परिचय

परिचय

लसुन गानो तरकारी समूहको एक महत्वपूर्ण तरकारी हो। यो तरकारीको साथसाथै मसलाको रुपमा पनि प्रयोग गरिन्छ । यसको गानोमा प्रोटिन, कार्बोहाइड्रेट, इथर तेल, भिटामिन "ए", र "सी" ड पाइन्छ । यसले संयुक्त गानो उत्पादन गर्छ । जसको हरेक पोटीबाट सिंगै बिरुवा उम्रन सक्छ । यसको उत्पत्ति केन्द्र मध्य एशिया वा दक्षिण यूरोप मानिए तापनि यो संसारभरी पाइन्छ । यसको खेतीमा स्थानीय जातहरू नै प्रचलनमा छन् ।

garlic   garlic

जातहरु

जात

जातहरू : नेपालमा हालसम्म उच्च पहाडमा भोटे टाइपको र मध्य पहाडमा र तराईमा साधरण गरी दुइ किसिमका लसुन प्रचलित छन । जातीय विकास र स्थान विशेषका लागि जातहरू सिफारिस नभैसकेको हालको अवस्थामा स्थानीयस्तरमा पाइने, बढी उत्पादन दिने, रोग कम लाग्ने बाली बाट छनौट गरी स्वस्थ गाना खन्दा साथ बीउका लागी छुट्याइ राख्नु उचित हुन्छ। मार्फा स्थानीय, गोदाम चौर स्थानीय, पाटन स्थानीय आदि केहि प्रचलित जातहरू हुन । हालसालै २००० मी देखि ३००० मी सम्म उचाइ भएका कर्णली प्रदेशका उच्च पहाडका लागि राजिकोट लसुन-१ राजिकोट लसुन-२ उन्मोचित गरिएका छन् ।

आवश्यकता

हावापानी र माटो

लसुन ठण्डा मौसममा लगाईने हिउँदे तरकारी बाली हो । यसको खेतीका लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ । लसुन उच्च पहाडी क्षेत्रका लागि वर्षे बाली हो भने मध्य पहाड र तराईका लागि यो हिउँदे बाली हो । यसले चिसो र तुसारो समेत सहन सक्दछ । प्रशस्त घाम लाग्ने पहारिलो जमिन लसुनको लागि राम्रो हुन्छ । प्रकाश अवधि कम तथा मौसम सफा नभएमा बाली अवधि लामो हुने र लसुनको पोटीको विकास नहुने हुन्छ । लसुन सामान्यतया कम उर्वर माटोमा समेत उत्पादन दिन सक्ने बाली हो । राम्रो उत्पादन लिनको लागि प्रशस्त प्राङ्गारिक पदार्थ भएको, खुकुलो, बलौटे दोमट माटो उपयुक्त हुन्छ । कडा माटोमा गानोको वृद्धि बिकास राम्रोसँग हुन सक्दैन । माटोको पि.एच.मान ५.८ देखि ६.५ भएमा राम्रो हुन्छ ।

बीउदर

२५ – ५० केजी मध्यम देखि ठुलो आकारको बीउ पोटी प्रति रोपनी (५०० देखि १००० केजी प्रति हेक्टर)

जग्गा तयारी

रोप्ने समय

उच्च पहाडः चैत्र – वैशाख
मध्य पहाडः श्रावण – माघ
तराई तथा खोंच/बेसीः आश्विन – कार्तिक 

रोप्ने दुरी

१५ सेमी * २५ सेमी (लाईन–लाईन * बोट–बोट)

रोप्ने गहिराई

 ३ देखि ५ सेमी गहिराईमा हरेक डोबमा लसुनको एउटा पोटी मात्र रोप्ने

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

लसुन खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

मलखादको नाम मात्रा
के.जी. प्रति रोपनी के.जी. प्रति कठ्ठा के.जी. प्रति हेक्टर
गोठेमल वा कम्पोष्ट १५०० (१.५ टन) १००० (१ टन) ३०००० (३० टन)
युरिया १२ २४० 
डिएपी १२ २४०
म्युरेट अफ पोटास २.६७ ८० 
जिंक सल्फेट १ (१००० ग्राम) ०.७ (७०० ग्राम) २० 

नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्ने बेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजनलाई आधा आधा गरी लसुन रोपेको ३० र ६० दिनपछि गोडमेल गर्दा टपड्रेस गर्नु उपयुक्त हुन्छ । लसुनको राम्रो उत्पादनको लागि सल्फर तत्वको आवश्यकता पर्ने हुनाले उपलब्ध भएसम्म एमोनियम सल्फेटले टपड्रेस गर्नु उपयुक्त हुन्छ । यसरी एमोनियम सल्फेटले टपड्रेस गर्ने भएमा जमिन तयारी गर्दा प्रयोग हुने सल्फरको मात्रा कटौती गर्नुपर्दछ ।

गोडमेल र सिँचाई

लसुनको जरा धेरै गहिरो नहुने हुनाले बेलैमा झारपात नियन्त्रण गर्नु जरुरी हुन्छ । लसुन रोपेलगत्तै पराल, खर वा छवालीले छापो दिनुपर्दछ र लसुन उम्रन थालेपछि छापो हटाउनुपर्दछ । उम्रेको १०–१५ दिनपछि पहिलो गोडमेल गर्नुपर्दछ र आवश्यकता अनुसार ४ देखि ५ पटक सम्म गोडमेल गर्नुपर्दछ । लसुन उम्रेको ३० र ६० दिनपछि नाईट्रोजन मल टपड्रेस गरी माटोमा मिलाउनुपर्दछ । पछिल्लो गोडमेलहरुमा बिरुवाको बन्दै गरेको गानोमा चोटपटक नलागोस भनेर बिशेष सतर्कता अपनाउनुपर्दछ । लसुन रोप्नुअघि माटोमा प्रशस्त चिस्यान हुनुपर्दछ । चिस्यान कम भएमा रोप्नु अगावै सिँचाई गर्नुपर्दछ र ठिक मात्रामा चिस्यान भएको अवस्थामा रोप्नुपर्दछ । मौसम तथा माटोको सुख्खापन हेरी ५ देखि ७ दिनको फरकमा नियमित सिँचाई गर्नुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै सिँचाई गर्नु आवश्यक हुन्छ । लसुनको तीव्र वानस्पतिक वृद्धि हुने गाना लाग्नुभन्दा अगाडिको समयलाई सिँचाईका हिसाबले संवेदनसिल अवस्था मानिन्छ । गाना लागिसकेपछि पानीको मात्रा घटाउन सकिन्छ । लसुन उखेल्नुभन्दा २० – २५ दिन पहिलेबाट सिँचाई बन्द गर्नुपर्दछ ।

रोग व्यवस्थापन

प्याजी डढुवा रोग (Purple Blotch)

 यो रोगको मुख्य स्रोत नै बीउ हो । स–साना सेता लाम्चा थोप्लाहरु नरम पातहरुमा देखिन्छन्। पातको टुप्पोमा सबभन्दा पहिला यो रोगको लक्षण देखा पर्दछ । विस्तारै यी थोप्लाहरु पातदेखि तलतिरका भागहरुमा पनि फैलिदै जान्छ । पछि पातहरु डढेर जान्छन्। गानोमा पनि यो रोग फैलिदै जान्छ । गानोमा चारै तिर रातो पहेंलो पानी निस्कन्छ र सड्न थाल्दछ । सापेक्षिक आद्रता ८०–९०% र २४–२७º सेल्सियस तापक्रम भएको बेलामा यो रोगको प्रकोप बढ्न थाल्छ ।

