति हेक्टरका दरले राखी माटोमा मिलाउनु पर्छ । गड्यौली मल २-३ टन/हे. का दरले वा पिना वा अन्य प्रांगारिक पदार्थ जमिनको अन्तिम तयारीको बेलामा प्रयोग गर्न सकिन्छ । प्राङ्गारिक मल हाल्नाले माटोको जलधारण क्षमता बढ्छ । यस बालीलाई रसायनिक मल पनि दिनु लाभदायक हुन्छ । रसायनिक मल कति हाल्ने भन्ने कुरा कागुनोको जात, माटोमा उपलब्ध प्रांगारिक पदार्थ, बाली लगाउने तरिका आदिले फरक पार्दछ । माटो जाँचका आधारमा माटोमा अपुग खाद्यतत्वहरू मात्र सन्तुलित मात्रामा दिनु उत्तम मानिन्छ । माटो विश्लेषणको नतिजा उपलब्ध नभएमा सामान्यतया सिञ्चित क्षेत्रमा २०-३० के.जी./हेक्टरका दरले नाइट्रोजन, ३०-४० के.जी./हेक्टर फस्फोरस र २०-३० के.जी./हेक्टर पोटास जग्गा तयारीको बेलामा प्रयोग गर्नु पर्छ भने २०-३० के.जी./हेक्टर नाइट्रोजनले पहिलो गोडाईको बेलामा टपड्रेस गर्नु पर्छ ।

बाली लगाउने समय र बीउको दर

बाली लगाउने समय 
सामान्यतया वर्षे वाली (वैशाख-जेठमा रोपी भदौमा काट्ने) भएपनि सिञ्चित तल्लो पहाडी क्षेत्रमा यसलाई वसन्ते वाली (फागुनमा रोपी जेठ-असारमा काट्‌ने) को रुपमा पनि खेती गर्न सकिन्छ । वर्षे बालीको रुपमा ११०० मिटर सम्मको तल्लो पहाड र बेसीमा जेठ मसान्तसम्म, ११००-१८०० मिटर सम्मका मध्य पहाडमा जेठ पहिलो हप्तासम्म र १८०० मिटरभन्दा माथिका उच्च हिमाली भेगमा वैशाखको तेस्रो हप्तासम्ममा कागुनो रोप्नुपर्छ । माटोमा पर्याप्त चिस्यान भएको बेला रोपण गरेमा अंकुरण राम्रो हुन्छ र उब्जनी बढी हुन सक्छ । माटोमा चिस्यानको उपलब्धता ख्याल नगरी रोपेमा कागुनोको बीउ राम्ररी नउम्रन सक्छ । 


बीउको दर र रोप्ने तरिका 
मसिनो दाना हुने भए तापनि कोदो जस्तो धेरै गाँज नहाल्ने भएकोले कागुनोलाई पनि कोदो जत्तिकै बीउ दर आवश्यक हुन्छ । जस अनुसार छरुवा तरिकाले खेती गर्दा प्रति हेक्टर १० के.जी. र लाइनमा छर्दा प्रति हेक्टर ८ के.जी. का दरले कागुनोको बीउ प्रयोग गर्नुपर्छ । बीउलाई सुख्खा माटोमा या बालुवामा मिसाई छर्न सकिन्छ । बीउ छर्नु भन्दा पहिले भाईटाभ्याक्स २.५ ग्राम प्रति के.जी. बीउका दरले बीउ उपचार गरेमा ढुसीजन्य रोगहरुबाट बच्न सकिन्छ । बीउ रोप्दा एकैनासले वितरण हुने र बीउ करिब २-३ से.मी. गहिराईमा पर्ने गरी छर्नुपर्छ भने लाइनमा छर्दा लाइन-लाइनको दुरी २५ से.मी. कायम गरी २-३ से.मी. को गहिराईमा बीउ छर्नु उपयुक्त हुन्छ । छरेको २५-३० दिनमा बाक्लो उम्रका बिरुवा उखल्नुपर्छ । यदि लाइनमा छरेको भए बाक्लो उम्रेका विरुवाहरू उखलेर छाँटी बोटदेखि बोटको दुरी १० से.मी. कायम राखुपर्छ ।

