परिचय

सामान्य वानस्पतिक चिनारी 

हेर्दा मकैको बिरुवा जस्तै देखिने जुनेलो ०.५ देखि ४ मिटरसम्म अग्लो हुन्छ । मसिनो जरा हुने यो बालीको अधिकांश जरा माटोको माथिल्लो १५ से.मी. तहमा फैलिन्छन् । मकैमा जस्तै यसमा पनि टेवा दिने जराहरू माटोको नजिकमा रहेको डाँठको आँख्लाबाट निस्किन्छन् । ठोस डाँठमा जात अनुसार ८-२४ वटा पात हुन्छन् । लामो र च्याप्टो पात हेर्दा मकैको जस्तै देखिन्छ । बाला १० देखि ५० से.मी. सम्म लामो भेटिन्छ जुन खुकुलो वा कसिएको हुन सक्दछ । स्वपरागसेचन हुने यस बालीको दाना सानो हुन्छ । दानाको एउटा छेउ अलिक तिखो र अलि खाल्टो परेको हुन्छ भने यसको रंग सेतो, गुलाबी, पहेंलो वा खैरो-पहेंलो हुन्छ ।

बालीको हालको अवस्था, महत्व तथा विशेषता 

बालीको हालको अवस्था 
नेपालमा हाल जुनेलोको खेती निकै नै कम रहेको छ । अन्न बालीको रुपमा भन्दा पनि चारो बालीको रुपमा यसको खेती नेपालमा गरिने गरेको छ । यो बालीको खेतीको क्षेत्रफल, उत्पादन, उत्पादकत्व सम्बन्धी आधिकारिक तथ्यांक उपलब्ध रहेको छैन । 


महत्व तथा विशेषता 
९-११ प्रतिशतसम्म प्रोटिन प्राप्त हुने जुनेलो विश्वमा एक महत्वपुर्ण खाद्यान्न बालीको रुपमा चिनिन्छ । अन्न र पशुचाराको रुपमा यसको प्रयोग गर्ने सम्भावना प्रचुर रहेको छ । बढी सुक्खा सहन सक्ने बालीको रुपमा परिचित जुनेलोले अधिक पानी पनि सहन सक्छ । मकैको जत्तिकै उत्पादकत्व रहेको जुनेलो चाराबालीको रुपमा र साईलेजका लागि तयार गर्न पनि उत्तिकै लाभदायक हुन्छ ।

हावापानी र माटो

हावापानी र माटो 

हावापानी 
न्यानो हावापानी रुचाउने जुनेलो समुन्द्री सतह देखि १५०० मी. उचाईसम्म खेती गर्न सकिन्छ । यसको वृद्धि/विकासको लागि २५-३५० से. तापक्रम राम्रो मानिन्छ । सुख्खा र बढी तापक्रम सहन सक्ने भएतापनि वार्षिक १०० से.मी. भन्दा अधिक वर्षा हुने क्षेत्रमा जुनेलो राम्रो हुँदैन र आद्रता बढी हुँदा पातमा रातो थोप्ले रोग लाग्ने सम्भावना रहन्छ ।

माटो 
मलिलो दोमट वा चिम्टाईलो माटो जुनेलो खेतीको लागि उत्तम मानिन्छ । सिँचाई नभएको स्थानमा पनि यसको खेती गर्न सकिन्छ । मकैको तुलनामा खेतमा पानी जमेको अवस्था पनि यसले सहन सक्छ तर लामो समयसम्म पानी जम्ने स्थान जुनेलोको लागि उपयुक्त मानिंदैन । राम्रो जलधारण क्षमता भएको माटोमा जुनेलोको राम्रो उब्जनी प्राप्त गर्न सकिन्छ ।

जातहरु

जातहरू 

बालाको आकार र छाँट, दानाको रंग र आकार र अन्य केही गुणहरुका आधारमा जुनेलो मुख्यतया डुरा, कफिर, मिलो, शालु, काओलियाँग र फेटेरीटा गरि ६ प्रकारको हुन्छ । नेपालमा हालसम्म जुनेलोको जात सिफारिस गरिएको छैन तथापि केही भारतीय जातहरू चारा बालीको लागि खेती गरिने गरेको छ ।

