परिचय

परिचय

परिचय

तरकारी खेती दुई किसिमबाट गर्न सकिन्छ, खेत–बारीमा सोझै बीउ रोपेर तथा नर्सरीमा बेर्ना तयार गरेपछि स्थायी स्थानमा सारेर । सोझै खेतमा रोपिने वा छर्ने तरकारीहरूमा चम्सुर, पालुङ्गो, बोडी, सिमी, मुला, सलगम, केराउ आदि पर्दछन् भने नर्सरीमा बेर्ना तयार गरी स्थायी स्थानमा सार्नुपर्ने तरकारीहरूमा काउली, बन्दा, ब्रोकाउली, ग्याँठकोपी, रायो, स्विसचार्ड, जिरीको साग, प्याज, कुरिलो, गोलभेंडा, भान्टा, खुर्सानी आदि पर्दछन् । यसका अतिरिक्त काउली बाली समूहका तरकारी बालीहरूलाई भने सानै अवस्थामा केही पातलो गरी अर्को नर्सरीमा पुनः सार्नुपर्छ जसलाई बेर्ना जर्ख्याउने भनिन्छ । तरकारीलाई नर्सरीमा तयार पार्दा धेरै तरिकाबाट फाइदा हुन्छ जसको विवरण निम्नानुसार छ ।

  • बीउको मितव्ययिता हुन्छ ।
  • अधिक वीजांकुरण हुन्छ ।
  • हेरचाह र सुरक्षा गर्न सजिलो तथा सस्तो हुन्छ ।
  • प्रतिकूल मौसममा पनि बेर्नाको तयारी गर्न सकिन्छ ।
  • उच्च गुणस्तरीय बेर्ना तयार पार्न सजिलो हुन्छ ।

 

जानकारी

बेर्नाको हेरचाह

बीउ छरिसकेपछि ब्याडको हेरचाह र उचित व्यवस्थापन गर्नुपर्छ । औसत २०⁰C को तापक्रममा तरकारीका बीउहरू उम्रन थाल्दछन् । बीउबाट अंकुर आउनासाथ पराल वा सुकेको घाँस विस्तारै झिकिदिनुपर्दछ । सबै बीउ नउम्रदासम्म निरन्तर ब्याड चिसो राख्नुपर्दछ । बेर्ना दुई पाते भएपछि दुई प्रतिशत युरिया झोलले ब्याडको सिंचाइ गर्नाले बिरुवा चाँडै हुर्कन्छ । प्रायजसो ३ सातापछि बेर्ना खेतबारीमा सार्न लायक हुन्छ । यस अवधिमा झारपात नियन्त्रण, चिसो र घामपानीबाट बेर्नालाई बचाउन ध्यान दिनुपर्छ ।

ब्याड धेरै मलिलो र रसिलो हुने हुनाले प्रशस्त मात्रामा झारपात उम्रन्छन् । यी झारपातहरूले ब्याडको पोषक तत्व सोसेर बेर्ना निर्बल र पहेँलो पार्ने हुँदा निरन्तर उखेल्नुपर्छ तथा माटो खुकुलो पार्न १–२ पटक कुटोले गोड्नु पर्छ । बेर्ना धेरै बाक्लो भएमा पातलो पार्ने, बेड्याउने कार्य गर्नुपर्छ । नर्सरी ब्याडलाई तुषारो र वर्षाको पानीबाट बचाउन प्लास्टिकको गुमोज बनाउनपर्छ । तर छोपेको प्लास्टिक भने दिउँसो कडा घाममा झिकिदिनुपर्छ । धेरै कडा घामबाट बेर्ना बचाउन स्याउला, पराल वा खरको अस्थायी छाप्रो बनाउन सकिन्छ तर यस्तो छाप्रो डेढ/दुई मिटर अग्लो हुनुपर्छ ।

