परिचय

परिचय

नेपालमा भैँसी मुख्यतया दूध उत्पादनको लागि पालिन्छ । तिनिहरुको जात र स्याहार सुसार जस्तैः आहार, स्वास्थ्य स्थिति आदिले दूध उत्पादन क्षमतामा असर पार्दछ । उपयुक्त घाँस, दाना र पानीको व्यवस्थामा उन्नत जातका पशुबाट राम्रो उत्पादनको आशा गर्न सकिन्छ । स्थानीय जातका पशुमा पनि स्याहार संभार एवं अन्य व्यवस्थापन राम्ररी गरिएमा राम्रो उत्पादन लिन सकिन्छ । यद्यपि स्थानीय जातका पशुहरुमा वंशाणुगत रुपमै तिनको उत्पादन क्षमताको सीमा कम रहने गर्दछ। उन्नत जातका  भैँसीले स्थानीय जातको तुलनामा धेरै गुणा बढी दूध दिन्छन् र पाडा पाडी पनि चाँडै हुर्कन्छन् । फलस्वरुप, कम उमेरमा नै बाली खोज्ने हुनाले छिटै व्याएर चाँडै दूध दिन थाल्छन् ।  तसर्थ उन्नत जातको भैँसी पालेमा बढी फाइदा लिन सकिन्छ। नेपालमा आ.व. २०७१ / ७२ मा भैंसीको संख्या करिब  ५१ लाख रहेकोमा कुल संख्याको उन्नत जातको भैँसी  ३५ प्रतिशत रहेको छ । कुल संख्यामा दूधालु भैंसीको संख्या  १३ लाख रहेको छ । त्यसैगरी  जम्मा दूध उत्पादन १७ लाख मे. टन रहेकोमा भैँसीको दूध ६९ प्रतिशत रहेको छ। नेपालमा दूधको लागि भैँसी पालिने र अनुत्पादन भएपछि मासुको लागि उपयोगमा ल्याउने चलन भएकोले दूधालु भैँसीको संख्या बढि रहेको छ । स्थानिय जातको गाईको भन्दा स्थानिय जातको भैँसीको दूध उत्पादन बढि हुन्छ।  दूध उत्पादन बढाउन उन्नत नश्लको पशु, उपयुक्त आहारा र स्वास्थ्य व्यवस्थापन तथा बजारीकरणको राम्रो व्यवस्था गर्न‘को साथै हरियो घाँसमा आधाारित पशुपालन गरि उत्पादन लागत घटाउने कार्य गरेमा  भैंसी पालनबाट उचित फाईदा लिन सकिन्छ।

भैँसी पालनका तरिका

क. चराएर पाल्ने

पशु वस्तुहरु चराएर पाल्ने तरिका जमिन प्रशस्त भएको ठाउँहरुमा प्रचलित छ। यस तरिकामा पशुवस्तुहरु चराउने प्रयोजनका लागि चरन खर्कहरु छुट्टयाई त्यस्ता खर्कहरुमा व्यवस्थित तरिकाले चराईन्छ। यस्ता चरन खर्कहरुमा उन्नत घाँसहरु लगाएर वा आफै उम्रेका घाँस र वनस्पतिहरुलाई जोगाएर राखिन्छ र वर्षको निश्चित पहिनामा तोकेको खर्कमा पशुहरु चराइन्छ।  यस्ता चरन खर्कहरु व्यक्तिगत वा समुदाय विशेषको सामूहिक पनि हुन सक्दछन्। यस तरिकाको पशुपालन हाम्रो देशको उच्च पहाडी भागहरुमा बढी मात्रामा प्रचलित भएको छ र खासगरी चौरी पालन गरेको पाईन्छ। यसैगरी केही मात्रामा मध्य पहाडी भागमा भैँसी पालन गरेको देखिन्छ। यस प्रकारको पशुपालन व्यवसायमा पशुहरु पूर्ण रुपमा चरनमा नै निर्भर रहने गर्दछन्। कृषकको तर्फबाट नियमित रुपमा नुन दिने चलन छ।

ख. चराउनुका साथै थप आहारा  दिएर पाल्ने

यो तरिकाको पशुपालनमा पशुहरुलाई चराउनुका साथै थप केही कृषि जन्य उप पदार्थहरु मिसाएर तयार गरेको दाना र डालेघाँसहरु पनि दिइन्छ। यो तरिकाको व्यवसाय हाम्रो देशको मध्ये पहाडी भाग र तराई क्षेत्रमा बढी प्रचलित भएको पाईन्छ र यस अन्तर्गत भैँसीलाई बिहान र बेलुका दुध दुहुने समयमा गोठमा बाधिन्छ र दिउँसो चरनमा पठाईन्छ। भैँसीलाई प्रायजसो खुला चउर तथा वन जंगलको छेउछाउमा चराईन्छ।

नस्लहरु

लिमे भैँसी (Lime Buffalo)

पहाडी क्षेत्रमा दूध उत्पादनको लागि सुहाउँदो यो स्थानीय जातको भैँसी हल्का खैरो रङ्गको हुन्छ। यस्को शारिरीक तौल करिब ४०० किलो सम्म हुन्छ यो जातको भैँसीको घाँटिमा हसिया आकारको सेतो दाग देखिन्छ जुन लिमे भैँसीको जातिय विशेषता हो। यो जातको भैँसीमा पहिलो पटक ब्याउने उमेर ६१ महिना, बेत अन्तराल २१ महिना, दैनिक दूध उत्पादन २.५ लि. र दूध दिने अवधि ३०५ दिन पाईएको छ।

पारकोटे भैँसी (Parkote Buffalo)

यो स्थानीय जातको भैँसी पहाडमा दूध उत्पादनको लागि सुहाउँदो जात हो। यो भैँसी कालो रङ्गको हुन्छ र यस्को सिंग निकै लामा र हसिया आकारको हुन्छन्। यो जातको भैँसीमा पहिलो पटक ब्याउने उमेर ६६ महिना, बेत अन्तराल २० महिना, दैनिक दूध उत्पादन ३.५ लि. र दूध दिने अवधि ३०५ दिन पाईएको छ।

गड्डि भैँसी (Gaddi Buffalo)

यस्को  शरीरको आकार ठूलो हुन्छ र दूध उत्पादन पनि बढि हुन्छ। यो स्थानीय जातको भैँसी अधिकांश कालो रङ्गका हुन्छन भने केहि संख्यामा हल्का खैरो रङ्गको पाईन्छ। यिनिहरुको अनुहार लाम्चो, र सिकग लामो घुमेको हुन्छ। निधारमा सेतो रङ्गको दाग हुनु यो जातको विशेषता हो। यो जातको भैँसीमा पहिलो पटक ब्याउने उमेर ६८ महिना, बेत अन्तराल २३ महिना, दैनिक दूध उत्पादन ३.५ लि. र दूध दिने अबधि ३०५ दिन पाईएको छ।

मुर्रा भैँसी (Murrah Buffalo)

यो भैँसीको उत्पत्ति भारतको हरियाणा राज्य र आसपासको क्षेत्र मानिन्छ। नेपालमा दूधको उत्पादन वृद्धि गर्न मुर्रा भैँसीको आयात धेरै वर्ष पहिले देखि गरिएको हो र मुर्रा भैँसी दूध उत्पादनको लागि निकै प्रख्यात छ। नेपालमा उन्नत जातका भैँसीहरुमा अधिकांश मुर्रा जातका वर्णशंकर भैँसी छन्। प्रजनन् को लागी मुर्रा जातको रागाें बाट प्राकृतिक गर्भाधान वा मुर्रा जातको रांगोको सिमेन प्रयोग गरी कृतिम गर्भाधानको विधिबाट गरिन्छ। नेपालमा मुर्रा जातको भैँसीको दूध उत्पादन प्रति वेत १५०० रहेको छ। वयस्क भैँसीको सरदर तौल ४३० देखी ५०० के.जी. र वयस्क रांगोको ५३० देखी ५७५ के.जी. हुन्छ।

