परिचय

सामान्य वानस्पतिक चिनारी

फापर अन्न बाली अन्तर्गतको मिथ्यान्न बाली हो । नेपालमा खेती भइरहेका २ वटा प्रजाति, तिते र मिठे फापर छन् (चित्र १) भने जंगली अवस्थामा खानामा प्रयोग गरिने एउटा प्रजाति छ जसलाई वन फापर भनिन्छ । वन फापरको फूल प्रायजसो सेतो हुन्छ र यो बहुवर्षीय बाली हो । तिते फापर बढी अग्लो हुने, फूलको रंग हल्का हरियो नै हुने हुन्छ र मिठे फापरमा धेरै किसिमको रंग भएको फूलहरू जस्तै सेतो, हल्का रातो, गुलाफी आदि हुन्छ । तिते र मिठे एक वर्षीय बाली हुन् र मिठे फापरमा मौरीहरू धेरै चर्न जान्छन् । धेरैजसो जातहरुको काण्ड रातो वा सेतो हुन्छ र मिठेको फूल धेरैजसो सेतो हुन्छ, दाना कालो, खैरो वा सेतो हुन्छ । काण्डमा थुप्रै हाँगाहरू हुन्छ र एउटा हाँगामा थुप्रै फूलको गुच्छाहरू हुन्छ । दानाहरू विभिन्न आकारको भएपनि प्रायजसो त्रिभुज आकारको हुन्छ ।

Buckwheat

 

बालीको हालको व्यवस्था

फापर उच्च पहाडी भागको एक प्रमुख खाद्यान्न बाली हो। नेपालको तराई (७० मि. उचाई) देखि उच्च पहाड (४२०० मि. उचाई) र पूर्वदेखि पश्चिमसम्म फापर खेती गरिन्छ । डोल्पा, मुस्ताङ, जुम्ला, मनाङ र सोलुखुम्बु जिल्लाहरुमा फापरको बढी विविधता पाइन्छ। नेपालको ६१ वटा जिल्लामा खेती गरिने फापर २८०० मिटर उचाईको मुस्ताङ्ग, मनाङ्ग, हुम्ला आदि क्षेत्रमा उवा र आलु सरह प्रमुख बालीको रुपमा खेती गरिन्छ । हिउँदमा मिठे फापरको खेती तराईतिर बढ्दो छ। कृषि विकास मन्त्रालयको तथ्यांक, २०२१ अनुसार नेपालमा १०,३६९ हेक्टरमा फापर खेती गरिन्छ, जसबाट १.१३० मे.टन/हेक्टरको औसतमा ११,७२५ मे.टन उत्पादन हुन्छ । यसलाई भौगोलिक स्थान अनुसार ग्रिष्म, हिउँदे, शरद र वसन्ते बालीको रुपमा खेती गरिंदै आएको छ। खेती गरिने फापरमा मिठे फापर र तिते फापर पर्दछन्। जंगली फापरमा अन्य तीनवटा प्रजाति पाइन्छ भने खेती गरिने फापर पनि केही झारको रुपमा तथा केही जंगली रुपमा पाइन्छ। मिठे र तिते फापरको खेती गरिने क्षेत्र बढ्दो भएपनि यी प्रजातिमा पाईने करिब ५०% स्थानीय जातहरू हराएको अनुसन्धानले देखाउँछ। जंगलमा पाईने वन फापरको मुन्टालाई चैत्र - जेष्ठ महिनामा तरकारीको रुपमा प्रयोग गर्ने चलन बढ्दो छ। बजारमा यसको माग बढी भएकोले खेती गर्ने क्षेत्र बढ्नुको साथै यसको परिकारमा पनि विविधता आएको छ र विभिन्न होटल, रेष्टुरेन्टमा फापरबाट बनेको परिकार राखे चलन बढ्दो छ। नेपलमा तीन वटा जात सिफारिस भएपनि ९८% जग्गामा स्थानीय जात नै लगाईन्छ। नेपालबाट गत वर्ष (२०७६/७७) ३,६८,००० केजी फापर भारत निर्यात भएको छ जसबाट रू. ७,३६०,००० आय हुन गयो । फापर पूर्ण अर्गानिक हिसाबले खेती गर्दै आएकोले मौरीको लागि उत्तम चरन बाली भएको छ । त्यसैले सबै क्षेत्रमा यसको महत्व बढ्दै गएको देखिन्छ । हाल आएर फापरको मुन्टा सागको रुपमा प्रयोग गर्न चलन पनि बढ्दो छ ।

महत्व तथा विशेषता

थोरै लगानी र विविध हावापानीमा यसलाई खेती गर्न सकिन्छ । छोटो समयमा सजिलैसँग यसबाट उत्पादन लिन सकिने बहुउपयोगी र बहुगुणी भएको बाली हो । बिग्रंदो हावापानी र मानव स्वस्थ्यको लागि फापरको विशेष भूमिका हुने देखिन्छ । फालिएको जग्गामा पनि यसको खेती गर्न सकिने र मह उत्पादन (एक हेक्टर फापर बारीबाट १५० केजी मह) मा पनि राम्रो योगदान रहेको छ । खाद्य र पोषण सुरक्षामा फापरबाट विभिन्न परिकार बनाई उपयोग गर्न सकिने हुँदा नेपालमा फापरको सबै क्षेत्रमा र सबै समयमा विशेष महत्व रहँदै आएको छ । 
विविध हावापानीमा हुन सक्ने रैथाने बाली भएकोले घरायसी खाद्य सुरक्षामा यसको विशेष महत्व छ। बहुउपयोगी र बहुगुणी (Joshi et al २००८, Campbell १९९७) भएकोले बजारमा फापरको माग बढ्दो छ, जसले गर्दा आर्थिक आम्दानी गर्न ठुलो सहयोग भएको छ । न्यून लगानीमा उत्पादन गर्न सकिने फापरलाई आपतकालिन बालीको रुपमा लिइन्छ । कुनै अन्य बाली विभिन्न कारणले असफल भएमा, तुरन्तै फापर लगाउन सकिन्छ । झारपात नियन्त्रणमा फापर आफैले भूमिका खेल्ने र अन्य हरियो साग नपाउने समय, चैत्र जेष्ठमा फापरलाई प्रयोग गर्न सकिन्छ । -यसको वृद्धि दर बढी भएकोले र जातीय विविधता पनि बढी भएकोले ठाउँ विशेष उपयुक्त जात विकासमा महत्वपूर्ण भूमिका हुन सक्छ । खेती गरिने बाली मध्ये फापर औषधीय गुणको लागि अब्बल मानिन्छ । 
फापरमा रुटिन पदार्थ हुनु मुख्य विशेषता हो । खेती गरिने बालीहरुमा फापर मात्र एक त्यस्तो बाली हो जसले रुटिन पदार्थ बनाउँदछ, जुन रक्त कोशिका मजबुत गर्ने, रक्त बहने रोगको औषधिको रुपमा प्रयोग गरिन्छ । बाह्रै महिना उत्पादन लिन सकिने, सबै क्षेत्रमा हुने, केही जातहरुमा खोष्टा सजिलै निकाल्न सकिने भई भातको रुपमा खान मिल्ने (Joshi २०१४a), तितोपना पानीमा घुलेर जाने, फापर बारी सुन्दर र पर्यावरणमा योगदान दिने भएकोले फापरलाई सबै किसान र उपभोक्ताहरुले मन पराउँछन् । पिठोबाट धेरै परिकार बनाउन सकिने र मानव स्वस्थ्यको लागि अति राम्रो हुने विशेषता फापरको पिठो र मुन्टा/पातमा छ । एकदम होचो देखि धेरै चाँडो पाक्ने जातहरू तराई देखि हिमाली भेगसम्म खेती गर्न सकिन्छ । दाना, मुन्टा तथा पात सबै भागमा रुटिन पदार्थ पाइने हुँदा तरकारीको लागि बाह्रै महिना उत्पादन गर्न सकेमा यसको उपयोग बढ्न गई स्वस्थ रहन योगदान पुग्ने देखिन्छ ।

