परिचय

परिचय

कर्णाली अंचलको अंचल सदरमुकामको रुपमा रहि आएको जुम्ला जिल्ला उच्च पहाडी क्षेत्रको प्रतिनिधित्व गर्ने एक रमणीय जिल्ला हो। यो मध्यपश्चिम विकास क्षेत्रमा पर्दछ । जिल्लाको सदरमुकाम जुम्ला बजार तिला नदिले बनाएको उपत्यकामा अवस्थित छ । यस जिल्लामा ३० वटा गांउ विकास समिति (गा. वि. स.), ९ वटा ईलाका तथा एउटा निर्वाचन क्षेत्र छ । यहांका पूर्वजहरुले कृषि क्षेत्रलाई निकै महत्व दिई उब्जाउ भूमिहरुलाई संरक्षण गर्दै ल्याएको र मानव वस्ती पाखा तिर बसाल्दै ल्याएको पाईन्छ । तर विकासको लहर संगसंगै उब्जाउ भूमि खाश गरि सदरमुकाम नजिकका खेतहरु अहिले धमाधम् शहरीकरण हुँदै मानव वस्तीमा परिणत भै राखेका छन् जुन कृषिको दृष्टिकोणले शुभ लक्षण मान्न सकिदैन । यो जिल्ला २८०५८"" २९०३०" उत्तरी अक्षांस देखि ८१०५१०८२०३५" पूर्वि देशानतर सम्म अवस्थित छ । जिल्लाको भौगोलिक क्षेत्रफल २५३१ वर्ग किलोमिटर छ भने कृषि योग्य जमिन ३९४८६ हेक्टर, सिंचित क्षेत्र २६०९५ हेक्टर, जंगल १०६४३० हेक्टर, चरन ६९०२६ हेक्टर र अन्य १३३२८ हेक्टर रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लामा १९३०३ परिवार संख्यामा ५४८९८ पुरुष तथा ५४०२३ महिला गरि जम्मा १,०८,९२१ जनसंख्याको बसोबास छ । पुरुष साक्षरता ६८.२४ प्रतिशत तथा महिला साक्षरता ४०.८४ प्रतिशत् गरि सरदर साक्षरता ५४.६६ प्रतिशत छ । समूद्र सतहबाट यो जिल्ला ७००० फिट देखि २१०७७ फिट सम्मको उंचाईमा फैलिएको छ । यस जिल्लाको छुमचौर गा. वि. स. को छुम ज्यूल (खेत) संसारको सबै भन्दा अग्लो ठांउमा धान खेती गरिने ठांउ हो जुन समूद्र सतहबाट ३०५० मिटरको उंचाईमा अवस्थित छ । यस जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, सिमी, उवा, चिनु, कागुनु, फापर, मार्से, तिलकुडो (शिलाम), गुराउंस (एक किसिमको स्थानिय दाल बालि (Adzuki bean: Vigna angularis Ohwi & Ohashi) आदि बालिहरुको खेती हुन्छ ।

