परिचय

परिचय

लप्सी पतझड समूहमा पर्ने, साधारणतया ठूलो रुख हुने, भाले र पोथी वोट वेग्ला वेग्लै हुने, बहुभ्रुणिय विरुवा हो । यसको अंग्रेजी नाम Hog plum तथा वैज्ञानिक नाम Choerospondias axillaris हो । यो Anacardiaceae परिवारमा पर्दछ । नेपालमा ‘लप्सी’ भनिए जस्तै भुटानमा ‘लुम्सी’, सिक्कीममा ‘लुप्सी’, चीनमा ‘नान स्वान जाओं’, जापानमा ‘छानचीन मोडोकी’ भनिने गरेको पाईन्छ ।

विजु विरुवाहरु धेरै ठूलो रुख हुने (२५ मी. भन्दा अग्लो) हुंदा परम्परागत रुपमा लगाइएका रुखहरुवाट फल टिप्न अत्यन्त कठिनाई पर्ने देखिन्छ । तर कलमी विधिवाट उत्पादित विरुवाहरु भने २–३ वर्षमा नै फल दिन सुरु गर्ने उपयुक्त व्यवस्थापकिय कार्य गरेमा वोटको आकार सानो, वढि फल दिने हुन्छन् ।  

लप्सीको भाले र पोथी बोट सानो अवस्थामा बाहिरी हेराई बाट छुटयाउन गाह्रो हुन्छ । जव फुल खेल्ने अवस्थामा बिरुवा पुग्छ र फुल फुल्दछ तव मात्र सजिलै छुटयाउन सकिन्छ । लप्सीको फल पाकेपछि पहेंलो रसिलो हुनुको साथै क्याल्सीयम, प्रोटिन, र सुक्रोजको मात्रा वढि पाइन्छ । लप्सीको बीऊ कडा, गोलो, लाम्चो आधारको, साधारणतया ५ वटा वीऊ उम्रने प्वाल रहेको हुन्छ । नयाँ पात निस्कदा प्याजी रंगको चम्किलो, पातका नशाहरु रातो हुन्छ भने जव छिप्पीदै जान्छ, तव हरियोमा परिणत हुन्छ । पातहरु कम्पाउण्ड प्रकारका, १–१.५ फिट लामो हुन्छन । फुल फुल्ने समय फागुन चैत्र तिर हुन्छ, परागसेचन कार्य किराहरु तथा हावाको मद्दतले हुने गर्दछ ।   

उत्पति र फैलावट

लप्सीलाई नेपालको स्वदेशी विरुवा भनिन्छ । तर पनि नेपाल बाहेक यो उत्तर पूर्वी भारत, भुटान, दक्षिण पूर्वी चीन, जापान, भियतनाम, थाइल्याण्ड, हङकङ आदि देशहरुमा पाइन्छ । नेपाल बाहेक अन्य देशहरुमा व्यवसायिक रुपमा खेति गरिएको थाह हुन आएको छैन । जसले गर्दा लप्सीका वोटहरु प्राकृतिक रुपमा जंगलमा नै सीमीत रहेको बुझिन्छ । नेपाल बाहेक भारतको सिकिममा अचार तथा क्याण्डी बनाउनको लागि यसको निकै प्रयोग हुने, तथा अन्य जंगली अवस्थामा नै रहेका फलफुलहरु मध्ये यसको व्यापार सबै भन्दा बढि हुने गरेको पाईन्छ । हङकङमा रहेको प्राकृतिक जंगलमा यो प्रशस्त मात्रा पाइने, तर यसको फलको उपयोग जंगली चराचुरुंगी, जनावरबाट मात्रै हुने गरेको पाईएको छ| यसको नाम ‘Hog plum’ रहनुमा सुँगुर नै यसको फैलावटको महत्वपूर्ण एजेन्टको रुपमा रहेकोले हुन गएको हो ।

नेपालमा प्राकृतिक रुपमा मध्यपहाडी जिल्लाहरुका जंगलहरुमा यो पाईन्छ भने व्यवसायिक रुपमा काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, कास्की, धनकुटा, इलाम आदि जिल्लामा खेतीको प्रारम्भ भई सकेको छ ।

महत्व

लप्सी एक महत्वपूर्ण वहुउपयोगी विरुवा हो । यसको फलको गुदीबाट अचार, क्याण्डी, विभिन्न प्रकारका पाऊ, माडा, तितौरा, वनाइन्छ भने फलको बोक्राबाट अमिलो र वियालाई आगो वाल्न प्रयोग गरिन्छ । यसको वोक्रालाई परम्परागत औषधी बनाई पोलेको घाऊ निको पार्न प्रयोग गरिन्छ। वियांलाई दन्तमन्जन समेतमा प्रयोग गरेको पाईन्छ । यसको फलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ । १०० ग्राम लप्सीको गुदीमा २५.७३–९२.२३ मी. ग्रा. र वोक्रामा ३१.८७–११९.३८ मी.ग्रा. भीटामिन ‘सी’ पाइन्छ । यस बाहेक पाकेको फलमा प्रशस्त मात्रामा सुक्रोज, क्याल्सीयम पाइन्छ ।