बिशेष प्रयोग

साधारण प्रयोग 

  • फापरको सबै भागहरू प्रयोग हुन्छ र यसको औषधि, धार्मिक र संस्कृतिक महत्व रहेको छ । विभिन्न प्रयोगहरू तल उल्लेख गरिएको छ । 
  • दाना : भातको रुपमा, उसिनेर, भुटेर, रक्सि र जाँड बनाउन । 
  • पिठो : सातु, डल्ला, पाउरोटी, रोटी, सेल रोटी, मम, नमकिन, चिया, सुप, लगर, ढेसु, केक, कुकिज, चाउचाउ, बिस्कुट, आदि । 
  • मुन्टा साग : हरियो तरकारी, सुकेको साग, अचार, सलाद, चिया । 
  • फूल : मह उत्पादन गर्न । 
  • खोष्टा: सिरानी बनाउन । 
  • पराल : सोत्तर, मल्चिंग, गाइ वस्तुलाई आहारा, बाल्न । 
  • ठुटा : मल । 
  • बीउ : फालिएको जग्गामा, आपतकालिन बालीको रुपमा, आय आर्जन गर्न, खाद्य सुरक्षामा ।

औषधिको रुपमा 

  • रुघा, खोकी, टाउको दुख्दा र ज्वरोमा फापरको पेष्ट प्रयोग गर्ने । 
  • ग्यास्ट्रिक हुँदा लगर खाने । 
  • पेट दुख्दा तिते फापर खाने र घाउमा तिते फापर लगाउने । 
  • कपाल तिते फापरको पिठोले नुहाउने । 
  • पखाला लाग्दा, पहेंलो रोग लाग्दा, निमोनिया हुँदा फापरको प्रयोग गर्ने । 
  • विषालुवस्तु खाएमा फापर खाने । 
  • छालाको समस्यमा फापर दल्ने । 
  • दिसा पिसाब रोकिदा, घाँटीमा केही अड्किएमा फापर प्रयोग गर्ने । 
  • गिजाको समस्यमा तिते फापरको पिठो प्रयोग गर्ने । 

धार्मिक र सास्कृतिकका रुपमा 

  • शुद्ध अन्नको रुपमा लिएको र देवी देउतालाई चढाउने । 
  • भूतप्रेत भगाउन प्रयोग हुने । 
  • मान्छे मर्दा फापरको रोटी प्रयोग गर्ने । 
  • नयाँ दुलही माइत जाँदा फापरको परिकार लानुपर्ने । 
  • चैत्र पुजामा विशेष प्रयोग हुने । 
  • रोप्नु अगाडि फापर भुटेर देवी देउतालाई चढाउनु पर्ने ।

हावापानी र माटो

हावापानी

नेपालको विभिन्न ठाउँमा फापरको बाह्रै महिना खेती गर्न सकिन्छ । फापरलाई ठण्डा र आद्र हावापानी अति फाप्दछ तर पनि अली बढी न्यानो तापक्रममा पनि खेती गर्न सकिन्छ । तर पानी जम्ने गरी ठण्डा भएमा बोट मर्दछ । हिउँ र तुसारोलाई छलेर खेती गर्न सकेमा निकै उचाईमा पनि फापर खेती गर्न सकिन्छ । मिठे फापरको तुलनामा तिते फापरले बढी चिस्यान सहन सक्दछ । फापरको बीउ उम्रनको लागि कम्तिमा पनि ७० से. तापक्रम चाहिन्छ, तर उचित बोट वृद्धि र विकासको लागि १६०-२२० से. तापक्रम उपयुक्त मानिन्छ । यसको खेती गर्न १००-३२० से. सम्मको तापक्रम र ७०-८०% सापेक्षिक आद्रताको आवश्यकता पर्छ । फूल फुल्ने बेलामा तातो हावा चल्ने वा हावाको तापक्रम बढी र माटोमा चिस्यान कम हुनु हुँदैन । यसको सफल खेतीका लागि कम्तिमा पनि औसत वार्षिक वर्षा १०० मि.लि. हुनु पर्दछ । तैपनि जातीय विविधताले गर्दा, फापरको खेती ठण्डा र कम पानी पर्ने ठाउँमा पनि गर्न सकिन्छ । तिते फापरले मिठेले भन्दा बढी चिसो सहन सक्ने भएकोले, उच्च पहाडमा बढी मात्रामा तिते फापर खेती गरिन्छ। नेपालमा २१०० मि. भन्दा माथिको भागमा फापर बढी मात्रामा खेती गरेको देखिन्छ (साउद २०६७) ।

माटो

फापरलाई सबै किसिमको माटोमा लगाउन सकिन्छ । तापनि निकासयुक्त बलौटे दुमट तथा पाँगो दुमट माटोमा फापर खेती राम्रो हुन्छ । पानी जम्ने ठाउँमा यसको खेती गर्न सकिंदैन । अन्य बाली जस्तो यो बालीलाई धेरै मलिलो माटो चाहिँदैन । धेरै मलिलो माटोमा फापर लगाउँदा पछि बाली ढल्छ । फापर विशेषतः कम मलिलो, भिरालो र रुखो बारीमा लगाइन्छ । चिम्ट्याइलो माटोमा फापरको उमारशक्तिमा असर पर्ने हुँदा अंकुरण एकैनासको हुँदैन । फापरले माटोको अम्लीयपन सहन सक्छ र यसको लागि ५-६ पी.एच. उपयुक्त हुन्छ । माटो धेरै नै अम्लीय भए कृषि चुन प्रयोग गरेपछि फापरको खेती गर्नुपर्छ ।

