परिचय

परिचय 

परिचय 
नेपालमा जौ र उवा [Naked Barley (Hordeum vulgare L. subsp. vulgare)] खेती प्राचिन समयबाट गरिएको पाइन्छ । विश्वमा जौ १०,००० वर्ष अगाडि जंगली अवस्थाबाट भित्र्याइएको मानिन्छ । नेपालमा उत्पादन र प्रयोजनको हिसाबले धान, मकै, गहुँ र कोदो पछि जौ पाँचौ महत्वपूर्ण अन्न बाली हो। विश्वमा सोह्रौं शताब्दिसम्म जौ प्रमुख खाद्यान्न बाली थियो। हाल यसलाई गहुँले क्रमशः प्रतिस्थापन गरिरहेको छ। नेपालमा जौको खेती तराई देखि ४००० मिटर उचाई सम्म लगाउन सकिन्छ । यो गहुँ बाली भन्दा छिटो पाक्ने, कम सिँचाई चाहिने र पाक्नको लागि अरू बालीलाई भन्दा कम ताप इकाई चाहिने हुनाले हिमाली क्षेत्रको लागि एक महत्वपूर्ण बालीको रुपमा लिन सकिन्छ । नेपालमा सिमान्तकृत जग्गामा, कम श्रोत र साधनको उपयोगमा जौ लगाईने र जातीय सुधार तथा अनुसन्धानको प्राथमिकता अन्य बालीलाई भन्दा कम दिईएकोले उत्पादकत्व पनि कम रहेको पाइन्छ ।

उवा

चित्र: पहाडी बाली अनुसन्धान केन्द्रमा सोलु उवाको उत्पादन ब्लक

स्थानीय किसानहरुले आफ्नै आवश्यकता अनुसार विभिन्न थरीका उवाका जातहरू परम्परागत रूपमा छनौट गरी लगाउँदै आएका छन्। विशेषगरी पूर्वी र मध्य नेपालको उच्च पहाडी क्षेत्रका किसानहरुले उवा ज्यादा लगाउने गरेको पाइन्छ भने मध्य र सुदूर पश्चिमी पहाडमा जौ धेरै लगाउने गरिएको पाइन्छ । तराई क्षेत्रमा जौलाई गहुँले प्रतिस्थापन गरेको छ । 
उत्पति हुँदा जौको २ लाइनमा दाना लाग्ने थियो भनिन्छ तर जब जौको कुनै vrs 1 भन्ने वंशाणुमा उत्परिवर्तन भयो तब ६ लाइनमा दाना लाग्ने बन्न पुगेको हो भनिन्छ। जौको बोक्रा हुने र नहुने गुण नुड (nud) भन्ने एक्लो वंशाणुले नियन्त्रण गर्दछ। जौको यहि वंशाणुमा उत्परिवर्तन भएर उवा भएको मानिन्छ । 

1

              चित्र: दुई हारे जो बोनसको बाला र बीउ                                चित्र: छ हारे सोलु उवाको बाला र दाना 

विकसित देशहरुमा ६ टन/हेक्टर भन्दा बढी जौको उत्पादकत्व छ भने नेपालमा परीक्षण प्लटहरुमा उन्नत जातको जौको उत्पादकत्व ३-३.५ टन/हेक्टर छ र किसानको तहमा यो भन्दा अझै कम छ। जातीय सुधार, सिँचाई, मल, रोग कीरा व्यवस्थापन तथा बजारको राम्रो अनुसन्धान र प्रसार हुन सके जौको उत्पादन, उत्पादकत्व र प्रयोग बढ्न सक्छ।