बेर्ना बढ्ने अवस्थामा विभिन्न रोग तथा कीराहरूले आक्रमण गर्दछन् । त्यस्तो रोगमा बेर्ना कुहिने रोग प्रमुख छ । यसले बीउ बेर्ना र हुर्की सकेका बेर्नाहरूलाई हानी गर्छ । यो रोग ३–४ किसिमका जीवाणुबाट लाग्छ । यी जीवाणुहरू माटो, बीउ तथा पानीबाट फैलिन्छन् । यो रोग बेर्नाका विभिन्न अवस्थामा लाग्दछ । उम्रनै नपाई बीउ माटोमा कुहिने, अंकुर निस्की माटो बाहिर ननिस्कदै कुहिने बेर्नाको फेद कुहिएर मर्ने, डाँठमा तारले बाँधेजस्तो घेरो बसी मर्ने लक्षणहरू देखिन्छन् । रोगको रोकथाम गर्न ब्याडमा माटोको उपचार, बीउको उपचार, ब्याडको सररफाइ तथा गुणस्तरीय बीउको प्रयोग गर्नुपर्छ ।

ब्याड बढी चिसो भएमा तथा पानीको निकास राम्रो नभएमा बेर्ना कुहिने रोग अत्याधिक लाग्दछ । बेर्ना हुर्केपछि रोगको आक्रमण भएमा रोगनाशक औषधि प्रयोग गर्नुपर्छ । डायथेन एम ४५ वा मेटाल्याक्सिल र मेन्कोजेव, बेभिस्टिन भएको विषादी दुई ग्राम प्रतिलिटर पानीमा मिसाई बोट तथा माटो भिज्ने गरी छर्नुपर्छ तथा कीरा लागेमा नुभान प्रयोग गर्न सकिन्छ ।

प्रविधि

जग्गाको छनोट तथा तयारी

जग्गाको छनोट तथा तयारी

तरकारीका बेर्नाहरू कलिला हुन्छन् । प्रतिकूल हावा–पानीको प्रभावले बेर्ना उत्पादनलाई ठूलो असर पार्दछ । चिसो तापक्रममा बीउ उम्रन र बेर्ना बढ्नसमेत लामो समय लाग्दछ । बढी घामको प्रभावले बेर्ना ओइलाउँछन् । तसर्थ बेर्ना हुर्कन, तापक्रम, आद्र्रता र प्रकाशको ठूलो भूमिका हुन्छ । यसै तथ्यलाई ध्यान दिई ब्याडको छनोट गर्दा प्रशस्त प्राङ्गारिक पदार्थ भएको माटो, सिंचाइको सुविधा साथसाथै प्रकाश, सापेक्षिक आद्र्रता र तापक्रमको प्रभाव अनुकूल भएको स्थलको छनोट गर्नुपर्छ । राम्रोसँग स्वस्थ बेर्ना उमार्नका लागि खुकुलो प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट माटो चाहिन्छ । यसकारण अलिअलि बालुवा मिसिएको माटो यसका लागि उपयुक्त हुन्छ । यस्तो माटोले छिट्टै पानी सोसेर लिन सक्ने र छिटो थिग्रिएर पानी जान सक्ने हुन्छ । माटोमा बिरुवालाई चाहिने सबै प्रकारको पोषण तत्व हुन अनिवार्य छ । माटोको भौतिक गुण सुधार गर्न बालुवा १ भाग, प्राङ्गारिक मल १ भाग, पाँगो माटो १ भाग तथा आवश्यकतानुसार रासायनिक मलखाद हाली माटोको सुधार गरी उत्पादक बनाउन आवश्यक छ । नर्सरी जमाउनका लागि जग्गा छनोट गर्दा पारिलो, ठूला रुख नभएको, पानी र निकासको राम्रो प्रबन्ध भएको स्थान घरको नजिक भए वेश हुन्छ ।