आवास व्यवस्थापन

नबाँधिकन खुल्ला राख्ने गोठ

भैँसीलाई दूध दुहुने र उपचार गर्ने समयमा बाहेक अन्य समयमा नबाँधिकन खुल्ला रुपमा राखिन्छ। खुल्ला क्षेत्रमा जाडो, गर्मी वा वर्षादको पानीबाट जोगाउनको लागि टहरो बनाएको हुन्छ। भैँसीलाई पिउनका लागि पानीको नाली र घाँसको लागि डुड राखेको हुन्छ। पशुलाई दूध दुहुने घरमा लगेर दूध दुहिन्छ र त्यस बेलामा दाना दिईन्छ। यसरी पशुलाई नबाँधिकन राख्दा तिनिहरु स्वतन्त्र हुन्छन् र आराम महशुस गर्दछन्।

फाईदा

  • यो तरिकाले पशु पाल्दा निर्माण खर्च कम लाग्छ।
  • पशुले हिडडुल गर्दा प्रसस्त कसरत गर्न पाउछन् र आराम महसुस गर्दछन्।
  • पशुलाई सफा राख्न सकिन्छ।
  • अलग घरमा दूध दुहुने भएकोले सफा दूध उत्पादन हुन्छ।
  • भविष्यमा फार्मको आकार बढाउन सकिन्छ।
  • ज्यामि खर्च कम लाग्छ।

बेफाईदा

  • बढि जमिन को आवश्यकता पर्छ ।
  • आहारा खाने बेलामा प्रतिस्पर्धा हुने।
  • चिसो र बढि पानी पर्ने यो तरिका सुहाउँदैन ।
  • हरेक  भैँसीलाई हेरबिचार पुर्याउन नसकिने ।
  • दूध दुनको लागि अलग घर चाहिने ।
  • बथानमा पशुहरुमा रोग फैलने सम्भावना बढि हुन्छ।
बाधेर राख्ने गोठ

यस प्रकारको गोठमा भित्ता र छानाले गोठलाई ढाकेको हुन्छ र झ्याल, ढोका तथा भेन्टिलेटरबाट आवश्यक उज्यालो तथा हावा ओहोर दोहर गर्ने व्यवस्था हुन्छ । यस्तो गोठको निर्माण खर्च तुलनात्मक रुपमा अली महंगो पर्दछ। भैँसीलाई एकै स्थानमा दाना पानी दिनुको साथै दूध समेत दुहिन्छ। यसरी पाल्दा पशुलाई सफा र निरोगी बनाई राख्न सकिन्छ। चिसो स्थानमा यो किसिमको गोठ अति उपयुक्त हुन्छ भने गर्मी स्थान र वर्षा बढि हुने क्षेत्रमा गोठमा आद्रता बढ्ने र गोठको भुई चिसो हुनसक्ने हुनाले हावाको ओहोर दोहरको व्यवस्थामा ध्यान दिनुपर्ने हुन्छ।

फाईदा

  • खराब मौसम भएको बेलामा पनि पशु सुरक्षित हुन्छ।
  • पशुलाई सफा राख्न सकिने।
  • रोग नियन्त्रण गर्न सहज हुने।
  • गोठमा हरेक भैँसीलाई हेरविचार गर्न सकिने।
  • दूध दुनको लागि अलग घर नचाहिने।

बेफाईदा

  • निर्माण खर्च बढि लाग्छ।
  • भविष्यमा फार्मको आकार बढाउन सकिदैन।
  • गर्मि र बढि आद्रता भएको ठाउमा यो तरिका सुहाउँदैन्।

यो प्रणालीमा भैँसीलाई दुई तरीकाले गोठमा बाधेर राख्न सकिन्छः

क) एकोहोरो लाईनमा बाँधेरः यस तरिकामा १० देखि १५ वटा भैँसीलाई गोठमा बाधेर राख्न सकिन्छ।

ख) दोेहोरो लाईनमा बाँधेरः यस तरिकामा १५ भन्दा बढि भैँसी राख्न सकिन्छ। तर एउटा गोठमा ५० गोटा भन्दा बढि संख्या भएमा अर्को गोठमा राख्नु पर्छ। एउटा गोठबाट अर्को गोठ को दुरी ३० फिटको हुनुपर्छ । यस प्रणाली अन्तरर्गत २ तरिकामा गाई भैँसीलाई गोठमा राख्न सकिन्छ।

अ) पुच्छर पुच्छर पर्ने गरी गोठमा राख्ने तरिका (Tail to Tail System)

फाईदा 

  • दूध दुहुन र पशुलाई सफा राख्न सजिलो हुने।
  • भैँसीले बाहिरको ताजा हावा पाउने ।
  • दूध दुहुनेबेलामा निरिक्षण गर्न सजिलो हुने।
  • एक पशुबाट अर्कोमा रोग सर्ने सम्भावना कम हुनु।

बेफाईदा

  •  दाना पानी दिन ज्यामि खर्च बढि लाग्ने।
  •  भैँसीलाई गोठमा आ–आफ्नो स्थान पाउन कठिन हुने।

आ. टाउको टाउको पर्ने गरी गोठमा राख्ने तरिका (Head to Head System)

फाईदा 

  • भैँसी गोठ भित्रनै रहने भएकोले व्यवस्थापन गर्न सजिलो हुने।
  • गोठको नालिमा घाँम परिरहने हुदा निसंक्रमण गर्न सजिलो हुने।
  • दाना पानी दिन सजिलो हुने।
  • आगन्तुकले हेर्दा आकर्षक देखिन।

बेफाईदा

  • दूध दुहुनेबेलामा निरिक्षण गर्न असजिलो हुने।
  • भैँसीले बाहिरको ताजा हावा पाउन कठिन हुने ।
स्थल छनौट