वानस्पतिक विवरण

वानस्पतिक विवरण 
जौ/उवा घाँसे परिवारको एक सदस्य हो। जौको बोटको सरदर उचाई ७५-१२० से.मि. सम्म हुन्छ। जौको जरा मथ्ला र गहिरा गरी दुई प्रकारका हुन्छन्। गहुँको जस्तै यसको काण्ड पनि बेलानाकारको ५-७ वटा खोक्रा अन्तर आँख्ला र कडा आँख्लाले बनेको हुन्छ। हरेक जौको बोटमा २-५ वटा सरा लाग्दछन्। पातहरू डाँठमा एकान्तर भएर पलाएका हुन्छन् । पातको फेदमा कान (Ligule) पलाएको हुन्छ। जौको बाला डाँठको टुप्पोमा लाग्दछ। जौ तथा उवा दुबैको बालामा लामो झुस हुने, छोटो झुस हुने वा झुस नहुने विविधता पाइन्छ । 
जौ र उवा दुवैमा बालाको संरचना तीन थरी पाउन सकिन्छ। १) छ हारे जौ/उवा (Hordeum vulgare) - यो खाले बालाको प्राक्ष (Rachis) मा एउटा गाँठबाट तीनवटा अनुमंजरी (Spikelets) उत्पन्न हुन्छन् र सबै निषेचित भई दानामा विकसित हुन्छन् । २) दुई हारे जौ/उवा (Hordeum distichum) - दुई हारे जौ/उवामा प्राक्षको हरेक गाँठामा तीनवटा मध्ये बीचको एउटा मात्रै अनुमंजरी निषेचित हुन्छ र दाना लाग्दछ र ३) बालामा मिश्रित हार भएको जौ/उवा (Hordeum irregulare) - यो प्रजातिको जौ/उवा खेती खासै गरिंदैन। यो जौ/उवाको बालामा हरेकको गाँठाको आँख्ला बीचको भन्दा बाहेकका अन्य दुई अनुमंजरीहरू अनियमित तवरले निषेचित हुने हुँदा बालामा हारको संख्या मिश्रित देखिन्छ । हरेक ६ हारे बालामा २५-६० वटा दाना लाग्दछ भने २ हारे बालामा १५-३० वटा दाना लाग्दछ ।

1

चित्र: उवाको स्थानीय जातहरुमा बाला र झसुमा देक्षखएको विविधता

उवा/जौको महत्त्व 

उवा/जौको महत्त्व 

१. खाद्य तथा पोषण सुरक्षा 
नेपालको उच्च पहाडी तथा हिमाली भेगको बेसी र साना उपत्यकाहरुमा जौ प्रमुख अन्न बाली हो। यसले हिमपात सहन सक्ने भएकोले उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन लिन सकिन्छ र ती क्षेत्रका बासिन्दाको खाद्य सुरक्षामा जौको महत्वपूर्ण योगदान रहन्छ । जौको दानामा ६५-६८% कार्बोहाईड्रेट, १०-१७% प्रोटिन, २-३% चिल्लो पदार्थ, ४-९% बिटा ग्लुक्यान र १.५-२.५% खनिज पाउने भएकोले पौष्टिक सुरक्षामा जौ राम्रो मानिन्छ। जौ वा उवाको बीच कार्बोहाइड्रेट, प्रोटिन र बिटा ग्ल्युक्यान जात र मलको परिमाण अनुसार फरक पर्दछ । सामान्यतया जौमा कोरा रेसाको मात्रा उवामा भन्दा बढी हुन्छ। 


२. धार्मिक महत्व 
हिन्दु धर्मानुसार जौलाई एक पवित्र अन्न मानिन्छ। वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको दिनलाई त्रेता युगको सुरू भएको दिन मानिन्छ र यो दिनलाई धार्मिक रूपमै दान गर्ने तथा सख्खरको सर्वतसँग जौको सातु खाने दिन मानिन्छ। हिन्दु परम्पराको विभिन्न पूजा, धर्म कर्म र संस्कारहरुमा जौ विनाको पूजा असम्भव छ भने उच्च पहाडी क्षेत्रका शेर्पा जातीले जौ तथा उवाको पिठोलाई धार्मिक तथा मृत्यु संस्कारमा अनिवार्य प्रयोग गर्ने भएकोले नेपालमा जौ तथा उवाको धार्मिक महत्व छ । 


