परिचय

परिचय

मकै पहाडी भेगको मुख्य खाद्यान्नको स्रोत हो । यद्यपि यसको खेती नेपालको सबै भू–भागमा गरेको पाइन्छ । नेपालमा करिब ८,९१,५८३ हे. क्षेत्रफलमा मकै खेती गरेको पाइन्छ भने उत्पादकत्व २.५ मे.टन रहेको छ (कृ.वि.म. ,२०७२।०७३)। कुल मकै खेती गरिने क्षेत्रफलको ७० प्रतिशत भू–भाग पहाडमा, २० प्रतिशत तराई तथा १० प्रतिशत उच्च पहाडमा रहेको छ भने उन्नत मकैले ढाकेको क्षेत्रफल करिब ८६ प्रतिशत, करिब १० प्रतिशत क्षेत्रफल स्थानीय एवं रैथाने मकैले तथा हाइव्रिड मकैले ढाकेको क्षेत्रफल करिब ४ देखि ५ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालमा उत्पादित मकैको ८७ प्रतिशत खाद्यान्नमा १२ प्रतिशत दानाको रुपमा प्रयोग हुन्छ भने यस बालीले नेपालको कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ६.८८ प्रतिशत हिस्सा ओगटेको छ (एफ.ए.ओ.,२००९ ) । पुराना तथा स्थानीय जातका मकैको बीउमा प्रयोग, रोग र कीराग्रस्त बीउको प्रयोग, माटोमा विभिन्न खाद्य तत्वहरुको कमी, उन्नत तरिकाको खेती प्रविधिको कमी जस्ता कारण मकैको उत्पाकत्व कम रहेको छ । पछिल्ला वर्षहरुमा बाटोको सुविधा भएको, रासायनिक मल, सिंचाईको राम्रो प्रबन्ध र बजारको व्यवस्था भएका क्षेत्रहरुमा बढ्दै गएको हाइव्रिड मकै खेतीको कारण उत्पादन, उत्पादकत्व एवं रोजगारी सिर्जनामा समेत फाइदा पुगेको देखिन्छ । तर स्थानीयस्तरमा स्थानीय हावापानी सुहाउँदो हाइव्रिड नभएका कारण वर्षैपिच्छे कृषकहरु महँगा एवं आयातित हाइव्रिडहरु प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।

हाइब्रिड भन्नाले क्रमबद्धरुपमा मकैको बिरुवालाई ६–७ पुस्तासम्म स्वसेचन गरी निकालिएका इन्व्रेड लाइनहरु आपसमा क्रस गरेर निकालिएको पहिलो पुस्ता भन्ने जनाउँदछ । हाइब्रिडहरु विभिन्न प्रकारका हुन्छन्– सिंगल क्रस, डबल क्रस, थ्रि वे क्रस, डबल क्रस हाइव्रिड तथा टप क्रस हाइव्रिड आदि । सिंगल क्रस हाइव्रिडको उत्पादन क्षमता अन्य हाइव्रिडको भन्दा बढी हुन्छ । हाइब्रिडलाई एकपटक लगाई त्यसबाट आएको बीउ पुनः लगाएमा उत्पादनमा निकै कमी आउने हुँदा प्रत्येक सिजन मकै लगाउँदा बीउ किनी लगाउनुपर्दछ हाइव्रिडको सबै बोटमा एकनासका घोगा पाइन्छ । यसमा बोटको उचाइ, घोगा लाग्ने आँख्लासम्मको उचाइ, धान चमरा तथा जुँगा निस्कन लाग्ने दिन तथा पाक्ने दिनमा सबै बोटमा एकरुपता हुन्छ तथा एकै किसिमको वंशाणु रहने हुँदा सबै बोट निरोगी हुन्छन् र रोग लागेमा सबै बोटमा रोग लाग्दछ । साधारण तया खुल्ला सेचित मकैको तुलनामा होचा हुने, उत्पादन क्षमता बढी हुने, मल–जलको सदुपयोग गर्न सक्ने क्षमता बढी भएको कारण उत्पादन बढी लिन सकिन्छ । सामान्यतया हाइब्रिड मकै खेतीको लागि १४–३८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । परागसेचनका बेला ८ डि.से. भन्दा कम तथा ४२ डि.से. भन्द बढता तापक्रम भयो भने मकैमा दाना लाग्दैन ।