बाली चक्र

बाली चक्र र खेती प्रणाली 

अन्नको लागि जुनेलो वर्षे बालीको रुपमा खेती गरिन्छ । जुनेलोसँग अन्तरबालीको रुपमा मुंग, रहर, मास वा भटमास आदि प्रयोग गर्न सकिन्छ । निम्नलिखित बाली चक्र प्रमुखतः भेटिने गर्दछ । 
जुनेलो - गहुँ/जौ/चना/केराउ लगायत अन्य हिउँदे बाली 
जुनेलो - आलु/तोरी 
जुनेलो - गहुँ - मुंग/बोडी 
जुनेलो - हिउँदे बाली सुर्यमुखी/बदाम

खेति प्रणाली

जमिनको तयारी र मलखाद 

जमिनको तयारी 
जुनेलो खेतीको लागि माटोको तयारी राम्ररी खनजोत गरि पाटा लगाई तयार गर्नु पर्दछ । एक पटक गहिरो जोताई पश्चात ३-४ पटक डल्ला फुट्ने गरि ठाडो र तेर्सो गरि जोतेमा बुर्बुराउँदो माटोमा जुनेलो मज्जाले लगाउन सकिन्छ । खनजोतको क्रममा झार नियन्त्रण पनि महत्वपूर्ण रहन्छ । 


मलखाद 
माटोबाट प्रशस्त मात्रामा खाद्यतत्व लिने बाली भएको हुँदा जुनेलो खेती गर्दा पर्याप्त परिमाणमा मलखाद दिनु आवश्यक छ । सिञ्चित जमिनमा २००-२५० क्विन्टल प्रति हेक्टर र असिञ्चित जमिनमा १५०-२०० क्विन्टल प्रति हेक्टरको दरले राम्ररी पाकेको गोठे मल वा कम्पोस्ट मल बाली लगाउनु भन्दा लगभग १ महिना अगाडि जस्तो माटोमा हाल्नु पर्दछ । रासायनिक मल प्रयोग गर्नुपूर्व वर्षमा कम्तिमा एक पटक माटो परीक्षण गरि सोको आधारमा मात्र मलखाद प्रयोग गर्दा राम्रो हुन्छ । जाँचको सुविधा नभएको खण्डमा सिञ्चित अवस्थामा १००-१२०:५०:४० के. जी. नाईट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । सिफारिस मात्रको ५०% नाईट्रोजन र पूर्ण फस्फोरस र पोटास रोप्ने बेलामा हाल्नु पर्दछ भने बाँकी ५०% नाईट्रोजन रोपेको ३०-३५ दिनमा टपड्रेस गर्न सकिन्छ । मलखाद प्रयोग गर्दा माटोमा चिस्यान हुनु अत्यन्त आवश्यक हुन्छ । बीउ रोप्ने ड्रिल प्रयोग गरेको खण्डमा बीउ छर्ने बेलामै बीउ र मल एकनासले समान गहिराईमा लगाउन सकिन्छ ।

बाली लगाउने समय 

अन्न बालीको रुपमा जुनेलो लगाउने समय भनेको असार महिना हो। ढिला गरि बाली लगाउँदा रोग कीराको प्रकोपसँगै अर्को बाली लगाउने समय पनि ढिला हुन जान्छ । असिञ्चित क्षेत्रमा मनसुन सुरू भएको हप्ता दिनमा बाली लगाई सकेको हुनु पर्दछ । 
चाराको रुपमा जुनेलो फाल्गुन देखि श्रावणसम्म लगाउन सकिन्छ । सिँचाईको सुविधा भएको क्षेत्रमा फाल्गुन चैत्र मै लगाउन सकिन्छ भने वर्षे चारा बालीको रुपमा भने असारमा लगाउनु पर्दछ । एक पटक भन्दा बढी कटानी दिने जातहरू सिँचाईको सुविधा सहित फाल्गुन चैत्रमा खेती गर्दा बढी मुनाफा लिन सकिन्छ ।

