बालीको परिचय
जौ मानव सभ्यतासँगै जोडिएर आएको एक पुरानो बाली हो । यसको वैज्ञानिक नाम Hordeum spp. हो । यो Poaceae परिवार अन्तर्गत पर्दछ । यो एक स्वसेंचित बाली (Self pollinated) हो। यसमा जम्मा १४ क्रोमोजोम (२n=१४) हुन्छ । बालामा दानाको हारको हिसाबले नेपालमा जौको दुई प्रजाति (६ हार वाला Hordeum vulgare र २ हार बाला Hordeum distichum) खेती गरेको पाइन्छ । ६ हार बालामा २ हार वाला प्रजाति भन्दा बढी प्रोटिन हुन्छ र ६ हार वाला माल्ट र दानाको लागि राम्रो हुन्छ । यसका अलवा जौलाई भुस भएको र भुस नभएको (उबा) दुई वर्गमा पनि वर्गिकरण गरिएको छ । लगाउने सिजनको आधारमा हिउँदे र वसन्ते जौ गरि वर्गिकरण पनि गरिन्छ ।
नेपालमा क्षेत्रफल र उत्पादनको हिसाबले धान, मकै, गहुँ, कोदो पछि पाँचौ स्थानमा जौ बाली पर्दछ । विश्वमा क्षेत्रफल र उत्पादनको हिसाबले धान, गहुँ, मकै पछि चौथो स्थानमा पर्दछ । विगत दश वर्षमा विश्वमा जौको उत्पादन १५५.३ मिलियन मे.टन (सन् २००८/०९) बाट १४०.६ मिलियन मे.टन (२०१८/१९) मा झरेको छ । नेपालमा सन् २०१९/२० मा जौको क्षेत्रफल २४,६४८ हे., उत्पादन ३०५१० मे. टन र उत्पादकत्व १.२८ टन/हे. थियो ।
जौलाई विभिन्न धार्मिक चाडबाड, पुजा र संस्कारहरुमा महत्त्वपूर्ण सामग्रीको रुपमा प्रयोग गरिन्छ। उच्च पहाड र हिमाली भेगको जौ प्रमुख खाद्यान्न बाली हो जुन पशुपन्छीको लागि दानाको रुपमा पनि प्रयोग हुन्छ । पहाडी क्षेत्रमा यो जाँड, रक्सी बनाउन पनि प्रयोग हुन्छ । यसका अलावा यो एक औद्योगिक बाली पनि हो। यो बियर बनाउनको लागि प्रयोग हुने प्रमुख बाली पनि हो । यसको खेती नेपालको तराई देखि ४००० मी. उचाईसम्म गर्न सकिन्छ । जौ बाली गहुँ भन्दा चाँडै पाक्ने र कम चिस्यान भए पुग्ने एवं पाक्न अरू बालीलाई भन्दा कम ताप इकाई चाहिने भएकोले हिमाली क्षेत्रको लागि एक महत्त्वपूर्ण बालीको रुपमा स्थापित छ । जौको सातु, रोटी,केक, बिस्कुट आदि बनाएर उपयोग गर्न सकिन्छ । यो बाली बालबालिकाहरुको लागि सन्तुलित आहार लिटो बनाउन उत्तम स्रोत हो । जौमा पाइने पोष्टिक तत्वहरू यसप्रकार छन्ः
प्रोटिन ११.५%
कार्बोहाइड्रेट ७४%
तेल १.३%
सुख्खा पदार्थ ३.९%
खरानी १.५%
जौ खेति प्रविधि
परिचय
हावापानी र माटो
हावापानी
जौ बालीको लागि शुरुमा चिसो र पाक्ने बेला न्यानो र सुख्खा वातावरण चाहिन्छ । जौलाई वृद्धि र विकासको लागि १२-१५ डिग्री से. र पाक्नको लागी ३० डिग्री से. तापक्रम चाहिन्छ । यसलाई गहुँलाई भन्दा कम पानी चाहिन्छ । सुख्खा सहन सक्ने भएको हुनाले जौ कम वर्षा हुने ठाउँमा उपयुक्त हुन्छ । पाक्ने बेलामा पानी परेमा दाना कालो हुने र रंग बदलिने हुन्छ र माल्ट बनाउन नसकिने हुन्छ ।