जातहरु

हालसम्म नेपालमा सिफारिस एंव सूचीकृत भएका हाइब्रिड
मकैको जात पाक्ने दिन  उत्पादन (मे. ट/हे) सिफारिस क्षेत्र 
रामपुर कम्पोजिट ११०-१२० ४.४  तराई, भित्रीमधेश, बेंसी र मध्यपहाड
अरुण २ ८०-९०  २.२  तराई, मध्यपहाड
मनकामना  १ १२०-१३० ४.०  मध्यपहाड (हिउँदमा तराई क्षेत्रमा पनि लगाउन सकिने)
गणेश २ १५०-१८०  ३.५  उच्च पहाड (हिउँदमा तराई र भित्रीमधेशमा पनि लगाउन सकिने)
रामपुर २ १०५-११०  ४.०  तराई, भित्रीमधेश, बेंशी र टार
अरुण १ ९०-१०० ४.०  पश्चिमतराई र मध्य पहाड
गणेश १  १७५  ५.०  उच्च पहाड
मनकामना ३ १४२  ५.५  पूर्वाञ्चल मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका मध्य पहाडी क्षेत्र (१००० मिटरदेखि १७०० मिटरसम्मको उचाईको लागि)
देउती १३०-१३५  ५.७   मध्यपहाड
सितला १३०-१३५  ६.०८  पहाड
मनकामना ४ ११७  ५.३  नेपालको पूर्व देखि पश्चिम सम्म मध्य पहाडको १६०० मिटर भन्दा तल
पोसिलो मकै १ १४५-१५५  ५.३  नेपालको पूर्व देखि पश्चिम सम्म मध्य पहाडको १६०० मिटर भन्दा तल
मनकामना ५ १४०-१४५  ५.२७  कर्णाली पूर्वका मध्यपहाड
मनकामना ६ १४०-१४५  ५.३४  पूर्वी– मध्यपश्चिम पहाड
रेशुङ्गा कम्पोजीट १२७  ५.२  मध्य तथा पश्चिमाञ्चल क्षेत्रको ७०० देखि १४०० मिटर उचाइको पहाडी क्षेत्र
गुल्मी २  १२५  ५.४  गुल्मी र अर्घाखाँची जिल्लाको ७०० देखि १४०० मिटर उचाइको क्षेत्र
अरुण ३ १००  ३.९  मध्यपश्चिमदेखि पूर्वको तराई, भित्री मधेश र मध्य पहाड । तराई र भित्री मधेशमा  हिउँदे र वसन्ते तथा मध्य पहाडमा गृष्म ऋतुमा खेती गर्न सकिने 
अरुण ४ ११३-११५  ४.२  मध्यपश्चिमदेखि पूर्वको तराई, भित्री मधेश र मध्य पहाड । तराई र भित्री मधेशमा  हिउँदे र वसन्ते तथा मध्य पहाडमा गृष्म ऋतुमा खेती गर्न सकिने
अरुण ६ ९०  ३.५  मध्यपश्चिमदेखि पूर्वको तराई, भित्री मधेश र मध्य पहाड । तराई र भित्री मधेशमा  हिउँदे र वसन्ते तथा मध्य पहाडमा गृष्म ऋतुमा खेती गर्न सकिने
मकैका हाईब्रिड जात
हाईब्रिड जात  पाक्ने दिन उत्पादन(मे.ट/हे)  सिफारिस क्षेत्र 
रामपुर हाईब्रिड — २ (आर.एम. एल— ४ र एन.एम. एल— २) हिउदे १३०-१६० दिन
बर्षे १२५ दिन 
हिउदे ७.० 
बर्षे ३.५५
नारायणी नदि पूर्वका भित्री मधेश तथा तराई
खुमल हाब्रिड -२ हिउदे १५२ दिन
बर्षे १३८ दिन 
हिउदे ९.०८ 
बर्षे ८.५
मध्य पहाडी क्षेत्रमा वर्षा याममा र तराई तथा भित्रि मधेसमा हिउदे मौसममा
रामपुर हाईब्रिड ४ (एन.एम.एल.४ र एन.एम.एल.५) १५५-१६५  ६.९५  तराई र भित्रि मधेशको हिउँदे सिजन ७०० मिटर सम्म
रामपुर हाईब्रिड ६ (एन.एम.एल.३ र एन.एम.एल.५) १५८—१६५ ६.८  तराई र भित्रि मधेशको हिउँदे सिजन ७०० मिटर सम्म
रामपुर हाईब्रिड — ८ (आर.एम. एल— ३२ र आर.एम. एल— १७) १५८—१६५ ८.७९  तराई र भित्रि मधेशको हिउँदे सिजन ७०० मिटर सम्म
रामपुर हाईब्रिड — १० (आर.एम. एल— ४ र एन.एम. एल— २) १६०—१६५ ९.१८  तराई र भित्रि मधेशको हिउँदे सिजन ७०० मिटर सम्म

