परिचय

परिचय

धनिया मसला तथा जडीबुटीका लागि उत्पादन गरिने एकबर्षिय झार समूहको बाली हो । यसलाई अंग्रेजीमा कोरिएन्डर भनिन्छ । यो Apiaceae अथवा Umbelliferae परिवार अन्तर्गत पर्दछ । यसका दुइ प्रजातिहरु पाइन्छन् । ब्यबसायीक रुपमा खेति गरिने प्रजाति कोरीयन्ड्रम सेटीभम् (Coriandrum sativum L.) हो भने अर्को प्रजाति कोरीयन्ड्रम टोर्डीलीयम (Coriandrum tordylium) हो, जसलाई जंगली धनिया वा वनधनिया पनि भन्ने गरिन्छ । धनिया बिशेषत हरिया पात तथा दाना (बीउ) को मसलाजन्य प्रयोजनका लागि उत्पादन गरिन्छ । यसको पात, डाठ, जरा तथा फलमा सुगन्धित वासना हुन्छ । कोरीयन्ड्रम सेटीभम् (Coriandrum sativum L.) को बोट नरम प्रकृतिको करिब ५० से.मी. सम्म अग्लो हुन्छ । यसमा खानालाई संरक्षण गर्ने बिभिन्न किसिमका रसायानिक तत्वहरु (Preservatives) पाइन्छन् ।

धनियाको उत्पति भूमध्यसागरीय (Mediterranean) क्षेत्रमा भएको मानिन्छ । बिश्वमा सबैभन्दा बढी धनिया उत्पादन गर्ने देश भारत हो भने मोरोक्को, रोमानिया, बल्गेरिया, फ्रान्स, स्पेन, इटाली, क्यानडा आदि देशहरुमा यसको ब्यबसायीक खेति गरिन्छ । नेपालमा आ.व. २०७५/७६ मा ९६ हेक्टर जमिनमा धनिया खेति गरि करिब ७५७ मे.टन. धनियाको पात उत्पादन भएको तथ्यांक छ भने ब्यबसायीक रुपमा धनियाको दाना उत्पादनको आधीकारीक तथ्यांक छैन । नेपालमा आ.व. २०७५/७६ मा करिब ९ करोड बराबरको ४०७.७ मे.टन. धनियाको दाना (सङ्घलै/धुलो) आयात भएको तथ्यांकले देखाउँछ ।

प्रयोग र महत्व

धनिया मुख्यतया हरिया पात तथा बीउ (दाना) को मसलाजन्य प्रयोगका लागि उत्पादन गरिन्छ। धनियाको पातमा भिटामिन ए, भिटामिन सि, भिटामिन के का साथै खनिज समेत पाइन्छ । धनियाको दानामा पातको तुलनामा भिटामिनको मात्रा कम भएतापनि दानामा प्रशस्त मात्रामा फाइबर, क्याल्सीयम, फलाम, म्यागनेसियम तथा म्यान्गेनिज पाइन्छ । यसको दाना बिभिन्न आर्युवेदिक औषधि बनाउन प्रयोग हुन्छ भने हाल केहि अनुसन्धानले यसको दाना शरीरमा रक्तचाप तथा कोलेस्ट्रोल नियन्त्रण गर्न समेत उपयोगी हुने तथ्य देखाएको छ । धनियामा  ०.१% देखि १% सम्म वाष्पशील आवश्यक तेल (Volatile Essential Oils)  हुने गर्दछन् जसमा ढुसी/जीवाणु अवरोधक र एन्टी अक्सीडेन्ट गुण हुने भएकाले बिभिन्न खाद्य पदार्थ संरक्षण गर्न र पेय पदार्थमा समेत यसको प्रयोग गर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघको कृषि बिभाग (USDA) का अनुसार धनियामा पाइने बिभिन्न तत्वहरुको बिबरण निम्नानुसार छ ।

खाद्यतत्व मात्रा (प्रति १०० ग्राम)
  धनियाको पातमा धनियाको दानामा
पानी (ग्राम) ७.३० ८.८६
शक्ति (किलो क्यालोरी) २७९ २९८
प्रोटिन (ग्राम) २१.९३ १२.३७
चिल्लो पदार्थ (ग्राम) ४.७८ १७.७७
डायटरी फाइबर (ग्राम) १०.४० ४१.९
कार्बोहाइड्रेड (ग्राम) ५२.१० ५४.९९
क्याल्सियम (मिलिग्राम) १२४६ ७०९
फलाम (मिलिग्राम) ४२.४६ १६.३२
म्याग्नेसियम (मिलिग्राम) ६९४ ३३०
फस्फरस (मिलिग्राम) ४८१ ४०९
पोटासीयम (मिलिग्राम) ४४६६ १२६७
सोडीयम (मिलिग्राम) २११ ३५
तामा (मिलिग्राम) ४.७२ ४.७०
भिटामिन सी (मिलिग्राम) ५६६.७ २१
थायामिन (मिलिग्राम) १.२५२ ०.२३९
रिबोफ्ल्याबिन (मिलिग्राम) १.५ ०.२९
नियासिन (मिलिग्राम) १०.७०७ २.१३०
भिटामिन ए (आइ.यू) ५८५०

आवश्यकता

हावापानी

धनिया उष्ण हावापानीमा हुने बाली हो । यसलाई चिसो तथा सुक्खा तर तुसारो नपर्ने मौसम आवश्यक पर्दछ । बिशेष गरि फुल फुल्ने र दाना लाग्ने समयमा यसले तुसारो सहन सक्दैन । बीउ लाग्ने बेलामा तापक्रम उच्च भएमा वा तेज हावा लागेमा उत्पादन घट्नुका साथै बाँझोपनाको समस्या देखिन्छ ।

माटो

धनिया प्राङ्गारिक पदार्थ प्रशस्त मात्रामा भएको दोमट माटोमा राम्रो उत्पादन हुन्छ । यसका लागि माटोको पी.एच. मान ४-६ उपयुक्त हुन्छ । धनिया खेतिका लागि क्षारिय तथा लवण माटो उपयुक्त माँनिदैन ।

जग्गा तयारी

धनिया लगाउने समय

धनिया तराई र मध्य पहाडमा असोज देखि मङ्सिर सम्म लगाइन्छ भने उच्च पहाडमा फाल्गुन देखि बैसाखसम्म लगाइन्छ । यद्दपी चिसो रहने तर तुसारो/हिउँ नपर्ने ठाउमा बार्है महिना यसको खेति गर्न सकिन्छ ।

जग्गाको तयारी तथा प्रसारण

धनिया खेतिका लागि जमिनलाई दुइ देखि तीन पटकसम्म खनजोत गरी माटोलाई बुर्बुराउँदो बनाउनु पर्दछ । धनियालाई बीउबाट प्रसारण गरिन्छ । सिंचित क्षेत्रका लागि १२-१५ के.जी. प्रति हेक्टर र असिंचित क्षेत्रका लागि २५-३० के.जी. प्रति हेक्टर बीउको आवश्यकता पर्दछ । बीउ छर्नु भन्दा एक दिन अगाढी बीउलाइ दुइ भागमा फोरेर पानीमा भिजाउनु पर्दछ । ढुसीको प्रकोप हुने ठाउँमा प्रति के.जी. बीउलाई १ ग्राम कार्बेन्डाजिनले बीउ उपचार गर्नु पर्दछ । धनियाको बीउलाई प्राय जसो सिधै जमिनमा छरिन्छ । यसलाई हलोको पछाडी रोप्न पनि सकिन्छ । यसो गर्दा बोट देखि बोटको दुरी ३०-४० से.मी. र हार देखि हारसम्मको दुरी १० से.मी. कायम गर्नु पर्दछ । दुवै तरिकाबाट बीउ प्रसारण गर्दा बीउलाई ४ से.मी. भन्दा बढी गहिराइमा रोप्नु हुदैन ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद र सुक्ष्मतत्व

जमिन तयारी गर्ने बेलामा राम्रोसँग पाकेको १०-२० टन गोबर वा कम्पोस्ट मल प्रति हेक्टर माटोमा मिलाउनु पर्दछ । धनियाका लागि १२० के.जी. यूरिया, १२० के.जी. डी.ए.पी. र ६० के.जी. पोटास प्रति हेक्टर आवश्यक पर्दछ । यसरी रसायानिक मल प्रयोग गर्दा यूरिया १/२ भाग, डी.ए.पी. र पोटासको पुरा मात्रा जमिन तयारी गर्दा र यूरिया को १/२ भाग पहिलो पटक गोडमेल गरिसकेपछि राख्नुपर्दछ ।

गोडमेल, सिँचाई तथा पानीको निकास

झारपात नियन्त्रण झारको अवस्था अनुसार गर्नुपर्छ । साधारणतया पहिलो पटक बीउ छरेको ३० दीनमा र दोश्रो पटक बीउ छरेको ५०-६० दिनमा झारपात नियन्त्रणका लागि गोडमेल गर्नु पर्दछ ।

हावापानी, माटोको अवस्था तथा जातका आधारमा सिँचाईको मात्रा तय गरिन्छ । साधारणतया धनियामा ४-५ पटक सिचाई गर्नु पर्दछ । सिँचाई क्रमस बीउ रोपेको ३०-३५ दिनमा, ६०-७० दीनमा, ९०-१०० दिनमा, १०५-११० दीनमा र ११०-१५० दिनमा गर्नु पर्दछ । यसका अतिरिक्त बीउ रोपेको ५-१० दिनमा उमारशक्तिलाई बढवा दिन हल्का सिँचाई गर्न सकिन्छ ।

रोग व्यवस्थापन

सेतो धुले ढुसी (Powdery Mildew)

यो रोग  Erysiphe polygoni DC नामक ढुसीले लाग्दछ । यो रोग लाग्दा पातको माथिल्लो सतहमा साना सेता देखि खैरा थोप्ला देखिन्छन् । यी धव्बाहरु बढ्दै जान्छन र सम्पूर्ण खण्ड नै धुलो छरे जस्तो सेतो हुन्छ । धेरै आक्रमण भएमा पात, फुल मर्ने/झर्ने हुन्छ । दाना नलाग्ने, कम लाग्ने  वा लागेका दानाहरु पनि विकृत हुने हुन्छ ।

व्यवस्थापन

  • खेतको सरसफाई गर्ने ।
  • स्प्रिङकल सिचाई गर्ने ।
  • क्याराथेन १ मी.ली. प्रति लीटर पानीमा मिसाई छर्ने ।

ओइलाउने रोग (Wilt)

यो रोग  Fusarium oxysporum f.sp. corianderii नामक ढुसीले लाग्दछ । यो ढुसिले बिरुवा उम्रिने बेलामा जरा कुहिने रोग समेत लाग्दछ । ढुसिले आक्रमण गरेका बिरुवाको वृद्धि कम हुन्छ । पातहरु पहेलो-रातो रङ्गमा परिणत हुन्छन । बिस्तारै जरा कुहिन्छन्, बिरुवा सुक्छ र मर्दछ ।

व्यवस्थापन

  • स्वस्थ बीउको प्रयोग गर्ने ।
  • बाली चक्र अपनाउने ।
  • क्याप्टन, थिराम वा बेभीस्टीन ३ ग्राम प्रति के.जी. बीउका दरले बीउ उपचार गर्ने ।
  • स्युडोमोनास ५ ग्राम प्रति लिटर पानीका दरले बीउ रोपेको १० दिनको फरकमा दुइ पटकका छर्ने ।
अल्टरनेरीया थोप्ले रोग (Alternaria Blight)

यो रोग Alternaria poonensis नामक ढुसीले लाग्छ । यसको लक्षण गाढा रङ्गको सानो (२-५ मी.मी.) थोप्लाबाट सुरु हुन्छ । पछी गोलो दागमा परिणत हुन्छ । दागको केन्द्रबिन्दुमा निलो ढुसी देखा पर्दछ । दागमा गोलो घेराहरु बन्छन । दागहरु पानीले भिजेकाजस्ता देखिन्छन ।

 व्यवस्थापन

  • थिराम वा बेन्लेटद्वारा बीउ उपचार गर्ने ।
  • रोगि बोट उखेलेर नष्ट गर्ने ।
  • ०.२% डाइथेन एम ४५, १५ दिनको अन्तरालमा २-३ पटक छर्ने ।

कीरा व्यवस्थापन

लाही (Aphids)

लाही वनस्पतिको जीवरस चुस्ने किरा हुन् । धनियामा आक्रमण गर्ने लाही हरियो वा पहेलो रङ्गका हुन्छन । यिनीहरु पातको तल्लो भागमा वा डाठमा बसी बिरुवाको रस चुसेर बिरुवालाई नोक्सानी पुर्याउछन । लाहीको संक्रमण धरै भएमा बोटहरु होचा हुने, पात बटारिने (विकृत हुने) गर्दछन् । लाहिले आक्रमण गरेको ठाउमा च्याप च्यापे पदार्थ जम्मा भइ कालो ध्वासे ढुसीको विकास हुन्छ ।

रोकथाम

  • साबुन पानि वा सुर्ती पानीको वा निमको झोल बनाइ बोटको उपचार गर्ने ।
  • ०.०५ % को मालाथीयन वा डाइक्लोरोभसले बोटको उपचार गर्ने ।
  • किरानाशक ढुसी जस्तै मेटाराइजीयम एनीसोप्ली, ब्युभेरीया वेसियाना, भर्टीसीलीएम लेकानीको प्रयोग गर्ने ।
फेद कटुवा (Cutworms)

वयस्क पुतलीको अघिल्ला पखेटाहरु फिक्का गाढा खैरा र प्रत्येकमा मिर्गौला आकारको दाग हुन्छन भने पछिल्ला पखेटाहरु मैला सेता हुन्छन । लाभ्रे २.५-५ से.मी. लामो, मोटो, कालो रङ्गको हुन्छ । लाभ्रेको शरीरको दुवै छेउमा लम्बेतानका फिक्का अँध्यारो खालका धर्साहरु हुन्छन । लाभ्रेहरुले धनियाको फेद खान्छन र धनियाको फेद काटिएको जस्तो देखिन्छ । फल लाग्ने अवस्थामा यसले आक्रमण गरेमा दानामा स-साना खाएका प्वालहरु देखा पर्दछन् । लाभ्रेलाई चलाउँदा वा छोईदिँदा C  आकारमा बस्दछन् ।

रोकथाम

  • किराले आक्रमण गरेको थाहा पाउना साथ माटोमा किरा पहिल्याई निकालेर मार्ने ।
  • सिचाई गर्ने ।
  • जैविक बिषादी बी.टी. २ ग्राम प्रति के.जी. गहुँको चोकर बनाइ आधा के.जी. प्रति रोपनीका दरले बिउ रोप्नुभन्दा अगाडी माटोमा चाराको रुपमा राख्ने ।
जरामा गाँठा बनाउने जुका (Nematode)

यो एक किसिमको परजीवी जुका हो । यसले न्यानो वा गर्मि ठाउ (धेरै चिसो नहुने) मा बढी आक्रमण गरेको पाइन्छ । यसले  धनियाको जराको टुप्पोबाट प्रवेश गरि कोषको संरचना बिगारी दिन्छ ।जसले गर्दा जरा बढ्न रोकावट भइ जरामा गाँठा बनाइ पर्याप्त मात्रामा खाद्यतत्व माटोबाट सोस्न बाधा पुगी नोक्सान गर्दछ। यसले आक्रमण गरेका बिरुवाहरुमा ओइलिने, वृद्धि ढिलो हुने जस्ता संकेत देखिन्छन । बलौटे माटोमा यसको प्रकोप बढी हुन्छ ।

नियन्त्रण

  • जमिनको तयारी गर्दा गहिरो खनजोत गरि माटोलाई सोलाराइजेसन गर्ने ।
  • घुम्ती बाली अपनाउने ।
  • रायो, तोरी आदिबाट बनेको पिना २५० देखि ३०० ग्राम प्रति बर्ग मीटरका दरले प्रयोग गर्ने।
  • १ के.जी. कार्बोफुरान प्रति रोपनी जग्गाका दरले माटोमा मिसाउने ।
सेतो झिंगा (Cotton White Fly)

वयस्क झिंगाको पखेटाहरु सेता हुन्छ, शरीरभरि लतपतिएका मइनका सुक्ष्म धुलाहरु हुन्छन । शिशुकिट अण्डाकार कत्ले किरा जस्तै च्याप्टो हरियो सेतो रङ्गको हुन्छ । सेतो झिंगाले आक्रमण गरेमा पातहरु तलतिर बटारिने, पातमा असंख्य पहेला थोप्लाहरु देखा पर्ने, असमयमै पात झर्ने, पात ओहिलिने तथा मुनाहरु विकृत हुने जस्ता लक्षण देखा पर्दछन ।

रोकथाम 

  • साबुन पानि वा सुर्ती पानीको वा निमको झोल बनाइ बोटको उपचार गर्ने ।
  • ०.०५ % को मालाथीयन वा डाइक्लोरोभसले बोटको उपचार गर्ने ।

बाली कटानी तथा भण्डारण

वाली कटाई तथा चुटाइ  

धनियाको बाली तयार भएको अवस्था यसको प्रयोजनमा निर्भर गर्दछ । यदी पात प्रयोजनका लागि उत्पादन गरेको धनिया हो भने जात अनुसार ३५-७० दिनभित्र करिब २० से.मी. अग्लो भएपछी जरा संगै उखेल्नु पर्दछ ।

यदी धनियाको प्रयोजन दानाको लागि हो भने बाली तयार हुने अवस्थामा दानामा भएको आवस्यक तेलको गुणस्तर फेरबदल हुने हुँदा दाना पाकेको अवस्था पहिचान गरि बाली कटान गर्नु पर्दछ । दाना परिपक्क भएर बोटमा सुक्न लागेको अवस्थामा यसमा भएको आवश्यक तेलका साथसाथै सुगन्ध पूर्ण रुपमा बिकशित भैसकेको हुन्छ । तर यदी सहायक हाँगामा लागेका दाना समेत सुक्न दिइयो भने मुख्या हाँगामा लागेका दाना झर्न सक्छन् । सबै फलहरु एकैपटक परिपक्क नहुने हुँदा बाली भित्र्याउने उपयुक्त समयलाई बिशेष ध्यान दिन जरुरि हुन्छ । सामान्यतया राम्रो उत्पादन लिनका लागि ५०% दाना हरियो बाट पहेलो वा हरियोबाट खैरो रङ्गमा परिवर्तन भएपछी बाली कटानी गर्नु पर्दछ । कटानी गर्दा सुकेका दाना झरेर नष्ठ हुने हुँदा बाली कटानी कार्य बिहान वा बेलुकीमा गर्नु पर्दछ ।

      कटानी गरिएको बालीमा करिब २०% चिस्यान हुन्छ । चिस्यानलाई उपयुक्त मात्रामा ल्याउन बाली कटानी गरिसकेपछि छायाँमा सुकाउनु पर्दछ । सिधै घाममा सुकाउदा दानाको रङ्गमा असर पर्दछ । कटानी गरिएका डाठलाई मुट्ठा पारेर जमिन तर्फ दाना फर्काएर घामको किरण सिधै दानामा नपर्ने गरि सुकाउनु पर्दछ ।

यसरी सुकाईसकेपछी लाठीले हल्का चुटेर, बत्त्याएर दानालाई छुट्ट्याउनु पर्दछ । यसरी दाना उत्पादन गर्दा समेत जात अनुसार बीउ रोपेको ३५-७० दिनभित्र करिब ५० % पात टिपी अतिरिक्त आम्दानी लिन सकिन्छ ।

भण्डारण

धनियाका दानालाई ९ % भन्दा कम चिस्यानमा ल्याई जुटको बोरामा हावा  संचार हुने चिसो तर सुक्खा ठाउँमा वा प्लास्टिकको भाँडामा हावा नछिर्ने गरि भाँडाको मुख बन्द गरेर भण्डारण गर्नु पर्दछ ।

उत्पादन

उपयुक्त उत्पादन प्रबिधि तथा ब्यबस्थापन भएमा सिंचित क्षेत्रमा १२००-१५०० के.जी. प्रति हेक्टर र असिंचित क्षेत्रमा ७००-८०० के.जी. प्रति हेक्टर दाना र ६-७ मे.टन प्रति हेक्टर हरियो पात उत्पादन गर्न सकिन्छ । पात प्रयोजनका लागि उत्पादन गरिएको हो भने ६-७ मे.टन प्रति हेक्टर हरियो पात उत्पादन गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

सन्दर्भ

धनिया खेति प्रविधी

सन्दीप सुबेदी

बागवानी विकास अधिकृत

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली  विकास केन्द्र, कीर्तिपुर, काठमाडौं