मूल्य अभिवृद्धि, परिकार विविधिकरण र बजारीकरण
फापरको माग बजार क्षेत्रमा देश भित्र र बाहिर बढेसँगै यसको मुन्टा साग, दाना/अन्न, पिठो र परिकारको मूल्य पनि बढ्दो छ । स्वास्थ्यको लागि अति उत्तम भएको र सबै फापरजन्य उत्पादन अर्गानिक भएकोले पनि यसको मूल्य राम्रो छ । उत्पादक किसानले मुन्टा साग प्रति मुठा (३-५ जनाको परिवारलाई पुग्ने) रु. १५-२५ मा, प्रति केजी दाना रु. ५०-६० मा र प्रति केजी पिठो रु. ८०-१०० मा बिक्रि गरेको पाइन्छ । बजार क्षेत्रमा तिते फापरको पिठो रु. २५०-४०० प्रति केजी र मिठेको रु. २००-२५० प्रति केजी पर्दछ । विभिन्न ठाउँमा मिठे फापरको पिठोबाट बनाएको ढिंडो रु. ३०० प्रति व्यक्ति, कुकिज रू. १५० प्रति १० गोटा (१६० ग्राम) र फापरको पाउरोटी रू. १०० प्रति गोटा (३५० ग्राम) मा किनबेच हुने गरेको छ । फापरको खेती गर्दा लगानी न्यून पर्ने, खेती गर्न एकदमै सजिलो हुने हुँदा फापरको खेतीबाट अन्य खाद्यान्न बालीको तुलनामा बढी फाइदा भएको देखिन्छ ।
स्थानीय स्तरमा फापरलाई भातको रुपमा, मुन्टा (कमलो काण्ड र पात) लाई साग तरकारीको रुपमा, अचार, चिया बनाएर, सलादको रुपमा, सुकेको तरकारी, पिठोबाट रोटी, ढिंडो, सुप, सातु, लगर, ढेसु, डल्ला, च्याँख्ला रक्सि, जाँड आदि बनाएर खाने गरिन्छ । दानालाई भुटेर वा उसिनेर खाने चलन एकदमै न्युन छ । फापरको परिकारमा विविधता ल्याउन यसको पिठोबाट करिब १२ थरिको थप परिकार बनाउने कार्य भएको छ । ति परिकार हुन् चाउचाउ, केक, नमकिन, -बिस्कुट, कुकिज, पाउरोटी, मम, सेल रोटी, सुप, हलुवा, चिया, र प्यान केक । यसरि बनाएको खाद्य परिकारहरुलाई स्थानीय खाद्य मेलाको योजना गरि प्रबर्द्धन गर्नुपर्छ । जसले गर्दा यस्ता बाली उक्त ठाउँको प्रमुख खाद्यान्न बाली हुन गई खाद्य सुरक्षमा आत्मनिर्भर हुन जान्छ । पिठोबाट बन्ने जति पनि परिकारमा फापरको पिठो प्रयोग गरि बनाउन सकिन्छ ।
मानिसहरुको बिग्रंदो स्वस्थ्य र वातावरणले गर्दा फापरको बजार बढ्दो देखिन्छ । तैपनि नेपालमा फापरको कुनै निश्चित र आधिकारिक बजारको व्यवस्था छैन । उत्पादक किसानले स्थानीय बजार र केही ठुला बजारहरुमा बिक्री गर्ने गर्छ । बजारमा तिते फापरको पिठो पाउन सहज छैन र फापरको पिठोको माग बढी भएकोले, यसको पिठोसँग कोदोको पिठो मिसाएर बेच्ने चलन छ जुन शुद्ध फापरको पिठो भन्दा २०-४० रुपियाँले सस्तो हुन्छ । नेपाल खाद्य संस्थानले गत वर्ष जुम्ला, मुगु र कालिकोटबाट ८००० केजी फापर रू. ८० प्रति केजीको दरमा खरिद गरेको थियो। नेपालको फापर हिमाली भेगमा उत्पादन हुने हुँदा यहाँको उत्पादनको गुणस्तर राम्रो मानिन्छ । तसर्थ, यसलाई व्यवसायिक रुपमा खेती गरि आधिकारिक रुपमा विदेश निर्यात गर्न सके वैदेशिक मुद्राको राम्रो आयस्रोत हुने देखिन्छ ।