परिचय

परिचय

मध्यपश्चिमान्चल विकास क्षेत्र अन्तरगत् कर्णाली अंचलको अंचल सदरमुकामको रुपमा रहि आएको जुम्ला जिल्ला उच्च पहाडी क्षेत्रको प्रतिनिधित्व गर्ने एक रमणीय जिल्ला हो । जिल्लाको सदरमुकाम जुम्ला बजार तिला नदिले बनाएको उपत्यकामा अवस्थित छ । सदरमुकाम दुईवटा गांउ विकास समिति (गा.वि.स.) मा पर्छ । चन्दननाथ र महत गा. वि. स. र यी दुई गा. वि. स. हरुलाई जुगाड भन्ने खोलाले छुट्टयाएको छ । यस जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, सिमी, उवा, चिनु, कागुनु, फापर, मार्से, मसुरो, तिलकुडो ( शिलाम), आदि बालिहरुको खेती हुन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जुम्ला जिल्लामा १९,३०३ परिवार संख्यामा ५४,८५८ पुरुष तथा ५४,०२३ महिला गरि जम्मा १,०८,५२१ जनसंख्याको बसोवास रहेको छ । 
जिल्लाको भौगोलिक क्षेत्रफल २.५३१ वर्ग किलोमिटर छ भने कृषि योग्य जमिन ३५,४८६ हेक्टर, सिचित क्षेत्र २६,०५५ हेक्टर, जंगल १,०६,४३० हेक्टर, चरन ६५,०२६ हेक्टर र अन्य १३,३२८ हेक्टर रहेको छ । समुद्र सतहबाट यो जिल्ला ७,००० फिट देखि २१,०७७फिट सम्मको उचाईमा फैलिएको छ । यस जिल्लाको छुमचौर मा. वि. स. को छुम ज्यूल (खेत) संसारको सबै भन्दा अग्लो ठांउमा धान खेती गरिने ठांउ मानिएको छ जुन समुद्र सतहबाट ३,०५० मिटरको उचाईमा अवस्थित छ । जुम्ला जिल्लामा ३० वटा गाउँ विकास समितिहरु र नौ वटा ईलाका छन् । निर्वाचन क्षेत्र एक मात्र छ । 
विश्वमा सिमी जातहरु, चना र केराउ पछि मसुरो (Lens culinaris Medic.) बालिले चौथो महत्वपूर्ण दालबालि को स्थान ओगटेको पाईन्छ । मसुरो सानो, हरियो तथा हांगा भएको डांठ हुने विरुवा हो । यसको विरुवा मुश्किलले ४० से. मि भन्दा अग्लो हुन्छ र कोशा १२ मिलिमिटर जति लामो भै टप्पा तिर चुच्चो परेको हुन्छ । मसुरो नेपालको प्रमुख दाल बालि मध्ये एक हो। नेपालमा उत्पादन हुने मूख्य दाल बालिहरुमा रहर, मसुरो, मास, गहत, खेसरी, चना र भटमास हुन । अन्य दाल बालिहरुमा केराउ, सिमी, गुराउंस, मुङ, बोडि, मस्याङ, राजमा आदिको खेती पनि गरिन्छ । आ. व. २०६८।२०६५ मा नेपालमा विभिन्न किसिमका दालबालिहरु ३,३४,३२३ हेक्टरमा लगाई ३,१५,७६५.८ मेट्रिक टन उत्पादन भएको थियो भने सरदर उत्पादकत्व ९५६.०० के. जी. प्रति हेक्टर रहेको पाईएको छ । विभिन्न किसिमका दाल बालिहरु मध्ये मसुरोको खेती २,०७,६३०.०० हेक्टरमा भएको थियो जसको सरदर उत्पादकत्व १००३.०० के. जी. प्रति हेक्टर भै जम्मा उत्पादन २,०८,२०१.०० मे. टन भएको थियो । सोहि आ. व. मा जुम्ला जिल्लामा १६५ हेक्टरमा दाल बालिको खेती भै सरदर उत्पादकत्व ५१३.०० के. जी. प्रति हेक्टर भै जम्मा १५० मे. टन उत्पादन भएको थियो । र मसुरो को खेती १३ हेक्टरमा भै जम्मा १० मे. टन उत्पादन भएको थियो । मसुरोको उत्पादकत्व ७५०.०० के. जी. प्रति हेक्टर रहेको थियो ।

