परिचय

परिचय

स्थानिय नाम : चिनो  

अङग्रेजी नाम : Proso millet

वैज्ञानिक नाम : Panicum miliaceum L.

यो एक छोटो समयमा तयार हुने प्राचिन बालीहरु मध्येको एक हो । सिमान्तकृत जमिनमा पनि सजिलै उत्पादन गर्न सकिने, सुख्खा तथा खडेरी सहन सक्ने भएकोले अन्य वालीको उत्पादन कम भएको अवस्थामा समेत यो वालीले उत्पादन दिन सक्ने हुँदा खाद्य संकटको समस्या सम्वोधन गर्ने मुख्य वाली हो । यसको दाना फलेर भुस हटाई भात पकाएर खाने, खिर वनायर खान सकिने, यसको पिठोवाट रोटी समेत वनायर खाने चलन रही आएको छ । यसलाई भुटेर खाजा खाने चलन पनि रहेको छ । विस्तारै लोप हुँदै गएको यो वालीलाई जोगाउनुका साथै यसको खेतीमा जोड दिनु पर्ने आवश्यकता रहेको छ ।

पौष्टिक तत्व

शक्ति ३७८ क्यालोरी, चिस्यान ८.६७ ग्राम, प्रोटीन ११ ग्राम, चिल्लो ४.२२ ग्राम,  कार्वोहाईड्रेड ७२.९ ग्राम, मिनरल्स ३.२५ ग्राम,  फाईवर १ ग्राम, क्याल्सीयम ८ mg, फस्फोरस २८.५ mg,  आईरन ३ mg, साथै लाईसिनको मात्रा र भिटामीन वि–२, वि–३, वि–५, वि–६, वि–९, सि र के भिटामीनहरु समेत पाईन्छ।

महत्व

यो बालीको धान जस्तो बोट तथा कोदो जस्तो दाना हुने गर्दछ । कर्णाली प्रदेशका सबै जिल्ला तथा ओखलढुङ्गा, धादिङ्ग, बाजुरा, र बझाङ्गमा पनिखेति भएको पाइन्छ । गोरखा जिल्लामा नगण्य मात्रामा उत्पादन भएको पाइएको छ ।अन्य आयातित बाली भित्रिएसँगै यसको प्रयोगमा कमी आएको छ ।

  • ­भात वा खीरकासाथै दाना भुटेर वा पीठो बनाएर विभिन्न परिकार बनाएर खान सकिने ।
  • ­खेती गर्न सजिलो तथा कम लागतमा उत्पादन गर्न सकिने ।
  • ­सुखाक्षेत्रमा पनि लगाउन सकिने तथा रोगकीरा सहनसक्ने क्षमता रहेको ।

तालिकाः चिनोमा पाइने पोषणको मात्रा

क्र सं पौष्टिक तत्वहरु मात्रा
  कार्बोहाइड्रेट ७३.९३%
  प्रोटिन ९.७%
  खरानी ४.५%
  फाइबर ११.१५%
  फस्फोरस १९.४४ मिलिग्राम प्रति १०० ग्राम
  क्याल्सियम ५५.०७ मिलिग्राम प्रति १०० ग्राम
  चिल्लो पदार्थ ६.२%
  फलाम ५५.०७ मिलिग्राम प्रति १०० ग्राम

जातहरु

उन्नत जातहरु

नेपालमा हाल सम्म यसको उन्नत जातको सिफारिस भएको छैन तर पनि कृषकस्तरमा स्थानिय जातहरुको खेती गर्दै आईरहेको अवस्था छ । भारतमा भावना र एमएस ४८७२ जातको खेती गर्ने गरिएको छ ।

आवश्यकता

हावापानी

चिनोलाई न्यानो हावापानी मन पर्छ । सामान्यतया समुन्द्री सतहवाट करिव २४०० मिटरको उचाई सम्म चिनोको सफलतापुर्वक खेती गर्न सकिन्छ । यसमा सुख्खा सहन सक्ने उच्च क्षमता भएकोले कम वर्षा हुने र असिंचित क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ ।

माटो

यसको खेती कम उर्वर र वलौटे दोमट देखि चिम्ट्याईटो माटोमा पनि गर्न सकिन्छ । गृष्मकालीन खेतीका लागि सिंचाईको सुविधा भएको माटो चाहिन्छ भने अन्य सिजनमा जस्तो सुकै माटोमा पनि गर्न सकिन्छ ।

कृषि इन्पुट

बीउ दर

छरुवा विधि वाट लगाउदा १०–१२ के.जी प्रति हेक्टर वीउ आवश्यक पर्दछ भने लाईनमा लगाएको अवस्थामा ८–१० के.जी बीउ चाहीन्छ ।

जग्गा तयारी

बाली लगाउने समय

तराई, भित्रि मधेस र वेसी क्षेत्रमा असारमा लगाउन सकिन्छ । त्यसै गरी मध्य पहाडमा जेठमा लगाउनुका साथै उच्च पहाडमा वैशाखमा लगाउनु उपयुक्त हुन्छ ।

लगाउने तरीका

जमिनको खनजोत गरेर सामान्यतया चिनोलाई छरुवा विधिवाट लगाउने चलन छ । यदी लाईनमा लगाउने हो भने २५ से.मीको दुरीमा लाईन वनाएर लहरै बीउ खसाल्नु पर्दछ । वीउ ४–५ से.मी गहिरो रोप्नु उपयुक्त हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

राम्ररी कुहेको कम्पोष्ट मल १५ देखि २० डोको प्रति रोपनीका दरले खनजोतको वेला नै माटोमा मिसाउनु पर्दछ भने रसायनिक मलको खासै प्रयोग गर्ने चलन छैन तर पनि राम्रो उत्पादनका लागि युरीया २.४ के.जी , डि.ए.पी २.१७ के.जी र पोटास १.६ के.जी प्रति रोपनीका दरले प्रयोग गर्नु पर्दछ ।

सिंचाई तथा गोडमेल

बाली उम्रेपछि २०–२५ दिनमा पहिलो गोडमेल गर्नु पर्दछ । त्यसै गरी पसाउनु भन्दा अगाडी एक पटक फेरी गोडमेल गर्न सके राम्रो उत्पादन लिन सकिन्छ । सिंचाईको हकमा वर्षे बाली भएको र सुख्खा सहन सक्ने भएकोले खासै सिंचाईको आवश्यकता पर्दैन तर यदि सिंचाईको सुविधा भएको अवस्थामा १ देखि २ पटक सिंचाई गर्नु आवश्यक हुन्छ ।

रोग तथा किराको व्यवस्थापन

कालोपोके तथा डढुवा रोगको छिटपुट आक्रमण देखिन्छ यसका लागी उपचार गरिएको बीउ लगाउनुका साथै रोगको प्रकोप देखिएमा ढुसीनाशक विषादीको प्रयोग गर्नु पर्दछ । किराहरुको हकमा डाँठको गवारो देखिन्छ यसको व्यवस्थापनका लागि किटनाशक विषादीको प्रयोग गर्नु पर्दछ । यसमा सुगाको समेत आक्रमण हुने हुँदा यसको समेत व्यवस्थापनका आवश्यक ध्यान दिनु पर्दछ ।

बाली कटानी तथा भण्डारण

कटाई तथा चुटाई

यो बाली रोपेको ७० देखि ८० दिनमा तयार हुन्छ । वालामा २ तिहाई दाना परिपक्क भईसकेपछि वाली काट्नु पर्दछ । बाली पाकीसके पछि बालाहरुलाई टिपेर ल्याई खलोमा झार्नु पर्दछ । यसरी दाना झारी सके पछि भुस सफा गरेर १ घाम सुकाई सुरक्षित ठाउँमा भण्डारणगर्नु पर्दछ ।

उत्पादन

उन्नत तरीका अनुसार खेती गरेमा १००–१५० के.जी प्रति रोपनी सम्म उत्पादन हुन्छ भने सामान्य अवस्थामा ५०–१०० के.जी प्रति रोपनी सम्म उत्पादन हुन्छ ।