वानस्पतिक प्रसारण
बीउ बाहेक हांगा, पात, जरा आदि बाट नयाँ विरुवा तयार गर्ने विधि वानस्पतिक प्रसारण विधि हो । तर लप्सीको कलमी विरुवाहरु बडिंग, ग्राफटीङ्ग विधिबाट तयार गर्दै आइरहेको पाईन्छ । बडिंग विधि अन्तरगत ‘चिप बडिंग’ अन्य विधिहरु भन्दा बढि सरल, सफल बिधि भएको हुदा सरकारी तथा नीजी फलफुल नर्सरीहरुले यसलाई प्रयोग गरिरहेको पाईन्छ । ग्राफटीङ्ग बिधि मध्ये साइड ग्राफटीङ्ग, टंग ग्राफटीङ्ग केही मात्रामा सफल देखिएता पनि तुलानात्मक रुपमा चिप वडि·को दाजोमा ज्यादै न्यून प्रतिशत सफल हुने हुंदा अरु विधी अपनाएको खासै पाईदैन ।
चिप बडिंग
वर्तमान अवस्थामा कलमी लप्सी उत्पादनको लागि धेरै सफल मानिएको बिधि चिप बडिंग नै हो यस बिधिबाट कलमी विरुवा तयार पार्ने कार्यको प्रारंभ तत्कालीन बागवानी केन्द्र गोदावरीबाट नै भएको मानिन्छ । यसको साथै प्रभावक्षेत्रका निजी फलफुल नर्सरीहरुले यस विधिलाई नै अपनाई बिरुवा उत्पादन कार्यमा जुटि रहेका छन् ।
चिप बडिंग गर्दा ध्यान दिनु पर्ने कुराहरु
रुटस्टकको छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
- रुटस्टकको उमेर १–२ बर्ष सम्मको हुनु पर्दछ
- रुटस्टक पेन्सील साइजको, २–३ फिट उचाईको उपयुक्त हुन्छ ।
- रुटस्टक बिरुवा स्वस्थ्य हुनु पर्दछ । रुटस्टक बिरुवा नर्सरीमा नै उमारिएको वा पोलिव्यागमा पछि सारिएको पनि हुन सक्दछ ।
(ख) साईनस्टोकको छनौट
साईनस्टीकको लागि सबै भन्दा पहिले माउवोटको छनौट गर्नु पर्दछ । माउवोट छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
- माउवोट रोग किरा नलागेको स्वास्थ्य हुनु पर्दछ ।
- ठूलो दाना फल्ने, बियाँ सानो भएको, बढि गुदी भएको, गुलियोपना वढि भएको, बोक्रा पातलो भएको फल्ने माउवोट छान्नु पर्दछ ।
- चांडो फल दिने बोट छान्नु पर्दछ ।
यसरी माउवोटको छनौट गरिसकेपछि उक्त बोटबाट साइनस्टीक लिनु पर्दछ । साइन स्टीक लिनको लागि गतवर्ष पलाएको हाँगा छान्नु पर्दछ । हांगा छान्दा बड पोटीलो भएको, रोग किरा मुक्त हांगा छान्नुपर्दछ । साधारणतया पेन्सील आकारको १.५–२ फिट लम्वाइको साइनस्टीक सिकेचरले काटी, मुठा बनाई छहारीमा चिसो झ्याउले छोपी राख्नु पर्दछ । यसरी काटिएको साइनस्टीकबाट बड लिई कलमी कार्य गर्नु पर्दछ । साधारणतया एक साइनस्टीकमा १०–१५ वटा सम्म बड लिन सकिन्छ । जसबाट त्यत्तिकै संख्याको स्टस्टकमा चिप बाडि· गर्न सकिन्छ ।
