धनिया मसला तथा जडीबुटीका लागि उत्पादन गरिने एकबर्षिय झार समूहको बाली हो । यसलाई अंग्रेजीमा कोरिएन्डर भनिन्छ । यो Apiaceae अथवा Umbelliferae परिवार अन्तर्गत पर्दछ । यसका दुइ प्रजातिहरु पाइन्छन् । ब्यबसायीक रुपमा खेति गरिने प्रजाति कोरीयन्ड्रम सेटीभम् (Coriandrum sativum L.) हो भने अर्को प्रजाति कोरीयन्ड्रम टोर्डीलीयम (Coriandrum tordylium) हो, जसलाई जंगली धनिया वा वनधनिया पनि भन्ने गरिन्छ । धनिया बिशेषत हरिया पात तथा दाना (बीउ) को मसलाजन्य प्रयोजनका लागि उत्पादन गरिन्छ । यसको पात, डाठ, जरा तथा फलमा सुगन्धित वासना हुन्छ । कोरीयन्ड्रम सेटीभम् (Coriandrum sativum L.) को बोट नरम प्रकृतिको करिब ५० से.मी. सम्म अग्लो हुन्छ । यसमा खानालाई संरक्षण गर्ने बिभिन्न किसिमका रसायानिक तत्वहरु (Preservatives) पाइन्छन् ।
धनियाको उत्पति भूमध्यसागरीय (Mediterranean) क्षेत्रमा भएको मानिन्छ । बिश्वमा सबैभन्दा बढी धनिया उत्पादन गर्ने देश भारत हो भने मोरोक्को, रोमानिया, बल्गेरिया, फ्रान्स, स्पेन, इटाली, क्यानडा आदि देशहरुमा यसको ब्यबसायीक खेति गरिन्छ । नेपालमा आ.व. २०७५/७६ मा ९६ हेक्टर जमिनमा धनिया खेति गरि करिब ७५७ मे.टन. धनियाको पात उत्पादन भएको तथ्यांक छ भने ब्यबसायीक रुपमा धनियाको दाना उत्पादनको आधीकारीक तथ्यांक छैन । नेपालमा आ.व. २०७५/७६ मा करिब ९ करोड बराबरको ४०७.७ मे.टन. धनियाको दाना (सङ्घलै/धुलो) आयात भएको तथ्यांकले देखाउँछ ।
