परिचय

परिचय

गोदावरीको वानस्पतिक नाम Chrysanthemum morifolium र यो Asteraceae परिवार अन्तर्गत पर्दछ । Chrysanthemum ग्रीक भाषाबाट आएको हो भन्ने गोदावरी जापानको राष्ट्रिय फूल पनि हो । गोदावरी फूल खेती सर्वप्रथम चीनमा भएको पाइन्छ । नेपालमा वि.सं. २०१६ सालमा वनस्पती उद्यान स्थापना देखि अनुसन्धानको शुरुवात भएको पाइन्छ । यो बहुउपयोगी फूलको रुपमा लिन सकिन्छ । गोदावरी जातहरु अत्यधिक मात्रामा पाइन्छ । National Chrysanthemum Society of ले ६०००० भन्दा बढी जातहरु सुचिकृत गरेको छ ।

महत्व

महत्व

  • ड्हिउँदमा फुल्ने, जुनबेला फुलहरु कम मात्रामा फुल्ने हुन्छन्
  •  राम्रो व्यापार हुने
  • फुल १५ देखि २० दिन सम्म टिक्न सक्ने
  • सजिलैसंग बिरुवा उत्पादन गर्न र हुर्काउन सकिने
  • गमला वा फिल्डमा सजिलैसंग बिरुवा हुर्काउन सकिने
  • विविधता भएको फुल रंग, आकार र साइज

उपयोगिता

  • कट् फ्लावर
  • लूज फ्लावर
  • गमलामा सजाउन
  •  हेङ्गिग गमलामा सजाउन
  •  बगैंचामा लगाउन

जातहरु

वर्गिकरण

 गोदावरीलाई फूलको बनावट, आकार, मिलान, फर्केको हिसाब र फूलको फ्लोरेट्स संख्याको आधारमा ठूला फूल र साना फूलमा वर्गिकरण गरेको पाइन्छ ।

 साना वर्गमा पर्ने (Small Flower)

  • एकसरो (Single Korena)
  •  दोहोरा  (Double Korena)
  •  एनिमोन (Anemones)
  •  पमपन (Pompon)
  • डेकोरेटिभ( Decorative)
  •  बटन (Button)
  •  क्विल्ड (Quilled)

ठूला वर्गमा पर्ने (Large Flower)

१. इनकर्भ (Incurve)
२. रेफ्लेक्स (Reflex)
 ३. टयूबुलर  (Tubular)
४. स्पाइडर  (Spider)
५. स्पून     (Spoon)
 ६. क्वील  (Quill)

 केही वर्णशंकर प्रजातिहरु स्नोबल, स्नो डन ह्वाइट, डिग्निटी, माउन्टेनियर, सोनार बंगला, ब्राइट गोल्डेन, कासा ग्राण्डे, किकुवोरी, आन्ने, लेहम्यान्स्, सोनाली तारा, पूर्णिमा, टाटा सेन्चरी, चंगेज खान, थाइ चिङ्ग क्वीन अजय, वीरवल साहनी, चन्द्रमा, फलर्ट, ह्वाइट बुके, नानाको आदि रहेका छन् ।

आवश्यकता

तापक्रम

गोदावरी फुलको लागि दिउँसोको तापक्रम २२ डिग्री सेल्सियस र रातीको १६ डिग्री सेल्सियस उपयुक्त हुन्छ । कोपिला लाग्ने समयमा भने २४ देखि २७ डिग्री सेल्सियस भए उपयुक्त हुन्छ । प्लाष्टिक घर र ग्रीन हाउस भित्र गरिने गोदावरी पूmल खेतीका लागि तापक्रम १६–२५० से. र सापेक्षिक आद्रता ७०–८५.५ भएको राम्रो हुन्छ ।

माटो

प्रशस्त प्राङ्गारिक पदार्थ भएको मलिलो माटोमा यसको खेती गर्दा उपयुक्त हुन्छ । माटोको पि.एच. ६.५ भएको बलौटे दोमट माटो यसको खेतीको लागि उपयुक्त हुन्छ ।

नर्सरी व्यवस्थापन

विरुवा प्रसारण

गोदावरीको विरुवा प्रसारण दुई तरिकाबाट गर्न सकिन्छ । खासगरी वानस्पतिक प्रसारण अन्तर्गत कटिङ्ग प्रविधिको बढी प्रयोग गरिन्छ ।

 १. बीउबाटः गोदावरीको बीउ प्रयोग गरेर विरुवा उत्पादन गर्न सकिन्छ तर बीउको प्रयोग गरेर कमै मात्रामा विरुवा उत्पादन गरिन्छ ।