आवश्यकता

हावापानी

मकैलाई अलि बढी न्यानो हावापानी चाहिन्छ । तर वैज्ञानिकहरुको अनुसन्धानका कारण कुनै पनि हावापानीमा यसको खेती गर्न सकिन्छ । यद्यपि यसको लागि उपयुक्त तापक्रम भनेको २१ देखि ३२ डिग्री सेल्सियस उपयुक्त मानिन्छ भने वर्षाको हकमा १५ देखि २० से.मी. उपयुक्त मानिन्छ । मकै न्यूनतम १० डि.से. मा उम्रन सक्छ । तर एकनाशले उम्रनका लागि माटोको तापक्रम १६ देखि १८ डि.से. उपयुक्त हुन्छ । कुहिरो र तुषारोले बिरुवाको कुनै पनि अवस्थामा असर पार्न सक्दछन् । मुख्यतया पातहरुलाई कुहिरो र तुषारोले क्षति पुर्याउँछन् । त्यसैगरी दाना लाग्ने समयमा पनि यसले नराम्रोसँग क्षति पुयाउँछ ।

माटो

गहिराइ भएको माटो, उपयुक्त निकास भएको, चिस्यान प्रशस्त भएको, उपयुक्त तथा सन्तुलित मात्रामा खाद्यतत्व समावेश भएको र उपयुक्त भौतिक एवं रासायनिक गुणहरु भएको माटो मकैको बृद्धि एवं विकासका लागि राम्रो मानिन्छ । व्यावसायिक खेती गर्नका लागि पाँगो माटो उपयुक्त मानिन्छ । यद्यपि १० देखि ३० प्रतिशतसम्म बलौटे माटोमा मकै खेती गर्न सकिन्छ ।

जग्गा तयारी

रोप्ने दूरी तथा बीउदर

बीउ रोप्दा लाइनमा रोप्नुपर्दछ । दूरी मुख्यतया लगाउने सिजन, माटोको उर्वराशक्ति, सिंचाईको अवस्था आदिमा निर्भर गर्दछ । यसरी लाइनमा रोप्दा अगौटे मकैको हकमा लाइनदेखि लाइनको दूरी ६० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. हुनुपर्दछ भने पछौटे मकैको हकमा ७५ से.मी. देखि २५ से.मी. को दूरीमा रोप्नु उपयुक्त हुन्छ । बीउको दर १००० दाना मकैको तौल, कुन समयमा बाली लगाउने हो, त्यसमा पनि भर पर्दछ । सामान्यतया ६०० देखि ८०० ग्राम मकैको बीउ प्रति कठ्ठा आवश्यक पर्दछ । लाइनमा रोप्दा कम लाग्दछ भने छर्दा अलिक बढी बीउको आवश्यकता पर्दछ ।

लगाउने समय

हाइब्रिड मकै खेती हिउँदमा गर्दा राम्रो हुन्छ । तराईमा असोजदेखि कार्तिकसम्म र भित्री मधेशमा भदौदेखि कार्तिकसम्ममा यसको खेती गर्न सकिन्छ । यसको अलावा माघको तेस्रो हप्तादेखि फागुनको दोस्रो हप्तासम्म पनि अगौटे खालका हाइव्रिड मकै खेती गर्न सकिन्छ ।

जमिनको तयारी

हलो अथवा ट्याक्टरको सहायताले जोत्ने, अघिल्लो बालीको डाँठ, ठुटा सबै माटोमा मिलाउने । त्यसपछि पुनः अर्कोपटक खनजोत गरेर माटोलाई हल्का बनाउनुपर्दछ । खनजोतले पानी सोस्न सक्ने क्षमता बढाउँछ । बीउ उम्रन तथा जराको वृद्धि विकासमा सहयोग पुर्याउँछ । अघिल्लो बालीको अवशेषहरुलाई माटोमा मिलाई कुहाउन सहयोग गर्दछ ।