दाल बाली

नेपालमा चना, मुंग, मास, गहत, सिमी, अरहर, मसुरो, बोडि, खेसारी, केराउ, राजमा, तथा केराउ आदि खेती गरिने मुख्य दाल बालीहरु हुन् । खाद्यान्न बाली  पश्चात दाल वालि मूख्य वालि हो। विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुमा दाल बालि प्रोटिन उत्पादनको सरल, शस्तो र छिटो माध्यम् हो। दाल बालि उपोष्ण हावापानी देखि शीतोष्ण हावापानी सम्म उत्पादन गर्न सकिने बालि हो । संसारमा दैनिक उपभोगमा पर्ने प्रोटिन मध्ये ९ प्रतिशत प्रोटिन दालबाट प्राप्त हुने गरेबाट पनि यो बालिको महत्व बुझन सकिन्छ । 
सिमी कर्णाली अंचलकै एक रैथाने दाल बाली हो। यसको खेती परंपरागत रुपमा कर्णाली अंचल तथा जुम्ला जिल्लामा परापूर्व काल देखि हुदै आएको छ । तर यसको खेतीलाई खेतीकै रुपमा महत्व नदिई दाल तथा गेडागुडीको रुपमा खाने गरि अलि हेलाको रुपमा प्राय पाखो जग्गा तिर लगाउने चलन छ। यो बाली पाखो जग्गा, जंगल छेउछाउमा फडानी गरि बनाएको जग्गा, भिरालो एवं सिंचाई सुविधा उपलब्ध नभएको ठाउंमा लगाईने गरेको पाईन्छ । तथापी कृषि अनुसन्धान केन्द्रवाट अनुसन्धानमा राम्रो उत्पादन दिने जातहरुको पहिचान भएबाट स्थानिय लगायत नया जातहरु पनि गहुं बालि पछि खेतमा लगाउने चलन बढदै आएको छ। राम्रो उत्पादन तथा बजार भाउ पाईने भएकोले यो वालि ठूला तथा खाश गरि साना तथा मझौला कृषकहरुको लागि नगदे बालिको रुपमा राम्रो आय आर्जन गर्न सकिने खेतीको रुपमा परिचित हुँदै आएको छ । 
विभिन्न देशका सिमीका जातहरु विभिन्न किसिमका हुन्छन् र नेपाल तथा भारतमा राजमा सिमीको नाउले यो बाली प्रख्यात हुँदै आएको छ। हुनत सिमीको उत्पति ग्वाटेमाला र मध्य मेक्सिको भएको मानिन्छ र खेती गर्ने कम्‌मा यो बालि युरोप, अफ्रिका हुदै धेरै क्षेत्रमा फैलिएको अनुमान गरिएको छ । एशीया महादेशमा भने यसको खेती मुख्य रुपमा चीन, भारत, जापान, फिलिपिन्स आदि देशमा गरिन्छ भने नेपालको हकमा यो बालि (दाल सिमी/राजमा सिमी) तराई तथा भित्री मधेशमा धान तथा मकै बालि पछि हिउंदे बालीको रुपमा खेती गरिन्छ भने जुम्ला जिल्लामा गहुं वालि पछि बर्षे बालिको रुपमा खेती गर्ने गरिएको छ । यो बाली पाखो अथवा धान लगाउन ढिलो भएको जग्गामा लगाउने चलन छ । हाल आएर भने सिमी खेती नै गर्छु भनेर गहुं बाली पछि सिमी लगाउने कृषकहरुको योजना बन्न थालि सकेको छ । यो सिमीलाई फ्रेन्ब विन (French Bean), किडनी बिन (Kidney Bean), ड्राई बिन (Dry Bean), हरिकोट बिन (Haricot Bean), स्टिंग बिन (String Bean), पिण्टो बिन (Pinto Bean), सेल बिन (Shell Bean), गार्डेन बिन (Garden Bean), स्न्याप बिन (Snap Bean), ग्रिन बिन (Green Bean), कमन बिन (Common Bean), न्याभी बिन (Navy Bean), वेक्स बिन (Wax Bean), आदि विभिन्न नामले चिनिने गरिएको छ । 
जुम्ली सिमी अथवा कर्णाली अंचलमा पाईने सिमीमा जातीय विविधता प्रशस्तै छ ।राजमा सिमीसंग मिल्दो जुल्दो यो सिमीको गेडाको रंग, गेडाको आकार, फूलको रंग, कोशाको आकार, बोकाको रंग, बालि पाक्न लाग्ने दिन, स्वाद, उत्पादन क्षमता, पौष्टिक गुण, बोटको बनौट आदि विभिन्न किसिमको जातीय भिन्नता तथा विविधता पाईन्छ । यहां पाईने स्थानिय सिमीको रंग कालो, छिरबिरे, रातो, पहेंलो, सेतो, सेतो छिरबिरे तथा अन्य मिश्रित रङ समेत हुन्छ। यी सबै किसिमका सिमीहरु एकै ठाउंमा मिसाएर खेती गर्ने गरिएकोले जुम्ली सिमी एक नाशको नभई सबै किसिमको मिसावट भएको हो । साविकका दिनमा यो बालीलाई त्यति महत्व दिने गरिएको थिएन तथापी यसको महत्व हाल आएर कृषक वर्गमा अवगत हुँदै गएबाट यो बालि नगदे बालीको रुपमा रुपान्तरण हुन थालि सकेको छ । जुम्ली सिमीको दाना बजारमा पाईने भारतीय राजमा जस्तो ठूलो आकारको नभएतापनि यसको स्वादको आफनै मौलिकता छ । 

यस बालीमा विगतका दिनहरुमा खाशै अनुसन्धान नथालिएकोले पनि यो बालिले महत्व पाउन ढिलो भएको हो। हाल आएर केही वर्ष यता देखी कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले यो बालिमा अनुसन्धान गरि केही उत्कृष्ट जातहरुको पहिचान गरिसकेको र कृषकको सहभागितामा कृषककै खेतमा गरिएको परिक्षणमा पनि उत्कृष्ट देखिएका तथा स्थानिय जात भन्दा बढि उत्पादन दिने भएकाले कृषकहरु यो बाली तर्फ विशेष रुपले आकर्षित हुन थालेका छन् र कतिपय व्यापारीहरु कृषकको गाउंमै गएर सिमी संकलन गर्ने परिपाटी बसेको पनि पाईन्छ ।

