परिचय

परिचय

अंगुर एक बहूपयोगी,लोकप्रिय,स्वादिष्ट र पोषण तत्वले भरिपूर्ण भएको फल हो । यो  बहूवर्षिय, लहरा जाने र पतझड बर्गमा पर्ने बाली हो । तराई देखि उच्च पहाडसम्म खेती गर्न सकिने एक मात्र फलफूलमा अंगुर पर्दछ ।

यसको उत्पती दक्षिण पूर्वि एसियाको भूमध्यसागरिय क्षेत्र (Mediterranean region) र  अमेरिकी महाद्विपमा भएको मानिन्छ । इजिप्टमा ६ हजार बर्ष पहिले देखि यसको खेती भएको इतिहासमा उल्लेख गरिएको छ । यसको अंग्रेजी नाम Grape र वैज्ञानिक नाम Vitis vinifera, labrusca हो । विश्वको हरेक राष्ट्रमा अंगुर खेती गरिएको पाईन्छ ।

उपयोग

अंगुर एक स्वादिष्ट फल भएकोले यसलाई विभिन्न किसिमले उपयोग गर्ने गरिन्छ । यसलाई ताजा फल देखि सुख्खा फल (दाख), जुस, वाईन, ब्राण्डी र जेलीको रुपमा उपयोग गरिन्छ ।

अंगुरमा पाईने तत्व (प्रति १०० ग्राम फलमा)

खान योग्य पदार्थ ९५ प्रतिशत

पानी ८५ ग्राम

कार्बोहाइड्रेट १३.१ ग्राम

रेशा २.८ ग्राम

खनिज तत्व ०.९ ग्राम

क्यालोरी ५८ आई.यू.

फस्फोरस २३ मि.ग्रा.

क्यालसियम २० मि.ग्रा.

फलाम ०.५ मि.ग्रा.

प्रोटिन ०.६ मि.ग्रा.

चिल्लो पदार्थ ०.४ मि.ग्रा.

भिटामिन सी १ मि.ग्रा.

क्यारोटिन ३ मि.ग्रा.

थायमिन ०.०४ मि.ग्रा.

रिवोफ्लोविन ०.०३ मि.ग्रा.

नाईसिन ०.२ मि.ग्रा.

जातहरु

यूरोपियन समूह (Vitis vinifera)

यस समूहको उत्पतीस्थल दक्षिण पूर्वि एसियाको भूमध्यसागरिय क्षेत्र (Mediterranean region) मा भएको मानिन्छ । यस समूहमा पर्ने अंगुरका जातहरु गर्मी हावापानी, सुख्खा क्षेत्र, कम पानी पर्ने क्षेत्र अनुकुल हुने गर्दछ ।

यस समूहका अंगुरहरु उपरोक्त हावापानीमा सफल रुपमा खेती गर्न सकिन्छ र Powdery mildew, Downy mildew, Anthracnose जस्ता रोग र Phylloxera नामक किरा नलाग्ने हुन्छ ।

यस समूहका अंगुरका जातहरु:

Thompson seedless, Bedana, Perlet, Sultana, Dakh, Aneb-e-shahi, Kandhari, Blackprince, Muscat Alexandria

अमेरिकन समूह (Vitis labrusca)

यस समूहको उत्पतीस्थल अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको हो । यस समुहको अंगुरले चिसो सुख्खा सहने, बढी वर्षा तथा आद्रता सहन सक्ने हुन्छ । यस समूहको अंगुरमा cutting बाट पनि जराको राम्रो विकास हुने विशेषता पाईन्छ भने phylloxera किरा सहन नसने हुन्छ ।

यस समूहका अंगुरका जातहरु:

Delaware, Cambell early, Tanored

वर्णशंकर समूह (Hybrid group)