बीउको दर र रोप्ने तरिका 

उत्पादनको पहिलो र प्रमुख शर्त भनेकै गुणस्तरीय बीउ हो। गुणस्तरीय बीउको प्रयोगबाट उत्पादन २०-२५% सम्म वृद्धि गर्न सकिन्छ । त्यसैले खेती गर्नु पूर्व भरपर्दो स्रोतबाट बीउ प्राप्त गर्नु पर्दछ । रोप्नु पूर्व ढुसीनासक विषादीले (२-३ ग्राम प्रति किलो बीउका दरले) बीउ उपचार गर्नु पर्दछ । लाईनमा रोप्दा १२-१५ के.जी. बीउ प्रति हेक्टरको दरले प्रयोग गर्नुपर्ने हुन्छ । हार देखि हारको दुरी ४०-४५ से.मी. कायम गरि २-४ से.मी. गहिराईमा बीउ रोप्नु पर्दछ । बोट देखि बोटको दुरी १५ से.मी. कायम गर्नु पर्दछ । लाईनमा रोप्नको लागि सिड ड्रिलको प्रयोग गर्न सकिन्छ जसले बीउ र मल एकनासले एकैपटकमा खेतमा राख सक्दछ । यसका अतिरिक्त हलोको पडाडि बीउ खसाल्ने विधि पनि धेरै प्रयोग हुने गर्दछ । समग्रमा राम्रो उत्पादनको लागि डेड लाख बिरुवा प्रति हेक्टर कायम गर्न सक्नु पर्दछ । बिरुवा संख्या बाक्लो भएको खण्डमा छटाई गर्न पनि सकिन्छ । चारा बालीको हकमा बीउको दर दुई देखि तीन गुना बढी प्रयोग गर्नु पर्दछ । चारा बालीमा छटाई आवश्यक हुँदैन ।

सिँचाई र गोडमेल 

सिँचाई 
वसन्ते बालीको रुपमा लगाइने जुनेलोको लागि सिँचाई एक प्रमुख शर्त हो भने वर्षे जुनेलो आकाशे पानीकै भरमा खेती गरिन्छ । वसन्ते जुनेलोमा १५-२० दिनको अन्तरालमा माटोको चिस्यान हेरी सिँचाई गर्न सकिन्छ । फूल फुल्ने बेला र दाना भर्ने बेलामा माटोमा चिस्यान नभएको खण्डमा सिँचाईको अनिवार्य व्यवस्थापन गर्नु पर्दछ । अन्यथा यसले उत्पादनमा निकै नै हास ल्याउन सक्छ । वर्षे जुनेलोमा खासै सिँचाईको आवश्यकता नभएपनि निकासको उपयुक्त व्यवस्थापन गर्नु जरुरी हुन्छ । 


गोडमेल 
वर्षे जुनेलोमा झारको प्रकोप तुलनात्मक रुपमा वसन्ते जुनेलोमा भन्दा बढी हुने गर्दछ । साँघुरो पाते र चौडा पाते दुवै झारहरुको प्रकोप वर्षे जुनेलोमा उच्च हुने गर्दछ । समयमै झार नियन्त्रण हुन नसक्दा यसले जुनेलोसँग प्रकाश, पानी, खाद्यतत्व र क्षेत्रफलको लागि प्रतिस्पर्धा गरि उत्पादनमा ह्रास ल्याउने हुँदा समयमै झारपातको उचित गोडमेल आवश्यक रहन्छ । झार नियन्त्रणको लागि गृष्मकालिन गहिरो जोताई निकै नै लाभदायक मानिन्छ । दुई देखि तीन पटकसम्म गहिरो गरि जोत्दा झारको प्रकोप कम हुन्छ । खडा बालीमा झार नियन्त्रणको लागि रोपेको ३ देखि ४ हप्तामा कुटोको माध्यमले गोडमेल गर्न सकिन्छ । विषादीको रुपमा Atrazin (०.५ देखि १ कि.ग्रा. सक्रिय पदार्थ प्रति हेक्टर) ६००-८०० लिटर पानीमा मिसाएर बीउ रोपेको २-३ भित्रमा छरेमा धेरै झारहरू नियन्त्रण गर्न सकिन्छ । माटोमा पर्याप्त चिस्यान र खेतमा कम आवत जावत हुँदा विषादीको प्रभावकारिता बढी हुन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

बाली संरक्षण 

जुनेलो बालीमा धेरै रोगहरू लाग्ने गर्दछ । बिरुवा डढुवा, सेते रोग, पात थोप्ले र कालो पोके जुनेलोमा लाग्ने प्रमुख रोगहरू हुन् । ढुसीले गर्दा हुने यी रोगहरू नियन्त्रणको लागि बीउको ढुसीनासक विषादीले उपचार गरेमा धेरै हदसम्म रोगको नियन्त्रण गर्न सकिन्छ तथापि खडा बालीको हकमा ढुसीनासक विषादीको प्रयोग स्प्रे मार्फत सिधै बिरुवामा गर्न सकिन्छ । 
गुभो खाने कीरा, गबारो, लाही, पात बेरुवा, झुसिलकीरा, फट्यांग्रा लगायतका कीराहरुको प्रकोप पनि जुनेलोमा धेरै देखिन्छ । यसको नियन्त्रणको लागि चुसेर खाने कीराको हकमा मेटासिस्टक (२५ ई.सी. एक मि.लि. प्रति लिटर पानीमा) प्रयोग गर्न सकिन्छ भने पात खाने कीराको हकमा साईपरमेथ्रिन/डेल्टामेथ्रिन (१-२ मि.लि. प्रति लिटर पानीमा घोलेर) प्रयोग गर्न सकिन्छ । एक हेक्टरको लागि ८००-१००० लिटर घोल आवश्यक पर्दछ । गबारोको लागि खेतमा सरसफाई सँगै लार्भा नस्ट गर्ने र कार्बारिल/इन्डोसल्फान प्रयोग गर्न सकिन्छ । दाना दर विषादी ३-४ दाना सिधै गुबोमा पर्ने गरि प्रयोग गर्नु पर्दछ ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

