परिचय

परिचय

स्थानिय नाम : जौ 

अङग्रेजी नाम : Barley

वैज्ञानिक नामः Hordeum vulgare

कोदो पछि बढि खेती गरिनेमा जौ पर्छ । यो बाली धेरै जसो गाविसहरुको लेकाली भेगमा खेती गरिन्छ । प्रमुख जातहरुमा ठाँगो, कने, कालो, ठोसे, झ्याले आदि रहेका छन् । भुटेको जौलाई पिसेर तयार गरिएको  सातु एक धेरै रेशायुक्त पोषिलो खाद्य पदार्थ हो, जुन अन्यत्र जस्तै यस जिल्लामा पनि लोकप्रिय छ । पूजाआजामा जौको दाना देवी देउतालाई चढाउन प्रयोग गरिन्छ । जिल्लामा पछिल्ला वर्षहरुमा खाद्यान्नको रुपमा जौको प्रयोग घट्दै गइरहेको पाइन्छ भने घोडा, खच्चर लगायतका पशुवस्तुको दानाको रुपमा बढि प्रयोग गरिएको पाइन्छ । यस जिल्लामा जौ बाली प्रायः कार्तिक मंसिरमा लगाइ चैत देखि असार सम्म भित्र्याइन्छ । यसलाई उत्तरी उच्च भेगमा रोटी, ढिडो, सातु तथा जाँड त्यसै गरी तराई तथा मध्य पहाडमा सातु, जाँड तथा रक्सी साथै जौ बाट माल्ट बनाइ त्यसबाट बियर, व्हिस्की आदि पेय पदार्थहरु समेत वनाईन्छ ।

पौष्टिक तत्व (प्रति १०० ग्राम)

शक्ति ३३६ क्यालोरी, चिस्यान १२.५ ग्राम, प्रोटीन ११.५ ग्राम, चिल्लो १.३ ग्राम,  कार्वोहाईड्रेड ६९.६ ग्राम, मिनरल्स १.२ ग्राम,  फाइबर ३.९ ग्राम, क्याल्सीयम २६ mg, फस्फोरस २१५ mg,  आईरन १.७ mg, क्यारोटिन १०µg, भिटामीन बि १-०.४७ mg, भिटामीन बि २ – ०.२ mg, भिटामीन बि ३-५.४ mg पाईन्छ र अन्य भिटामीन बि ६, भिटामीन बि ९ र भिटामीन के समेत पाइन्छ ।

जातहरु

जातहरु

तराई र भित्री मधेसका लागि : एच.बी.एल. ५६, सि.आइ.१०४४८, केच

मध्यपहाडका लागि  : बोनस, गाल्ट

उच्च पहाड तथा हिमाली क्षेत्रका लागि : सोलुउवा सिफारिस गरिएका जातहरु हुन भने ठाउँ र हावापानी अनुसार परम्परागतरुपमा कृषकले विभिन्न स्थानिय जातहरुको खेती गर्दै आईरहेको पाईन्छ ।

आवश्यकता

हावापानी

हिउँदमा बढी ठण्डा हुने ठाउँमा यसको वृद्धि राम्रो हुन्छ । हिउदे वालीको रुपमा तराई देखि उच्च पहाड सम्म यसको खेती हुने गर्दछ ।

माटो

गहुँ खेती हुने हल्का दोमट माटोमा जौ खेती राम्रो हुन्छ । साथै क्षारियपन तथा नुनिलोपन भएको माटो सहन सक्दछ र पि.एच मान ६.५ देखि ७ सम्म राम्रो मानिन्छ ।

कृषि इन्पुट

बीउदर

समयमा लगाउने सिंचित क्षेत्रमा ३.५–४ के.जी. प्रति रोपनी आवश्यक पर्दछ भने ढिलो गरी लगाउने  सिंचित क्षेत्र र असिंचित क्षेत्रका लागि ५ के.जी प्रति रोपनीका दरले बीउ आवश्यक पर्दछ । 

बीउ उपचार

सिड ड्रेसिङ्ग ड्रम वा अन्य यस्तै किसिमको उपकरणको प्रयोग गरी १ के.जी जौ को बीउमा २ ग्राम भाईटाभेक्स वा कार्बेन्डाजिम नामक ढुसीनाशक विषादी राम्रोसँग मिसाई बीउ उपचार गर्नु पर्दछ । यसले बीउको माध्यमवाट सर्ने ढुसीजन्य रोगहरुवाट बालीलाई बचाउन सकिन्छ ।