जातहरु

जातहरु

नेपालमा मिठे फापरको १ जात, मिठे फापर-१, २०७२ सालमा र तिते फापरको २ वटा जातहरू २०७७ सालमा सिफारिस भएको छ (Joshi et al २०१७a)। उक्त जातहरू ६००-३५०० मि. उचाई क्षेत्रमा र हिउँदमा तराई क्षेत्रमा खेती गर्न सकिन्छ । यो जात ७०-१०० दिनमा पाक्छ र औसत उत्पादन १२३० केजी प्रति हेक्टर रहेको छ । अनुसन्धानमा उपयुक्त देखिएको अन्य जातहरुमा मिठे फापर अन्तर्गत Dhanakuta, KLF-IR-१३-८, ACC#२२४४, ACC#६५२९, ACC#२२३४, ACC#९२५१२, ACC#४९३, KLF-७२-२२-५२० and PL-३० र तिते फापर अन्तर्गत ACC#५२२२७-१, ACC#५५६६६, ACC#५५६६७, ACC#५५६७१, ACC#५६७४, ACC #५४७९, ACC#५४८८, ACC#५२२३७, ACC #५४९४, ACC#५४९३, ACC#५५६६३, ACC#५२२३२, ACC#५२२०९, ACC#५२२४२, ACC#५६०६५, Kabre bitter, ACC#५६७१, ACC#२२९९-२, ACC#२२९४, ACC#९१०४, ACC#६५०६, ACC#२२९९-१ and Sample-६-१ छन् । नेपालमा ठाउँ विशेष स्थानीय जातहरू नै बढी प्रचलनमा छन् । केही हदसम्म किसान आफैले छानेर बढी फल्ने जातहरू खेती गर्दै आएको छन्। सबै ठाउँमा एकै जात लगाउनु भन्दा ठाउँ विशेष जातहरू लगाउनु राम्रो हुन्छ । सिफारिस भएको तीन वटा जातको विवरण तल उल्लेख गरिएको छ (घिमिरे आदि २०७५) ।

मिठे फापर-१

बाली : मिठे फापर

उत्पत्ति : जापान

सिफारिस क्षेत्र : तराई र भित्रि मधेस देखि उच्च पहाड सम्म

सिफारिस साल : २०७२

स्रोत बीउ पाइने संस्था पहाडी बाली अनुसन्धान कार्यक्रम, काभ्रे, दोलखा

mithe1

 

पहिचानका गुणहरु:

डाँठको रंग : हल्का रातो,

फूलको रंग सेतो, दानाको रंग : कालो कालो खैरो,

बोटको औसत उचाई: ८० से.मी.,

फूल फुल्ने अवधि: ३० दिन,

पाक्ने अवधि ७२ दिन,

औसत उत्पादन : १.२४ टन/हेक्टर,

१००० दानाको तौल २६.७ ग्राम

पौष्टिक गुणहरू : कार्बोहाईड्रेट ७३%, प्रोटिन ११%, चिल्लो : १.९%, खरानी : १.५%, रेशा १.३%, क्याल्सियम ०.०३%, फस्फोरस : ०.३%, फलाम : ०.०१%

अन्य गुणहरु

पिठो पर्ने : ७७%, खराने, धुले ढुसी, पात डढुवा तथा ओइलने रोग अवरोधी

 

mithe2

 

 

तिते फापर-१

बाली : तिते फापर

सिफारिस क्षेत्र : समुन्द्र सतहबाट ६००-३५०० मि. सम्मको क्षेत्रको लागि

उत्पत्ति : नेपाल

सिफारिस साल : २०७७

स्रोत बीउ पाइने संस्था पहाडी बाली अनुसन्धान कार्यक्रम, काभ्रे, दोलखा

tite1

 

पहिचानका गुणहरु

डाँठको रंग : हल्का रातो,

कलिलो पातको रंग हल्का रातो,

बोटको औसत उचाई : ९०-११५ से.मी.,

फूल फुल्ने अवधि : एकैनासले नपाक्ने, दानाको रंग हल्का कालो खालको खैरो, ३५-४५ दिन,

पाक्ने अवधि: ८०-८६ दिन,

औसत उत्पादन : १.२-१.८ टन/हेक्टर,

१००० दानाको तौल : १९.४ ग्राम

पौष्टिक गुणहरू : xxx

अन्य गुणहरु

खराने तथा धुले ढुसी रोग कम लाग्ने

तिते फापण (ACC #222

tite2

 

 

तिते फापर-२

बाली : तिते फापर

उत्पत्ति : नेपाल

सिफारिस क्षेत्र : समुन्द्र सतहबाट ६०० ३५०० मि. सम्मको -क्षेत्रको लागि

सिफारिस साल : २०७७

स्रोत बीउ पाइने संस्था : पहाडी बाली अनुसन्धान कार्यक्रम, काभ्रे, दोलखा

tite3

 

पहिचानका गुणहरु

डाँठको रंग : हल्का रातो,

पातको रंग : हरियो, एकैनासले नपाक्ने,

दानाको रंग : हल्का कालो खालको खैरो,

बोटको औसत उचाई : ९२-१०६ से.मी.,

फूल फुल्ने अवधि ३७-४७ दिन,

पाक्ने अवधि : ८०-८५ दिन,

औसत उत्पादन १.४-१.८ टन/हेक्टर,

१००० दानाको तौल : १५ ग्राम

पौष्टिक गुणहरू : xxx

अन्य गुणहरु

खराने तथा धुले ढुसी रोग कम लाग्ने

tite4

 

बाली चक्र

बाली चक्र

नेपालमा भौगोलिक क्षेत्र अनुसार धेरैथरिको बाली चक्र अपनाएको पाइन्छ । फापर उच्च पहाड (हिमाली भेग) मा ग्रिष्म/वर्षे वालीको रुपमा, मध्य पहाड (पहाडी भेग) मा शरद र वसन्ते बालीको रुपमा र तराई भेगमा हिउँदे बालीको रुपमा खेती गरिन्छ । ठाउँ विशेष बाली चक्र तल दिइएको छ । मुन्टा सागको लागि भने तुसारो र अति चिसो छलेर बाह्रै महिना खेती गर्न सकिन्छ ।

उच्च पहाड 

  • फापर - गहुँ / जौ 
  • फापर - खाली 
  • खाली - फापर - आलु 
  • आलु - फापर - खाली 
  • खाली - फापर - खाली 
  • गहुँ - फापर - आलु 
  • फापर - गहुँ - फापर 

