स्थानिय नाम : कोद्या
अङग्रेजी नाम : Finger millet
वैज्ञानिक नाम : Eleusine coracana
गहुँ, धान र मकै पछिको कोदो प्रमुख बाली हो । प्रायः सबै गाउँपालिकाहरुमा कोदोको खेति गरिन्छ । कूल खेति गरिएको क्षेत्रफलको करिब ३० प्रतिशतमा यो बाली लगाइन्छ । दुई प्रकारको कोदोको खेति गरिन्छ । तिन महिनामा बाली तयार हुनेलाई ते मासे र छ महिनामा तयार हुनेलाई छ मासे भन्ने गरिन्छ । प्रायः जिल्लामा छ मासे कोदो नै बढि खेति गरिन्छ । प्रमुख स्थानिय जातहरुमा नङ्ग्रे, नङकाटे, चौरी, झ्याउरे, भालु, लाभ्रे आदि छन् भने उन्नत जातहरुमा काब्रे, डल्ले र ओख्ले रहेका छन् । कोदोबाट प्रायः रोटी र ढिँडो बनाएर खाइन्छ । यसमा आइरन प्रसस्त पाइने भएकोले नेपालको सन्दर्भमा गर्भवति महिला र अन्य रक्त अल्पता भएका व्यक्तिका लागि ज्यादै उपयोगी छ । त्यसै गरि यसमा क्यालसियम प्रसस्त मात्रामा पाइने भएकोले केटाकेटी तथा बुढाबुढीको हट्टी बलियो बनाउनमा ठूलो भूमिका खेल्छ । त्यसै गरि उच्च रक्तचाप र मधुमेह लगायतका रोगहरुमा पनि कोदोबाट बनेको खानेकुराको सेवनले फाइदा पुर्याउँछ । कोदो प्रायः असार साउनमा लगाइ कार्तिकमा भित्र्याइन्छ । रोटी, ढिडो साथै जाँड तथा रक्सी जस्ता खाद्य पदार्थ बनाउन कोदोको प्रयोग गरिन्छ ।