जग्गा तयारी

रोप्ने समय

तराई र भित्री मधेश : कार्तिक १५ देखि मंसिरको अन्तिम हप्ता सम्म छरी सक्नुपर्दछ ।

मध्य पहाड : कार्तिक १५ देखि  मंसिरको पहिलो हप्ता सम्म छरी सक्नुपर्दछ ।

मध्य उच्च पहाड : असोज अन्तिम हप्ता सम्म छरी सक्नुपर्दछ ।

लगाउने तरीका

छरुवा र लाइन दुबै तरिकाले लगाउन सकिन्छ । जौ सँग आलस, तोरी र केही मात्रामा चना र मुसुरो मिसाई तराईमा छर्दा उपयुक्त हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

कम्पोष्ट मल २५ डोका प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ भने रसायिनक मलको हकमा युरीया ३.६ के.जी डि.ए.पी. ३.२ के.जी. र पोटास २.५ के.जी.प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ । मलखाद प्रयोग गर्दा कम्पोष्ट मल, डि.ए.पी र पोटासको पुरै मात्रा र युरीयाको आधा भाग जमिन तयारीको बेला माटोमा मिसाउनु पर्दछ भने बाँकी रहेको युरीयाको आधा भागलाई दुई भाग लगाई पहिलो गोडमेल र दोस्रो गोडमेलको वेला प्रयोग गर्नु पर्दछ जसले गर्दा विरुवाले सन्तुलितरुपमा खाद्यतत्वको उपभोग गर्न पाउने भएकोले उत्पादनमा वृद्धि हुन्छ ।  

सिंचाई

जौ का लागि बीउ छरेको २०–२५ दिनमा अनिवार्यरुपमा सिंचाई गर्नु यो अवस्थामा विरुवाको गाँज आउने भएकोले सिंचाईका लागि महत्वपुर्ण मानिन्छ भने फुल फुल्ने तथा बाला निस्कने समय र दाना भरिने समयमा सिंचाई गर्नुपर्दछ । जौ को खेतमा धेरै पानी जमेको राम्रो मानिदैन त्यसैले पानी जम्न दिनुहुदैन ।

झारपात नियन्त्रण

तराइको हकमाः १५ ग्राम २,४–डी (८० डब्लु.पी) र ३५ ग्राम आइसोप्रोटुरान (७५ डब्ल.पी) १५ लिटर पानीमा मिसाई १ कठ्ठा क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

पहाडको हकमाः २५ ग्राम २,४˗डी (८० डब्लु.पी) र ५० ग्राम आइसोप्रोटुरान (७५ डब्लु.पी) २५ लिटर पानीमा मिसाई १ रोपनी क्षेत्रफलमा जौ छरेको ३० देखि ३५ दिनमा छर्ने । यसका साथै आवश्यकता अनुसार गोडमेल गरी झारपात नियन्त्रण गर्नु पर्दछ ।

बाली कटानी तथा भण्डारण

काट्ने समय

जौको बोट पहेंलिएर सुक्न थालेपछि साथै गेडा साह्रो भएपछि जौ काट्न थाले हुन्छ । दानालाई मुखले टोक्दा कुटुक्क आवाज आयो भने जौ काट्नु पर्दछ ।

उत्पादन

राम्रो व्यवस्थापन गर्न सकेको खण्डमा यसको उत्पादन सरदर १०० के.जी प्रति रोपनी हुन्छ ।

भण्डारणको तरीका

काटी सकेपछि राम्ररी सफा गर्ने र १–२ घाम सुकाई जौ सेलाएपछि भण्डारण गर्नु पर्दछ । बीउका लागि भण्डारण गर्नु पर्ने भएमा एलमुनियम फास्फाइडको (सेल्फस) एउटा चक्की करिब १ क्विन्टल बरावरको जौ मा हावा नछिर्ने भाडोमा राख्नु पर्दछ । खानका लागि हो भने बोझो, टिमुरको धूलो मिसाई सुपर ग्रेन व्यागमा राखी सुख्खा ठाउँमा भण्डारण गर्नु पर्दछ ।