महत्व

अन्य दालबालिहरु जस्तै मसुरो बालिको जरामा पनि गिर्खा हुन्छन् । यी गिर्खाहरुमा राईजोबियम लेगुमिनोसोरम र सगोत्र प्रजातिका जिवाणुहरुले माटोमा रहेको आणविक नाईट्रोजनलाई अवशोषण गरि प्रांगारिक रुपमा रुपान्तरण गरि दिने हुनाले दाल बालिको खेती गर्दा माटोको उर्वरा शक्तिमा सुधार आउंछ । वायुमण्डलमा करिब ७५ प्रतिशत् नाईट्रोजन हुन्छ र एक हेक्टर जग्गाको क्षेत्रफलमा कबि ८० मेट्रिक टन (मे.ट.) नाईट्रोजनको तह बन्ने गरेको अनुमान छ । राईजोबियम जिवाणुहरुले ५० देखी ७०० के. जी. नाईट्रोजन प्रति वर्ष प्रति हेक्टर का दरले स्थिरीकरण गर्न सक्छन् र दलहन बालिहरुले भूमिमा सरदर ४० देखि ७० के. जी. नाईट्रोजन प्रति हेक्टर स्थिरिकरण गर्न सक्छन् । यस प्रकार कोशे बालिका जरामा हुने गिर्खाहरुले वायुमण्डलमा हुने नाईट्रोजन तत्व एकत्रिकरण गर्ने कारखानाको रुपमा काम गर्छन भने पनि हुन्छ । गिर्खामा स्थिरिकरण गरेको नाईट्रोजन्लाई विरुवाले उपयोग गर्ने भएको हुनाले दाल बालिको खेतीले दालको उत्पादन संगसगै माटोको उर्वरा शक्ति पनि बढाउन सहयोग गर्छ । 
दाल बालि प्रोटिनको राम्रो श्रोत मानिन्छ । एक जना व्यक्तिले दैनिक १६० ग्राम दाल खानु पर्ने सिफारिश गरिएता पनि हाम्रो देशमा सो अनुरुप उत्पादन हुन सकेको छैन । अन्न र दाल प्रायः जसो ५:१ को अनुपातमा मिसाएर खांदा लाभदायी मानिन्छ । मसुरो को प्रयोग प्राय जसो दलेर दाल खानलाई नै प्रयोग गरिन्छ । यसको बोका हटाएर भित्रको फोकलेटालाई दाल बनाएर खाने गरिन्छ भने सिगै दाना उसिनेर अथवा पकाएर पनि दालको रुपमा प्रयोग गरिन्छ । मसुरोको सुप पनि हिजो आज लोकपृय हुदै गएको छ भने यसको पिठो अन्य पिठोसंग मिसाउन सकिन्छ । मसुरोको दालमा छिटै पाक्न सक्ने विशेष गुण हुन्छ साथै यो दाल छिटो पच्ने पनि हुन्छ । यो दाल छिटै पाक्ने तथा छिटै पच्ने भएकोले विरामी लगायत स्वस्थ्य व्यक्तिहरुलाई पनि यो उत्तिकै लाभदायक छ । यो दाल पोषिलो छ र एक सय ग्राम मसुरोको दालमा २५.१ ग्राम प्रोटिन हुन्छ जुन भटमास र पाटे सिमी बाहेक अन्य सबै दाल भन्दा उच्चतम् हो। यसै गरि १०० ग्राम मसुरोको दालमा ५५.०० ग्राम कार्बोहाईडेट, ०.७ ग्राम चिल्लो पदार्थ, २७३ मिलिग्राम क्यारोटिन, ०.४५ मिलिग्राम थाईअमिन, २.१ ग्राम खनिज पदार्थहरु, ०.७ ग्राम कोरा रेशा, २५३ मिलिग्राम फस्फोरस, ६५ मिलिग्राम क्याल्शियम, ७.५८ मिलिग्राम फलाम, २.६ मिलिग्राम नायसिन, ०.२ मिलिग्राम राईबोफलेबिन, र ३६ माईक्रोग्राम फोलिक अम्ल पाईन्छ । 
मसुरोको दाना लगायत यसको सुकेको डांठ, कोसाका खोस्टा, सुकेको पात, तथा वीउका बोका पशुहरुका लागि पनि पौष्टिक आहारको रुपमा प्रयोग गर्न सकिन्छ । मसुरो बालिलाई हरियो मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको जराको गिर्खाहरुमा वायुमण्डलिय नाईट्रोजन स्थिरिकरण हुने भएकोले जुम्ला जस्तो ठाउमा धान पश्चात मसुरो लगाउन उपयुक्त हुन्छ । दाल बालिका जराहरु गहिराई सम्म जाने हुंदा यीनले माटोको तललो तहबाट पानी र पोषणयुक्त तत्वहरु अवशोषण गर्न सक्छन् र भित्री माटोलाई पनि खुकुलो पारी दिने भएकोले माटोको पानी थाम्ने क्षमतामा वृद्धि हुनुको साथै वायु संचार पनि राम्रो हुन्छ । यिनीहरुको झाडिएको जराले माटोलाई बाधेर राख्न सक्छ र यिनीहरुको पातले वर्षाको पानीको प्रहारलाई कम गरि जमिनमा भूक्षय कम गर्न सहयोग पु-याउंछन् । दाल बालिहरुलाई प्राय जसो सिंचाई तथा मल अन्य प्रकारका बालिहरु भन्दा कम लागने भएकोले दाल बालिको खेतीले कम खर्चमा आमदानी दिने गर्छन् । 
मसुरो बालिलाई सजिलै भण्डारण गर्न, ओसार पोसार गर्न तथा निर्यात गर्न सकिने बालि भएकोले यसको खेतीले किसानलाई आमदानी वृद्धि गर्न सघाउ पु-याउंछ ।