यसको काठ फर्निचर तथा घर निर्माणमा प्रयोग गरिन्छ । हागाविगा दाउराको रुपमा र पात कम्पोष्ट मल बनाउन प्रयोग गरिन्छ । आर्थिक दृष्टीकोणले यसको महत्व अझ दिन प्रति दिन वढदै गएको पाइएको छ । भिरालो, कमसल पाखो जग्गामा समेत यसको खेती गर्न सकिने हुदा अन्य फलफुलको तुलनामा कम मेहनतमा वढि फाईदा हुने हुदा गरिवि निवारणमा समेत यसले प्रत्यक्ष सहयोग पुर्याउने देखिन्छ । यसको साथै लप्सीलाई प्रशोधन गरी विभिन्न प्रकारका परिकारहरु तयार पारी सो को निर्यात प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्ने प्रशस्त संभावना रहेको हुंदा यस खेतीको महत्व झन बढदै गईरहेको देखिन्छ ।

नेपालमा व्यवसायिक लप्सी खेति

 हाम्रो देशमा लप्सीका विजु विरुवा कृषकहरुलाई वितरण गर्ने कार्य वि.सं २०२७।०२८ साल तिरबाट सुरु भएको देखिन्छ । विजु विरुवा वितरण कार्य कृषि बाहेक बन कार्यालयहरु बाट वृक्षारोपणको रुपमा वितरण गरेको पाईन्छ । यसरी वितरीत विजु विरुवाहरु रोप्दा करीव ७०–७५ प्रतिशत बोटहरु भाले हुने तथा उक्त बोट नफल्ने, पोथी बोट पनि विजु भएको हुंदा फल उत्पादनको लागि ८–१० वर्ष सम्म पर्खनु पर्ने भएकोले कृषकहरु ठूलो मर्कामा परिरहेको सन्दर्भलाई ध्यानमा राखि वि.सं. २०४०।०४१ साल देखि वागवानी केन्द्र गोदावरीमा लप्सीको कलमी बिरुवा तयार पार्ने पद्धतिको अध्ययन परिक्षण शुरु भएको देखिन्छ तर पनि उक्त कार्यमा आशातित सफलता भने वि.सं.२०५५।०५६ सालवाट तत्कालिन वागवानी केन्द्र गोदावरीमा व्यापक रुपमा कलमी विरुवा उत्पादन सुरु भएपछि पाएको देखिन्छ । यसले लप्सी उत्पादक कृषकहरु, सामुदायिक बन उपभोक्ता समिति आदिलाई ठूलो हौसला मिल्न गएको पाइन्छ । जसबाट व्यवसायिक लप्सी खेती तर्फ कृषकहरु उत्साहित भई लप्सीको विरुवाको माग अध्याधिक बढेको देखिन्छ । एक्लो सरकारी प्रयासले मात्र कृषकको माग धान्न नसकिने अवस्था सिर्जना भएकोले वागवानी केन्द्र गोदावरी, फलफुल विकास निर्देशनालय तथा उपत्यकाका जि.कृ.वि.कार्यलयहरुको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा उपत्यकामा केही निजी नर्सरीहरु स्थापना गर्न लप्सीको कलमी विरुवा उत्पादनमा जुटन थालेको पाईन्छ ।
हाल आएर उपत्यका बाहिर सिन्धुपाल्चोक र नुवाकोटमा रहेका निजी नर्सरीहरुले पनि लप्सी बेर्ना उत्पादन कार्यमा संलग्न रहेको पाईन्छ । तर उत्पादनको गुणस्तर तथा संख्या भने अझै कम नै रहेको पाईन्छ । यसमा सुधारको खाचो देखिन्छ । पुष्प विकास केन्द्र गोदावरीले कृषकहरुको मागलाई ध्यानमा राखि विगत ५ वर्ष यता वर्षेनी १२ देखि १५ हजारको हाराहारीमा कलमी लप्सीका गुणस्तरीय बिरुवाहरु उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ । तर कृषकहरुको माग भने दिनानु दिन बढदै गइरहेको छ, अझ यस कार्यमा नेपाल सरकारले आ.व. ०६३।०६४ देखि ‘एक गाऊ एक उत्पादन’ कार्यक्रम अन्तरगत लप्सी खेतीलाई भक्तपुर जिल्लामा नमूनाको रुपमा संचालन गरेको हुदा यसले कृषक माझ ठूलो उत्साह थपि दिएको छ । जसले गर्दा आगामी बर्षहरुमा यस प्रकारको कार्यक्रम अन्य जिल्लाहरुमा पनि संचालन हुने संभावना वढदै गएको पाईन्छ ।