खनजोतका प्रकारहरु

शून्य खनजोत प्रविधिः यस प्रविधिमा बीउ रोपेदेखि मकै भाँच्ने समयसम्म माटोलाई चलाइँदैन । यस प्रविधिको मुख्य आधार भनेको करिब ३० प्रतिशत जति जमिनमा बालीका अवशेषहरुले छोप्नुपर्दछ ताकि पानीबाट हुने भू–क्षय कम गर्न सकियोस् ।

छापो राख्ने प्रविधि: यस पद्धतिमा माटो रोप्नुभन्दा पहिले नै चलाइन्छ । तर रोप्ने बेलामा चलाइँदैन । यसको लागि चिसेल हलोको प्रयोग गरिन्छ । झारपात नियन्त्रणका लागि झारपातनाशक विषादी वा मेशिनको प्रयोग गरिन्छ ।

न्यूनतम खनजोत प्रविधि: यस प्रविधिमा १५ देखि ३० प्रतिशत जमिनलाई विभिन्न बालीको अवशेषले छोपिन्छ भने झारपात नियन्त्रणका लागि विषादी वा मेशिनको प्रयोग गरिन्छ ।

परम्परागत जोताइ पद्धति: यस प्रविधिमा १५ प्रतिशतभन्दा कमी जमिनलाई मात्र छापोले छोपिन्छ । यस प्रविधिमा अधिकरुपमा खनजोत गरिन्छ । साधारणतया १ मे.टन मकैको दाना उत्पादन हुँदा १ मे. टन उत्पादन पनि प्राप्त हुन्छ । जसको प्रयोगबाट करिव १० प्रतिशत जमिनलाई छोप्न सकिन्छ । जुनसुकै खनजोत प्रविधिको अवलम्बन गरे तापनि जमिनको तल कडा तह बन्न दिनुहुँदैन । यदि कडा तह बन्न गएमा जराको वृद्धि विकास एवं पानी सोस्नमा नकारात्मक असर पार्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

गोडमेल तथा झारपात व्यवस्थापन

हाइब्रिड मकैबाट बढी उत्पादन लिनका लागि दुईपटकसम्म गोडमेल गर्नुपर्दछ । विरुवा उम्रेको २० देखि २५ दिन पछाडि पहिलो गोडाइ र दोस्रो गोडाइ पहिलो गोडाइको ३ हप्तापछि गर्नुपर्दछ । दोस्रो गोडाइपछि उकेरा दिनु उपयुक्त हुन्छ । झारपातका कारण मकैमा ३५ प्रतिशतसम्म उत्पादनमा ह्रास पुगेको देखिन्छ । मकैको बीउ उम्रनुभन्दा अगावै वा रोपेको ३ दिनभित्र एट्राजिन वा सिमाजिन १ देखि १.५ के.जी.प्रति हे.का दरले ६०० लिटर पानीमा मिसाएर छर्नु उपयुक्त हुन्छ । त्यस पश्चात् १ देखि २ पटक कोदालोको सहायताले मकैमा माटो चढाउँदा जरामा हावाको सञ्चार राम्रोसँग हुने तथा झारपातको नियन्त्रण पनि राम्रोसँग हुन्छ । झारपातनाशक विषादी छर्दा विषादीको नेटवर्क बीचैमा नटुटाउनका लागि विषादी छर्दै पछाडितर्फ आउनु उपयुक्त हुन्छ।

मलखादको प्रयोग

साधारणतया प्रति कठ्ठा जग्गामा ५०० के.जी. राम्रोसँग कुहिएको गोबर मल वा कम्पोष्ट मल र ८०० ग्राम जिङ्क सल्फेट (२१ प्रतिशत) रोपाइँको १५ देखि २० दिन अगाडि खेतमा हाल्नुपर्दछ । रासायनिक मलको हकमा माटोको उर्वराशक्ति, पहिले लगाएको बाली, लगाउने सिजन, सिंचाईको अवस्था, मकैको उत्पादन क्षमता आदिमा भर पर्दछ । यसको लागि माटो जाँचको आधारमा मलखाद प्रयोग गर्नु बुद्धिमानी हुन्छ । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजा अनुसार १८०:६०:४० ना.फ.पो. प्रति हेक्टरका दरले प्रयोग गर्नुपर्दछ अर्थात प्रति कठ्ठा ११.३५ के.जी. युरिया, ४.३५ के.जी. डि.ए.पि. तथा २.२२ के.जी. म्युरेट अफ पोटासको प्रयोग गर्न सिफारिस गरिएको छ । सिफारिस मात्राको पूरै भाग डि.ए.पि., पोटास र २० प्रतिशत युरिया बाली लगाउने बेलामा, २० प्रतिशत ४ देखि ६ पाते बिरुवाको अवस्थामा, ३० प्रतिशत ८ पाते अवस्थामा र बाँकी ३० प्रतिशत युरिया धान चमर निस्कने बेलामाप्रयोग गर्नु उपयुक्त हुन्छ ।