३. सिमान्तकृत जमिनको प्रयोग 
धान, गहुँ जस्ता प्रमुख खाद्य बालीहरू खेती गर्न नसकिने रुखोपाखो, सुख्खाग्रस्त क्षेत्रमा कम मिहेनत, लागत र बिना आधुनिक प्रविधिमा यो बालीको उब्जनी लिन सकिने भएकोले जौ लगाउँदा नेपालको पहाडी र उच्च पहाडी भू-भागका सिमान्तकृत जग्गा जमिनको उपयोग गर्न सकिन्छ । 

1

चित्र: जुम्लाको कठिन भूगोलमा गरिएको जौ खेती 

४. औधोगिक प्रयोग 
विकसित देशहरुमा जौको माल्टलाई चकलेट, बच्चालाई हुने खाना, जौको दुधजस्तो पेय पदार्थ, वियर, स्प्रिट, इन्धन बनाउन प्रयोग गरिन्छ। नेपालको मनाङ, मुस्ताङ्ग क्षेत्रमा जौको रक्सिले पाहुना सत्कार गर्ने प्रचलन छ। उन्मोचित जौका कुनैपनि जात नेपालमा माल्टको लागि प्रयोग भएका छैनन्।

 
५. प्रांगारिक उत्पादन 
जौ/उवाले रासायनिक मल बिना पनि दिगो उत्पादन दिन सक्ने तथा यो बालीमा अन्य खाद्य बालीहरू जस्तो रोग तथा कीराको महामारी नहुने र विषादीको प्रयोग पनि गर्न नपर्ने हुँदा यसवाट प्रांगारिक उत्पादन लिन सकिन्छ। नेपालको जुम्ला क्षेत्रमा कुनैपनि अजैविक मल/विषादी प्रयोग गर्न निषेध गरिएकोले त्यहाँको जौ/उवालाई प्रांगारिक उत्पादन मानिन्छ । 


६. औषधिजन्य फाइदा 
जौ/उवामा पाइने विटा ग्ल्युक्यान (B-Glucan) भन्ने घुलनसिल रेसाले रगतमा कोलेस्टेरोल र चिनीको मात्रा घटाउन मदत गर्दछ। त्यस्तै जौमा हुने अघुलनशिल रेसाले मलद्वारको क्यान्सर हुनवाट जोगाउँछ । अनुसन्धान अनुसार सबै अन्नहरू मध्ये जौमा सबैभन्दा बढी मात्रामा चिल्लोमा घुल्ने भिटामिन ई पाइन्छ र यसले एन्टिअक्सिडेन्टको काम गर्दछ। जौ/उवाको खानालाई तौल घटाउने खानाको मान्यता दिईएको छ। 

पशु तथा चरा बाहारको श्रोत 
विकसित देशहरुमा जौ/उवाको दाना र पराल दुबैलाई पशु आहारको रूपमा प्रयोग गरेको पाइन्छ। यसमा हुने कार्बोहाईड्रेट, रेसा, प्रोटिन र चिल्लो पदार्थले गाई, भैंसी, बाख्रा, कुखुरा सबैलाई फाइदा गर्दछ। अस्ट्रेलियामा देशभरि हुने उत्पादनको ४०% जौ पशु आहारमा प्रयोग गरिन्छ।

हावापानी र माटो

हावापानी र माटो 

हावापानी र माटो 
जौ/उवा बालीलाई विकासको लागि शुरुमा चिसो र पाक्नको लागि न्यानो र सुख्खा वातावरण चाहिन्छ । यसलाई वृद्धि र विकासको लागि १२-१५ डि.से. र पाक्नको लागि ३० डि.से. तापक्रम आवश्यक पर्दछ । उम्रिसके पछि पनि जौ/उवाले जात अनुसार दुई हप्तासम्म हिउँ सहन सक्छ। यसलाई गहुँलाई भन्दा कम पानी चाहिन्छ । सुख्खा सहन सक्ने भएकाले यसलाई कम वर्षा हुने ठाउँमा लगाउन सकिन्छ । पाक्ने बेलामा पानी परेमा दानामा क्षति हुन्छ, दानाको रंग परिवर्तन हुन्छ र बजारको लागि पनि अनुपयुक्त हुन्छ । 
जौ/उवा बालीलाई कम उर्वराशक्ति भएको जमिनमा खेती गर्ने चलन छ । पानीको राम्रो निकास भएको दोमट माटो यसको लागि उत्तम मानिन्छ । यसको उत्पादन बलौटे माटोमा कम हुन्छ । यसलाई पि.एच. ६-८ भएको तटस्थ माटोमा समेत लगाउन सकिन्छ । यो बाली पानी जम्ने र ओसिलो माटोमा संवेदनशिल हुन्छ ।