सिँचाई र गोडमेल

सिँचाई 
वर्षे कागुनो बालीलाई सिँचाई प्रायः आवश्यकता पर्दैन । तर लामो अवधिसम्म खडेरी परेमा आवश्यकतानुसार पहिलो गोडाई पछि एक पटक र बाला निकाल्नु अघि एक पटक सिँचाई दिन सकेमा उब्जाउ राम्रो हुन्छ । यो बालीले खेतमा पानी जमेको अवस्था सहन नसक्ने भएको हुनाले निकासको राम्रो व्यवस्था मिलाउनु पर्छ । 


गोडमेल 
पाखो बारीमा एकल वा मिश्रित बालीको रुपमा कागुनो खेती गर्दा बालीको प्रारम्भिक अवस्थामा नै झारपात नियन्त्रणको लागि गोडमेल जरुरी हुन्छ । कुटे, हाते वा पाङग्रे दाँतद्वारा पनि गोडमेल गर्न सकिन्छ । वर्षेबाली भएकोले कागुनो बाली भित्र झारको प्रकोप निकै हुन्छ । समयमा झारपात नियन्त्रण गरिएन भने उत्पादनमा कमी हुन्छ । लाइनमा छरेको बाली गोडमेल गर्न सजिलो हुन्छ । समयमै गोडमेल गरिएमा मुसा तथा रोगको प्रकोप पनि कम हुन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

कागुनो खेतीमा अन्य समस्या र व्यवस्थापन

कागुनो खेतीमा अन्य समस्या र व्यवस्थापन 
चरा 
कागुनो चराको अति प्रिय खाना भएकोले बाली पाक्ने समयमा तोप चरा भन्ने भंगेरा जस्तै एक प्रकारको सानो चराले दुख दिन्छ । यसको व्यवस्थापनको लागि सकेसम्म रुख, बुट्यानहरुको नजिकमा कागुनो नरोप्ने, धेरै छिटो वा धेरै ढिलो पाक्ने खालका जातहरू नलगाउने, चरा धपाउने यन्त्रको प्रयोग गर्ने आदि उपायहरू अवलम्बन गर्न सकिन्छ । 

मुसा 
अन्य अन्नबालीमा जस्तै कागुनो बालीमा पनि मुसाले दुख दिन्छ । बाली पाक्न थालेपछि मुसाले बाला काटेर लैजान्छ । यसको व्यवस्थापनको लागि झारपात तथा ठुटाठुटिहरू हटाई खेतबारीको सरसफाई गर्ने, धेरै छिटो वा धेरै ढिलो पाक्ने खालका जातहरू नलगाउने, मुसाको प्वालहरू टाल्ने, खन्ने तथा नष्ट गर्ने साथै मुसाको प्रकोप धेरै नै भएमा विषयुक्त चाराको प्रयोग गरेर मुसा नियन्त्रण पनि गर्न सकिन्छ ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

बाली भित्र्याउने समय 

बाली भित्र्याउने समय 
खेती गरिएको स्थान र लगाइएको जात अनुसार रोपेको ३-४ महिनामा कागुनो बाली भित्र्याउनको लागि तयार हुन्छ । तराई र भित्री मधेशमा भन्दा उच्च पहाडमा कागुनो ढिलो पाक्दछ । बालाहरू सुकेपछि आँसीको सहायताले वाला टिप्न वा वाला सहित बोटहरू जमिनको सतह नजिकबाट काट्न सकिन्छ । तर अधिकांश कृषकहरुले पहिला बाला टिप्ने र त्यसपछि नल काटने गर्छन् । काटेको बाली केहीदिन घाममा सुकाएर लौरो वा मुङ्गग्रोको सहायताले चुटी सफा गर्ने र राम्ररी सुकाएर राम्रोसँग बन्द गर्न सकिने टिनको भकारी वा अन्य उपलब्ध भाँडामा ओस नलाग्ने ठाउँमा मात्र भण्डारण गर्नुपर्छ ।