Vitis vinifera का जात र Vitis labrusca का जातहरुबाट विकशित गरी निकालिएका वर्णशंकर जातहरु यो समूहमा पर्दछन । यो समूहका जातहरु धेरै प्रख्यात छन । यसका विशेषतामा चिसो सुख्खा सहने, गर्मि तथा चिसो स्थानमा पनि खेती गर्न सकिने, धेरै वर्षा तथा बढी आद्र्रता भएका क्षेत्रमा पनि खेती गर्न सकिने भएकाले अंगुर खेतीको ब्यापकता बढ्दै गएको छ ।

यस समूहका अंगुरका जातहरु:

Himrodseedless,Steuben,Kyoho,Muscat bailey A, Black olympia, Red ;dlztf]i0f kmnk"mn v]tL k|ljlw 57 olympia,Neo muscat,Hiro hamburg

आवश्यकता

जलवायू

पतझड फलफूल वर्गमा पर्ने समशितोष्ण हावापानीमा लगाईने बाली (Sub-tropical fruit) भएता पनि समुन्द्री सतह देखि उच्च पहाडी भाग (Temperate zone) सम्म पनि खेती गर्न सकिने एक मात्र फलफुल बाली हो । तर यसो भन्दैमा जुनसुके ठाँउमा जुनसुकै जात लगाउन चाँही हुदैन । यसको बर्गिकरण्को आधारमा ठाँउ अनुसारको हावापानीमा जातहरुको छनौट गर्नु पर्दछ । तथापी अत्यधिक बर्षा र उच्च आद्रता हुने स्थानमा अंगुर खेती गर्दा रोगको चुनौती आई पर्दछ । त्यसैले सफल अंगुर खेतीको लागी कम वर्षा, छोटो जाडो (Short winter period), लामो सुख्खा समय (long dry period) भएको स्थान वा क्षेत्र उपयुक्त मानिन्छ । त्यसैले नेपालको परिवेशमा पूर्वि नेपाल भन्दा पश्चिम नेपाल अंगुर खेतीको लागी उपयुक्त क्षेत्र मानिन्छ ।

माटो

अंगुर खेतीको लागी प्राङ्गारिक पर्दाथ (organic matter) प्रशस्त भएको बलौटे दुमट (sandy loam) माटो देखि गेग्रेन बलौटे (gravel sandy), दुमट चिम्ट्याईलो (loamy clay) माटो पानी नजम्ने माटोमा सफलतापूर्वक खेती गर्न सकिन्छ तर अती चिम्ट्याईलो (heavy clay) माटो र पानी जम्ने सीम माटो अंगुर खेतीको लागी अनुपयुक्त हुन्छ । अंगुर विरुवाले अम्लिय (acidic) माटो भन्दा हलुका क्षारिय माटो (slightly alkaline) माटो मन पराउदछ । माटोको pH 5-7 सम्म राम्रो मानिन्छ ।

नर्सरी व्यवस्थापन

विरुवा प्रसारण (Propagation)

अंगुरको विरुवा निम्न विधिबाट प्रशारण गरी विरुवा उत्पादन गर्ने गरिन्छ ।

१. हार्ड उड् कटिङ्

२. टङ्ग ग्राफ्टीङ्ग

३. ग्रिन उड् ग्राफ्टिङ्ग

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

मलखादले विरुवालाई स्वस्थ र बलियो, दिर्घायू बनाउनु का साथै फलको गुणस्तर तथा उत्पादन उत्पादकत्वमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले सिफारिस गरेको मलखादको मात्रा अनिवार्य प्रयोग गर्नु पर्दछ ।

कम्पोस्ट: ३० के.जी. प्रति बोट

नाइट्रोजन: ७६० ग्राम प्रति बोट

फोस्फोरस: २४५ ग्राम प्रति बोट

पोटासियम: ४१६ ग्राम प्रति बोट

सिंचाई

अन्य फलफुल खेतीको तुलनामा अंगुर खेतीमा न्यून सिंचाईको सुविधाले पुग्दछ । तर पनि अंगुरको विरुवाको जरा धेरै गहिरो नजाने भएकाले चिस्यानको ख्याल गर्नु पर्दछ ।

