परिचय

परिचय तथा महत्व

परिचय

अंग्रेजी नाम - (Indian Plum)

वैज्ञानीक नाम – Ziziphus jujube

परिवार - rhamnaceae

वयर एउटा कडा वोट हो । जसलाई विषम हावापानी र माटोका अवस्थाहरुमा पनि हुर्काउन सकिन्छ । यसको चिनीया नाउ तसाओ हो भने अमेरिकामा यसलाई जुजुव jujube भनिन्छ । नेपालमा यसको खेती पुर्ण व्यवसायी रुपले नगरिएको भएता पनि भारत र चिनमा भने पुर्ण व्यवसायीय रुपले गर्ने गरिएको छ ।

उदगम

भारत, दक्षिण–पश्चिम चीन र मलेसिया सम्म फैलिएको क्षेत्र ।

प्रयोग

  • नेपाल र भारतमा ताजाफल खाने चलन छ ।
  • सुकाएर पुन प्रयोग गर्न सकिन्छ अर्थात सुकाएर राखेको फललाई उसिनेर खान पनि सकिन्छ ।
  • पातहरु पशुहरुलाई खुहाउन प्रयोग गरिन्छ ।
  • काठबाट विभिन्न वस्तु बनाउन प्रयोग गरिन्छ ।

 

वानस्पतिक विवरण

वयरका मुख्य दुई जातीहरुको खेती हुने गरेको छ ति हुन् ।

१. चाइनिज जुजुव (Ziziphus Jujuba)

२. इण्डीयन जुजुव (Ziziphus mauritiane)

चाइनिज वयर सानो सिधा र चिल्लापात भएको वोट हुन्छ । भारतिय वयर फिजिने खालको हुन्छ र हाँगाहरु करिब लहरा जस्तै हुन्छन् । वयरको वोट सामान्य तथा ८–१० मीटरसम्म अग्लो हुन्छ । फलको लम्वाई २–५ से.मी. सम्म हुन्छ र वोक्रा पातलो र गाढा खैरो रंबको हुन्छ । गुदि सेतो र मिठो हुन्छ । फल दुई कोषिय कडा गोलो वा लामो खालको वीउ हुन्छ ।

जातहरु

जातीय विषेशताहरु

जातहरु

केही प्रचलित मुख्य जातहरु र यिनको जातिय विशेषता

वानारसी

यो नेपालको लोक प्रिय जात हो । यस फलको आकार लामो, टुप्पा हलुका तिखो, वोक्रा नरम, गुदी रस युक्त, गुलियो र सुगन्धित मध्यक सिजनको जात हो ।

गोला

यो पनि नेपालमा मन पराइएको अगौटे जात हो । यो गोलो भण्डारण क्षमता कम भएको भएता पनि गुणस्तर अति राम्रो भएको जात हो ।

उम्रान

फल मध्यम ठुलो, टुप्पा गोलाकार र गुदि गुलीयो, भण्डारण क्षमता राम्रो भएको जात हो ।

चोचल

फल ठुलो, लामो चुच्चो भएको, गुलियोपना र रसिलो फल भएको जात हो ।

चोन्छाल

फलको आकार चुच्चो लामो हुन्छ र रसिलो गुलियो फल हुने गर्दछ ।

सनोर –२

फलको आकार ओवलोङ्ग, सुनौला रंब ठुलो साइज टुप्पा हलुका तिखो, सतह चम्किलो र चिल्लो गुदि गुलियो, मध्यम सिजनमा तयार हुने जात हो र यो करिब मार्च महिना तिर खान योग्य फल तयार हुन्छ ।

आवश्यकता

हावापानी

वयरको खेती गर्नको लागी वढी आद्र र तुषारो पर्ने ठाँउ बाहेक विभिन्न किसिमको हावापानीमा गर्न सकिने भएतापनि गरम र सुख्खा उष्ण मनसुनी हावापानी उपयुक्त मानिन्छ ।

माटो

जुनसुकै माटोमा पनि यसको खेतीगर्न सकिने भएता पनि, गहिरो, मलिलो, हलुका, क्षारिय बलौटे दोमट, पि.एच. सात भएको माटो उपयुक्त मानीन्छ ।

नर्सरी व्यवस्थापन

प्रसारण विधि

वयर लैंगिक र अलैंगित दुवै तरिकाले प्रसारण गर्न सकिन्छ ।

१. लैंगिक (वीउबाट प्रसारण) विधि

सामान्यतया नेपालमा वीउबाट प्रजनन गर्ने बढी प्रचलन छ । विजु विरुवा माउ विरुवा सरह नहुन सक्दछ । त्यसैले यो तरिका सिफारिस गर्न त्यति उपयुक्त मानिदैन् । यस प्रविधिबाट प्रजनन गरिएको विरुवाको मुल जरा छिट्टै धेरै गहिराईमा पुग्ने हुदाँ वीउबाट प्रसारण गर्दा सिधैँ विरुवा लगाउने ठाँउमा रोपी वीजु विरुवा तयार गर्न सकिन्छ । अन्यथा पोलीपटमा वीउ राखी वीरुवा उमारी लगाउन सकिन्छ ।

२. अलैंगिक (वानस्पतिक) विधि

वानस्पतिक विधिबाट प्रसारण गर्दा जराको कटिङ्ग, ग्राफ्टिंग, वडिङ्ग आदी विधिबाट प्रसारण गरिन्छ । चिनमा हवीप ग्राफ्टिंग र जराको कटिङ्गहरु बढी प्रचलनमा छ भने भारतमा टङ्ग ग्राफ्टिंग र सिल्ड वडिङ्गबाट प्रजनन तथा प्रसारण गर्ने प्रचलन छ । वयरको विरुवा स्थान्तरण गर्नु उपयुक्त नहुने हुदा स्थानीय ठाँउमा रोपेर वडिङ्ग गर्न सल्लाह दिइन्छ ।

टप वर्किंग

  • पुष महिनामा सतहबाट ६० से.मी. उचाईमा काण्डलाई सम्म पारेर काटिन्छ ।
  • माघ महिनामा काटेको छेउ बाट पालुवा आउछ ।
  • सबै भन्दा वलियो हाँगो राखेर वाकि हाँगा हटाउने ।
  • छनौट हाँगा १ से.मि. गोलो भए पछी/मोटो भए पछि सिल्ड वडिङ्ग गर्ने ।
  • आख्ला फक्रीना साथ जोड भन्दा माथीका हागा हटाउने
  • वडिङ्ग गरेको करिब २० दिनमा आख्ला आउँछ ।

 

जग्गा तयारी

लगाउने समय र दुरी

लगाउने समय

विरुवा असार महिनामा लगाउँदा उपयुक्त हुन्छ ।

दुरि: ६–७ मीटर फरकमा विरुवा लगाउने ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखादको प्रयोग

फल्ने एउटा वोटको लागि सामान्यतया ५० किलो कम्पोष्ट, ५० ग्राम नाइट्रोजन, ३० ग्राम फसफोरोस र ५० ग्राम पोटास हरेक वर्ष असार महिनामा दिने ।

सिचाई

सिचाई नभएको ठाउमा पनि वयर खेती गरिने भएतापनि सिचाई सुविधा हुदा सफलता पुर्वक खेती गरि राम्रो उत्पादन लिन सकिन्छ । विरुवा रोपेपछि माटोको चिसान अनुसार आवश्यकता बमोजीम सिचाइ दिने । सामान्यतया नयाँ बगैचामा १०–१५ दिनको फरकमा दिनको १ पटक र पुरानो बगैचाको फल दिन सररु भएको अवस्थामा विशेष गरी फुलफुल्ने बेला र विकाश हुने वेला सिचाई दिन उपयुक्त मानिन्छ ।