भैँसीको गोठ निर्माणको लागी ठाँउको छनौट गर्दा निम्न बिषयमा ध्यान दिनु पर्छ।

 क्र.स.  बिषय  हुनुपर्ने  कारण
 १.  माटो    
   क. किसिम  बलौटे दोमट
  • पानी जम्न पाउदैन र सफा रहन्छ,
  • गोठको जग वरीपरी चर्कदैन
   ख. प्रकार  मलिलो
  • मलिलो स्थानमा घाँस उत्पादन राम्रो हुन्छ,
  • अनुत्पादक स्थानमा भवन आदि बनाउने,
   ग. अवस्था  धेरै सुख्खा र धेरै 
 चिसो नभएका
  • स्वस्थकर हुने,
  • भवनको आयु लामो हुने,
 २.  स्थानको स्वरुप  वरीपरीको स्थान भन्दा अलि     माथि उठेको
  • पानीको निकास राम्रो हुन्छ,
  • फार्मको क्षेत्रसम्म (Plain) रहन्छ,
  • नराम्रो गन्ध आउदैन,
 ३.  जमिनको बनोट  करिब करिब समथर ठाँउ
  •  माटो मिलाएर जमिन समथर बनाइ रहनु नपर्ने
 ४.  सूर्यको प्रकाश  भुईमा घाम लाग्नु पर्ने
  • चिसो ओस हटाउन,
  • किटाणुलाई मार्न,
  • भुई सुख्खा राख्न,
  • पशुलाई स्वस्थ्य बनाउन
 ५.  जोडले हावा   नलाग्ने  तातो वा चिसो हावाको प्रत्यक्ष   प्रवाहबाट   बचाउछ 
  • अचानक हुने तापक्रमको परिवर्तनबाट बचाउँछ,
  • पशुको शरीरमा हुने खराब असरबाट बचाउछ,
  • दूध दुहुने बेलामा हुनसक्ने संक्रमणबाट बचाउछ 
 ६.  बजार  नजिक
  • आवश्यक कच्चा पदार्थ सहज र सस्तो रुपमा पाईने,
  • उत्पादित सामाग्री बेच्नलाई सहज,
  • उत्पादित सामाग्रीलाई चिसो गरी राख्न र
  • भण्डारणमा हुने खर्च कम हुन्छ
 ७.  दिगोपना  लामो समयसम्म खप्ने
  • राम्रो देखिने,
  • सफा रहने,
  • मर्मत खर्च कम लाग्ने,
  • धेरै वर्षसम्म टिक्ने
 ८.  ज्यामी  सिपभएको, सस्तो ज्याला, नियमित,
 आवश्यकता अनुसारको संख्यामा,   ईमान्दार र मिहेनति
  • कम खचिलो,
  • गुणस्तरीय र प्रभावकारी काम हुने,
  • आम्दामी बढ्ने,
  • पशुको राम्रो हेरचाह हुने,
  • मसिन तथा उपकरणको आयु बढ्न
 ९.  पहुँच  मुल सडकबाट नजिक
  • ढुवानी  खर्च कम लाग्ने,
  • खरिद तथा बिक्रि छिटो गर्न सकिने
 १०.  वरिपरीको स्थान  सुरक्षित, सफा
  • चोरीकोे सम्भावना कम हुने,
  • जंगली जनावरबाट सुरक्षा 
 ११.  पानी  आर्सिनिक नभएको, पिउन योग्य
  • स्वस्थ्यकर हुने
  • उत्पादन बढ्ने

 

गोठको निर्माण

क. गोठको जग र दिवाल

नरम माटो भएको स्थानमा अलि गहिरो र कडा माटो भएको स्थानमा अलि कम गहिराहि भए हुन्छ। जमिन माथि ४ फीट माथि सम्म पानीले पखाल्न सहज हुने गरी चिल्लो पार्नुपर्छ। गोठ भित्र पर्ने कुना स्थान लाई पुरेर गोलो पार्नु पर्छ यस्ले कुनामा धुलो जम्मा हुन पाउँदैन। साथै दिवालमा कोण परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन।

ख. भैँसीे गोठको भूँई क्षेत्र निर्माण

कडा, पानी नसोस्ने र सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्न‘ पर्दछ। त्यसको लागि सिमेन्ट कंक्रीट ढलान गरेर वा ईटा छपाएर वा ढुंगा छापेर गोठको भूँई निर्माण गर्न सकिन्छ। सकेसम्म खुला क्षेत्र र नसके पनि वन्द क्षेत्र त अनिवार्य रुपमा सिमेन्टेड हुनु पर्दछ। यसरी भूई क्षेत्रको निर्माण गर्दा भूंई नचिप्लीने र खस्रो खालको बनाउनु पर्दछ। गोठको भूई (floor) सामान्यतया जमिन देखि ४० से.मी. जति उचो हुनु पर्दछ। भूई क्षेत्रको निकास तर्फ हल्का भिरालो बनाएर बनाउनु पर्दछ। जसले गर्दा सफा गरेको पानी र पिसाब बगेर जान सक्दछ।

ग. पर्खाल क्षेत्र (Compound)

गोठको बन्द तथा खुृला क्षेत्रको पर्खाल एकदमै मजवुद अर्थात वलियो हुनु पर्दछ। पर्खाल बनाउदा इटा ढुंगाबाट वा १०–१२ से.मी. बाक्लो रनेफोर्स सिमेन्ट कंक्रीट (Rainforce Cement Concrete) पर्खाल पनि बनाउन सकिन्छ। यो नै सर्वाेत्तम पर्खाल हुन्छ। भिरालो छाना भएको गोठमा बन्द क्षेत्रको पर्खालको उचाई २.२५ मिटर र खुला क्षेत्रलाई १.५ मीटर अग्लो पर्खाल वा (galvanized corrugated iron) ले घेरेको हुन पर्दछ।

घ. गोठको चौडाई

एकोरो लाइनमा राख्दाः ३.८० देखि ४.२५ मीटर
दोहोरो लाइनमा राख्दाः ७.९ देखि ८.७ मीटर
गोठको लम्बाई पशु संख्याको आधारमा निर्भर हुन्छ। त्यस्तै गोठको उचाई, छानामा राख्ने सामाग्री र हावापानीको अवस्थामा भरपर्छ तापनि साधारणतया छानाको आधारसम्मको उचाई २.२५ मीटर हुनुपर्छ।

ङ.  गेट

गोठ भित्र प्रवेश गर्ने गेट १.२ मी. फराकिलो हुनु पर्दछ र यो फलाम वा वलियो काठबाट निर्माण गरिनु पर्दछ।

छ. छाना (Roof)

छाना स्थानिय हावापानीमा सुहाउँदो हुनुपर्छ । गर्मि ठाउँमा हावा ओहोर दोहोर हुने व्यवस्था भएको दुुईतिर भिरालो परेको (Gable Roof)  उपयुक्त हुन्छ भने चौडाई कम भएको गोठमा दुुईतिर भिरालो भई छानाको माथिपटि उठेको (Monitor Roof)  हुनु राम्रो हुन्छ। छाना हलुको वलियो, टिकाउ, हेर्दा आकर्षक, तापको कुचालक र पानी नचुहिने हुनु पर्दछ। छानामा राख्न सक्ने सामाग्री मा टायल, एस्वस्टस सिट, टिनको जस्तापाता, एलुमुनियम सिटको प्रयोग गर्न सकिन्छ। स्थानीय रुपमा पाईने सामाग्रि जस्तो पराल, छ्वाली आदि पनि प्रयोग गर्न सकिन्छ। यस्तो छानो बनाउन सस्तो पर्ने र गोठलाई सितल समेत बनाउने भएतापनि आगो लाग्ने सम्भावनाबाट बचाउन साबधानी अपनाउनु पर्छ।

ज. दानापानी खाने क्षेत्रको निर्माण

जमीनबाट ५० से.मी. उचो हुने गरी यसको निर्माण (Reinforce cement concrete), ईटा तथा सिमेन्ट मोटार वा सिमेन्ट मोटार ढुंगाबाट निर्माण गर्न सकिन्छ। पानी पिउने क्षेत्रको निर्माण पनि दाना खाने क्षेत्रको जस्तै गरी बनाउन पर्दछ। प्रति वयस्क पशुवस्तु १०–२० से.मी. लम्बाई हुने गरी पानी पिउने क्षेत्रको निमाण गर्नु पर्दछ।

झ. खुट्टा डुवाउने क्षेत्र (Foot bath)

सरुवा रोगबाट बचाउनको लागी गोठको गेटमा पिंधमा ६ मी.×३ मी. र माथी १२×४ मी. फराकिलो तथा ०.३ मी. गहिरो हुने गरी यसको निर्माण गरीन्छ र ५ प्रतिशतको फिनेल पानी वा १ प्रतिशतको पोटासियम परम्याग्नेट वा ०.१ प्रतिशतको एक्रीफलाभिन वा ७% चून पानी अटुट रुपमा राख्नु पर्दछ।

ञ. मल राख्ने खाडल (Manure Pit)

भैँसी गोठबाट अलि टाढा एउटा मल राख्ने खाडलको निर्माण गर्नु पर्दछ। यसरी बनाईने खाडल प्रति एक भैँसी को लागि १२–१५ घ.मी. जति आवश्यकता पर्दछ। किनकी एउटा भैँसीबाट प्रति दिन ४० के.जी.को दरले मल प्राप्त हुन्छ र प्रति १३.मी. मा ७००–१००० के.जी. सम्म मात्र मल अटाउनु सक्छ।