मुख्य दुई अबस्थामा, पालुवा तथा फूल फुल्ने समय र फलको बृद्धि अबस्थामा सिंचाईको अनिवार्यता रहन्छ तर फल पाक्ने बेलामा सिंचाई दिनु हुदैन । हिंउद र वर्षा मौसममा सिंचाईको आवश्यकता पर्दैन ।

गोडमेल

अंगुर बगैचामा झारपात बाक्लो भएमा हावा र प्रकाश राम्रोसंग संचार हुन पाउदैन जसले गर्दा रोग र किराको आश्रयस्थल बन्न पुग्दछ र समस्या निम्तिन सक्दछ । त्यसैले बगैचा हमेसा सफा भई रहनु पर्दछ । बगैंचा सरसफलाईको लागी दुई तरिका अवलम्बन गर्न सकिन्छ ।

(क) Clean culture: खासगरी समथर जग्गामा अंगुर बगैचा लगाईएको स्थानमा झारनाशक विषादी प्रयोग गरेर बगैचाको सरसफाई गर्न सकिन्छ । विशेषगरी झारनाशक विषादीको प्रयोग वसन्त र वर्षा (spring and summer season) मा मात्र गर्नु उपयुक्त हुन्छ । यसका लागी glyphosate वा Diquat/Paraquat नामक झारनाशक विषादी प्रति लिटर पानीमा ५ मि.लि. का दरले घोली अंगुरको पातमा नपर्ने गरी छर्नु पर्दछ ।

(ख) Sod culture: भिरालो किसिमको जग्गामा अंगुर बगैंचा लगाईएको स्थानमा यो विधि अपनाउने गरिन्छ । यस विधिमा बोटको वरिपरि मात्र घाँस उखेली बाँकी घाँसको चउरलाई खनजोत नगरीकन घाँस काट्ने मेशिन वा हसियाँले मसिनो गरी काट्ने गरिन्छ ।

यस तरिकाबाट भिरालो जग्गामा भूक्षय तथा भूस्खलन हुन पाउदैन साथै झारपातको अवशेषहरु त्यही कुहिने भएकाले माटोको भौतिक सुधार पनि हुन जान्छ । तर जिउदा झारका जराहरुले पानी र पोषण तत्वहरुमा प्रतिस्पर्धा हुन जान्छ ।

बिरुवाको लहरालाई व्यवस्थापन (Trellising system)

अंगुरको बोट लहरा जाने प्रकृतिको भएकोले लहरा ब्यबस्थित गर्नु अनिबार्य हुन्छ । यदी लहरा व्यवस्थित नगर्ने हो भने फल गुणस्तरहीन हुनुका साथै उत्पादनमा पनि एकदम ह्रास आउँदछ । त्यसैगरी आफ्नो आर्थिक क्षमता र फलको प्रयोजनका हिसाबले पनि अंगुर बगैचा लगाउने तरिका र त्यसलाई तालिम दिने तरिकाहरु फरक फरक हुन्छन् ।

(१) खम्बा प्रणली (Pole system)

यस किसिमको प्रणालीमा फलाम वा काठ वा बाँसको खम्बा प्रयोग गर्न सकिन्छ । खम्बाको लम्बाई २.५मि. बनाई आधा मिटर जमिनमा गाड्नु पर्दछ । यसमा जति वटा बिरुवा त्यत्तिनै खम्बाको आवश्यकता पर्दछ । खम्बामा नै अंगुरका लहरा बाध्दै जान पर्दछ । यो प्रणालीमा छोटो लहरा बढ्ने जातहरु जस्तै स्टूवेन, परलेट, थम्पसन, बफेलो, डेलावेर जस्ता जातहरु लगाउन सकिन्छ । त्यसैगरी ताजा खाने फल उत्पादन भन्दा प्रशोधन गरिने जातहरु यो प्रणालीमा लगाईन्छ ।

खम्बा देखि खम्बाको दूरी : २ मि.

विरुवा देखि विरुवाको दूरीः २ मि.

एक लाईन देखि अर्को लाईनको दूरी २.५ मि.