उपयोग र महत्व

यो बालीको खाद्यान्नमा मात्रै न भै सांस्कृतिक रुपमा पनि महत्वपूर्ण रहेको पाईन्छ । जुम्लामा श्रावण पूर्णिमा तथा बैशाख पूर्णिमा को पूजामा मष्ट देवी देवताका बाहनहरु ( मष्ट देवताका आठ पहरिया) लाई सिमकिो दाल र चामल आहारको रुपमा उठाएर छर्ने चलन भएको, तथा पाहुनाहरुलाई दाल भात ख्वाउनु पर्दा सिमीकै दाल प्रयोग गरिन्छ । सिमीलाई खसिको खुट्टासंग उमालेर पोषिलो झोलको रुपमा पनि सेवन गर्ने चलन छ । राजमा सिमीको महत्व पोषिलो आहाराको रुपमा लिन सकिन्छ । जुम्लामा यसको उपभोग प्राय जसो दालको रुपमा तथा उसिनेर वा कोल (मकै संग मिसाएर) खाने गरिएको पाईन्छ । यसलाई टुसाएर क्वांटी समेत बनाई खाने गरिन्छ भने बढि मात्रामा भने दालकै रुपमा प्रयोग गरिन्छ । जुम्लाको नासोको रुपमा यो बाली प्रख्यात हुदै गएको छ र जुम्ली सिमी भन्ना साथ यसले बजार भाउ पनि राम्रै पाउने गरेको छ । दादुरा । कतै कतै ठेउला पनि भन्ने गरिन्छ। आएको बिरामी, सित (चिसो लागेको विरामी तथा अन्य कारणले कमजोर भएको विरामीलाई रातो सिमी तागतिलो आहारको रुपमा खान दिईन्छ । यी सव महत्वका कारण जुम्लामा टाढा टाढाबाट कहिं कतै भेटघाट गर्न जांदा तथा आउंदा कोसेलीको रुपमा सिमी लिएर जाने ल्याउने चलन पनि छ र अब यो वालिले व्यापारिक महत्व आर्जन गरि सकेको छ । 

सिमी बालिलाई विभिन्न किसिमले उपयोग गर्न सकिने भएकोले यो एउटा बहु उपयोगी वालि हो । यसको हरियो कोशा तरकारीको रुपमा, सुकेको गेडा भिजाएर तरकारी कै रुपमा वा उसिनेर खाने वा गेडा दलेर दालको रुपमा उपयोग गर्न सकिन्छ । सिमी चुटे पश्चातको डांठ र कोशाको बोकालाई कुनौरो भनिन्छ र यो गाई वस्तु तथा भेडालाई ख्वाउने गरिन्छ तर गाईवस्तुलाई ख्वाउंदा वस्तु भाउको पेट दुख्छ भन्ने पनि किसानहरुको भनाई छ भने भेडा तथा बाखाले राम्रो मानेर खाने गर्छन । सिमिको परिकारको किसिम ठाउं अनुसार तयार गरि उपभोग गरिन्छ। जस्तोसुकै परिकार बनाएर खाए पनि दाल" सिमी पौष्टिक आहारा हो र खाद्य संकट पर्ने ठाउंमा वा कुपोषण हुने ठाउंमा यसको उपभोगले महत्वपूर्ण भूमिका निभाउन सक्छ। किनभने सरदर रुपमा यो बालिमा २२ प्रतिशत प्रोटिन, १.७ प्रतिशत चिल्लो पदार्थ, करिब ७० प्रतिशत कार्बोहाईड्रेट पाईन्छ, भने १०० ग्राम सुकेको राजमा सिमीमा ३८१ मिलिग्राम क्याल्शीयम, ४२५ मिलिग्राम फस्फोरस र १२.४ मिलीग्राम फलाम तत्व पाईन्छ । यसमा सोडियम एवं कोलेस्टोरेलको मात्रा कम हुने भएकोले यसको उपभोगले हृदय रोग, मधुमेह, मोटोपन, क्यान्सर, झाडापखाला तथा मृगौलाका रोगिहरुलाई अन्य दाल भन्दा तुलनात्मक रुपमा बढि फायदा पु-याउंछ । जुम्लामा यसको उपभोग बढाउन नागरिक सचेतना बढाउने हो भने यसले यहांको कूपोषण हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । 

हाल आएर नागरिक सचेतना, शिक्षा तथा कृषि कार्यकम्‌को प्रभावले यसको खेतिमा तिव्रता ल्याएको महशुश गरिएको छ । जुम्ला जिल्लामा यो बालिको महत्वको प्रचार, प्रसार तथा राम्रो बजार भाउको कारण एवं कृषकको शिप, ज्ञान, दक्षता, क्षमता र सरोकारमा वृद्धि भएबाट यो बालिलाई नगदे बालिको रुपमा लिन थालिएको छ । र यो बालिको खेतीलाई प्रचुर मात्रामा प्रचार प्रसार गरे जुम्लाका ठूला तथा सिमान्त एवं खाशगरि साना किसानको आयस्तरमा वृद्धि गर्ने निश्चित प्राय छ र छिमेकी जिल्लाहरुमा पनि यसको असर पर्न थालेको छ ।

जातहरु

उन्नत जात

सिमी बालिको अनुसन्धान कार्य कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लामा संचालन गरिएको छ । यहां गरेको अनुसन्धानबाट हाल पि. बि. ०००१, पि. बि. ०००२ र पि. बि. ००४८ जातको सिमी जुम्ला वा जुम्ला सरहको हावापानी भएको ठाउंमा उत्कृष्ट हुने पाईएको छ । यी जातहरुको मांग हुम्ला, मुगु, कालीकोट, डोल्पा, दैलेख, सुर्खेत लगायत अन्य क्षेत्रमा पनि बढदै गएको छ। यी मध्ये पि. बि. ०००१ लहरा नहुने भएकोले मकै भित्र भित्री बालि लिन पनि सजिलो भएबाट यसको मांग बढेको छ । सिमी बालीको बजार संजाल श्रृजना गरि मांग आपूर्ति गर्ने हो भने जुम्लाका कृषकहरुले राम्रो आय आर्जन गर्न सक्ने प्रशस्त संभावना रहेको छ । कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्लाले कर्णाली अंचलमै संकलन गरेका यहांका स्थानिय सिमीहरुको अध्यन अनुसन्धान गरि केहि लाईनहरु (हाल नामाकरण नगरिएको) छनौट गरेको छ जसको उत्पादन उन्नत जात सरह नै पाईएको छ, तथापी स्थानिय जातहरुको छनौट प्रकृया तथा उत्पादन अध्यन जारि राखिएको छ। यी सिमीहरुलाई कर्णाली बिन लाईन (Karnali Bean Line) भनि नंबर दिएर छनौट गरि नामाकरण गरिएको छ। छोटकरिमा के.बि.एल. भनि लेखिने गरिएको छ । हाल सम्म आठवटा स्थानीय सिमी पहिचान गरि के.बि.एल. १ देखि के. बि. एल. ८ सम्म नंबर दिईएको छ भने संकलन कार्य जारी छ । छनौट भएका मध्ये के.बि.एल. ३ र के.बि.एल. १ ले राम्रो उत्पादन दिएका छन् । यी जातहरु मध्ये पि. बि. ०००१ को बोट झाङिने किसिमको हो र यसको लहरा हुदैन भने बांकि सबै जातहरुको लहरा हुन्छ । धेरै वर्षा हुंदाका बखत लहरा हुने जातहरुको कोशा भूईंमा लतृने हुंदा कुहिने तथा रोगको प्रकोप हुने संभावना बढि हुन्छ त्यसकारण पि. बि. ०००१ जात नै धेरै किसानहरुले मन पराएका छन् । 
नेपाल कृषि अनुसन्धान परिषद् अन्तरगत् खाद्य अनुसन्धान ईकाईको परिक्षणको नतिजानुसार यी उन्नत जातहरुमा पाईने पौष्टिक गुणहरु निम्नानुसार छन् :

1

उन्नत जातहरु जातीय छनौटवाट विकसित गरिएको हुंदा जात अनुसारका दानाका रङ फरक छन् भने स्थानीय जुम्ली सिमीमा भने विभिन्न रङ तथा आकारका दानाहरु मिश्रित भएको पाईन्छ । कृषकको भनाई अनुसार यो विविधतामा बाली लगाउंदा कुनै एक किसिमको बालि असफल भएतापनि सबै असफल हुदैनन् र जोखिमको अवसर धेरै कम हुन्छ । किन भने एक रङको गेडा नफलेपनि अर्को रङको गेडा त पक्कै फलि हाल्छ भन्ने मान्यता रहेको छ । स्थानिय जातमा शुद्धता नभएपनि धेरै थरिको मिश्रण भएकोले खानमा स्वादिलो हुन्छ भन्ने उपभोक्ताहरुको भनाई छ ।

1

 

1

 

बाली चक्र

राजमा सिमी बालि प्रणाली 

जुम्लामा अपनाईने मुख्य सिमी बालि प्रणाली निम्नानुसार छ : 

  • गहूं/तोरी/केराउ-सिमी 
  • मकै + सिमी (मकै संगसंगै अन्तरबालि मिश्रित बालि) 
  • मकै + सिमी + कोदो (मकै र कोदो संगसंगै अन्तरबालि मिश्रित बालि। 
  • स्याउ + सिमी (फलफूल बगैंचामा सिमीलाई अन्तरबालिको रुपमा लगाउने) 
  • आलु + सिमी (आलु संग घुसुवा बालिको रुपमा)

खेति प्रणाली

हावापानी, माटो र जग्गाको तयारी 

हावापानी र माटो

जुम्ली सिमीको दानाको आकार सानो भएतापनि यसलाई राजमा सिमी जस्तै प्रमुख रुपमा दाल बनाएर खाने गरिन्छ। राजमा" सिमीको खेती तराईका फांट देखी जुम्ला जस्तो उच्च पहाडी क्षेत्रको हावापानीमा समेत सफलता पूर्वक गर्न सकिन्छ । यो वालिको सफल उत्पादनको लागि पानी नजम्ने, तुषारो नपर्ने, माटोको पि.एच. मान ६.५ देखी ७.५ सम्म भएको गहिरो तथा हलुको माटो चाहिन्छ । दोमट वा बलौटे दोमट किसिमको प्रांगरिक पदार्थ प्रशस्त भएको माटोमा यो बालिको उत्पादन राम्रो हुन्छ । जग्गामा पानी नजम्ने तथा बढि भएको पानी सजिलैसंग निकाश हुन सक्ने भूबनौटको जग्गा यसको लागि उत्तम् हुन्छ ।