उत्पत्ति

मसुरोको उत्पति थलो ग्रीस र ईजिप्टलाई मानिन्छ । त्यहांबाट मसुरो बालि युरोप, भारत, चीन तथा नेपाल तिर फैलिएको मानिन्छ । अचेल यो बालि तराई, पहाड तथा जुम्ला जस्तो उच्च पहाडी क्षेत्रमा पनि सफलता पूर्वक खेती भै रहेको पाईन्छ । बाईबलमा समेत मसुरोको उल्लेख भएको पाईन्छ। मसुरोको मूल थलो दक्षिण पश्चिम एशियालाई मान्न सकिने आधारहरु प्रशस्तै भेटिन्छन् ।

हावापानी र माटो

हावापानी र माटो

मसुरो धेरै किसिमको माटोमा खेती गर्न सकिने भएपनि पानी शोश्न सक्ने दोमट किसिमको माटो उत्तम् मानिन्छ । मसुरो लगाउने ठांउको भोगोलिक उंचाई अनुसार बलौटे माटो बाहेक हलका बलौटे पांगो माटो देखि दोमट माटो भएको जग्गामा समेत यसको खेती गर्न सकिन्छ । यसको खेती ३५०० मिटर उंचाई सम्म हुने भएतापनि जुम्लामा यो बालिले राम्ररी फडको मार्न सकेको छैन । माटोको पिएच ५.५ देखि ७.०० सम्मको उत्तम् मानिन्छ । अर्थात मसुरो खेती कम मलिलो माटोमा पनि गर्न सकिन्छ । 
मसुरो हिउदे बालि हो । तसर्थ यसले चिसो सहन सक्छ । जुम्लामा हिउं परिरहने भएकोले हिउद महिनामा मसुरोको विरुवालाई हिउले छोपि राखेको हुने भएतापनि यसले चिसो सहन सक्छ । तथापि कुनै कुनै वर्ष बढि हिउ पर्दा भने केहि विरुवाहरुलाई चिसोले क्षति पु-याउन सक्छ तर सामान्य अवस्थाको हिउं सहन सक्ने क्षमता नेपाली मसुरोको जातहरुमा पाईन्छ । सामान्य अवस्थामा विरुवाको बृद्धि तथा विकास को लागि १५-३०० सेल्सियस तापक्रम् उत्तम् मानिन्छ । मसुरो बालिलाई ठण्डा तापक्रम् र बालि पाक्ने समयमा न्यानो तापक्रम् चाहिने भएकोले जुम्लामा चिसो सहन सक्ने जातहरुको खेती राम्ररी गर्न सकिन्छ ।

जातहरु

जातहरु

मसुरोका उन्नत जातहरु तराई तथा मध्य पहाडी क्षेत्रको लागि सिफारिश गरिएको छ । सिफारिश गरिएका उन्नत जातहरुमा महेश्वर भारती, सगुन, शितल, खजुरा मसुरो २, खजुरा मसुरो १, शिखर, सिमल, शिशिर, सिम्रीक तथा सिंदुर जातहरु हुन् । तर यी सबै जातहरु जुम्लाका लागि उपयुक्त छैनन् । कृषि अनुसन्धान केन्द्र तथा बाह्य अनुसन्धान स्थलहरु तलिउम तथा डिल्लीचौर गा. वि. स. हरुमा मसुरो बालिको विभिन्न प्रजातीहरुको परिक्षण गरिएकोमा सिफारिश भएका जातहरु मध्ये महेश्वर भारती र सगुन जातहरु मात्र हाललाई जुम्ला जिल्लामा लगाउन उपयुक्त देखिन्छ । यी जातहरुमा चिसो सहन सक्ने क्षमतामा क्रमशः सुधार हुदै गरेको पाईएको छ ।

खेति प्रणाली

बाली प्रणाली

मसुरो हिउदे बालि भएकोले हिउद महिनामा लगाईन्छ । यो बालिलाई सिंचाईको धेरै आवश्यक पर्दैन । जुम्लामा मसिर पौष महिनामा मसुरो लगाई सक्नु पर्छ । हिउदमा हिउँ परेपछि सिंचाईको काम गर्छ र हिउले ढाकि रहन्छ । हिउं सुके पछि विरुवा हलक्क बढदै जान्छ र कहिले काही धेरै दिन सम्म हिउं रहि रहयो भने केहि विरुवालाई हानी पु-याउन सक्छ तथापी जुम्लामा मसुरो बालिले पनि चिसो सहन सक्ने क्षमता बृद्धि हुदै गएको छ । जुम्लामा धान बालि पछि मसुरो लगाउन सकिन्छ भने पाखो जग्गा तिर एकल बालिको रुपमा पनि लगाउन सकिन्छ । कतिपय ठाउंमा भडेरा तथा परेवाले यो बालि खाई दिने हुनाले यसलाई गहुं बालि भित्र एक हार गहुं एक हार मसुरो लगाउन सकिन्छ ।

जुम्लामा यो बालि प्रति कृषकहरुको रुचि विस्तारै बढन थालेको पाईएको छ । जुम्लामा मसुरो बालि एक किसिमले नयां बालिको रुपमा लिन सकिन्छ किन भने स्थानिय तवरमा यो बालि न्यून क्षेत्रफलमा लगाउने गरेको पाईएको छ । कृषि अनुसन्धानद केन्द्र, विजयनगरबाट बाह्य अनुसन्धान स्थलमा गरिएको सहभागितात्मक परिक्षणमा देखिएको उत्पादनबाट कृषिकहरु विस्तारै यो बालि प्रति आकर्षित हुदै गएका छन् र कृषक ग्रहण परिक्षणको लागि पनि मसुरोको वीउ वितरण गरिदै आईएको छ ।

1

 

2
जाग्गको तयारी

माटो राम्ररी पल्टिने गरि जग्गालाई दुई तिन पटक जोती माटोलाई बुरबराउंदो बनाएर भएका झारपातहरु सफा गर्नु पर्छ । जग्गाको बनौट तथा माटोको किसिमअनुसार ठाडो र तेर्सो गरि जग्गा जोत्नु पर्छ । माटोमा ठिक्कको चिस्यान भएको बेला पारी जोतेमा डल्ला पर्ने संभावना कमै हुन्छ र जग्गालाई एकनाशको समथर बनाउन सजिलो हुन्छ । जग्गा समथर बनाउनका लागि पाटा लगाउन जरुरी छ ।