माटो
जौ बालीलाई कम उर्वराशक्ति भएको माटोमा खेती गर्ने चलन छ । पानीको राम्रो निकास भएको दोमट माटो यसका लागी उत्तम मानिन्छ । यसको उत्पादन बलौटे माटोमा कम हुन्छ । यसलाई माटोको पी.एच. ५-८ सम्म भएकोमा खेती गर्न सकिन्छ । पानी जम्ने र ओसिलो माटोमा जौ खेती उपयुक्त हुँदैन ।
जातहरु
जातहरु
जौ अधिकांश स्थानमा स्थानीय जात नै खेती गरिंदै आएको पाइन्छ तर स्थानीय जातहरू अग्ला र कमजोर डाँठ भएका हुन्छन् र कम मलिलो माटोमा पनि ढल्ने हुन्छन् । अनुसन्धानबाट सिफारिस जौका जातहरू यस प्रकार छन् ।
खेति प्रणाली
जमिनको तयारी
जौ खेतीको लागि जमिनको खनजोत राम्रो हुनु पर्दछ । स्थानीय हलोले २-३ पटक जोत्ने र हेगा लगाएर सम्याउनु पर्दछ । असिञ्चित क्षेत्रमा चिस्यान संरक्षणमा विशेष ध्यान दिनु पर्दछ किनकी चिस्यानको संरक्षण जमिन तयारीमा निर्भर गर्दछ । त्यसैले बेलुका जोतेर भोलिपल्ट बिहान हेगा लगाएर सम्याउनु पर्दछ । कोदालोले बनाएको सियो वा हलोले बनाएको सियो रातभर खुल्ला छाड्ने र भोलिपल्ट सम्याउँदा शितले भिजेको चिसो संरक्षण हुन्छ ।
मलखाद
जौ वालीमा मलखादको प्रयोगले उत्पादन बढाउनको साथै गुणस्तरीय उत्पादन वृद्धि गर्न सहयोग पुऱ्याउँदछ। मलखादको उपयोगिता माटोमा चिस्यानको उपलब्धता, माटोको उर्वराशक्ति, जात आदिमा निर्भर गर्दछ । साधारणतया १०-१५ मे. टन/हे. कम्पोस्ट या गोबर मल प्रयोग गरिन्छ। माटो परीक्षण गरेर सोही आधारमा मलखाद दिनु उपयुक्त भएतापनि परीक्षण नभएको अवस्थामा रासायनिक मललाई निम्न अनुसार दिन सकिन्छ ।
|
क्र. सं. |
बालीको लगाउने अवस्था |
नाइट्रोजन (के.जी./हे.) |
फस्फोरस (के.जी./हे.) |
पोटास (के.जी./हे.) |
|
१ |
सिञ्चित |
३० |
२० |
१० |
|
२ |
असिञ्चित |
६० |
२० |
१० |
|
३ |
ढिला रोप्दा |
४० |
२० |
१० |
सिञ्चित अवस्थामा वाली लगाउँदा नाइट्रोजनको आधा मात्रा तथा पोटास र फस्फोरसको पुरै मात्रा बाली लगाउने समयमा राख्खु पर्दछ । बाँकी नाइट्रोजनको मात्रा पहिलो सिँचाई दिएपछि अर्थात् ३०-३५ दिन पछि दिनु पर्दछ । असिञ्चित अवस्थामा बाली लगाउँदा तीन वटै रासायनिक मलको सबै परिमाण एकै पटक बाली लगाउनु भन्दा अगाडि माटोमा मिलाउनु पर्दछ ।
बाली लगाउने समय
जौ लगाउने समय भौगोलिक अवस्था, माटोमा चिस्यानको अवस्था, सिँचाई सुविधा र माटोको प्रकारको आधारमा कार्तिक देखि मंसिरसम्म लगाउन सकिन्छ । जौ लगाउन ढिला भएमा उत्पादनमा कमी आउँछ । असिञ्चित ठाउँमा कार्तिकको पहिलो हप्तादेखि दोश्रो हप्ता र सिञ्चित ठाउँमा कार्तिक तेस्रोदेखि चौथो हप्तामा लगाइन्छ ।
बीउ दर तथा छर्ने विधि
