परिचय

परिचय तथा महत्व

अंग्रेजी नाम - Indian Gooseberry

वैज्ञानीक नाम - Emblica Officinalis

परिवार - Euphorbiaceae

अमला मध्यम पतझड प्रजातीको करिब १३–२० मीटर सम्म अग्लो हुन सक्ने, खुल्ला र पारिलो ठाँउमा हुर्कने रुख हो । यस विरुवाको मसीना साना साना १ देखि २ से.मि. लामापातहरु डाठको दुवैतिर लहरै मिलेर रहेका हुन्छन् । यसका पातहरु कार्तिक–मसिंर महिना बाट झर्न सुरु गरि फागुन सम्म पुरैबोटका पातहरु झरी सक्दछन् र पालुवा आउन सुरु हुन थाल्दछ । फुलहरु साना केहि पहेला रबका वास्नादार, एक्लै वा पातको हाँगाको फेदमा झुप्पा भएर रहेका हुन्छन् । फलहरु गोलो आकारका सामान्यतया २ से.मी. व्यासका हुन्छन् तर हाल नयाँ केहीजातहरु ठुलो साइजको दाना भएका पनि छन् । पाकेको फल हल्का पहेलो रबको चम्किलो देखिन्छन् । एउटा फलमा ४–६ वटा सम्म साना वीउ हुन्छन् । फलको स्वाद अमीलो तथा अमीलो हल्का तितो र टरोपना मिश्रित हुन्छ ।

उदगम

यसको उदगम स्थान अर्थात जन्मभुमी ट्रपीकल एसिया मानिन्छ ।

फैलावट र वासस्थान

नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०० देखि १५०० मीटर सम्मको उचाइ भएको तराई, भित्रि मधेस र पहाडी क्षेत्रको राम्रो घाम लाग्ने पारिलो ठाँउमा यसको खेती हुनुको साथै प्राकृतिक जंगलमा प्रसस्त रुपमा पाइन्छ ।

प्रयोग

  • फललाई ताजा रुपमा खाइन्छ ।
  • फलबाट अचार तथा चट्नी बनाइन्छ ।
  • फलको मुरव्वा बनाइन्छ ।
  • फल बाट इम्वलिक सौस, क्यान्डी ड्राइचिप्स, धुलो, चक्की, जेली आदी बनाइन्छ ।
  • फलबाट कपालमा लगाउने तेल, वीउ, जरा, फलबाट विभिन्न औषधी तयार गरि प्रयोग गरिन्छ ।
उत्पादन

एउटा राम्रो फल्ने जातको अमलाले २००–३०० किलो फल प्रतिवर्ष उत्पादन गर्दछ ।

जातहरु

अमलाका केही प्रमुख जातहरु

१. वनारसी

  • यो अमलाको राम्रो जात अन्तरगत पर्दछ ।
  • फलहरु ठुला अली अली पहेला, चिल्लो तलमाथी थेप्चिएको हुन्छन ्।
  • बोक्रा पारदर्सी खालका हुन्छन् ।
  • बोटहरु सिधै माथि तीर बढ्ने खालको हुन्छ ।
  • यसमा पोथीफूल कम हुने र आफै स्वयम सेचन क्रिया हुन नसक्ने हुँदा कम
  • मात्रामा फल लाग्दछ ।

२. चकैया

  • बोट ठुलो, फैलीने प्रकृतिको र प्रसस्त फलहरु लाग्ने हुन्छ ।
  • फल सानो, मझौला, तलमाथी थेप्चीएको, हरीयो, कडा कालो थोप्ले दाग नलाग्ने र गुदी रेशायुक्त हुन्छन् ।

३. कन्चन

  • बोट फैलीने प्रकृतीको र प्रसस्त फलहरु लाग्ने हुन्छ ।
  • फल सानो, मझौला, तलमाथी चेप्टीएको, लाम्चीलो, नरम र पहेंलो हुन्छ ।

४. फ्रान्सीस

  • बोट ठुलो सिधा माथीतिर जान्छ र प्रसस्त फलहरु लाग्छन् ।
  • फलहरु ठुला, अण्डाकार, बाटुला नरम, चिल्ला, हल्का हरिया र गुदी हल्का पहेंला रेशा रहीत हुन्छन् ।
  • फलको भण्डारण क्षमता कम भएको र कालो थोप्ले दाग बढि देखीने सम्भावना रहेको ।