भैँसीको गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू
  • गोठ सुरक्षित हुनुपर्दछ जसले गर्दा गाई भैँसीलाई जाडो गर्मी, वर्षा, बतासबाट बचाउँछ।
  • गोठ सुविधायुक्त हुनुपर्दछ । यसले गाई भैँसीलाई बस्न, घाँस र दानापानी खान सजिलो हुन्छ र उत्पादन वृद्धि गर्न सहयोग पुग्दछ।
  • गोठ बनाउँदा गाउँघरका स्थानीय सामाग्री प्रयोग गरी बनाउनु पर्दछ। यसो गर्दा सस्तो लागतमा गोठ तयार गर्न सकिन्छ।
  • गोठ सफा गर्दा सजिलै सफागर्न सकिने हुनुपर्दछ । गोठको भुई केही भिरालो खाल्डाखुल्डी नपरेको र पानी नजम्ने खालको हुनुपर्दछ।
  •  गोठको भूई चिप्लिने खालको हुनु हुँदैन।
  • गोठमा प्रशस्त हावा एवं प्रकाश आवतजावत गर्ने किसिमको हुनु पर्दछ। गोठमा प्रकाश र हावा कम भएमा पशुहरुलाई श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ।
  • दुधालु पशुको लागि दूध दुहुन, पानी खुवाउन र सफागर्न सजिलो हुने खालको हुनु पर्दछ।
  • गोठमा दाना, घाँस, पानी ल्याउन सजिलो हुने ठाउँमा हुनुपर्दछ।
  • गोठमा दाना, घाँस, पानी खेर नफालिकन खान सक्ने किसिमको डुँड बनाउनुपर्दछ।
  • आवश्यक गोठको क्षेत्रफलः
 पशुको किसिम  क्षेत्रफल प्रति पशु (वर्ग फिट)  आहारा दिने स्थानको क्षेत्रफल (इन्च)
 बन्द क्षेत्र  खुल्ला क्षेत्र
 भैँसी  २५- ३५  ८०- १००  २४- ३०

आहार व्यवस्थापन

पशु आहारा

पशुहरुको आहारालाई पोषक तत्वको आधारमा २ भागमा वर्गीकरण गरिएको छ।

क. घाँसपातः जुन आहारमा १८ प्रतिशत भन्दा बढी रेसा र ६० प्रतिशत भन्दा कम टि.डि.एन हुन्छ । त्यस्तो आहारालाई घाँसपातको वर्गमा राखिएको छ । 

१) सुख्खा घाँस  २) हरियो घाँस

अ) नाईट्रोजन बढी हुने घाँस जस्तैः वर्सिम, लुसर्न, काउपी आदी।
आ) नाईट्रोजन कमहुने घाँस जस्तैः मकै, जुनेलो, वाजरा आदी।

ख. दानाः यस प्रकारको आहारामा १८ प्रतिशत भन्दा कम रेसा र ६० प्रतिशत भन्दा बढी टि.डि.एन. हुन्छ।

अ) पशुजन्य पदार्थ भएको दानाः जस्तैः माछाको सिद्रा, मासुको धुलो आदी।
आ) वनस्पतिजन्य पदार्थ भएको दानाः जस्तैः मकै, गहुँ, बदाम आदी।

ग. फिड एडेटिभ्सः एन्टिवायोटिकस, हर्मोन, भिटामिन र खनिज पदार्थहरुलाई एडेटिभ्स अन्तर्गत राखिएको छ।

 

महत्व

पशुवस्तुहरुलाई दिइने आहाराले निम्नलिखित शारीरिक आवश्यकताहरु पुर्ति गर्दछ।

१) शारीरिक स्थित सामान्य राख्नेः पुराना जीवकोष बदल्ने र नयाँ जीव कोष पैदा गर्ने र शरीरलाई सामान्य स्थितिमा राख्ने।

२) शारीरिक बृद्धि गर्नेः पशुको शारीरिक वृद्धि र विकासको लागि आवश्यक पर्ने अंग प्रत्याङ्गको विकासमा आहाराको ठूलो भूमिका रहन्छ।

३) काम गर्नेः काम गर्ने प्रयोजन जस्तैः हलो जोत्नु, गाडा तान्नु, हिंडडुल गर्ने आदि जस्ता कामको लागि थप पोषक तत्वको आवश्यकता पर्दछ।

४) उत्पादन गर्नः दूध, मासु (भैँसीमा) उत्पादन गर्न थप पोषक तत्वको आवश्यकता पर्दछ।

५) सन्तान उत्पादन कार्यः सन्तान उत्पादन कार्यका लागि समेत पशुहरुलाई थप आहारा चाहिन्छ।

आहारमा भैँसीलाई विभिन्न अवस्थामा चाहिने पौष्टिक तत्वहरु जस्तो कार्वोहाइड्रेट (शाक्ति), प्रोटिन (एमिनो एसिड), चिल्लो पदार्थ, भिटामिन, खनिज तत्व र पानी हुनुपर्छ। यसरी पौष्टिक तत्वहरुलाई ठीक ठीक मात्रामा मिलाएर तयार पारेको भैँसीको दाना कन्सन्ट्रेड दाना हो र यस्लाई सन्तुलित दाना भनिन्छ।

भैँसीको दाना (Concentrate feed)

भैँसीको दाना (Concentrate feed) भनेको त्यस्तो प्रकारको दाना हो, जसमा १२ देखि १८ प्रतिशतसम्म पाचनसील प्रोटीन, ६० देखि ७५ प्रतिशतसम्म जम्मा पाचनसील पौष्टिक तत्व, १ देखि १.५ प्रतिशतसम्म क्याल्सीयम, ०.४ देखि ०.८ प्रतिशतसम्म फस्फोरस्, १० देखि १२ प्रतिशतसम्म पानी र भैंसीको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण पौष्टिक तत्वहरु समावेश गरिईएको हुन्छ र यो ज्यादै पाचनसील पनि हुन्छ।

पशुवस्तुको आहारामा समाबेस हुनु पर्ने प्रमुख पोषण तत्वहरु

१. कार्वोहाइड्रेट (Carbohydrate)
कार्वोहाइड्रेट शक्ति प्रदान गर्ने प्रमुख स्रोत हो। पशुपंक्षीको लागि उर्जाको काम गर्छ। कार्वोहाइड्रेडको जलन पछि शारीरिक तापक्रम तथा शक्ति उत्पन्न हुन्छ। जिवन निर्वाह, श्वास प्रश्वास, मुटुको धड्कन, उत्पादन, सन्तानोत्पादन जस्ता कार्यको लागि कार्वोहाईड्रेटको आवश्यकता पर्दछ। मकै, चोकर, ढुटो, गहुं, सखर, जौं, कोदो, जौ आदी यसका प्रमुख श्रोतहरु हुन्।

२. प्रोटिन (Protein)
प्रत्येक जीवित कोषको संरचना तथा मर्मत कार्यको लागि प्रोटिनको अपरिहार्य आवश्यकता हुन्छ। प्रोटिनले शारीरिक वृद्धिलाई बढावा दिनुको साथसाथैे विग्रे भत्केका कोषहरुको मर्मत सम्भारमा प्रोटिन नभै हुँदैन। उत्पादन तथा सन्तानोत्पादन कार्यको लागि पनि प्रोटिन अत्यावश्यक हुन्छ। तोरीको पीना, भटमासको पीना, तिलको पीना, वदामको पिना, सूर्यमखी को पीना तथा तेलहन वालीका अन्य पीनाहरु, विभिन्न दाल तथा गेडागुडी र यसबाट प्राप्त हुने चोकरहरु आदी प्रोटीनका प्रमुख वनस्पति जन्य श्रोत हुन भने माछाको सिध्रा, रगतको धुलो, आदी यसका प्रमुख पशुजन्य श्रोतहरु हुन्।

