परिचय

परिचय

स्थानिय नाम : मार्से/वेथे  

अङग्रेजी नाम : Grain amaranthus

वैज्ञानिक नाम : Amaranthus cordatus

यो मध्य तथा उच्च पहाडी भेगमा खेती गरिने बाली हो । नेपालका विभिन्न स्थानमा यसलाई लट्टे/मार्से/रामदाना/वेथे भनेर पनि चिनिन्छ । हरियो साग तथा फल दुवैको उपयोग गर्न सकिन्छ । फलमा १२ देखि १६ प्रतिशत सम्म प्रोटिन पाईन्छ । बढी मात्रामाा कलिलो लट्टेको सागलाई पकाएर खाने चलन छ साथै राईतो बनाएर पनि खाने गरिन्छ । यो निकै पोषिलो पनि हुन्छ। प्रसस्त आईरन पाईने हुनाले महिलाहरुको लागि बढी उपयोगी मानिन्छ । यसको फल भुटेर खाजाको रुपमा, खानाको रुपमा र गहुँको पिठो सँग मिसायर रोटी खाने चलन पनि छ । दाना मसिनो भएपनि भुट्दा निकै फुर्र उठने भएकोले चिनि वा मह सँग मिसायर लड्डु बनाएर खाने चलन निकै नै छ र सवैले यसको लड्डु अति नै  मन पराउने गर्छन । चिनि एवं मुटु रोगहरुका लागि पनि यसको भोजन उपयोगी मानिन्छ । यसमा क्याल्सीयम, आईरन, म्याग्नेसियम, फस्फोरस, पोटासीयम, म्यागनिज र भिटामीन वि को मात्रा पाईन्छ । यसको प्रयोगले मानसिक तनाव कम गर्न सहयोग पुग्दछ । यसमा क्यान्सर निको पार्ने गुण पनि हुन्छ । यसका ८०० भन्दा बढी प्रजाति उपलव्ध छन् । यसले अन्य वालीको तुलनामा वढी सुख्खा सहन सक्दछ । यसको फललाई नक्कली अन्न पनि भनिन्छ । नेपालका पहाडी जिल्लाहरुमा यसको मिश्रीत खेती गर्ने चलन रहेको छ । पहाडीक्षेत्रमा अति वा अनावृष्टि भई खाद्यान्न उत्पादन कम भएका वर्षहरुमा यो अनिकाल टार्ने मुख्य वालीकारुपमा स्थापित भएको छ । कम मेहनत तथा लगानीमा उत्पादन हुने हुनाले यो गरिवहरुको सहारा पनि हो । रातो र सेतो गरि रंगका आधारमा दुई प्रकारका लट्टे पाइन्छन । लुँडे र झूडे रातो लट्टे हुन् । त्यसै गरि सेतो लट्टे का जातहरु थागे र मलमार्से हुन् । लट्टेलाई मकैसंग मिसाएर मिश्रित खेती पनि गरिन्छ ।

पौष्टिक तत्व (प्रति १०० ग्राम)

शक्ति ३७५ क्यालोरी, चिस्यान १०.६ ग्राम, प्रोटिन ९.४ ग्राम, फ्याट ७.१७ ग्राम, कार्बोहाईड्रेड ६८.१ ग्राम, मिनरल्स २.६ ग्राम,  फइबर २.२ ग्राम, क्याल्सीयम ३७ mg, फस्फोरस ५२९.१ mg,  आईरन ५.२ mg, र भिटामीन ए, वि–१, वि–२, वि–३, वि–५, वि–६, सी, ई का साथै फोलीक एसिड समेत पाईन्छ । 

जातहरु

जात

नेपालमा यसको उन्नत जात हाल सम्म सिफारिस भएको छैन । कृषकहरुले स्थानिय जातको खेती गर्दै आईरहेका छन् । स्थानिय जातहरुमा रङ्गको आधारमा रातो, पहेँलो, खैरो, सुन्तला तथा कलेजी गेडा भएका पाईन्छन् ।

आवश्यकता

हावापानी

यसको खेती तराई देखि ३५०० मिटरको उचाई सम्म गर्न सकिन्छ । यो मध्य पहाडी क्षेत्रको हावापानी अत्यन्तै मन पराउने भएकोले यस क्षेत्रमा सफलतापुर्वक खेती गर्न सकिन्छ ।