छानिएको जग्गाको माटो राम्रोसँग तयार गरिसकेपछि ब्याडको तयारी शुरु गर्नुपर्छ । ब्याडको लम्बाइ आफ्नो आवश्यकताअनुरूप ३ मिटर वा थपघट गर्न सकिन्छ । दुई ब्याडको बीचमा ३०–४० सेमि चौडा कुलेसो हुनुपर्छ । सबै ब्याडमा सिंचाइ र निकासको सुविधा पुग्ने गरी कुलेसो निर्माण गर्नुपर्छ । ब्याडको माटो पुनः १–२ पटक हलुकासँग खनी खस्रो पदार्थ, डल्लाडुल्ली र झारपातहरू सबै हटाइनुपर्छ । दश किलोग्राम प्रतिवर्ग मिटरका दरले पाकेको गोबर मल तथा ५ ग्राम युरिया, ५ ग्राम डी.ए.पी., ५ ग्राम म्युरेट अफ पोटास प्रति वर्ग मिटरका दरले ब्याडमा राम्ररी छरेर मिलाइदिनुपर्छ । १० ग्राम युरियालाई प्रतिलिटर पानीको घोल बेर्ना उम्रेका १०—१५ दिनमा झोलको रूपमा छर्के लाभदायक हुन्छ । झोलका रूपमा युरिया छर्दा दुई प्रतिशतभन्दा बढीको झोल भएमा बिरुवा डढ्ने डर हुन्छ । यसरी यी मलहरू माटोमा मिसाइसकेपछि माथिबाट ३–४ से.मि. मसिनो बुरबुराउँदो कम्पोष्ट मल मिसाई ब्याड तयार गर्नुपर्छ । काँचो मल भने हाल्नु हुँदैन । मल हालेर जमिन तयार गर्दा माटोको उपचार गर्नुपर्छ । यसको लागि फर्मालिन (४० प्रतिशत फर्मल्डीहाइड) १०० भाग पानीमा मिसाई २०० लिटर प्रति रोपनीका दरले छरिदिनुपर्छ । यो घोल राखिसकेपछि पोलिथिन वा त्रिपालले ७२ घन्टासम्म माटोलाई छोपिराख्नुपर्छ । फर्मालिनको उपचारपछि क्याल्डान द्ध न्, क्लोरेडेन, मालाथायन धूलो आदिमध्ये कुनै एक ५०० ग्राम प्रति रोपनीका दरले माटोमा चारैतिर पर्ने गरी छर्नुपर्छ । विषादीको प्रयोगबिना पनि हानिकारक रोग–कीराको सजिलैसँग नियन्त्रण गर्ने धेरै उपाय छन् जसमध्ये जैविक प्रविधिबाट हानिकारक जीवको नियन्त्रण गर्ने उपाय हाल विश्वमा दु्रत गतिमा आएको छ । यहाँ नेपालमै विकास गरिएको जैविक प्रविधिको वर्णन तल गरिएको छ।

बीउ जमाउने तरिका

बीउ जमाउने तरिका
राम्रो बेर्ना उत्पादनका लागि असल बीउको आवश्यक पर्दछ । बीउ छर्नु अगाडि बीउको उम्रने शक्ति परीक्षण गरेको तथा उपचारित बीउ हुनुपर्छ, जसबाट उत्पादन विफल हुने शंका हुँदैन । उमार शक्तिको परीक्षण भएको बीउ नभएमा आफैले घरमै पनि सरल तरिकाबाट उम्रने शक्तिको जाँच गर्न सकिन्छ । यसको लागि सानो प्लेट वा भाँडोमा पानीमा भिजाई कागज राखी त्यसैमा एक सय बीउको गेडा चारैतिर पर्ने गरी १०–१० गेडा १० लाइनमा राखी माथिबाट पनि भिजेको अर्को कागजले छोपि दिनुपर्छ ।

बीउको उम्रने शक्तिको परीक्षण गर्दा पहिलो गन्ती बीउ राखेको पहिलो चार दिन र त्यसपछि दोस्रो गन्ती फेरि अर्को चार दिनमा गर्नुपर्छ । अर्को किसिमबाट उम्रने शक्तिको परीक्षण गर्न एक सय गोटा बीउ माटोमा रोपी उम्रेका बीउको संख्या लिई उमार शक्ति कति प्रतिशत रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ । यी बीउ परीक्षण कार्यहरू ब्याडमा बीउ जमाउने १०–१५ दिनअघि नै गर्नुपर्छ । कमसेकम ७०–८० प्रतिशत उमार शक्ति भएका तरकारीका बीउहरू मात्र छर्नुपर्छ ।

बीउ छर्दा सानो छेस्काले वा चुच्चे कुटोले १०–१५ से.मि. को फरकमा २–३ से.मि. गहिरो धर्साहरू बनाई हरेक धर्सामा एकनाससँग बीउ पर्ने गरी मुठ्ठीमा लिएको बीउ बुढी औंला, चोरी औंला र माझी औंलाको सहायताले धर्सामा खसाल्दै जानुपर्छ । अक्सर गरी बीउ पातलो पारी खसाल्न बीउमा ४–५ भाग सुख्खा माटो वा बालुवा वा धुलो कम्पोष्ट मिसाई छर्नुपर्छ । धर्सामा बीउ छरिसकेपछि त्यस धर्सामा बालुवा वा फुको माटो वा खरानी वा धूलो कम्पोष्ट माथिबाट खसालिदिनुपर्छ तथा हातले हलुकासँग थिचिसकेपछि पूरा ब्याड पराल वा सुकेको घाँसले छोपिदिई ब्याड राम्ररी भिज्ने गरी फोहरा वा हजारीले एकनाससँग पानी हाल्नुपर्छ ।

