बनाउने तरिका

बायोचार बनाउने विधि

चरण १: तयार सोली खाडलमा पातपतिङ्गर, स-साना सिटा तथा काठको प्रयोगले पिरामिड आकारमा राख्ने ताकी आगो सल्कन सजिलो होस् ।

चरण २: यसरी राखिएको वस्तुमा आगो जलाउने र आगोलाई राम्रोसँग बल्न दिने ।

चरण ३: जब आगो सल्कन्छ र राखिएको वस्तु जल्यो भन्ने भएपछि, बायोचार बनाउन राखेको अरु वस्तुलाई बिस्तारै बिस्तारै थप्दै जाने । हरेक पटक थपेको वस्तु सल्केको सुनिस्चित गर्ने र थपेको वस्तु जलिसक्यो भनेपछि पुन अरु वस्तु थप्दै जाने ।

चरण ४: यो कार्यलाई आफूले बायोचार बनाउन राखेको सामग्री नसकुन्जेल वा जलेको वस्तु खाडलको माथिसम्म (टुप्पा सम्म) नआउन्जेल दोहोर्याउने ।

चरण ५: जब अन्तिममा राखेको वस्तु जलिसक्छ र यसको सतह सेतो रङगमा परिणत हुन थाल्दछ, त्यसपछि पानी वा गहुँत हाली आगोलाई निभाइदिने । यो कार्यलाई क्युन्चिङ्ग (Quenching) भनिन्छ ।

चरण ६: आगो निभिसकेपछि जुन कालो अङ्गार (कोइला) जस्तो वस्तु बाँकी रहन्छ, त्यो नै बायोचार हो। आगो पूर्णरूपमा निभेको सुनिस्चित गर्ने, बयोचार सेलायको सुनिस्चित गरेपछि उक्त बायोचारलाई पछि प्रयोग गर्नको लागी भण्डारण गर्ने ।


नोटः आगो निभाउनको लागि माटोले पुरेर पनि निभाउन सकिन्छ । माटोले छोप्दा खाडलमा हावाको संचार नहुने सुनिस्चित गर्नुहोस र पानि वा गहुतले निभाउदा आगो पूर्ण रूपमा निभेको सुनिस्चित गर्नुहोस नभए जलाएको वस्तु पूर्णत खरानीमा परिणत भैदिन सक्छ ।

बायोचार बनाउने सोली खाडलको तयारी
  • घरभन्दा टाढा र बिरुवा तथा अन्य संरचनाहरू नभएको स्थानमा खाडल निर्माणको लागी ठाउँ छनौट गर्ने ।
  • २ मिटर ब्यासको सोली आकारको खाडल खन्ने। खाडलको गहिराइ १ मि. र सतहको ब्यास ६० से. मि. रहने गरी खाडल तयार गर्ने ।
  • तयार खाडललाई माटो पानीले लिपिदिन सकिन्छ भने खाडलको गोलाइमा (जमिन सतहमा) ढुङ्गा वा ईटा राख्न सकिन्छ । यसरी ढुङ्गा राख्नाले हावाको बहावलाई छेक्दछ ।
आवश्यक सामग्रीहरू

आवश्यक सामग्रीहरू

  • बायोचार बनाउने खाडल
  • जलाउने सामग्री (फिडस्टक*): बायोचार बनाउनका लागि जलाउन प्रयोग हुने वस्तु वा सामग्री ।
  • तयार बायोचार राख्नको लागि बोरा वा भाडो
  • पानी अथवा गहुँत
  • सावेल अथवा रेक
  • स्थानीय स्तरमै पाइने वस्तु तथा बाली भित्र्याइए पछिका कृषि अवशेषहरू, जस्तैः काठ, सिटासिटी एवं काठको धुलो, पराल, धानको भुस एवं गुइँठा, छ्वली वा गहुँको नल, मकैको ढोड
  • स्थानीय स्तरमै पाइने मिचाहा प्रजातीका झारपातहरू, जस्तैः बेसरम र असुरो, काँडे लुडे, पाती झार, फूले झार, सल्ला, निलो गन्धे, वनमारा, किनें काँडा, ताप्रे

फाईदाहरु

फाइदाहरू

बायोचारको कृषि क्षेत्रमा प्रयोगले माटो सुधारसँगै जलबायु परिवर्तन न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ । यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा सुधार गरि बालीको उत्पादकत्व बढाउन योगदान गर्दछ भने बायोमासलाई बायोचारको रूपमा परिणत गरि कार्बनलाई लामो समयसम्म जमिनमा भण्डारण (carbon capture and storage) गर्दछ ।
कृषिमा बायोचार प्रयोगका केहि फाइदाहरू निम्नानुसार छन्ः

  • यसको प्रयोगले माटोको संरचना सुधार गर्छ र माटोलाई खुकुलो बनाउन मद्दत गर्छ ।
  • यसको प्रयोगले माटोको पानी धारण गर्ने क्षमतालाई बढाउँदछ जसले माटोमा चिस्यान लामो समयसम्म कायम राखन मद्दत गर्दछ ।
  • यसको प्रयोगले माटोको बाली वृद्धि र विकासको लागि आवश्यक पोषक तत्त्वहरू धारण गर्ने क्षमतालाई बढाउँदछ र बिरुवालाई सहजै उपलब्ध गर्न मद्दत गर्दछ ।
  • यसको प्रयोगले माटोको अम्लियपनालाई सन्तुलनमा राख्न मद्दत गर्दछ ।
  • यसको प्रयोगले माटोमा हुने लाभदायी सूक्ष्मजीवहरूको सङ्ख्या वृद्धि गराई समग्र बाली विकासमा योगदान पुऱ्याउँदछ ।
  • यसको संरचनात्मक विशेषताको कारण अमोनियम नाइट्रोजन, क्याल्सियम, म्याग्नेसियम र पोटासियम जस्ता सुक्ष्म पोषक तत्त्वहरू जम्मा हुने र पोषक तत्त्वको क्षयलाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ ।
  • बायोचारमा भएका छिद्रहरूमा नाईट्रोजन लगायत खाद्यतत्त्व धारण गर्ने हुँदा उक्त तत्त्वहरू बिरुवाहरूलाई सहजै उपलब्ध हुनुका साथै यस्ता वस्तुहरू चुवाहट (लिचिङ) हुन पाउँदैन र भूमिगत पानिको प्रदुषण तथा जलाधारलाई हुने सम्भावित असरलाई घटाउन मद्दत गर्दछ ।
  • बायोचार बनाउन खेर जाने वस्तु तथा मिचाहा प्रजातिका झारहरू जस्तैः असुरो, निलोगन्धे, बनमारा, बनफडा, किर्ने काँडा (लान्टाना) आदि प्रयोग हुने हुँदा यस्ता मिचाहा प्रजातिहरूको समुचित व्यवस्थापन गर्न मद्दत गर्दछ।
  • साथै, कृषि अवशेषहरू जस्तैः मकैको ढोड, गहुको नल, धानको भुस, काठको धुलो पनि फिडस्टकको रूपमा प्रयोग हुने हुँदा किसानहरूले यस्ता वस्तुहरूलाई खेतबारीमा नै जलाउने हालको प्रवृत्तिलाई समेत घटाउन मद्दत गर्दछ ।
  • बायोचारको कृषिमा प्रयोगको अलावा गाईवस्तुको पशु चाराको रूपमा र निर्माण सामग्रीको रूपमा पनि प्रयोग हुने गरेको छ ।
    यो एक सरल र कम लागतको प्रविधि हो जुन किसानहरूले सजिलै अपनाउन सक्दछन् ।

परिचय

परिचय

बिरुवाले प्रकाश संश्लेषणको क्रममा हावाबाट लिएको कार्बनडाइअक्साइड कार्बोहाइड्रेटको रूपमा संश्लेषण गर्दछ जसलाई जरा, काण्ड, हाँगा, डाँठ र पातहरू जस्ता विभिन्न भागहरूको रूपमा भण्डारण गर्दछ । यी सबैलाई बायोमास भनिन्छ । यो बायोमास सड्ने क्रममा, कार्बनडाइअक्साइड र मिथेन ग्यासको उत्सर्जन भई वायुमण्डलमा फिर्ता जान्छ । कृषिबालीको पराल र सुकेको गोबर जस्ता बाँकी रहेका बायोमास जलाउँदा कार्बन र धुवाँ हावामा मिसिन्छ जुन वातावरणका लागि राम्रो होइन ।
बायोमासलाई बिना अक्सिजन वा कम अक्सिजनको उपलब्धतामा अत्यधिक तापक्रम (४०० देखि ८०० डिग्री सेन्टिग्रेड) मा जलाएर बनेको एक किसिमको अङ्गारलाई बायोचार भनिन्छ । बायोचार बनाउँदा वनस्पतिमा रहेको कार्वनको थोरै मात्रा कार्बनडाइअक्साइडको रूपमा उडेर जान्छ र अधिकांश कार्बन (९०% भन्दा बढी) बायोचारमा सुरक्षित रहन्छ जसले गर्दा पृथ्वीबाट वायुमण्डलमा जाने कार्बनडाइअक्साइडको मात्रा कम हुन जान्छ । कृषकहरूले बायोचार बनाइ खेतिबालीमा प्रयोग गर्दा उत्पादकत्त्व बढ्ने र यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा समेत सुधार ल्याउने देखिएको छ । बायोचारमा अत्यधिक छिद्रहरू हुन्छ जसले गर्दा यसमा पानी तथा पोषक तत्त्व धारण गर्न सक्ने क्षमता बढी हुने र बिरुवाले आवश्यकताको आधारमा बिस्तारै पोषक तत्त्व लिन सक्ने भएकोले यसको महत्त्व माटो सुधारसँगै बालीबिरुवाको वृद्धि विकास तथा उत्पादकत्व वृद्धिमा समेत रहेको पाइन्छ। बायोचार आफैमा मल होइन र यसलाई मलको विकल्पको रूपमा लिनु हुन्न तर यसलाई गहुँत तथा मलखादसँग मिसाएर प्रयोग गरेमा माटो सुधारसँगै उत्पादकत्व वृद्धिमा सकारात्मक प्रभाव पुयाउँछ ।