यसरी रुटस्टक र साइस्टीकको छनौट गरि सकेपछि साईनस्टीक बाट १–१.५ इन्च लम्वाईको त्रिकोण आकारमा पातलो काठ समेत आउने गरी बडिंग चक्कुको मद्दतले पोटीलो आख्ला (बड) लिनु पर्दछ । यसरी बड लिइ सकेपछि त्यत्तिकै साइज वरावर हुने गरी रुटस्टकमा ताछी टम्म मिल्ने गरी बड टांस्नु पर्दछ । साधारणतया चिप वडि· गर्दा करीव ६ इन्च जमिनदेखि माथि गर्न उपयुक्त हुन्छ । बड टांसी सकेपछि वडलाई नछोपिने गरी प्लाष्टीक टेप वा १५० देखि २०० गेज सम्मको प्लाष्टीकलाई रिवन आकारमा काटी वाध्नु पर्दछ । यसरी वाध्ने कार्य सकेपछि रुटस्टकको टुप्पालाई भांचिदिनु पर्छ जसले गर्दा रुटस्टक विरुवाको वृद्धि रोकिन जान्छ । माटोमा चिस्यानको मात्रा कायम राखी राख्न आवश्यकता अनुसार सिंचाईको व्यवस्था मिलाई राख्नु पर्दछ । यदि नर्सरी व्याड धेरै सुख्खा हुन गयो भने बडिंगको सफलता न्यून हुन जान्छ । यस बाहेक बडिंग गरेको स्थान देखि तल तथा माथिको भागमा पलाएका मुनाहरु १–२ दिन को अन्तरमा हेरी हटाईरहनु पर्दछ । यसरी रुटस्टकमा पलाएका मुनाहरु हटाउने कार्य निरन्तर रुपमा गरि रहनु पर्दछ । यसो गर्नाले टांसिएको बडबाट चाडो नयाँपालुवा आउन मद्दत पुग्छ । साधारणतया बडिंग कार्य गरेको करीब २०–३० दिन पछि उक्त बडबाट नयाँ मुना आउन सुरु गर्दछ ।
चिप बडिंग गर्ने समय र सफलता
माघको दोश्रो हप्ता देखि फाल्गुणको तेश्रो हप्ता सम्म उपयुक्त मौसमी अवस्था तथा उचित व्यवस्थापकिय कार्य समयमा नै भएमा ६०–८० प्रतिशत सम्म सफलता मिल्ने देखिन्छ | त्यस्तै फेव्रेवरी तेश्रो हप्तामा चिप वडि· गर्दा ९३ प्रतिशत सम्म सफलता प्राप्त भएको पाइएको छ ।
साइड ग्राफटीङ्ग
विभिन्न प्रकारको हुन्छन् जसमा साइड स्टब ग्राफटीङ्ग, साइड टंग ग्राफटीङ्ग, र साइड भिनियर ग्राफटीङ्ग पर्दछ । यस प्रकारको ग्राफटीङ्गमा साईनस्टीक (३–४ इन्च लामो, २–३ वटा पोटिलो बड भएको, पेन्सील साइजको, स्वस्थ्य) को टुक्रालाई रुटस्टकको साईडमा जोडिन्छ । साधारण तथा यस विधिवाट कलमी गर्दा साइन स्टीक भन्दा रुटस्टक केही मोटो हुनु पर्दछ ।
यो विधि अन्य फलफुल विरुवाहरुको उत्पादनमा व्यापक रुपमा प्रयोग भएता पनि लप्सीको उत्पादनमा भने ज्यादै न्यून सफलता (७ प्रतिशत) प्राप्त भएको देखिन्छ ।
टप वर्किङ्ग
यस विधिबाट पुराना नफलेका भाले बोटहरुलाई फल्ने गराईन्छ । यसबाट कृषक तथा सामुदायिक वन उपभोक्तहरुलाई ठूलो राहत मिल्ने देखिन्छ । नफल्ने ठूला विरुवाका हागाहरु काटी मसिना हागाहरु चारैतिर पर्ने गरी राखी ती हांगाहरुमा चिप बडिंग गराई पुनः १/२ बर्षमा नै फल्ने विरुवामा परिणत गर्न सकिन्छ । यो बिधि पुष्प विकास केन्द्र गोदावरीमा प्रयोगमा आई सफलता पूर्वक पुराना भाले बोटहरुमा फल फलाउने कार्य भई रहेको छ ।