परिचय

परिचय

स्थानिय नाम : कागुनु 

अङग्रेजी नाम : foxtail millet

वैज्ञानिक नाम : Setaria italica

कागुनोको उत्पत्ति चिनमा भएको मानिन्छ । यसलाई पुजाआजामा पनि चोखो अन्नकारुपमा प्रयोग गर्ने गरिन्छ । कागुनोको खिर भात वा पिठो वनाई रोटी वनाएर पनि खाने गरिन्छ । यसको नल पशुवस्तुका लागि पनि निकै पोषिलो मानिन्छ । यसलाई औषधिकारुपमा पनि प्रयोग गर्ने चलन रहेको छ । रातो कागुनो र सेतो कागुनो गरि दुई जातको कागुनो पाइन्छ । रातो कागुनो छोटो समय (६० दिन जति) मा तयार हुने बाली हो । गहुँ बाली काटे पछि धान रोप्नु अघि रातो कागुनो लगाइ छोटो समयमा बाली लिन सकिन्छ । बैसाख जेठमा लगाइ असार साउनमा बाली लिन सकिन्छ । सेतो कागुनो उच्च पहाडी भेगमा वर्षा याममा लगाइन्छ । सेतो कागुनोको बाली तयार हुनको लागि रातो कागुनो भन्दा लगभग दोव्वर अवधि लाग्छ । कागुनो विशेष गरि भातको सट्टा र खीर बनाइ खाने गरिन्छ । चामलको भातको तुलनामा कागुनोको आधा परिमाणले पेट भरिने स्थानियवासीको अनुभव रहेको छ । यसको अलावा यसको सेवनले शरिर तातो हुने र यसले पशुवस्तुको लागि औषधीको काम समेत गर्ने विश्वास रहि आएको छ । कागुनोको उमारशक्ति बढि हुने, सुख्खा र रोगकिरा बढि सहने तथा कोदो बालीसंग पनि मिश्रित खेति गर्न सकिने भएकोले धानको विकल्पको रुपमा यसको खेति गर्न सकिने सम्भावना देखिन्छ ।

पौष्टिक तत्व (प्रति १०० ग्राम)

शक्ति ३३१ क्यालोरी, चिस्यान ११.२ ग्राम, प्रोटीन १२.३ ग्राम, चिल्लो ४.३ ग्राम,  कार्वोहाईड्रेड ६०.९ ग्राम, मिनरल्स ३.३ ग्राम,  फाईवर ८ ग्राम, क्याल्सीयम ३१ mg, फस्फोरस २९० mg,  आईरन १२.९ mg, क्यारोटीन ३२µg, भिटामीन बि १-०.५९ mg, भिटामीन बि २-०.११ mg, भिटामीन बि ३-३.२ mg पाईन्छ । 

महत्व

नेपालको मध्ये र उच्च पहाडी क्षेत्र विशेष गरी कर्णाली प्रदेशमा यसको उत्पादन तथा प्रयोग बढी रहेको छ । गोरखा जिल्लाको उत्तरी भागमा पर्ने चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको उत्पादन हुने गरेको भएता पनि विगतको तुलनामा एकदमै न्युन उत्पादन हुने गरेको छ । चार महिनामा उत्पादन लिन सकिने भएकाले यसलाइ अनिकाल टार्ने अन्नको रुपमा पनि लिइएको छ । हालसम्म नेपालमा कागुनोको कुनै पनि जात सिफारिस भएको छैन ।

महत्व

  • ­कम उर्बर भूमिमा पनि बढी उत्पादन
  • ­छिटो र सजिलैसँग उत्पादन लिन सकिने
  • ­असिना, खडेरी सहनुकासाथै भिरालो जमिनमा पनिराम्रो उत्पादन दिने क्षमता राख्दछ ।

तालिकाः कागुनोमा पाइने पोषणको मात्रा

क्र.सं. पोषण तत्व मात्रा (प्रति १०० ग्राम)
पानी ८.८७ ग्राम
चिल्लो पदार्थ ८.७६ ग्राम
खनिज पदार्थ २.८ ग्राम
रेशा ८.७८ ग्राम
कार्बोहाइड्रेट ६६.१६ ग्राम
शक्ति ३४६ कीलो क्यालोरी
क्याल्सियम ७.०५ मिलिग्राम
फस्फोरस ३५१.६१ मिलिग्राम
फलाम ३.७१ मिलिग्राम

 

जातहरु

जातहरु

नेपालमा कुनैपनि उन्नत जातको खोज र सिफारिस भएको पाईदैन तथापी कृषकहरुले स्थानिय स्तरमा उपलव्ध जातहरुको खेती गर्दै आईरहेका छन् । तर भारतमा भने विभिन्न जातहरु सिफारिस भएका छन् । जस्तै आई एस सी ११९, आई एस सी २०१,सि ओ ३, सि ओ ४