बेर्ना उमार्ने अन्य तरिकाहरू

प्रतिकूल मौसम वा अन्य असुविधापूर्ण अवस्थामा केही कृत्रिम माध्यम तथा परिवर्तित विधिबाट बेर्ना तयार पार्न सकिन्छ ।

प्लास्टिक थैलो वा गमलामा बेर्ना तयार पार्ने
प्लास्टिक थैला वा गमलामा माटो भरेर बेर्ना उमार्न सकिन्छ । माटो तयार गर्दा दुई भाग जङ्गलको माटोमा दुई भाग पाकेको मल र एक भाग बालुवा मिसाई थैलो वा गमला भरिन्छ । यस्तो गमला वा थैलोमा फर्सी, घिरौला, काँक्रो, करेला आदि तरकारी रोपिन्छ । प्रत्येक थैलोमा दुईवटा बीउ हाल्नुपर्छ । यस्ता थैलाहरूलाई घाम, पानी र तुषारोबाट बचाउन एक स्थानबाट अर्को सुरक्षित स्थानमा लग्न सकिन्छ । खेतबारीमा उपयुक्त मौसम हुनासाथ थैलो काटेर विस्तारै हटाई स्थायी स्थानमा बेर्ना सार्नुपर्दछ । प्लास्टिकको थैलोको साटो चिया खाने प्लास्टिकका कपहरू पनि प्रयोग गर्न सकिन्छ ।

  • बेर्ना उमार्नका लागि १०×१५ से.मि. को प्लास्टिक थैलोको आवश्यकता पर्दछ
  • उक्त थैलाको पिँधमा ४ वटा प्वाल र मध्य भागमा ४ वटा प्वाल पार्नुपर्दछ
  • थैलामा भर्ने मिश्रण २ भाग बलौटे वा जङ्गलको माटो, २ भाग गोबर मल र १ भाग खरानी राम्रोसँग मिसाएर बनाउनुपर्छ ।
  • मिश्रण सुख्खा भएमा पानी राख्नुपर्दछ ।
  • थैलामा मिश्रण भर्दा २–३ से.मि. गहिराइमा प्रतिथैला २ वटा बीउ रोप्नुपर्दछ । यसरी तयार गरेका थैला पूर्ण गुमोज, अर्ध गुमोज वा छहारीभित्र राख्नुपर्दछ ।
  • बीउलाई २४ घन्टा मनतातो पानीमा भिजाएर रोप्नुपर्दछ ।
  • बेर्ना उम्रिएपछि एक–एक बित्ताको फरकमा ठाउँ सार्नुपर्दछ ।
  • बेर्ना उम्रिएपछि दुईवटा बिरुवामध्ये एउटा कमजोरलाई हटाउनुपर्दछ ।
  • दिउँसोको घाममा गुमोजको प्लास्टिक खोलिदिनुपर्दछ । राति, बिहान, बेलुका र पानी परेको बेलामा ढाकिदिनुपर्दछ ।
  • बेर्नालाई ढुसी रोगबाट बचाउन डाइथेन एम–४५, २ ग्राम वा बेभिस्टिन १ ग्राम प्रतिलिटर पानीमा मिसाई माटो भिज्ने गरी छर्कनु पर्दछ । कीरा नियन्त्रण गर्न नुभान २ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्कनु पर्दछ ।
  • बिरुवालाई थप बलियो बनाउन १० ग्राम युरिया प्रतिलिटर पानीमा मिसाई वा एक गिलास गाईभैंसीको गहुँतमा १० गिलास पानी मिसाई १०–१५ दिनको फरकमा छर्कनु पर्दछ ।
  • बेर्नालाई जर्खराउन बेर्ना सार्नुभन्दा ३–४ दिन पहिले गुमोजको प्लास्टिक हटाउनुपर्दछ ।
  • बेर्ना ३–४ पाते भएपछि सार्नुपर्दछ ।