२. बानस्पतिक प्रसारणबाट

  • सकर कटिङ्ग : गोदावरी विरुवाको सकर प्रयोग गरेर विरुवा प्रसारण गर्न सकिन्छ । फूल फूलि सकेपछि माघ देखि फागुन महिना सम्म जमिनको सतह भन्दा केही माथिबाट पुरै डाँठ काटि दिएपछि छेउबाट नयाँ सकरहरु निस्किन्छ र ति नयाँ सकरलाई माउ बोटबाट छुट्ट्याई बालुवामा राखेर नयाँ विरुवा तयार गर्न सकिन्छ ।
  • टुप्पा कटिङ्ग : बैशाख देखि असारसम्म माउ बोटको ५—७ सेमी, २ देखि ३ वटा पातहरु रहने गरि टुप्पा कटिङ्ग गरेर नं. १ रुटेक्स प्रयोग गरि बालुवा वा परलाईटमा कटिङ्गलाई छडके पारि राखेर बिरुवा तयार गर्न सकिन्छ । यो प्रविधिको प्रयोग गरि अधिक मात्रामा बिरुवा उत्पादन गर्न सकिन्छ ।
  • टिस्यूकल्चर : टिस्यूकल्चर प्रविधिको प्रयोग गरेर पनि गोदावरी फूलको बिरुवा उत्पादन गर्न सकिन्छ । यो प्रविधि कमै मात्रामा प्रयोगमा आएको छ ।

जग्गा तयारी

जग्गा तयारी/मलखाद

जग्गा लाई राम्ररी २/३ पटक जोतेर वा खनेर २००० केजी प्रति रोपनी कम्पोष्ट मल हालेर जग्गाको तयारी गर्नु पर्दछ । साथै १ मिटर चौडाई, ०.३ मिटर उचाई र आवश्यकतानुसार लम्वाईको ब्याडहरु तयार गरी प्रति वर्ग मीटर ५० ग्राम डि.ए.पि. राखी माटो उपचार समेत गरि जग्गाको तयारी गर्नु पर्दछ । सामान्यतया नाइट्रोजन, फोस्फोरस र पोटासको अनुपात २०ः२०ः१० ग्राम प्रति वर्गमिटरका दरले हाल्दा उत्पादनमा बृद्धि हुन्छ ।

विरुवा राप्ने तरिका

गोदावरी फुल खेती डयाङ्ग बनाएर लगाईन्छ । १५×१५ वा १० ×१५ से.मी. दुरी कायम गरि लगाउँदा सामान्यतया ४५ देखि ६८ बिरुवा प्रति वर्ग मीटर आवश्यक पर्दछ । जात अनुसार दुरी फरक पर्दछ ।

खेती गर्ने तरिका

खेती

  •  गमलामा
  •  फिल्ड वा पोली हाउस वा ग्रीन हाउसमा

गमलामा हुर्काउने

  • जरा आइसकेका बिरुवा निकाल्ने र ८–१० से.मी. को पोलिव्यागमा सार्ने
  • जरा बढी भएपछि १०–१२ इन्चको गमलामा सार्ने ड्ड गमलामा ४ भाग माटो, २ भाग गाईवस्तुको कुहिएको मल, १ भाग लिफ मोल्ड, पीना र बोनमील राख्ने
  •  सपोर्ट दिने

बाह्रै महिना फुलाउने गोदावरी फूल प्रकाश र तापक्रमलाई नियन्त्रण गरि बाह्रै महिना फूल उत्पादन गर्न सकिन्छ । यसको लागि प्रकाश र तापक्रम नियन्त्रण गर्न सकिने खालको ग्रीन हाउसमा दिनमा १० घण्टा उज्यालो र १४ घण्टा सम्म अँध्यारो पार्न सकेको खण्डमा बाह्रै महिना फूल फूलाउन सकिन्छ । यसको लागि बेलुका ५ बजे देखि बिहान ७ बजेसम्म बाक्लो कालो कपडाले ढाकी दिनु पर्दछ । साथै १० डिग्री सेन्टिग्रेड भन्दा तापक्रम कम हुन गएमा तापक्रम बढाउने उपाय अबलम्बन गर्नु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

सिँचाई

मौसम हेरी गोदावरी फूलमा सिँचाई गर्नु पर्दछ । तर पानी जम्ने गरि कहिले पनि सिँचाई गर्नु हुँदैन । पोलिहाउसमा खेती गर्दा सकेसम्म ड्रिप सिस्टमको प्रयोग गरि सिँचाई गर्दा उपयुक्त हुन्छ ।

 

गोडमेल

झारपात आउन साथ गोडमेल गर्नु पर्दछ । गोडमेल गरि माटोलाई खुकुलो बनाई राखेमा बिरुवाको बृद्धि विकास राम्रोसंग हुने हुँदा पटक पटक गोडमेल गरि राख्नु पर्दछ ।

