परिचय

परिचय

अलैंची एक दलीय हुनुका साथै अत्यन्त उपयोगी बहुबर्षीय पोथ्रा (Perennial herb) हो। यसले रोपेको २-४ बर्षमा फल दिन थाल्छ र २०-२५ बर्षसम्म राम्ररी उत्पादन दिन्छ। यो वनस्पति पहाडी क्षेत्रमा भिरालो परेको, ओसिलो तथा सेपिलो ठाउँमा पनि खेती गर्न सकिन्छ। यसले जमिनलाई भू-क्षय हुन बाट पनि बचाउँछ। अलैंची एक बहु-उपयोगी वनस्पति हो। यसलाई तेल, मिठाई, केक, पेस्ट्री, बिस्कुट, पानमसला, मदिरा, रङ र सेन्ट बनाउन उपयोग गर्नुका साथै घाँटी दुखेको, दम, खोकी, जण्डिस, बाथरोग जस्ता रोगहरुको आयुर्वेदिक उपचारको निम्ति पनि प्रयोग गरिन्छ। यसलाई शक्तिबर्द्बक र रक्तसोधकको रुपमा पनि प्रयोग गरिन्छ। अलैंची नागदेबालीहरु मध्यकै नेपालको एक प्रमुख बाली भएको र कुल अलैंची उत्पादनको ९० प्रतिशत भन्दा बढी विदेशतर्फ निर्यात हुने तथ्यले गर्दा यस खेती सम्बन्धमा बढी दृष्टि पुर्याउनु पर्ने अवस्था देखिन्छ।

जातहरु

नेपालमा लगाईने मुख्य जातहरु र तिनका गुणहरु

गुणहरु

जातहरु

 

रामशाही

गोलशाही

डम्बरशाही

साउने

चिवेशाही

खेती फस्टाउने मुख्य क्षेत्र

१५००-२००० मी

१२००-१६०० मी

७००-१२०० मी 

६००-१६०० मी

(कछार क्षेत्र)

७००-१३०० मी

डाँठर रङ

अग्लोहल्का रातो

अग्लोहल्का हरियो

होचोफिक्का रातो र हरियो मिश्रित 

बढी अग्लोहल्का हरियो

होचोफिक्का हरियो

पात र रङ

लामोनुग्ने खालकोहरियो

लामोनुग्ने खालकोहरियो

छोटोठाडोहरियो

लामोनुग्ने खालकोगाढा हरियो

सांघुरोनुग्ने खालकोहरियो

झ्यांग

गांजिने

गांजिने

कम गांजिने

बढी गांजिने

कम गांजिने

दानाको आकार 

सबैभन्दा सानोलामो 

ठूलोगोलो 

सबैभन्दा ठूलोगोलोबाटुलो

केही ठूलोलाम्चोगोलो 

सानोपुच्छर लामो

दानाको वजन 

कम वजनदार

बढी वजनदार

सबैभन्दा बढी वजनदार

केही वजनदार

कम वजनदार

दाना भित्रको बीउ संख्या 

कम

बढी 

सबैभन्दा बढी 

रामशाही भन्दा बढी गोलशाही भन्दा कम 

कम

दाना पाक्ने समय 

असोज अन्तिम हप्ता-कार्तिक दोस्रो हप्ता 

असोज

भदौ अन्तिम हप्ता-असोज पहिलो हप्ता

श्रावण अन्तिम हप्ता-भदौ दोस्रो हप्ता

श्रावण-भदौ

आवश्यकता

हावापानी तथा माटो

हावापानी
अलैंची खेतीको लागि हावापानीको सन्दर्भमा भन्नुपर्दा छायापृय र बढी पानी चाहिने बाली भन्दा फरक पर्दैन। यसको खेती समुद्रसतह देखि ६०० मिटर देखि २१०० मिटर सम्म गर्न सकिन्छ।यसका लागि उपयुक्त तापक्रम १०–३० डिग्रि से. हुने पहाडी क्षेत्र हो। अलैंची खेतीले बढी आद्रता भएको स्थान मन पराउंछ ।९० प्रतिशत वा सो भन्दा बढी आद्रता भएमा राम्रो मानिन्छ।तर कम आद्र्रता भए पनि खेती नहुने भने होइन। बर्षा जति धेरै भयो त्यती राम्रो हुन्छ। सिंचाई भन्दा बर्षाको पानी बढी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु भने हुदैन। उचित निकासको व्यवस्था हुनु नितान्त जरुरी छ | बार्षिक सरदर बर्षा २००० देखि २५०० मिलीमिटर हुने स्थानमा यसको ब्यावसायिक खेती गरिन्छ।यसले बढी हुरी वतास सहन सक्दैन। त्यस्तै तुषारो तथा हिउ पनि यस बालीले सहन सक्दैन।

माटो
अलैंची ४.५ –६.५ सम्म पि.एच. मान भएको स्थानमा जुनसुकै माटोमा पनि खेती भएको पाइन्छ। तसर्थ अलैंची लगाउने ठाउंको माटो परीक्षण गरी पि. एच. ठिक अवस्थामा राख्नु पर्दछ।पानी नजम्ने, दोमट माटो, प्रसस्त प्राड्डारिक पदार्थ भएको स्थानमा धेरै वर्षसम्म बगान टिकीरहन

नर्सरी व्यवस्थापन

बीउबाट विरुवा उत्पादन

यस विधिमा बीउलाई सर्वप्रथम नर्सरी बेडमा रोपिन्छ र विरुवा उत्पादन गरी नयाँ ठाउँमा प्रसारण गरिन्छ। यो विधिबाट उत्पादित विरुवाहरुले केही ढिलो (५-६ बर्ष) फल दिने गर्दछन्। बीउबाट विरुवा उमारेर प्रसारण गर्नुको निम्न फाइदाहरु छन्:

१. बीउबाट बिरुवा उत्पादन हरेक ठाउँमा गर्न सकिने हुँदा अलैंची विरुवाको ढुवानी गरिरहनु पर्दैन। 

२. स्वयम् नर्सरी राख्नसकिने भएकाले किसानहरु परनिर्भर भइराख्नु पर्दैन र पैसाको पनि बचत हुन आउँछ।

३. यो तरिकाबाट उत्पादित बिरुवाहरु छिर्के-फुर्के जस्ता भाइरल रोगहरु मुक्त हुन्छन्।

बीउको छनोट र तयारी

बीउको छनोट गर्दा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्दछ।

  1. फूल फुल्ने सरा/लाँक्राहरु बढी भएको झ्यांग छनोट गर्ने
  2. धेरै क्याप्सुल भएका फूल/थुँगा छान्ने 
  3. पोटिला र ठूला-ठूला दाना छान्ने 
  4. धेरै दाना/बीउ भएको क्याप्सुल छान्ने 
  5. रोगमुक्त/स्वस्थ (रोग र कीरा नलागेको) बोट छनोट गर्ने

यसरी दानाहरु छानिसकेपछि, छानिएका दानाहरुबाट बीउ (गेडा) हरु निकाल्नुपर्छ (तर भट्टीमा सुकाइ सकेका दानाहरु विरुवा उमार्ने काममा प्रयोग गर्नु हुदैन)।निकालिएका बीउहरुलाई केही भाग खरानी र मसिनो बालुवामा मिसाई ८ देखि १० पटकसम्म मज्जाले माडी-माडी धेरै बेरसम्म पानीमा धुनु पर्दछ।सामान्यतया ५ के.जी. बीउलाई १ के.जी. बालुवा र आधा के.जी. खरानी चाहिन्छ।यसो गर्नाले बीउको कडा र बाक्लो आवरण केही पातलो हुन गई बीउको अंकुरणमा सहयोग पुग्छ।यसका साथै बीउमा भएको चिप्लो र लेसिलो पदार्थ पनि हट्छ।यदि गुलियो र लेसिलोपना हटाइएन भने पछि बीउमा कमिला र धमिराहरु लाग्ने समस्या देखिन्छ।बीउहरु धोईसकेपछि ६-७ दिनसम्म घाम नपर्ने तर उज्यालो र छायाँदार स्थानमा सुकाउनु पर्छ।अलैंचीको बीउ जति पुरानो भयो त्यति नै उमारशक्ति कम हुने भएकाले बीउ निकालेको २ हप्ताभित्र नर्सरी बेडमा राखिसक्नु पर्दछ।यसको भण्डारण भने ढुसी नलाग्ने र चिसोले नभेट्ने ठाउँमा गर्नुपर्दछ। ३०-३६ महिनाका बिरुवाहरु स्थायी जमिनमा सार्न योग्य हुन्छन्। 

माउ झ्यांगबाट गानो छुट्याएर विरुवा उत्पादन

राम्ररी झ्यांगिएको माउ झ्यांगबाट जरासहित गानो छुट्याएर नयाँ ठाउँमा रोप्ने विधि वानस्पतिक प्रजनन् (vegetative propagation) अन्तर्गत पर्दछ।यस विधिमा राम्रोसंग झ्यांगिएको स्वस्थ झ्यांगबाट जरा र कम्तीमा एउटा टुसा भएको सरा/लाँक्रा सहितको गानो छुट्याउनु पर्दछ। एउटा गानोमा ३-४ वटा बिरुवा हुन जरुरी हुन्छ।यसरी छुट्याइएको बिरुवाको लाँक्रालामो छ भने १-२ फुटको उचाईमा काटेर टुप्पो फाल्नुपर्दछ।छुट्याएपछि नयाँ खाडलमा त्रिकोणाकारमा ३ वटा बिरुवा रोप्नु पर्दछ।यो विधिबाट रोपेको बीउहरुमा माउ बोटको गुण सतप्रतिशत कायम हुन्छ।त्रिकोण पारी रोप्नाले पाना र टुसाहरु छिटो-छिटो बढ्छन् र झ्यांग पनि छिटै ठुलो हुन्छ। रोपेको २-३ सालमै विरुवाहरुले उत्पादन दिन थाल्ने भएकाले यो विधि किसानहरु माझ बढी लोकप्रिय रहेको छ। गानो छुट्याएर रोप्ने तरिका छिटो र सुलभ हुँदाहुँदै पनि विभिन्न कारणहरुले गर्दा यो विधिभन्दा अन्य विधिहरु अपनाउनु पर्ने आवश्यकता रहेको छ।