३. चिल्लो पर्दाथ (Fat)
पशु वस्तुमा चिल्लो पदार्थ (वोसो) ले संचित शक्तिको रुपमा काम गर्दछ। शरीरमा शक्ति वोसोको रुपमा संचित भएर बसेको हन्छ। चिल्लो पदार्थ शक्तिको राम्रो स्रोत हो। यसले कार्वोहाइड्रेटको तुलनामा २.२५ गुणा बढी शरीरलाई शक्ति प्रदान गर्न सक्दछ । बोसो, घ्यू, तेल आदी यसका प्रमुख श्रोतहरु हुन्।

४. भिटामिन (Vitamin)
भिटामिन शारीरिक वृद्धि, रोग प्रतिकारात्मक क्षमताको विकास, प्रजनन् क्षमताको विकास, पाचन प्रकृया एवं उत्पादन वृद्धिको लागि भिटामिनको प्रमुख भूमिका रहन्छ । हरियो घाँसपातहरु, बजारमा उपलब्ध हुने खनिज भिटामिनको समिश्रणहरु जस्तो एग्रीमिन फोर्ट वा कन्सिमिन वा मिनामिल आदी यसका प्रमुख श्रोतहरु हुन्।

५. खनिज (Mineral)
शारीरिक वृद्धि र हड्डीको निर्माणको लागि खनिज तत्वहरु नभै हुँदैन । प्रजनन् क्षमताको विकास, पाचन प्रकृया एवं उत्पादन वृद्धिको लागि पनि खनिजको प्रमुख भूमिका रहन्छ । हरियो घाँसपातहरु, नुन, हड्डी चुर्ण, बजारमा उपलब्ध हुने खनिज भिटामिनको समिश्रणहरु जस्तो एग्रीमिन फोर्ट वा कन्सिमिन वा मिनामिल आदी यसका प्रमुख श्रोतहरु हुन्।

६. पानी (Water)
पशु वस्तुको शरीर ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ। पानीले पशु वस्तुले खाएको खाना पचाउने, पचेको खानालाई शरीरको विभिन्न अंगहरुमा पु¥याउने र विकार वस्तुहरु शरिरबाट निकाल्ने काम गर्दछ।

गाँउघरमा सन्तुलित दाना बनाउने तरिका

सन्तुलित दाना बनाउन, कार्बाेहाईड्रेट शक्तिका श्रोतहरु जस्तैः मकै, चोकर, ढुटो, गहुं, सखर, जौं, कोदो, जै आदी प्रोटिनका श्रोतहरु जस्तैः तोरीको पीना, भटमासको पीना, तिलको पीना, बदामको पिना, सूर्यमखीको पीना तथा तेलहन वालीका अन्य पीनाहरु, विभिन्न दाल तथा गेडागडी र यसबाट प्राप्त हुने चोकरहरु भिटामीन र खनिजजन्य पदार्थहरु जस्तैः नून, एग्रीमीन फोर्ट, मिनामिल, कन्सीमिन, आदिको जरुरत पर्दछ। यीमध्ये एग्रीमिन फार्ट, मिनामिल, कन्सीमिन जस्तैः खनिज तथा भिटामिनजन्य पदार्थहरु गाउँघरमा सजिलै उपलव्ध हुँदैन। यदि  भैँसी तथा पाडापाडीहरुलाई मौसम अनुसारको घाँस प्रशस्त खुवाउने गरेको छ भने खनिज पदार्थ र भिटामिनहरु धेरै हदसम्म त्यसैबाट पूर्ति हुन्छ। प्रोटिन र कार्वाेहाईड्रेटका श्रोतहरु र नून गाउँघरमा नै सजिलै पाईन्छ । मकै वा चोकर मात्रै वा पीना मात्रै खुवाउनु दाना सन्तुलन तथा आर्थिक दृष्टिकोणले पनि उपयुक्त र फाईदाजनक हुँदैन। त्यसैले मकै, चोकर, ढुटो, गंहु, जौ, जै, कोदो जस्ता कार्वाेहाईड्रेटका श्रोतहरु मध्येबाट तीन खण्डको दुई खण्ड अर्थात ६५ देखि ६८ प्रतिशत र प्रोटिनका श्रोतहरु जस्तैः तोरीको पीना, भटमासको पीना, तिलको पीना, वदामको पिना, सूर्यमखीको पीना तथा तेलहन वालीका अन्य पीनाहरु, विभिन्न दाल तथा गेडागुडी र यसबाट प्राप्त हुने चोकरहरु मध्येबाट तिन भागको एक भाग अर्थात ३० देखि ३३ प्रतिशत मिसाएर गाउँघरमै सन्तुलित दाना तयार गर्न सकिन्छ । यसरी बनाईएको ९८ प्रतिशतको मिश्रणमा एक प्रतिशत खाने नून, एक प्रतिशत खनिज भिटामिनको सम्मिश्रण (एग्रीमिन फार्ट वा कन्सिमिन वा मिनामिल) मिलाएर १०० प्रतिशतको सन्तुलित दाना बनाउन सकिन्छ।

युरिया मोलासेस ब्लकको प्रयोग

उग्राउने पशुहरुलाई चटाउने युरिया, मोलासेस र विभिन्न मिनरल मिसाई तयार गरिएको ईटा आकारको ब्लकलाई युरिया मोलासेस मिनरल ब्लक भनिन्छ। घाँसको अभाव भएको समयमा र खासगरी हिउँदे सुख्खायाममा (पौष देखि वैशाखसम्म) उग्राउने पशुहरु जस्तैः गाई भैँसी तथा भेडा बाख्रालाई आहाराको कमि हुने गर्दछ। यस समयमा पराल, छवाली, कुनौरो, नल तथा ढोड जस्ता कम पौष्टिक तत्व हुने आहारा खुवाउने गरिन्छ । यस्ता पदार्थमा पशुलाई आवश्यक पर्ने पौष्टिक तत्वहरुको मात्रा एकदमै कम हुने भएकोले यस्ता आहाराले पशुहरुको दूध तथा मासुको उत्पादन घटाउछ । त्यसकारण पौष्टिक तत्वको हुने कमिलाई पुरा गर्न युरिया मोलासेस मिनरल ब्लकको प्रयोग गरी उत्पादन बढाउन सकिन्छ।

युरिया मोलासेस मिनरल ब्लककोे फाइदा

१.उग्राउने पशुहरुको पेटमा रहेको जीवाणुहरुको लागि आवश्यक थप शक्ति, प्रोटिन र खनिज तत्व युरिया मोलासेस मिनरल ब्लकले प्रदान गर्छ र फलस्वरुप यी जीवाणुहरुको संख्यामा व्यापक वृद्धि हुन्छ ।
२. यी जीवाणुहरुले रेशादार घासपात पचाउने ईन्जाइम उत्पादन गर्छन, जुन इन्जाईमले सुक्खा घाँस पराल जस्ता आहारालाई सजिलै पचाउछ र फलस्वरुप दुध र मासुको उत्पादन बढ्छ ।
३. कुनै खास समय पछि पेटमा भएका जीवाणुहरु मर्छन र आन्द्रामा पुग्छन् र यहाँ यी जीवाणुहरु पचेर पशुलाई उच्च गुणस्तरको प्रोेटिन तथा मिनरल उपलव्ध हुन्छ।