सिमीका विरुवाहरु तुषारो तथा धेरै उच्च तापकम् दुवै अवस्था सहन सक्दैनन् । यो सिमीको बृद्धिको लागि २५-३०° से. तापकम् र कोशा बन्नका लागि १५-२५° से. तापकम् उपयुक्त हुन्छ । तापकम् ८० से. भन्दा कम र ३२० से. भन्दा माथि भएमा बालिको उत्पादनमा नकारात्मक असर पर्न सक्छ । धेरै वर्षा भएमा वा हुने ठाउंमा यसका फूलहरु झर्ने र रोगहरु बढि लाग्न सक्छ । तसर्थ पानीको निकास राम्रो भएको जग्गामा यसको उत्पादन राम्रो हुन्छ ।

जग्गाको तयारी 
सिमीको बीउ ठूलो र कडा हुने भएकोले स्वभाविक रुपले यसलाई उम्रिनका लागि माटोमा प्रशस्त रुपमा चिस्यान हुनु आवश्यक छ । सिमी लगाउने जग्गालाई २० देखी ३० सेण्टिमिटर गहिरो गरि माटोको अवस्थानुसार २-३ पटक राम्रो संग जोती पाटा लगाउनु पर्छ । जोत्नु भन्दा अगाडी बालिलाई चाहिने तत्वको लागि प्रांगरिक मल, गोठे मल, कंपोष्ट मल आदि जग्गामा राम्ररी छर्नु पर्दछ । रासायनिक मल हाल्ने हो भने नाईट्रोजन मलको आधा भाग, फस्फोरस, पोटाश मल तथा सल्फरको पूरा भाग हाल्नु पर्छ । वीउ उम्रनका लागि माटोमा उपयुक्त चिस्यान हुन जरुरी छ । सुक्खा भए कम उम्रने वा नउम्रने हुन्छ भने धेरै चिस्यान भए वीउ कुहिने डर हुन्छ। डांठमा लाग्ने भिंडा तथा लाहि किराबाट बच्नको लागि जग्गा तयारी गर्ने शिलशिलामा अंतिम् जोताईका बखत् फोरेट १० के. जी. वा कार्बोफयूरान ३ जि. को १ के. जी. सकृय पदार्थ प्रति हेक्टरका दरले माटोमा मिसाउनु पर्छ ।

जग्गामा भएका घांसपातहरु राम्ररी हटाएर जग्गाको जोताई मसिनो पारी यथासंभव बढि पानी निकाश जान सक्ने हिसाबले तयारी गर्नु पर्दछ । यसको लागि माटोको सतह समतल नभै हलका भिरालो पार्ने हो भने बढि वर्षा हुने ठाउंमा पानीको निकाश राम्ररी हुन पाउंछ ।

बीउ दर

सिमीको बीउको आकारमा बीउको दर भर पर्दछ। सानो गेडा भए थोरै वीउ लाग्ने र ठूलो गेडा भए धेरै वीउ लाग्ने हुन्छ । एक हेक्टर जग्गामा २.५ देखी ३ लाख सम्मको बोट संख्या उपयुक्त हुन्छ । लहरा हुने जातको बीउ कम र झाडिने जातको बीउ धेरै प्रयोग गर्नु पर्दछ । वीउमा भरसक ९० प्रतिशत उमारशक्ति हुनु पर्छ । वीउ उपचारका लागि क्याप्टान ५० प्रतिशत घुलनशील धुलो वा थिरम ७५ प्रतिशत् घुलनशील धुलो अढाई देखी तिन ग्राम् प्रति किलो सिमीको बीउमा मिसाई उपचार गर्नु पर्छ । सुक्ष्म जैविक विषादी ढाईकोडर्मा स्पेसिज र स्विडोमोनास ल्फोरेसेनस (Trichoderma spp + Pseudomonas fluorescens) पांच देखि दश ग्राम ५० मिलिलिटर पानीमा मिसाई प्रति किलोग्राम सिमको बीउ भिजाउने र यसका साथै गुडको झोल समेत मिसाई २४-४८ घण्टासम्म ढाकेर राखेमा सुक्ष्मजिवहरुलाई आहारा प्राप्त हुन्छ र वीउसंग राम्ररी स्थापित भएर रहन सक्छन् । यीनीहरुले सिमिलाई जरा तथा वीउमा हुने रोगाणुहरुबाट सुरक्षित राखि बालिको वृद्धि विकासमा सहयोग पु-याउछ । 

1


वीउ लगाउंदा हलोको सियोमा वा लाईन बनाएर लगाउनु पर्छ । लाईनमा छर्दापछि झारपात गोडन तथा अन्य कृषि कर्मको लागि सजिलो हुन्छ । एक लाईन देखि अर्को लाईनको फरक ५० देखि ६० सेण्टिमिटर र एक बोट देखि अर्को बोटको दुरी १० देखि १५ सेण्टिमिटर हुनु पर्छ । वीउलाई राम्रो संग उम्रीनको लागि माटोमा चिस्यानको अवस्था हेरी ८ देखि १० सेण्टिमिटर गहिरो गरि लगाउनु पर्छ ।