   कलमी विधिबाट उत्पादीत बिरुवाहरु ३–४ बर्षमा नै फल दिनुको साथै अरु फलफुलको तुलनामा कम मलिलो जग्गा, भिरालो जग्गामा लगाउन सकिने तथा रोग किराले कम आक्रमण गर्ने हंदा यस खेतीलाई कम खर्च तथा मेहनत लाग्ने हुदा हालका वर्षहरुमा कृषकहरुको आकर्षणको केन्द्र विन्दु यस खेतीले हुन गएको छ । जसले गर्दा काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, दोलखा, रामेछाप, रसुवा, इलाम, आदि जिल्लामा व्यवसायिक रुपमा यस खेतीको उत्पादन सुरु भई सकेको छ । यस कार्यमा सरकारी तथा गैरसरकारी क्षेत्रवाट कृषकहरुलाई विशेष अनुदानका कार्यक्रमहरु समेत संचालित भइरहेका छन् ।   

नेपालमा लप्सी खेतीको वर्तमान अवस्थालाई नियाल्दा २९ जिल्लाका ३०१ गा.वि.स.हरुमा लप्सी खेती हुदै आएको पाइएको छ जसमध्ये ४० हजार विरुवाहरुले उत्पादन दिन सुरु गरिरहेका र ५ लाख नयां विरुवाहरु (विजु र कलमी समेत) राप्ने कार्य भएको छ । यसवाट कृषकहरुको आय आर्जनमा सुधार ल्याई गरीवी निवारण कार्यमा ठूलो टेवा पुग्ने देखिन्छ ।

जातहरु

लप्सी फलको वर्गीकरण

(क) फलको आकारको आधारमा – सानो र ठूलो  

(ख) फल पाक्ने आधारमा – अगौटे र पछौटे  

(ग) फलको स्वादको आधारमा – गुलियो र अमिलो  

(घ) फल भित्रको गुदीको आधारमा – बोसे र हाडे

जातहरु

लप्सीका नयाँ जातहरु बिकास हुने क्रम हाल सम्म कहि कतै बाट भएको देखिदैन । त्यसैले स्थानिय छनौटको आधारमा नेपालमा भएका लप्सीहरुलाई २ वर्गमा विभाजन गरिएको छ ।

        १. सानो (गोलो आकार)को  

        २. ठूलो (केही लाम्चो आकार)को

ठूलो, धेरै गुदी हुने लाम्चो आकारको लप्सीका बिरुवाको माग कृषकस्तरमा वढि पाईएको हुंदा पुष्प विकास केन्द्र गोदावरीमा यस प्रकारका विरुवाहरु उत्पादन कार्य भई रहेको छ ।

आवश्यकता

हावापानी

यसको खेती समशितोष्ण किसिमको हावापानी भएको स्थान अर्थात १००० मी देखि १५०० मी. सम्मको उचाईमा सफलतापूर्वक गर्न सकिन्छ । साधारणतया ७५० मी.मी.देखि १००० मी.मी.वर्षा हुने स्थानमा लप्सी खेतिको लागि उपयुक्त मानिन्छ । नेपालको मध्यपहाडी क्षेत्र यस खेतीको लागि उपयुक्त क्षेत्र हो ।

माटो

लप्सीको जरा धेरै गहिराही सम्म जाने हुंदा कमसल माटोमा पनि सप्रिन्छ । तर व्यवसायिक खेती गर्दा भने मलिलो, गहिरो (कम्तीमा २–३ मी.सम्म), निकासको राम्रो प्रवन्ध भएको दोमट माटो राम्रो मानिन्छ, साथै माटोको पि.एच. ६–७ हुनु आवश्यक  हुन्छ ।

नर्सरी व्यवस्थापन

प्रसारण विधि (वानस्पतिक प्रसारण)

वानस्पतिक प्रसारण

बीउ बाहेक हांगा, पात, जरा आदि बाट नयाँ विरुवा तयार गर्ने विधि वानस्पतिक प्रसारण विधि हो । तर लप्सीको कलमी विरुवाहरु बडिंग, ग्राफटीङ्ग विधिबाट तयार गर्दै आइरहेको पाईन्छ । बडिंग विधि अन्तरगत ‘चिप बडिंग’ अन्य विधिहरु भन्दा बढि सरल, सफल बिधि भएको हुदा सरकारी तथा नीजी फलफुल नर्सरीहरुले यसलाई प्रयोग गरिरहेको पाईन्छ । ग्राफटीङ्ग बिधि मध्ये साइड ग्राफटीङ्ग, टंग ग्राफटीङ्ग केही मात्रामा सफल देखिएता पनि तुलानात्मक रुपमा चिप वडि·को दाजोमा ज्यादै न्यून प्रतिशत सफल हुने हुंदा अरु विधी अपनाएको खासै पाईदैन ।

चिप बडिंग

वर्तमान अवस्थामा कलमी लप्सी उत्पादनको लागि धेरै सफल मानिएको बिधि चिप बडिंग नै हो यस बिधिबाट कलमी विरुवा तयार पार्ने कार्यको प्रारंभ तत्कालीन बागवानी केन्द्र गोदावरीबाट नै भएको मानिन्छ । यसको साथै प्रभावक्षेत्रका निजी फलफुल नर्सरीहरुले यस विधिलाई नै अपनाई बिरुवा उत्पादन कार्यमा जुटि रहेका छन् ।   