५. कृष्णा

  • फल मझौला, माथीपट्टी थेप्चिएको र तलपट्टी तिखारीएका, चिल्ला पहेलो कडा र गुदी रेशा रहीत हुन्छन्।
  • पारदर्सी खालको र यसमा राता थोप्लाहरु हुन्छन् ।
  • वनारसी अमला भन्दा यसमा फलहरु बढी लाग्दछन् ।

 

आवश्यकता

हावापानी तथा माटो

हावापानी

हावापानीका दृष्टीले अमला उपोष्ण फल भएता पनि बढी गरम र सुख्खा ठाउमा सिचाईको व्यवस्था भएको खण्डमा उष्ण हावापानीमा पनी सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कलीलो बोटमा सुख्खा र तुषारो सहन सक्ने क्षमता कम भएता पनी बयस्क बोटहरुले तुषारो तथा तातो हावा पनी सहन सक्दछ ।

तापक्रम: १६–३० डिग्री सेल्सीयस सम्म

वर्षा: वार्षिक वर्षा १२००–१५०० मी.मी उपयुक्त हुने

माटो: अमला सबै किसिमको माटोमा गर्न सकिने भएता पनी मलीलो पाँगो तथा बलौटे दोमट माटो र पानी नजम्ने ठाँउ उपयुक्त मानीन्छ ।

नर्सरी व्यवस्थापन

प्रजनन् तथा प्रसारण विधी

नेपालमा अमलाको फलको बोक्रा हल्का प्रजनन प्राय जसो बिउबाट गरीन्छ । बिउबाट तयार गरिएको बिजु बिरुवामा कम गुणस्तरको फलहरु फल्ने सम्भावना बढी हुन्छ । त्यसैले वानस्पतिक प्रजननले उच्चकोटीका जातको गुणस्तर कायम राख्ने भएकोले यहि प्रविधिको प्रयोग बढी गर्ने गरीन्छ ।

बीउबाट प्रसारण विधि

अमलाका बिउहरु ठाँउ हेरी असोज देखी माघ सम्म पाक्दछन् । पाकेका फलहरु हल्का पहेंला हुन्छन् । फलहरु टिपीसकेपछी बाहिरको गुदी छुटाएर कडा आवरण सहितको विउलाई घाममा सुकाउनु पर्दछ । बाहिरको आवरण घामले आफै पनी फुटेर बिउहरु वाहिर निस्कन पनी सक्दछन् । एक किलो ठुला दाना बीउमा ३४००–८९०० सम्म बिउहरु हुन्छन् । यसरी तयार गरिएको बिउमा उम्रन सक्ने क्षमता १ वर्ष सम्म रहन्छ । व्यवसायीक खेतीको लागी विउहरु फागुन चैत्र महिनामा नर्सरीमा रोप्नु पर्दछ । चाँडो उमार्नको लागी २४ घण्टा पानीमा भिजाएर राख्नु पर्दछ ।

व्याडमा बीउ २–३ सेमी जती गहिरो खोल्सा बनाएर लहरै छर्नुपर्दछ । एक खोल्सा देखी अर्को खोल्साको दुरी १५ सेमी राख्नुपर्दछ । त्यसपछी बिउलाई माटोले पुरेर पराल वा छ्वालीले छोपी दिनुपर्दछ र उम्रन सुरु भएपछी पराल तथा छ्वाली तुरुन्त हटाई दिनुपर्दछ । विउ उम्रन ३ हप्ता देखी एक महिना सम्म लाग्दछ । उम्रीएका विरुवा चारपात भएपछी माटो, बालुवा र मल ३:१:१ भागको अनुपातमा मिसाई भरी राखेको प्लाष्टीकको थैलोमा सारी १५–२० से.मि अग्लो भएपछी खेती सार्न उपयुक्त हुन्छ । सामान्यतया १ वर्षमा बेर्ना सार्न तथा रुट स्टकको लागी प्रयोग गर्न सकीन्छ । बिउबाट तयार भएको बिरुवाले ६–७ वर्षमा फल दिन थाल्दछ ।