बाली लगाउने समय र मलखाद

बाली लगाउने समय

सामान्य रुपमा यो बालि तराईमा आश्विन अंतिम देखि मंसिरको दोश्रो हप्ता सम्म, मध्य पहाडमा भाद्र-आश्विन महिनामा तथा जुम्ला जस्तो उच्च पहाडमा ज्येष्ठ आषाढमा लगाई सक्नु पर्छ । जुम्ला उपत्यका भन्दा माथिल्लो उंचाईमा अर्थात जुम्लाको लेकाली भेगमा वैशाख महिनामै लगाउनु पर्छ । जुम्ला जिल्लामा हावापानीको कारणले गर्दा कुनै कुनै साल आश्विन महिनामै तुषारो पर्न थाल्छ र यसो हुन गएमा बालि पाक्न पाउँदैन, तसर्थ जति सके छिटो बालि लगाउनु राम्रो हुन्छ । जुम्ला जिल्लामा ठाउंको उंचाई अनुसार बढि उंचाई भएको ठाउंमा वैशाख तथा कम उंचाई भएको ठाउंमा आषाढ सम्म लगाउन सकिन्छ ।

मलखाद 
जुम्ला जिल्लामा रासायनिक मल हाल्ने चलन छैन र ज" जसको घरमा जे जति कंपोष्ट मल उपलब्ध हुन्छ सोहि अनुसार हाल्ने चलन छ भने कहिले कांही नियमित रुपले नहाल्ने पनि छन् । कोशे बालि भन्नासाथ हावाबाट नाईटोजन स्थिरिकरण गर्ने बुझिएतापनि सिमी बालिले अन्य कोशे बालि भन्दा कम स्थिरिकरण गर्दछ । यसको लागि राईजोबियम फयासियोलाई नामक राईजोबियमले वीउ उपचार गरे फायदा लिन सकिन्छ । राजमा सिमिको लागि ९० देखि १०० के. जी. नाईट्रोजन, ६० के. जी. फस्फोरस, ३० देखि ४० के. जी. पोटाश र २० के. जी सल्फर प्रति हेक्टर रासायनिक मलको आवश्यकता पर्दछ । तथापी फस्फोरस र पोटाश भने माटो परिक्षणको आधारमा तय गरे राम्रो हुन्छ । प्रशस्त मात्रामा गोबर मल हाल्न सके रासायनिक मल कटौति गर्न सकिन्छ । नाईट्रोजन मलको आधा भाग, फस्फोरस, पोटाश र सल्फरको पुरै भाग जग्गा तयार गर्ने बेलामा तथा बांकि रहेको नाईट्रोजन मल पहिलो गोडाई पछि हालनु पर्छ । बोरोन तथा जिंक तत्व कमि भएको जग्गामा १०-१५ के. जी. बोरेक्स तथा जिंक सल्फेट २५ के. जी. प्रति हेक्टरका दरले जग्गाको अंतिम तयारीका बखत माटोमा मिसाई जोत्नु पर्छ । ३० देखि ४० टन कंपोष्ट मल प्रति हेक्टरका दरले वीउ लगाउनु भन्दा दुई तिन हप्ता अगाडि जग्गामा हालि राम्रो संग मिलाउनु पर्दछ ।

सिंचाई तथा गोडमेल 

जुम्ला जिल्लामा सिमी बर्षे बालिको रुपमा लगाईने भएकोले सिंचाईको आवश्यकता नपर्न सक्छ, तर पनि जलवायु परिवर्तनका कारणले समयमा पानी परेन भने माटोको चिस्यानको अवस्था हेरी फूल फूल्ने तथा कोशा भरिने अवस्थामा भने सिंचाई दिन सकिएमा राम्रो उत्पादन लिन सकिन्छ । आवश्यकतानुसार पहिलो सिंचाई रोपेको २५-३० दिनमा गरि २-३ दिन पछि बांकि नाईट्रोजनलाई युरीयाको माध्यमबाट एक नाशले वालिमा हाल्नु पर्छ । पहिलो गोडाई बालि उम्रेको तिन हप्ता भित्र र अर्को गोडाई पनि गर्न परे आवश्यकतानुसार पहिलो गोडाईको २५-३० दिन पछि गर्न सकिन्छ र सिंचाई पनि यतिकै दिनको फरकमा आवश्यकतानुसार दिन सकिन्छ । बढि वर्षा भएको खण्डमा पानकिो निकाश हुनु जरुरी छ र भिराले जग्गामा पानी संगसंगै खाद्य तत्व पनि बगेर जाने संभावना हुन्छ । 
झारपातलाई रासायनिक औषधिले नियंत्रण गर्नु परेमा बालि उम्रनु भन्दा पहिले अर्थात रोपेको तिन दिन भित्र पेण्डिमेथालिन नामको औषधी ०.७५-१ के. जी. का दरले प्रति हेक्टर ४०० लिटर पानीमा मिसाई वा एलाक्लोर (लासो) नामको झारनाशक बिषादी २.५ लिटर का दरले ६०० लिटर पानीमा मिसाई प्रति हेक्टर क्षेत्रफलमा एक नाशले माटोमा छर्नाले झारपात उम्रन नदिई नियंत्रण गर्ने कार्यमा सघाउ पु-याउछ । जुम्ला जिल्लामा ज्यामी ज्याला महंगो भएकोले रासायनिक औषधि प्रयोग गरि झारपात नियंत्रण गरेमा खेती खर्चमा बचत गर्न सकिन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