गोडमेल

वगैचामा झारपात देखिएपछि नियमित रुपमा झारपात निकालि गोडमेल गर्नु पर्दछ । मलखाद हाल्नेवेला एक पटक र असोज महिनामा अर्को पटक खनजोत तथा गोडमेल गर्नु राम्रो हुन्छ ।

 

अन्तरवाली

वगैचाको खाली ठाँउमा कोसेवाली तथा तरकारी खेती गर्ने सकिन्छ ।

तालिम तथा काँटछाँट

विरुवा लगाएको १ वर्ष पछी करिब ३ वर्ष सम्म जमीन देखि ७५ से.मी.को उचाई सम्म हागाहरु हटाई त्यसपछी चारैतिर फैलिएका ३–५ वटा सम्म हागा राखी बोटको काटछाट तथा तालिम दिने कार्य गर्नु पर्दछ। नयाँ निस्किएका मुनाहरुमा फल लाग्ने हुदा प्रसस्त मुना निस्किन दिने गरि बोट सुषस्त अवस्थामा रहेको वेला माघ–फाल्गुन महिनामा अघिल्लो वर्ष बढेका हा“गाहरु लगभग ३० प्रतिशत काटछाट गरि दिनु पर्दछ । यस बाहेक रोग किरा लागेमा, सुकेमा, एक आपसमा खप्टिएका हाँगाहरु काट छाट गरिनु पर्दछ ।

 

रोग व्यवस्थापन

सेतो धुलेढुसि

यो रोग ढुसिबाट लाग्दछ सुरुमा पात झर्ने फलमा सेतो थोप्ला देखिने त्यसपछी खरानी जस्तो धुलोले पुरै पात र फल ढाक्दछ । यसले गर्दा पात झर्दछन् । फल नछिपियर नै झर्छन् ।

रोकथाम तथा उपचार: क्याराथेन २ एम.एल. प्रति लिटर पानीको दरले राखी छर्ने बाल्ईटक्स ५० नामक विषादी ३ ग्राम प्रति लिटरका दरले १०–१५ दिनको फरकमा २–३ पटक छर्ने ।

कालो धुले रोग

पातको तल्लो सतहमा कालो धुलोले पुरै ढाक्दछ र रोग लागेको पातहरु झर्दछन् ।

रोकथाम तथा उपचार: वाल्ईटक्स – ५०, नामक विषदी २.५ ग्राम प्रति लिटर पानीका दरले मिसाई १०–१५ दिनको फरकमा २–३ पटक छर्ने ।

किरा व्यवस्थापन

फल कुहाउने औसा

यसले फल खान्छ फलको गुणस्तरमा कमि आउँछ र फल कुहिने हुन्छ ।

रोकथाम र उपचार: वगैचा सफा राख्ने मालाथीन नामक किटनाषक विषादी २ एमएल प्रति लिटर पानीका दरले मिसाई १०–१५ दिनको फरकमा २–३ पटक छर्ने ।

बाली कटानी तथा भण्डारण

फल लाग्ने, उत्पादन र भण्डारण

फल लाग्ने

वयरको विरुवा रोपेको/लगाएको तिन चार वर्ष देखि फल दिन सुरु हुन्छ । फुल फुले देखि फल परिपक्क हुन ४ देखि ५ महिना लाग्दछ । वैशाख–जेष्ठ देखि फुल फुल्न सुरु हुन्छ भने असोज–कार्तिक तिर फल टिप्न सुरु हुन्छ र फागुण–चैत्र सम्ममा पुरा फल पाकिसक्दछ ।

उत्पादन

प्रतिवोट ७५–१०० किलो सामान्यतया उत्पादन भएता पनि ४०० किलो सम्म उत्पादन हुने गरेको छ ।

भण्डारण

फल लाई सुन्य डि. ग्री. सेलसियस तापमानमा ४५ दिन सम्म खुल्ला भाडोमा राख्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सूर्यनाथ योगी

बरिष्ठ फलफुल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - वयर खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं