परिचय

परिचय

ड्रागन फ्रुट (Hylocereus undatus) लाई नेपालीमा सिँऊडी फल भनिन्छ। यो फल नेपालमा एक उदयिमान फल (Emerging fruit) को रुपमा रहेको छ। यसलाई यदाकदा आलङ्कारिक बिरूवाको रुपमा घर सजाउनको लागि पनि गमलामा लगाउने गरेको पाइन्छ। यसको फल अत्यन्त आकर्षक रङ्ग र आकारको हुन्छ। यो राती फुल्ने गर्दछ।एक वर्ष लगाएपछि यो फलले निरन्तर  २५ वर्ष जति उत्पादन दिन सक्छ। यसमा विविध प्रकारका भिटामिन तथा मिनरलहरु पाइने भएकोले यस्को उपभोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

महत्व तथा उपयोग
  • यसमा विविध प्रकारका भिटामिन तथा मिनरल्सहरू पाईन्छ जस्ले गर्दा यस्को उपभोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • मिठो र औषधिय गुणले भरिपुर्ण यो फल अत्यन्त लाभदायक फलको रूपमा लिन सकिन्छ ।
  • यो सिधै ताजा फलको रूपमा र यस्को टिपाई उप्रान्त जाम जेली वाईन बनाएर पनि खान सकिन्छ ।  यसवाट उच्च स्तरको आईसक्रिम, इनर्जि डिवाईन र ब्रान्डी बनाउन सकिन्छ । कतिपय देशहरूमा यसको मुन्टाको तरकारी खाने प्रचलन पनि रहेको छ।
  • सुकेको फूलको पत्ताबाट स्पेसल चिया बनाउन सकिन्छ ।
  • यसमा भिटामिन सी प्रचुर मात्रामा हुने भएको हुनाले घाउ निको बनाउन तथा पुरिनका लागी उल्लेख्य भुमिका खेल्दछ ।
  • खोकी र दम रोगीका लागी लाभदायक मानिन्छ ।
  • यस्को नियमित उपभोगले क्यान्सर, चिनी रोग, रक्तचाप रोगहरूलाई नियन्त्रण गर्न मद्दत गर्दछ । 
  • यस्ले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै दाँतलाई स्वस्थ्य राख्न मद्दत पुर्याउँछ । यस्ले मोटापा घटाउनुको साथै आँखाको ज्योतीलाई राम्रो राख्न मद्दत गर्दछ ।
  • कृषक तथा उपभोक्तामाझ विस्तारै लोकप्रिय हुँदै गईरहेको र मनग्य आम्दानी गर्न सकिने खालको वाली हो ।

जातहरु

रातो फल र रातो खाने भाग भएका
रातो फल र सेतो खाने भाग भएका
पहेँलो फल र सेतो खाने भाग भएका

आवश्यकता

हावापानी

सामुन्द्रिक सतहदेखि १५०० मी. उचाईसम्म खेती गर्न सकिने यो फल उष्ण, उपोष्ण र समशितोष्ण हावापानीमा लगाउन सकिएता पनि यसको लागि उष्ण हावापानी उत्तम मानिन्छ। वार्षिक औषत तापक्रम २०-३० डिग्री तथा वर्षा ५००-१५०० मी. मी. भएमा वृद्धि र विकास राम्रो हुन्छ। यस्ले सुख्खा सहने भएकोले प्रशस्त घाम लाग्ने दक्षिणी मोहडा व्यवसायिक खेती गर्न उपयुक्त मानिन्छ।

माटो

प्रशस्त मल भएको वलौटे देखि दोमट किसिमको माटोमा व्यवसायिक खेती गर्नु राम्रो हुन्छ।माटोको पि. एच. ५.५-७ सम्म भएको माटो राम्रो हुन्छ।

कृषि इन्पुट

रेखाङ्कन तथा रोपण

फलफूल खेतीको लागी रेखाङ्कन प्रक्रिया अत्यन्तै महत्वपूर्ण हुन्छ । व्यवसायीक फलफूल खेती गर्ने हो भने दिर्घकालीन सोचाई राखेर मात्र काम गर्नु पर्दछ । किनभने विरुवा लगाउंदा गरेको गल्तीलाई पछि सुधार्न कठिन वा प्राय असम्भव नै हुन्छ जसले गर्दा ठुलो क्षती हुन सक्छ । रेखाङ्कन भन्नाले विरूवा कति दुरीमा कहाँ रोप्ने भन्ने ठाँउ किटान गर्ने कार्यलाई जनाउछ । उपयुक्त पद्धतिबाट रेखाङ्कन गरी विरुवा लगाउन सकेमा बगैचा आकर्षक देखीने मात्र हैन, अन्तरबाली लिन, गोडमेल, मलजल तथा काँटछाँट गर्न विषादी छर्कन, फल टिप्न र बगैचा व्यवस्थापनका अन्य कार्यहरू गर्न समेत सजिलो हुन्छ । प्राय सिऊँडी फल लाई वर्गाकार, आयाताकार अथवा षड्कोणाकारमा रोप्दा राम्रो हुन्छ तर जग्गा अलिक धेरै भिरालो परेको छ भने लाइनमा कन्टुर बनाएर गह्रा कान्ला प्रणाली (Contour system) मा पनि रोप्न सकिन्छ ।

खाडलको तयारी

जग्गाको रेखाङ्कन गरेपछि बिरुवा लगाउनु भन्दा डेढ दुई महिना अगावै विरुवा लगाउने खाडल खन्नु पर्दछ । खाडल कत्रो खन्ने भन्ने कुरा माटोको प्रकार र गहिराईमा भर पर्दछ तर साधारणतया सिउँडी फल रोपण गर्नको लागी खाडल ६० से. मि. लम्बाई, ६० से मि चौडाई र ६० से. मि. गहिरो खाडल खन्नु पर्दछ । राम्रोसंग घाममा सुकाएर अथवा सुकेका पातहरु पोलेर राम्रो संग कुहिएको कम्पोष्ट मल अथवा गोवर मल (१-२ डोको / खाडल) हाली माथिल्लो सतहको माटोसंग मिलाइ राख्नु पर्दछ ।

विरुवा रोप्ने दुरी र समय

बोट देखि बोट र लाईन देखि लाईनको दुरी २-३ मी. फरकमा रोप्नु पर्छ। एक हेक्टरमा ११०० देखि २५०० सम्म विरुवा अटाउन सक्छ।

प्रायजसो फलको रोपण वर्षायाम शुरु हुने बेला (जेष्ठ / असार) मा गर्नु उपयुक्त मानिन्छ।सिंचाइको सुविधा भएको ठाँउमा फाल्गुन / चैत्र मा पनि लगाउन सकिन्छ।

बाली व्यवस्थापन तथा हेरचाह

गोडमेल र मलखाद

फल टिपे पश्चात गोडमेल गर्दा १०-१५ के.जी. कम्पोष्ट मल, ७० ग्राम नाइट्रोजन (Urea), ९० ग्राम फस्फोरस र ४० ग्राम पोटास प्रति बोट प्रति वर्ष दिनु पर्छ। मल हाल्दा रिङ्ग बनाएर मल जताततै पर्ने गरि हाल्नु पर्छ। मलखाद व्यवस्थापन गर्दा फूल फुल्नु भन्दा अगाडि, फल बिकास हुने बेलामा तथा फल हार्भेस्टिङ्ग गरिसके पछि बर्षको ३ पटक मिलाएर दिनु पर्छ।