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 
परम्परागत रुपमा कागुनोको मुख्यतः खिर र भात खाइन्छ तर हिजोआज यसका मूल्य अभिवृद्धि गरिएका परिकारहरू सहरी उपभोक्ताहरुको खोजीमा पर्दछन् । विभिन्न बेकरी उद्योगहरुबाट कागुनोको पिठो प्रयोग गरी केक, बिस्कुट, चाउचाउ, पाउरोटी, उत्पादन हुन थालेको छ । कोदो जस्तै कागुनोको पनि मूल्य अभिवृद्धि गरी विविध उत्पादनहरू बजारमा लैजान सके कृषकहरुको आय आर्जनमा वृद्धि भई यसको प्रवर्द्धनमा पनि टेवा पुग्न जान्छ । कागुनो उत्पादन हुने क्षेत्रमा घरेलु तथा साना उद्योगको रुपमा यी परिकार तयार गरी विक्री वितरण गर्न सकिन्छ । यसको पिठोमा पनि कोदोमा जस्तै ग्लुटिन भन्ने तत्व नहुने भएकोले पिठो मुछेर गहुँको जस्तो डल्लो बनाउन सकिँदैन । तर कागुनोको पिठोमा गहुँको पिठो र थोरै ग्लुटिनको समिश्रणबाट बिस्कुट, कुकिज, पाउरोटी, केक, आदि बनाउन सकिन्छ (खाद्य अनुसन्धान महाशाखा, २०७१।)


बजारीकरण 
पहिले पहिले कागुनोको भात वा चाडपर्वमा खिर खाने चलन थियो तर हाल यसको उत्पादन कम हुँदै गएको र बदलिंदो खाद्य आनीवानीका कारण ग्रामिण भेगमा भन्दा सहरी क्षेत्रमा यसको माग तथा उपयोग बढ्दो क्रममा रहेको छ । कम शारीरिक श्रम गर्ने सहरी जनसंख्या उच्च रक्तचाप, मधुमेह, कोलस्टेरोल जस्ता समस्याबाट पीडित हुन थालेकाले र सहर-बजारका होटल-रेष्टुरेन्टमा समावेश भएको मेनुको कारणले पनि हिजोआज कागुनोको खपत गाउँघर भन्दा सहर बजारमा धेरै छ । नेपालको कागुनो एक पूर्ण प्रांगारिक वाली भएकोले पनि सचेत नागरिक तथा तारे होटलका पाहुनाहरुले समेत यसको खिर, ढिंडो, केक, स्वीट वा डेजर्ट लगायतका परिकारहरू खोज्न थालेका छन् । तसर्थ गाउँघरमा प्रति के.जी. रु. ८०-९० सम्ममा विक्री हुने कागुनोको चामल ठूला डिपार्टमेन्टल स्टोरहरुमा प्रति के.जी. रु. २५०-३०० सम्ममा सहजै विक्री हुने गरेको छ । नेपालमा विदेशबाट कति कागुनो आयात हुन्छ भन्ने यकिन तथ्यांक नभेटिए तापनि ठुला सहरी व्यापारिक घराना तथा होटेलहरुमा यसको माग अत्याधिक रहेको छ । सहरका व्यापारीहरुले उत्पादक किसानहरुसँग सोझै सम्पर्क गरी वा स्थानीय व्यापारीहरू मार्फत् कागुनोको चामल खरिद गरी आफ्नो लेवलमा प्याकेजिङ्ग गरी बेच्ने गर्दछन् । कागुनो उत्पादन हुने हिमाली र पहाडी जिल्लाहरुमा स्थानीय र जिल्ला स्तरमा सञ्चालित कोसेली घरहरुमा कृषक समूहको आफ्नै लेवलमा कागुनोको चामल किनबेच हुने गरेको छ । यसले पनि स्वदेशमै पर्याप्त उत्पादन गर्न सके कागुनो खेतीलाई बजारको कुनै समस्या छैन भन्ने देखिन्छ।

