परिचय

परिचय तथा महत्व

अंग्रेजी नाम - Indian Gooseberry

वैज्ञानीक नाम - Emblica Officinalis

परिवार - Euphorbiaceae

अमला मध्यम पतझड प्रजातीको करिब १३–२० मीटर सम्म अग्लो हुन सक्ने, खुल्ला र पारिलो ठाँउमा हुर्कने रुख हो । यस विरुवाको मसीना साना साना १ देखि २ से.मि. लामापातहरु डाठको दुवैतिर लहरै मिलेर रहेका हुन्छन् । यसका पातहरु कार्तिक–मसिंर महिना बाट झर्न सुरु गरि फागुन सम्म पुरैबोटका पातहरु झरी सक्दछन् र पालुवा आउन सुरु हुन थाल्दछ । फुलहरु साना केहि पहेला रबका वास्नादार, एक्लै वा पातको हाँगाको फेदमा झुप्पा भएर रहेका हुन्छन् । फलहरु गोलो आकारका सामान्यतया २ से.मी. व्यासका हुन्छन् तर हाल नयाँ केहीजातहरु ठुलो साइजको दाना भएका पनि छन् । पाकेको फल हल्का पहेलो रबको चम्किलो देखिन्छन् । एउटा फलमा ४–६ वटा सम्म साना वीउ हुन्छन् । फलको स्वाद अमीलो तथा अमीलो हल्का तितो र टरोपना मिश्रित हुन्छ ।

उदगम

यसको उदगम स्थान अर्थात जन्मभुमी ट्रपीकल एसिया मानिन्छ ।

फैलावट र वासस्थान

नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०० देखि १५०० मीटर सम्मको उचाइ भएको तराई, भित्रि मधेस र पहाडी क्षेत्रको राम्रो घाम लाग्ने पारिलो ठाँउमा यसको खेती हुनुको साथै प्राकृतिक जंगलमा प्रसस्त रुपमा पाइन्छ ।

प्रयोग

  • फललाई ताजा रुपमा खाइन्छ ।
  • फलबाट अचार तथा चट्नी बनाइन्छ ।
  • फलको मुरव्वा बनाइन्छ ।
  • फल बाट इम्वलिक सौस, क्यान्डी ड्राइचिप्स, धुलो, चक्की, जेली आदी बनाइन्छ ।
  • फलबाट कपालमा लगाउने तेल, वीउ, जरा, फलबाट विभिन्न औषधी तयार गरि प्रयोग गरिन्छ ।
उत्पादन

एउटा राम्रो फल्ने जातको अमलाले २००–३०० किलो फल प्रतिवर्ष उत्पादन गर्दछ ।

जातहरु

अमलाका केही प्रमुख जातहरु

१. वनारसी

  • यो अमलाको राम्रो जात अन्तरगत पर्दछ ।
  • फलहरु ठुला अली अली पहेला, चिल्लो तलमाथी थेप्चिएको हुन्छन ्।
  • बोक्रा पारदर्सी खालका हुन्छन् ।
  • बोटहरु सिधै माथि तीर बढ्ने खालको हुन्छ ।
  • यसमा पोथीफूल कम हुने र आफै स्वयम सेचन क्रिया हुन नसक्ने हुँदा कम
  • मात्रामा फल लाग्दछ ।

२. चकैया

  • बोट ठुलो, फैलीने प्रकृतिको र प्रसस्त फलहरु लाग्ने हुन्छ ।
  • फल सानो, मझौला, तलमाथी थेप्चीएको, हरीयो, कडा कालो थोप्ले दाग नलाग्ने र गुदी रेशायुक्त हुन्छन् ।

३. कन्चन

  • बोट फैलीने प्रकृतीको र प्रसस्त फलहरु लाग्ने हुन्छ ।
  • फल सानो, मझौला, तलमाथी चेप्टीएको, लाम्चीलो, नरम र पहेंलो हुन्छ ।

४. फ्रान्सीस

  • बोट ठुलो सिधा माथीतिर जान्छ र प्रसस्त फलहरु लाग्छन् ।
  • फलहरु ठुला, अण्डाकार, बाटुला नरम, चिल्ला, हल्का हरिया र गुदी हल्का पहेंला रेशा रहीत हुन्छन् ।
  • फलको भण्डारण क्षमता कम भएको र कालो थोप्ले दाग बढि देखीने सम्भावना रहेको ।

५. कृष्णा

  • फल मझौला, माथीपट्टी थेप्चिएको र तलपट्टी तिखारीएका, चिल्ला पहेलो कडा र गुदी रेशा रहीत हुन्छन्।
  • पारदर्सी खालको र यसमा राता थोप्लाहरु हुन्छन् ।
  • वनारसी अमला भन्दा यसमा फलहरु बढी लाग्दछन् ।

