जातहरु

जात

कक्सफुट (Dactylis glomerata)
जातः कक्सफुट रसुवा

रसुवा कक्सफुट घाँस शीतोष्ण जलवायुमा हुने अति पोसिलो वहुवर्षीय घाँस हो । यसको खेती नेपालमा १५०० मिटर उचाइदेखि ४००० मिटर उचाइसम्म पनि गर्न सकिन्छ । त्यसैले यो घाँस उच्च (लेकाली) भेगका लागि अति उपयोगी सावित भएको छ । यो घाँस मुलायम, पोसिलो, सुस्वाद तथा बाह्रै महिना नयाँ पातहरू टुसाइरहने भएकाले चरन खर्कहरूका लागि निकै उपयुक्त हुन्छ । यस घाँसको जरा निकै गहिरिएर जाने र केही छाँयादार ठाउँमा पनि राम्ररी फस्टाउने भएकाले सिल्भिपाश्चरको लागि र भूसंरक्षणको लागि समेत उपयुक्त हुन्छ । यस घाँसलाई सेतो क्लोभर (ह्वाइट क्लोभर) तथा अन्य घाँसबालीहरूसँग मिसाएर लगाइन्छ र वस्तुभाउलाई चराएर यस घाँसको उपयोग गरिन्छ । यो घाँस चराएर, काटेर, हे बनाएर साइलेज बनाएर खुवाउन सकिन्छ । लेकाली क्षेत्रको अनुकूल वातावरणमा यसलाई वर्षैभरि लगाउन र उब्जा लिन सकिन्छ । यसमा प्रोटिन तथा खनिज तत्वहरूको मात्रा बढी पाइन्छ । पशुहरूलाई यो घाँस पचाउन अति सजिलो हुन्छ । यसमा क्रुडप्रोटिन १०–१२ प्रतिशतसम्म पाइन्छ ।

Dactylis glomerata)

जातीय गुणहरू
रसुवा कक्सफुट घाँस रसिलो लामोलामो पात गरेको, ठुलो गाँज हाल्ने, १.४० मिटरसम्म अग्लो हुने अन्य लेकाली घाँसको दाँजोमा बढी उब्जा दिने खालको उन्नत घाँस हो । यसको पात केही फुस्रो र करिब ५०–६० सेन्टिमिटर लामो हुन्छ । बिरुवाको टुप्पाबाट करिब ८–२० सेन्टिमिटर लामो फूल फुल्ने डाँठ निस्कन्छन् । डाँठको छेउमा एकतिरबाट फूल निस्कन्छन् र फूलमा परागसेंचन भएपछि बिउ लाग्छ । बिउ केही खैरोर च्याप्टो हुन्छ ।

व्यवस्थापन

हावापानी तथा माटो

यसले शीतोष्ण ठण्डा जलवायु मन पराउँछ । यसलाई १,५०० मिटर माथि ४,००० मिटरसम्मको उचाइमा लगाउन सकिन्छ । जुनसुकै माटोमा पनि यसको खेती गर्न सकिने भए तापनि चिम्टाइलो दोमट माटामा यो घाँस सप्रन्छ । यो घाँसले केही सुखा सहन सक्ने भएकाले केही पाखो जग्गामा पनि यसको खेती गर्न सकिन्छ ।