तन्तु प्रसारण (Tissue culture) विधि

तन्तु प्रसारण भनेको बिरुवाको कुनै एउटा सानो भागलाई प्रयोगशाला (laboratory) मा कृत्रिम माध्यम (artificial medium) प्रयोग गरी पूर्ण रुपमा विकसित बिरुवा उत्पादन गर्ने विधि हो।तन्तु प्रसारण बिधिबाट छोटो समयमै धेरै संख्यामा रोगमुक्त बिरुवाहरु उत्पादन गर्न सकिन्छ।तन्तु प्रसारण विधिमा सर्वप्रथम स्वस्थ र रोगमुक्त अलैंची बिरुवाको मेरिस्टेम (meristem) लिइन्छ।मेरिस्टेम भनेको बिरुवाको टुप्पाको बढ्ने भाग हो।बिरुवाको अन्य भागहरु बाट पनि explant निकाल्न सकिन्छ।यसरी निकालिएका मेरिस्टेम वा अन्य बिरुवाका भागहरुलाई सर्वप्रथम धाराको पानीले धुने, अनावश्यक भागहरु हटाई झोल साबुन पानीले धुने र १ ग्राम प्रतिलिटरको बेभिष्टिनको झोलमा १५-२० मिनेट डुबाइन्छ।सफा भएका भाग (explant) लाई ७०% इथानोलमा १ मिनेटसम्म राखिन्छ।उक्त इथानोलबाट निकालेपछि ०.१% मर्क्युरिक क्लोराइड (mercuric chloride) मा ४-५ थोपा टुइन-२० (tween-20) मिसाई १५ देखि २० मिनेट सम्म डुबाएर राखिन्छ।यसो गर्नाले बिरुवाका भागहरु (explants) जिवाणुमुक्त हुन्छन्।जिवाणुमुक्त भएका बिरुवाका भागहरु (explants) लाई त्यसपश्चात ल्यामिनार फ्लोमा उमालेर राखेका ब्लेडले सकेसम्म सानो भाग काटेर टेस्ट ट्युबमा तयार पारेर राखेको एम.एस. मिडिया (MS media) मा रोपिन्छ।टेस्ट ट्युबमा पात हाल्न थालेपछि (२०-२५दिनपछि) अर्को टेस्ट ट्युब वा बोतलमा तयार पारिएको मीडियामा सार्नु पर्दछ।बोतल वा टेस्ट ट्युबमा रहेका भागबाट टुसा पलाउन थालेका बिरुवाहरुलाई आवश्यकता अनुसार ठोस मीडिया (solid media), अर्ध-ठोस मीडिया (semi-solidmedia) र तरल मीडिया (liquid media) मा सार्दै टुसाको संख्या बढाइन्छ।टुसाहरु प्रशस्त भएपछि बोतल वा टेस्ट ट्युबबाट निकालेर टुसाहरु छुट्याइन्छ र जर्खराउने (acclimatization) कार्य गरिन्छ।

प्रथम नर्सरी

अलैंचीको बीउहरु तयार गरेपछि सर्वप्रथम रोपिने नर्सरीलाई प्रथम नर्सरी भनिन्छ।प्रथम नर्सरीमा बिरुवालाई १८-२२ महिनासम्म राखिन्छ।

जमिनको तयारी:
पहिलो नर्सरीको लागि दक्षिण मोहडा भएको पहारिलो, छेउछाउमा ठूला रुख नभएको, पानीको स्रोत नजिक भएको, राम्रो निकास भएको, हिउँ तुसारो नपर्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको र बलौटे दोमट माटो भएको स्थान छनोट गर्नुपर्दछ।जमिनको छनोट गरिसकेपछि राम्रो संग खानजोत गरेर माटो बुर्बुराउँदो बनाउनुपर्छ।माटोमा भएको झारपातहरु हटाएर सफा बनाउनुपर्छ।यसपछि राम्रोसंग पाकेको प्राङ्गारिक मल (गोबर वा कम्पोष्ट मल) प्रति वर्गमीटर एक डोको (२० के.जी.) को दरले माटोमा हाल्नुपर्छ।बीउहरुलाई माटोमा बस्ने कीराहरुबाट जोगाउन मालाथियन १०% वा क्लोरोपाइरिफस २-३ ग्राम वा एल्ड्रीन को धुलो २० ग्राम का दरले प्रति वर्गमीटर माटोको उपचार गर्नुपर्छ।

नर्सरी बेडको तयारी
जमिन तयार गरेपछि १ देखि १.५ मीटर चौढाई र आवश्यकता अनुसारको लम्बाई भएको बेड तयार गर्नुपर्छ।बेडलाई जमिनको सतहभन्दा १५-२० से.मी. माथि उठाउनुपर्छ जमिनमाथि उठाउनाले बेडलाई पानीमा डुब्नबाट बचाउँछ।एक बेड र अर्को बेडको दुरी ५०-७५ से. मी. राख्न सकिन्छ जसले गर्दा नर्सरीमा गोडमेल र हेरचाहा गर्नमा सजिलो हुन्छ।

बीउको रोपाई:
 तयार गरिएको नर्सरी बेडमा १५-१५ से. मी. को फरकमा १.५-२ से. मी. गहिरो धर्साहरु कोर्नुपर्छ।यी धर्साहरुमा मसिनो बलुवा थोरै मात्रामा मिलाउनुपर्छ।यसो गर्नाले बीउको अंकुरणको लागि चाहिने तापक्रमको वृद्धि हुन जान्छ।कोरिएका धर्साहरुमा २-२ से. मी. को फरकमा अलैंचीका बीउहरु राख्दै जानुपर्छ।बीउ राख्ने क्रममा बीउलाई मसिनो खरानीमा मिसाएर एक भाग बीउ र दुई भाग खरानी मिलाएर राख्नुपर्दछ।धर्साहरुमा बीउ खसालेपछि माटोले बीउलाई हलुका रुपले छोपिदिनु पर्छ।

बीउ रोपेपछि बेडमाथि छापो हाल्नु अत्यन्त जरुरी हुन्छ।छापो राख्नाले माटोमा भएको चिस्यान रहिरहन्छ र साथमा अनावश्यक झारहरू उम्रन पनि पाउंदैनन्।छापोको लागि सुकेको सोत्तर, खर, पराल, आदिको प्रयोग गर्न सकिन्छ।छापो २-३ से. मी. बाक्लो हुनुपर्दछ।छापो पातलो भयो भने बेडमा चिस्यान रहदैन र झारहरू पनि बढी आउँछन्।बाक्लो भयो भने सिंचाई गर्दा पानी माटोमा नपुग्न सक्छ।छापो लगाइसकेपछी बेडमा हल्का रुपले सिंचाई दिनुपर्दछ।माटोको अवस्था र वर्षात अनुसार ३/४ दिनको फरकमा सिंचाई दिनुपर्दछ।

अलैंची उम्रिनको लागि १२-२० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त हुन्छ।बिरुवा उम्रिनु अगावै बेडलाई घाम, पानी, तुषारो र असिनाबाट जोगाउन १-१.५ मीटर अग्लो छाप्रो राखी छहारी दिनुपर्दछ।छाप्रोको लागि बाँसको खम्बा र खरको छानो उपयुक्त हुन्छ।बिरुवाहरुलाई चांडो उमार्न प्लाष्टिक हाउस भित्र नर्सरी गर्न सकिन्छ।

बीउ रोप्ने समय

जमिनको उचाई र अलैंचीको जात अनुसार रोप्ने समय पनि फरक हुन्छ।माथि उल्लेखित अनुसार तयार गरिएको बीउ १५-२० दिन भित्रमै रोपिसक्नु पर्छ। बीउ रोप्न जति ढिला भयो त्यतिनै अंकुरण क्षमतामा ह्रास आउँदै जान्छ।अलैंचीका बीउहरू नर्सरी बेडमा असोज देखि फाल्गुन सम्ममा राखिसक्नु पर्दछ।

बीउ दर

सामान्यतया एक रोपनी जग्गाको लागि २-२.५ के. जी. बीउदर उपयुक्त हुन्छ।नर्सरी बेडमा एक वर्गमीटरको लागि ४-५ ग्राम बीउको आवश्यकता पर्दछ।

नर्सरीको हेरचाह/गोडमेल
  • बीउ उम्रनु पूर्व बेडमा झारपातहरू हटाउनुपर्छ।झारपातहरु निकाल्दा बीउहरु पनि जरा संगै निस्कन सक्ने हुनाले साबधानी अपनाउनुपर्छ।
  • बीउ उम्रन थालेपछि बेडबाट बिस्तारै छापो हटाउँदै जानुपर्छ।
  • सिंचाईको कमि हुन दिनुहुदैन।आवश्यकता हेरी २-३ दिनमा सिंचाई दिनुपर्छ।
  • बीउ उम्रिसकेपछि पनि समय समयमा झारपातहरू हटाउँदै जानुपर्छ।नर्सरीमा बिरुवाहरूलाई रोग कीरा बाट बचाउन समय-समयमा किटनासक तथा रोगनासक विषादीहरु छर्कनुपर्दछ।
  • बिरुवा उम्रेपछि बेलाबेलामा आवश्यकता अनुसार २-२ महिनामा कम्पोष्ट मल हाल्नुपर्दछ।
  • नर्सरी बेडभित्र रोगकीराको प्रभाव नपरोस भनेर कीरा नपस्ने खालको जालिको प्रयोग गर्नुपर्दछ।
  • बिरुवा उम्रेपछि आवश्यकता अनुसार उकेरा दिनुपर्दछ।
बीउको अंकुरण

पहिलो नर्सरीमा बीउ उम्रिन उचाई, जात र अन्य अवस्था हेरेर ६-८ महिना लाग्छ।बीउको उमारशक्ति करिब ३०-४०% हुन्छ।बीउहरु एकैपटक नउम्रीकन बिस्तारै उम्रदै जान्छन्।बिरुवालाई प्रथम नर्सरीमा १८-२२ महिनासम्म राख्नुपर्छ।उम्रिन ६-८ महिना र आवश्यक बिकास र वृद्धिका लागि १ वर्ष आवश्यक हुन्छ।बिरुवाहरु १५-२० से. मी. उचाईका र ३-४ वटा पात भएपछि दोस्रो नर्सरी बेडमा वा प्लाष्टिकका थैलामा सार्नु पर्छ।पहिलो नर्सरीमा प्रति बिरुवाले औसत ५ वटा सम्म सुइरा (Tiller) हरु हाल्छन्।

प्लाष्टिक थैलो/पोलीब्याग नर्सरी

पहिलो नर्सरीमा हुर्किएका बिरुवाहरु प्लाष्टिक थैलोमा जंगलको माथिल्लो सतहको मलिलो माटो संग राम्ररी पाकेको गोबर मल राखी रोपिन्छ।जंगलको माटो दुई भाग, पाकेको गोबर मल एक भाग र बालुवा एक भाग मिसाई ८"× ८" को प्लाष्टिक थैलोमा २-४ वटा स-साना प्वाल राखेर थैलोमा बिरुवा रोपिन्छ।बिरुवा रोपेपछि थैलोलाई छहारी भएको ठाउँमा राख्नुपर्छ।माटोको चिस्यान कायम राख्न नियमित हजारिबाट पानी दिनुपर्छ।पानी दिंदा जरा माटो माथि देखिन थाले मलिलो जंगलको माटो थप्नु पर्छ।प्लाष्टिकमा सारिएका बिरुवाहरुमा २-४ वटा सरा/टुसा (३०-४० से. मी. अग्ला) भएपछि स्थायी बगानमा रोप्न योग्य हुन्छन्। बर्षा याममा थैलोबाट बिरुवा निकाली रोप्न सकिन्छ।बेर्ना निकाल्दा माटोसहित निकालेर रोप्नुपर्छ।

दोस्रो नर्सरी

पहिलो नर्सरीमा बिरुवा ठूलो भएर गांझिदै गएपछि आवश्यक स्थान नपुग्ने र सो उमेरमा स्थायी जमिनमा बिरुवा सार्न भने योग्य भईनसकेको हुनाले दोस्रो नर्सरीको आवश्यक पर्छ।उम्रिएका बिरुवालाई मूख्य बगानमा सार्नु पूर्व गानो तथा बिरुवाको राम्रो विकास गराउन र बिरुवालाई दह्रो बनाउन दोस्रो नर्सरीमा सारिन्छ।दोस्रो नर्सरीमा बिरुवाहरु करिब एक वर्ष सम्म रहन्छन्। दोस्रो नर्सरी बेडको तयारी पनि प्रथम नर्सरी बेडको जस्तै गरि गरिन्छ।पहिलो नर्सरीबाट गानो सहितका बिरुवाहरु सुइरा नहटाई दोस्रो नर्सरी बेडमा सारिन्छ।पहिलो नर्सरीबाट उखेलिएका ३-४ पाते बिरुवाहरुको टुप्पो र जराको काँटछाँट गर्नुपर्दछ (५-७ से. मी. जराहरु राखी अन्य जराहरु हटाउनुपर्छ)।उखेलिएका बिरुवाहरुको सुइराको टुप्पा माथिका अग्ला पातहरु काटेर छोटो पार्नुपर्छ।खाद्य तत्वको कमि हुन नदिन दोस्रो बेडमा २०:२०:३० के.जी. एन:पि:के प्रति हेक्टरका दरले रसायनिक मलको प्रयोग गर्नुपर्छ।बिरुवाहरु जेष्ठ-असार महिना भित्रमा रोप्नुपर्दछ।दोस्रो बेडमा बिरुवाहरु ४५-६० से. मी. को फरकमा रोप्नुपर्दछ।

दोस्रो नर्सरीमा बिरुवाहरु सारेपछि पहिलो नर्सरीमा जस्तै छहारीको व्यवस्था गर्नुपर्छ।गोडमेल, सिंचाई र रोग कीराको नियन्त्रण आवश्यकता अनुसार पहिलो नर्सरीमा जस्तै गरि गर्नुपर्छ।दोस्रो नर्सरी बेडमा करिब एक वर्ष बिताएपछि ४०-६० से. मी. अग्ला बिरुवाहरु स्थायी जमिनमा सार्न योग्य हुन्छन्।दोस्रो नर्सरीमा बिरुवाहरुले ५-१० वटा सरा हाल्दछन्।मुख्य बगानमा दोस्रो नर्सरीबाट जेष्ठ-असारमा बिरुवा उखेलेर सार्नुपर्दछ।दोस्रो नर्सरीमा सार्नुपूर्व उखेलिएका बिरुवाहरुका जरालाई विभिन्न ढुसीनासक विषादीको झोलमा डुबाउनुपर्छ।दोस्रो नर्सरीबाट उखालेर बिरुवाहरु सार्दा ३ वटा बिरुवाको दरले प्रत्यक खाडलमा त्रिकोणाकारमा रोप्नुपर्छ।छापोको उचित व्यवस्था गरि सम्भव भएसम्म जाली भित्र बिरुवा हुर्काउनु पर्दछ।

विरुवा उखेल्ने तथा प्याकिङ्ग

मनसुनी वर्षा सुरु हुनु भन्दा केही दिन अगाडीबाट नर्सरीबाट अलैंचीका विरुवाहरु उखेलेर बेच बिखन गर्नुपर्दछ।स्वस्थ तथा निरोगी बिरुवा छनोट गरि जरासमेत आउने गरि गाँझ नै उखेल्नुपर्छ।त्यसपछि सुकेका पातहरु र बढी भएका जराहरु हटाउनुपर्छ।पात तथा जराहरु लामो भए काटेर छोट्याउनुपर्छ। विरुवाका जराहरुलाई क्रिनोक्सिल गोल्ड जस्ता ढुसिनासक विषादीहरुसंग डुबाई उपचार गरेर मात्र बेच्नु पर्छ।उपचार गरिसकेपछि १००० वटा बेर्नाहरुलाई जराहरु एकै तर्फ हुने गरि मुठो पारेर राख्नुपर्दछ।यसरी तयार गरिएको विरुवाहरु जति सक्दो चांडो बेच बिखन गरि स्थायी जमिनमा रोप्नु पर्दछ।

नर्सरी स्थापना र व्यवस्थापन

पहिलेदेखि नै अलैंची किसानहरु माझ माउ बोटबाट पाना वा पाना सहितको सकर (sucker) छुट्याई नयाँ ठाउँमा रोप्ने चलन रहेको छ।यसरी रोपेको विरुवाहरुले छिटै २-३ वर्षमै उत्पादन दिन थाल्छन्।यसरी रोपेका विरुवाहरुमा माउ बोटको मौलिक गुणहरु पनि हुन्छ।छिटै उत्पादन दिने र माउ बोटको गुणहरु हुने भएता पनि अलैंची रोप्ने यो विधि ज्यादै जोखिमपूर्ण रहेको छ।रोगी माउ बोटबाट पाना छुट्याएर सार्दा रोगहरु समेत सर्न सक्छन्।यसका साथै ज्यादै बुढो झ्यांगबाट निकालिएको विरुवाले थोरै समय मात्र उत्पादन दिन्छ।यसैकारण नयाँ स्वस्थ विरुवाहरु उत्पादन गर्नलाई नर्सरी राखिन्छ।नर्सरी राख्दा अलैंचीका बीउहरुलाई "नर्सरी बेड" मा रोपिन्छ र बीउहरु उम्रिएर हुर्केपछि स्थायी बगानमा रोपिन्छ।बीउबाट रोपिएका/निकालिएका विरुवाहरु छिर्के-फुर्के लगायत अन्य ढुसी जन्य रोगहरु बाट मुक्त हुन्छ।यी विरुवाहरुकोउत्पादन दिने समय पनि बढी हुन्छ।अलैंचीको लागि नर्सरी स्थापना र व्यवस्थापन गर्दा बीउको छनोट र तयारीमा विशेष ध्यान पुर्यानुपर्छ ।

बीउको छनोट गर्ने बेलामा सर्वप्रथम स्वस्थ माउ बोटको छनोट गर्नु पर्छ।५ बर्ष उमेर पुगेको रोगमुक्त माउ बोटबाट पूर्ण रुपमा छिप्पिएका दानाहरु टिपेर दानाहरुबाट बीउ (गेडा) हरु निकाल्नु पर्छ।भट्टीमा सुकाइसकेका दानाहरुबाट कहिल्यै पनि बीउ निकाल्न हुदैन।बीउहरु निकालिसकेपछि चिपचिपाउंदो लस्सादार पदार्थ हटाउन बीउहरुलाई खरानी र मसिनो बालुवामा मिसाई ८-१० पटकसम्म माडी-माडी धेरै बेर सम्म पानीमा धुन पर्छ।माड्दै जाँदा अलैंचीको मगमगाउंदो बास्ना आउन थालेपछि बीउहरु तयार हुन लागे भन्ने बुझ्नुपर्छ।यसरी खरानी र बालुवामा माड्नाले लस्सादार पदार्थ हट्नुका साथै बीउको कडा र बाक्लो आवरण केही पातलो हुन गई अंकुरणमा सहयोग पुग्दछ।गुलियो लस्सादार पदार्थ हटाइएन भने कमिला र धमिरालेबीउ नष्ट गरिदिने समस्या हुन्छ। पखालेर लस्सादार पदार्थ हटाइसकेपछि बीउलाई ४-५ दिन सम्म घामले नभेट्ने गरि छाँयामा वा ओझेल परेको ठाउँमा सुक्न दिनुपर्छ।अलैंचीको बीउको अंकुरण ३०-४० प्रतिशत जति मात्र हुन्छ।यसकारण बीउहरुको अंकुरण प्रतिशत बढाउन माथि उल्लेखित तरिकाबाट तयार गरिएको बीउलाई रोप्न भन्दा अगाडि विभिन्न रसायनहरू संग उपचार गर्नसकिन्छ।बीउहरुको अंकुरण बढाउन नाइट्रीक एसिड, सल्फ्युरिक एसिड, हाइड्रोक्लोरिक एसिड, इथायल अल्कोहोल, पोटासियम नाईट्रेट, अमोनिकल सोलुसन, पोटासियम नाइट्रेट, फेरस सल्फेट आदि जस्ता रसायन अथवा जिबेरेलिन जस्ता बिरुवाशक्तिबर्द्बकरसायनहरु संग उपचार गर्न सकिन्छ।यसका साथै तातो पानी (५०-५५ डिग्री सेन्टिग्रेड) मा १० देखि १५ मिनेट डुबाएर पनि उमारशक्ति बढाउन सकिन्छ। 

बिभिन्न अनुसन्धानहरुले तल उल्लेखित तरिका अपनाएको खण्डमा बीउको उमारशक्ति बढ्ने कुरा पत्ता लगाएका छन्।"निकालिएका बीउको अंकुरण प्रतिशत बढाउनको लागि एउटा १ हात जतिको खाल्डो खन्ने, खाल्डोमा केही माथिसम्म बालुवा भर्ने, बीउलाई कपडाको थैलो भित्र राखी बालुवा माथि राख्ने, अनि फेरी माथिबाट बालुवाले ढाकेर एक-डेढ महिना सम्म राख्ने।"

यसरी तयार गरिएका बीउलाई सोही वर्षको मंसिर देखि फाल्गुन महिना भित्रै नर्सरी गरिसक्नु पर्छ।अलैंचीलाई उत्पादन दिन ३-४ वर्ष लाग्ने भएकाले उत्पादन दिने अवस्थामा पुर्याउन दुईवटा नर्सरीमा राखिन्छ।यसरी नर्सरीमा बिरुवालाई तगडा बनाइसकेपछि मात्र मुख्य बगैंचामा सारिन्छ।

जग्गा तयारी

स्थान छनोट

स्थान छनोट गर्दा केही भीरालो परेको छहारी बोट सहितको खोल्सी, जसमा सुर्यको प्रकाश दिनमा १—२ पटक मात्र परोस फेदवाट निरन्तर पानी बगीरहोस यस्तो स्थान सबैभन्दा राम्रो मानिन्छ। उत्तर पूर्व मोहोडा फर्किएको जमिन राम्रो हुन्छ |

विरुवाको उपचार, रोप्ने समय तथा तरिका

विरुवाको उपचार
विरुवाहरुलाई २ ग्राम कप्पर अक्सिक्लोराइड (copper oxychloride) प्रति लिटर पानीमा मिसाएर बनाएको झोलमा १५-२० मिनेटसम्म डुबाएर राख्नुपर्दछ।यसरी उपचार गरिएका विरुवाहरुलाई केही समय छायाँमा राखी ओभाउन दिनुपर्दछ र लगत्तै रोप्नुपर्दछ।

 विरुवा रोप्ने तरिका 
उपचार गरेर रोप्न तयार भएका अलैंचीका विरुवाहरुलाई १ महिना अगाडि तयार पारिएको खाडलमा ३ वटा बिरुवा प्रति खाडलका दरले रोप्नुपर्दछ। बिरुवाहरु त्रिकोणाकारमा रोप्नु पर्दछ।यसरी रोप्ने बिरुवाहरुमा एउटा पाना, १-२ वटा जराहरु र दुईवटा टुसा हुनुपर्दछ। यसरी ३ वटा विरुवाहरु संगै रोप्नाले झ्यांग छिटै झ्यांगिन्छ र कुनै बिरुवा मरेर गएपनि खाडल रित्तो हुँदैन। बिरुवाको अभावमा प्रति खाडल २ वटा बिरुवा पनि रोप्न सकिन्छ।तर बिरुवाको संख्या कम हुनाले झ्यांग फैलिन अलि बढी समय लाग्छ। यदि सार्न तयार गरिएका विरुवाहरु ६० से.मी. भन्दा अग्लो छन् भने बिरुवा नजिकै घोचा गाडेर बिरुवालाई त्यसमा बाँध्नुपर्छ।यसो गर्नाले बिरुवाहरुलाई सिधा राख्नर बढी हावाको कारणले ढल्न बाट पनि बच्न मद्दत पुग्छ।

रोप्ने समय
जेष्ठ देखि श्रावण महिनाको मध्यसम्म अलैंची रोप्नको लागि उपयुक्त समय हो।तर किसानहरु माझ अलैंची लगाउने समयमा समानता पाइदैन।भदौको अन्तिम समयसम्म पनि विरुवाहरु रोप्ने गरेको पाइन्छ | विरुवा रोप्दा माटोमा चिस्यान हुन जरुरी भएकाले मनसुनी वर्षा (असार/श्रावण) सुरु हुने समयलाई अलैंची रोप्नको लागि उपयुक्त मानिन्छ।यसरी समयमै रोपेको विरुवाहरुले ३०-४५ दिन भित्र टुसा हाल्न थाल्छन्। तयार गरिएको खाडलमा ८-१० से.मि. गहिरो गरेर बिरुवा रोप्नुपर्दछ।धेरै गहिरो रोप्नाले गानो कुहिने समस्याको डर हुन्छ।

बाली व्यवस्थापन तथा हेरचाह

छहारीको व्यवस्थापन

अलैंची छायां प्रिय बाली भएकोले छहारीको उचित व्यवस्था गर्नु जरुरी छ। यसले उचित वातावरण बनाइ राख्नमा मद्दत गर्दछ। पात, लाक्रा र फूलको अभिवृद्धिको लागि छहारीले उचित वातावरण सिर्जना गर्नमा सहयोग पुराउदछ । चिसो र तातोपनको ठीक अवस्था कायम राख्नमा छहारीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।माटोको मलिलोपन कायम राख्नमा छहारीको देन अत्यन्त प्रभावकारी मानिन्छ। छहारीको सघनताको पनि समुचित व्यवस्था हुनु आवश्यक छ। सिधा घाम परेको जमिन रुखो हुन्छ।जमिनमा भएको खाद्यतत्व बिरुवामा सर्न सक्तैन। फलस्वरुप, चाहिंदो मात्रामा खाना नपाएर बिरुवाको वृद्धि विकासमा बाधा उत्पन्न हुन्छ।

गोडमेल

अलैंची बगानको समय-समयमा गोडमेल गरिराख्नु पर्दछ।कम्तिमा दुई पटक (चैत-बैशाख र श्रावण-भदौ महिनामा) अलैंची बगानको गोडमेल गर्नुपर्दछ | रुखबाट हाँगाहरु झरेर पनि फूलहरुलाई नोक्सान पुर्याउन सक्छन्।यसकारण त्यस्ता पात-पतिंगर र रुखका हाँगाहरुलाई हटाउनु पर्दछ।झरेका पातपतिंगरलाई बिरुवाका फेंदमा थुपार्नुपर्दछ र यदि हाँगाहरु झरेर वा अन्य कुनै कारणले बिरुवा मरी ठाउँ खाली हुन गएमा नयाँ बिरुवा रोप्नुपर्दछ | एउटा गाँझमा ८-१० वटा बिरुवा रहन दिनुपर्छ |
 

उकेरा दिने

उत्पादनमा ह्रास नआउन समयमै उकेरा दिई संभार गर्नुपर्दछ। जमिन भिरालो छ र माटोले उकेरा दिन सकिदैन भने गानोको वरिपरी १५-२० से.मी. लामो बाँसका किलाहरु गाडी त्यसमा स्याउला, फाँडिएका लाँक्राहरु वा झारपातहरु हाल्नु पर्दछ।यसो गर्नाले बर्षा याममा पानीले माथिबाट बगाएर ल्याएको माटो जम्मा हुन पाउँछ र गानाहरु पुरिन्छन्।

नल हाल्ने

फल लागिसकेका डाँठ/लाँक्राहरुलाई फल टिप्नुभन्दा २०-३० दिन अगाडि गानोबाट ३०-३५ से.मी. माथि काट्ने कार्यलाई “नल हाल्ने” भनिन्छ।यसो गर्नाले दाना लागेका लाँक्राहरु छुट्याउन र फल टिप्ने काम पनि सजिलो हुन्छ।

सिंचाई

अलैंचीलाई मात्र नभई अन्य हरेक विरुवाहरुलाई बिकास र वृद्धिको विभिन्न चरणहरुमा पानी अत्यावश्यक हुन्छ।पानीको अभावमा विरुवाको विकास राम्रो हुँदैन र उत्पादनमा पनि कमी आउँछ।सुख्खा र शुष्क हावापानी मन नपराउने अलैंची चिस्यानयुक्त जमिनमा फस्टाउने गर्छ।अलैंची बगानमा ७०% चिस्यान कायम गरिराख्नुपर्दछ।सिंचाई कति बेला गर्ने भन्ने कुरा माटोको अवस्था, छाप्रोको अवस्था, छहारीको अवस्था, प्राकृतिक बर्षा आदि कुराहरुमा निर्भर हुन्छ।असार-श्रावण महिनामा प्राकृतिक वर्षा हुने भएकाले सिंचाईको आवश्यकता पर्दैन।सामान्यतया अलैंचीको फल टिपिसकेपछि सिंचाई दिन सुरु गर्नुपर्दछ।अबेर मनसुन वर्षाको चिस्यान माटोमा रहिरहने भएकाले कार्तिक देखि माघ महिनासम्म १० दिनको अन्तरालमा सिंचाई दिनुपर्छ।त्यसपश्चात् फाल्गुन देखि बैशाख-जेष्ठ सिंचाईको हिसाबले अत्यन्त महत्वपूर्ण अवस्था मानिन्छ।यो समयमा मौसम सुख्खा रहने, तापक्रम बढ्ने र प्राकृतिक वर्षा नहुने गर्दछ।फूल फुल्ने र फल लाग्ने पनि यसै समयमा हुन्छ।यसकारण यदि यो समयमा सिंचाईको अभाव हुन आएमा उत्पादनमा ठुलो ह्रास आउँछ।तसर्थ फाल्गुन देखि जेष्ठसम्म महिनाको ५-६ पटक सिंचाई गर्नुपर्दछ।यदि यो समयमा पानीको स्रोत कम भएर लगातार सिंचाई गर्न सकिदैन भने फाल्गुन महिनादेखि नै सिंचाई बन्द गर्नुपर्दछ।किनकि चैत-बैशाखमा जमिनमा तापक्रम बढिसकेपछि बिराएर सिंचाई दिँदा जमिनको तातो बाफले अलैंचीका जरा र फूलहरु कुहिने गर्छन्।सिंचाई गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भन्दा सिंचाई गर्दा बिरुवाको नजिक पानी जम्नु हुँदैन, पानी बगिरहनुपर्छ।सिंचाई गर्दा कुलोबाट, स्प्रिंकलर वा थोपा सिंचाईबाट गर्न सकिन्छ।सिंचाई गर्दा बगानको सबै क्षेत्रमा बराबर पानी बग्ने व्यवस्था मिलाउनुपर्छ।एकै ठाउँबाट धेरै पानीको भल बग्न दिएमा माटो बगेर जान्छ र अरु ठाउँहरुमा पानीको अपुग हुन्छ। पानी जम्ने ठाउँहरुमा पानीको निकासको प्रबन्ध मिलाउनुपर्छ।

मलखाद व्यवस्थापन

अलैंचीको बगैंचामा किसानहरुले प्राय: मलखाद प्रयोग गरेको पाइदैन।तर लामो समयसम्म अलैंची बगानको माटोमा रहेको खाद्यतत्व विरुवाहरुले लिइसकेको हुनाले माटोको खाद्यतत्वमा कमी नहोस भन्नका लागि समय-समयमा मलखादको प्रयोग गर्नुपर्दछ।केहि किसानहरुले अलैंचीको बगानमा प्रांगारिक मल दिने गरेको पनि पाइएको छ। वर्षमा दुईपटक राम्ररी पाकेको गोबर वा कम्पोष्ट मल राख्दा माटोमा मलिलोपना बढ्दै जान्छ र उत्पादनमा पनि वृद्धि आउँछ।उत्तिसको रुख रोप्नाले पनि माटोमा नाइट्रोजन स्थापित (nitrogen fixation) गर्न मद्दत गर्छ। अझ मजाले उत्पादन लिने हो भने नाइट्रोजन, पोटास र फोस्फोरसलाई उचित मात्रामा माटोमा मिलाउनुपर्छ। राम्ररी पाकेको कम्पोष्ट २ के.जी., युरिया ११ ग्राम, पोटास ८ ग्राम र डी.ए.पी. ३३ ग्राम प्रति झ्यांग चैत-बैशाखमा माटोमा राख्नुपर्दछ।यसैगरी फल टिपिसकेपछि ११ ग्राम युरिया र ८ ग्राम म्युरेट अफ पोटास (MOP) प्रति झ्यांग दिनुपर्दछ।मलखाद दिने क्रममा जरा वा गानोलाई छुवाउने गरी दिन हुँदैन अन्यथा जराहरु मर्छन्।जरा र गानोलाई चोटपटक नपुर्याई औँठी आकारको कुलेसो बनाई मल राख्नुपर्दछ र माटोले पुर्नुपर्दछ।

परागसेचन र फूल तथा फलको विकास

बीउबाट रोपेको अलैंचीको विरुवा ४-५ वर्ष देखि फुल्न थाल्छ भने माउ झ्यांगबाट छुट्याएर रोपेको विरुवाले २ वर्ष देखि फुल्न थाल्छ।सामान्यतया फूल फुल्ने आंकुराहरु पुस-माघ महिनामा निस्कन्छन् र फाल्गुनदेखि कोपिला देखिन सुरु गर्छन्।चैत-बैशाख देखि श्रावण सम्ममा फूलहरु फुलि सक्छन्।यसरी भाले र पोथी अंगहरु पूर्ण रुपमा विकसित भएपछि परागसेचनको कार्य अगाडि बढ्छ।अलैंचीमा परसेचन हुने भएकाले एउटा विरुवाको परागकण अर्को बिरुवाको पोथी अंगमा पुगेपछि मात्र गर्भधारण हुन्छ।यसरी एउटा विरुवाको परागकण अर्को विरुवाको पोथी अंगमा पुर्याउन भमराले महत्वपूर्ण भूमिका खेल्दछ।केही मात्रामा अन्य कीराहरुले (माहुरी) पनि परागसेचन गर्ने भएता पनि अलैंचीको परागसेचन मुख्य रुपमा भमराले गराउंछ। हावापानीबाट पनि केही मात्रामा परागसेचन हुन्छ।परागसेचन पश्चात गर्भधारण भई फलको बिकास हुन थाल्दछ।उचाई अनुसार परागसेचन भएको ४-६ महिना भित्रमा फलहरु परिपक्व भई राता र पुष्ट हुन्छन्।

रोग व्यवस्थापन

छिर्के रोग (Leaf streak mosaic)

 छिर्के रोग अलैंचीमा लाग्ने एक महत्वपूर्ण भाइरल रोग हो।यो रोग छिर्के विषाणु (Greater Cardamom Mosaic Virus) नामक भाइरसले गर्दा लाग्दछ।छिर्के विषाणु मुख्य गरी आरु र मकैमा लाग्ने लाही कीराले बोटको रस चुस्ने क्रममा एक बिरुवाबाट अर्कोमा सर्दछ।यसका साथै रोगी बोटका गानोबाट र रोगी बोटको रसबाट पनि सर्दछ।यो रोग बीउ र माटोबाट भने सर्दैन।

3

लक्षणहरु

छिर्के रोगको लक्षणहरु सर्वप्रथम कलिला पातहरुमा देखा पर्दछन्।सुरुमा पातका मसिना नसाहरुका बीच बीचमा स-साना हल्का पंहेला छिर्काहरु देखिन थाल्छन्।रोगको प्रकोप बढ्दै जाँदा यस्ता छिर्काहरु बढ्दै गएर एक अर्कोमा जोडिन्छन् र ठूला बेआकार छिर्काहरु देखिन्छन्।यस्ता छिर्काहरुका रङ बिस्तारै हल्का खैरो हुँदै जान्छ र २-३ दिनमै सम्पूर्ण पात नै खैरो हुन्छ।पछि पातहरु पंहेलो हुने, सुक्ने र ओइलाउने हुन्छ जसकारण पातहरु मर्छन्।रोग बढ्दै जाँदा पातहरुबाट लाँक्राहरुमा पनि लक्षणहरु सर्न थाल्छन् र बिरुवा बिस्तारै मर्न थाल्छ।रोगको संक्रमण भएका बोटहरुमा फूल र फलहरु कम लाग्छन्।बिस्तारै हरेक वर्ष फूल र फलहरुको संख्या घट्दै जान्छ र केही वर्षमै (२-३ वर्ष) फूलहरु लाग्न छाड्छन्।यस रोगले ८५% सम्म उत्पादनमा ह्रास ल्याउँछ।

रोकथाम

भाइरल रोग भएकाले यस रोग लागिसकेपछि नियन्त्रण/उपचार गर्न अत्यन्तै गाह्रो हुन्छ।कुनै बिषादी राखेर यसको उपचार गर्न सकिदैन।यसकारण रोग लाग्न नदिनु नै यस रोगको सर्वोत्कृष्ट रोकथामको उपाय हो।

यस रोगको रोकथामको लागि तल उल्लेखित अभ्यास र उपायहरु अपनाउन सकिन्छ:

  • रोगको लक्षण देखिएका बिरुवाहरु जरा र गानोसहित उखेलेर गाड्ने वा जलाउने।
  • रोगी झ्यांग वरिपरीका झ्यांगहरु पनि उखेलेर गाड्ने वा जलाउने।
  • तन्तु प्रसारण विधिबाट उत्पादन गरिएका बिरुवा रोप्ने।
  • स्वस्थ माउ बोटबाट मात्र रोप्नको लागि बिरुवा लिने।
  • सकेसम्म गानोबाट भन्दा स्वस्थ बोटबाट निकालिएका स्वस्थ बीउहरु रोप्ने।
  • बगान सफा राख्ने, झारपात हटाउने।
  • छिर्के रोग सार्ने लाही कीराको नियन्त्रण गर्न सिस्टेमिक ढुसीनासक बिषादीको प्रयोग गर्ने। यसका लागि मालाथायन (०.१५%) वा मेटासिष्टक्स (०.१%) वा रोगर (०.५%) पानीको झोलमा मिसाएर छर्कने।
  • लाही कीरालाई आश्रय दिने केरा, मकै, चुरुम्फा (जङ्गली अलैंची) वा आरुका बोटहरु बगान वरिपरी नराख्ने।
  • उचाई अनुसार रोग सहन सक्ने जातहरु लगाउने।
  • नियमित रुपमा बगानको निरीक्षण गर्ने।
फुर्के रोग (Stunty mosaic)

छिर्के जस्तै एक चोटी लागिसकेपछि यो रोगको नियन्त्रण गर्न निकै कठिन हुन्छ।यो रोगले अलैंचीको बगान नै सखाप पार्न सक्छ। 

यो रोग पनि लाही कीराले रोगी बोट देखि स्वस्थ बोटको रस चुस्ने क्रममा सर्ने गर्छ।मुख्य गरी केरामा लाग्ने कालो लाही र उत्तिसमा लाग्ने लाही बाट यो रोग सर्दछ।यो रोग १५०० मीटरभन्दा तल लगाइएका अलैंचीका जातहरुमा लाग्ने बढी सम्भावना हुन्छ।कम छहारी भएको र सुख्खा क्षेत्रमा यो रोगको प्रकोप बढी हुन्छ।रोगी झ्यांगबाट बिरुवा प्रसारण गर्नाले पनि यो रोग सर्दछ।रोगी बिरुवाको सम्पर्कमा आउँदा भने यो रोग सर्दैन।पातहरु साना भएर कक्रक्क पर्छन्।यो रोग माटो र बीउबाट भने सर्दैन।

4

रोगको लक्षणहरु

फुर्के रोगको पहिचान डाँठ र पातहरुको आकारबाट सजिलैसँग गर्न सकिन्छ। यो रोगको आक्रमण नयाँटुसाहरुमाबढी देखिन्छ।टुसाहरु एकै ठाउँमा गुजुमुज्ज भएर आउँछन्।यी गुजुमुज्ज भएर आएका टुसाहरु राम्रोसंग बढ्न सक्दैनन् र सुइराहरु पुड्का हुन्छन्।लाँक्राहरुको संख्या र उचाई प्रत्यक वर्ष घट्दै जान्छ र फूलहरु पनि लाग्दैनन्। पातहरु सानो भएर साँघुरिदै जान्छन्।सुइराहरु पहेंलिदै जान्छन्।पछि लाँक्रा र पातहरु सुक्दै जान्छन्।उत्पादन घट्दै गएर केही बर्षमै सून्यमा आउँछ।झ्यांग पनि बिस्तारै सुक्छ र मरेर जान्छ।अलैंचीको बोटमा फुर्के रोग लाग्दा बोटको एक तर्फ रोगले आक्रमण गरेको तर अर्को तर्फ भने बोट निरोगी जसरि सामान्य रुपमा वृद्धि भइरहेको देखिन्छ।

रोकथाम

  • रोग सार्ने लाही कीराको व्यवस्थापन गर्ने।यसका लागि रोगर/मालाथियन/मेटासिस्टक्स् जस्ता किटनासक विषादीको प्रयोग गर्ने।
  • स्वस्थ रोगरहित बिरुवाहरु मात्र रोप्ने।
  • सकेसम्म गानोबाट प्रसारण नगर्ने, तन्तु प्रसारण विधिबाट निकालिएका बिरुवाहरु रोप्ने।
  • लाही कीरालाई आश्रय दिने केराका बोटहरु बगैंचा वरिपरिबाट हटाउने।
  • बगैंचा सफा राख्ने।
  • रोग लागेका र वरिपरिका झ्यांगहरु पनि उखेलेर जलाउने वा गाड्ने।
  • १५०० मीटरभन्दा तलको उचाईमा नर्सरी राख्दा जाली (एग्रोनेट) को प्रयोग गर्ने।
  • रोग सहन सक्ने जातहरु रोप्ने।
गानो कुहिने रोग (Rhizome rot)

 गानो कुहिने रोग नर्सरी र अलैंची बगान दुवै ठाउँमा भेट्न सकिन्छ। यो रोग गानो र ठाँड जोडिएको ठाउँबाट सुरु हुन्छ।बिस्तारै सम्पूर्ण बिरुवा नै ओइलाउँदै जान्छ र अन्त्यमा मर्दछ।यसकारण समयमै रोगको नियन्त्रण गर्नु आवश्यक हुन्छ।

1

लक्षणहरु

  • फलहरु नपाक्ने, दाना भित्रका बीउ नछिप्पिने, बियाँहरु कलिला र सेता देखिने।
  • रोग लागेपछि डाँठ र गानो जोडिएको ठाउँमा पानीले भिजेजस्तो देखिन्छ र बिस्तारै बढ्दै गएर गानोमा पुग्छ।
  • सुरुमा पातका टुप्पाहरु र पछि पुरै पातहरु पंहेलिन्छन् र सुक्छन्।
  • रोग लागेका झ्यांगका ठाँडहरु फुट्छन् र तान्दा सजिलै गानोबाट छुट्टिन्छन्।
  • गानो र जरा पुरै कुहिन्छन् र दुर्गन्ध आउँछ।
  • झ्यांग अन्त्यमा मर्छ।

रोकथाम

  • स्वस्थ नर्सरीको स्वस्थ बिरुवा प्रयोग गर्ने।
  • गोडमेल गर्दा गानोलाई चोटपटक नपुर्याउने।
  • बिरुवा वरिपरी पानी जम्न नदिने, निकासको व्यवस्था राम्रो बनाउने, रोगी झ्यांगबाट पानीको निकास स्वस्थ झ्यांगमा नगराउने।
  • रोगी माटोलाई फर्मालिन (४%) ले उपचार गरेर १५ दिनपछि मात्र स्वस्थ बिरुवा रोप्ने।
  • मेटाल्याक्सिल (८%) र म्यानकोजेब (६४%) २ ग्राम प्रति लिटर पानीमा वा कार्बेन्डाजिम १.५ ग्राम प्रति लिटर पानीमा वा थिराम २ ग्राम प्रति लिटर पानीमा वा कप्परअक्सिक्लोराइड (४-६ ग्राम प्रति लिटर पानीमा) जस्ता बिषादीहरुको झोलमा ५-१० मिनेट सम्म डुबाएपछि मात्र गानाहरुलाई रोप्ने।
  • रोग लागेको बिरुवामा माथि उल्लेखित कुनै एक बिषादी वर्षमा दुईपटक (चैत-बैशाख र टिपेपछि) पात, डाँठ र गानो राम्ररी भिज्ने गरी छर्कने।
  • तन्तु प्रसारण विधिबाट उत्पादित बिरुवा रोप्ने।
पातको थोप्ले रोग/पात कुहिने रोग (leaf spot)

सुरुवातमा पातहरुमा पानीको फोकाजस्ता दागहरु देखिन्छन् र यी फोकाहरु बढेर बिस्तारै पातभरि फैलिन्छन्।अन्त्यमा पात कुहिएर जान्छ।

2

रोकथाम:

  • रोगको लक्षण देखिन थालेपछि बोर्डेक्स मिक्सचर/कार्बेन्डाजिम/म्यानकोजेब/जिनेब वा अरु जैविक बिषादीहरु पानीमा झोल बनाएर १-१५ दिनको अन्तरालमा छर्ने।
  • बगान सफा राख्ने।
पात सड्ने वा डढुवा

डढुवा मुख्य गरी नर्सरीमा रहेका स-साना बिरुवाहरुमा लाग्दछ।बढी आद्रता र चिस्यान हुने वर्षा याममा यो रोगको प्रकोप बढी हुन्छ।

रोगको लक्षणहरु

यस रोगको सुरुवातमा पातहरुको टुप्पो वा छेउमा पानीले भिजेजस्ता थोप्लाहरु देखिन्छन्।बिस्तारै तापक्रम र आद्रता बढ्दै जाँदा थोप्लाहरु बढ्दै गएर पुरै पातभरि फैलन्छन्।यी थोप्लाहरुले ढाकिएको भागहरु बिस्तारै कुहिन थाल्छन्।पछि गएर सम्पूर्ण पात नै डढेर मर्छ।पात कुहिन थालेपछि सम्पूर्ण बिरुवामा ढुसी फैलिन थाल्छ।बिस्तारै कलिला डाँठहरु हुँदै पानाहरुमा पनि फैलिन्छ र अन्त्यमा बिरुवा नै कुहिन थाल्छ।

रोकथाम
      

  • पानी जम्न नदिने, निकास राम्रो बनाउने।
  • रोगको लक्षण देखिन थालेपछि वा वर्षा सुरु हुन साथ डाईथेन-एम-४५/कप्पर अक्सिक्लोराइड/कार्बेन्डाजिम/म्यानकोजेब/मेटल्याक्सिल/बोर्डेक्स मिक्सचर अथवा अन्य जैविक बिषादीहरु पानीमा मिसाएर झोल बनाएर १०-१५ दिनको अन्तरमा २-३ पटक बिरुवामा छर्कने।
  • बिरुवा रोप्दा बेभिष्टिन जस्ता ढुसीनासक बिषादीमा डुबाएर मात्र रोप्ने।
बोट ओइलाउने

अलैंचीमा बोट ओइलाउने रोग अन्य रोगहरुभन्दा अत्यन्तै बिनासकारी मानिन्छ।हरेक उमेरका बोटहरुमा यो रोगको प्रकोप हुन्छ। रोग डढुवा, घोंगो वा जुरजुरे को नामले पनि चिनिन्छ।आर्थिक दृष्टिकोणले यो रोग छिर्के-फुर्के भन्दा पनि खतरनाक मानिन्छ किनभने छिर्के-फुर्के जस्ता भाइरसजन्य रोगहरुले उत्पादन क्रमशः घटाउँदै जान्छन् तर यो रोग लागेको ६ महिनामै सम्पूर्ण बगान नष्ट हुन्छ।

रोगको लक्षणहरु

ओइलाउने रोग जरा तथा गानोबाट सुरु हुन्छ। रोग लागेपछि पात र डाँठहरु पंहेलिएर ओइलाउन थाल्छन्।डाँठका टुप्पाहरु बटारिन्छन् र सुइरो पनि बांगिन थाल्छ।केही समयपछि पात, डाँठ र सम्पूर्ण बोट नै खडेरी परेजस्तै गरी सुकेर/ओइलाएर गई सम्पूर्ण बगैंचा नै नष्ट भएर जान्छ।रोग लागेका बोटहरुमा नयाँ टुसाहरु आउँदैनन् र फलेका फलहरु पनि पाक्दैनन्।फल भित्रका बियाँहरु छिप्पिन पाउँदैनन् र सेता देखिन्छन्।

रोकथाम

  • बगैंचा सफा राख्ने, रोगी बोटहरु उखेलेर हटाउने।
  • बेभिष्टिन/थिराम/कार्बेन्डाजिम वा अन्य ढुसीनासक बिषादी पानीमा झोल बनाएर जरा भिज्ने गरी ड्रेन्चिङ (drenching) गर्ने ।
  • नयाँ बिरुवा सार्ने बेलामा बिरुवाको जरा बेभिष्टिन/डाइथेन-एम-४५ को पानीको झोलमा १०-१५ मिनेटसम्म डुबाएर मात्र सार्ने।
  • म्यानकोजेब/मेटल्याक्सिल/ब्लाइटक्स् वा अन्य कुनै ढुसीनासक विषादीको पानीमा झोल बनाएर १०-१५ दिनको फरकमा रोगको लक्षण देखिन थालेपछि छर्कने।
  • स्वस्थ बिरुवा मात्र रोप्ने।

कीरा व्यवस्थापन

गबारो (Borer)

यसको लार्भाले पात चुसेर हानी पुराउछ |

5

     व्यवस्थापन

  • बगैंचा र नर्सरी सफा राख्ने।
  • निम, सिस्नु, खुर्सानी, मट्टीतेल, साबुन, गहुँत पानिमा मिसाएर जैविक विषादी बनाएर छर्कने।
  • क्षेती बढी भएमा साइपरमेथ्रिन/रोगर/डीमोक्रेन-१०० जस्ता किटनासक विषादीहरुको पानीमा झोल बनाएर छर्कने।
  • हिउँदमा अलैंची गोड्दा माटोमा फिप्रोनिल नामक विषादी मिलाउने।
झुसिलकीरा (Cardamom hairy caterpillar)

यी लार्भाहरु एकदमै खन्चुवा भएकाले पातको तल्लो सतहमा झुण्डमै पातको हरियो भाग खाएर पात नष्ट गर्न थाल्दछन्।दुई महिना सम्म रहने लार्भा अवस्थामा झुसिलकीराले पातहरुको नसा मात्र रहने गरी खाएर पात नै जालि जस्तो बनाइदिन्छन्। आक्रमण बढी छ भने झ्यांग नै सखाप हुन्छ।लार्भाहरु हुर्केपछि तितरबितर भई एक्लै खान थाल्छन्। अलैंचीको बिरुवालाई नोक्सान पारेर झुसिलकीरा उत्तिसको बोटमा पनि सर्छन् र उत्तिसलाई पनि क्षति पुर्याउछन्।

5

   व्यवस्थापन

  • बगान सफा राख्ने।
  • बत्तिको पासो थापी पुतलीको नष्ट गर्ने।
  • वानस्पतिक विषादीहरू छर्कने।
  • झुसिलकीराको प्राकृतिक शत्रुहरु जस्तै बारुलो (Apantales, Trichogramma), नमस्ते कीरा(Preying mantis) आदि को संरक्षण गर्ने।
  • साइपरमेथ्रिन/रोगर/मलाथियन/नुभान नामक किटनासक विषादी पानीमा झोल बनाएर छर्कने।
लाही कीरा

लाही कीराहरुले कलिला भागहरुबाट रस चुसेर खान्छन् र यसक्रममा विभिन्न विषाणु रोगहरु पनि सार्दछन्।रस चुस्नाले बिरुवाका कोषहरू मर्दै जान्छन् र बिरुवाको वृद्धिमा पनि अबरोध आउँदछ। रस चुस्ने क्रममा लाही कीराले बिरुवामा गुलियो पदार्थ (Honey dew) छोड्छ।यिनै गुलियो पदार्थ भएका ठाउंहरुमा कालो ढुसी (Sooty mould) ले आक्रमण गरिबिरुवाहरु बढ्न पाउंदैनन्, पात र फलको आकार पनि बिग्रन्छ। यी कीराहरुले छिर्के-फुर्के जस्ता भाइरल रोगहरु फैलाउनमा महत्वपूर्ण भूमिका खेल्छन्।

व्यवस्थापन

  • मालाथियन/रोगर/मेटासिस्टक्स्/नुभान जस्ता विषादीहरुको पानीमा झोल बनाई १५-२० दिनको फरकमा छर्कने।
  • नर्सरीमा बिरुवाहरु हुर्काउँदा जालीको प्रयोग गर्ने।
  • लाही कीरालाई आश्रय दिने मकै, आरु, केरा, चुरुम्फा आदि जस्ता बोटहरु बगान वरिपरिबाट हटाउने।
  • जैविक तथा वानस्पतिक विषादी बनाएर छर्कने।
  • बगान सफा राख्ने।
थ्रिप्स (Thrips)

यी कीराहरुले अलैंचीका फल, फूल र पातहरुको कोतारेर रस चुस्छन्।फलस्वरूप फल र फूलको विकास र उत्पादनमा ठुलो नोक्सान आउँछ। पातहरु कीराले चुसेपछि पंहेलिन थाल्दछन्।कीराको आक्रमणले फलहरुको आकार बिग्रने र फलहरु फोस्रा हुने हुन्छ।पातहरु पनि पंहेलीएर डढेजस्तो देखिन्छन्।आवश्यकता भन्दा बढी छहारी भएको ठाउँमा थ्रिप्स कीराको प्रकोप बढी देखिन्छ। थ्रिप्सको प्रकोप फाल्गुन-चैत्रमा अत्यधिक हुन्छ।

व्यवस्थापन

  • बगान वरिपरी थ्रिप्सलाई आश्रय दिने वनस्पतिहरु (पिंडालु, चुरुम्फा, आदि) हटाउने।
  • वानस्पतिक विषादीहरुको प्रयोग गर्ने।
  • प्रकोप बढी भए विभिन्न सिस्टेमिक किटनासक विषादीहरु (डिमोक्रेन/रोगर/मालाथियन/नुभान/मेटासिस्टक्स्) पानीमा झोल बनाएर छर्कने।
  • बगान सफा राख्ने।

बाली कटानी तथा भण्डारण

अलैंची टिपाई

अलैंचीको जात र जमिनको उचाईको आधारमा फल पाक्ने र टिप्ने समय फरक-फरक हुन्छ।बढी उचाईमा अलैंची ढिलो पाक्छ भने कम उचाईमा छिटो पाक्छ।यस्तै रामशाही जातको अलैंची असोज-कार्तिकमा पाक्दछ भने गोलशाही असोजमा र साउने, चिवेशाही तथा जिर्मले श्रावण भदौमा पाक्दछन्।डम्बरशाही भने भदौ-असोजमा पाक्छ।राम्ररी फल छिप्पिएर पाकिसकेपछि मात्र फलहरु टिप्नुपर्दछ।काँचो अवस्थामा टिपिएको फलमा दानाहरु पुष्टिएका हुँदैनन् र फल पछि गएर चाउरिने भएकाले कम गुणस्तरका हुन्छन्।यस्तै फल ढिलो टिप्नाले बोटमै फुटेर जाने र सुकाउँदा रङ नआउने हुन्छ।राम्ररी नछिप्पिएको अलैंचीको दानाको रङ रातो हुन्छ भने राम्ररी छिप्पिएको दानाको रङ कलेजी हुन्छ।काँचो अवस्थामा गेडाहरुको रङ सेतो हुन्छ र छिप्पिदै जाँदा बीउहरु खैरो रङका हुन्छन् र राम्ररी छिप्पिएर टिप्न लायक अवस्थामा पुग्दा बीउहरु कालो रङका हुन्छन्।राम्ररी छिप्पिएको दाना थुँगाबाट छोडाउंदा सजिलै छोडिन्छ र दानाहरुलाई फुटाउँदा प्याट्ट फुट्ने, मगमग बसाउने र खाँदा स्वादिलो हुने हुन्छन्। 

अलैंची टिप्दा निकै साबधानी अपनाउनु पर्दछ।अलैंचीको बोटमा अर्को बर्ष फल दिने टुसाहरु पनि हुने हुँदा फल टिप्ने बेलामा यस्ता टुसाहरुलाई चोट पुर्याउनु हुँदैन।एउटा बिरुवाबाट अर्को बिरुवामा रोग नसरोस् भन्नका लागि छुरीलाई पहिला निर्मलीकरण (sterilization) गर्नुपर्दछ।छुरीलाई तातो पानीमा डुबाएर वा आगोमा केही समय तताएर निर्मलीकरण गर्न सकिन्छ।यसपछि छुरीले पानासंग जोडिएको भाग (थुँगाको फेंद) राम्ररी काटेर थुँगा टिप्नुपर्दछ।झ्यांगबाट टिपेपछि अलैंचीका थुँगाहरुलाई २-३ दिनसम्म ओभानो र छायाँ भएको कोठामा राख्नुपर्दछ।यसो गर्नाले थुँगामा टुप्पा पट्टीका दानाहरुले पनि राम्ररी पाक्ने समय पाउँछन् र सजिलै छोडिने हुन्छन्।थुँगाबाट छोडिएपछि दानाहरुलाई सुकाउनको लागि भट्टीमा राख्नुपर्दछ।

उत्पदानोपरांत गरिने क्रियाकलापहरु

 थुँगा गुम्स्याउने

अलैंचीको थुँगाहरु टिपेपछि २-३ दिनसम्म ओभानो र छायाँ भएको कोठामा थुप्रो बनाएर गुम्साएर राख्नुपर्दछ।यसो गर्नाले थुप्रोको तापक्रम बढ्न गई थुँगाका टुप्पा पट्टिका दानाहरुले पनि राम्ररी पाक्ने समय पाउँछन् र सजिलै छोडिने हुन्छन्।तर धेरै लामो समयसम्म गुम्स्याइयो भने फलहरु कुहिने सम्भावना बढी हुन्छ।गुम्स्याउने क्रममा थुँगाहरुलाई फर्काउने र फिजाउने गर्नुपर्दछ।

 फल छुट्ट्याउने

थुँगा गुम्स्याउने कार्य सकिएपछि एक एक गरी थुँगाबाट फलहरु छुट्याउनु पर्दछ।छुट्याएपछि फलहरुलाई राम्रो संग सफा पानीमा धोएर फोहोर, माटो, धुलो आदि हटाउनुपर्छ।यसपश्चात तुरुन्तै दानाहरुलाई सुकाउनुपर्दछ अन्यथा दानाहरु कुहिन थाल्छन्।

सुकाउने

अलैंचीका दानाहरुमा ८०-९०% पानीको मात्रा हुने हुँदा टिपेपछि तुरुन्तै सुकाउनु पर्दछ।नसुकाइकन भण्डारण गरियो भने दानाहरु कुहिन्छन्।दानाहरु सुकाएर पानीको मात्रा १०-१२% मा झरेपछि मात्र भण्डारण गर्न उपयुक्त हुन्छ।

घाममा सुकाउने
कम परिमाणमा अलैंची उत्पादन गर्ने किसानहरुले दानाहरुलाई घाममा सुकाएर पानीको मात्रा कम गराउने परम्परागत तरिका हो।यसरी घाममा सुकाइएका अलैंचीहरु सुक्न धेरै समय लाग्ने गर्छ र दानाहरु पनि पूर्ण रुपले सुक्न सक्दैनन्।अलैंची टिपेर सुकाउने समयमा (असोज-मंसिर) मौसम प्रतिकुल हुने (बर्षा, कुहिरो आदि) हुँदा सुकाउने कार्यमा बाधा आउने गर्छ।सुक्नलाई धेरै समय लाग्ने हुँदा ढुसी लाग्ने सम्भावना पनि बढी हुन्छ।यसकारण यो तरिकालाई खासै उपयुक्त मानिदैन।अलैंची सुकाउन चाहिने उपयुक्त तापक्रम ४५ देखि ५५ डिग्री सेन्टिग्रेड हो।

भारमा सुकाउने
अलैंची सुकाउन प्रयोग गर्न सकिने यो तरिका पनि थोरै मात्रामा अलैंची उत्पादन गर्ने किसानहरुले प्रयोग गरेको पाइन्छ।यस तरिकामा अलैंचीका दानाहरुलाई बाँस र निगालोले बुनेको मान्द्रो माथि राखिन्छ र मान्द्रोलाई घरको आगो बाल्ने चुल्हो माथि काठ वा बाँस राखी त्यस माथि राखिन्छ।यसरी सुकाएका अलैंचीका दानाहरुको रङ ध्वाँसे हुन्छ र आन्तरिक गुणहरुमा समेत असर पर्दछ जसकारण बजार मूल्य नै कम हुन जान्छ।

स्थानीय भट्टी

स्थानीय/परम्परागत भट्टीमा अलैंची सुकाउने चलन बर्षौंदेखि चल्दै आएको छ।स्थानीय भट्टी सामान्य लागतमा स्थानीय स्रोत साधनबाट नै बनाउन सकिने हुँदा नेपाली किसानहरु माझ बढी प्रचलित छ।स्थानीय भट्टी बनाउँदा चारैतिर पर्खाल लगाई एकापट्टि पर्खालमा जमिनको सतहभन्दा १ मी उचाई र ७५ से. मी. चौढाई भएको प्वाल राखिन्छ जसले भट्टीको मुखको काम गर्दछ।भट्टीको उचाई करिब २ मीटर जति हुन्छ।स्थानीय भट्टीको मुखबाट भित्र बढी धुँवा निकाल्ने काँचो दाउरा र मुडाहरु राखिन्छ।भट्टीभित्र माथिल्लो भागमा अलैंचीका दानाहरु राख्न ५०-७५ से.मी. माथि सराङ/चित्रा राखिएको हुन्छ र भट्टीलाई पानीबाट बचाउन छानो पनि राखिएको हुन्छ।भट्टीको मुखमा केही सुकेको दाउरा राखी आगो सल्काइन्छ।बिस्तारै काँचो दाउराहरु पनि तात्न थाल्छन् र धुँवा निकाल्छन्।भट्टीबाट निस्केको धुँवाले माथि सराङ/चित्रामा राखिएका अलैंचीका दानाहरुलाई सुकाउने काम गर्छ।सराङ/चित्राको पिंधपट्टि रहेका दानाहरु बढी धुँवाको सम्पर्कमा आउने हुँदा चाँडो सुक्ने र माथि रहेका दानाहरु ढिलो सुक्ने हुँदा दानाहरुलाई बारम्बार बाँसबाट बनाइएको दाबिलोले चलाइन्छ।यस्तो खालको भट्टीमा अलैंची सुक्न २५ देखि ३० घण्टा सम्म लाग्छ।भट्टीको आकार अनुसार एक पटकमा कति अलैंची सुकाउने निर्धारण हुन्छ। 

स्थानीय भट्टीमा अलैंची सुकाउने प्रविधि सहज र सस्तो भएतापनि यसमा सुकाइएका अलैंचीहरुको गुणस्तर त्यति राम्रो हुँदैन जसकारण बजारमूल्य पनि कम हुन्छ।धुँवाको सिधै सम्पर्कमा आउने हुँदा अलैंचीहरु कालो र ध्वाँसे हुन्छन् र दानाहरुमा धुँवाको गन्ध आउँछ।यसका साथै यो विधिबाट सुकाइएका दानाहरुमा हुनुपर्ने रसायनहरुमा पनि कमी आएको पाइन्छ।यस प्रविधिको अर्को बेफाइदा भनेको सबै दानाहरु समान रुपले सुकेका हुँदैनन्।

सुधारिएको स्थानीय भट्टी
सुधारिएको स्थानीय भट्टीमा अलैंचीहरुलाई धुँवाको सिधै सम्पर्कमा आउन नदिन धुँवालाई पाइपबाट बाहिर पठाई पाइपको तातोले दानाहरु सुकाइन्छ।यसो गर्नाले स्थानीय भट्टीमा सुकाइएका अलैंचीमा हुने ध्वाँसे र कालो रङ हटेर मौलिक रङ आउँछ र धुँवाको गन्ध पनि आउँदैन।

आधुनिक भट्टी

आधुनिक भट्टी अन्तर्गत डबल ड्रम, रकेट स्टोभ, बिजुली भट्टी, फलामे भट्टी, ग्यासीफायर आदि जस्ता प्रविधिहरु पर्दछन्।डबल ड्रम भट्टी नेपाली किसानहरुमाझ प्रचलित हुँदै गईरहेको छ।डबल ड्रम भट्टी स्थानीय भट्टीलाई सुधार गरेर बनाइएको हुन्छ।स्थानीय भट्टीको आगो बाल्ने प्वालमा ड्रम राखिन्छ र धुँवा बाहिर पठाउन चिम्नीको प्रयोग गरिन्छ।अलैंची सुकाउन चित्राको ठाउँमा फलामे जाली प्रयोग गरिन्छ।यस प्रविधिमा धुँवा र तापको सिधा प्रयोग हुँदैन र अप्रत्यक्ष तापमा (करिब ५५ डिग्री सेन्टिग्रेडमा) अलैंची सुकाइन्छ।आधुनिक भट्टीको प्रयोग गर्दा सुकेका अलैंचीको मौलिक रङ रहिरहन्छ र हेर्दा पनि आकर्षक हुन्छ।अलैंचीमा धुँवाको गन्ध पनि आउँदैन र सबै अलैंचीहरु एकनासले सुक्छन्।स्थानीय भट्टीहरु भन्दा आधुनिक भट्टीमा अलैंची सुकाउन ३-४ घण्टा समय कम लाग्छ।आधुनिक भट्टीमा सुकाइएका अलैंचीको गुणस्तर राम्रो हुने भएकाले राम्रो बजार मूल्य पाउन सकिन्छ।

पुच्छर हटाउने

अन्तराष्ट्रिय बजारमा टुप्पोमा त्यान्द्रो (पुच्छर) भएका अलैंचीहरुलाई गुणस्तरीय मानिदैन र बजार भाउ पनि कम हुन्छ।यसकारण पुच्छर जसलाई अंग्रेजीमा क्यालिक्स (calyx) भनिन्छ, यसलाई हटाउन अत्यन्त जरुरी हुन्छ।भट्टीमा सुकाइसकेपछि सुकेका दानाहरुलाई हातले माड्दा पुच्छरहरु माडिएर जान्छन्।तर यो तरिकाबाट सबै पुच्छर नहट्न सक्छन् र दानाहरु फुट्ने र चर्कने पनि हुन सक्छन्।थोरै मात्रामा भए पुच्छरलाई कैंचीले काटेर पनि फाल्न सकिन्छ।तर यी दुई तरिकाहरु ठुलो परिमाणमा भएका अलैंचीहरुलाई उपयुक्त हुँदैन।यस्तो बेलामा फलामे चाल्नाको प्रयोग गरिन्छ। कैंचीको प्रयोग गरेर पुच्छर काटिएका अलैंचीलाई “कैंचीकट” र कैंचीको प्रयोग नगरी पुच्छर काटिएका अलैंचीलाई “नन्-कैंचीकट” भनि ग्रेडिङ्ग गरिन्छ।

ग्रेडिङ्ग

अलैंचीलाई त्यसको आवरण, रङ, आकार आदि जस्ता गुणस्तरका कारकहरुका आधारमा विभिन्न तहमा छुट्टयाउने कामलाई ग्रेडिङ्ग  भनिन्छ।ग्रेडिङ्ग गर्नाले समान गुणस्तर भएका अलैंचीहरु एक ठाउँमा छुट्याउन सकिन्छ र त्यहि अनुसार बजारमा बिक्रि गर्न सकिन्छ।

नेपाल अलैंची व्यवसायी महासंघ बिर्तामोड झापाले अलैंचीको गुणस्तर हेरी तल उल्लेखित तीन वटा ग्रेडहरु लागु गरेको छ:

क) Grade 1 - Jumbo Jet (J.J.): यस अन्तर्गत ठुला क्याप्सुल भएका, राम्ररी पुच्छर काटिएका, नफुटेका, प्राकृतिक रङ भएको, मौलिक गुण भएको, बाह्य पदार्थ (धुलो, माटो, ढुंगा आदि) नभएको, रोग कीरा नलागेको, ५% सम्म मझौला दाना मिसिएको, १२% भन्दा कम पानीको मात्रा भएका अलैंचीहरु पर्दछन्।

ख) Grade 2 - Super Deluxe वा Standard (SD): पहिलो ग्रेड भन्दा कम र तेस्रो ग्रेड भन्दा बढी गुणस्तर भएका अलैंचीहरु standard समूहमा पर्दछन्।यस अन्तर्गत मझौला दाना भएको, फुटेका ठुला दाना भएको, पुच्छर काटिएको, बाह्य पदार्थ नभएको, प्राकृतिक रङ भएको, १२% भन्दा कम पानीको मात्रा भएको, १०% सम्म साना दाना र पुच्छर भएका अलैंची मिसिएको अलैंचीहरु पर्दछन्।

ग) Grade 3 - Chalanchalti (CC): यस अन्तर्गत साना दाना भएको, १५% सम्म पुच्छररहेको, १२% भन्दा कम पानीको मात्रा भएको, बाह्य पदार्थ नभएको, साला खाला सबै प्रकारका मिसिएको अलैंचीहरु पर्दछन्।

ग्रेडिङ्ग अनुसार नै अलैंचीहरुले बजारमूल्य पाउँदछन्।Grade 1 को बजार भाउ बढी हुन्छ भने Grade3 को कम।नेपालमा खासै ग्रेडिङ्ग लाई महत्व नदिइएको हुनाले निर्यात गरिएका अलैंचीहरुलाई भारतले पुनः ग्रेडिङ्ग र प्याकिङ्ग गरी बढी मूल्यमा बिक्री गर्ने गरेको पाइन्छ।यसकारण नेपालमा अलैंचीको बिक्री मूल्य बढाउने हो भने ग्रेडिङ्ग  गर्नुपर्ने अत्यन्तै आवश्यक रहेको छ।

प्याकेजिङ्ग र भण्डारण

ग्रेडिङ्ग गरिसकेपछि अलैंचीका दानाहरुलाई सुरक्षित भाँडो वा बोरामा बन्द गरी राख्ने कार्य भनेको प्याकेजिङ्ग हो।प्याकेजिङ्ग गर्दा अलैंचीहरुलाई भित्रपट्टि प्लाष्टिक लेपन गरिएको जुटको बोरामा राख्नुपर्दछ।प्याकेजिङ्ग गर्नुपूर्व अलैंचीमा भएको चिस्यान १२% भन्दा तल घटिसकेको हुनुपर्दछ।यसका साथै बोराभित्र कत्ति पनि चिस्यान हुनुहुँदैन अन्यथा ढुसीको सम्भावना हुन्छ।प्याकेजिङ्ग पनि ग्रेडिङ्ग  अनुसार नै गर्नुपर्दछ।एउटै ग्रेडका अलैंचीलाई एउटै बोरामा प्याकिङ्ग गर्नुपर्दछ।प्याकेजिङ्ग गरिसकेपछि बोराहरुलाई ट्यागिङ्ग गर्नुपर्दछ।ट्यागिङ्ग गर्दा अलैंचीको जात, परिमाण, उत्पादन थलो, ग्रेडस्तर, उत्पादन वर्ष, प्याकिङ्ग मिति, उपभोग गर्ने अवधि, प्याकिङ्ग कर्ता आदि कुराहरु समावेश गर्नुपर्दछ।