मध्य पहाड 

  • फापर - गहुँ / जौ / चना / मुसुरो / तोरी 
  • मकै - फापर - गहुँ / जौ / चना / मुसुरो / तोरी 
  • फापर - कोदो 
  • धान - फापर 
  • मकै - फापर - खाली 
  • धान - फापर - खाली 
  • मकै - भटमास - फापर 
  • मकै - भटमास - फापर - तोरी 
  • मकै - कोदो - फापर 
  • मकै - फापर - मकै 
  • खाली - फापर - आलु 
  • आलु - फापर - खाली 
  • फापर - धान - गहुँ 


तराई 

  • धान/मकै - फापर 
  • धान/मकै - फापर - मकै / मास / बोडी 
  • धान - फापर - खाली वा मकै (धान खेतमा) 
  • मकै - फापर - खाली वा तोरी (बारीमा) 
  • मकै - फापर - तोरी - तरकारी (बारीमा) 

फापर प्रायःजसो एकल बाली नै लगाइन्छ । तर केही क्षेत्रमा अन्य बालीसँग मिसाएर लगाउने पनि चलन छ । फापरलाई मकैबारीमा घुसुवा बालीको रुपमा पनि लगाउन सकिन्छ र फलफूलको बोट वरिपरि अन्तर वालीको रुपमा पनि लगाउने चलन छ । 
फापर वाली अन्य बालीसँग मिसाएर लगाउनु बाहेक, फापरको आफ्नै धेरै जातहरू (जस्तैः मिठे फापरको बाह्रमासे, बाटुले, बिसम, छेन्दुक, घोडे, घ्याब्रे, गुलियो आदि) मिसाएर खेती गर्दा वालीमा लाग्न सक्ने रोग कीरा समेत नियन्त्रण वा न्यूनिकरण गर्न सहयोग पुग्दछ। मिसाउने जातहरूको छनोट गर्दा उक्त जातहरू एकआपसमा मिल्ने र विभिन्न गुणहरूमा फरक भएको जात हुनुपर्छ । वालीमा देखिने समस्या अनुसार जातहरू छनोट गर्नुपर्छ। जस्तैः रोगको बढी समस्या छ भने रोग लाग्ने र नलाग्ने जातहरू, विभिन्न रङ्ग, बास्ना तथा उचाई भएका जात छान्नु पर्छ (चित्र २)। धेरैजसो बालीमा ३ वा ४ वटा जातहरू मिसाएर लगाउँदा राम्रो हुन्छ । फापरमा जातीय मिश्रण गरि दाना लाग्ने दरमा वृद्धि गर्न, रोगकीरा नियन्त्रण गर्न, सुक्खा सहन र उत्पादन बढाउन सकिन्छ ।

Crop cycle

खेति प्रणाली

जमिको तयारी र मलखाद

जमिनको तयारी 
जमिनलाई १-२ पटक हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरू हटाउनु पर्छ । जमिन तयरी गर्दा पानीको राम्रो निकासको प्रबन्ध मिलाउनु पर्छ र रोप्ने समयमा माटोमा चिस्यान हुनु पर्छ । जमिनको राम्रो तयारी भएमा एकनासले फापर उम्रन्छ र बोटको उपयुक्त घनत्व कायम हुन जान्छ । 
मलखाद 
फापर बालीमा गोठे मल (प्रांगारिक) मात्र हाल्ने गरिन्छ । गोठे मल वा कम्पोस्ट मल हाल्दा फापर रोप्नु भन्दा १५-३० दिन अगाडि राम्रोसँग पाकेको मल १००-१५० केजी प्रति हेक्टरको दरले माटोमा एकनासले पर्ने गरेर तुरुन्तै माटोमा जोतेर वा खनेर मिलाउनु पर्छ । प्रांगारिक मलको अलवा रोप्ने समयमा बारीमा ३० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र १५ केजी पोटास प्रति हेक्टरको दरले प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ । नेपालमा कृषि अनुसन्धान परिषद्ले मिठे फापर-१ को लागि ३.२६ केजी डिएपी र २ केजी युरिया प्रति रोपनी सिफारिस गरेको छ । यी मध्ये डिएपी पुरै मात्रामा र युरियाको आधा मात्रा बीउ छर्नु अगाडि प्रयोग गर्नुपर्छ र बाँकी युरिया बीउ छरेको एक महिना पछि मात्र प्रयोग गर्नुपर्छ । सिफारिस गरेको भन्दा बढी रासायनिक मल प्रयोग गर्दा बोट ढल्ने हुन्छ ।

बाली लगाउने समय 

बाली लगाउने समय 
फापरलाई ठाउँ विशेष उचित समयमा लगाउनु पर्छ । भौगोलिक स्थान हेरी बाली लगाउने समय तल दिइएको छ । खाद्यान्न तथा बीउ उत्पादनको निम्ति खेती गर्दा तराई भेगमा कार्तिकमा, मध्य पहाडमा भाद्र र फागुन गरी दुई समयमा र उच्च पहाडमा बैशाखमा खेती गर्न सकिन्छ । बीउ टिप्ने बितिक्कै पनि उम्रने हुँदा तरकारी/सागको लागि हिउँ, तुसारो तथा अति चिसो समय छलेर 

  • अन्य जुनसुकै बेलामा लगाउन सकिन्छ । 
  • उच्च पहाड (खोंच, बेसी): बैशाख-जेष्ठ 
  • मध्य पहाड : भाद्र-आश्विन 
  • मध्य पहाड (सिञ्चित क्षेत्र): माघ-फाल्गुन (जेष्ठमा तयार हुने) 
  • तराइ तथा भित्रि मधेश कात्तिकको पहिलो हप्ता-मंसिर 

उचाईको आधारमा 

  • >२८०० मि. : बैशाख जेष्ठ (असोजमा पाक्ने) 
  • १७००-२८०० मि. असार श्रावण (कात्तिक मंसिरमा पाक्ने) 
  • ८००-१७०० मि. साउन - भदौ (मङ्सिर मा पाक्ने) 
  • < ८०० मि. भदौ असोज/कात्तिक (मंसिरमा पाक्ने) 

कहिलेकाहीं अन्य बाली असफल भएमा फापर लगाउन सकिन्छ, त्यसैले फापरलाई आपतकालिन बाली पनि भनिन्छ । मुन्टा सागको लागि भने मध्य पहाडमा बाह्रै महिना, उच्च पहाडमा हिउँद बाहेक अरू सबै महिना र तराइमा ग्रिष्म बाहेक अरू सबै महिना लगाउन सकिन्छ ।

 

