बालीको परिचय
कर्णाली प्रदेशको प्रमुख खाद्यान्न बालीको रुपमा चिनोलाई लिने गरिन्छ । चिनु वा चिनो Prosomillet-Panicum milliaceum सानो दाना हुने खाद्यान्न बाली हो। यसको बोट धानको जस्तो हुने तर दाना चाहिँ कोदो जस्तो हुने हुनाले यसलाई कतै कतै "धान कोदो" पनि भन्ने गरिन्छ। कर्णाली प्रदेशका जिल्लाहरू बाहेक, ओखलढुङ्गा, धादिङ्ग, बाजुरा र बझाङ्गमा पनि चिनो खेती गरिन्छ । नेपालको उच्च पहाडी भेगमा करिब ३५०० मिटर उचाई सम्म वर्षायाममा यसको खेती गरिनछ । नेपालमा चिनोको सरदर उत्पादन ६०-७० के.जी. प्रति रोपनी छ । यसको खेती विभिन्न किसिमको हावापानीमा गर्न सकिन्छ । कुनैबेला कर्णाली क्षेत्रको खाद्य सुरक्षामा प्रमुख योगदान पुऱ्याउने यस बालीको हाल आएर सीमित रुपमा मात्र खेती र उपयोग गरेको पाईन्छ । चिनो कुट्न गार्हो हुने र यसको भात चामलको भात जस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता स्थानीय स्तरमा घट्दै गएको पाईन्छ । साथै, स्थानीयहरुको अन्य आयातित खाद्यान्नमा पहुँच बढेसँगै यसको महत्व कम हुँदै गएको अवस्था छ । औपचारिक क्षेत्रबाट सीमित अध्ययन अनुसन्धान र प्रोत्साहनका कारण पनि चिनो बालीको समुचित प्रयोग र खेती हुन सकेको छैन भने कतिपय जातहरू लोपान्मुख अवस्थामा पुगिसकेका छन् ।
सामान्यतया यसको भात, खिर र रोटीको परिकारको रुपमा खाने गरिन्छ । चिनोको दानामा प्रोटिन (Crude Protein) ९.७६८०%, खरानी (Total Ash) ४.५०३१%, फाईबर (Crude Fiber) ११.९५१८%, र चिल्लो पदार्थ (Crude fat) ६.२२७५% पाईनछ । यसमा धान र गहुँ भन्दा प्रोटिन र फाईबरको मात्रा बढी हुन्छ तर गुलेटिन नहुने हुनाले यसबाट बन्ने रोटी पातलो हुने र रोटी वेल्न पनि सजिलो हुन्छ । अन्न बालीहरू मध्य सबैभन्दा कम पानी चाहिने र सुक्खाग्रस्त क्षेत्रमा सहायक बालीको रुपमा पनि प्रयोग गर्न सकिने हुँदा यस बालीको महत्व एकदमै रहेको छ । कहिलेकाहीं अनावृष्टि भएर मुख्य बालीहरुको उत्पादन लिन नसक्ने अवस्थामा पनि यो बालीले सुख्खा सहन सक्ने र चाँडो उत्पादन दिने हुँदा यसले आपतकालिन भोकमरी र खाद्य अभावको समयमा ठुलो टेवा पुऱ्याउने देखिन्छ।
चित्र: चिनोको बाला
चित्र: चिनोको चामल