जातहरु

जौ/उवाका जातहरू 

जौ/उवाका जातहरू 
जौ/उवाका पुराना जातहरू अग्ला र कमजोर डाँठ भएका हुन्छन् । कमजोर उर्वराशक्ति भएको माटोमा पनि ढल्ने समस्या हुन्छ । हाल अनुसन्धानवाट विरुवाले बढी उर्वराशक्ति र सिँचाईको पूर्ण फाइदा लिन सक्ने जातहरुको सुधार भएको छ । विशेषगरी इकार्डा (ICARDA-International Center For Agricultural Research in the Dry Areas) बाट प्राप्त गरिएका जातहरुको 

1

छनौटबाट उल्लेख्य रूपमा होचो बोट, मल र सिँचाई सहने तथा रोग नलाग्ने जातहरू पहिचान भएका छन्। हालसम्म जौका ६ वटा जातहरू सिफारिस भएपनि सोलु उवा र बोनस बाहेक अन्य केच, गाल्ट, एच.बि.एल. ५६ र सी.आई. १०४४८ गरी ४ वटा जातहरू प्रयोजनमा छैनन् । सोलु उवा र बोनसको जानकारी यस प्रकार छ। 
१. सोलु उवा 

  • होचो बोट, ६ हारे, छोटो झुस भएको वाला 
  • ८५ से.मि. उचाई 
  • १५६ दिनमा पाक्ने 
  • १६५०-१९०० कि.ग्रा./हेक्टर 
  • सिफारिस क्षेत्रः उच्च पहाड 
  • उत्पत्तिः नेपाल 


२. बोनस 

  • अग्लो बोट, लामो बाला, दुई हारे 
  • दुई लाइन दाना, सानो झण्डे पात 
  • १०२ से.मि. अग्लो 
  • १६५ दिनमा पाक्ने 
  • २८००-३६०० कि.ग्र/हेक्टर 
  • सिफारिस क्षेत्रः काठमाण्डौ 
  • उत्पत्तिः स्विडेन

बाली चक्र

बाली चक्र

बाली चक्र 
हाम्रो देशको विभिन्न भौगोलिक क्षेत्रको आधारमा जौ/उवामा आधारित बाली प्रणाली यस प्रकार रहेको छ । 

तराई - भित्री तराई 
धान - जौ 
धान - जौ - आलस 
मकै - जौ - खाली 
कटन - जौ - खाली 

तराई - पहाड 
मकै/सिमी - जौ 
धान/मास (आलीमा) - जौ 

पहाड - हिमाल 
सिमी अथवा बोडी - जौ - खाली 
मकै/कोदो - जौ 
मकै भटमास - गहुँ अथवा जौ

खेति प्रणाली

जमिनको तयारी र मलखाद 

जमिनको तयारी र मलखाद 
जौ/उवा खेतीका लागि जमिनको खनजोत राम्रो हुनु पर्दछ । स्थानीय हलोले २-३ पटक जोनुका साथै ३/४ पटक दाँते लगाई सम्याउनु पर्दछ । असिञ्चित ठाउँमा जमिनको तयारीमा विशेष ध्यान दिनु पर्दछ । किनभने चिस्यानको संरक्षण जमिनको तयारीमा निर्भर हुन्छ । यस्ता ठाउँमा जोने कार्य साँझपख र भोलिपल्ट विहान सम्याउने गर्नु पर्दछ । कोदालोले बनाएको कुलेसो वा हलोले जोतेको सियो रातभर खुल्ला छोड्नु पर्छ । जसले गर्दा सितको चिस्यान कुलेसो वा सियोमा जम्मा हुन्छ र बिहान सबेरै सम्याउनु पर्छ । 