चिप बडिंग गर्दा ध्यान दिनु पर्ने कुराहरु

रुटस्टकको छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

  • रुटस्टकको उमेर १–२ बर्ष सम्मको हुनु पर्दछ
  • रुटस्टक पेन्सील साइजको, २–३ फिट उचाईको उपयुक्त हुन्छ ।
  • रुटस्टक बिरुवा स्वस्थ्य हुनु पर्दछ ।   रुटस्टक बिरुवा नर्सरीमा नै उमारिएको वा पोलिव्यागमा पछि सारिएको पनि हुन सक्दछ ।

(ख) साईनस्टोकको छनौट

साईनस्टीकको लागि सबै भन्दा पहिले माउवोटको छनौट गर्नु पर्दछ । माउवोट छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

  • माउवोट रोग किरा नलागेको स्वास्थ्य हुनु पर्दछ ।
  • ठूलो दाना फल्ने, बियाँ सानो भएको, बढि गुदी भएको, गुलियोपना वढि भएको, बोक्रा पातलो भएको फल्ने माउवोट छान्नु पर्दछ ।
  • चांडो फल दिने बोट छान्नु पर्दछ ।

यसरी माउवोटको छनौट गरिसकेपछि उक्त बोटबाट साइनस्टीक लिनु पर्दछ । साइन स्टीक लिनको लागि गतवर्ष पलाएको हाँगा छान्नु पर्दछ । हांगा छान्दा बड पोटीलो भएको, रोग किरा मुक्त हांगा छान्नुपर्दछ । साधारणतया पेन्सील आकारको १.५–२ फिट लम्वाइको साइनस्टीक सिकेचरले काटी, मुठा बनाई छहारीमा चिसो झ्याउले छोपी राख्नु पर्दछ । यसरी काटिएको साइनस्टीकबाट बड लिई कलमी कार्य गर्नु पर्दछ । साधारणतया एक साइनस्टीकमा १०–१५ वटा सम्म बड लिन सकिन्छ । जसबाट त्यत्तिकै संख्याको स्टस्टकमा चिप बाडि· गर्न सकिन्छ ।

यसरी रुटस्टक र साइस्टीकको छनौट गरि सकेपछि साईनस्टीक बाट १–१.५ इन्च लम्वाईको त्रिकोण आकारमा पातलो काठ समेत आउने गरी बडिंग चक्कुको मद्दतले पोटीलो आख्ला (बड) लिनु पर्दछ । यसरी बड लिइ सकेपछि त्यत्तिकै साइज वरावर हुने गरी रुटस्टकमा ताछी टम्म मिल्ने गरी बड टांस्नु पर्दछ । साधारणतया चिप वडि· गर्दा करीव ६ इन्च जमिनदेखि माथि गर्न उपयुक्त हुन्छ । बड टांसी सकेपछि वडलाई नछोपिने गरी प्लाष्टीक टेप वा १५० देखि २०० गेज सम्मको प्लाष्टीकलाई रिवन आकारमा काटी वाध्नु पर्दछ । यसरी वाध्ने कार्य सकेपछि रुटस्टकको टुप्पालाई भांचिदिनु पर्छ जसले गर्दा रुटस्टक विरुवाको वृद्धि रोकिन जान्छ । माटोमा चिस्यानको मात्रा कायम राखी राख्न आवश्यकता अनुसार सिंचाईको व्यवस्था मिलाई राख्नु पर्दछ । यदि नर्सरी व्याड धेरै सुख्खा हुन गयो भने बडिंगको सफलता न्यून हुन जान्छ । यस बाहेक बडिंग गरेको स्थान देखि तल तथा माथिको भागमा पलाएका मुनाहरु १–२ दिन को अन्तरमा हेरी हटाईरहनु पर्दछ । यसरी रुटस्टकमा पलाएका मुनाहरु हटाउने कार्य निरन्तर रुपमा गरि रहनु पर्दछ । यसो गर्नाले टांसिएको बडबाट चाडो नयाँपालुवा आउन मद्दत पुग्छ । साधारणतया बडिंग कार्य गरेको करीब २०–३० दिन पछि उक्त बडबाट नयाँ मुना आउन सुरु गर्दछ ।

चिप बडिंग गर्ने समय र सफलता

माघको दोश्रो हप्ता देखि फाल्गुणको तेश्रो हप्ता सम्म उपयुक्त मौसमी अवस्था तथा उचित व्यवस्थापकिय कार्य समयमा नै भएमा ६०–८० प्रतिशत सम्म सफलता मिल्ने देखिन्छ | त्यस्तै फेव्रेवरी तेश्रो हप्तामा चिप वडि· गर्दा ९३ प्रतिशत सम्म सफलता प्राप्त भएको पाइएको छ ।

साइड ग्राफटीङ्ग

विभिन्न प्रकारको हुन्छन् जसमा साइड स्टब ग्राफटीङ्ग, साइड टंग ग्राफटीङ्ग, र साइड भिनियर ग्राफटीङ्ग पर्दछ । यस प्रकारको ग्राफटीङ्गमा साईनस्टीक (३–४ इन्च लामो, २–३ वटा पोटिलो बड भएको, पेन्सील साइजको, स्वस्थ्य) को टुक्रालाई रुटस्टकको साईडमा जोडिन्छ । साधारण तथा यस विधिवाट कलमी गर्दा साइन स्टीक भन्दा रुटस्टक केही मोटो हुनु पर्दछ ।