बीउको मात्रा माटोको चिस्यान, सिँचाई उपलब्धता र उमारशक्ति आदिमा निर्भर गर्दछ । सिञ्चित अवस्थामा स्वस्थ बीउ ९० केजी/हे. भए पुग्दछ भने असिञ्चित अवस्थामा १०० केजी/हे. चाहिन्छ। रोप्ने समय ढिला वा प्रतिकूल अवस्था धेरै चिसो भएमा १२५ केजी/हे. बीउ चाहिन्छ । बीउलाई छरुवा वा लाइनमा रोप्न सकिन्छ । लाइनमा रोप्दा एक हारबाट अर्को हारको दुरी २५ से.मी. फरकमा लगातार बीउ खसाल्ने गर्नु पर्दछ । गहिराई ४-५ सेमी गहिरोमा रोप्नु पर्दछ। चिस्यान कम छ भने ६-८ से.मी. गहिरोमा रोप्नु पर्दछ । लाइनमा रोप्दा बीउ कम लाग्दछ भने छरुवामा अलि बढी लाग्दछ । लाइनमा गहुँ छर्ने सीडड्रिलको प्रयोग गरेर पनि रोप्न सकिन्छ ।
सिँचाई
जौ बालीलाई पानी कम चाहिने हुनाले प्राय असिञ्चित अवस्थामा खेती गरिन्छ । अनुसन्धानबाट जौ बालीमा चिस्यान बढी हुँदा मलखाद बढी शोषण हुने र छवाली तथा दानाको मात्रा बढ्ने तथ्य पत्ता लागेको छ । बलौटे माटोमा बढी सिँचाई चाहिने र दोमट माटोमा कम सिँचाई भए पुग्दछ । जौलाई माल्ट र brewing उद्देश्यको लागि लगाईएको छ भने थप एक सिँचाई बढी दिनुपर्ने हुन्छ र यसलाई पानी जम्नु राम्रो हुँदैन । सिँचाईको सुविधा उपलब्धताको आधारमा तल दिए अनुसार सिँचाई दिदा उत्पादन वृद्धि गर्न सहयोग पु-याउँदछ ।
१. यदि एक मात्र सिँचाई उपलब्ध भएमा गाज हाल्ने अवस्था अर्थात् ३०-३५ दिन पछि दिनु पर्दछ ।
२. यदि दुई वटा सिँचाई उपलब्ध भएमा एक पटक गाँज हाल्ने बेला र अर्को पटक दानामा दुध पस्ने बेला दिनु पर्दछ ।
३. यदि तीन वटा सिँचाई उपलब्ध भएमा गाजिने बेला, बाला निस्कने बेला र दुध पस्ने बेलामा दिनु पर्दछ ।
गोडमेल
जौलाई समयमा नै गोडमेल गरेर झारपातहरू नियन्त्रण गर्नु पर्दछ । समयमा झारपात नियन्त्रण गरिएन भने झारले बाली बिरुवासँग प्रकाश, खाद्यतत्व, हावा, पानीहरुको लागि प्रतिस्पर्धा गर्दछ जसले गर्दा जौको उत्पादन घट्दछ । झारपातले गर्दा जौको उत्पादन ३०-५० प्रतिशत घट्दछ । बालीसँग झारपातको प्रतिस्पर्धा बाली रोपेको ३०-४० दिनसम्म बढी हुन्छ । जौमा आउने मुख्य झारमा बेथे, कृष्ण निल, कटेली, जंगली जै, संजी, निलो घाँस आदि हुन् । चौडा पाते झारपात नियन्त्रणको लागि २, ४ डी (०.७८ ए.आइ./हे.) र सागुरो पाते जंगली जै जस्ता झारपातको लागि आइसोप्रोटुरान (१ केजी ए.आइ./हे.) ७००-८०० लि. पानीमा मिसाएर छर्न सकिन्छ । २. ४ डी लाई रोपेको ३५-४० दिन पछि छर्नु पर्दछ भने आइसोप्रोटुरान रोपेको २-३ दिन भित्र छर्नुपर्दछ ।
बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)
जौमा लाग्ने रोगहरू र व्यवस्थापन
(क) स्ट्रिप रस्ट