रोग किरा नियंत्रण 

कोत्रे रोग (एनभ्रयाकनोज), पहेंलो छिरबिरे रोग, डांठ र कोशा कुहिने रोग तथा जरा कुहिने रोग सिमीका मुख्य रोगहरु हुन् । यी मध्ये जुम्लामा एन्थग्राकनोज रोग बढि लाग्ने गरेको पाईएको छ । यो माटो जन्य र वीउ जन्य रोग हो । वातावरणमा ९२ प्रतिशत भन्दा बढि आर्द्रता र १५२०° से. तापकम् (ठण्डा र आर्द्र मौसम) यो रोगको लागि अनुकुल हुन्छ । यो रोग बालिको कलिलो अवस्थामा बीजु पातहरुमा साना वा ठूला खैरा देखि काला रंगका थोप्लाहरु देखा पर्छन । यसको उपचारको लागि भाईटाभ्याक्स दुई देखि ३ ग्राम प्रति के. जी. वीउका दरले उपचार गर्ने। बालिमा रोग देखा पर्ना साथ ईण्डोफिल एम ४५ वा डाईथेन जेड ७८ को ०.२५ प्रतिशतको घोल बनाई छर्कने । १५ दिनको फरकमा रोगको प्रकोप हेरी एक देखि दुई पल्ट सम्म औषधी छर्ने। सिमी बालि अलि ढिलो लगाएको खण्डमा डांठ र कोशा कुहिने रोगबाट उम्कन सकिन्छ । अथवा रासायनिक औषधि छर्नु परेमा क्लोरोथानोलिन नामको ढुसि नाशक विषादि ३ मि.लि. प्रति लिटर पानीमा वा डायथेन एम ४५ नामको औषधी २.५ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने । गहुं वा जौ बालिमा आधारीत बालि प्रणाली अपनाएमा जरा कुहिने रोगबाट बच्न सकिन्छ । सिमी लगाउने जग्गामा पानीको निकाश राम्रो हुनु पर्ने वा औषधी छर्नु परेमा कपरअक्सि क्लोराईड विषादी ३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने । 
झुसिल किरा वा पात बेरुवा किरा नियंत्रण गर्नु परेमा ईण्डोसल्फान ३५ ई.सि. वा रोगर नामको विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

उत्पादन, बाली भित्रयाउने तथा भण्डारण 

उत्पादन 
माथि उल्लेख गरिएका जातहरु उन्नत प्रविधिले लगाएमा २००० देखि २५०० के. जी प्रति हेक्टर का दरले सिमी बालिको उत्पादन लिन सकिन्छ । माटो तथा बालिमा प्रयोग गरिएको मल खाद्यको मात्रा एवं रोग किराबाट बच्न अथवा नियंत्रण गर्न सकेको खण्डमा प्रति हेक्टर ३ मेटिक टन सम्म उत्पादन लिन सकिन्छ । जुम्ली सिमी लहरा हुने बालि भएकोले थांको दिन सके बढि उत्पादन लिन सकिन्छ । 


बाली भित्रयाउने तथा भण्डारण 
जुम्ली सिमी एकै चोटि सबै कोशा पाक्दैन । बालि पाके पछि बोटका पातहरु पहेंला भै झर्न थाल्छन। खाश गरि पहिलो पटक पाकेका कोशाहरुलाई टिप्ने तथा केहि दिन पछि बांकि कोशाहरु पाकेपछि बोट काट्नु पर्छ। यसरी टिपेको कोशा तथा बोटलाई २-३ घाम सुकाएर चुट्नु पर्छ। वीउलाई राम्ररी केलाएर ३-४ घाम सुकाई वीउमा १०-१२ प्रतिशत चिस्यान कायम भएपछि मात्र हावा नछिर्ने भांडामा भण्डारण गर्नु पर्छ। सुकेको मरिचको दाना १० ग्राम प्रति के. जी. वीउमा मिसाई सिमी भण्डारण गर्दा ९० प्रतिशत सम्म घुनको नियंत्रण भएको पाईएको छ । 