सिंचाई व्यवस्थापन

हिउँदमा लगाइने मकैलाई रोपाइँपूर्व साधारणतया सिंचाई दिनु पर्दैन । तर माटो सुख्खा छ भने सिंचाईको आवश्यकता पर्दछ र सिंचाई गरी खनजोत पश्चात् मकै रोप्नु उत्तम हुन्छ । बसन्ते मकै खेतीलाई रोप्ने बखत सिंचाई दिनु जरुरी छ । सिंचाईको मात्रा माटोमा चिस्यानको अवस्था, बिरुवाको अवस्था, सिंचाईको स्रोत आदिमा निर्भर गर्दछ । ड्याङ बनाएर लगाएको बालीमा पानी लगाउँदा ड्याङको दुई तिहाइ भाग भिज्ने गरी पानी लगाउनुपर्दछ । एकैपटक पानीले डुबाउनुभन्दा हल्का र पटक–पटक पानी दिनु उपयुक्त हुन्छ । सामान्यतया मकै बाली घुँडासम्म अग्लो भएको अवस्था, जुँगा निस्कने अवस्था र दाना पोटिलो हुने अवस्थाहरु बढी संवेदनशील हुनाले यी अवस्थाहरुमा सिंचाई दिनु जरुरी हुन्छ ।

रोग व्यवस्थापन

पातमा लाग्ने डढुवा (leaf blight)

रोगको जीवाणु: Bipolaris turcicum

लक्षण

पातमा ठूला लाम्चिला आँखा आकारका खैरा दागहरू देखा पर्दछन् । पछि ती थोप्लाहरू एक आपसमा जोडिई पात सुकाई दिन्छन् ।

1

व्यवस्थापन

१. स्वस्थ बीउको प्रयोग गर्ने

२. रोग अबरोधक जातहरू: मनकामना–३, गणेश–१, गणेश–२ लगाउने

३. कार्वेन्डाजिम ५० % डब्लु.पी (बेभिष्टिन) ढुसीनासक विषादी २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्ने

४. खेत बारीमा रोग देखेमा कार्बेन्डाजिन २ ग्राम प्रति लिटरका दरले ७-१० दिनको फरकमा छर्ने|

ध्वाँसे थोप्ले रोग

रोगको जीवाणु: Cersocpora zea maydis

धान चमरा निस्किने बेलामा फेद नजिकका पातमा शुरुमा स–साना पहेला वा खैरा दागबनाउँछ र दुइ तीन हप्ताभित्र नसासँग समान अन्तरमा लाम्चिला धर्साहरुमा परिवर्तन हुन्छ । थोप्लाहरु जोडिदै गई पुरै पात ध्वस्त हुन्छ । पातबाट डाँठ, घोेगाको खोस्टा पनि लाग्छ ।घोगाहरु साना, हलुका, थोते, टेडा हुने हुन्छ ।

1

ब्यवस्थापन

  • मकै छिटो रोप्ने र पातलो रोप्ने । घुम्ती बाली अपनाउने
  • रोगी बोटका अवशेष जलाउने, रोगको लक्षण देखिनासाथ पात हटाउने । सन्तुलितमलखाद प्रयोग गर्ने
  • ढुसीनासक विषादी वेभिष्टीन वा वेनोफेट १ ग्राम अथवा डाइथेन एम ४५ वा साफ २ ग्राम प्रति लिटर पानीको दरले ७-१० दिनको फरकमा दुइपटक छर्ने
  • गणेश १, मनकामना ३, मनकामना १, हिलपुल पहेलो र देउती जातका रोग सहन सक्नेजात लगाउने ।
डाउनी मिल्ड्यु (Downy mildew)