यो रोगलाई पहेंलो सिन्दुरे रोग पनि भनिन्छ । यो रोग Puccinia striiformis f. sp. hordei भन्ने ढुसीबाट लाग्दछ । यो रोग पहाडी भूभाग विशेषगरि १०००-२५०० मी. उचाईका र तापक्रम १०-१५ डिग्री से. हुने स्थानमा बढी संक्रमण हुन्छ । यो हावाबाट सर्दछ । रोगको शुरुवातमा पहेला धर्सा पातको पत्रपटल र आधारमा देखिन्छ र पछि पुरै पातमा ढाक्दै जान्छ । रोगले धेरै आक्रमण गरेमा बाला निस्कन समस्या हुन्छ, दाना कम लाग्छ र गुणस्तर कम हुन्छ ।
नियन्त्रण
- रोप्नु भन्दा अगाडि बीउलाई १:१ थिराम र बेभिस्टिन वा भाइटाभेक्स २.५ ग्राम/के.जी. बीउको दरले उपचार गर्ने
- रासायनिक विषादी प्रोपिकोनाजोल २५ इ.सी. को ०.१% लाई १ मि.लि./लि. पानीमा मिसाई बाला निस्कनु भन्दा अगाडि छर्ने
- रोग अवरोधी जात लगाउने
(ख) कालो पोके (Loose Smut)
यो रोग बाला निस्कने बेला देखा पर्छ । यो रोग Ustilago nuda भन्ने ढुसीबाट लाग्दछ । बाला निस्कँदा कालो ढुसीले ढाकेर निस्कन्छ र ढुसीले ढाकेपछि दाना लाग्दैन । यो मुख्यतया बीउबाट सर्ने रोग हो तर हावाबाट स्पोरहरुलाई रोगी बोटबाट स्वस्थ बाला र बीउलाई संक्रमित गराईदिन्छ र अर्को सिजनमा रोग देखा पर्दछ ।
नियन्त्रण
- रोप्नु भन्दा अगाडि बीउलाई भाइटाभेक्स २.५ ग्राम/के.जी. बीउको दरले उपचार गर्ने,
- ढुसी लागेको बालालाई हटाउने र जलाउने,
- बीउलाई बैशाख जेठमा विहान चिसो पानीमा ३-४ घण्टा भिजाउने र दिउँसो ५-६ घण्टा चर्को घाममा सुकाउने, बढी तापक्रमले ढुसी मर्दछ ।
(ग) Covered smut
यो रोग Ustilago hordei भन्ने ढुसीबाट लाग्दछ । यो रोग वाला निस्कने वेला देखा पर्छ । बाला निस्कदा दाना खैरो कालो ढुसीको पोकोले विस्थापित गरेको हुन्छ । कहिलेकाहीं ढुसी पत्र पटलमा पनि विकास हुन्छ, जुन लामा लामा पाटा जस्ता देखिन्छन् ।
नियन्त्रण
- रोप्नु भन्दा अगाडि बीउलाई भाइटाभेक्स २.५ ग्राम/के.जी. बीउको दरले उपचार गर्ने
- ढुसी लागेको बालालाई हटाउने र जलाउने
- रोग अवरोधी जात लगाउने ।
(घ) जौ स्ट्रिप रोग
यो रोग Helminthosporium gramineum भन्ने ढुसीबाट लाग्दछ । यो बीउबाट सर्ने रोग हो। यो रोगको लक्षण गाज आउने बेलाबाट सुरू भइ नपाकुन्जेलसम्म रहन्छ । रोगको लक्षण शुरुमा पातमा पहेला धर्सा, पातको पत्रपटल र आधारमा देखिन्छ । पछि धर्साहरू खैरा हुन्छन् र पत्रपटल झर्छन् । रोगले धेरै आक्रमण गरेमा बाला निस्कन समस्या हुन्छ र दाना कम लाग्छ तथा गुणस्तर कम हुन्छ । यो रोग चिसो र पहाडी भेगमा बढी हुन्छ ।
नियन्त्रण
- रोप्नु भन्दा अगाडि बीउलाई १:१ थिराम र बेभिस्टिन वा भाइटाभेक्स २.५ ग्राम/के.जी. बीउको दरले उपचार गर्ने
- बीउलाई वैशाख जेठमा विहान चिसो पानीमा ३-४ घण्टा भिजाउने र दिउँसो ५-६ घण्टा चर्को घाममा सुकाउने, बढी तापक्रमले ढुसी मर्दछ ।
- रोग अवरोधी वा सहन सक्ने जात लगाउने ।
(ङ) सेतो दुसी (Powdery Mildew)