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरु 

जातीय संरक्षणको महत्व एवं उपायहरु 
कागुनो आफैमा एक लोपोन्मुख बाली हो। खेती गर्ने किसानहरुले पनि यसलाई अति सीमान्त वा कम मलिलो, असिञ्चित र फालिएको जग्गामा खेती गर्ने गरेका छन् । दिनानुदिन कागुनो खेती घट्दै जान थालेकाले यसका स्थानीय जातहरू र सम्बन्धित परम्परागत ज्ञान पनि लोप हुने खतरामा रहेका छन् । जातीय संरक्षणबाट हाम्रा रैथाने विविधता जोगाउन सकिन्छ, जसले किसानहरुलाई छनौटको विकल्पहरू वृद्धि हुन्छ र जलवायु परिवर्तनबाट सिर्जित जैविक तथा अजैविक समस्याहरुसँग जुध्ने क्षमता बढाउँछ । हाम्रा यी स्थानीय जातहरुमा धेरै फल्ने, स्वाद मिठो हुने, छिटो पाक्ने, चामल धेरै पर्ने, लगायत अन्य विशेष औषधीय गुणहरू रहेका हुन्छन् जुन बाली प्रजनन् मार्फत् नयाँ जातहरुमा सार्न सकिन्छ । स्थानीय जातहरुमा भएका यी अमूल्य गुणहरुलाई संरक्षण गर्न कृषक समुदायसँग मिलेर जातीय सुधार गर्नु अति आवश्यक छ । कागुनो खेतीमा लागेका संरक्षक कृषकहरुलाई राज्यले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने देखिन्छ । 
खुमलटार स्थित राष्ट्रिय जीन बैंकमा नेपालमा पाइने करिब ५५ वटा कागुनोका स्थानीय जातहरू संकलन गरी सयौं वर्षसम्म सुरक्षित रहने किसिमले नियन्त्रित वातावरणमा संरक्षण गरिएको छ । संरक्षित जातहरू अध्ययन अनुसन्धान र उत्पादनको लागि कृषक, विद्यार्थी र अनुसन्धानकर्तालाई निशुल्क उपलब्ध हुन्छन् । तपाई हामी पनि हाम्रो आ-आफ्नो क्षेत्रमा खेती गरिदै आएका विशेष गुणयुक्त स्थानीय जातहरुलाई आवश्यक पासपोर्ट डाटा सहित राष्ट्रिय जीन बैंकमा संरक्षण गर्न सक्छौ । हरेक पालिकाहरुमा अनिवार्य सामुदायिक बीउ बैंकको स्थापना गर्ने, स्थानीय जैविक विविधताको संकलन तथा अभिलेखिकरण गर्ने, सामुदायिक बीउ बैंकहरू मार्फत् गुणस्तरीय बीउ उत्पादन गर्ने साथै उत्पादित अनाजको प्रशोधन तथा खाद्य परिकार विविधिकरणमा जोड दिनु जरुरी देखिन्छ । कागुनो खेतीको प्रवर्द्धन तथा जातीय संरक्षणको लागि नेपाल सरकार, कृषि अनुसन्धान तथा विकास संस्थाहरू तथा कृषक समुदाय मिलेर संयुक्त संस्थागत पहल हुन जरुरी छ ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री सूची 