रोगको जीवाणु: Sclelospora phillippinensis

पातहरू पहेंलिएर सानो हुने र पातमा धर्साहरू देखिन्न् ।

1

व्यवस्थापन

  • स्वस्थ बीउको प्रयोग गर्ने |
  • रोग अवरोधक जातहरू रामपुर २, रामपुर कम्पोजिट लगाउने |
  • मेन्कोजेव ७५ प्रतिशत डव्लु पि (डाइथेन एम–४५.) विषादी ३ ग्राम प्रति लिटर वा मेटालेक्सील ८ प्रतिशत मेन्कोजेव ६४ प्रतिशत( क्रिनोक्सील गोल्ड, कीन्ग मील एमजेड,रिडोमिल एमजेड, टयागमील) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने |
डाँठ कुहिने (Stalk rot)

रोगको जीवाणु: Erwinia chrysathemi pv zeae

जमिन भन्दा माथि डाँठको दोश्रो आँख्ला नजिकैको भित्री भागको गुदीको रङ्ग बदलिन्छ र डाँठ कुहिन गई बोट ढल्दछ।

1

व्यवस्थापन

  • सिफारिस मात्रामा मल प्रयोग गर्ने |
  • रोगको जीवाणु गभारोबाट सर्ने हुँदा उक्त गभारो नियन्त्रण गर्न कार्वोफ्युरान (फ्यूराडन ३%) रसायन प्रयोग गर्ने |
घोगा कुहिने (Ear rot)

रोगको जीवाणु: Fusarium monoliforme

घोगाको टुप्पोबाट रातो वा गुलाफी रङ्ग भई कुहिन थाल्दछ । कुनै बेला घोगाको फेदबाट पनि कुहिने गर्दछ ।

1

व्यवस्थापन

  • रोग अबरोधक जातहरू गणेश–२, मनकामना–१ लगाउने |
  • स्वस्थ्य घोगाहरू छनोट गरी बीउ राख्ने |
  • कार्वेन्डाजिम ५० % डब्लु.पी बेभिष्टिन ढुसीनासक बिषादी २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्ने |
कालो पोके (Head smut)

रोगको जीवाणुUstilago maydis sphacelotheca spp.

धान चमरा कालो भई लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो बीजाणुको धूलोले भरिएको हुन्छ ।

1

व्यवस्थापन

  • स्वस्थ बीउको प्रयोग गर्ने |
  • बारीमा कालोपोके रोग देख्ने बित्तिकै जम्मा गरी नष्ट गर्ने |
  • धेरै रोग आउने क्षेत्रमा कार्वेन्डाजिम ५०% डब्लु.पी (वेभिष्टिन)२ ग्राम प्रति के.जी. बीउको दरले उपचार गरी रोप्ने |

किरा व्यवस्थापन

फौजी किरा

पहिचान

  • वयस्क पुतली ध्वाँसे रङ्का हुन्छन। यसको अघिल्लो पखेटामा कालो धब्बा र छेउमा हल्का रङ्का धर्काहरु हुन्छन भने पछील्ला पखेटा खैरा रङ्का हुन्छन। लार्भाको शरीरमा लामो तीन रेखाहरु हुन्छन र यिनिहरुको रङ हरियो र गुलावी मिसिएको हुन्छ। 

    1

क्षती को प्रकार

  • यसको लार्भाले मकैको पातहरु खान्छन। यिनिहरुले मुल नसा मात्र बाँकी राखेर अरु सबै खाइदिन्छन। फौजी कीराले क्षती गरेको विरुवाको गुभोमा कालो रङ्को दिसाहरु भेटिन्छन्।

व्यवस्थापन

  • बत्तीको पासो को प्रयोग गरि वयस्क पुतली नाश गर्ने ।
  • मकैको गुभोलाई बाहिर बाट हात ले थिचिदिँदा भित्र बसेको लार्भा लाई मार्न सकिन्छ।
  • कुलो खनेर त्यसमा खरानी हाली दिनाले एक ठाउबाट अर्को ठाउमा लार्भा सर्न कम गर्न सकिन्छ ।
  • स्पिनोस्याड  ४५ %  को झोल बिषादी ०.२ एम एल प्रती लिटर पानी मा मिसाएर छर्ने ।
गवारो (Borer)

पहिचान 

मकैको पातको तल्लो सतहमा पहेँलो अन्डा पार्ने गवारोको  वयस्क पुतली पराले रङ्का हुन्छन। यसको अगाडिको पखेटा हल्का खैरो र किनारमा मसिना काला थोप्लाहरु हुन्छन भने पछाडिको पखेटा सेतो रङ्का हुन्छन। लार्भाको टाउको खैरो, शरीर लामो, खैरो-पहेँलो र चार वोटा खैरो धर्साहरु हुन्छन। 