सिंचाई

धेरै पानी पर्ने तथा जम्मा हुने ठाँउ सिउँडी फलको लागी उपयुक्त हुँदैन । सुख्खा सहन गर्न सक्ने वाली भएता पनि धेरै सुख्खा ठाँउमा छापोको व्यवस्था गरि चिस्यानलाइ कायम राख्न सकिन्छ भने पानी जम्मा हुने ठाँउमा निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ । छापो हाल्दा कुहिएर मल हुने खालका पदार्थहरूको प्रयोग गर्नु पर्दछ जस्ले गर्दा चिस्यान जोगाइराख्नुका अलावा कुहिएर मलखादको काम पनि गर्दछ र माटोमा लाभदायक शुक्ष्म जिवाणुको संख्यामा वृद्धि गर्दछ । पानी कम हुने ठाँउमा सिउँडी फलको वगैचामा सिंचाई गर्नको लागी थोपा सिंचाई अति नै उपयोगी हुन्छ । थोपा सिंचाईको प्रयोग गरेर कम पानीले नै लामो समयसम्म र निरन्तर सिंचाई गर्न सकिन्छ ।

तालिम तथा काँटछाँट

गर्मी समयमा यस्को वृद्दि विकास अत्यन्त छिटो हुन्छ भने जाडो समयमा धेरै सुख्खा मौसम र चिसो हावापानी भएको ठाँउमा केही ढिलो गरी बढ्दछ । यसको वगैचा व्यवस्थापन गर्दा जति पनि हाँगाहरू आउँछन् तिनिहरूलाई माथी चढ्ने सपोर्टको आधारमा वढ्न दिनु पर्दछ । जमिनको सतहसँग मिलेर हाँगाहरू गयोभने माटोले क्षती पुर्याउनुको साथै फूल फुल्ने, परागसेचन तथा फल फल्ने प्रकृयालाई नकारात्मक असर पार्दछ । यसको वगैचा व्यवस्थापन गर्दा काँटछाँट अत्यन्त महत्वपुर्ण कृयाकलापमा पर्न आउँछ । दाँयाबाँया फैलिएका तथा तल जमिन तिर फर्किएका, रोगी र अनावश्यक हाँगाहरूलाई हटाउँदै एउटा हाँगालाई मात्र खम्वामा जाने गरी व्यवस्था मिलाउने मुख्य यसमा रोपेको वर्ष धेरै काँटछाँटको आवश्यकता पर्दछ । यसमा गरिने तालिम तथा काँटछाँट जात, वगैचा व्यवस्थापन र सपोर्ट सिस्टममा निर्भर गर्दछ । हरेक टिपाई पश्चातको तालिम तथा काँटछाँट अत्यन्त महत्वपूर्ण हुन्छ यस्ले नयाँ मुना र हाँगाहरू पलाउनका साथै अर्को वर्ष फूल फुल्ने र फल फल्ने प्रकृयामा असर पार्दछ ।

 

अनावश्यक हाँगाहरू नियमित हटाउने र २-३ वटा मुख्य हाँगाहरूमात्र माथी जानेगरी बढ्न दिनु पर्दछ । पोलको माथी सिरानमा टायर अथवा कुनै घुमाउरो / चारपाटे सपोर्ट राखेर फूल फुल्ने र फल फल्ने हाँगाहरू फैलन सहजहुने वातावरण मिलाउनु पर्दछ । यसको लागी सपोर्ट चाहिने हुनाले रोप्नु भन्दा अगावै काठको वा सिमेन्टको चार पाटा परेको खामो करिव १-२ फिट गाडेर राख्नु पर्दछ खामोको उचाई वगैचामा काम गर्ने व्यक्ती अनुसार पनि भर पर्दछ तर साधारणतया जमिनको सतहदेखी ५-६ फिट उचाईको राम्रो हुन्छ । विरुवा रोप्दा उक्त खम्बाको दुई तर्फ वा चार तर्फ लगाउन सकिन्छ । काठको भन्दा सिमेन्टको खम्बा टिकाउ हुने हुनाले यो प्रयोग गर्नु राम्रो मानिन्छ । विरुवा रोप्दा पाटा परेको भाग सिमेन्टको खम्वामा टाँसिने गरी रोप्नु पर्दछ । जसै विरुवा बढ्दै जान्छ यस्को काण्डवाट जराहरू छोड्दै जान्छ र खम्वामा समाउँदै माथी वढ्छ । खम्वामा सजिलै सँग जाओस भन्नका लागी डोरी अथवा सुतरीले वोटलाई खम्वामा बाँध्नु उपयुक्त हुन्छ । विरुवा रोपिसके पश्चात सिचाई, छापो हाल्ने तथा नियमित गोडमेल गरिरहनु पर्दछ।