सन्दर्भ सामग्री सूची 

  • Ghimire KH. B Bhandari, SB Gurung, NB Dhami and BK Baniya. 2017. Diversity and Utilization Status of Millets Genetic Resources in Nepal. In: Joshi BK, HB KC and AK Acharya (eds). 2017. Conservation and Utilization of Agricultural Plant Genetic Resources in Nepal. Proceedings of 2 National Workshop, 22-23 May 2017, Dhulikhel, NAGRC, FDD, DoA, and MOAD: Kathmandu, Nepal. http://moad.gov.np/public/uploads/855517450-Plant%20Genetic%20Resources CUAPGR Nepal-min.pdf 
  • Joshi BK, MR Bhatta, KH Ghimire, M Khanal, SB Gurung, R Dhakal, and BR Sthapit. 2017. Released and Promising Crop Varieties of Mountain Agriculture in Nepal (1959-2016).LI-BIRD, Pokhara, NARC, Kathmandu and Bioversity International, Pokhara, Nepal. 
  • Joshi BK, R Shrestha, IP Gautam, AP Poudel and TP Gotame. 2019. Neglected and Underutilized Species (NUS), and Future Smart Food (FSF) in Nepal. National Agriculture Genetic Resources Center (NAGRC, National Genebank), NARC, Khumaltar, Kathmandu, Nepal 
  • Manandhar HK, RD Timila, S Sharma, S Joshi, S Manandhar, SB Gurung, S Sthapit, E Palikhey. A Pandey, BK Joshi, G Manandhar, D Gauchan, DI Jarvis and BR Sthapit. 2016. A field guide for identification and scoring methods of diseases in the mountain crops of Nepal. NARC, DOA, LI-BIRD and Bioversity International, Nepal. 
  • MOAD 2021. Statistical Information of Nepalese Agriculture 2076/077 (2019/020). Monitoring, Evaluation and Statistics Division, Agriculture Statistics Section, Ministry of Agriculture, Land Management and Cooperatives, Kathmandu, Nepal. http://www.moad.gov.np/en/publication/
  • खाद्य अनुसन्धान महाशाखा । २०७१ । चिनो र कागुनोबाट बिस्कुट, केक बनाउने प्रविधि । खाघ अनुसन्धान महाशाखा, राष्ट्रीय कृषि अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, खुमलटार, ललितपुर, नेपाल । 
  • गुरुङ रिता, कृष्ण हरि घिमिरे, प्रकाश आचार्य र पुरुषोत्तम सुवेदी । २०७६ । कागुनो (Foxtail millet) । स्थानीय/रैथाने बाली खेती प्रविधि तथा उत्पादन विविधिकरणः तालीम स्रोत पुस्तिका । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुर । 
  • गुरुङ रिता, श्रीराम सुवेदी र कृष्ण हरि घिमिरे। २०७६ । बरियोकागुनौर यसको खेती प्रविधि । जानकारी-पत्र, अङ्क १६ । ली-बर्ड, राष्ट्रीय जीन बैंक, कृषि विभाग र बायोभर्सिटी इन्टरनेसनल, नेपाल । 
  • घिमिरे कृष्ण हरि, बालकृष्ण जोशी, देवेन्द्र गौचन र भरत भण्डारी । २०७५ । हिमाली भेगको लागि स्थानीय बालीका उत्कृष्ठ जातहरू । जीन बैंक नार्क, ली-बर्ड र बायोभर्सिटी इन्टरनेसनल नेपाल । 
  • घिमिरे कृष्ण हरि । २०७२ । कागुनो खेती र बीउ उत्पादन प्रविधि। जानकारी-पत्र, अङ्ग ३ । ली-बर्ड, राष्ट्रीय जीन बैंक, कृषि विभाग र बायोभर्सिटी इन्टरनेसनल, नेपाल । 
  • साउद नर बहादुर । २०६७ । नेपालका बालीनाली र तिनको दिगो खेती । साझा प्रकाशन, ललितपुर ।