यो बालीमा मलखादको प्रयोगले धेरै उब्जनी हुनुका साथै जमीन, पानी र जातीय क्षमताको उपयुक्त प्रयोग हुन्छ । मलखादको प्रयोगमा चिस्यानको उपलब्धताले असर गर्दछ । त्यसैले रासायनिक मलको परिमाण माटो परीक्षणको नतिजा, सिँचाई संख्या वा वर्षामा निर्भर गर्दछ । साधारणतया १०-१५ मेट्रिक टन/हेक्टर राम्रोसँग पाकेको कम्पोष्ट मल प्रयोग गरिन्छ । यदि माटो परीक्षण रिपोर्ट नभएको अवस्थामा तलको तालिकालाई आधार मानी मलखादको प्रयोग गर्न सकिन्छ । 

क्र. सं.

बालीको अवस्था 

 नाइट्रोजन (के.जी./हे.) 

फस्फोरस (के.जी./हे.)

पोटास (के.जी./हे.) 

सिञ्चित   

६०

३०

१०

असिञ्चित 

३०

२०

१०

ढिला रोप्दा 

४०

३०

१०

मलको प्रयोगको विधि 
सिञ्चित अवस्थामा बाली लगाउँदा नाइट्रोजनको आधा मात्रा तथा पोटास र फस्फोरसको पूरै मात्रा बाली लगाउने समयमा माटोमा राखु पर्दछ । बाँकी परिमाणको नाइट्रोजनयुक्त रासायनिक मल पहिलो सिँचाई अर्थात ३०-३५ दिनपछि प्रयोग गर्नु पर्दछ । असिञ्चित अवस्थामा बाली लगाउँदा तीनवटै रासायनिक मलहरुको पुरै परिमाण बीउ छर्नुभन्दा अगाडि माटोमा मिलाउनु पर्दछ ।

बीउ र रोपण

बीउ र रोपण 
बीउ उपचार 
असिञ्चित जमिनमा जौ/उवा खेती गर्दा चिस्यानको कमीले गर्दा बीउ नउम्रने धेरै सम्भावना हुन्छ । लवणयुक्त माटोमा यसको खेती गर्दा पनि सोही समस्या देखा पर्दछ । चिस्यानको कमी भएको जग्गामा लगाउँदा रातभर बीउलाई चिसो पानीमा भिजाउनु पर्दछ । यसो गरेमा बीउ राम्ररी एकनास सँग उम्रन्छ । जौ/उवाको बीउलाई १-२ पी.पी.एम. को बोरनको झोलमा डुवाएर छर्नाले खडेरी प्रतिरोधक हुने गरेको अनुसन्धानको नतिजाबाट पाईएको छ । 
जौ/उवा बालीमा कालोपोकेले आक्रमण गरेको हुन सक्छ । यो रोगको ढुसी बीउको बाहिरी सतहमा बसेको हुन्छ र संक्रमण गर्छ । यस्तो रोग नियन्त्रण गर्नको लागि कार्वेण्डाजिम वा भाइटाभेक्स २.५ ग्राम १ के. जी. बीउमा राखेर राम्ररी मिसाउनु पर्दछ जसले गर्दा विषादी बीउको बोक्रामा राम्ररी ढाकियोस् । 

बीउ दर 
सिञ्चित जग्गामा समयमै रोपण गर्दा ९० के.जी. बीउ प्रति हेक्टर चाहिन्छ भने बिलम्ब रोपण गर्दा १०० कि.ग्रा. प्रति हेक्टर बीउ प्रयोग गर्नु पर्दछ । असिञ्चित जग्गामा ८०-१०० के.जी. बीउ प्रति हेक्टर चाहिन्छ । प्रतिकूल अवस्था, ढिला वा धेरै चिसो भएको बेलामा रोप्दा १२५ के.जी. प्रति हेक्टरसम्म बीउ चाहिन्छ । 