 

आवश्यकता

हावापानी तथा माटो

हावापानी

हावापानीका दृष्टीले अमला उपोष्ण फल भएता पनि बढी गरम र सुख्खा ठाउमा सिचाईको व्यवस्था भएको खण्डमा उष्ण हावापानीमा पनी सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कलीलो बोटमा सुख्खा र तुषारो सहन सक्ने क्षमता कम भएता पनी बयस्क बोटहरुले तुषारो तथा तातो हावा पनी सहन सक्दछ ।

तापक्रम: १६–३० डिग्री सेल्सीयस सम्म

वर्षा: वार्षिक वर्षा १२००–१५०० मी.मी उपयुक्त हुने

माटो: अमला सबै किसिमको माटोमा गर्न सकिने भएता पनी मलीलो पाँगो तथा बलौटे दोमट माटो र पानी नजम्ने ठाँउ उपयुक्त मानीन्छ ।

नर्सरी व्यवस्थापन

प्रजनन् तथा प्रसारण विधी

नेपालमा अमलाको फलको बोक्रा हल्का प्रजनन प्राय जसो बिउबाट गरीन्छ । बिउबाट तयार गरिएको बिजु बिरुवामा कम गुणस्तरको फलहरु फल्ने सम्भावना बढी हुन्छ । त्यसैले वानस्पतिक प्रजननले उच्चकोटीका जातको गुणस्तर कायम राख्ने भएकोले यहि प्रविधिको प्रयोग बढी गर्ने गरीन्छ ।

बीउबाट प्रसारण विधि

अमलाका बिउहरु ठाँउ हेरी असोज देखी माघ सम्म पाक्दछन् । पाकेका फलहरु हल्का पहेंला हुन्छन् । फलहरु टिपीसकेपछी बाहिरको गुदी छुटाएर कडा आवरण सहितको विउलाई घाममा सुकाउनु पर्दछ । बाहिरको आवरण घामले आफै पनी फुटेर बिउहरु वाहिर निस्कन पनी सक्दछन् । एक किलो ठुला दाना बीउमा ३४००–८९०० सम्म बिउहरु हुन्छन् । यसरी तयार गरिएको बिउमा उम्रन सक्ने क्षमता १ वर्ष सम्म रहन्छ । व्यवसायीक खेतीको लागी विउहरु फागुन चैत्र महिनामा नर्सरीमा रोप्नु पर्दछ । चाँडो उमार्नको लागी २४ घण्टा पानीमा भिजाएर राख्नु पर्दछ ।

व्याडमा बीउ २–३ सेमी जती गहिरो खोल्सा बनाएर लहरै छर्नुपर्दछ । एक खोल्सा देखी अर्को खोल्साको दुरी १५ सेमी राख्नुपर्दछ । त्यसपछी बिउलाई माटोले पुरेर पराल वा छ्वालीले छोपी दिनुपर्दछ र उम्रन सुरु भएपछी पराल तथा छ्वाली तुरुन्त हटाई दिनुपर्दछ । विउ उम्रन ३ हप्ता देखी एक महिना सम्म लाग्दछ । उम्रीएका विरुवा चारपात भएपछी माटो, बालुवा र मल ३:१:१ भागको अनुपातमा मिसाई भरी राखेको प्लाष्टीकको थैलोमा सारी १५–२० से.मि अग्लो भएपछी खेती सार्न उपयुक्त हुन्छ । सामान्यतया १ वर्षमा बेर्ना सार्न तथा रुट स्टकको लागी प्रयोग गर्न सकीन्छ । बिउबाट तयार भएको बिरुवाले ६–७ वर्षमा फल दिन थाल्दछ ।