बीउको दर र रोप्ने तरिका, सिँचाई र गोडमेल 

बीउको दर र रोप्ने तरिका 
फापरको बोटको संख्या प्रति एकाई क्षेत्रफलमा उचित राखु पर्छ । बीउको मात्रा, बीउको आकार, जात, छर्ने समय, छर्ने तरिका, माटोमा चिस्यानको मात्रा साथै बीउको शुद्धता, उमारशक्ति, जीवितपन आदि कुरामा भरपर्ने भएतापनि साधारणतया पंक्तिमा रोप्दा प्रति हेक्टर २०-३० केजी बीउ आवश्यकता पर्दछ । छरेर लगाउँदा प्रति हेक्टर ४०-६० केजी बीउ चाहिन्छ । बीउको लागि एक वर्ष भन्दा पुरानो बीउ हुनु हुँदैन । फापर निम्नानुसार तीन तरिकाले लगाउन सकिन्छ र छरेर लगाउने तरिका सबैभन्दा सजिलो हुन्छ । फापरलाई लाईन बनाई लगाएमा बढी उत्पादन लिन सकिन्छ र यसरी लगाउँदा बीउ पनि छरेर लगाउँदा भन्दा आधा कम चाहिन्छ । 
१. छरेर 
२. पंक्तिमा : ३-५ से.मी. गहिरो, २५-३५ से.मी. फरकमा र एक बोट देखि अर्को बोटको दुरी ४-६ से.मी. मा 
३. हलोको पडाडि सीतामा हातले बीउ खसालेर 


सिँचाई 
फापर खेती आकाशे पानीको भरमा गरिन्छ र खासै सिँचाई गरि रहनु पर्दैन । माटो र आकाशे पानीको अवस्था हेरी सिँचाई सुविधा भएमा २-५ पटक सिँचाई दिनु राम्रो हुन्छ । रोपेको करिब ५६ दिनमा, फूल फुल्ने र दाना लाग्ने समयमा सिँचाई दिंदा उब्जनी राम्रो हुन्छ ।

गोडमेल 
फापर छिटो पाक्ने र बाक्लो गरि लगाइने बाली भएकोले गोडमेल गरि रहनु पर्दैन । जमिन साह्रो भएको खण्डमा फापर रोपेको ३-४ हप्तामा कुटोले गोडमेल गर्नुपर्छ ।

बाली संरक्षण (मुख्य रोग तथा किरा र व्यवस्थापन)

रोग कीरा

बाली संरक्षण अन्तर्गत बीउ रोपेदेखि टिपेर भण्डारण गर्दासम्मको अवस्थामा जैविक तथा निर्जीव तत्वहरुले पार्ने नकारात्मक असरहरुलाई नियन्त्रण तथा न्युनिकरण गर्नु पर्दछ । फापर खेती गर्न सबैभन्दा सजिलो बाली भएको, छिटो पाक्ने र विविध हावापानी तथा माटो सहन सक्ने हुँदा रोग कीरा तथा अन्य समस्याहरू अत्यन्त कम देखिन्छ । 


रोग कीरा 
फापरमा रोग कीराहरुको समस्य न्युन हुने गर्छ । यसको दाना, काण्ड र पातमा रुटिन पदार्थले गर्दा रोग कीराको आक्रमण कम हुन्छ । रोग कीरा लागे पनि धेरै मात्रामा नोक्सान नहुने हुँदा, नियन्त्रणको लागि कुनैपनि विषादी प्रयोग गर्ने चलन छैन । फापरको प्रमुख कीराहरुमा लाही, खुम्रे, फौजी कीरा, थ्रिप्स, झुसिलकीरा, फट्यांग्रा, उफ्रने खपटे, घुन पर्दछ भने रोगहरुमा धुले ढुसी, फेद कुहिने, जरा कुहिने, पात डडुवा, डाउनी मिल्डिउ पर्दछ (Manandhar et al २०१६, साउद २०६७) । उक्त रोग कीराहरुको लागि स्थानीय स्तरमा नै पाइने वस्तुहरू जस्तै खरानी, गहुँत, तितेपाती, लसुन, खिर्रा, काजपात, सयपत्री आदिको प्रयोग गर्न सकिन्छ ।

खेतीमा अन्य समस्या र व्यवस्थापन 

खेतीमा अन्य समस्या र व्यवस्थापन 
झारपात नियन्त्रण : फापर छिटो र हलक्क बढेर, रोपेको १५-२० दिनमा नै जमिनलाई ढाक्ने हुँदा र यसमा झारलाई नियन्त्रण गर्ने रसायन हुने हुँदा, झारपातको समस्या हुँदैन । यदि झारपातको समस्य देखिएमा कुटो वा कोरेटोको सहायताले ३-३ हप्ताको अवधिमा दुई पटकसम्म झारहरू उखेल्नु पर्छ । झारपात कम गर्नलाई फापर लगाउने जमिनमा झारपात हटाएर बीउलाई चिस्यान भएको माटोमा छरी छिटो उम्रने र बढ्ने व्यवस्था गरि सीमान्त भूमिमा समेत लगाउँदा झारपात धेरै नै कम हुन्छ । 


तुसारो, हिउँ तथा चिसो: फापर बालीले तुसारो, हिउँ तथा चिसो (८१० डिग्री तापक्रम) सहन हिउँ तथा चिसोबाट बचाउन फापर लगाउने समय मिलाएर तुसारो, हिउँ सक्दैन । यसलाई तुसारो, तथा चिसो छल्नु पर्छ । साथै प्लास्टिक घर बनाएर पनि तुसारो, हिउँ र चिसोबाट बचाउन सकिन्छ । तिते फापरले मिठेले भन्दा बढी चिसो सहन सक्छ । 


सुक्खा, तातो र धेरै पानी: फापरले धेरै सुक्खा र धेरै तातो (> ३२ डिग्री तापक्रम) सहन सक्दैन। पानी जम्ने ठाउँमा पनि फापरको उत्पादन गर्न सकिंदैन । पानीको निकास भएको केही भिरालो ठाउँमा फापर खेती राम्रो भएको पाइन्छ । सुख्खा र तातोपनको अवधिलाई छल्ने गरि यसको खेती गर्नुपर्छ । उच्च पहाडको असिञ्चित क्षेत्रमा खेती गरिने र जमिनलाई पुरै ढाकेर वास्पिकरण कम गर्ने हुँदा केही हदसम्म सुख्खा सहन सक्छ । 


ढल्ने : फापर बाक्लो गरि लगाउने र धेरैजसो जातहरू मध्यम र छोटो उचाईको हुने हुँदा ढल्ने खासै समस्य देखिंदैन । तर तिते फापरको केही जातहरू निक्कै अग्लो (मान्छे डुबाउने) हुने हुँदा र नाइट्रोजन बढी भएको अवस्थामा ढल्ने समस्या हुन्छ । यस्ता जातहरू हावाहुरीले ढल्ने हुँदा, हावाहुरीलाई छेक्ने व्यवस्था गर्नु पर्छ । 


दाना नलाग्ने : यो समस्या मिठे फापरमा मात्र देखिन्छ । मिठेमा करिब १५% फूलहरुमा मात्र दाना लाग्छ । तिते फापर स्वयं सेचन बाली भएकोले यो समस्या तिते फापरमा देखिंदैन । मिठे फापरमा दाना लाग्न अन्य फूलको पराग चाहिने हुँदा एकै ठाउँमा विभिन्न जातहरू मिसाएर लगाई पराग सेचकहरुको संख्यामा वृद्धि गरि यो समस्या समाधान गर्न सकिन्छ ।

 

बाली कटानी, भण्डारण, प्रशोधन तथा बजारीकरण

बाली कटानी र चुटानी 

बाली कटानी र चुटानी 
फापर ६०-१५० दिनमा पाक्छ । काट्न ढिला भएमा दानाहरू झरेर जान्छन् जसबाट २५-४०% सम्म नोक्सान हुन सक्छ । करिब ७५% दानाहरू खैरो, कालो वा मलिन खैरो रंग भएपछि काट्नु पर्छ । बिहानको समयमा काट्दा दाना झर्दैन र तुसारो पर्नु अगाडि नै बाली भित्र्याउनु पर्छ। फापर काट्दा जमिनबाट ३-४ इन्च छोडेर हसियाले काट्‌ने र पातलो गरि २-३ दिन घाममा सुकाउनु पर्छ । फापरलाई मुठा बनाएर ठाडो गरि केही महिना नचुटि पनि राखे चलन छ। घाममा सुकाए पछि, घरको छानामा मुठोलाई फुकाएर खलियानमा वा आँगनमा गुन्द्री वा कपडा माथि राखेर लट्ठीले चुटेर दानालाई झार्नुपर्छ । चुटेपछि हावा लागेको बेला सुपोबाट भुस हटाउने चलन छ । नाङ्गलो वा पंखा प्रयोग गरी भुस हटाउन सकिन्छ । दाना छुट्याइए पछि भण्डारणको लागि पुनः १-२ दिन घाममा सुकाएर चिस्यान १२% भन्दा कम बनाउनु पर्छ ।

बालीको भण्डारण तथा अन्य उत्पादनोपरान्त क्रियाकलाप 

बालीको भण्डारण तथा अन्य उत्पादनोपरान्त क्रियाकलाप 
खोष्टा सहितको दानालाई घाममा सुकाएर १ वर्षसम्म साधारण घरमा राख सकिन्छ । दानालाई माटोको भाँडामा, माटोले लिपेको काठ वा बासको भाँडामा, टिनमा, काठको बाकसमा वा थैलोमा राख सकिन्छ । दानालाई हिमाली भेगमा खाल्डो खनेर पनि राखे चलन छ । खाल्डोमा दाना भण्डार गर्दा भोजपत्र प्रयोग गरि पानी नछिर्ने गरि राखिन्छ, जुन ८-१० वर्षसम्म राख सकिन्छ । फापरको पिठोलाई साधारण भाँडो तथा कोठामा करिब ३-६ महिना सम्म राख सकिन्छ । दाना वा पिठोलाई हावा नछिर्ने भाँडामा चिसो र अध्यारो ठाउँमा राख सके धेरै वर्षसम्म भण्डारण गर्न सकिन्छ । हावा नछिर्ने भाँडा नभएको अवस्था र हावामा बढी आद्रता भए समय समयमा भण्डारण जाँच गरि आवश्यकता अनुसार घाममा सुकाउने गर्नुपर्छ । चिस्यान मापन यन्त्र प्रयोग गरि दानाको चिस्यान १०% भन्दा कम गरि हावा नछिर्ने गरि भण्डारण गरेमा ५-१० वर्षसम्म भण्डारण गर्न सकिन्छ । फापरको उत्पादन पछि दानालाई घाममा सुकाएर भण्डारण गरिन्छ । राष्ट्रिय जिन बैंक र किसान स्तरमा गरिने भण्डारण प्रक्रिया चित्र ३ मा देखाइएको छ । भण्डारण गर्नु अगाडि अर्को वर्ष लगाउनको लागि बीउ छुटाएर राखु पर्छ । खानाको लागि भण्डारण गरे पछि आवश्यक मात्रामा दाना निकाली पानी घट्ट वा मिलमा पिसानी गरि बोक्रा छानेर फाल्नु पर्छ । उक्त पिठोबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । खोष्टालाई सिरानी बनाउनु राम्रो मानिन्छ । बोक्रा सजिलैसँग निस्कने जातलाई खलमा कुटेर खोष्टा फाली सिंगो दानालाई भात पकाए जस्तै गरि पकाएर खान सकिन्छ । दाना वा पिठोलाई बजारमा बेच्ने कार्यको साथै तितोपन हटाउन किसानहरुले विभिन्न कार्यहरू गर्छन् ।

1

 

प्रशोधन 

प्रशोधन 
दानालाई निफनेर, केलाएर तथा सफा गरेर अन्य वस्तुहरू हटाइन्छ । पिठो बनाउनको लागि पानी घट्ट वा जाँतो वा पावर मिल प्रयोग गरिन्छ । यसरी पिसिएको पिठोमा खोष्टा हुने हुँदा, उक्त पिठोलाई चालेर खानयोग्य पिठो बनाइन्छ । साधारणतय दानामा चार भागमा एक भाग जति भुस (खोष्टा) हुन्छ । दाना नै खाने वा बिक्रि गर्ने भए खोष्टा सजिलैसँग हटाउन सकिने जात जस्तै भाते फापरको दानालाई खलमा कुटेर निफनी दाना छुट्याउने गरिन्छ । धेरैजसो जातको खोष्टा हटाउन कठिन हुने हुँदा, अन्य देशमा खोस्टा हटाउने मेसिनको विकास गरि प्रयोगमा आएको देखिन्छ । धेरै नै तितो जात भए उक्त दाना वा पिठोलाई केही घण्टा (४-८) पानीमा भिजाएर राखे र पानी पहेंलो रंगको भएपछि उक्त पानी फाल्नाले तितोपना कम हुन्छ । यसरि प्रशोधन गरिएको दाना वा पिठोबाट विभिन्न परिकार बनाउन सकिन्छ । फापरको पिठो तितो हुने हुँदा यसलाई अन्य गहुँ, कोदो, जौको पिठोमा मिसाएर परिकार बनाउने चलन छ । खेती जमिनको उचाईसँग तितोपनाको केही सम्बन्ध भएको देखिन्छ, खेती गर्ने जमिनको उचाई बढ्दै जाँदा तितोपन कम हुन्छ । 