आमदानीको श्रोत 

जुम्लाको हावापानीमा राम्रोसंग खेती हुन सक्ने बालि मध्ये सिमि एउटा मुख्य बाली हो । यो बालि जुम्ला तथा कर्णाली अंचलको रैथाने बालि भएकोले यहांको हावापानीमा यसको खेती राम्रो किसिमले हुन्छ । कृषि अनुसन्धान केन्द्रको परिक्षणवाट राम्रा देखिएका जातहरु स्थानिय भन्दा डेउडा तथा दोब्बर सम्म फल्ने गरेको पाईएको छ। सिमीको मांग जुम्ला लगायत छिमेकी जिल्ला सुर्खेत तथा नेपालगंज र काठमाण्डौ सम्म भएकोले यसको बजारीकरणको लागि हाललाई समस्या देखिएको छैन र किसानहरुले सहकारी मार्फत वा व्यक्तिगत रुपमै यसको विकृ वितरण गरिराखेका छन् । यो बालिलाई भण्डारण तथा ढुवानी गर्न सजिलो भएकोले वालि भित्रयाए पश्चातका क्षतिहरु कम हुन्छन् । पाखो जग्गामा समेत राम्रो हुने भएकोले साना, सिमान्त तथा मध्यम वर्गिय कृषकहरुले यसको खेती गरि राम्रो लाभ लिन सक्ने प्रशस्त संभावना छ । कूपोषण हुने ठाउंमा यसको उपभोगले स्वास्थ्यमा राम्रो असर पु-याउंछ । नेपाल कृषि अनुसन्धान परिषद्, पश्चिमी पहाडी गरिबी निवारण आयोजना, कृषि अनुसन्धान केन्द्र, विजयनगर, जुम्ला, तलिउम गा. वि. स. तथा गैर सरकारी संस्था वि ग्रुपको संयुक्त प्रयाश तथा सहयोगमा तलिउम गा. वि. स. का कृषकहरुको एक समूहलाई दाल मिल प्रदान गरिएको छ र हाल यहां सिमीबाट दाल तयार गरिने गरिएको छ । यसले गर्दा यस वरिपरिका गा. वि. स. का कृषकहरुलाई सिमी खेती गर्न प्रोत्साहन दिने तथा आय आर्जनमा ठुलो मद्दत पु-याउने अपेक्षा राखिएको छ । 

सिमी बालि हत्तपत्त नकुहिने भएकोले भण्डारण गरिराखेमा आफू खुशि बजारभाउ अनुकुल भएको बेलामा समेत विकृ गर्न सकिन्छ । दाल मिलवाट दाल बनाई बिकृ गरेमा अझ बढि फायदा लिन सकिन्छ । अचेलको प्रतिस्प्रधात्मक बजारमा आफना उत्पादनलाई गुण स्तरीय बनाउन कृषकहरुले विशेष ध्यान दिनै पर्छ अन्यथा आफूले भने जस्तो दाम नपाउन पनि सकिन्छ । 

जुम्ला जस्तो खाद्य संकट क्षेत्र तथा कूपोषणका शिकार भएका बालबालिकाहरुको लागि सिमी खेतीले आमदानी बढाउनुका साथै दैनिक खानामा पोषिलो तत्व प्रदान गर्न सक्छ । आय आर्जनको आमदानीले खाद्यान्न खरिद गर्न सकिन्छ र उत्पादन बढाउदै लगेमा यसको आमदानीले जीवन स्तरमा सुधार अवश्य ल्याउने छ । तसर्थ जुम्ली सिमि जुम्ली किसानको लागि मात्र न भै यस सरहको हावापानी भएका क्षेत्रहरुका किसानहरुलाई समेत आय आर्जनको राम्रो श्रोत हुने र खाद्य सुरक्षा तथा कुपोषणको समाधान गर्न महत्वपूर्ण वालि हुन सक्छ ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री सूची 

१. जिल्ला पाज्वं चित्र, जुम्ला, २०६६। सूचना तथा अभिलेख केन्द्र, जिल्ला विकास समितिको कार्यालय, जुम्ला । 
२. राम कृष्ण न्यौपाने, एक मोहन भट्टराइ, २०५९ । जुम्ला उपत्यका र सो सरहको हावापानीको लागि सिमी खेतीका उन्नत प्रविधिहरु । नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्यि कोशे वालि अनुसन्धान कार्यकम्, रामपुर, चितवन । 
३. राम बहादुर भुजेल, चेत बहादुर राना, पारस मणि महत, २०६७। जुम्लामा सिमी खेती । कृपि अनुसन्धान केन्द्र, विजयनगर, जुम्ला । 
४. राष्ट्रिय जनगणना २०६८ । संक्षिप्त नतिजा । नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रिय तथयांक विभाग, थापार्थाल, काठमाण्डौ । 
५. राजेन्द्र दराई, राम कृष्ण न्यौपाने, ब्रहमन्ती प्रसाद महतो । राजमा सिमी उन्नत खेती प्रविधि-क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, नेपालगंज, बांके । 
६. साउद, नर बहादुर, २०६६। नेपालका बालिनाली र तिनको दिगो खेती। साझा प्रकाशन् । 
७. ABPSD. 2011. Statistical Information on Nepalese Agriculture 2010/2011 (2067/068). GoN/MoAC/Agri-Business Promotion and Statistics Division, Singh Durbar, Kathmandu, Nepal. 
८. CBS.2004. National Sample Census of Agriculture. Nepal 2001/02. District Jumla. HMG/NPCS/Central Bureau of Statistics, Kathmandu, Nepal, 2004. 

९. Reddy SR.2004. Agronomy of Field Crops. Kalyani Publishers.