हाम्रो देशमा ग्रामिण क्षेत्रमा स्थानीय स्तरमा नै उपलब्ध हुन सक्ने खुदो (मोलासेस) संग युरिया, नुन, ढुटो आदि मिलाएर पशु बस्तुहरुको पौष्टिक आहार “मोलासेस युरिया ब्लक” बनाउन सकिन्छ । ३० के.जी.तौलको यस्तो मोलासेस ब्लक बनाउन निम्न पदार्थहरु मिसाउनु पर्दछ ।
१. मोलासेस  १५ के.जी
२. युरिया ३.० के.जी
३. नून १.५ के.जी
४. सिंमेन्द वा चुनढुङ्गा  ३.० के.जी
५. ब्रान ७.५ के.जी र साथमा थोरै पानी
जम्मा ३० के.जी
उपरोक्त अनुसारका वस्तुहरुलाई राम्ररी मिसाएपछि ब्लक बनाउने प्लाष्टिक सिटमा केही दिनसम्म राखी कडा हुन दिनु पर्दछ । यसरी केही समय पनि कडा हुन्छ र पशुलाई
चाट्नको लागि दिन सकिन्छ।

परालमा युरियाको उपचार

परालमा युरियाको उपचार गरेर पोषक तत्वको बृद्धि गर्न सकिन्छ र यसका लागि प्रति १०० के.जी. पराललाई उपचार गर्न ४ के.जी. का दरले युरियाको व्यवस्था गर्नु पर्दछ। युरियाबाट परालको उपचार गर्नका लागि एउटा बाकस जस्तो संरचना बनाउनु पर्दछ र त्यसमा थोरै थोरै गर्दै पराल राख्नु पर्दछ। त्यसपछि युरियालाई पानीमा घोल्ने र बाकसमा राखिएको परालाई युरिया पानीले भिजाउँदै जानुपर्दछ । यही क्रमले सबै पराल भिज्ने गरी युरियाको घोल छरेर त्यसलाई सात दिनसम्म रहन दिनुपर्दछ । यसरी उपचार गरिएको परालमा पौष्टिक तत्व बृद्धि भएको हुन्छ र यस्तो पराल पशुलाई खान दिँदा फाइदा हुन्छ।

साइलेज

हरियो घाँसलाई खाडलमा खाँदेर अमिल्याई राखिएको (फर्मेण्टेशन) गरिएको घाँसलाई साइलेज भनिन्छ। यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने हुँदा साइलेजलाई गुन्द्रुक घाँस वा सिन्की घाँस पनि भन्न सकिन्छ। वर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमी भएको बेलामा पशुहरुलाई खुवाई बढी उत्पादन लिन साइलेज बनाइन्छ। हरियो घाँसमा भएको पशुहरुलाई चाहिने पौष्टिक तत्वहरु साइलेजमा पनि लगभग कायमै रहने भएको हुंदा हरियो घाँस जत्तिकै रसिलो र पोषिलो हुन्छ।

१. साइलेज बनाउन उपयुक्त घाँसहरु

साइलेज वर्षायाममा प्रशस्त हुने मकै, ज्वार, टियोसेण्टी, बोडी, नेपियर आदि तथा स्थानीय कुनै पनि घासबाट बनाउन सकिने भए तापनि प्रोटीन भन्दा कार्बोहाइड्रेट बढी पाइने घाँसहरुबाट साइलेज बनाउन उपयुक्त हुन्छ।

२. असल साइलेजमा हुनुपर्ने गुणहरु

  •  राम्रो खालको साइलेज ढुसी नपरेको मिठो अमिलो बासना आउने हुनुपर्दछ।
  • राम्रो खालको साइलेजको रंग हरियो पहेंलो मिसिएको हुन्छ ।
  •  राम्रो साइलेजको अम्लियपन ३.८ देखि ५ सम्म भएको हुनुपर्छ।
  • साइलेज बनाउँदा उत्पादन हुने विभिन्न अम्लहरुमा ल्याक्टीक अम्लको तुलनामा अन्य अम्लको उत्पादन ज्यादै कम हुनुपर्दछ । अन्य अम्लहरु एसिटिक, प्रोपियोनिक र ब्युटाइरिक एसिड हुन्छन् । व्युटाइरिक एसिड बढी हुने हुँदैन यसले नराम्रो बासना उत्पादन गर्दछ । साइलेज भिजेमा यस्तो अम्ल उत्पादन हुन्छ। 

३. साइलेजका लागि घाँस काट्ने उपयुक्त समय

साइलेज बनाउनको लागि घाँस उपयुक्त समयमा काट्नुपर्दछ। यदि घाँसलाई उपयुक्त समयमा काटिएन भने साइलेजको उत्पादन तथा गुणस्तरमा फरक पर्न जान्छ। वर्षायाम तथा हिउँदमा प्रशस्त मात्रामा उत्पादन हुने घाँसहरुको साइलेज बनाउनको लागि काट्ने उपयुक्त समय मकै, जै, ज्वारमा गेडामा दूध पसेको बेला र टियोसेण्टीमा ५० प्रतिशत बोटमा फूल फुलिसकेपछि र स्थानीय घाँसहरुलाई फूल फुल्ने बेलामा काट्न उपयुक्त हुन्छ।

४. साइलेज बनाउने तरिका

  • खाडलको एक क्युबिक फिटआयतनमा करिब १८ के.जी. साइलेज अटाउने हुँदा सो अनुसार हिसाब गरी खाडलको आकार बनाउनु पर्दछ।
  • साइलेज बनाउनको लागि घाँसमा ६५ देखि ७० प्रतिशत पानी हुनुपर्दछ। तर वर्षायाममा हुने घाँसमा लगभग ८० प्रतिशत जति पानी हुने हुनाले घाँसमा पानीको मात्रा ६५ देखि ७० प्रतिशतमा झार्न घाँसलाई एक दिनभरी ओइलाउनु पर्दछ।
  • ओइलाएको घाँसलाई ३ देखि ४ इन्चको टुक्रा बनाउनुपर्छ। खाडलको चारैतिर पाएसम्म प्लाष्टिक नभएमा सुकेको घाँसपात केराको पात वा अन्य पात राम्ररी मिलाएर अ‍ोछ्याउनु पर्दछ।
  • ओइलाएर टुक्रा पारेको घाँसलाई खाडलमा हाल्दै बेसरी भारी चिजले खाद्नुपर्दछ र भरसक त्यसै दिन भरिसक्नुपर्दछ।
  • यदि खाडल एकै दिनमा भर्न सकिएन भने बेलुका काम सकिएपछि खाडललाई प्लाष्टिकले राम्ररी छोपेर राख्नुपर्दछ जसले गर्दा वर्षाको पानी खाडलभित्र नपरोस्।
  • खाडल खनेको जमीनको सतहभन्दा २ देखि ३ फिट माथिसम्म खाडलभरी भिरालो बनाएर प्लाष्टिकले छोप्नु पर्दछ। यसरी खाडलको मुखलाई भिरालो बनाउँदा वर्षादको पानी खाडलमा पस्न पाउँदैन।
  •  प्लाष्टिक माथि माटोले राम्रोसँग छोप्नुपर्दछ। सम्भव भएमा खाडल माथि छाना बनाएमा वेश हुन्छ।
  •  खाडलमा राखी खाँदेको २ महिनापछि साइलेज झिकेर खुवाउन सकिन्छ।

५. भैँसीलाई साइलेज खुवाउने तरिका

१. खाडलको एक छेउबाट माटो र प्लाष्टिक हटाउनु पर्दछ।
२. कुहिएको माथिल्लो पत्र फ्याक्नु पर्दछ।
३. प्रत्येक दिन ५ वा ६ इन्च जति साइलेज निकाली सकेपछि पुनः प्लाष्टिकले छोप्नु पर्दछ।
४. बानी नपरेका पशुहरुले सुरुसुरुमा साइलेज त्यति मन लगाएर खाँदैनन् त्यसैले सुरुसुरुमा अलिअलि मात्र दिएर बानी बसाल्नु पर्दछ र पछि रुचाएजति दिन सकिन्छ।

