बीउ छरिसकेपछि ब्याडको हेरचाह र उचित व्यवस्थापन गर्नुपर्छ । औसत २०⁰C को तापक्रममा तरकारीका बीउहरू उम्रन थाल्दछन् । बीउबाट अंकुर आउनासाथ पराल वा सुकेको घाँस विस्तारै झिकिदिनुपर्दछ । सबै बीउ नउम्रदासम्म निरन्तर ब्याड चिसो राख्नुपर्दछ । बेर्ना दुई पाते भएपछि दुई प्रतिशत युरिया झोलले ब्याडको सिंचाइ गर्नाले बिरुवा चाँडै हुर्कन्छ । प्रायजसो ३ सातापछि बेर्ना खेतबारीमा सार्न लायक हुन्छ । यस अवधिमा झारपात नियन्त्रण, चिसो र घामपानीबाट बेर्नालाई बचाउन ध्यान दिनुपर्छ ।
ब्याड धेरै मलिलो र रसिलो हुने हुनाले प्रशस्त मात्रामा झारपात उम्रन्छन् । यी झारपातहरूले ब्याडको पोषक तत्व सोसेर बेर्ना निर्बल र पहेँलो पार्ने हुँदा निरन्तर उखेल्नुपर्छ तथा माटो खुकुलो पार्न १–२ पटक कुटोले गोड्नु पर्छ । बेर्ना धेरै बाक्लो भएमा पातलो पार्ने, बेड्याउने कार्य गर्नुपर्छ । नर्सरी ब्याडलाई तुषारो र वर्षाको पानीबाट बचाउन प्लास्टिकको गुमोज बनाउनपर्छ । तर छोपेको प्लास्टिक भने दिउँसो कडा घाममा झिकिदिनुपर्छ । धेरै कडा घामबाट बेर्ना बचाउन स्याउला, पराल वा खरको अस्थायी छाप्रो बनाउन सकिन्छ तर यस्तो छाप्रो डेढ/दुई मिटर अग्लो हुनुपर्छ ।
बेर्ना बढ्ने अवस्थामा विभिन्न रोग तथा कीराहरूले आक्रमण गर्दछन् । त्यस्तो रोगमा बेर्ना कुहिने रोग प्रमुख छ । यसले बीउ बेर्ना र हुर्की सकेका बेर्नाहरूलाई हानी गर्छ । यो रोग ३–४ किसिमका जीवाणुबाट लाग्छ । यी जीवाणुहरू माटो, बीउ तथा पानीबाट फैलिन्छन् । यो रोग बेर्नाका विभिन्न अवस्थामा लाग्दछ । उम्रनै नपाई बीउ माटोमा कुहिने, अंकुर निस्की माटो बाहिर ननिस्कदै कुहिने बेर्नाको फेद कुहिएर मर्ने, डाँठमा तारले बाँधेजस्तो घेरो बसी मर्ने लक्षणहरू देखिन्छन् । रोगको रोकथाम गर्न ब्याडमा माटोको उपचार, बीउको उपचार, ब्याडको सररफाइ तथा गुणस्तरीय बीउको प्रयोग गर्नुपर्छ ।
ब्याड बढी चिसो भएमा तथा पानीको निकास राम्रो नभएमा बेर्ना कुहिने रोग अत्याधिक लाग्दछ । बेर्ना हुर्केपछि रोगको आक्रमण भएमा रोगनाशक औषधि प्रयोग गर्नुपर्छ । डायथेन एम ४५ वा मेटाल्याक्सिल र मेन्कोजेव, बेभिस्टिन भएको विषादी दुई ग्राम प्रतिलिटर पानीमा मिसाई बोट तथा माटो भिज्ने गरी छर्नुपर्छ तथा कीरा लागेमा नुभान प्रयोग गर्न सकिन्छ ।