यो विधि अन्य फलफुल विरुवाहरुको उत्पादनमा व्यापक रुपमा प्रयोग भएता पनि लप्सीको उत्पादनमा भने ज्यादै न्यून सफलता (७ प्रतिशत) प्राप्त भएको देखिन्छ ।

टप वर्किङ्ग

यस विधिबाट पुराना नफलेका भाले बोटहरुलाई फल्ने गराईन्छ । यसबाट कृषक तथा सामुदायिक वन उपभोक्तहरुलाई ठूलो राहत मिल्ने देखिन्छ । नफल्ने ठूला विरुवाका हागाहरु काटी मसिना हागाहरु चारैतिर पर्ने गरी राखी ती हांगाहरुमा चिप बडिंग गराई पुनः १/२ बर्षमा नै फल्ने विरुवामा परिणत गर्न सकिन्छ । यो बिधि पुष्प विकास केन्द्र गोदावरीमा प्रयोगमा आई सफलता पूर्वक पुराना भाले बोटहरुमा फल फलाउने कार्य भई रहेको छ ।

जग्गा तयारी

विरुवा सार्ने समय

लप्सी हिउंदे फलफुल भएको हुदा विरुवा सार्ने उपयुक्त महिना पौष–माघ नै हो । यद्यपि विरुवामा पालुवा आउनु अगाढि सम्म यसलाई रोप्न सकिन्छ । तर जव विरुवामा पालुवा पलाउन सुरु गदर्छ, यस्तो अवस्थामा विरुवा सार्दा विरुवा मर्ने संभावना वढि हुने हुदा विशेष ध्याद दिनु आवश्यक देखिन्छ ।    हाल केही वर्ष यता हिउंदमा कृषकको मागलाई पुर्याउन नसक्दा पुष्प विकास केन्द्र लगायत केही निजी नर्सरी मा समेत पोलिव्यागमा लप्सीका, रुटस्टक सारी त्यसमा हिउंदमा कलमी गरी वर्षा याममा विरुवा उपलव्ध गराउन थालि सकिएको छ । यसले बढि सुख्खा हुने क्षेत्रका कृषकहरुलाई हिउदमा विरुवा नसारी वर्षयाममा विरुवा सार्न सक्ने सुबिधा प्रदान गरेको छ । जसले गर्दा हिउंदमा सुख्खा भई बिरुवा नसर्ने समस्याको केहि हदसम्म समाधान हुन गएको छ । तर विरुवा ढुवानीमा भने हिउंदको तुलनामा बढी खर्च लाग्ने हुन्छ ।

खाडलको तयारी

लप्सी हिउदे फलफुल भएको हुदा सर्वप्रथम रेखाङकन गरी खाडल खन्ने काम कात्तिक महिनामा नै सम्पन गरिसक्नु पर्दछ । खाडल खन्दा ३ फीट गहिरो ३ फीट चौडा गोलो हुने गरी खन्नु पर्दछ यसरी खनिएको खाडलमा कम्तीमा १ डोको पाकेको गोवरमल सतहको माटोमा मिसाई खाडल पुर्न पर्छ र खाडल भर्दा करीव छ इन्च उचाई हुने गरि माटो भर्नु पर्दछ । यदि खाडल खन्दा माटोमा किरा देखिएमा खाडल भर्दा १–२ चम्चा किटनाशक धुलो विषादी माटोमा मिसाइ भर्नु पर्दछ ।

 

विरुवा सार्ने तरीका तथा दुरी

विरुवा सार्ने तरीका

लप्सीका विरुवा विभिन्न बिधिबाट लगाउन सकिन्छ । यदि लगाउने जग्गा समथर छ भने वर्गीकार बिधीबाट लगाउनु बेश हुन्छ, तर यदि जग्गा भिरालो, छ भने कन्टुर बिधिबाट लगाउनु उपयुक्त मानिन्छ ।

विरुवा सार्ने दुरी

साधारणतया लप्सीको विरुवा अन्य फलफुलको तुलनामा पछि गएर ठूलो हुने हुदा एक बोट देखि अर्को बोटको दुरी कम्तीमा १०–१२ मीटर हुनु आवश्यक छ । बिरुवाको आकार उपयुक्त राख्न वर्षेनी काटछांटको व्यवस्था गर्नु अनिवार्य हुन्छ ।

विरुवाको संख्या

विरुवा सार्दा विरुवाको दुरी साधारणतया अन्य फलफुलको तुलनामा केही बढि राख्नु पर्ने भएको हुदा प्रति हेक्टर १००–१२० बोट सिफारिस गरिएको छ, जसले गर्दा प्रति रोपनी ५–६ बोट मात्र अटाउंछ ।   विरुवा सार्दा कम्तीमा १०–१५ प्रतिशत भाले बोट पनि सार्नु अनिवार्य छ, किनकि लप्सीमा भाले र पोथी छुट्टा-छुट्टै विरुवा हुने हुदा भाले बोटमा फल लाग्दैन । भाले बोटले पोथी बोटलाई परागकण उपलव्ध गराउंदछ । परागसेचन कार्य हावा तथा किराहरुको मद्दतबाट हुने हुदा बगैचामा मौरी घार राख्ने व्यवस्था मिलाउनु पर्दछ । यदि आफनो बारी नजीक आसपासमा भाले लप्सीका बोटहरु छन् भने बगैचामा भाले लप्सीका बोटको त्यति जरुरत पर्दैन ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद व्यवस्थापन