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 

मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण 
फापरको माग बजार क्षेत्रमा देश भित्र र बाहिर बढेसँगै यसको मुन्टा साग, दाना/अन्न, पिठो र परिकारको मूल्य पनि बढ्दो छ । स्वास्थ्यको लागि अति उत्तम भएको र सबै फापरजन्य उत्पादन अर्गानिक भएकोले पनि यसको मूल्य राम्रो छ । उत्पादक किसानले मुन्टा साग प्रति मुठा (३-५ जनाको परिवारलाई पुग्ने) रु. १५-२५ मा, प्रति केजी दाना रु. ५०-६० मा र प्रति केजी पिठो रु. ८०-१०० मा बिक्रि गरेको पाइन्छ । बजार क्षेत्रमा तिते फापरको पिठो रु. २५०-४०० प्रति केजी र मिठेको रु. २००-२५० प्रति केजी पर्दछ । विभिन्न ठाउँमा मिठे फापरको पिठोबाट बनाएको ढिंडो रु. ३०० प्रति व्यक्ति, कुकिज रू. १५० प्रति १० गोटा (१६० ग्राम) र फापरको पाउरोटी रू. १०० प्रति गोटा (३५० ग्राम) मा किनबेच हुने गरेको छ । फापरको खेती गर्दा लगानी न्यून पर्ने, खेती गर्न एकदमै सजिलो हुने हुँदा फापरको खेतीबाट अन्य खाद्यान्न बालीको तुलनामा बढी फाइदा भएको देखिन्छ । 
स्थानीय स्तरमा फापरलाई भातको रुपमा, मुन्टा (कमलो काण्ड र पात) लाई साग तरकारीको रुपमा, अचार, चिया बनाएर, सलादको रुपमा, सुकेको तरकारी, पिठोबाट रोटी, ढिंडो, सुप, सातु, लगर, ढेसु, डल्ला, च्याँख्ला रक्सि, जाँड आदि बनाएर खाने गरिन्छ । दानालाई भुटेर वा उसिनेर खाने चलन एकदमै न्युन छ । फापरको परिकारमा विविधता ल्याउन यसको पिठोबाट करिब १२ थरिको थप परिकार बनाउने कार्य भएको छ । ति परिकार हुन् चाउचाउ, केक, नमकिन, -बिस्कुट, कुकिज, पाउरोटी, मम, सेल रोटी, सुप, हलुवा, चिया, र प्यान केक । यसरि बनाएको खाद्य परिकारहरुलाई स्थानीय खाद्य मेलाको योजना गरि प्रबर्द्धन गर्नुपर्छ । जसले गर्दा यस्ता बाली उक्त ठाउँको प्रमुख खाद्यान्न बाली हुन गई खाद्य सुरक्षमा आत्मनिर्भर हुन जान्छ । पिठोबाट बन्ने जति पनि परिकारमा फापरको पिठो प्रयोग गरि बनाउन सकिन्छ । 
मानिसहरुको बिग्रंदो स्वस्थ्य र वातावरणले गर्दा फापरको बजार बढ्दो देखिन्छ । तैपनि नेपालमा फापरको कुनै निश्चित र आधिकारिक बजारको व्यवस्था छैन । उत्पादक किसानले स्थानीय बजार र केही ठुला बजारहरुमा बिक्री गर्ने गर्छ । बजारमा तिते फापरको पिठो पाउन सहज छैन र फापरको पिठोको माग बढी भएकोले, यसको पिठोसँग कोदोको पिठो मिसाएर बेच्ने चलन छ जुन शुद्ध फापरको पिठो भन्दा २०-४० रुपियाँले सस्तो हुन्छ । नेपाल खाद्य संस्थानले गत वर्ष जुम्ला, मुगु र कालिकोटबाट ८००० केजी फापर रू. ८० प्रति केजीको दरमा खरिद गरेको थियो। नेपालको फापर हिमाली भेगमा उत्पादन हुने हुँदा यहाँको उत्पादनको गुणस्तर राम्रो मानिन्छ । तसर्थ, यसलाई व्यवसायिक रुपमा खेती गरि आधिकारिक रुपमा विदेश निर्यात गर्न सके वैदेशिक मुद्राको राम्रो आयस्रोत हुने देखिन्छ ।

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरु

जातीय संरक्षणको महत्व एवं उपायहरु

विभिन्न ठाउँहरुमा उपयुक्त हुने जातहरू, साथै रोग कीरा र वातावरण अनुकूलन जातहरुको विकास गर्न धेरैथरीको फापरको जातहरू चाहिन्छ । जातीय विविधता भएन भने बढी उत्पादन दिने जातहरुको विकास गर्न सकिंदैन । तसर्थ सबै जातीय विविधताहरू संरक्षण गरि पछि सम्म उपलब्ध हुने वातावरण हुनु अत्यन्त आवश्यक हुन आउँछ । नेपालीमा धेरैथरिको संरक्षण विधिहरू, मार्फत विभिन्न तहमा कृषि जैविक विविधताहरुको संरक्षण कार्य भइरहेको छ (चित्र ४)। विभिन्न कारणले कृषिका केही क्षेत्रहरुमा पाइने स्थानीय जातहरू, हराउने क्रममा छन् जसलाई खतरा क्षेत्र (चित्र ५) घोषणा गरि उक्त ठाउँमा पाइने जातहरुलाई संरक्षण गर्नुतर्फ उन्मुख हुनु पर्छ । सबै जातहरू, एकै पटक संकलन गरि संरक्षण कार्य गर्न कठिन हुने हुँदा जातहरुको अध्ययन अनुसन्धान गरि त्यसको अवस्था चित्र ६ मा उल्लेख गरे जस्तै गरि विभिन्न समूहमा मापन गर्नुपर्छ । उक्त चित्रको आधारमा चौथो समूहमा पर्ने लोपोन्मुख जातहरुलाई प्रमुखताक साथ संरक्षण गर्न पहल गर्नुपर्छ । 
संरक्षण कार्यमा सबैको सहयोग हुनु आवश्यक हुन्छ ।

22

नेपालमा फापरको बीउ घरायसी बीउ बैंक, सामुदायिक बीउ बैंक र राष्ट्रिय जिन बैंकमा संरक्षण गरिदै आएको छ । यसको बीउको चिस्यान अति न्युन गरेपनि बीउको उमारशक्ति ह्रास नहुने हुँदा धेरैबेर सुकाएर भण्डारण गरि राख सकिन्छ । यसको विविधता संरक्षण रणनीतिमा परस्थानीय संरक्षण, स्वस्थानीय संरक्षण, खेतीस्थलीय संरक्षण र संरक्षित बाली प्रजनन पर्दछन् । स्वस्थानीय संरक्षणमा फापरको जंगली प्रजाति संरक्षण गर्न उपयुक्त देखिने भएपनि नेपालमा यो कार्य नभएको देखिन्छ । परस्थानीय संरक्षण रणनीति अन्तर्गत राष्ट्रिय जिन बैंक खुमलटारमा फापरको जातहरू संरक्षण गरिएको छ । खेतीस्थलीय संरक्षण अन्तर्गत घरायसी बीउ बैंक, सामुदायिक बीउ बैंक पर्दछ भने संरक्षित बाली प्रजननमा जातीय मिश्रण, सहभागितामुलक स्थानीय जात सुधार, उत्परिवर्तन बाली प्रजनन पर्दछ । 
फापरको बीउ घरेलु तरिका देखि अत्याधुनिक प्रविधि मार्फत संरक्षण गरिएको छ । मुख्यत फापरको बीउ संरक्षण कृषकस्तरमा घरेलु तरिकाले गरिन्छ र राष्ट्रिय जिन बैंकमा विशेष तरिकाले गरिन्छ । राष्ट्रिय जिन बैंकमा विशेष गरेर नेपालमा पाइने सबै स्थानीय जातहरू, संकलन गरि १०० वर्षसम्म केही नहुने गरि संरक्षण गरिन्छ र उक्त जातहरू अध्ययन अनुसन्धान र उत्पादनको लागि कृषक, विद्यार्थी र अनुसन्धानकर्तालाई निशुल्क उपलब्ध गराइन्छ । एकै जात भित्र पाइने विविधता पनि ह्रास नहोस् भनि विशेष सतर्कता अपनाइन्छ । कृषकले फापरको दाना झार्ने गर्छन् र घाममा सुकाएर स्थानीय भाँडाहरूमा भण्डारण गरि साधारण कोठामा राख्छन् । साधारणतया एक वर्षको लागि मात्र भण्डारण गर्ने चलन छ ।

सन्दर्भ सामग्री सूची

सन्दर्भ सामग्री सूची 

सन्दर्भ सामग्री सूची 

  • घिमिरे, कृष्णहरि, बालकृष्ण जोशी, देवेन्द्र गौचन र भारत भण्डारी । २०७५ । हिमाली भेगको लागि स्थानीय बालीका उत्कृष्ठ जातहरू । जिन बैंक, नार्क, लिबर्ड र बायोभर्सिटी इन्टरनेसनल, नेपाल । 
  • जोशी बालकृष्ण र कृष्ण हरि घिमिरे । २०७२ । फापर बालीमा विविधता, बीउ छनौट र उत्पादन । राष्ट्रिय जिन बैंक, खुमलटार । https://www.researchgate.net/publication/333640706_phapara_valima_bibidhata_bi%27u_ chanauta_ra_utpadana_Buckwheat_Diversity_selection_and_production 
  • जोशी, बालकृष्ण । २०७६ । फापर । यसमाः स्थानीय / रैथाने बाली खेती प्रविधि, उत्पादन विविधिकरण तालिम स्रोत पुस्तिका । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, हरिहरभवन; पेजः २७-५७https://www.researchgate.net/publication/337929734_phapara_buckwheat 
  • जोशी, बालकृष्ण । २०७६ । उपेछित तर खाद्य र पोषण सुरक्ष तथा जलबायु अनिकुलित फापर बाली । कृषि ज्ञान केन्द्र, चितवन । जोशी, बालकृष्ण र कृष्णहरि घिमिरे । २०७२ । फापर बालीको खेती तथा जातीय सुधार । 
  • जानकारी-पत्र, अङ्क १, ली-बर्ड, राष्ट्रिय जीन बैंक, कृषि विभाग र बायोभर्सीटी इन्टरनेशनल, नेपाल । http://himalayancrops.org/publications/
  • साउद, नरबहादुर । २०६७ । नेपालका बालीनाली र तिनको दिगो खेती । साझा प्रकाशन, ललितपुर ।
  • Baniya BK, DMS Dongol, BK Joshi and DR Sharma. 2004. Indigenous cultural practices and social perception for conservation of buckwheat diversity in Nepal. In: Advances in Buckwheat Research. Proceedings of the 9th International Symposium on Buckwheat, 18-22 Aug 2004, Czech Republic; pp.285-290. http://fagopyrum.22web.org/SYMPO/2004sympoEach/2004Sympo-285.pdf?i=1 
  • Bimb HP and BK Joshi, eds. 2001. Research and Development on Buckwheat: An Important yet a Neglected Crop in Nepal. Proc. National Workshop, 13-14 Sept 2001, Kathmandu. Biotechnology Unit-NARC, Khumaltar. 
  • Campbell CG. 1997. Buckwheat, Fagopyrum esculentum Moench. IPGRI, Kade Research Limited, Morden, Manitoba, Canada. 
  • Joshi BK and R Shrestha. 2018. Nepal. In: Future Smart Food - Rediscovering hidden treasures of neglected and underutilized species for Zero Hunger in Asia (X Li and KHM Siddique, eds). FAO, Bangkok, pp.161-178. http://www.fao.org/documents/card/en/c/18907EN/
  • Joshi BK, HP Bimb and K Okuno. 2008. Why buckwheat: Farmers, health and environmental perspectives. NARC Newsletter 15(4):8 
  • Joshi BK, HP Bimb, K Okuno, CB Rana, ML Vaidya, DR Sharma, SR Gupta, PR Shakya, S Shrestha, US Shah and BK Baniya. 2009. Bhate Phaper (rice Tartary buckwheat): Diversity and its uniqueness. Fagopyrum 26:31-37. https://www.researchgate.net/publication /333652737_Bhate_Phaper_rice_tartary_buckwheat_Diversity_and_its_uniqueness 
  • Joshi BK, ML Vaidya, HK Upreti, DR Sharma, CB Rana, PM Mahat, SR Gupta and S Bista. 2014. Rice and Buckwheat Genetic Resources in Karnali Zone. Agriculture Development Journal 10: 1-22. 
  • Joshi BK, MR Bhatta, KH Ghimire, M Khanal, SB Gurung, R Dhakal, and BR Sthapit. 2017. Released and Promising Crop Varieties of Mountain Agriculture in Nepal (1959-2016). LI-BIRD, Pokhara; NARC, Kathmandu and Bioversity International, Pokhara, Nepal. 
  • Joshi BK. 2008. Buckwheat genetic resources: Status and prospects in Nepal. Agric. Development Journal 5: 13-30. 
    Joshi BK. 2014a. Farmers' knowledge on and on-station characterization of Bhate Phaper (rice Tartary buckwheat). Nepal Agric. Res. J. 14:44-52. 
  • Joshi BK. 2014b. Nepal, one of the centers of diversity for buckwheat. NARC Newsletter 21(1):4-5. 
  • Manandhar HK, RD Timila, S Sharma, S Joshi, S Manandhar, SB Gurung, S Sthapit, E Palikhey, A Pandey, BK Joshi, G Manandhar, D Gauchan, DI Jarvis and BR Sthapit. 2016. A field guide for identification and scoring methods of diseases in the mountain crops of Nepal. NARC, DOA, LI-BIRD and Bioversity International, Nepal. 
  • MoALD. 2021. Statistical information on Nepalese agriculture 2076/77 (2019/20). Singhdurbar, Kathmandu, Nepal.