६. साइलेज बनाउदा ध्यान दिनुुपर्ने कुराहरु

  •  साइलेज बनाउदा घाँसलाई ओइलाउन जरुरी छ तर धेरै सुक्नु दिन हुँदैन।
  • घाँसमा धेरै पानी भयो भने साइलेज कुहिन्छ।
  • घाँस धेरै सुकेमा खाडलमा घाँस राम्रोसँग खाँद्न मुश्किल हुन्छ र घाँसको बीचमा प्रशस्त हावा रहन गई कुहिने हुन्छ।
  • बर्षाको पानी खाडलभित्र नपस्ने गरी खाडल अग्लो ठाउँमा बनाउनुपर्दछ। खाडलमा पानी वा हावा पस्यो भने साइलेज कुहिने हुन्छ।
  •  खाडलको चारैतिर प्लाष्टिक वा पात ओछ्याई घाँसलाई सिधै माटोको सम्पर्कमा आउन दिनुहुंदैन । यदि घाँस माटोको सम्पर्कमा आएमा साइलेज कुहिन्छ।
  • खाडलभित्रको घाँसलाई राम्ररी खाँदी भित्रको हावा निकाल्नुपर्दछ। हावा रहित वातावरणमा घाँसमा रहेको गुलियो पदार्थलाई ल्याक्टिक अम्लमा परिवर्तन गर्ने सूक्ष्म जिवाणुहरुको वृद्धि हुन्छ।
  •  घाँस राम्रोसँग खाँद्न सकियोस भन्नाका लागि  खाडलको मुख पिँध भन्दा चौडा बनाउनु पर्दछ। 

७. साइलेजहरुको किसिम

  • पिट साइलो,
  • ट्रेन्च साइलो,
  • बंकर साइलो (पशु विकास फार्म पोखरामा भएको)
  • टावर साइलो
  • थोरै पशु राख्ने कृषकले सानो प्लाष्टिक ब्यागमा पनि साइलेज बनाउन सक्छन्।

सानो प्लाष्टिक ब्यागमा साइलेज

एउटा मात्र दुहुना भैँसी पाल्ने कृषकले ठूलो परिमाणमा साइलेज बनाउन सम्भव नहुने हुनाले त्यस्ता कृषकहरुले सानो प्लाष्टिक (हाइडेन्सीटी प्लाष्टिक) ब्यागमा साइलेज बनाएर राखि जाडोको मौसममा हरियो घाँसको कमि हुने हुनाले त्यस्तो बेलामा आफ्ना पशुलाई खुवाउन सक्छन्। हरियो घाँस प्रशस्त हुने बेलामा बढि भएको घाँस संकलन गरेर साइलेज बनाउन सकिन्छ। यो कार्य घरपरिवारका सदस्यबाट नै गर्न सकिने भएकोले यस्को लागि अतिरिक्त ज्यामिको आवश्कता पर्दैन।

सानो प्लाष्टिक ब्यागमा साइलेज बनाउने तरिका

  • खेतबारीबाट हरियो घाँस संकलन गरेर ल्याई च्यफ कटरले सानो टुक्रा बनाउनु पर्छ।
  • यसरी टुक्रा पारेको ५ के.जि हरियो घाँसलाई सानो प्लाष्टिक ब्यागमा प्वाल नपर्ने गरि सावधानी पुर्वक राखेर ब्यागको हावा बाहिर निकाल्न हातले थिच्नु पर्छ।
  • हावा निस्केपछि प्लाष्टिक ब्यागको घाँटि बटारेर कसेर डोरोले बाँध्नु पर्छ। 
  • त्यसपछि प्लाष्टिक ब्यागको मुन्टो तल पटि पारेर पुन अर्को (दाश्रो) प्लाष्टिक ब्याग भित्र राखी ब्याग को मुख कसेर बाँध्नु पर्छ। ब्यागमा हावा छिरेमा साइलेज बिग्रने हुनाले यस्तो संभावना कम गर्न सो ब्यागको मुख तलपटि पारेर फेरी तेश्रो प्लाष्टिक ब्याग भित्र राखी ब्याग को मुख कसेर बाँध्नु पर्छ।
  •  त्यसपछि ति घाँसले भरिएको ब्यगहरुलाई मुसाले नोक्सानि गर्न नसक्ने गरि सुरक्षित ठाउँमा राख्नु पर्छ। यसरी राखेको घाँसको ब्यगमा एक महिना पछिनै साईलेज तयार हुन्छ। साइलेज ब्याग खोल्दा सावधानी पुर्वक खोल्नु पर्छ र दैनिक एक ब्याग साइलेज एउटा दुहुना गाई भैँसीलाई अन्य दानाको साथ खुवाउनु सकिन्छ । दुईवटा प्लाष्टिक ब्याग पुन साइलेज बनाउन प्रयोग गर्न सकिन्छ।

साइलेजको गुणस्तर थाहा पाउने तरिका

क. रङ्गः साधारणतया साइलेजको रङ्ग फिका पहेँलो हुनु राम्रो गुणस्तरको संकेत हो। यदि साइलेजको रङ्ग कालो खैरो वा कालो हरियो पाईएमा कमसल गुणस्तरको भनि बुझिन्छ।

ख. बासनाः अम्लियपन वा पिठो अमिलो बासना आउनु हुनु राम्रो गुणस्तरको संकेत हो। तर गन्हाउने वासना आएमा कमसल गुणस्तरको मानिन्छ।

ग. स्वादः यदि साइलेजको स्वाद अमिलो वा मुखमा राख्न सकिन्छ भने त्यस्तो साइलेजलाई राम्रो मानिन्छ । तर साइलेजको स्वाद तितो भइ मुखमा राख्न नसकिने भएमा कमसल गुणस्तरको मानिन्छ।

घ.स्पर्स गरेरः साइलेजलाई हातमा राखेर कसेर मुठि पारी खोल्दा बिस्तारै फुटेर दुई टुक्रा बनेमा राम्रो गुणस्तरको मानिन्छ । यदि साइलेज छुट्टिएर सानो सानो टुक्रा बनेमा साइलेजमा पानीको मात्रा कम भएको र यदि पानी चुहिएमा चिस्यानको मात्रा निकै बढि भएको बुझिन्छ। 

हे बनाउने

१. हे बनाउने तरिका

 घाँसको पौष्टिकता र उत्पादनलाई कम हुन नदिई उपयुक्त समयमा हरियो घाँस काटेर घाम वा छायामा सुकाई सुरक्षित गरी राखेको सुकेको घाँसलाई हे भनिन्छ। घाँसको किसिम अनुसार यसलाई लेग्युम हे, नन लेग्युम हे र मिश्रित हे भन्न सकिन्छ। हे बनाउनका लागि नरम खालको डाँठ हुने घाँस उपयुक्त हुन्छ। जस्तै दिनानाथ, जै, बरसिम, भेच, बोडी, लुसर्न, गिनी, स्टाइलो, मोल्यासेस, सिग्नल, सिराट्रो, सटेरिया आदि । लगभग १० प्रतिशत जति फूल फूल्ने बेलामा घाँस काटेर घाममा सुकाउनु पर्दछ। पानीमा नभिज्ने र छिटो सुक्ने गरी बनाएको हे राम्रो गुणस्तरको हुन्छ।

२. हे बनाउनको लागि उपयुक्त घाँसहरु

हे बनाउनको लागि पातलो डाँठ भएका खास गरेर कोसे तथा अकोशे घाँसहरु उपयुक्त मानिन्छन्। जस्तै जै, बर्सिम, लुसुर्न, बाडो, सिमी तथा स्थानीय नरम घाँसहरु। व्यवसायिक फार्ममा यस्ता घाँसहरुको
खेति गरिन्छ। मोटो डाँठ भएका घाँसहरु मकै ज्वार, बाजरा आदिलाई राम्रोसँग थिचेर टुक्रा बनाएर हे बनाउन सकिए तापनि यिनीहरु साइलेज बनाउन नै उपयुक्त हुन्छन्। 

