परिचय

परिचय

स्थानिय नाम : कागुनु 

अङग्रेजी नाम : foxtail millet

वैज्ञानिक नाम : Setaria italica

कागुनोको उत्पत्ति चिनमा भएको मानिन्छ । यसलाई पुजाआजामा पनि चोखो अन्नकारुपमा प्रयोग गर्ने गरिन्छ । कागुनोको खिर भात वा पिठो वनाई रोटी वनाएर पनि खाने गरिन्छ । यसको नल पशुवस्तुका लागि पनि निकै पोषिलो मानिन्छ । यसलाई औषधिकारुपमा पनि प्रयोग गर्ने चलन रहेको छ । रातो कागुनो र सेतो कागुनो गरि दुई जातको कागुनो पाइन्छ । रातो कागुनो छोटो समय (६० दिन जति) मा तयार हुने बाली हो । गहुँ बाली काटे पछि धान रोप्नु अघि रातो कागुनो लगाइ छोटो समयमा बाली लिन सकिन्छ । बैसाख जेठमा लगाइ असार साउनमा बाली लिन सकिन्छ । सेतो कागुनो उच्च पहाडी भेगमा वर्षा याममा लगाइन्छ । सेतो कागुनोको बाली तयार हुनको लागि रातो कागुनो भन्दा लगभग दोव्वर अवधि लाग्छ । कागुनो विशेष गरि भातको सट्टा र खीर बनाइ खाने गरिन्छ । चामलको भातको तुलनामा कागुनोको आधा परिमाणले पेट भरिने स्थानियवासीको अनुभव रहेको छ । यसको अलावा यसको सेवनले शरिर तातो हुने र यसले पशुवस्तुको लागि औषधीको काम समेत गर्ने विश्वास रहि आएको छ । कागुनोको उमारशक्ति बढि हुने, सुख्खा र रोगकिरा बढि सहने तथा कोदो बालीसंग पनि मिश्रित खेति गर्न सकिने भएकोले धानको विकल्पको रुपमा यसको खेति गर्न सकिने सम्भावना देखिन्छ ।

पौष्टिक तत्व (प्रति १०० ग्राम)

शक्ति ३३१ क्यालोरी, चिस्यान ११.२ ग्राम, प्रोटीन १२.३ ग्राम, चिल्लो ४.३ ग्राम,  कार्वोहाईड्रेड ६०.९ ग्राम, मिनरल्स ३.३ ग्राम,  फाईवर ८ ग्राम, क्याल्सीयम ३१ mg, फस्फोरस २९० mg,  आईरन १२.९ mg, क्यारोटीन ३२µg, भिटामीन बि १-०.५९ mg, भिटामीन बि २-०.११ mg, भिटामीन बि ३-३.२ mg पाईन्छ । 

महत्व

नेपालको मध्ये र उच्च पहाडी क्षेत्र विशेष गरी कर्णाली प्रदेशमा यसको उत्पादन तथा प्रयोग बढी रहेको छ । गोरखा जिल्लाको उत्तरी भागमा पर्ने चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको उत्पादन हुने गरेको भएता पनि विगतको तुलनामा एकदमै न्युन उत्पादन हुने गरेको छ । चार महिनामा उत्पादन लिन सकिने भएकाले यसलाइ अनिकाल टार्ने अन्नको रुपमा पनि लिइएको छ । हालसम्म नेपालमा कागुनोको कुनै पनि जात सिफारिस भएको छैन ।

महत्व

  • ­कम उर्बर भूमिमा पनि बढी उत्पादन
  • ­छिटो र सजिलैसँग उत्पादन लिन सकिने
  • ­असिना, खडेरी सहनुकासाथै भिरालो जमिनमा पनिराम्रो उत्पादन दिने क्षमता राख्दछ ।

तालिकाः कागुनोमा पाइने पोषणको मात्रा

क्र.सं. पोषण तत्व मात्रा (प्रति १०० ग्राम)
१ पानी ८.८७ ग्राम
२ चिल्लो पदार्थ ८.७६ ग्राम
३ खनिज पदार्थ २.८ ग्राम
४ रेशा ८.७८ ग्राम
५ कार्बोहाइड्रेट ६६.१६ ग्राम
६ शक्ति ३४६ कीलो क्यालोरी
७ क्याल्सियम ७.०५ मिलिग्राम
८ फस्फोरस ३५१.६१ मिलिग्राम
९ फलाम ३.७१ मिलिग्राम

 

जातहरु

जातहरु

नेपालमा कुनैपनि उन्नत जातको खोज र सिफारिस भएको पाईदैन तथापी कृषकहरुले स्थानिय स्तरमा उपलव्ध जातहरुको खेती गर्दै आईरहेका छन् । तर भारतमा भने विभिन्न जातहरु सिफारिस भएका छन् । जस्तै आई एस सी ११९, आई एस सी २०१,सि ओ ३, सि ओ ४