(२) टेलिफोन प्रणाली (Telephone system)

खम्बामा टेलिफोन तार जस्तै तन्काईने भएकाले टेलिफोन प्रणाली भनिएको हो । यो सरल, प्रभावकारी र कम खर्चिलो विधि हो । खम्बाको लम्बाई २.५ मि. बनाई आधा मिटर जमिनमा गाड्नु पर्दछ । प्रत्येक ८ मि.को दूरीमा पोल गाडी ४ तह (layer step) मा ५० से.मि.को फरकमा १० गेजको ग्याल्भनाईज तारलाई तनक्क तन्काउने । यी तारमा नै अंगुरका लहरा व्यवस्थापन गर्नु पर्दछ ।

खम्बा देखि खम्बाको दूरी : ८ मि.

विरुवा देखि विरुवाको दूरीः ४ मि.

एक लाईन देखि अर्को लाईनको दूरी २ मि.

(३) निफिन वा न्यूमून्सन प्रणाली (Kniffin or Nu-munson system)

यस प्रणालीमा पनि काठ वा बाँस वा फलामका खम्बाबाट नै तैयार गरिन्छ । काठलाई Y आकारको बनाई गाडिन्छ र तारलाई चाँही V आकारमा तन्काईन्छ । यो तरिकामा अंगुरका लहरालाई दाँया बाँया लर्काईन्छ । यस तरिकाबाट फलको गुणस्तर पनि राम्रो र उत्पादन बढी लिन सकिन्छ ।

(४) छाना प्रणाली (Flat roof system)

अंगुर खेतीको लागी यो सबैभन्दा लोकप्रिय र प्रभावकारी प्रणाली हो । यस प्रणालीमा शुरुको लगानी बढी भएता पनि लामो समयसम्म टिकाउ हुने हुँदा फायदामूलक नै हुन्छ । यस तरिकामा जमिनबाट ६फिटको उचाईमा फलामको खम्बाको सहायतामा ५०-५० से.मि.को फरकमा ८ र १२ गेजका जिआई तारले जालो बनाई त्यसैमाथी अंगुरका लहराहरु फैलाईन्छ । विशेषगरी यो प्रणालीमा मजबुत जातका अंगुरहरु लगाईनुका साथै यसबाट फलको गुणस्तर र अधिक उत्पादन गराउन सकिन्छ ।

अंगुरको काँटछाँट (Pruning of vines or cane management)

अंगुर एउटा यस्तो बाली हो ,जुन काँटछाँट बीना न गुणस्तर उत्पादन गर्न सकिन्छ न उत्पादन नै लिन सकिन्छ । त्यसैले हरेक हिँउदमा अनिबार्यरुपमा काँटछाँट गर्नु पर्दछ । काँटछाँट गर्दा पुरै बोटको तीन भागको दुई भाग लहरा हटाउनु पर्दछ अर्थात ६० प्रतिशत काँटछाँट गरी हटाउनु पर्दछ । तर जात अनुसार कतिवटा मूना (spur) राख्ने भन्ने ख्याल गर्नु पर्दछ । जस्तै, धेरै लहरा नबढ्ने जातको (dwarf type) छ भने २ वटा मूना, मध्यम बढ्ने (semi-vigorous) जातको ४ देखि ६ वटा र धेरै बढ्ने (vigorous) जातलाई ६ देखि १४ गोटासम्म मूना (spur) राख्नु पर्दछ । पुरानो हाँगालाई विस्थापन गरी नयाँ हाँगा तैयार गर्नु (Replacement Management) पर्दछ । यो महत्वपूर्ण प्रविधि हो ।

फलको गुणस्तर सुधार्ने उपायहरु

(क) विरुवाबर्धक रसायन प्रयोग: दानामा वियाँ रहीत बनाउन र दानाको आकार बढाउनको लागी Gibberellic Acid (GA3) नामक रसायन प्रयोग गर्ने गरिन्छ । यसका लागी 100 ppm (100mg GA and 1000ml water) को घोलमा अंगुरको झुप्पाको फूल फक्रिनु भन्दा दुई हप्ता अगाडी र पूर्णरुपमा फूल फूलीसके पछि एक पटक गरी जम्मा दुई पटक यो रसायन प्रयोग गर्नु पर्दछ ।