घोचा (स्केटिङ्ग) राख्ने

विरुवा १.५ फीट साइजको भएपछि घोचा राखेर बिरुवा बाँध्नु पर्दछ । जसले बिरुवालाई ढल्न नदिई गुणस्तरीय फूल उत्पादन लिन सकिन्छ । घोचा राख्नको लागि बाँस, निगालो वा प्लाष्टिकले कोट गरेको तार प्रयोग गर्न सकिन्छ भने प्लाष्टिक डोरी वा अन्य ४,५ इन्चको फरकमा बिरुवा सोझो हुने गरि बाँध्नु पर्दछ । गमलामा घोचा राख्दा विरुवाको जरालाई असर नपर्ने गरि राख्नु पर्दछ ।

 

पिन्चिङ्ग गर्ने

विरुवाको उचाई कम गर्न र शाखा हाँगाहरु बढी निकाल्नको लागि करिब ५—६ इन्च रहने गरि टुप्पा नरम छँदै चिमोटी हटाई दिनु पर्दछ । यसरी टुप्पा हटाउँदा हाँगा विकास हुनमा मद्दत पुग्दछ । पहिलो पिन्चिङ्ग बिरुवा रोपेको ३ हप्ता पछि र दोश्रो पिन्चिङ्ग विरुवा रोपेको ५ हप्ता पछि गर्नु पर्दछ ।

डिस्बडिङ्ग

किन

  • आफुलाई चाहिएजति फुल फुलाउन ।
  • एउटा हाँगामा एउटा मात्र फुल राख्न ।
  • फुलको साइज ठूलो बनाउन ।

कसरी

  • कोपिला सानो छँदै प्रत्येक हाँगामा १–२ वटा कोपिला राखी बाँकी तल्लो भागको मसिना कोपिला हटाउने
  •  टुप्पाको कोपिला राख्ने

रोग व्यवस्थापन

 रोग व्यवस्थापन

गोदावरी खेतीमा लाग्ने ढुसीजन्य रोगहरु एस प्रकार छन्,
 सेतो रस्ट
 पात थोप्ले
पाउडरी मिल्ड्यू
डाँठ कुहिने रोग
 ओइलाउने रोग

रोकथाम :

ढुसीजन्य विषादीहरुको प्रयोग गरि रोग व्यवस्थापन गर्नु पर्दछ ।

किरा व्यवस्थापन

बढी प्रकोप देखिने कीराहरु
  • लिफ माइनर
  • लाही, एफिड
  • थ्रिप्स, रेड स्पाइडर माइट

रोकथाम 
पात र डाँठ चुसेर खाने भएकोले सिस्टमेटिक किटनाशक विषादीको प्रयोग गरि कीरा व्यवस्थापन गर्नु पर्दछ । 

उत्पादनोप्रान्त गरीने क्रियाकलापहरु

फुल उत्पादन

गोदावरी फूल सामान्यतया विरुवा रोपेको ५ देखि ६ हप्तामा फुल्दछ । गोदावरी फूल जात अनुसार फूल्ने समय फरक फरक हुन्छ । फूल काट्दा जमीनबाट करिब १० से.मी. माथिबाट डाँठ काट्नु पर्दछ भने बिहानको समयमा काटेको फूल भन्दा दिउँसो काटेको फूल धेरै दिन सम्म टिक्दछ ।

 ग्रेडिङ्ग र प्याकेजिङ्ग

ग्रेडिङ्ग गर्दा ग्रेड अनुसारको बजार रेट कायम हुने भएकोले गोदावरी फूललाई काटे पश्चात ग्रेडिङ्ग गरेर मात्र बजार पठाउने कार्य गर्नु पर्दछ । फूललाई प्याकेजिङ्ग गर्दा स्टिकको साइज अनुसारको कार्ड बोर्ड बक्सको प्रयोग गर्दा राम्रो हुन्छ ।

भण्डारण
  •  बढी तापक्रम र कम आद्रतामा फूल छिटो मर्ने भएकोले फूल काटे पश्चात विशेष ध्यान पुर्याउनु पर्दछ ।
  • धेरै दिनसम्म भण्डारण गरि राख्न २–५ डिग्री सेल्सियसको तापक्रममा चाहिन्छ ।
  • आद्रता ९७–९८ प्रतिशत कायम गर्नु पर्दछ ।
  •  सुकरोज (Sucrose) ४ प्रतिशतको झोलमा डुवाएर राख्दा करिव १८ दिनसम्म फूल राख्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ सामाग्री

पुष्प विकास केन्द्र, गोदावरी
भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय
कृषि विकास निर्देशनालय, प्रदेश ३