मलखाद

लप्सी खेतीवाट राम्रो उत्पादन लिन प्राङगरिक तथा रासायनिक मलको आवश्यक पर्दछ ।

प्राङगरिक मल

लप्सीको बिरुवा अन्य फलफुल बिरुवा भन्दा छिटो बढने हुन्छ । साधारणतया विरुवाले फल दिन सुरु गर्नु अगाडी प्रतिवर्ष १ डोका मल र फल दिन सुरु गरेपछि २ डोका मल प्रतिवोट प्रतिवर्ष दिनु पर्दछ ।

रासायनिक मल

विरुवाको उचित वृद्धी र विकासको लागि प्राङगरिक मलले मात्र नपुग्ने हुदा बर्षेनी सिफारिस गरिएको मात्रामा रासायनिक मल दिनु पर्दछ । यसको लागि निम्नानुसारको मल र मात्रा सिफारिस गरिएको छ|

सिफारिस मात्रा

विरुवाको उमेर  

रासायनिक मल (ग्राम)

(वर्ष)

नाइट्रोजन

फस्फोरस

पोटास 

१००

७५

३०

१५०

१००

५०

२००

१२५

७५

२५०

१५०

१००

३००

२००

१२५

७ वा बढी उमेरको

३५०

२५०

१५०

 

मल हाल्ने समय र तरिका

साधारणतया गोडमेल कार्य हिउंदमा गरिसकेपछि मल हाल्नु पर्दछ । कम्पोष्ट मल हाल्दा खनजोत गरिएको बेसिनको माटोलाई हल्का खुकुलो बनाई माटो भित्र मिसाउनु पर्दछ भने रासायनिक मललाई बोटको फेद र छेऊ किनारा सम्मको दुरी को बीचको भागमा करीब १५२० से.मी.चौडाइ र गहिराई भएको कुलेसो बनाई औठी आकार तरीकाले मल हाल्नु पर्दछ ।

सिंचाई र निकास

सिंचाई

साधारणतया विरुवा सारेको सुरुको अवस्थामा नियमीत रुपमा सिंचाइको आवश्यकता पर्दछ । विरुवा सरिसकेपछि तथा वर्षा मौसममा सिंचाईको आवश्यकता त्यति पर्दैन तर ज्यादा सुख्खा मौसम (चैत्र– जेष्ठ), फुल फल्ने बेला, फल लाग्ने बेला संभव भए सम्म सिंचाई दिनु पर्दछ, त्यति बेला सिंचाई भएमा फल बढि लाग्ने, कम झर्ने, फल ठूलो लाग्ने हुन गई उत्पादनमा अत्याधिक बृद्धि हुन जान्छ ।

निकास

बगैचामा पानी जम्ने समस्या आइपरेमा विरुवाको जरा कुहिन गई बोट पहेलिदै अन्त्यमा मर्न जान्छ, यस बाट बचाउनको लागि बगैचामा उचित निकासको बन्दोबस्त गर्नु पर्दछ ।

गोडमेल

फल टिप्ने कार्य गरिसकेपछि बिरुवा काटछांट गरी पौष–माघ महिनामा गोडमेल गरी झारपात हटाउनु पर्दछ । गोडमेल गरी मलखाद राखी चिस्यान कायम राख्न मलचीङ अनिवार्य गर्नु पर्दछ, यसरी मल्चीङ गर्दा चिस्यान मात्र कायम नरही झारपात नियन्त्रण हुनुको साथै बिरुवालाई खाद्य तत्व समेत थप हुन जान्छ।

तालिम तथा काटछांट

खास गरि लप्सीको बोटलाई परिवर्तित केन्द्रिय अगुवा प्रणाली अनुसार तालिम दिई काटछांट गर्नु पर्दछ । तालिमले बिरुवालाई आफुले चाहेको आकार प्रकारमा लैजान मद्दत गर्दछ ।   सुरुमा नयाँ विरुवा सार्दा यदि विरुवा अग्लो छ भने ५०–६० से.मी.मा टुप्पो काटिदिने जसले गर्दा काटिए भन्दा तलको आख्लाबाट नयां हांगा आउन सुरु गर्दछ । सुरुमा ३–४ वटा सहायक हांगाहरु राखी अरु हांगाहरु हटाउनुपर्छ ४ वर्ष भित्रमा बिरुवालाई तालिम दिने कार्य सकेर ढांचा बनाउने प्रारम्भिक र सहायक हांगाहरुको चयन गरी सक्नु  पर्छ ।