यो रोग Blumeria graminis f.sp. hordei भन्ने ढुसीबाट लाग्दछ । सुरुमा तल्ला पातहरुको माथिल्लो भागमा खैरा थोप्लाहरू देखा पर्दछन् र यी थोप्लाहरू सेतो पाउडर जस्तो देखिन्छन् । रोगले धेरै आक्रमण गरेमा बोट पहेंलिन्छ र मर्दछ । चिसो, घाम कम लाग्ने र ओसिलो स्थानमा रोगको प्रकोप बढी हुन्छ ।
नियन्त्रण
- सल्फर धुलो १०-१५ केजी/हे. छर्ने ।
- केराथेन (०.२%) १५ दिनको फरकमा तीन पटक छर्ने ।
- रोग अवरोधी वा सहन सक्ने जात लगाउने ।
(च) स्पोट ब्लोच (Spot blotch)
यो रोग Bipolaris sorokiniana भन्ने ढुसीबाट लाग्दछ । साना साना पिन जस्ता थोप्लाहरू पातको सतहमा देखिन्छन् र पछि थोप्लाहरू एक आपसमा मिलेर पातको धेरै भाग ओगटछन् । यो रोग बीउबाट सर्ने रोग हो। यसको न्यानो र ओसिलो ठाउँमा बढी प्रकोप देखिन्छ ।
नियन्त्रण
- रोप्नु भन्दा अगाडि बीउलाई १:१ थिराम र वेविस्टिन वा भाइटाभेक्स २.५ ग्राम/के.जी.
- बीउको दरले उपचार गर्ने।
- घुम्ती बाली लगाउने ।
- खेतको सरसफाई गर्ने ।
(छ) नेट ब्लोच (Net blotch)
यो रोग Helminthosporium teres भन्ने ढुसीबाट लाग्दछ । रोगको सुरुको अवस्थामा पातमा धेरै साना गाढा खैरा थोप्ला देखिन्छन् र पछि यी धर्सामा परिणत हुन्छन् । नजिकबाट हेर्दा खैरो लाइनको संजाल देखिन्छ ।
नियन्त्रण
- रोप्नु भन्दा अगाडि बीउलाई १:१ थिराम र बेविस्टिन वा भाइटाभेक्स २.५ ग्राम/के.जी. बीउको दरले उपचार गर्ने।
- मान्कोजेब ७५WP ३-४ पटक १५ दिनको फरकमा छर्ने ।
- जौमा लाग्ने कीराहरू र तिनको व्यवस्थापन
(क) माटोमा रहने कीरा
यिनीहरुले उम्रेपछि क्षति गर्न सुरू गर्दछन् । यिनीहरुले बिरुवाको फेद काट्ने, जरा खाने गरेर नोक्सान पुऱ्याउँदछन् ।
नियन्त्रण
रोप्नु भन्दा अगाडि ५% मालाथियान धुलो २०-२५ केजी/हे. माटोमा मिलाउने ।
(ख) पात खाने/चुस्ने कीरा
यस प्रकारका कीराहरुमा लाही, पतेरो, फट्यांग्रा आदि पर्दछन् । लाहीले पात चुस्ने मात्र नभएर पहेंलो सिन्दुरे र भाइरस सार्ने काम पनि गर्दछ ।
नियन्त्रण
डाइमेथोयट ३० इ.सी. (रोगोर) १ मि.लि./लि. पानीमा मिसाई छर्नु पर्दछ । यदि नियन्त्रण नभएमा १०-१५ दिनको अन्तरालमा दोहऱ्याउनु पर्दछ ।
बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण
बाली काट्ने र चुट्ने
बालीलाई राम्रोसँग पाकेपछि मात्र काट्नु पर्दछ किनभने छिटो काट्दा गुणस्तर कम हुनुका साथै उमारशक्ति पनि कम हुन्छ भने ढिलो काट्दा बारीमा दाना झरेर नोक्सान हुने गर्दछ । बाली काट्दा बिहानको समय वा चर्को घाम नलागेको बखत काट्नु राम्रो हुन्छ । बाली पाकेको निम्न कुराहरुको आधारमा छुट्याइन्छ ।
- बिरुवा पहेंलो हुन्छ र सुक्दछ ।
- दाना कडा र चिस्यान १८-२०% हुन्छ ।
- डाठ र काण्ड हल्का चापले भाँचिन्छ ।
- जौलाई गोरुले दाइ गरेर, लठ्ठीले चुटेर वा थ्रेसर लगाएर दाना झार्न सकिन्छ।
उत्पादन
उन्नत जातका बढी उत्पादन क्षमता भएका जौका जातहरू उन्नत प्रविधि अपनाएर खेती गर्दा ३-३.५ टन/हे. दाना र ४-५ टन/हे. छवाली उत्पादन लिन सकिन्छ ।
भण्डारण
जौलाई ३-४ घाम राम्रोसँग सुकाइसके पछि चिस्यानको मात्रा १४-१६% मा झरेपछि पोलिथिन बोरा, सिड बिन वा भकारीमा भण्डारण गर्न सकिन्छ ।
मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण
नेपालमा जौवाट विभिन्न खाद्य पदार्थ बनाउने अभ्यास छ। सातु, लिटो, च्याँख्ला, ढिडो, रोटी, दाल, चिउरा र जाँड रक्सी नेपालमा बनाइने जौको खाद्य परिकार र उत्पादन हुन् । नेपालमा जौको सातुको प्रयोग आजभोलि बिहान नास्तामा बढ्दो छ । जौको पोषण र बास्नालाई सुधार गरेर माल्ट बनाइन्छ । माल्ट बनाउन जौलाई उचित तापक्रममा उमारेर सुकाइन्छ । यसमा तीन वटा प्रशोधन विधि हुन्छ जौलाई भिजाउने, उमार्ने र सुकाउने । जौ उमार्दा विभिन्न खालका इन्जाइम उत्पादन हुन्छ जसले कार्बोहाइड्रेट र प्रोटिनलाई टुक्र्याउँदछ । यस कारण केटाकेटीलाई जौ पचाउन सजिलो हुन्छ । जौबाट विभिन्न खाद्य पदार्थ बनाएर बजारमा विक्री गर्न सकिन्छ जस्तै बिस्कट, दनोट, पाउरोटी, केक, ककिज, आदि ।
जातीय संरक्षणको महत्व एवं उपायहरु
जातीय संरक्षणको महत्व एवं उपायहरु
जौ तराई देखि उच्च पहाडसम्म खेती गरिने वाली भएतापनि नेपालमा विगत केही वर्षदेखि तराई र पहाडमा यसको खेती कम हुँदै गएको छ। अन्य बाली विशेषगरि गहुँले यसलाई विस्थापित गरि रहेको छ । नेपाललाई पनि जौका विभिन्न जातहरुको उदगम तथा फैलावट स्थल मानिएको हुनाले यहाँ जौको धेरै विविधता पाईएको छ। कतिपय रैथाने जातहरू लोप हुने अवस्थामा पुगेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र, खुमलटारले १.२३० प्रकारका जौका जर्मप्लाजमलाई विशिष्टिकरण गरि जिन बैंकमा संरक्षण गरेको छ भने पहाडी बाली अनुसन्धान कार्यक्रमले पनि ८५५ जर्मप्लाज्महरुको विशिष्टिकरण गरेको छ । स्थानीय जौका जातहरुलाई लोप हुन नदिन स्थानीय स्तरमा नै फिल्ड जिन बैंक तथा रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याउनु पर्दछ ।
सन्दर्भ सामग्री सूची
सन्दर्भ सामग्री सूची
१. जौ खेती प्रविधि, २०७१, पहाडीबाली अनुसन्धान कार्यक्रम, काब्रे, दोलखा
२. जौ खेती सम्बन्धी एक जानकारी, २०६९, पहाडीबाली अनुसन्धान कार्यक्रम, काने, दोलखा
३. जौको खाद्य परिकार प्रविधि पुस्तिका, २०७७, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, खुमलटारल, ललितपुर
४. वार्षिक प्रतिवेदन, २०७७/७८, पहाडीबाली अनुसन्धान कार्यक्रम, काब्रे, दोलखा