आवश्यकता

हावापानी

कागुनो तराईको समथर भाग देखि 200 मिटरको उचाई सम्म सफलतापुर्वक खेती गर्न सकिन्छ ।

माटो

मलीलो दोमट माटो उपयुक्त भएपनि यो जुनसुकै किसिमको माटोमा गर्न सकिन्छ । कम मलीलो जमिनमा पनि खेती गर्न सकिने साथै सुख्खा समेत सहन सक्ने भएकोले पहाडी भेगमा यसलाई पाखोवारीमा लगाउने गरिन्छ ।

कृषि इन्पुट

बीउ दर

एक रोपनी जमिनको लागी ५०० ग्राम बीउ आवश्यक पर्दछ

जग्गा तयारी

जमिनको तयारी

कागुनोको खेतीका लागि खासै धेरै जमिनको तयारी गर्नु पर्दैन । सामान्य खनजोत गरेको जमिनमा बीउ छरेर समयमा व्यडाउने र एक पटक गोडमेल गरेमा सजिलै यसको उत्पादन लिन सकिन्छ ।

बाली लगाउने समय

तराईमा सिंचाई भएको स्थानमा वर्षमा तिन वाली सम्म उत्पादन हुन्छ भने पहाडी क्षेत्रमा फाल्गुन–चैत्रमा लगाएर जेठ असारमा बाली टिप्ने गरिन्छ । असिंचित क्षेत्रमा भने असार श्रावणमा लगाएर असोज कार्तिकमा बाली लिन सकिन्छ ।

लगाउने तरीका

सामान्यतया यसको बीउ छरुवा विधिवाट नै लगाउने गरिन्छ र हारमा लगाउन परेमा २५ देखि ३० से.मी को दुरीमा लगाउँदा राम्रो हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

प्रति रोपनी १५–२० डोको गोठेमल प्रयोग गर्नु पर्दछ । यसको लागी खासै रसायनिक मल प्रयोग गरेको पाईदैन तथापी राम्रो उत्पादन लीनका लागि ५ के.जी युरीया, ४ के.जी. डि.ए.पी र २.५ के.जी पोटास प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ ।

मिश्रीत खेती

यसलाई हावापानी अनुसार मकै अरहर मास तथा चनासँग मिश्रीत वालीकोरुपमा पनि लगाउन सकिन्छ ।

सिंचाई

कागुनो लाई सामान्यतया सिंचाई गर्ने चलन छैन । वर्षे मौसममा सिंचाईको आवश्यकता पनि पर्दैन तर सुख्खा मौसममा गरिने खेतीमा भने माटोको चिस्यान हेरी २ पटक सम्म सिंचाई गर्न  सके वढी उत्पादन लिन सकिन्छ ।

गोडमेल

कम्तीमा दुई पटक गोडमेल गर्नु आवश्यक हुन्छ । पहिलो गोडमेल कुटोको गर्नु पर्दछ भने वाक्लो भएका ठाउँका विरुवा आवश्यकता हेरी हटाउनु पर्दछ । दोस्रो पटक गोडमेल गर्दा हातले झार निकालेर पनि गर्न सकिन्छ ।

रोगकिरा व्यवस्थापन

कागुनोमा खासै रोगको प्रकोप देखिदैन तर कहिलेकाँहि कालो पोके र खराने रोगले आक्रमण गर्न सक्दछ । यसको नियन्त्रणका लागि बीउ उपचार गरिएको बीउ प्रयोग गर्न सकेमा सजिलै नियन्त्रण गर्न सकिन्छ । बीउ उपचारका लागि भाईटाभेक्स वा वेभिष्टीन २ ग्राम प्रति किलो वीउका दरले प्रयोग गर्न सकिन्छ । किराको आक्रमण खासै देखिदैन ।

बाली कटानी तथा भण्डारण

उत्पादन

सिंचाई नगरिएको क्षेत्रवाट ५० के.जी. र सिंचित जमिनवाट १०० के.जी प्रति रोपनी सम्म उत्पादन लिन सकिन्छ ।

प्रशोधन

सामान्यतया वर्षा हुने समयमा पाकेको वोट वाला टिपेर एउटा ठाउँमा जम्मा गरिन्छ । राम्रो सँग सुकेपछि वालीलाई सफा खलो वा आँगनमा लौरोद्धारा चुटिन्छ । त्यसपछि सफा गरी भणडारण गरिन्छ । वोटको पुरै भाग काटि जम्मा गरी राखेको सुकेको वाली सहितको वोटलाई गोरुले दाईँ गरेर पनी कागुनोको प्रसोधन गर्ने गरिन्छ ।