सुरुमा १–२ बर्षसम्म कलमी गरेको जोर्नी भन्दा तल पलाएमा मुनाहरु समय समयमा हेरी हटाउनु पर्दछ, यदि कलमी भन्दा तलको मुनाहरु वढन गएमा कलमी हागा मर्न जान्छ । जसले गर्दा कृषकहरुलाई ठूलो मर्का पर्न जान्छ । त्यसैले सुरुका बर्षहरुमा व्यवस्थापन पक्षलाई निकै ध्यान दिनु पर्दछ । विरुवाको काटछाट गर्ने कार्य नियमित रुपमा वर्षेनी हिउंद महिना (पौष– माघ) मा गर्नु पर्दछ । साधारणतया काटछांट गर्दा अनावश्यक हागांविंगा, रोगकिरा लागेका हागांविगांहरु, फेदबाट पलाएका हागांविंगा, भांचिएका हांगाविंगा, हटाउनु पर्दछ । यसरी हटाई सकेपछि उक्त काटिएको स्थानमा वोर्डोपेष्ट बनाई लगाउनु पर्दछ । वोडोपेष्ट बनाउन १:२.५:१० भाग क्रमशः निलो तुथो, चुना र पानी प्रयोग गरिन्छ ।

रोग व्यवस्थापन

कालो  थोप्ले रोग (Anthracnose) 

 यो पात तथा फलमा लाग्ने दुसीबाट हुने रोग हो, सुरुमा पात तथा फलमा कालो थोप्ला देखिन्छ पछि रोगको आर्कमण बढदै गएपछि पात तथा फलहरु कलिलैमा झर्ने फलमा काला थोप्लाहरु प्रसस्त देखिई फलको गुदी पुष्ट नभई सुक्न जान्छ ।

रोकथाम

  • डाइथेल एम–४५ २.५ ग्राम प्रतिलिटर पानीमा मिलाई स्प्रे गर्ने ।
  • वोर्डो मिक्चर १ प्रतिशत हिउदमा पात मmरेको बेलामा १ पटक, कोपिला पलाउने बेलामा १ पटक, र फल लागेपछि १ पटक छर्ने।

किरा व्यवस्थापन

लप्सीको गवारो

गवारोले लप्सीको ठूला हांगाहरु फेद तथा नर्सरीमा रहेका विरुवाहरुको डा“ठमा प्वाल पारी नोक्सानी पुर्याउंछ । यसले ठूलो लप्सीको बोटहरुमा तुरुन्तै असर नदेखियता पनि नर्सरीका साना विरुवाहरु भने तुरुन्तै असर देखाउंछ, गवारो लागेपछि पात पहेलिने, पात झर्ने, सुक्ने र अन्त्यमा मर्ने हुन्छ ।

रोकथाम

यो किरा हांगा भित्र प्वाल बनाई बस्ने हुदा रोकथाम गर्न ज्यादै कठिनाई हुन्छ । जव यो वयस्क भएर वाहिर निस्कन्छ उक्त समयमा यसलाई मार्न सकेमा मात्र यसको रोकथाम हुन सक्दछ । हांगा भित्र रहेको लार्भा लाई मार्नको लागि निम्न उपायहरु गर्न सकिन्छ ।

  • प्वाललाई सफा गरी, मसिनो तार प्वाल भित्र छिराई घोचेर मार्न सकिने संभावना रहन्छ ।
  • प्वाल भित्र मटिृतेल/नुभान आदिलार्ई कपासमा चोपि त्यसलाई तारको सहायताले भित्र धकेली प्वाल भित्र छिराउने र प्वाललाई चिम्टाइलो माटोले बन्द गरिदिने, र त्यसको वेला बेलामा निरीक्षण गरिरहने । यति प्वाल पुनः खोलेको भेटिएमा किरा नमरेको हुदा पुनः उक्त कार्य दोहोराउने ।
  • यदि किराले धेरै नोक्सान पुर्याई हागा धेरै कमजोर भएको छ भन्ने लागेमा हांगा नै काटी जलाउनु उपयुक्त हुन्छ ।
  • बगैचालाई सधै सफा राख्ने, बोर्डोपेष्ट लगाउने आदी गर्नुपर्दछ ।

बाली कटानी तथा भण्डारण

फल टिप्ने समय र तरिका

फल टिप्ने समय

फलको रंग जव पहेंलो हुन थाल्दछ तव फल टिप्नको लागि उपयुक्त हुन्छ । साधारणतया कार्तिक–मंसिर महिना फल टिप्न योग्य भएता पनि कृषकहरुले बजारको मागलाई ध्यानमा राखी भाद्र महिना देखि नै फल टिपी विक्री गर्न सुरु गरेको पाईन्छ । तर पनि फल टिप्ने कार्य बजारको माग, बजारको दुरी, ताजा विक्री गर्ने वा परिकारहरु बनाई विक्री गर्ने भन्ने कुराहरुमा निर्भर रहेको पाईन्छ ।

फल टिप्ने तरीका

लामो वांस वा निगालोको सहायताले फल टिप्ने चलन रहि आएको पाईन्छ । फल टिप्दा दाना चोट पटक लागी नबिग्रीयोस नहराओस भन्नाको लागि जमीनमा प्लाष्टीक, वा कपडा बिछ्याई टिप्नु उपयुक्त हुन्छ ।