आवश्यकता

हावापानी

कागुनो तराईको समथर भाग देखि 200 मिटरको उचाई सम्म सफलतापुर्वक खेती गर्न सकिन्छ ।

माटो

मलीलो दोमट माटो उपयुक्त भएपनि यो जुनसुकै किसिमको माटोमा गर्न सकिन्छ । कम मलीलो जमिनमा पनि खेती गर्न सकिने साथै सुख्खा समेत सहन सक्ने भएकोले पहाडी भेगमा यसलाई पाखोवारीमा लगाउने गरिन्छ ।

कृषि इन्पुट

बीउ दर

एक रोपनी जमिनको लागी ५०० ग्राम बीउ आवश्यक पर्दछ

जग्गा तयारी

जमिनको तयारी

कागुनोको खेतीका लागि खासै धेरै जमिनको तयारी गर्नु पर्दैन । सामान्य खनजोत गरेको जमिनमा बीउ छरेर समयमा व्यडाउने र एक पटक गोडमेल गरेमा सजिलै यसको उत्पादन लिन सकिन्छ ।

बाली लगाउने समय

तराईमा सिंचाई भएको स्थानमा वर्षमा तिन वाली सम्म उत्पादन हुन्छ भने पहाडी क्षेत्रमा फाल्गुन–चैत्रमा लगाएर जेठ असारमा बाली टिप्ने गरिन्छ । असिंचित क्षेत्रमा भने असार श्रावणमा लगाएर असोज कार्तिकमा बाली लिन सकिन्छ ।

लगाउने तरीका

सामान्यतया यसको बीउ छरुवा विधिवाट नै लगाउने गरिन्छ र हारमा लगाउन परेमा २५ देखि ३० से.मी को दुरीमा लगाउँदा राम्रो हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

प्रति रोपनी १५–२० डोको गोठेमल प्रयोग गर्नु पर्दछ । यसको लागी खासै रसायनिक मल प्रयोग गरेको पाईदैन तथापी राम्रो उत्पादन लीनका लागि ५ के.जी युरीया, ४ के.जी. डि.ए.पी र २.५ के.जी पोटास प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ ।

मिश्रीत खेती

यसलाई हावापानी अनुसार मकै अरहर मास तथा चनासँग मिश्रीत वालीकोरुपमा पनि लगाउन सकिन्छ ।

सिंचाई

कागुनो लाई सामान्यतया सिंचाई गर्ने चलन छैन । वर्षे मौसममा सिंचाईको आवश्यकता पनि पर्दैन तर सुख्खा मौसममा गरिने खेतीमा भने माटोको चिस्यान हेरी २ पटक सम्म सिंचाई गर्न  सके वढी उत्पादन लिन सकिन्छ ।

गोडमेल

कम्तीमा दुई पटक गोडमेल गर्नु आवश्यक हुन्छ । पहिलो गोडमेल कुटोको गर्नु पर्दछ भने वाक्लो भएका ठाउँका विरुवा आवश्यकता हेरी हटाउनु पर्दछ । दोस्रो पटक गोडमेल गर्दा हातले झार निकालेर पनि गर्न सकिन्छ ।

रोगकिरा व्यवस्थापन

कागुनोमा खासै रोगको प्रकोप देखिदैन तर कहिलेकाँहि कालो पोके र खराने रोगले आक्रमण गर्न सक्दछ । यसको नियन्त्रणका लागि बीउ उपचार गरिएको बीउ प्रयोग गर्न सकेमा सजिलै नियन्त्रण गर्न सकिन्छ । बीउ उपचारका लागि भाईटाभेक्स वा वेभिष्टीन २ ग्राम प्रति किलो वीउका दरले प्रयोग गर्न सकिन्छ । किराको आक्रमण खासै देखिदैन ।

बाली कटानी तथा भण्डारण

उत्पादन

सिंचाई नगरिएको क्षेत्रवाट ५० के.जी. र सिंचित जमिनवाट १०० के.जी प्रति रोपनी सम्म उत्पादन लिन सकिन्छ ।

प्रशोधन

सामान्यतया वर्षा हुने समयमा पाकेको वोट वाला टिपेर एउटा ठाउँमा जम्मा गरिन्छ । राम्रो सँग सुकेपछि वालीलाई सफा खलो वा आँगनमा लौरोद्धारा चुटिन्छ । त्यसपछि सफा गरी भणडारण गरिन्छ । वोटको पुरै भाग काटि जम्मा गरी राखेको सुकेको वाली सहितको वोटलाई गोरुले दाईँ गरेर पनी कागुनोको प्रसोधन गर्ने गरिन्छ ।