रोप्ने समय 
जौ रोप्ने समयमा २१-३१ डिग्री से. तापक्रम उपयुक्त हुन्छ। भौगोलिक अवस्था, माटोको प्रकार, चिस्यानको अवस्था र सिँचाईको सुविधाको आधारमा जौ/उवा कार्तिक देखि मंसिरसम्म लगाउन सकिन्छ । कार्तिक पछि जति ढिला लगायो उति नै उब्जनी कम प्राप्त हुन्छ । ढिला रोपण गर्दा छिटो पाक्ने जात लगाउनु पर्दछ । 

  • समुद्री सतह १८०० मि. उचाई सम्म कार्तिक महिना 
  • १८०० - ४००० मि. उचाई सम्म असोजको पहिलो हप्ता 

बीउ लगाउने दुरी 
जौ तथा उवा लगाउँदा लाइन देखि लाइनको दुरी २५ से.मि. र गहिराई ४-५ से.मि. हुनु पर्दछ। असिञ्चित अवस्थामा चिस्यानको अवस्था हेरी गहिराई ६-८ से.मि. सम्म हुनु पर्दछ । हार नमिलाई लगाउँदा समान अंकुरण नहुने तथा बीउ दर बढाउनु पर्ने हुन्छ ।

पानीको व्यवस्थापन 

पानीको व्यवस्थापन 
जौ/उवा बालीलाई कम पानी आवश्यक पर्ने भएकाले असिञ्चित ठाउँमा रोपिन्छ । जहाँ सिँचाइको अभाव छ त्यस्तो ठाउँमा समेत यो बालीको खेती गर्न सकिन्छ । अनुसन्धानको नतिजाबाट चिस्यानको मात्रा बढी भएमा मलखादको ग्रहण बढी हुने र तुलनात्मक रुपमा दाना र छवाली बढी उत्पादन हुने तथ्य पत्ता लागेको छ । बलौटे माटोमा बढी सिँचाई चाहिन्छ भने बलौटे दोमट माटोमा कम सिँचाई भएपनि हुन्छ । यदि जौ माल्टको लागि लगाइएको छ भने थप एक सिँचाईले प्रोटिनको मात्रा सन्तुलनमा राख्दछ । सामान्य वृद्धि र सन्तोषजनक उत्पादनको लागि जौ बालीमा आवश्यक सिँचाई तालिका तल दिइएको छ । तर पानी जम्नु भने हुँदैन । 
१. यदि एउटा मात्र सिँचाईको व्यवस्था भएमा गाँजिने अवस्था अर्थात रोपेको ३०-३५ दिन पछि सिँचाई दिनुपर्छ । 
२. यदि दुइ सिँचाईको व्यवस्था भएमा एक गाँजिने र अर्को दानामा दुध पस्ने वेलामा सिँचाई दिनुपर्दछ । 
३. यदि तीन सिँचाईको व्यवस्था भएमा गाँजिने, बाला निस्कने बेला र दानामा दुध पस्ने वेलामा सिँचाई दिनुपर्छ । 
४. असिञ्चित अवस्था जहाँ वर्षामा भल पानी संकलन गर्न सकिन्छ, त्यस्तो पानी गाँज आउने अवस्थामा दिन सकिन्छ । गहुँ वा जौका छवालीहरू लाइनको बीचमा राखेर चिस्यान जोगाउन पनि सकिन्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

झारपातको व्यवस्थापन 

झारपातको व्यवस्थापन 
जौ/उवा खेती गर्दा समयमै झारपातहरू नियन्त्रण गर्नुपर्छ । समयमै झारपातहरू नियन्त्रण गरिएन भने झारले विरूवासँग प्रकाश, हावा, पानी, ठाउँ र पोषक तत्वसँग प्रतिस्पर्धा गर्दछ फलस्वरुप जौको उत्पादन घट्दछ । जौ/उवाको उत्पादन झारले गर्दा ३०-५०% सम्म घट्दछ । बालीमा झारको प्रतिस्पर्धा वाली रोपेको ३०-४० दिनमा हुन्छ । कृषिगत कार्यहरू गरेर नै झारको व्यवस्थापन गनुपर्छ । 
चौडापाते झारलाई २.४ डि सोडियम साल्ट (८० प्रतिशत) वा २,४ डि अमाइन साल्ट (७२ प्रतिशत) ०.७८ ए.आइ./हे. ७००-८०० लिटर पानी/हे. का दरले रोपेको ३५-४० दिनपछि प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ । असिञ्चित अवस्थामा झारनासक विषादीको मात्रा केही कम गनुपर्दछ अर्थात् ०.५ के.जी. ए.आइ./हे. प्रयोग गर्नु पर्दछ। जंगली जैको नियन्त्रण गर्न आइसोप्रोट्युरन ७५ डब्लु.पी. १.० के.जी. ए.आइ./हे. का दरले ७००-८०० लिटर पानीमा मिसाई रोपेको २-३ दिनपछि छर्नुपर्छ ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