1

गुलावी गबारो

यसको वयस्कको अघिल्लो पखेटा खैरो र पछिल्लो पखेटा सेता हुन्छन। लार्भाको टाउको खैरो र शरीरको माथिल्लो सतह गुलावी रङ्का हुन्छन।            

क्षती को प्रकार

भर्खर निस्केका लाभ्रेहरूले पात खान्छन् र पातहरूमा प्रशस्त छिद्राहरू हुन्छन् र पछी गुभो भित्र पसेर डाँठ को गुदी खाँदै तल जान्छन जसले गर्दा गुभो सुक्दै जान्छ र म्रित गुभोलाई “Dead heart” भनिन्छ। विरुवामा कीराले पातहरुमा क्षती गरेको चिन्ह र विस्टाएको दिसा देख्न सकिन्छ। कीराले डाँठ भित्रको गुदी खाने हुनाले डाँठ खोक्रो हुन्छ।

ब्यवस्थापन
 

  • मकै भाँचिसकेपछी मकैका ठुटाहरु पोलेर नस्ट गर्ने ।
  • मृत गुभो देखिएमा जरै सँग उखेलेर जलाउने वा गाड्ने ।
  • मकै लगाएको बारी वरीपरी यस कीराको बिर्कषणकोलागि न्यापिएर घाँस लगाउने  ।
  • ट्राइकोग्रा नामक परजीब किरा १ लाख प्रती हेक्टर को दरले छोड्ने ।
  • स्पिनोस्याड ४५ %  को झोल बिषादी ०.२ एम एल प्रती लिटर पानी मा मिसाएर छर्ने वा कार्बोफ्यूरान ३% गेडा बिषादी १ के जी प्रति रोपनिका दरले गुबोमा प्रयोग गर्ने ।
फेद काट्ने किरा

पहिचान

  • वयस्क पुतली ध्वाँसे हुन्छन। लार्भाहरु चिल्लो, रङ ध्वाँसे , ढाडमा धर्साहरु हुन्छन र छुँदा बटारिने हुन्छन। 

1

क्षतीको प्रकार

  • दिउँसो लार्भाहरू लुकेर बस्छन र राती बाहिर आई  कलिलो मकैको बेर्नालाई माटोको सतह बाट काटिदिन्छ र कलिलो डाँठ र पात खान्छ ।

व्यवस्थापन

  • काटेको विरुवाको जरा नजिक माटोमा कोट्याएर लार्भाहरू खोजी नष्ट गर्ने ।
  • बिउ दर बढाएर रोप्ने ।
  • प्रकाश पासो प्रयोग गरी कीरा सकलन गरी मार्ने ।
  • प्रभावित बालीमा सिन्चाइ गर्ने  ।
  • वि टी नामक जैविक बिषादी वा मालाथियन ५ प्रतिशत डी पी २ ग्राम प्रति केजी गहुको चोकर मिसाएको चारा प्रति रोपनी आधा केजीको दर ले साझमा प्रयोग गर्ने
  • मालाथियन ५ % DP १ के.जी प्रति रोपनीका दरले माटोको उपचार गर्ने ।
खुम्रे किरा

पहिचान

वयस्क खपटे खैरा रङ्का हुन्छन। लार्भाको शरीर सेतो, टाउको खैरो हुन्छ भने यो "सी" आकारमा बसेको भेटिन्छ।

1

क्षती को प्रकार

लार्भा माटो भित्र बसी उम्रिएको मकैको जराहरु खान्छन र बोट मर्दछ।

व्यवस्थापन

  • काँचो गोवरमल प्रयोग नगर्ने ।
  • प्रकाश पासोको प्रयोग ले वयस्क खपटे लाई आकर्सित गरी नष्ट गर्ने ।
  • बाली काटेपछी गहिरो गरी जोत्नाले माटो भित्र बस्ने कीरा सुर्यको ताप ले मार्न सकिन्छ साथै परजीवी एवं चराहरूले खाई दिन्छन्।
  • खपटे माउलाई बिजुली बत्तीको पासोमा आकर्षण गरी मार्ने ।
  • १ के.जी. प्रति रोपनीका दरले दानामा उत्पादित हरियो ढुसी (Metarhizium anisopliae) मकै छर्ने समयमा लाईनमा छर्ने ।
मकैको लाही

पहिचान

सानो, कालो, वा हरियो रङ्को साना मसिना लाही किराले बोट र घोगा दुवैमा क्षती पार्छन।

क्षती को प्रकार

लाहीले पातमा वा डाँठमा रहेर त्यसमा भएको रस चुसेर खान्छ। रस चुसिएको भाग पहेँलो हुन्छ र यिनिहरुले पात मा मधु रस (honeydew) छोडेका हुन्छन जसमा ढुसी बिकसित हुन सक्छ।

ब्यवस्थापन
       

  • थोप्ले खपटे को संरक्षण गर्ने ।
  • गाई को गहुँत छर्ने ।
  • पहेँलो पासोको प्रयोग गर्ने।
  • डाइमेथोयट ३० % नामक बिषादी १ मि ली प्रति लीटर पानीमा मिसाएर छर्ने ।
भण्डारणमा लाग्ने किराहरु

मकैको घुन

पहिचान :
वयस्क घुन रातो- खैरो हुन्छ। यसको टाउकोको अघिल्लो भाग लामो सुँडमा परीणत भएको हुन्छ। लार्भा सेतो र नरम हुन्छ। क्षती को प्रकार
घुनको लार्भा मकैको दाना भित्र बसेर गूदी खान्छन भने वयस्क मकैको बाहिरै बसेर आफ्नो सुँडले कोत्रेर भित्रको गुदी खान्छन।

अनाजको पुतली

पहिचान
पुतली सानो, पहेँलो -खैरो रङ्को हुन्छ। पखेटाका किनारमा लामा मसिना रौं जस्ता अङग हरु हुन्छन।

क्षतीको प्रकार
लार्भाहरु अनाजको भित्र पसेर खान्छन। यसले अनाजको माथिल्लो सतहमा मात्र आक्रमण गर्न सक्दछ।

भण्डारणमा लाग्ने कीराहरुको ब्यवस्थापन

  • राम्ररी पाकेको बाली मात्र भित्र्याउने ।
  • भन्डारण कोठा सफा र चिस्यान मुक्त बनाउने ।
  • अनाज लाई १२% भन्दा कम चिस्यान भएपछी मात्र भन्डारण गर्ने ।
  • पुरानो तथा नया अनाज एकै ठाउमा नमिसाउने ।
  • बोझोको जराको धुलो ५ ग्राम प्रती के जि अनाज मा मिसाएर राख्ने ।
  • सेल्फस चक्कि राम्ररी मुख बन्द गर्न सकिने भाडा वा प्लाष्टिकको बोरामा एक चक्कि प्रति टन अनाजका दरले प्रयोग ‍गर्ने |
  • सुपर ग्रैन ब्याग (super grain bag) र पि आई सि एस (PICS) ब्याग मा भन्डारण गर्ने ।

 

बाली कटानी तथा भण्डारण

मकै भाँच्ने र थन्क्याउने

मकैको घोगा नङ्ग्याई दाना निकाली उक्त दानासँग जोडिएको भाग दुई औँलाको नङले कोट्याउँदा कालो तह देखियो भने मकै पाकेको र भाँच्नयोग्य मानिन्छ । यो अवस्थामा मकैमा चिस्यानको मात्रा ३५ प्रतिशत हुन्छ । तर मकैको चिस्यान जब २० प्रतिशत हुन्छ तब मकै भाँच्दा उपयुक्त हुन्छ । भाँचेका घोगाहरु २–३ घाम सुकाएपछि घोगामा १३–१४ प्रतिशत चिस्यान कायम भएको घोगालाई छोडाउनुपर्दछ वा थाँक्रो सुली झुत्तोमा राख्दा उपयुक्त हुन्छ ।

मकै भण्डारण

घाममा राम्ररी सुकेर १२ प्रतिशत भन्दा कम चिस्यान कायम भएको बीउलाई भण्डारण गरी राख्नुपर्दछ । मकैलाई बाँसको भकारी, थैला, बोरा वा मेटल बिनमा दाना छोडाएर राख्न सकिन्छ । भण्डारणमा क्षति पुयाउने कीराहरुबाट बचाउन हावा नछिर्नेगरी बन्द गर्न सकिने भाँडोमा प्रति टन एक ट्यावलेट सेल्फस चक्की राख्नु उपयुक्त हुन्छ । १० ग्राम बोझोको जरामा हुने गानोबाट तयार गरेको धुलो प्रतिकेजी मकैको बीउका दरले प्रयोग गरेर पनि भण्डारणमा लाग्ने हानीकारक कीराबाट मकैलाई बँचाउन सकिन्छ ।