वानस्पतिक प्रसारण

  • हाँगा काटेर: हाँगा काटेर पनी यसको बेर्ना तयार गर्न सकीन्छ । यसको लागी १–२ वर्ष पुराना हाँगा करीब बुढी औंला जती १५ सेमी जती मोटा र १५ सेमी लामा दुवैतीर छड्के पारेर काटी नर्सरी ब्याडमा राख्नु पर्दछ । फागुन–चैत्र महिनामा काटेर राखेका कलमीबाट दुई तिन महिना पछी जरा आउन सुरु गर्दछ । यसरी तयार गरिएको कलमीबाट रोपीएको बिरुवाले ४–५ वर्षमा फल दिन सुरु गर्दछ ।
  • इनार्चिङ्ग: अमलामा इनार्चिब आँपमा जस्तै रुटस्टकमा सायन बिरुवा जोडेर वर्षा याममा गरीन्छ । यसबाट करीब ४० प्रतीशत सफलता प्राप्त गर्न सकिन्छ ।
  • बडिङ्ग: यसको हाफनै रुटस्टकमा सफलता पूर्वक वडिङ्ग गरीन्छ । जुन (ज्येष्ठ) महिनाको सुरुमा वडिङ्ग गरीन्छ । तिन चार से.मी. लामो स्वस्थ्य आँख्ला तथा हाँगाबाट निकालेर रुटस्टकको डाँठमा घुसारीन्छ । वडिङ्ग गरेको ३ हप्तापछी जोडेको ठिक माथीबाट रुटस्टकको टुप्पालाई काटेर हटाइन्छ । बडिङ्गबाट करीब ७० प्रतीशत सफलता प्राप्त हुन्छ ।

जग्गा तयारी

जग्गाको तयारी

जग्गाको तयारी

जग्गा राम्रोसंग खनजोत गरि पाटा लगाइ सम्म पारि तयार गर्नु पर्दछ त्यस पछि रोप्नु भन्दा १ महिना अघि ६ मीटरको फरकमा १ घन मीटर गहिरोमा खाल्डो खनी केही दिन त्यसमा राखि यदी सम्भव छ भने खाल्डोमा झारपात हाली आगो लगाइ माटोको निर्वलिकरण गर्ने त्यसपछि २५ किलो प्राबगिक (कम्पोष्ट) मल वा राम्रो सँग तयार भएको गोठे मल राखी तलको माटो माथी र माथीको माटो तल राखी मल माटो राम्रोसँग मिसाई खाल्डो पुर्ने र बिरुवा लगाउने ।

रोपण

ठाँउ अनुसार उपयुक्त तरिकाले रेखाड्ढन गरी बिरुवाको दुरी केही फरक गर्न सकिने भएता पनि विजु विरुवालाई ८–१० मिटर र कलमी विरुवालाई ५–६ मिटरको फरकमा ६० घन सेन्टीमीटरको खाडल बनाइ रोप्नु पर्दछ । सके सम्म खाडल १ महिना अघि नै खनी केही समय त्यसै राखी प्रत्येक खाडलमा राम्ररी पाकेको ५० किलो कम्पोष्ट मल र जमीनको माथील्लो सतहको माटो तल र तल्लो सतहको माटो माथी राखी मिसाई खाडल पुर्नुपर्दछ ।

जेष्ठ/आषाढ महिनामा माटोको गोला सहितको बिरुवालाई खाडलमा सार्ने र विरुवा सारेको अवस्थाको १–१.५ महिना सम्म लगातार सिचाई दिनु पर्दछ अर्थात माटोमा बिरुवाको आवश्यकता बमोजीम ठिक्क चिस्यान कायम राख्नु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग

मलखाद

लगाइएका बिरुवामा प्रतिवर्ष निम्नानुसार मलखाद दिनुपर्दछ ।

क्र.स वर्ष मलखाद
    गोवर/कम्पोष्ट मल (किलो) नाइट्रोजन (ग्राम) फस्फोरस (ग्राम) पोटास (ग्राम)
१ पहिलो वर्ष १० १०० ५० ७५
२ दोस्रो वर्ष २० २०० १०० १५०
३ तेस्रो वर्ष ३० ३०० १५० २२५
४ चौथो वर्ष ४० ४०० २०० ३००
५ पाँचौ वर्ष ५० ५०० २५० ३७५

नोट: पहिलो वर्ष भन्नाले विरुवा लगाएको पछिल्लो वर्ष हो ।

सुक्ष्मतत्व

माटोमा बोरोन तत्वको कमिले फलमा कालो दाग देखिएमा वोरेक्स २० किलो प्रति हेक्टरको दरले माटोमा मिसाइ बिरुवालाई दिनु पर्दछ ।

 

गोडमेल

झारपात नियमितरुपले हटाउनु पर्दछ र बगैँचा सधै सफा राख्नुपर्दछ । बिरुवालाई सोझो बनाउन टेको दिनुपर्दछ ।

काँटछाँट

काँटछाँट

बोटहरु धेरै अग्लो हुनु हर दृष्टीकोणले राम्रो नहुने भएकोले बोट १ मिटर अग्लो भएपछी टुप्पो काटेर तलको हाँगा बड्न दिनु पर्दछ । हरेक वर्ष फल टिपी सकेपछी रोग किरा लागेका भाचीएका, सुकेका, जोल्टीएका, हाँगाबाट सिधै ठाडो पलाएका हाँगा काटेर हटाउनु पर्दछ । अत्याधिक बढेको बोटमा जराको समेत काटछाट गर्नु पर्दछ ।

