मकै पहाडी भेगको मुख्य खाद्यान्नको स्रोत हो । यद्यपि यसको खेती नेपालको सबै भू–भागमा गरेको पाइन्छ । नेपालमा करिब ८,९१,५८३ हे. क्षेत्रफलमा मकै खेती गरेको पाइन्छ भने उत्पादकत्व २.५ मे.टन रहेको छ (कृ.वि.म. ,२०७२।०७३)। कुल मकै खेती गरिने क्षेत्रफलको ७० प्रतिशत भू–भाग पहाडमा, २० प्रतिशत तराई तथा १० प्रतिशत उच्च पहाडमा रहेको छ भने उन्नत मकैले ढाकेको क्षेत्रफल करिब ८६ प्रतिशत, करिब १० प्रतिशत क्षेत्रफल स्थानीय एवं रैथाने मकैले तथा हाइव्रिड मकैले ढाकेको क्षेत्रफल करिब ४ देखि ५ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपालमा उत्पादित मकैको ८७ प्रतिशत खाद्यान्नमा १२ प्रतिशत दानाको रुपमा प्रयोग हुन्छ भने यस बालीले नेपालको कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा ६.८८ प्रतिशत हिस्सा ओगटेको छ (एफ.ए.ओ.,२००९ ) । पुराना तथा स्थानीय जातका मकैको बीउमा प्रयोग, रोग र कीराग्रस्त बीउको प्रयोग, माटोमा विभिन्न खाद्य तत्वहरुको कमी, उन्नत तरिकाको खेती प्रविधिको कमी जस्ता कारण मकैको उत्पाकत्व कम रहेको छ । पछिल्ला वर्षहरुमा बाटोको सुविधा भएको, रासायनिक मल, सिंचाईको राम्रो प्रबन्ध र बजारको व्यवस्था भएका क्षेत्रहरुमा बढ्दै गएको हाइव्रिड मकै खेतीको कारण उत्पादन, उत्पादकत्व एवं रोजगारी सिर्जनामा समेत फाइदा पुगेको देखिन्छ । तर स्थानीयस्तरमा स्थानीय हावापानी सुहाउँदो हाइव्रिड नभएका कारण वर्षैपिच्छे कृषकहरु महँगा एवं आयातित हाइव्रिडहरु प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।
हाइब्रिड भन्नाले क्रमबद्धरुपमा मकैको बिरुवालाई ६–७ पुस्तासम्म स्वसेचन गरी निकालिएका इन्व्रेड लाइनहरु आपसमा क्रस गरेर निकालिएको पहिलो पुस्ता भन्ने जनाउँदछ । हाइब्रिडहरु विभिन्न प्रकारका हुन्छन्– सिंगल क्रस, डबल क्रस, थ्रि वे क्रस, डबल क्रस हाइव्रिड तथा टप क्रस हाइव्रिड आदि । सिंगल क्रस हाइव्रिडको उत्पादन क्षमता अन्य हाइव्रिडको भन्दा बढी हुन्छ । हाइब्रिडलाई एकपटक लगाई त्यसबाट आएको बीउ पुनः लगाएमा उत्पादनमा निकै कमी आउने हुँदा प्रत्येक सिजन मकै लगाउँदा बीउ किनी लगाउनुपर्दछ । हाइव्रिडको सबै बोटमा एकनासका घोगा पाइन्छ । यसमा बोटको उचाइ, घोगा लाग्ने आँख्लासम्मको उचाइ, धान चमरा तथा जुँगा निस्कन लाग्ने दिन तथा पाक्ने दिनमा सबै बोटमा एकरुपता हुन्छ तथा एकै किसिमको वंशाणु रहने हुँदा सबै बोट निरोगी हुन्छन् र रोग लागेमा सबै बोटमा रोग लाग्दछ । साधारण तया खुल्ला सेचित मकैको तुलनामा होचा हुने, उत्पादन क्षमता बढी हुने, मल–जलको सदुपयोग गर्न सक्ने क्षमता बढी भएको कारण उत्पादन बढी लिन सकिन्छ । सामान्यतया हाइब्रिड मकै खेतीको लागि १४–३८ डिग्री सेल्सियस तापक्रम चाहिन्छ । परागसेचनका बेला ८ डि.से. भन्दा कम तथा ४२ डि.से. भन्द बढता तापक्रम भयो भने मकैमा दाना लाग्दैन ।