जमिनको तयारी

साधारणतया तीन चार पटक खनजोत गरी माटो बुर्बुरो पारेर खेत तयार गरिन्छ । बढी उत्पादन लिनका लागि रसुवा कक्सफुट घाँसलाई बढी मलखादको आवश्यकता हुन्छ तर चरन खर्कमा घाँस उत्पादनका लागि मलखाद प्रयोग गर्न कठिन भए तापनि गोठवरपर थुप्रिएको गोबर, बड्क्यौँलालाई खर्कका चारैतिर छरेर खर्कको उत्पादकत्व बढाउन सकिन्छ । तर बिउ उत्पादनका लागि यसको खेती गर्दा प्रशस्त मात्रामा कम्पोस्टका साथै रासायनिक मल पनि राख्नुपर्छ । यसका लागि कम्पोस्ट मल प्रतिहेक्टर १० टनका साथै प्रतिहेक्टर नाइट्रोजन प्रतिवर्ष ८० किलो, फस्फोरस ६० र पोटास ४० किलोको दरले खेतमा राख्नुपर्छ । नाइट्रोजनको आधा भाग र फस्फोरस अनि पोटासको पुरै भाग जग्गा तयार गर्दा राख्नुपर्छ भनें नाइट्रोजनको बाँकी भाग बिरुवा बढ्ने र फूल लाग्ने बेलामा छर्कनुपर्दछ ।

बिउको मात्रा

प्रति हेक्टर २०–२२ किलोको दरले बिउ छरिन्छ । बिउलाई हातले एकनाससंग खेतमा छरिन्छ वा लाइनमा लगाउँदा ४५ से.मि. को फरकमा लगाउनुपर्छ । बिउ उत्पादनका लागि खेती गर्दा यसलाई लाइनमा छर्नुपर्छ यसरी छर्दा ४५ से.मी. को लहर बनाई छरेमा राम्रो उब्जनी लिन सकिन्छ । यस घाँसको खेती गर्दा पुरानो बिरुवाबाट हाँगा सारेर पनि बिरुवा रोपेमा चाँडै हरियो घाँसको उब्जा लिन सकिन्छ । रसुवा कक्सफुटलाई बेर्ना तयार गरी कोदो रोपे जस्तो गरी रोप्न सकिन्छ । यसरी बेर्ना सार्दा ५० सेन्टिमिटरको लाइनमा ३० सेन्टिमिटरको बिरुवालाई फरक पारेर रोप्नु पर्दछ । राम्ररी खनजोत गरेको जग्गामा बिउ एकनासले छर्नुपर्छ । बिउ छर्दा १ सेन्टिमिटर भन्दा धेरै गहिरो पुर्नुहुँदैन ।

सिँचाई

माटोको अवस्था हेरी सुख्खा समयमा सिँचाइको व्यवस्था मिलाउन सकेमा बढी उब्जा पाउन सकिन्छ । यो घाँस गरम सिजनमा अति चाँडो बढ्छ । जाडोको मध्य भागमा यसको वृद्धि केही घट्छ । मंसिर, पुसको हिमपातको अवस्थामा हिउँले पुरिएर पनि यो घाँस जीवितै रहन्छ र हिउँ पग्ले पछि पुनः मौलाएर आउँछ । त्यस्तै स्थानीय तथा अन्य घाँसहरूलाई ढाकेर बढ्न दिँदैन यद्यपि सुरुको अवस्थामा अनावश्क झारपातहरू गोडमेल गरेर हटाइदिनुपर्छ ।

उत्पादन

बिउ रोपेको २.५ देखि तीन महिनामा पहिलो पटक घाँस काट्न सकिन्छ । त्यसपछि ३०–३५ दिनको अन्तरालमा पुनः दोस्रो कटाई लिन सकिन्छ । यसरी वर्षमा ६–७ कटाइसम्म लिन सकिन्छ, जस्मा ३०–४० टन÷हेक्टरसम्म हरियो घाँसको उब्जा पाइन्छ । बिउ लिनका लागि माघ, फागुनदेखि हरियो घाँस काट्नु हुँदैन । वैशाख, जेठको सुरुतिर फूलको बाला निस्कन लाग्छ र असार, साउनतिर बिउ छिप्पिन्छ । बिउ एकै समयमा पाक्दैनन्। उच्च लेकाली भेगहरूमा असोज, कात्तिकसम्ममा पनि बाला निस्कने र पाक्ने गरीरहेको पाइन्छ । सालाखाला वर्षमा २००–३०० किलोसम्म बिउ उत्पादन हुन्छ ।