काठको ट्रेमा बेर्ना उमार्ने
यस्तो ट्रे काठ वा सिमेन्टबाट चतुर्भुजाकार वा वर्गाकारजस्तो बनाउन सकिन्छ । साधारणतया यो १.५ फिट चौडा र २ फिट लम्बाइको बनाउँदा हुन्छ । यसको गहिराइ भने १५–२० से.मि. हुनुपर्छ । ट्रेमा माथि भनिएजस्तै माटोको मिश्रण भर्नुपर्दछ । यस्तोमा बेर्नालाई आवश्यक भएमा घाम, पानी र वर्षाबाट जोगाउन सकिन्छ ।

प्लास्टिक टनेल वा प्लास्टिक गृहमा बेर्ना जमाउने
बेर्ना उमार्नका लागि प्लास्टिक वा प्लास्टिक गृहको पनि उपयोग गरिन्छ । यस्तो घर भित्रको तापक्रम उपयुक्त पार्न सकिन्छ ।

ब्याडको किसिम (मौसमी तरकारी उत्पादनको लागी)

ब्याडको किसिम
मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न दुई किसिमको तरकारी ब्याड बनाउनुपर्छ ।

मौसमी तरकारी उत्पादन गर्न ब्याडको तयारी
मौसमी तरकारी उत्पादन गर्नका लागि निम्नानुसारको तरिका अपनाई ब्याडको तयारी गरिन्छ ।

उठेको व्याड (वर्षे ब्याड)
यो तरिकाको ब्याड वर्षा सिजनको लागि बनाइन्छ । यसमा १ मिटर चौडाइ र आफ्नो आवश्यकता अनुसारको लम्बाइ (बढीमा ३ मिटर लामो) राखेर १५ से.मि. अग्लो पारेर उठेको ड्याङ बनाइन्छ । यस्तो किसिमको ब्याड बनाई नर्सरी राख्दा नर्सरीमा पानीको राम्रो निकास हुन्छ जसले स्वस्थ बिरुवा उत्पादन गर्न सहयोग गर्छ । आवश्यक मलखाद राखेपछि १० से.मि. को फरकमा २–३ से.मि. गहिरो रेखा कोरी बिउ खसाल्ने र गोठेमल वा खरानीको धूलोले छोपिदिने र सुकेको घाँस वा परालले छोपी चिस्यान हेरी हल्का सिंचाइ गर्नुपर्छ । वर्षामा झरी–बादल भएमा पराल वा परालको छानो बनाउने तर पानी नपरेको अवस्थामा छानो निकाली दिनुपर्दछ । छानो राखी राख्दा बेर्ना अनावश्यक हिसाबले अग्लो हुन गई बेर्नाको गुणस्तर घट्न जान्छ, यसले उत्पादनमा नकारात्मक असर पार्दछ ।

गहिरो ब्याड (हिउँदे ब्याड)
यो तरिकाको ब्याड हिउँदे सिजन वा सुख्खा यामको लागि चिस्यान बचाउनका लागि बनाइन्छ । जमिन तयार पारिसकेपछि १ मिटर चौडाइको भित्र पारेर ४ इन्च अग्लो डिल वा आली र ४ इन्च नै चौडाइको क्यारी बनाई माथिझैं मलखाद तथा औषधोपचार गरी बीउ छर्नुपर्छ ।

ब्याडको किसिम (बेमौसमी तरकारी उत्पादनको लागी)

न्यून तापक्रम भएको समयमा पनि विभिन्न प्रविधिको प्रयोग गरी धेरै तापक्रम चाहिने बालीहरूको बेर्ना उत्पादन गरी तरकारी उत्पादन गर्न सकिन्छ । न्यून तापक्रम भएको समयमा पनि तपसिल बमोजिमको प्रविधि अपनाएर तरकारीका बेर्ना उत्पादन गर्न सकिन्छ । यी ब्याडहरू हिउँदमा बनाइने भएकोले क्यारी तरिकाबाटै ब्याड बनाउन उपयुक्त हुन्छ ।

हटबेड बनाएर
यो तरिकामा पनि १ मिटर चौडाइ र आफ्नो आवश्यकता अनुसारको लम्बाइ राखी मलखाद मिसाउने काम र बीउ छरेर परालको छापो हाल्ने काम सकेपछि उक्त ब्याडलाई सेतो प्लास्टिकले छोपेपछि भित्रको तापक्रम बढ्न गई बीउ छिटो उमार्ने तरिकालाई हटबडे तरिका भनिन्छ ।