वानस्पतिक प्रसारण

  • हाँगा काटेर: हाँगा काटेर पनी यसको बेर्ना तयार गर्न सकीन्छ । यसको लागी १–२ वर्ष पुराना हाँगा करीब बुढी औंला जती १५ सेमी जती मोटा र १५ सेमी लामा दुवैतीर छड्के पारेर काटी नर्सरी ब्याडमा राख्नु पर्दछ । फागुन–चैत्र महिनामा काटेर राखेका कलमीबाट दुई तिन महिना पछी जरा आउन सुरु गर्दछ । यसरी तयार गरिएको कलमीबाट रोपीएको बिरुवाले ४–५ वर्षमा फल दिन सुरु गर्दछ ।
  • इनार्चिङ्ग: अमलामा इनार्चिब आँपमा जस्तै रुटस्टकमा सायन बिरुवा जोडेर वर्षा याममा गरीन्छ । यसबाट करीब ४० प्रतीशत सफलता प्राप्त गर्न सकिन्छ ।
  • बडिङ्ग: यसको हाफनै रुटस्टकमा सफलता पूर्वक वडिङ्ग गरीन्छ । जुन (ज्येष्ठ) महिनाको सुरुमा वडिङ्ग गरीन्छ । तिन चार से.मी. लामो स्वस्थ्य आँख्ला तथा हाँगाबाट निकालेर रुटस्टकको डाँठमा घुसारीन्छ । वडिङ्ग गरेको ३ हप्तापछी जोडेको ठिक माथीबाट रुटस्टकको टुप्पालाई काटेर हटाइन्छ । बडिङ्गबाट करीब ७० प्रतीशत सफलता प्राप्त हुन्छ ।

जग्गा तयारी

रोपण

ठाँउ अनुसार उपयुक्त तरिकाले रेखाड्ढन गरी बिरुवाको दुरी केही फरक गर्न सकिने भएता पनि विजु विरुवालाई ८–१० मिटर र कलमी विरुवालाई ५–६ मिटरको फरकमा ६० घन सेन्टीमीटरको खाडल बनाइ रोप्नु पर्दछ । सके सम्म खाडल १ महिना अघि नै खनी केही समय त्यसै राखी प्रत्येक खाडलमा राम्ररी पाकेको ५० किलो कम्पोष्ट मल र जमीनको माथील्लो सतहको माटो तल र तल्लो सतहको माटो माथी राखी मिसाई खाडल पुर्नुपर्दछ ।

जेष्ठ/आषाढ महिनामा माटोको गोला सहितको बिरुवालाई खाडलमा सार्ने र विरुवा सारेको अवस्थाको १–१.५ महिना सम्म लगातार सिचाई दिनु पर्दछ अर्थात माटोमा बिरुवाको आवश्यकता बमोजीम ठिक्क चिस्यान कायम राख्नु पर्दछ ।

जग्गाको तयारी

जग्गाको तयारी

जग्गा राम्रोसंग खनजोत गरि पाटा लगाइ सम्म पारि तयार गर्नु पर्दछ त्यस पछि रोप्नु भन्दा १ महिना अघि ६ मीटरको फरकमा १ घन मीटर गहिरोमा खाल्डो खनी केही दिन त्यसमा राखि यदी सम्भव छ भने खाल्डोमा झारपात हाली आगो लगाइ माटोको निर्वलिकरण गर्ने त्यसपछि २५ किलो प्राबगिक (कम्पोष्ट) मल वा राम्रो सँग तयार भएको गोठे मल राखी तलको माटो माथी र माथीको माटो तल राखी मल माटो राम्रोसँग मिसाई खाल्डो पुर्ने र बिरुवा लगाउने ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग

मलखाद

लगाइएका बिरुवामा प्रतिवर्ष निम्नानुसार मलखाद दिनुपर्दछ ।

क्र.स वर्ष मलखाद
    गोवर/कम्पोष्ट मल (किलो) नाइट्रोजन (ग्राम) फस्फोरस (ग्राम) पोटास (ग्राम)
पहिलो वर्ष १० १०० ५० ७५
दोस्रो वर्ष २० २०० १०० १५०
तेस्रो वर्ष ३० ३०० १५० २२५
चौथो वर्ष ४० ४०० २०० ३००
पाँचौ वर्ष ५० ५०० २५० ३७५

नोट: पहिलो वर्ष भन्नाले विरुवा लगाएको पछिल्लो वर्ष हो ।

सुक्ष्मतत्व

माटोमा बोरोन तत्वको कमिले फलमा कालो दाग देखिएमा वोरेक्स २० किलो प्रति हेक्टरको दरले माटोमा मिसाइ बिरुवालाई दिनु पर्दछ ।

 

गोडमेल

झारपात नियमितरुपले हटाउनु पर्दछ र बगैँचा सधै सफा राख्नुपर्दछ । बिरुवालाई सोझो बनाउन टेको दिनुपर्दछ ।

काँटछाँट

काँटछाँट

बोटहरु धेरै अग्लो हुनु हर दृष्टीकोणले राम्रो नहुने भएकोले बोट १ मिटर अग्लो भएपछी टुप्पो काटेर तलको हाँगा बड्न दिनु पर्दछ । हरेक वर्ष फल टिपी सकेपछी रोग किरा लागेका भाचीएका, सुकेका, जोल्टीएका, हाँगाबाट सिधै ठाडो पलाएका हाँगा काटेर हटाउनु पर्दछ । अत्याधिक बढेको बोटमा जराको समेत काटछाट गर्नु पर्दछ ।

