परिचय
नेपालमा जौ र उवा [Naked Barley (Hordeum vulgare L. subsp. vulgare)] खेती प्राचिन समयबाट गरिएको पाइन्छ । विश्वमा जौ १०,००० वर्ष अगाडि जंगली अवस्थाबाट भित्र्याइएको मानिन्छ । नेपालमा उत्पादन र प्रयोजनको हिसाबले धान, मकै, गहुँ र कोदो पछि जौ पाँचौ महत्वपूर्ण अन्न बाली हो। विश्वमा सोह्रौं शताब्दिसम्म जौ प्रमुख खाद्यान्न बाली थियो। हाल यसलाई गहुँले क्रमशः प्रतिस्थापन गरिरहेको छ। नेपालमा जौको खेती तराई देखि ४००० मिटर उचाई सम्म लगाउन सकिन्छ । यो गहुँ बाली भन्दा छिटो पाक्ने, कम सिँचाई चाहिने र पाक्नको लागि अरू बालीलाई भन्दा कम ताप इकाई चाहिने हुनाले हिमाली क्षेत्रको लागि एक महत्वपूर्ण बालीको रुपमा लिन सकिन्छ । नेपालमा सिमान्तकृत जग्गामा, कम श्रोत र साधनको उपयोगमा जौ लगाईने र जातीय सुधार तथा अनुसन्धानको प्राथमिकता अन्य बालीलाई भन्दा कम दिईएकोले उत्पादकत्व पनि कम रहेको पाइन्छ ।
चित्र: पहाडी बाली अनुसन्धान केन्द्रमा सोलु उवाको उत्पादन ब्लक
स्थानीय किसानहरुले आफ्नै आवश्यकता अनुसार विभिन्न थरीका उवाका जातहरू परम्परागत रूपमा छनौट गरी लगाउँदै आएका छन्। विशेषगरी पूर्वी र मध्य नेपालको उच्च पहाडी क्षेत्रका किसानहरुले उवा ज्यादा लगाउने गरेको पाइन्छ भने मध्य र सुदूर पश्चिमी पहाडमा जौ धेरै लगाउने गरिएको पाइन्छ । तराई क्षेत्रमा जौलाई गहुँले प्रतिस्थापन गरेको छ ।
उत्पति हुँदा जौको २ लाइनमा दाना लाग्ने थियो भनिन्छ तर जब जौको कुनै vrs 1 भन्ने वंशाणुमा उत्परिवर्तन भयो तब ६ लाइनमा दाना लाग्ने बन्न पुगेको हो भनिन्छ। जौको बोक्रा हुने र नहुने गुण नुड (nud) भन्ने एक्लो वंशाणुले नियन्त्रण गर्दछ। जौको यहि वंशाणुमा उत्परिवर्तन भएर उवा भएको मानिन्छ ।
चित्र: दुई हारे जो बोनसको बाला र बीउ चित्र: छ हारे सोलु उवाको बाला र दाना
विकसित देशहरुमा ६ टन/हेक्टर भन्दा बढी जौको उत्पादकत्व छ भने नेपालमा परीक्षण प्लटहरुमा उन्नत जातको जौको उत्पादकत्व ३-३.५ टन/हेक्टर छ र किसानको तहमा यो भन्दा अझै कम छ। जातीय सुधार, सिँचाई, मल, रोग कीरा व्यवस्थापन तथा बजारको राम्रो अनुसन्धान र प्रसार हुन सके जौको उत्पादन, उत्पादकत्व र प्रयोग बढ्न सक्छ।