बाली भित्राउने समय 

सामान्यतया अन्नवालीको रुपमा लगाइएको जुनेलो १००-१२० दिनमा तयार हुन्छ भने चारा बालीको रुपमा लगाइएको जुनेलो ७०-८० दिन पश्चात कटानी गर्न सकिन्छ । दानाहरू साह्रो भई चिस्यानको मात्रा २५% भन्दा कम रहेको अवस्थामा जुनेलो कटानीको लागि राम्रो मानिन्छ । बाला मात्र वा पुरै बोट सहित कटानी गर्न सकिन्छ । कटानी पश्चात बालालाई राम्रोसँग सुकाएर लौरो वा थ्रेसरको सहायताले चुटाई गर्न सकिन्छ । दानालाई ५-७ दिन सम्म घाममा राम्रोसँग सुकाएर चिस्यान १३% भन्दा कम गराएर भण्डारण गर्नु उपयुक्त हुन्छ ।

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 

जुनेलोको दानालाई पिसेर पिठोको रुपमा वा सग्लो दानालाई मकैको जस्तै फुलाको रुपमा प्रयोग गर्न सकिन्छ । यसका अतिरिक्त जुनेलोलाई सिरपको रुपमा पनि प्रयोग गर्न सकिन्छ । जुनेलोको सिरप अरू विभिन्न प्रशोधित उत्पादनमा मिठास भर्न पनि प्रयोग हुने गरेको छ । १०० ग्राम जुनेलो मार्फत ३२९ ग्राम क्यालोरी, ११ ग्राम प्रोटिन, ७ ग्राम फाइबर, ७२ ग्राम कार्बोहाइड्रेट प्राप्त हुन्छ । यो सँगै भिटामिनको राम्रो स्रोतको रुपमा पनि जुनेलोलाई लिने गरिन्छ । बेकरीमा यसको पिठोलाई ग्लुटिन रहित उत्पादनको लागि व्यापक प्रयोग गरिन्छ । ग्लुटिन एलर्जी भएकाहरुलाई जुनेलोको परिकार राम्रो विकल्प हुने गरेको छ । व्यापक प्रचार र यसको पौष्टिक महत्व बुझाउन सकेमा जुनेलोको बजार राम्रो रहेको छ ।

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरू

कुनैपनि बिरुवाको विकासको लागि जातीय संरक्षणको निकै नै ठुलो महत्व हुन्छ । हाइब्रिड जातको विकास, खोजेको गुण विकास देखि रोग कीरा सहन सक्ने जातको विकाससम्मका कार्य जातीय संरक्षण बिना प्रायः असम्भव हुन्छ । तसर्थ हाल नेपालमा रहेका जुनेलोको जातीय संरक्षण सँग सँगै जातीय विकासको कार्य अगाडि बढाउन आवश्यक देखिन्छ । यसको लागि जुनेलो खेतीको आधार क्षेत्र निर्धारण, खेतीको लागि प्रोत्साहन, बीउको सहज उपलब्धता र बजारीकरणको उचित व्यवस्थापन अनिवार्य शर्तहरू हुन् ।

sorghum

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री

नेपालका बालीनाली र तिनको दिगो खेती, नरबहादुर साउद, २०६७, साझा प्रकाशन, पुल्चोक, ललितपुर । 
आधारभूत बाली संरक्षण, सुलभ पौडेल, राजेन्द्र आचार्य, २०७२, हेरिटेज पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रा.लि. भोटाहिटी, काठमाडौँ । 
Scientific Crop Production, N.P. Singh and R. A. Singh, Kalyani Publishers, India. 
Modern Techniques of Raising Field Crops, Chidda Singh, 1983, Oxford and IBH Publishing Co. 66 Janpath, New Delhi, India.