बाली काट्ने/ चुट्ने,

बाली काट्ने र चुट्ने 
जाँ/उवा बाली पुरै पाकेपछि मात्र काट्नुपर्छ । बाली चाँडै काट्दा बाली न्युन गुणस्तरको हुनुका साथै उब्जनी पनि कम हुन्छ । वाली ढिला काट्दा बाला र दाना वारीमा झर्दछ । बालीलाई झर्नबाट जोगाउन बिहान सबेरै हावा शान्त चिसो र ओसिलो बेलामा काट्नुपर्छ । बाली दिउँसो काट्दा बालाहरू साहै सुख्खा हुन्छ र टुट्ने गर्दछ। जौ/उवाको काट्‌न तयार भएका लक्षणहरू निम्न लिखित छन्, 

  • बिरुवा पहेंलो हुन्छ र सुक्छ । 
  • दाना कडा हुन्छ र चिस्यान १८-२०% हुन्छ । 
  • बिरूवा झुरो हुन्छ । 
  • डाँठ वा काण्ड हल्का चापले भाँचिन्छ। 

जुम्लामा जौ काट्‌ने समय जेठ महिनामा पर्दछ। यो समयमा पानी पर्न सक्ने र धान लगाउन हतार हुने हुँदा घरको छतमा भल्को वा कुन्यु लगाएर कार्तिक/मंसिरसम्म राखी समय र आवश्यकता अनुसार चुटानी गरिन्छ । 

1


चित्र: जुम्लाको प्रचलनमा रहेको जौको कुन्यु/मल्को 

जौलाई विभिन्न तरिकाबाट चुट्न सकिन्छ। गोरुले कुल्चेर, यान्त्रिक प्रेसरबाट अथवा मान्छेले लठ्ठीले कुटेर यसको दानालाई बालाबाट छुटाउन सकिन्छ । 

उत्पादन 
सामान्यतया जौको भन्दा उवाको उत्पादकत्व केही कम मापन गरिन्छ। जौको तौल लिइँदा यसको भुस सहित लिईने तर उवामा भुस नरहने हुँदा कम उत्पादकत्व देखिने पनि भनिन्छ । बढी उत्पादन दिने जौका जातहरू उन्नत प्रविधिबाट खेती गरेमा ३-३.५ टन दाना र ४-५ टन सम्म छवाली/हे. उत्पादन लिन सकिन्छ । 

भण्डारण 
जी/उवालाई थोरै परिमाणमा भकारीमा भण्डारण गर्न सकिन्छ । पोलिथिन बोरा पनि भण्डारणको लागि प्रयोग गरिन्छ । जौको भण्डारणको लागि उपयुक्त चिस्यान १४-१६४ हो । भण्डारण गर्नु अधि जौलाई राम्ररी ३/४ घाम सुकाउनु पर्छ। राम्रोसँग सुकेको बीउलाई टिनको भकारी वा प्लास्टिक सहितको व्यवसायिक बोरा (सुपर ग्रेन। मा हावा र चिस्यान नछिर्ने गरी भण्डारण गर्नु पर्दछ । भण्डारणमा लाग्ने धुन, पुत्लाबाट जोगाउनको लागि सेल्फसको चक्कीलाई सानो कपडामा बेरेर बोराको फेद, बीच भाग र टिनको भकारी हो भने आवश्यकता अनुसार तीन/चार सतहमा राखु पर्दछ ।