(ख) समग्र विरुवा व्यवस्थापन: अंगुर फलको गुणस्तर सुधार्नको लागी महत्वपूर्ण कार्यहरु अबलम्बन गर्नु पर्दछ त्यसका लागी अंगुरको झुप्पा छटाई (cluster pruning), दाना छटाई (berry thinning), लहराबाट आएको नग्रा (tendril), एउटै आख्लोबाट पलाएको अनाबश्यक पालुवा (shoot), र लहराको आख्लाबाट पुनः पलाएको हाँगा (side shoot) हरु पनि अनिवार्य रुपमा हटाउनु पर्दछ ।फलको गुणस्तर बढाउन प्रत्येक झुप्पालाई कागजको थैलोले छोप्नु पर्दछ ।

(ग) प्लाष्टिकले ढाक्ने: खुला रुपमा अंगुर खेती गरेका स्थानमा फल पाक्ने बेला बर्षात्ले गर्दा रोगको प्रकोप आउँदछ जसले गर्दा उत्पादनमा ठूलो क्षती पुर्याउँदछ यस समस्याबाट बचाउनको लागी फल टिप्नुभन्दा १-२ महिना अगाडी देखि ल्पाष्टिकले ढाक्ने गरिएमा आई पर्ने क्षतीबाट बचाउन सकिन्छ ।

रोग व्यवस्थापन

प्रमुख रोगहरु

1. Anthracnose 2. Botrytis 3. Powdery mildew 4. Downy mildew

किरा व्यवस्थापन

प्रमुख किराहरु

1.Mites 2. Thrips 3. Grape borer 4. Leaf hopper 5. Mealy bug 6. Grape phyiioxera 7. Swift moth 8. Grape vine caterpillar 9. Flea beetles 10. White grove

बाली कटानी तथा भण्डारण

अंगुर टिपाई (Harvesting)

अंगुरको टिपाई गर्ने समय ,अंगुरको जात, लगाईएको स्थान (भौगलिक क्षेत्र, मोहडा) ले गर्दा टिप्ने समय फरक पर्दछ । साथै अर्को महत्वपूर्ण र विचार पुर्याउनु पर्ने अवस्था भनेको अंगुर non-climacteric fruit भएकाले बोटमा नै पूर्ण रुपमा पाके पछि मात्र टिप्नु पर्दछ, अन्यथा फल गुलियो हुदैन ।

उत्पादन

अंगुर खेतीको उत्पादन उत्पादकत्वमा अती नै विविधता पाईन्छ । किनकि यसको जातीय गुणको विविधता, खेती गरिने स्थान (खुल्ला वा ग्रीन हाउस), खेतीको उदेश्य, र खेती गर्ने प्रणालीको फरकताले गर्दा उत्पादनमा धेरै भिन्नता पाईन्छ । विभिन्न देशको उत्पादकत्वको तथ्याड्ढ हेर्ने हो भने ११ मे.ट. देखि ७५ मे.ट. प्रति हेक्टरसम्म रहेको पाईन्छ ।

भण्डारण

ताजा फललाई खुलारुपमा अर्थात बाह्यवातावरणमा धेरै लामो समय राख्न सकिदैन । यसरी राख्दा फलहरु गीलो भई झुप्पाबाट झर्न थाल्दछ तर शित भण्डारणमा ० डिग्री से. र ८० प्रतिशत सापेक्षित आर्द्रतामा ३० देखि५० दिनसम्म भण्डारण गर्न सकिन्छ । तर प्लाष्टिक वा पेपरमा बेरेर (wrapping) बढीमा तीन तहसम्म मात्र खप्टाएर कार्टुन बाकसमा प्याकिङ् गर्नु पर्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सामग्री

अंगुर खेती प्रविधि
धन बहादुर थापा
फलफूल विकास अधिकृत
फलफूल विकास निर्देशनालय