फूल फुल्ने र फल लाग्ने प्रकृया

सिऊँडी फलको फूल रातीको समयमा फुल्दछ। यसको फूल सेतो वास्नादार र आकर्षक हुन्छ। साधारणतया चैत्र र बैशाख (April/May) तिर फुल्दछ। ठाँउ तथा जात हेरेर यसको फूल ३५-४५ दिनमान परिपक्व हुन्छ । त्यसकारण यसवाट उत्पादन लिनको लागी त्यती लामो समय कुर्नु पर्दैन । यसरी चैत्र र बैशाखबाट फुल्न थालेको फूल कार्तिक मसिर सम्म नियमित फुलिरहने र फलिरहने हुन्छ। यसरी एक वर्षमा धेरैपटक फल टिप्न पाईन्छ । परागसेचन साधारणयता हावा तथा कीराहरूवाट हुने गर्दछ । हावाको वहाव राम्रो नभएको र कीराहरूको कृयाकलाप उल्लेख्य नभएका स्थानहरूमा कृतिम रूपमा हातले परागसेचन गरेमा पनि राम्रोसँग फल लाग्न सक्दछ । हातले परागसेचन गराउँदा फूल फक्रन भन्दा अगावै साँझ ४ देखी विहान ११ बजे सम्म गर्न सकिन्छ यसरी गरिएको परागसेचनवाट गुणस्तरिय फल पाउन सकिन्छ ।

यसको एउटै बोटले धेरै समयसम्म फल दिईरहन सक्दछ । जात हेरेर यसको फल १५० ग्राम देखी १ के जी सम्म हुन सक्दछ ।कृतिम रूपमा परागसेचन गराउदा परागकणहरू इसको सहायताले संकलन गरी स्त्रीकेशरमा छुवाईदिने गर्नु पर्दछ । यसरी २ वटा फूलबाट संकलन गरिएको परागकण करिव १०० फूलमा परागसेचन गर्नको लागी पुग्दछ । खुल्ला सेचीत भन्दा कृतीम तरिकावाट गरिएको परागसेचन वाट उत्पादित फलहरू गुणस्तरिय हुन्छन्। फूल फुलेको ४-५ दिनमा फुल सुक्छ र फल लाग्छ । यसको फूल रातीमा मात्र फुल्दछ ।

रोग व्यवस्थापन

डाँठ कुहिने रोग

यो रोग Xanthomonas compestris, Erwinia caratovera, Fusarium oxysporium आदीले गर्दा हुने रोग हो । यो रोग हाँगा र लहरा हरूमा चोट पटक लागेमा फैलन्छ । यसको नियन्त्रणको लागी कपर भएका विषादीहरू प्रयोग गरी वगैँचामा राम्रो सँग मल जल पुर्याउनु पर्दछ ।

एन्थ्राक्नोज

यो रोग Collectotrichum glodsperoides भन्ने ढुसीबाट लाग्दछ यस्ले हाँगा लहरा तथा फल सबै ठाँउमा क्षती पुर्याउन सक्दछ । यो रोग सापेक्षित आद्रता र तापक्रम वढी भएको समयमा वढि देखिन्छ । यसको व्यवस्थापनको लागी वगैँचा सफा सुघ्घर राख्ने र म्यान्कोजेव र मेटालाक्जिल भएका ढुसीनाशक विषादीहरू प्रयोग गर्ने गर्नु पर्दछ ।

किरा व्यवस्थापन

औँसा पार्ने कीरा

यो कीराको पोथीले फलमा फुल पार्छ र त्यसवाट औँसाहरू निस्किएर भित्रको गुदी खाने र फललाई बिगारिदिन्छ । यसको नियन्त्रणको लागी फललाई व्याग लगाउने र वगैँचाको नियमित अवलोकन र सरसफाईमा विशेष ध्यान दिनु पर्दछ ।