माटो

यो प्राय सबै किसिमको माटोमा सजिलै खेती गर्न सकिने वाली हो । दुमट माटो यसका लागि उपयुक्त हुन्छ । कमसल तथा सिमान्तकृत माटोमा खेती गर्न सकिने भएकोले यसको क्षेत्र विस्तार गर्नुको साथै जमिनको उपयोग गर्नु पर्ने देखिन्छ ।

कृषि इन्पुट

बीउदर

यसको बीउ सानो आकारको हुने भएकोले सागको लागि १५० देखि २०० ग्राम प्रति रोपनी आवश्यक पर्दछ भने बीउ उत्पादन गर्नको लागि १०० ग्राम प्रति रोपनी भए पुग्छ ।

जग्गा तयारी

बीउ छर्ने समय

यो बाली सामान्यतया बैशाख जेठ महिनामा लगाएर असोज कार्तिकमा बाली भित्र्याइन्छ । बीउ उत्पादन प्रयोजनका लागि जेठ देखि असार सम्ममा बीउ छरिन्छ भने साग खानका लागि फागुन देखि चैत्रमा बीउ छर्न सकिन्छ ।

बाली लगाउने दुरी

विरुवाको उचाई २ देखि ३ फिट सम्म अग्लो हुने र हाँगाहरु फैलने भएकोले बाली लगाउने दुरी कुन आकारको बोट बनाउने भन्नेमा भर पर्दछ तथापी यसको बीउ छर्ने चलन रहेको छ । सबै उम्रिसकेपछि केही सागको रुपमा प्रयोग गर्ने र बाँकी रहेको बीउ उत्पादनका लागि प्रयोग गर्ने गरिन्छ । 

बाली लगाउने समय

तराईमा – पुस देखि माघ

मध्य पहाडमा – चैत्र देखि वैशाख

उच्च पहाडमा – वैशाख देखि जेष्ठ

छर्ने तरीका

बीउ सिधै छरेर वा वेर्ना तयार पारेर सार्न सकिन्छ । सुख्खा समयमा व्याडमा तयार भएका विरुवा मनसुन वर्षा शुरु भएपछि सार्नु पर्दछ । विरुवा सार्दा हार देखि हारको दुरी ४० देखि ५० से.मी र बोट देखि बोटको दुरी ३० देखि ४० से.मी राम्रो हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

सिंचाई

आकाशे पानीको भरमा खेती गरिने हुँदा त्यति सिंचाई गर्ने चलन छैन । साग खानको लागि भने सिंचाई अनिवार्य दिनु पर्दछ । यसरी सिंचाई गर्दा माटोको चिस्यानको अवस्था हेरी १०–१५ दिनको फरकमा दुईपटक गर्दा राम्रो हुन्छ ।

मलखाद

१५ देखि २० डोका गोबर मल प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ । रसायनिक मलको प्रयोग गर्ने चलन खासै छैन तर पनि राम्रो उत्पादन लिनका लागी युरिया ४ के.जी, डि.ए.पी ३ के.जी र पोटास १.६ के.जी प्रयोग गर्नु पर्दछ ।

गोडमेल

खासै गोडमेल गर्ने प्रचलन छैन तर बीउ रोपेको एक र दुई महिनामा सामान्य गोडमेल गरी झारपात हटाउनु पर्दछ ।

रोग तथा किरा व्यवस्थापन

व्यवसायीक रुपमा खेती गर्ने चलन छैन र रोग किरा व्यवस्थापनमा पनि खासै ध्यान दिईदैन तर पनि यसमा कहिलेकाँहि पात खाने किराको प्रकोप भने देखिन्छ । यसको नियन्त्रणका लागि स्थानिय जडिवुटिबाट तयार गरिएको झोलमलको प्रयोग गर्नु पर्दछ र नियन्त्रण हुन नसकेमा मालाथिएन २ मिलिलिटर/लिटर पानीमा मिसायर छर्नु पर्दछ । हरियो साग खानेबालीमा भने विषादी छुर्न हुँदैन ।

बाली कटानी तथा भण्डारण

उत्पादन

हरियो तरकारी १००० के.जी सम्म र बीउ ५० के.जी सम्म उत्पादन हुन्छ ।

भण्डारण

यसको बीउ बाहिरवाट भुसले ढाकेको हुनाले प्राकृतिक रुपमा नै सुरक्षित हुन्छ । सामान्य बोरामा राखेर कोठामा भुईमा ओस नलाग्ने गरी भण्डारण गरेमा सुरक्षितरुपमा भण्डारण गर्न सकिन्छ ।