अन्तरवाली

अमला ढिलो गरी फल दिने भएकोले मेवा, केरा, भुँइकटर, चना, केराउ, मास, तरकारी तथा हरियो घाँस अन्तरवालीको रुपमा लगाउन सकीन्छ ।

रोग व्यवस्थापन

अमलाको सिन्दुरे रोग

पात र फुलमा खिया जस्तो खैरो गाढा दाग देखीन्छ ।

रोकथाम– डाइमिथोमर्फ २–३ ग्राम प्रती लिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ।

फल कुहिने रोग

प्राय वोरोनको कमीले फलहरुमा कालो दाग देखापर्ने फलको गुदी कालो हुने र कहिले कुहिने सम्भावना देखिन्छ ।

रोकथाम– श्रावण–भाद्र महिनामा बोरेक्स ६ ग्राम प्रतिलिटर पानीमा मिसाई १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।

निलोढुसी

सुरु सुरुमा फलमा पानीको थोपा जस्तो दाग देखीन्छ र पछि निलो दागमा परीवर्तन हु्न्छ ।

रोकथाम– बोरोन वा नुनपानीले उपचार गर्नु पर्दछ ।

किरा व्यवस्थापन

बोक्रा खाने लार्भे

यो किरा मुख्य काण्डमा नै प्वाल पारी भित्र बसी बोक्रा खाएर बोटलाई नोक्सान पुर्याउँछ ।

रोकथाम: पेट्रोल वा मट्टीतेल वा विषादी चोपेर प्वाल भित्र राखी मैन अथवा गोवर मिसीएको माटोले प्वाल बन्द गरीदिने ।

गिर्खा बनाउने लार्भे

साना झुसीला किराहरु बोक्रामा भित्र विकसित भई हागाको मुनाबाट प्वाल पार्दै तलतिर जान्छन् । आक्रमण भएको भाग गिर्खा जस्तो आकारमा परिणत हुन्छ ।

रोकथाम: गिर्खा भएको भाग काटेर वा खुर्केर फाल्ने । खुर्केको भागमा ब्रोडोपेष्ट लगाउने र इमिडा क्लोरोपिड २ एम एल प्रतिलिटरका दरले मिसाई छर्ने ।

बाली कटानी तथा भण्डारण

फूल फूल्ने, फल्ने र पाक्ने समय

फुल फुल्ने

चैत्र बैशाख महिना भरी फल फुली रहन्छ । फुल दुई किसीमका हुन्छन् एक भाले फुल र एक पोथी फुल । भाले फुलहरु पोथी फुल भन्दा बढी हुन्छन् । फुल फुलेको २१ दिन भीत्र ७५ प्रतिशत भन्दा बढी फुलहरु झर्दछन् । फुल झर्ने प्रक्रिया फलको पूर्ण विकास अवधी सम्म जारी रहन्छ । परागसेचन मुख्यतया हावा, मौरी आदी बाट हुन्छ ।

फल लाग्ने समय

कटीङ्गबाट तयार भएको बिरुवा लगाएको ४–५ वर्ष बाट फल्न सुरु गर्ने भएता पनी अन्य तरीकाबाट उत्पादन गरीएका बिरुवा ७–१० वर्षको समया अवधि पछी मात्र फल दिने हुन्छन् । सामान्यतया आषाढ–श्रावण महिनामा फल सुषुप्त अवस्थामा रहने भएकोले फल बढदैन । भाद्र महिना देखी फल बढ्न थाल्दछ । माघ–फाल्गुनमा परीपक्क भई टिप्न लायक हुन्छ ।

फूल फूल्ने, फल्ने र पाक्ने समय

अमलाको फूल चैत्र–वैशाख देखी साउन सम्म फूलीरहन सक्दछ र उक्त फूलमा भदौ देखी मंसीर सम्ममा फल लागी सक्छ । फल असोज देखी माघ सम्म पाकेर टिप्न लायक हुन्छ ।

फलफूल झर्ने समस्या

राम्रोसँग परागसेचन क्रिया सम्पन्न नहुनु, हर्मोनको असन्तुलनले गर्दा भ्रुण तुहिनु र माटोमा चिस्यान, क्यालसीयम एवम बोरोनको कमी आदी कारणले फलफूल झर्ने समस्या देखा पर्दछ ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

सूर्यनाथ योगी

बरिष्ठ फलफुल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - अमला खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं