कार्नेशन संसारमै अति लोकप्रिय र महत्वपूर्ण कट्फ्लावरहरुमध्ये गुलाफपछि दोश्रो स्थानमा पर्दछ । कतिपय फूल निर्यात गर्ने देशहरुमा यसलाई यसको पोष्टहार्भेष्ट आयु तथा यसमा पाइने आकार र रङ्गको विविधताको कारण गुलाफभन्दा पनि बढी रुचाउने गरिन्छ । अरु कट्फ्लावरको तुलनामा यसको पोष्टहार्भेष्ट आयु लामो हुने हुनाले लामो दुरीको ढुवानीको लागि बढी उपयुक्त मानिन्छ । संसारभर हुने कट्फ्लावरको कूल ब्यापारको झण्डै आधा हिस्सा गुलाफ, कार्नेशन र गोदावरीले ओगटेको छ ।
कार्नेशनको वैज्ञानिक नाम Dianthus caryophyllus हो र यो Caryophyllaceae परिवार अन्तर्गत पर्दछ । Dianthus शब्द ग्रीक भाषाबाट आयातित हो । यसमा Dious को अर्थ God (Divine) र Anthos को अर्थ flower हुन्छ । जस अनुसार यस फूलको अर्थ divine flower अर्थात अलौकिक फूल हुन आउँछ । कार्नेशन शब्द चाहि ग्रीन शब्द coronation (राज्याभिषेक) बाट आएको हुनु पर्दछ किनभने यो फूल उतिबेला बिजेता ग्रीक धावकहरुको मुकुट सजाउन प्रयोग गरिन्थ्यो । कार्नेशन हाल स्पेन, स्लोभानिया र मोनाकोको राष्ट्रिय फूल समेत हो । अमेरिका र युरोपमा धेरै मात्रामा उत्पादन हुँदै आएको यो फूलको आकर्षण हिजोआज नेपाल लगायत विश्वका अन्य मुलुकहरुमा पनि बढ्दै गइरहेको छ । घर आगन सजाउन गमला वा बगैंचा देखि सभा समारोह सजाउन, बुके बनाउन पनि यो फूल प्रयोग गरिन्छ । नेपाली बजारमा तेश्रो महत्वपूर्ण कट्फ्लावरको रुपमा स्थापित यो फूल प्राकृतिक रुपमा चार मुख्य रंगहरु सेतो, पहेँलो, रातो र गुलाबीमा पाउन सकिन्छ । यो फूलको vase life अर्थात फूल काटेदेखि प्रयोग अवधि (Post-harvest life) अरु फूलको तुलनामा केही लामो हुने र आधुनिक प्रविधिबाट खेती गरेमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन नेपालको हावापानीमा संभव हुनाले यो फूललाई निर्यातमुखी कट्फ्लावरको रुपमा पनि उत्पादन गर्न सकिन्छ ।









