परिचय

बालीको परिचय

बालीको परिचय

कर्णाली प्रदेशको प्रमुख खाद्यान्न बालीको रुपमा चिनोलाई लिने गरिन्छ । चिनु वा चिनो Prosomillet-Panicum milliaceum सानो दाना हुने खाद्यान्न बाली हो। यसको बोट धानको जस्तो हुने तर दाना चाहिँ कोदो जस्तो हुने हुनाले यसलाई कतै कतै "धान कोदो" पनि भन्ने गरिन्छ। कर्णाली प्रदेशका जिल्लाहरू बाहेक, ओखलढुङ्गा, धादिङ्ग, बाजुरा र बझाङ्गमा पनि चिनो खेती गरिन्छ । नेपालको उच्च पहाडी भेगमा करिब ३५०० मिटर उचाई सम्म वर्षायाममा यसको खेती गरिनछ । नेपालमा चिनोको सरदर उत्पादन ६०-७० के.जी. प्रति रोपनी छ । यसको खेती विभिन्न किसिमको हावापानीमा गर्न सकिन्छ । कुनैबेला कर्णाली क्षेत्रको खाद्य सुरक्षामा प्रमुख योगदान पुऱ्याउने यस बालीको हाल आएर सीमित रुपमा मात्र खेती र उपयोग गरेको पाईन्छ । चिनो कुट्न गार्हो हुने र यसको भात चामलको भात जस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता स्थानीय स्तरमा घट्‌दै गएको पाईन्छ । साथै, स्थानीयहरुको अन्य आयातित खाद्यान्नमा पहुँच बढेसँगै यसको महत्व कम हुँदै गएको अवस्था छ । औपचारिक क्षेत्रबाट सीमित अध्ययन अनुसन्धान र प्रोत्साहनका कारण पनि चिनो बालीको समुचित प्रयोग र खेती हुन सकेको छैन भने कतिपय जातहरू लोपान्मुख अवस्थामा पुगिसकेका छन् । 
सामान्यतया यसको भात, खिर र रोटीको परिकारको रुपमा खाने गरिन्छ । चिनोको दानामा प्रोटिन (Crude Protein) ९.७६८०%, खरानी (Total Ash) ४.५०३१%, फाईबर (Crude Fiber) ११.९५१८%, र चिल्लो पदार्थ (Crude fat) ६.२२७५% पाईनछ । यसमा धान र गहुँ भन्दा प्रोटिन र फाईबरको मात्रा बढी हुन्छ तर गुलेटिन नहुने हुनाले यसबाट बन्ने रोटी पातलो हुने र रोटी वेल्न पनि सजिलो हुन्छ । अन्न बालीहरू मध्य सबैभन्दा कम पानी चाहिने र सुक्खाग्रस्त क्षेत्रमा सहायक बालीको रुपमा पनि प्रयोग गर्न सकिने हुँदा यस बालीको महत्व एकदमै रहेको छ । कहिलेकाहीं अनावृष्टि भएर मुख्य बालीहरुको उत्पादन लिन नसक्ने अवस्थामा पनि यो बालीले सुख्खा सहन सक्ने र चाँडो उत्पादन दिने हुँदा यसले आपतकालिन भोकमरी र खाद्य अभावको समयमा ठुलो टेवा पुऱ्याउने देखिन्छ।

chino

चित्र:  चिनोको बाला

चिनोको चामल

चित्र: चिनोको चामल

हावापानी र माटो

हावापानी र माटो

हावापानी 
उच्च पहाडी क्षेत्रमा खेती गरिने चिनो पारिलो जमिनमा सुहाउँदो हुन्छ भने चिस्यान बढी वा छायाँदार ओसिलो जमिनमा त्यति उपयुक्त हुँदैन । विशेषगरि पाखोबारी र कम खनजोत गरिने जमिनमा चिनोको खेती उपयुक्त हुन्छ । चिनोको लागि औसत दैनिक न्युनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस उपयुक्त मनिन्छ । 


माटो, मलखाद र जमिनको तयारी 
चिनो उच्च पहाडी क्षेत्रका सबै किसिमको माटोमा खेती गर्न सकिन्छ । विशेषगरि दोमट र बलौटे दोमट माटो र प्रांगारिक पदार्थ प्रशस्त भएको जमिन चिनो खेतीका लागी उपयुक्त हुन्छ । यो बाली पी.एच. ४.४ देखि १० सम्मका जमिनमा खेती गर्न सकिन्छ । चिनो खेतीको लागि जमिन २-३ पटक राम्रोसँग खनजोत गर्नुपर्छ । पहिलो पटक जोत्दा राम्रोसँग बाजो फुटाउने र दोस्रो जोताइमा ५-१० डोको प्रति रोपनीका दरले कम्पोस्ट वा गाई भैंसीको मल मिलाई अन्तिम जोताईमा बीउ छर्न/रोप्न सकिन्छ । 

 

जातहरु

जातहरु

जातहरु
स्थानीय स्तरमा चिनोको उचाई, रंग, पात तथा डाँठमा हुने झुस र बालाको आकारको विविधताको आधारमा जातहरुको नामकरण गरिएको छ । जस्तैः कालो चिनो, रातो चिनो, दुधे चिनो, हाडे चिनो, सनवा चिनो, झुमारू चिनो आदि। चिनो छिटो पाक्ने बाली भएतापनि अवधि, जात, ठाउँ, हावापानी हेरर ६० देखि १०० दिन सम्मको विविधता पाईन्छ । 

बाली चक्र

बाली चक्र 

बाली चक्र 
चिनो बाली वर्षाकालिन र ग्रिष्मकालिन बालीको रुपमा उब्जाइन्छ । यो छिटो अवधिमा पाक्ने बाली भएकोले यसलाई कम वा उच्च सघन बाली चक्रहरुमा सजिलै सामेल गर्न सकिन्छ । सिञ्चित क्षेत्रमा अपनाउने बाली चक्रहरू यस प्रकारका छन्ः १. धान गहुँ-चिनो, २. धान-मुसुरो-चिनो ३. मकै-आलु-चिनो ४. मकै-गहुँ-चिनो ५. मकै-तोरी-चिनो ६. मकै-केराउ-गहुँ-चिनो ।

खेति प्रणाली

बाली लगाउने समय र बीउको दर

बाली लगाउने समय 
जेस्ठ १५ देखि असार महिनाको १५ सम्ममा रोपाईं गरिने चिनो बाली असोजको तेश्रो हप्ता भित्र बाली तयार भई भित्र्याई सकिन्छ । 

बीउको दर र रोप्ने तरिका 
प्राकृतिक रुपले नै चिनोको दाना कडा हुने भएकोले रोप्नु अघि बीउलाई एक रात पानीमा भिजाउनु उपयुक्त हुन्छ । भिजेको बीउको उमार दर धेरै हुने र माटोको चिस्यान कम भएपनि बीउ सजिलै उम्रन सहयोग हुने हुन्छ । सानो दाना हुने चिनो बालीका सबै जातहरुको परम्परागत हिसाबमा छरुवा तरिकाले खेती गरिन्छ जसक बीउ दर १० देखि १२ के.जी. प्रति हेक्टर उपयुक्त हुन्छ । यदि हार मिलाई खेती गर्ने हो भने प्रति हेक्टर ८ देखि १० के.जी. बीउ आवश्यक हुन्छ जसमा बीउ देखि बीउ दुरी १० सेमि र एक हार देखि अर्को हारको दुरी २५ सेमि उपयुक्त हुन्छ । जमिनमा बीउ ३ देखि ४ सेमि सम्मको गहिराईमा रोपेमा चिस्यानको समस्या हुँदैन ।

सिँचाई र गोडमेल 

सिँचाई र गोडमेल 
यो बाली विशेषगरि कमसल जमिनमा खेती गर्ने हुनाले यसमा त्यति धेरै सिँचाई र गोडमेल गर्नु पर्दैन ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

बाली संरक्षण (मुख्य रोग तथा कीरा र व्यवस्थापनका उपायहरु) 

बाली संरक्षण (मुख्य रोग तथा कीरा र व्यवस्थापनका उपायहरु) 
चिनो बालीमा लाग्ने रोगकीराः मरुवा (ब्लास्ट), कालो पोके (हेड स्मट), डडुवा (ब्लाईट), गाडे कीरा । चराबाट बचाएर सकेसम्म रोग कीरा अवरोधक बोटबाट बीउ छनोट गर्नुपर्छ ।

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

कटानी चुटानी 

कटानी चुटानी 
दानाहरू कडा र चमकदार भई पातहरू पहेंलो एवम खैरो देखिन थालेपछि चिनो पाकेको बुझ्नु पर्दछ । क्रमैसँगले पहेंलो भईसकेका बालाहरू मात्र छनौट गर्दै हसियाको सहायताले कटानी र खलामा सुकाउने गर्नु पर्दछ । बाला टिप्ने/काट्ने काम सकिएपछि पराल काट्‌ने र सुकाउने काम गरिन्छ । परम्परागत तरिकाबाट सुकेका बालाहरुलाई लौराले ठटाई चुट्न सकिन्छ र चुटि सकेका दानाहरुको चिस्यानको मात्रा १२-१४% हुने गरी वा दाना टोक्दा कुटुक्क आवाज आउने सम्मको हुने गरी सुकाएर मात्र भण्डारण गर्नु पर्दछ । परम्परागत शैलिमा कटानी चुटानी पछि चिनोको दाना फल्ने र चामल बनाउने काम श्रमका हिसाबले एकदमै गाह्रो हुने पर्दछ । पारम्पारिक कडा प्रशोधन विधि भएकै कारण पनि यसको खेती र उपयोगिता कम भएको हो । 

1

चित्र: चिनो कटानी

यसै कुरालाई मध्यनजर गरि, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड), नेपाल कृषि अनुसन्धान परिषद् र बायोवर्सिटी इन्टरनेशनलको सहयोग र सहकार्यमा सञ्चालित स्थानीय वाली परियोजना मार्फत हुम्ला जिल्लामा चिनो कुट्ने/फल्ने मेसिनको सफल परीक्षण गरिएको छ । "चिनो कुटक" नाम दिईएको उक्त मेसिन परियोजनाको सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कृषि इन्जिनियरिङ्ग महाशाखाले विकास गरेको हो। प्रति घण्टा  ३० के.जी. सम्म चिनो प्रशोधन (भुस फाल्ने) गर्न सक्ने यस मेसिनको प्रयोगले प्रशोधन समयको बचत हुने, महिलाहरुको कार्यभार कम गर्ने र चिनोको उपयोगिता वृद्धि गर्न सहयोगी हुने अपेक्षा परियोजनाले लिएको छ । 

1

                             चित्र: चिनो कुटक                                                 चित्र: परम्परागत तरिकाले चिनो कुटीदै
त्यस्तै आ.व. २०७७/७८ मा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुरले कर्णाली र सुदूर पश्चिमका रैथाले बाली प्रवर्द्धन कार्यक्रम लागु भएका विभिन्न १० पालिकामा १६ वटा कृषि सहकारी/कृषक समूहमा चिनो कुटने कम्बाइन्ड मिल प्रदर्शनका लागि निशुल्क वितरण गरेको थियो । सो मिलबाट चिनो कुट्न सहज भएपछि त्यस क्षेत्रका किसानले पालिका मार्फत माग गरी थप मिलहरू समेत खरीद गरी प्रयोग गरेको पाइएको छ ।

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 
हुम्ला जिल्लामा रैथाने जातको खेती गरिरहेका कृषकहरूको आम्दानी वृद्धि गर्ने उद्देश्यले रैथाने जातमा आधारित खाद्यवस्तुको विक्री प्रबर्द्धन गर्न केही प्रयासहरूको थालनी भएको छ । स्थानीय बाली परियोजनाको सहजिकरणमा हुम्लाको सिमीकोटमा अवस्थित सुवर्ण खाद्य उद्योग (मिल) का सञ्चालक मुकुन्द रोकाया र कर्णाली कृषि सहकारीको बीच सहकार्यले समुदायबाट रैथाने जातमा आधारित कृषि उपज खरिद गर्ने र सुवर्ण खाद्य उद्योगले विभिन्न खाद्य परिकार उत्पादन गरेर विक्री गर्ने समझदारी भयो । परियोजनाले मुकुन्दलाई काठमाडौंमा २०७५ साल जेष्ठ १४ देखि २० गते सम्म जाउलाखेल, ललितपुरमा सम्पन्न बाह्रौं राष्ट्रिय प्राङ्गारिक मेलामा सहभागी हुने अवसर मिलाई दिएको थियो । मेलामा उनले दुईलाख भन्दा बढीको विक्री गर्न सफल भए भने सहभागी स्टलहरू मध्ये दोस्रो स्थान हासिल गरेर पुरस्कार तथा प्रमाण पत्र पनि प्राप्त गरे। उनले चिनोबाट बनेको परिकारहरुः चिनोको बिस्कुट, चिनोको चामल र अन्य रैथाने बालीको परिकारहरू विविधिकरण गरेका थिए। सुवर्ण खाद्य उद्योगले यसपछि निरन्तररुपमा रैथाने जातमा आधारित खाद्यवस्तु उत्पादन गरेर विक्री गर्दै आईरहेको छ ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री सूची 

सन्दर्भ सामग्री सूची 

  • सुन्दर रावत, सरोज पन्त र निरन्जन पुडासैनी। दुधे चिनोः परिचय तथा खेती प्रविधि । जानकारी-पत्र, अङ्क १३, वर्ष २०७६। ली-बर्ड, राष्ट्रिय जीन बैंक, कृषि विभाग र बायोभर्सिटी इन्टरनेशनल, नेपाल । 
  • दुधे चिनो जातीय दर्ता प्रस्तावना, २०२० 
  • जोशी बालकृष्ण र कृष्णहरि घिमिरे, चिनो खेती र बीउ उत्पादन प्रविधि, जानकारी- पत्र, अङ्क ४, वर्ष २०७२, ली-वर्ड, राष्ट्रिय जीन बैंक, कृषि विभाग र बायोभर्सीटी इन्टरनेशनल, नेपाल ।