स्थानिय नाम : कागुनु
अङग्रेजी नाम : foxtail millet
वैज्ञानिक नाम : Setaria italica
कागुनोको उत्पत्ति चिनमा भएको मानिन्छ । यसलाई पुजाआजामा पनि चोखो अन्नकारुपमा प्रयोग गर्ने गरिन्छ । कागुनोको खिर भात वा पिठो वनाई रोटी वनाएर पनि खाने गरिन्छ । यसको नल पशुवस्तुका लागि पनि निकै पोषिलो मानिन्छ । यसलाई औषधिकारुपमा पनि प्रयोग गर्ने चलन रहेको छ । रातो कागुनो र सेतो कागुनो गरि दुई जातको कागुनो पाइन्छ । रातो कागुनो छोटो समय (६० दिन जति) मा तयार हुने बाली हो । गहुँ बाली काटे पछि धान रोप्नु अघि रातो कागुनो लगाइ छोटो समयमा बाली लिन सकिन्छ । बैसाख जेठमा लगाइ असार साउनमा बाली लिन सकिन्छ । सेतो कागुनो उच्च पहाडी भेगमा वर्षा याममा लगाइन्छ । सेतो कागुनोको बाली तयार हुनको लागि रातो कागुनो भन्दा लगभग दोव्वर अवधि लाग्छ । कागुनो विशेष गरि भातको सट्टा र खीर बनाइ खाने गरिन्छ । चामलको भातको तुलनामा कागुनोको आधा परिमाणले पेट भरिने स्थानियवासीको अनुभव रहेको छ । यसको अलावा यसको सेवनले शरिर तातो हुने र यसले पशुवस्तुको लागि औषधीको काम समेत गर्ने विश्वास रहि आएको छ । कागुनोको उमारशक्ति बढि हुने, सुख्खा र रोगकिरा बढि सहने तथा कोदो बालीसंग पनि मिश्रित खेति गर्न सकिने भएकोले धानको विकल्पको रुपमा यसको खेति गर्न सकिने सम्भावना देखिन्छ ।