अन्तरवाली

अमला ढिलो गरी फल दिने भएकोले मेवा, केरा, भुँइकटर, चना, केराउ, मास, तरकारी तथा हरियो घाँस अन्तरवालीको रुपमा लगाउन सकीन्छ ।

रोग व्यवस्थापन

अमलाको सिन्दुरे रोग

पात र फुलमा खिया जस्तो खैरो गाढा दाग देखीन्छ ।

रोकथाम– डाइमिथोमर्फ २–३ ग्राम प्रती लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ।

फल कुहिने रोग

प्राय वोरोनको कमीले फलहरुमा कालो दाग देखापर्ने फलको गुदी कालो हुने र कहिले कुहिने सम्भावना देखिन्छ ।

रोकथाम– श्रावण–भाद्र महिनामा बोरेक्स ६ ग्राम प्रतिलिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।

निलोढुसी

सुरु सुरुमा फलमा पानीको थोपा जस्तो दाग देखीन्छ र पछि निलो दागमा परीवर्तन हु्न्छ ।

रोकथाम– बोरोन वा नुनपानीले उपचार गर्नु पर्दछ ।

किरा व्यवस्थापन

बोक्रा खाने लार्भे

यो किरा मुख्य काण्डमा नै प्वाल पारी भित्र बसी बोक्रा खाएर बोटलाई नोक्सान पुर्याउँछ ।

रोकथाम: पेट्रोल वा मट्टीतेल वा विषादी चोपेर प्वाल भित्र राखी मैन अथवा गोवर मिसीएको माटोले प्वाल बन्द गरीदिने ।

गिर्खा बनाउने लार्भे

साना झुसीला किराहरु बोक्रामा भित्र विकसित भई हागाको मुनाबाट प्वाल पार्दै तलतिर जान्छन् । आक्रमण भएको भाग गिर्खा जस्तो आकारमा परिणत हुन्छ ।

रोकथाम: गिर्खा भएको भाग काटेर वा खुर्केर फाल्ने । खुर्केको भागमा ब्रोडोपेष्ट लगाउने र इमिडा क्लोरोपिड २ एम एल प्रतिलिटरका दरले मिसाई छर्ने ।

बाली कटानी तथा भण्डारण

फूल फूल्ने, फल्ने र पाक्ने समय

फुल फुल्ने

चैत्र बैशाख महिना भरी फल फुली रहन्छ । फुल दुई किसीमका हुन्छन् एक भाले फुल र एक पोथी फुल । भाले फुलहरु पोथी फुल भन्दा बढी हुन्छन् । फुल फुलेको २१ दिन भीत्र ७५ प्रतिशत भन्दा बढी फुलहरु झर्दछन् । फुल झर्ने प्रक्रिया फलको पूर्ण विकास अवधी सम्म जारी रहन्छ । परागसेचन मुख्यतया हावा, मौरी आदी बाट हुन्छ ।

फल लाग्ने समय

कटीङ्गबाट तयार भएको बिरुवा लगाएको ४–५ वर्ष बाट फल्न सुरु गर्ने भएता पनी अन्य तरीकाबाट उत्पादन गरीएका बिरुवा ७–१० वर्षको समया अवधि पछी मात्र फल दिने हुन्छन् । सामान्यतया आषाढ–श्रावण महिनामा फल सुषुप्त अवस्थामा रहने भएकोले फल बढदैन । भाद्र महिना देखी फल बढ्न थाल्दछ । माघ–फाल्गुनमा परीपक्क भई टिप्न लायक हुन्छ ।

फूल फूल्ने, फल्ने र पाक्ने समय

अमलाको फूल चैत्र–वैशाख देखी साउन सम्म फूलीरहन सक्दछ र उक्त फूलमा भदौ देखी मंसीर सम्ममा फल लागी सक्छ । फल असोज देखी माघ सम्म पाकेर टिप्न लायक हुन्छ ।

फल र फूल झर्ने समस्या

राम्रोसँग परागसेचन क्रिया सम्पन्न नहुनु, हर्मोनको असन्तुलनले गर्दा भ्रुण तुहिनु र माटोमा चिस्यान, क्यालसीयम एवम बोरोनको कमी आदी कारणले फलफूल झर्ने समस्या देखा पर्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

सूर्यनाथ योगी

बरिष्ठ फलफुल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - अमला खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं