परिचय

परिचय

स्थानिय नाम : कोद्या 

अङग्रेजी नाम : Finger millet

वैज्ञानिक नाम : Eleusine coracana

गहुँ, धान र मकै पछिको कोदो प्रमुख बाली हो । प्रायः सबै गाउँपालिकाहरुमा कोदोको खेति गरिन्छ । कूल खेति गरिएको क्षेत्रफलको करिब ३० प्रतिशतमा यो बाली लगाइन्छ । दुई प्रकारको कोदोको खेति गरिन्छ । तिन महिनामा बाली तयार हुनेलाई ते मासे र छ महिनामा तयार हुनेलाई छ मासे भन्ने  गरिन्छ । प्रायः जिल्लामा छ मासे कोदो नै बढि खेति गरिन्छ । प्रमुख स्थानिय जातहरुमा नङ्ग्रे, नङकाटे, चौरी, झ्याउरे, भालु, लाभ्रे आदि छन् भने उन्नत जातहरुमा काब्रे, डल्ले र ओख्ले रहेका छन् । कोदोबाट प्रायः रोटी र ढिँडो बनाएर खाइन्छ । यसमा आइरन प्रसस्त पाइने भएकोले नेपालको सन्दर्भमा गर्भवति महिला र अन्य रक्त अल्पता भएका व्यक्तिका लागि ज्यादै उपयोगी छ । त्यसै गरि यसमा क्यालसियम प्रसस्त मात्रामा पाइने भएकोले केटाकेटी तथा बुढाबुढीको हट्टी बलियो बनाउनमा ठूलो भूमिका खेल्छ । त्यसै गरि उच्च रक्तचाप र मधुमेह लगायतका रोगहरुमा पनि कोदोबाट बनेको खानेकुराको सेवनले फाइदा पुर्याउँछ । कोदो प्रायः असार साउनमा लगाइ कार्तिकमा भित्र्याइन्छ । रोटी, ढिडो साथै जाँड तथा रक्सी जस्ता खाद्य पदार्थ बनाउन कोदोको प्रयोग गरिन्छ ।

पौष्टिक तत्व

शक्ति ३२२ क्यालोरी, चिस्यान १४.४ ग्राम, प्रोटीन ७.७ ग्राम, चिल्लो १.२ ग्राम,  कार्वोहाईड्रेड ७०.१ ग्राम, मिनरल्स २.९ ग्राम,  फाइबर ३.७ ग्राम, क्याल्सीयम २८८ mg, फस्फोरस २७६ mg,  आईरन ४९.१ mg पाईन्छ  । 

महत्व

कोदो कम वर्षा हुने क्षेत्र, कम उर्वर भूमिमा, सिँचित र असिँचित दुवै क्षेत्रमा लगाउन सकिने महत्वपूर्ण अन्न बाली हो । यसको बीउलाई १५– २० वर्षसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ । क्षेत्रफल र उत्पादनका हिसाबले नेपालमा धान, मकै, गहुँ र कोदो पछिको चौथो महत्वपूर्ण अन्न बालीको रुपमा कोदोलाई लिन सकिन्छ । विश्वमा कोदो उत्पादन गर्ने प्रमुख देशहरुमाः भारत, नाइजेरिया, चिन, माली रहेका छन् भने नेपाल पन्ध्रौँ स्थानमा पर्दछ । नेपालमा कोदो बढी उत्पादन हुने जिल्लाहरुमा खोटाङ्ग, सिन्धुपाल्चोक, वागलुङ्ग, स्याङ्जा, ओखलढुङ्गा आदि पर्दछन् । नेपालका ८५० भन्दा बढी कोदोका स्थानीय जातहरु जीन बैँकमा संरक्षण गरीएको छ । अनुसन्धानबाट ५ किसिमका विकासे जातहरुको विकास भएको छ । बालाको आकार, बीउको रंग, आकार, पाक्ने समय, उचाइ, पातको आकार र अवस्था, काण्ड र पातको रंग अनुसार जात फरक हुने गर्दछन् ।

कम लागतमा उत्पादन गर्न सकिने भण्डारणमा अन्य बालीको तुलनामा कम क्षति ढुवानी गरेर अन्य खाद्यन्न लैजान नसकिने ठाउँमा बढी उपभोग प्रचुर मात्रामा क्याल्सियम, फस्फोरस र फलाम पाइने गर्भवती महिलाको लागि पोषिलो भोजन बच्चाको लागि पोषिलो लिटो मधुमेह, युरिक एसीड,रक्तचाप दम रुघाखोकी कब्जियत पेट दुख्ने आदिको लागि अति उपयुक्त खडेरी, सुख्खा, सहन सक्ने रोगकीरा सहनसक्ने अर्गानिक र जलवायुमैत्री बालि हो । 

कोदोमा पाइने पौष्टिक तत्वः

चामल र मकैमा भन्दा ३५ गुणा बढी र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।

चामल भन्दा २ गुणा र मकैमा भन्दा ३ गुणा बढी र गहुँभन्दा १ गुणा बढी फलाम पाइन्छ ।

­१०० ग्राम कोदोमा निम्न मात्रामा पौष्टिक तत्व पाइन्छः

­कार्बोहाइड्रेटः ७६.३ ग्रा.

­प्रोटिनः ९.२ ग्रा.

­चिल्लो पदार्थः १.४ ग्रा.

­रेशाः ३.५ ग्रा.

­क्याल्सियमः ३६० मि.ग्रा.

­फस्फोरसः २५४ मि. ग्रा.

­फलामः ७.४ मि. ग्रा.

­उर्जाः ३३३ क्यालोरी

जातहरु

सिफारिस जातहरु

ओख्ले १ कोदोको जात मध्य तथा उच्च पहाडको लागि सिफारिस गरिएको जात हो । डल्ले १, काब्रे कोदो १, काब्रे कोदो २ र सैलुङ्ग कोदो १ ९०० मिटर देखि २२०० मिटर उचाई सम्मका लागि सिफारिस गरिएका जातहरु हुन् ।

आवश्यकता

हावापानी

कोदो समशितोष्ण हावा पानीमा हुने बाली हो । यसले सुख्खा सहन सक्दछ । यसको लागि औषत अधिकतम तापक्रम २७ र न्यूनतम १८ डि.से. उपयुक्त मानिन्छ । वार्षिक वर्षा ३५० देखि १००० मि.मि. सम्म हुने ठाउँमा यसको वृद्धि राम्रो हुन्छ ।

माटो

पानी नजम्ने र बलौटे दोमट माटो राम्रो हुन्छ । साथै अम्लिय माटो देखि धेरै नुनिलो माटोमा पनि खेती गर्न सकिन्छ ।

कृषि इन्पुट

बीउदर

साधारणतया एक हेक्टरको लागि ८ देखि १० किलो ग्राम बीउ चाहिन्छ । बेर्ना सारेर गर्दा ४ किलो ग्राम बीउ एक हेक्टरको लागि पुग्ने गरी बेर्ना उमार्न पुग्छ ।

जग्गा तयारी

ब्याड राख्ने समय

ब्याड राख्दा मध्य पहाडको लागि बेर्ना सार्नु भन्दा १.५ महिना र बेसी तथा टारको लागि १ महिना अगाडि राख्नु उपयुक्त हुन्छ ।

लगाउने समय

तराई, बेसी र टारमा मकै भाँचेपछि श्रावणको मध्य देखि भाद्र मध्यसम्म र ३२२५˗५००० फिटसम्म आषाढ मध्यदेखि श्रावण मध्यसम्म र ५००० फिटभन्दा माथि आषाढ महिना भित्रमा लगाउनु राम्रो हुन्छ ।

बेर्ना सार्ने समय

उच्च पहाडी क्षेत्रमा ७ हप्ता, मध्य पहाडी क्षेत्रमा ४˗५ हप्ताको र तराई तथा भित्री मधेशमा ३˗४ हप्ताको बेर्ना सार्नु पर्दछ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

कम्पोष्ट मल २० डोका प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ भने रसायनिक मल प्रयोग गर्ने चलन खासै पाईदैन तर पनि राम्रो उत्पादन लिनका लागि युरीया १.७४ के.जी डि.ए.पी. १.०८ के.जी. र पोटास ०.८ के.जी.प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ ।

सिंचाई

वर्षे पानीको भरमा खेती गर्ने भएकोले यसलाई सिंचाई दिने चलन छैन तर, पानी जमेमा बोट पहेलो भई बृद्धि नहुने हुनाले पानीको निकासको व्यवस्था राम्रो हुनुपर्दछ ।

रोग व्यवस्थापन

रोग व्यवस्थापन
  • पातके थोप्ले रोग:  बाला निस्कने बेलामा म्यान्कोजेब ३ ग्राम प्रति लिटर पानीमा मिसाइ १० दिनको फरकमा २ पटक पुरै बोट भिज्ने गरी छर्कनुपर्दछ ।
  • डढुवा रोग:  म्यान्कोजेब वा जिनेब २.५ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्दछ । वा २.५ ग्राम थिरामले प्रति किलो गा्रम बीउ उपचार गर्ने ।

किरा व्यवस्थापन

किरा व्यवस्थापन
  • खुम्रे किरा:  मालाथियन धुलो २० किलो प्रति हेक्टरका दरले बीउ रोप्नु अगावै माटोमा मिसाउने जसले गर्दा खुम्रे कीराको प्रकोपलाई व्यवस्थापन गर्नु पर्दछ ।
  • गवारो:  गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने । साथै डेल्टामेथ्रीन २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ ।

बाली कटानी तथा भण्डारण

पाक्ने समय

जात र लगाएको ठाउँ अनुसार बीउ राखेको १२०˗२०० दिन सम्ममा पाक्दछ । पहाडमा धेरैजसो कार्तिक १५ देखि मंसिर १५ सम्ममा पाक्दछ ।

उत्पादन

राम्रो व्यवस्थापनमाः प्रति रोपनी १२५ – १६५ किलो दाना र ३००–४०० किलो  सम्म बाली उत्पादन हुन्छ ।

भण्डारण

कोदो दानामा कीराले आक्रामण गर्न नसक्ने भएकोले, ३˗४ घाम सुकाइ चिस्यान १२ प्रतिशतमा ल्याई, सुख्खा ठाउँमा थन्क्याउनु पर्दछ ।