उत्पादन तथा भण्डारण

उत्पादन

वयस्क बोटबाट औसत २०० के जी प्रति वोट उत्पादन हुन्छ ।

भण्डारण

लप्सीका दानाहरु साधारणतया ३ हप्तासम्म त्यत्तिकै छायांदार कोठामा फिजाएर राख्न सकिन्छ ।

उत्पदनोप्रान्त गरिने क्रियाकलापहरु

लप्सीको अचार

नेपाली समाजमा लप्सीको अचार बनाई खाने चलन धेरै पहिले देखि रहदै आएको पाइन्छ । राम्रो संग तयार गरिएको अचार लामो समय सम्म राख्न सकिने हुन्छ । यसको प्रयोग नेपाल वाहेक सिक्कीम, दार्जलि·, आदिमा समेत रहेको पाईन्छ । आवश्यक सामाग्रीहरु आवश्यक सामाग्रीहरु आवश्यक सामाग्रीहरु आवश्यक सामाग्रीहरु आवश्यक सामाग्रीहरु

  • पाकेको लप्सीको गुदी – १ केजी
  • चिनी – १ केजी
  • पानी– आधा लिटर
  • ल्वांग, अलैंची, दालचिनी, सुकुमेल, २/२ ग्राम
  • अदुवाको रस – आधा ग्राम
  • सामाग्रीहरु तयार पारीसकेपछि एउटा भांडोमा माथि उल्लेखित चिनी पानी पकाएर चास्नी तयार गर्ने ।
  • चास्नीलाई पातलो सफा कपडाले छान्ने ।
  • चास्नीमा लप्सीको गुदी तथा अन्य मरमसलाहरु राखि १०/१५ मिनेट सम्म चलाउंदै पकाउने ।
  • यसरी तयार भएको अचारलाई सफा वोतलमा भरेर राम्रोसंग वन्द गर्ने । यसरी तयार पारीएको अचार लामो समयसम्म सुरक्षित राख्न सकिन्छ ।
लप्सीको माडा

आवश्यक सामग्रीहरु

  • पाकेको लप्सी – आवश्यकता अनुसार
  • एल्मोनियम/स्टील को डिक्ची – आवश्यकता अनुसारको
  • सर्वप्रथम पाकेको लप्सीलाई राम्रोसंग सफा गरी स्टील वा एल्मोनियम डिक्चीमा पानी राखी उमाल्ने
  • यसरी उमाली सकेपछि, त्यसलाई बोक्रा, बिंया अलग गरी गुदीलाई छुट्टै राख्ने
  • त्यसपछि १ केजी गुदी, १ केजी चिनी, नुन, तथा अन्य मरमसला आवश्यकता अनुसार राख्ने र राम्रोसंग मुछने ।
  • यसरी तयार पारिएको गदीलाई सफा भाडोमा पातलो हुने गरी फैलाएर राख्ने र घाममा सुकाउने, घाममा सुकाउदा वाहिरको धुलो मैलो नटासियोस भन्नाको लागि सफा सेतो कपडाले माडालाई छोपी सुकाउनु पर्छ।
  • सुकेको माडालाई आवश्यकता अनुसारको टुक्रा बनाई प्लाष्टीक प्याकीङ्ग गरी बजारमा विक्री गर्न सकिन्छ ।

लप्सीको माडा खास गरि काठमाण्डौ उपत्यकामा परम्परा देखि नै बनाउदै आएको पाईन्छ । खास गरी ग्रामीण समाजमा यसले ज्यादै महत्व राखेको पाईन्छ तर यसलाई तयार पार्ने सुकाउने कार्यमा सरसफाईको पक्षलाई कमै ध्यान पुर्याएको देखिन्छ जसले गर्दा माडाको गुणस्तरमा कमी आउनुको साथै लामो समय सम्म राख्नमा समस्या देखिन्छ । हुन त हाल आएर यसमा निकै सुधार भइ रहेको पाइन्छ ।

अन्य घरेलु परिकारहरु
  • पाकेको लप्सीलाई पानीमा उमाली तेल, मरमसला आदी राखी अचार बनाई तत्काल खानको लागि प्रयोग गरेको पाइन्छ ।
  • त्यस्तै गरी उसिनेको लप्सीलाई चिनी/भेलीको चास्नीमा डुवाई, आवश्यक मरमसालाहरु राखी डिव्बावन्दी गरी केही समय पछि खानको लागि प्रयोग गरिन्छ ।
  • लप्सीलाई भित्रको विया हटाई सुकाई अमिलो अचारको रुपमा अन्य परिकारमा मिसाई खाने प्रचलन पनि नेपाली समाजमा रहेको पाईन्छ ।

हाल आधुनिक प्रविधिको प्रयोग गरी पाऊ केण्डी तितौरा, आदि बनाइ बजारमा विक्रीको लागि राखिएको पाईन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

उन्नत लप्सी खेती

महेन्द्रराज कौडाल

वागवानी विकास अधिकृत