परिकार विविधिकरण 

परिकार विविधिकरण 

परम्परागत खाद्य परिकारः जौ/उवाको पिठो 
रोटी बनाउन प्रयोग गरिन्छ। यसलाई अरू खाद्यान्न वा गहुँसँग मिसाएर पनि पिस्न सकिन्छ। यसको पिठोलाई गुणस्तरीय रोटी बनाउन प्रयोग गरिन्छ। भुटेर पिसेको जौ/उवाको दानालाई सातुको रुपमा समेत प्रयोग गर्न सकिन्छ। जौको दानालाई पिसेर सुप खाने चलन पनि छ। 

आधुनिक खाद्य परिकारः विश्वमा विकासक्रम सँगै जौ/उवाको खाद्य आहार घटे पनि पछिल्ला दशकहरुमा यसको प्रयोग बढाईएको। जौ/उवालाई पुरै दाना, दाना फुटाएर, दाना भुटेर, मसिनो पिठो वा खस्रो पिठो सबै तवरले खाद्य परिकार बनाउन प्रयोग गरिएको पाइन्छ। यसको पिठोबाट प्यानकेक, पाउरोटी, केक, सिन्के चाउचाउ, ब्रेड, पास्ता, चिउरा बनाउन सकिन्छ। वाल आहार तथा सर्वोत्तम पिठोमा कार्बोहाईड्रेट श्रोतको रूपमा यसको पिठो मिसाउँदा लाभदायक हुन्छ। संसारभरमा सबैभन्दा बढी साउदी अरव र मोरक्कोमा ३५ कि.ग्रा. प्रति व्यक्ति प्रति वर्ष जौको उपभोग गर्दछन् ।

1

चित्र: सोलु उवाको पिठोमा लट्टे राखेर बनाइएको केक 

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामाग्रीहरु

सन्दर्भ सामाग्रीहरु

  • Annual Report, Hill Crops Research Program (HCRP), 2017. 
  • Annapurna, Akula. (2011). Health benefits of barley. Asian Journal of Pharmaceutical Research and Health Care. 3. 
  • Duan, R, H Xiong, A. Wang and G Chen (2015). Molecular mechanisms underlying hull-caryopsis adhesioniseparation revealed by comparative transcriptomi analysis of coveredinaked barley (Hordeumvulgare L.) International Journal of molecular science.16, 14181-14193; 
  • Joshi, B.K., Bhatta, M.R., Ghimire, K.H., Khanal, M., Gurung, S.B., Dhakal, R.,and Sthapit, B.R. 2017. Released and Promising rop Varieties of Mountain Agriculturein Nepal (1959-2016). LI-BIRD, Pokhara; NARC, Kathmandu and BioversityInternational, Pokhara, Nepal. 
  • Manandhar, H.K., Timila, R.D., Sharma, S., Joshi, S., Manandhar, S., Gurung, S.B., Sthapit, S., Palikhey, E., Pandey, A., Joshi, B.K., Manandhar, G., Gauchan, D., Jarvis, D.I. and Sthapit, B.R. 2016. A Field guide for Identificationand scoring methods of diseases in the mountain crops of Nepal. NARC,DoA, LI-BIRD and Bioversity International, Nepal. 
  • Singh, DP, KS Babu, SK Mann, M Meeta, SS Karwasra, IK Kalappanavar, RN Singh, AK Singh and SP Singh, 2010. Integrated pest management in barley (Hordeumvulgare) Indian Journal of Agricultural Science 80(5)437-42. 
  • बराल किरण, अमित प्रसाद तिमिल्सिना, सैलेन्द्र थापा, विनिता थापा, भानुभक्त पोखेल । २०६९। जौ खेती सम्बन्धी एक जानकारी। राष्ट्रिय पहाडी बाली अनुसन्धान कार्यक्रम, काब्रे दोलखा । 
  • साउद, नर बहादुर २०६७। नेपालको बालीनाली र तिनको दिगो खेती । साझा प्रकाशन। 
  • फोटोहरूको स्रोतः शुक बहादुर गुरुङ