  1. रोगको अवस्था हेरेर ७– ७ दिनको फरकमा साफजस्ता विषादीहरु २ ग्राम प्रतिलिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्ने गरी ३– ४ पटकसम्म छर्केर उपचार गर्ने 
  2. तीन बर्षको बाली चक्र अपनाउने 
  3. खेतबारीमा पानी निकासको राम्रो व्यावस्था गर्ने 
  4. पछौटे बालीमा यो रोग बढी लाग्ने भएकोले रोग छल्नको लागि बाली छिटो लगाउने 
  5. रोग लागेका प्याजका गानाहरुको भण्डाराण नगर्ने 
प्याज/ लसुनको कालो पोके

बीउ उम्रने बेलामा यो ढुसीले बिउको दलमा आक्रमण गर्न थाल्दछ । दलमा नयाँ पातमा काला बाक्ला घेरा परेका थोप्लाहरु देखा पर्दछन । पातहरु असामान्य खालका र तलतिर झुकेका हुन्छन । गानाको बाहिरी पत्रहरुमा फोकाहरु उठ्न थाल्दछन्। यी फोकाहरु फुटेर कालो ढुसीका धुलाहरु यत्रतत्र छरिन्छन्। १०–१२ डिग्री सेल्सियस तापक्रम यो रोगको लागि उपयुक्त तापक्रम हो । रोगी बीउ र गाना नै यो रोगको प्रमुख स्रोत हो ।

  1.  माटोमा यो रोगको जीवाणु ५ वर्षसम्म रहने भएकोले रोगग्रस्त क्षेत्रमा कम्तिमा ६ वर्षसम्म लसुन प्याज नलगाउने 
  2.  वेभिष्टिन विषादी २ ग्राम प्रति के.जी. बिउको दरले बिउको उपचार गर्ने 
  3. वेभिष्टिन वा डाइथेन एम–४५ को २ ग्राम प्रतिलिटर पानीका दरले झोल बनाई ५–१० मिनेटसम्म गानोलाई डुबाएर मात्र रोप्ने 

कीरा व्यवस्थापन

थ्रिप्स्, सुलसुले, लाही 

थ्रिप्स धेरै सानो, पँहेलो रङको हुन्छ । यो लसुनको प्रमुख शत्रुकिरा हो । थ्रिप्सको माउ तथा बच्चाले पातको सतहमा कोतरेर रस चुस्दछन्। थ्रिप्स लागेका पातमा सेता धब्बा देखिने र पात सुक्दै जाने गर्दछ र पात केही खुम्चने, टुप्पा खैरो हुने तथा मर्ने हुन्छ । लाही तथा सुलसुलेले पातमा बसी रस चुसेर नोक्सान पुर्याउँछन्।

  1.  निममा आधारित विषादी (एजाडाईरेक्टिन १५०० पी.पी.एम.) ५ मिलिलिटर प्रतिलिटर पानीका दरले मिसाएर छर्ने 
  2.  मालाथियन ५०% ई.सी. २ मिलिलिटर प्रतिलिटर पानीका दरले मिसाई छर्नुपर्दछ । यसरी मालाथियन छरिसकेपछि कम्तीमा १ हप्तासम्म प्याजको गाना तथा पात खानुहुँदैन ।

बाली कटानी तथा भण्डारण

उत्पादन

हरियो सागको लागि रोपेको लसुन हो भने बोटको अधिकतम वृद्धि भएको कलिलो अवस्थामा गानोसहित लसुन उखेल्नुपर्दछ । प्रति रोपनी १५०० देखि २००० के.जी. सम्म हरियो साग उत्पादन गर्न सकिन्छ । गानोको लागि लसुनको बोट पहेँलो भएर ढल्न थालेपछि बाली तयार भएको सम्झनुपर्दछ ।

गाना खनेपछि मुठा मुठा बनाएर छायाँमा सुकाउनुपर्दछ । औसतमा ६०० देखि १२०० के.जी. प्रति रोपनी वा १२ देखि २४ टन प्रति हेक्टर सम्म लसुनको उत्पादन लिन सकिन्छ । 

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

तरकारी खेती प्रविधि पुस्तक 
(परिमार्जित संस्करण २०८१)

तरकारीबाली विकास केन्द्र, खुमलटार