प्लास्टिकको पूर्ण गुमोज बनाएर
यो तरिकामा पनि १ मिटर चौडाइ र आफ्नो आवश्यकता अनुसारको लम्बाइ राखी मलखाद मिसाउने काम र बीउ छरेर परालको छापो हाल्ने काम सकेपछि उक्त ब्याडमा २.५ मिटर लामो बाँंसको भाटालाई दुबै छेउ तिखारेर ब्याडको चौडाइतिरबाट चौडाइतिर अर्धाचन्द्राकारमा गाड्ने । उक्त भाटाहरू ५० से.मि. को दूरीमा गाडने र सेतो प्लास्टिकले ढाकी छेउलाई माटोले च्यापिदिने । यसो गर्दा भित्र हिउँदको जाडो मौसममा पनि लगभग ३०० सेन्टिग्रेटभन्दा बढी तापक्रम हुन गई बीउ सजिलै उम्रन्छ । काँक्रो बालीको वसन्त–ग्रीष्म याममा अगौटे बाली लिनको लागि जाडो यामको अन्त्यतिर उच्च पहाडमा चैतमा, मध्य पहाड र तराईमा माघ र पुसमा प्लास्टिकको गुमोज भित्र प्लास्टिक थैलामा बेर्ना हुर्काउनुपर्दछ ।

प्लास्टिकको अर्ध गुमोज
असार, साउन र भदौमा बेर्ना हुर्काउन प्लास्टिकको अर्ध गुमोज बनाउनुपर्दछ । अर्ध गुमोजले हावा खेल्न दिन्छ तर वर्षाको पानीबाट बेर्नालाई जोगाउँदछ । सोझै बीउ रोपेर खेती गर्दा बेर्ना अवस्थामा विशेष हेरचाह गर्न कठिनाइ हुने भएकोले वर्षामा पनि अर्ध गुमोजभित्र बेर्ना हुर्काउन सकिन्छ ।

छहारी तरिका
सुख्खा र गर्मी समयमा सोझै बीउ रोपेर बेर्ना अवस्थामा हेरचाह पुर्याउन कठिन हुने भएकोले वैशाख, जेठ र असार महिनामा बेर्ना हुर्काउँदा तराईमा दिउँसोको कडा घामबाट बेर्नालाई सुरक्षा गर्न छहारीमुनि प्लास्टिक थैलामा बेर्ना हुर्काउनुपर्दछ । छहारी जमिनबाट १.५–२.० मिटर अग्लो नल, पराल वा छायाँदार जालीको प्रयोगबाट पनि बनाउन सकिन्छ ।

बेर्ना जरखर्याउने (Hardening) तथा बेर्ना तयारी

धेरैजसो तरकारी बेर्नाहरू रोपेको ४–६ सातामा खेतबारीमा सार्न लायक हुन्छन् । यसरी बेर्ना तयार भएपछि बेर्ना ब्याडबाट उखेल्नु अगाडि ब्याड भिज्ने गरी पानी दिनुपर्छ । बेर्ना उखेल्दा जरा नखल्बलिने गरी कुटो वा खुर्पीले माटैसहित उखेली सार्नुपर्दछ । साधारणतया काउली बाली समूहका तरकारीबाहेक अन्य तरकारीका बेर्नाहरू यसरी सहजै सार्न सकिन्छ । काउली समूहका तरकारीहरू काउली, बन्दा, ब्रोकाउली, ग्याँठ आदिका भने कलिलै अवस्थामा

खेतबारीमा सार्दा बेर्ना धेरै नोक्सान हुने हुँदा दोस्रोपटक पहिले कै किसिमबाट ब्याडमा सारी (मोटो र दरो पार्ने) ३, ४ सातासम्म जरखर्याई खेतबारीमा सारिएमा राम्रो उत्पादन लिन सकिन्छ । यस्तो बेर्ना जरखर्याउँदा १०–१२ से.मि. को फरकमा लगाउनु पर्दछ |

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

तरकारी नर्सरी स्थापना तथा व्यवस्थापन

तरकारी खेती प्रविधि

चैत, २०६८

नेपाल सरकार

कृषि तथा सहकारी मन्त्रालय

कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा

सिंहदरबार, काठमाडौं नेपाल

Asian Food and Agriculture Cooperation initiative