रोप्ने समय, बीउ दर तथा बीउ उपचार

रोप्ने समय तथा बीउ दर

मसुरो हिउदे बालि भएकोले यसलाई हिउद महिनामा लगाउनु स्वभाविकै हो । जुम्ला उच्च पहाडी क्षेत्रमा पर्ने भएकोले यहां मार्ग तथा पौष महिनामा मसुरो लगाई सक्नु पर्छ । यो भन्दा ढिलो भएमा वीउको अंकुरण कम हुने तथा भएका अंकुरणहरु पनि बढि चिस्यानबाट प्रभावित हुन सक्छ । 
मसुरोको वीउको मात्रा दानाको आकारमा निर्भर गर्छ । यदि सानो आकारको दाना छ भने एक हेक्टर जग्गामा ३०-४० के. जी. वीउ छर्नु पर्दछ र ठूलो आकारको वीउ छ भने ५०-६० के. जी. वीउ प्रति हेक्टर लाग्छ । वीउहरु हारमा लगाउंदा पछि गोढमेल तथा अन्य कृषि कर्म गर्न सजिलो हुन्छ । हारमा लगाउंदा एक हार देखि अकों हारको दुरी २०-२५ सेण्टिमिटर राख्नु पर्छ र माटोमा चिस्यानको अवस्था हेरी ३-४ सेण्टिमिटर गहिरोमा वीउ लगाउनु पर्छ । 


वीउ उपचार 
बालिलाई विभिन्न किसिमको रोगहरुबाट बचाउन दाईकोडर्मा (Trichoderma viride) नामक सूक्ष्म जैविक विषादी एक के. जी. वीउमा ४ ग्राम औषधी हाली राम्ररी मिसाई उपचार गर्नु पर्छ । यसो गर्नाले आईलाउने रोगमा कमि आई उत्पादनमा वृद्धि हुन्छ । मसुरो लगायत अन्य कोशेबालिहरुको वीउलाई रोप्नु भन्दा पहिले राईजोवियम कल्चर द्वारा उपचार गरियो भने राईजोवयम जिवाणुहरुले मसुरोको जरामा गिर्खा निर्माण गरि वायुमण्डलिय नाईट्रोजन एकत्रित गरि उत्पादन २० देखि २५ प्रतिशत् सम्म बढाउन सक्छन् । 
राईजोवियम जिवाणुको कल्चर प्रति १० के. जी. वीउको लागि २०० ग्राम जति प्रयोग गर्नु पर्छ । यसरी १० के. जी. वीउका लागि तिन सय मिलिलिटर पानीमा १०० ग्राम चिनी वा गुड उमाली सेलाउनु पर्छ । वीउलाई सफा भूईमा पातलो गरि फिजाएर वीउ माथि गुडको झोल छर्कने र यस माथि जीवाणु कल्चरको धुलो वीउमा राम्ररी मिसाउनु पर्छ । यसो गर्नाले वीउको बाहिरी सतहमा राईजोवियम कल्चरको पातलो तह बन्दछ र यसरी तह बनेको वीउहरुलाई चार पांच घण्टा पछि रोप्नु उपयुक्त हुन्छ ।

मलखाद, सिंचाई तथा गोडमेल

मलखाद 
हुनत मसुरो बालिलाई प्राय मल हाल्ने गरेको पाइदैन तथापी यसलाई आवश्यक पर्ने तत्वहरु पूर्ण रुपले दिने हो भने सोहि अनुरुप बढि उत्पादन लिन सकिन्छ । एक हेक्टर जग्गाको लागि १० मे. टन राम्ररी कुहिएको प्रांगरिक मल बालि लगाउन भन्दा दुई तिन हप्ता पहिले नै हालि जग्गा तयार गर्नु पर्छ । रासायनिक मलको हकमा माटो जांचको आधारमा मल दिनु परेतापनि सामान्य रुपमा २० के. जी. नाईट्रोजन, ४० के. जी. फस्फोरस र २० के. जी. पोटाश प्रति हेक्टरका लागि हाल्नु पर्छ । जिंक कम भएको माटो छ भने एक हेक्टर जग्गाको लागि २० के. जी. जिंक सल्फेट चाहिन्छ । यदि दुई प्रतिशत् युरीयाको झोल बनाई छर्किने हो भने विरुवाको वृद्धि राम्रो हुन्छ । 


सिंचाई तथा गोडमेल 
मसुरो बालिले सुक्खा सहन सक्छ तर सुक्खा सहन सक्छ भन्दैमा सिंचाई नदिनु पर्ने भने होईन । हिउदमा वर्षा भएन भने अथवा हिमपात भएन भने माटोमा रहेको चिस्यानको अवस्था हेरी एक वा दुई पटक सिचाई गर्नु पर्छ । खाशगरि फूल फूल्नु भन्दा अगाडी एक पटक र कोशा भरिने बेलामा दोश्रो पटक सिंचाई गर्न सकियो भने उत्पादन राम्रो हुन्छ । तर सिंचाई गरि सकेपछि पानी जम्न दिन हुदैन र पानी जम्ने अवस्था भएमा तुरन्त निकाशको प्रबन्ध गर्नु पर्दछ । यसकारण सिंचाई गर्दा मसुरोका विरुवाहरुको जरा भिज्ने गरि सर्र हलुका तवरले पानी लगाउनु पर्छ । खाशगरि फागुन चैत्र तिर एक पटक सिंचाई दिन जरुरी छ । 
जग्गाको तयारी राम्रोसंग गरेमा झारपात धेरै नआउन सक्छ र बाली लगाएको कम्तिमा दुई महिना सम्म झारपात आएन भने उत्पादन राम्रो हुन्छ । र झारपात नियंत्रण नगर्नेहो भने ५० प्रतिशत सम्म उत्पादन घटन सक्छ । जुम्लामा मसुरो बालिमा आउने झार मध्ये वेथे झार सबै भन्दा धेरै आउने गरेको पाईएको छ । त्येसैले झारपातको प्रकोपको अवस्था हेरी २५ देखि ३० दिनको फरक पारेर दुई पटक गोडियो भने उत्पादनमा ह्रास आउन पाउदैन तथापी फागुन चैत्र तिर भने गोडन अनिवार्य छ । झार मानें औषधी छर्नु परेमा पेण्डिमेथालिन (स्टम्प ३० ई.सि.) को एक के. जी. सकृय पदार्थ ५०० देखि ६०० लिटर पानीमा मिसाएर प्रति एक हेक्टर जग्गामा वीउ छरेको ४८ घण्टा भित्र जमिन माथि झोलको सतह बन्ने गरि एक नाशले मिलाएर छर्नु पर्छ । यो औषधी प्रयोग गर्नका लागि माटोमा उपयुक्त चिस्यान हुनु अनिवार्य छ र यो औषधीको तहले झारपात उम्रिन दिदैन । हुनत जुम्ला जिल्लालाई प्रागरिक जिल्ला घोषणा गरिएको छ, तर यहां कृषि मजदुरहरुको ज्याला महंगो भएकोले यसको विकल्प खोज्नु जरुरी छ र पारिवारिक सदस्यहरु धेरै भएर घरकै मानिसहरुले काम गरेमा मात्र खेती खर्च घटाउन सकिन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

रोग किरा नियन्त्रण

जुम्लामा मसुरो बालिमा हानी पु-याउने खाशैरी रोग किराहरु देखा नपरेतापनि ओईलाउने रोग, सिदुरे रोग तथा पात खाने लाभ्रे किराहरु देखा पर्न सक्छन् । 

ओईलाउने रोग लाग्दा कलिला विरुवाहरु ओईलाएर सुक्न थाल्छन् र अंतमा विरुवा मर्छ। रोकथामको लागि माथि शुरुमै उल्लेख गरिए अनुसार वीउ उपचार गरेर बालि लगाउनु पर्छ । रोग देखा परेको जग्गामा बालि चक अपनाउनु पर्छ । 

सिंदुरे रोग लाग्दा पात र डाठमा गुलाबी रंगका फोका देखा पर्छन् र यी फोकाहरु साना, बाटुला देखि लाम्चा र धुले हुन्छन् । यी खैरा फोकाहरु पातको सतहमा र अन्य भागमा देखा पर्छन् र पछि गएर कालो रङ्गका हुन्छन् । बढि रोग लागेमा वीरुवाहरु सुक्छन्, पात झर्छन र अन्तमा उत्पादनमै हास आउंछ ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

बाली भित्रयाउने र उत्पादन

बाली भित्रयाउने 
मसुरो बालिलाई धेरै पाक्न दियो भने कोशाहरु खेतमै झर्न थाल्छन् । तसर्थ कोशाहरु पाकी सके पश्चात विरुवा सुक्नु अगावै मसूरो बालि काटी सक्नु पर्छ । दिउसो घाम लागेको बेला बालि काट्दा घामले झुरिएर कोशाहरु झर्ने संभावना हुने भएकोले भरसक बिहानीपखको समयमा बाली काटनु पर्छ । बाली उखेल्नु भन्दा काटनु राम्रो हुन्छ किन भने बालि काटनाले मसुरोको विरुवाको जरामा रहेका गिर्खाहरुमा राईजोवियम जिवाणुहरुले एकत्र गरेको नाईटोजन् माटोमै सुरक्षित रहन पाउछ । जुम्लामा ज्येष्ठ महिनाको पहिलो हप्ता देखि मसुरो पाक्न बाल्छ र सोहि अनुरुप बालि पाकेको अवस्था हेरी काटनु पर्छ । 

काटेको बालिलाई एक हप्ता सम्म राम्ररी सुकाएर दाई गर्नु पर्छ । दाई गरे पछि मसुरोको कुनौरो मसिनो हुने भएकोले विस्तारै मधुरो हावा चलेको बेलामा वताउनु पर्छ वा हावामा उडाउनु पर्छ र यसो गर्दा कुनौरो खेर जान पाउदैन ।

दाई गरिसकेको मसुरोलाई निफन नाफन गरि केलाई सके पछि दानामा १२ प्रतिशत् भन्दा कम चिस्यान नहुन्जेल सम्म घाममा सुकाई राख्नु पर्छ र उक्त चिस्यान कायम भए पछि सुरक्षित तवरले चिस्यान नपस्ने भाडोमा भण्डारण गर्नु पर्दछ । वर्षा याममा भण्डारणमा पनि किराको आक्रमण हुन सक्ने भएकोले बेला बेलामा निरिक्षण गरि मसुरोलाई घाममा सुकाउनु पर्छ । भण्डारण गर्दा १०० के. जी. सिंगो दाना वा दलेको मसुरोको दालसंग एक लिटर तोरिको तेल बेसारको धुलोसंग मिसाई मोलेर भण्डारण गरेमा किराबाट दाललाई जोगाउन सकिन्छ । एकदमै सुकेको एक के. जी. दालमा पांच ग्राम बोझोको धुलो वा धानको भुसको खरानी प्रयोग गरि भण्डारण गरेमा पनि किरा लाग्नबाट छुटकारा पाउन सकिन्छ । 


उत्पादन 
जुम्ला उच्च पहाडी क्षेत्र भएको र हिउंद महिनामा तुषारो तथा हिउं परि धेरै चिसो हुने भएकोले तराई तथा मध्य पहाड जस्तो उत्पादन लिन कठिन हुन्छ । तथापी परिक्षण गरिएका विभिन्न जातहरु मध्ये केहिको सरदर उत्पादन १३५० के. जी प्रति हेक्टर भन्दा बढि फलेको पाईएको छैन । तथापी राम्ररी खेती गरिएको खण्डमा प्रति हेक्टर १००० के. जी वा १.०० (एक) मेट्रिक टन उत्पादन लिन सकिन्छ । 

यो बालिलाई भण्डारण गर्न, ओसार पोसार गर्न सजिलो हुने भएको तथा बजार भाउ पनि राम्रो पाईने भएकोले यसको खेतीको विस्तार गरि साना, मझौला तथा ठूला गरि सबै खाले किसानहरुले फायदा लिई पारिवारिक आमदानी बढाउन सक्छन् । 

जुम्ला जिल्लामा किसानहरुको पारिवारिक आमदानी बढाउन यो बालिको खेतीलाई प्रोत्साहन दिनु जरुरी छ ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री सूची 

१. जिल्ला पार्श्व चित्र, जुम्ला, २०६६ । सूचना तथा अभिलेख केन्द्र, जिल्ला विकास समितिको कार्यालय, जुम्ला । 
२. राष्ट्रिय जनगणना २०६८ । संक्षिप्त नतिजा । नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्यांक विभाग, थापाथली, काठमाण्डौ । मसिर, २०६५ । 
३. साउद, नर बहादुर, २०६६ । नेपालका बालिनाली र तिनको दिगो खेती । साझा प्रकाशन् । 
४. ABPSD. 2012. Statistical Information Nepalese Agriculture 2011/2012 (2068/069). GoN/MoAC/Agri-Business Promotion and Statistics Division, Singh Durbar, Kathmandu, Nepal. 
५. CBS.2004. National Sample Census of Agriculture, Nepal 2001/02, District Jumla. HMG/NPCS/Central Kathmandu, Nepal, 2004. Bureau of Statistics, 
६. ICAR. 2009. Hand Book of Agriculture. Indian Council of Agricultural Research, New Delhi, 2009.