मध्य पहाडी क्षेत्रमा बारीको कान्लामा खन्यू धेरै राम्रो पाईएको छ, खन्यूको जरा बलियो हुने हुनाले कान्लामा लगाउँदा भूक्ष्य कम हुने हुन्छ । खन्यूलाई कुनै ठाउँमा खनायो, ठाउँ अनुसार राई खन्यू आदि भन्ने गरिन्छ । यसको प्रसारण बीउबाट नै हुन्छ । पहिरो गएको ठाउँमा चराको विष्टाबाट उम्रने हुनाले वेर्नाको त्यति अभाव हुँदैन तर ३—४ वर्ष जति राम्रोसँग हिउँदमा जमिन खाली भएको समयमा सानो बोटलाई टेवा सहित बार बन्देज गरेर हुर्काउने चलन हुन्छ । सबै जसो डाले घाँस जमिन खाली भएको समयमा यसै किसिमले संरक्षण गरेर हुर्काउन राम्रो हुन्छ । खन्यू सदावहार हरियो भैरहने डाले घाँस भएको हुनाले कार्तिकदेखि जेष्ठ, असारसम्म पशुलाई खुवाउने चलन छ । बाख्रा पालनको लागि यो डाले घाँस अति नै उपयोगी हुन्छ । त्यस्तै जोत्ने गोरु, थारा गाई, भैंसी, पाडा पाडी आदिको लागि धेरै राम्रो डाले घाँस हो । दुहुना गाई भैंसीमा त्यति दुध उत्पादन नबढ्ने हुनाले दुहूना बाहेकलाई खुवाउने चलन पनि छ । खन्यूको पातमा ३२-३४ प्रतिशत सुख्खा पदार्थ, ११-१२ प्रतिशत कच्चा प्रोटिन, २.५५ प्रतशत क्याल्सियम, ०.१९ प्रतिशत फस्फोरस र २.४८ प्रतिशत ट्यानिन सुख्खा पदार्थको आधारमा पाईएको छ । खन्यूको पनि डाले घाँस, दाउरा र पाट (रेसा) मा प्रयोग हुन्छ । वर्षको दुई चोटी (कार्तिक र असार) मा पोथी खन्यूको फल लाग्ने गर्छ । पाकेको फल मानिसले खाने चलन पनि छ र अति मिठो हुन्छ । खन्यूको दाउरा धेरै राम्रो हुन्छ । सुख्खा पदार्थ बढी हुने हुनाले थोरै घाँसले पनि धेरै पशुहरुलाई परालसँग मिसाएर खुवाउन सकिन्छ । खन्यू मध्य पहाडी भेगमा राम्रो हुन्छ तर हिमाली भाग र सुख्खा टारहरुमा खन्यू राम्रोसँग फस्टाउँदैन । खन्यू र अन्य दूध आउने डालेघाँस (ficus species) हरुको जरा परपर सम्म फैलने हुनाले जमिनलाई पहिरो जानबाट बचाउँछ।
डाले घाँसको विवरण
परिचय
टाँकि एक नरम पात भएको दुधालु पशुहरुको लागी राम्रो डालेघाँस हो । सबैजसो ठाउँमा टाँकि नै भनेर चिनिन्छ । यो डालेघाँस मध्य पहाड देखि बेसी, टारहरु, र भित्री मधेसआदि सबै ठाउँमा पाईन्छ । यसको प्रसारण बीउबाट नै राम्रो हुन्छ; बीउ सोझै चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किए पछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बीउ रोपेको २-३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ, मलिलो ठाउँमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ, तर आश्विनदेखि फागुनसम्म हाँगा काटेर खुवाउँदा घाँसको रुखलाई पनि असर नपर्ने र सुख्खा पदार्थ पनि बढि प्रतिशत हुने हुनाले अरु समयमा नकाट्नु नै राम्रो हुन्छ । भर्खर व्याएका पाडा पाडी, पाठा, पाठी, बाच्छा, बाच्छीलाई घाँस खाने बानी बसाउन यो डाले घाँस खुवाउने गरिन्छ । दुधालु भैंसी, गाई र भर्खर व्याएका माउ बाख्राको लागि यो एक अति उत्तम डाले घाँस हो । यसको पातमा १४—१७ प्रतिशतसम्म बेला हेरी क्रुड प्रोटिन (कच्चा प्रोटिन) हुन्छ , क्याल्सियम २.४ प्रतिशत र फस्फोरस ०.३० प्रतिशत, सुख्खा पदार्थ ३३-३४ प्रतिशत, र ट्यानिन (Tannin) १.२ प्रतिशत सुख्खा पदार्थको आधारमा पाईन्छ । प्रोटिन र क्याल्सियम बढि भएको हुनाले हुर्कदै गरेका पाठा, पाठी, पाडा, पाडीको लागि र लैनो भैंसीको लागि यो डाले घाँस र पराल मिसाएर खुवाउँदा राम्रो दुध उत्पादन हुने र हुर्कदै गरेका पाडा, पाडी राम्रोसँग हुर्कने हुन्छ । यो डाले घाँसमा खासै त्यस्तो अपाच्य तत्व छैन, र हिउँदको समयमा खुवाउँदा समस्याहरु केही आउदैन ।
वर्रो पनि हर्रो जस्तै टर्रो पदार्थ पातमा बढि भएको ठूलो वृक्ष हुने डालेघाँसमा पर्छ, यो डालेघाँस मध्य पहाडी भेगदेखि तराईको जंगलमा पनि देख्न सकिन्छ । हर्रो जस्तै बढी वायोमास (Biomass) उत्पादन हुने हुनाले २—४ वटा रुख कृषकहरुले लगाउने गरेको पाईन्छ । यस्को पात हर्रोको भन्दा छिट्टै झर्ने र किरा पनि अलि बढि लाग्ने हुनाले कार्तिकदेखि माघसम्म हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । यो डालेघाँस पशु वस्तुले त्यति मन पराएर खादैनन् । दुहुना गाई भैंसी भन्दा अरु थारो, जोत्ने गोरु आदिलाई परालमा एक तिहाई मिसाएर हिउँदको समयमा हरियो घाँसको पुर्ति गर्न सकिन्छ । प्रयोगशाला परिक्षणबाट यसको पातमा ११-१२ प्रतिशतसम्म कच्चा प्रोटिन, ३४-३५ प्रतिशत सुख्खा पदार्थ (Dry matter), ३.३५ प्रतिशत क्याल्सियम र ०.३७ प्रतिशत फस्फोरस र ट्यानिन (Tannin) १२.४६ प्रतिशत देखिएको छ । वर्रोको वृक्ष ठूलो हुने हुनाले बालीनालीमा सेप बढि हुन्छ, खर बारी, खेतको छेउछाउ, र वनवुट्यानमा वर्रो लगाउने चलन हुन्छ । अर्को पक्ष भनेको यसको हाँगाविंगा बढि हुने हुनाले दाउराको रुपमा बढि प्रयोग हुन्छ र फर्निचर आदिमा पनि बर्रोको काठ प्रयोग हुन्छ । वर्रोको बीउबाट नै प्रसारण हुन्छ र सजिलैसँग बिरुवा हुर्किन्छ, तर ६—७ वर्षमा मात्र हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । बढि ट्यानिन भएको हुनाले क्याल्सियम बढि भए पनि दुधालु पशुले वर्रो खाएको बेलामा दुध कम दिन्छ, ट्यानिनले क्याल्सियमलाइ वाईण्ड (Bind) गर्ने हुनाले यस्तो हुन गएको हो ।
निमारो एक ठूलो पात हुने डाले घाँस हो र यसको फैलावट उच्च पहाडदेखि मध्य पहाडसम्म हुन्छ । वेसी र भित्री मधेस आदिमा त्यति देखिदैन । नरम काठ भएको हुनाले साना साना हाँगा विंगा, पात सबै पशुले मन पराएर खाने गर्छन्। निमारोको पातमा २४-२७ प्रतिशतसम्म सुख्खा पदार्थ, १४-१५ प्रतिशत कच्चा प्रोटिन, २.७९ प्रतिशत क्याल्सियम, ०.२४ प्रतिशत फसफोरस र २.९६ प्रतिशत ट्यानिनको मात्रा देखिन्छ । दुहुना, थारो, जोत्ने गोरु आदि सबै पशु वस्तुले राम्रोसँग मन पराएर खाने हुनाले एक तिहाई परालसँग मिसाएर खुवाउँदा राम्रो हुन्छ । आश्विनदेखि फागुनसम्म निमारोको डाले घाँस काट्न सकिन्छ । यसको प्रसारण बीउबाट नै राम्रो हुन्छ । तर हिजोआज टिस्यु कल्चर (Tissue culture) गरेर पनि निमारो, वडहर जस्को बीउ कम हुने र छिट्टै उमार शक्ति घट्ने हुनाले, बिरुवा उत्पादन गरेको पाईन्छ । गाउँ घरमा यस्तो प्रविधिको पहुँच कम भएको कारणले बीउलाई अथवा पाकेको फललाई नर्सरीमा वेर्ना हुर्काई सार्न सकिन्छ । निमारोको वेर्ना नर्सरीमा तयार गरी बारीको कान्ला, छेउछाउ आदिमा सार्न सकिन्छ र राम्रो संरक्षण भएमा ३—४ वर्षमा डाले घाँस काट्न सकिन्छ । निमारो पात चौडा हुने हुनाले गाउँ घरमा भोज भतेरको लागि दुना टपरी बनाई प्रयोग गरेको पनि पाईन्छ ।