३. हे बनाउन घासको उपयुक्त अवस्था

कलिलो अवस्थाको घाँसमामा पौष्टिक तत्वहरु अधिकतम मात्रामा हुने तर घाँस नपर्ने हुन्छ। घाँस छिप्पिदै जाँदा पौष्टिक तत्व कम हुँदै जान्छ। त्यसैले हे बनाउँदा घाँसलाई त्यतिखेर काट्नु पर्दछ जतिबेला हरियो घाँसको उत्पादन र त्यस्मा पाइने पौष्टिक तत्वको राम्रो सन्तुलन भएको हुन्छ। हे बनाउनको लागि घाँस फुल्नुभन्दा केही अगावैमा राम्रो हुन्छ।

४. व्यवसायिक फार्ममाः हे बनाउने तरिका

  • वर्षायाम वा हिउदमा पाइने हरियो घाँसलाई अलिअलि फुल्न लागेको बेलामा काट्नुपर्छ।
  • काटेको घाँसलाई ३ देखि ४ दिन घाममा सुकाउनुपर्दछ । दिनको ३,४ पटक सुकाएको घाँसलाई ओल्टाई पल्टाई गर्नुपर्दछ यसले दुवैतिर राम्रोसँग सुक्ने हुन्छ।
  •  घाँसमा पानीको मात्रा १५ देखि २० प्रतिशतमा झरेपछि हे तयार हुन्छ।
  • तयार भएको हे हरियो रंगको र मिठो बास्नायुक्त हुनु पर्दछ। हे हरियो भएमा क्यारोटिन नामक तत्व पाइन्छ जसबाट शरीरमा भिटामिन ए आपूर्ति हुन्छ।
  • तयार भएको हेलाई संकलन गरी बिटा बाधेर सुरक्षितसाथ भण्डारण गर्नु पर्दछ।

५. हे बनाउदा ध्यान दिनु पर्ने बुदाँहरु

  •  हे मा १५ देखि २० प्रतिशत मात्र पानीको मात्रा हुनुपर्दछ। हे बढी सुक्यो भने घाँसपात धूलो हुने र पात झर्ने भई पशुहरुले खान रुचाँउदैनन्। २० प्रतिशतभन्दा बढी पानीको मात्रा रहेमा ढुसी लाग्ने हुन्छ।
  •  बिउ वा दाना लागिसकेको घाँसबाट हे बनाउदा घासमा पौष्टिक तत्व ज्यादै कम हुन्छ ।
  •  हे सुकाउदा एकापट्टी मात्र धेरै बेरसम्म सुकायो भने पातहरु झर्छन्। घाँसको डाँठमा भन्दा पातमा बढी पौष्टिक तत्व पाइने हुदा पातलाई झर्नबाट बचाउन दिनको ३ देखि ४ पटकसम्म पल्टाउनु पर्दछ।
गाँउघरमा हे बनाउने तरिका

श्रावण देखी असोजसम्म प्रशस्त मात्रामा घाँस पाईने हुनाले सो अवधीमा भैँसी पनि चिल्ला र स्वस्थ देखिन्छन्। तर फेरी जाडो मौसम सुरु भएपछि पुन आहाराको कमि हुन जान्छ र त्यस्तो मौसम अनुसारको आहारा उपलब्धताको खाडललाई हे बनाएर पुर्ति गर्ने चलन छ। नेपालको उच्च पहाडि भेगमा घाँस बढि उत्पादन भएको बेलामा संकलन गरी घाममा सुकाएर हे बनाउने चलन छ। घाँसको संकलन मंसिर महिनामा गर्ने चलन भएकोले त्यसबेलामा घाँस छिपिएर सुकिसकेको हुन्छ। त्यसकारण यस किसिमले बनाएको हे पराल जस्तै हुन्छ र धेरै मात्रामा पौष्टिक तत्व नास भएको हुन्छ।आफुलाई घाँस सुकेको लागेपछि हे लाई पराल जस्तै गरी रुखमा टौवा बनाई राख्ने चलन छ। हे बनाउने घाँसलाई फूलफुल्ने समयमा नै संकलन गरी हे बनाएर राख्न सकेमा पौष्टिक तत्व नास हुन पाउने थिएन र पोसिलो हे भैँसीलाई उपलब्ध हुने थियो।

हेरचाह

दुधालु भैँसीको हेरचाह

दुधालु  भैँसीको हेरचाह गर्दा तिनीहरुलाई खुवाउनु पर्ने दानापानी, घाँस परालको ध्यान पु¥याउनु पर्दछ। दुधालु पशु स्वस्थ रहन र दूध उत्पादन गर्नको लागि विभिन्न पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ। त्यस्ता पौष्टिक तत्वहरु पशुलाई दैनिक खुवाईने दाना र घाँसपातबाट उपलब्ध हुनु पर्दछ। अन्यथा, उनीहरुको शरीरमा संचित भएर रहेका तत्वहरु दूध बन्ने प्रक्रियामा प्रयोग हुनगई पशुको शरीर कमजोर हुन जान्छ। यसले दूध उत्पादन राम्रोसँग नहुने पशुले समयमा राँगो नखोज्ने समस्या पैदा भई आर्थिक हिसाबले किसानलाई नोक्सान पर्न जान्छ। दुधालु पशु स्वस्थ रही सन्तोषजनक रुपमा दूध उत्पादन लिनको लागि व्यवस्थापनसँग सम्बन्धित निम्न कुराहरुमा ध्यान दिनुपर्दछ।

  •  दूध दुहुँदा ठीक तरिकाले दूध निथ्रने गरी दुहुनु पर्दछ, जसबाट कल्चौडोमा दूध बाँकी नरहोस्। दूध दुहुने बेला साबुन पानीले हात र कल्चौडो धोएर थुन एवं कल्चौंडो सफा पार्नु पर्दछ। यसबाट थुन र  कल्चौडोमा संक्रमण हुनबाट बचाउन सकिन्छ।
  •  धेरै दूध दिने उन्नत जातका भैँसीहरुलाई घाँस र परालबाट मात्र पौष्टिक आहारा नपुग्ने हुँदा सन्तुलित दाना दिनुपर्दछ। स्थानीय स्तरमा उपलब्ध हुन सक्ने विभिन्न पदार्थहरुको साथमा खनिज ततवहरु मिसाई घरमा नै सन्तुलित दाना बनाउन सकिन्छ।
  • दूध दुहुँदा पशुलाई तर्साउने, पिट्ने र भड्काउने गर्नु हुँदैन। दूध दुहुँदा हातको मुठि बनाएर थुन निचोरेर दुहुँनु पर्छ, हत्केलाको र बुढि औलाले थुन निचोरेर दुहुँनु हुदैन। दूध दुहुँने मानिसको हातको औंलाको नङ काटेको हुनुपर्छ।
  •  दूध दुहुँदा थुन धोएर पुछ्ने अनि छिटो छिटो दुहुने गर्नुपर्दछ। थुनलाई पानीले धुदाँ दूध पग्रिन मद्दत गर्छ। थुन धोएर सकेसम्म दूध पगारेको ७ मिनेट भित्र दूध दुहि सक्नुपर्दछ । नत्र सबै दूध दुहुन नसकिने हुन्छ।
  •  दुधालु भैँसीलाई व्याएको करिब २ महिना नपुगी रागो लगाउने वा कृत्रिम गर्भाधान गराउने गर्नु हुँदैन । यसबाट पशुको स्वास्थ एवं शारिरीक अवस्थामा नराम्रो असर पर्छ र दूध उत्पादन घट्दछ।
  • दूधको लागि पालिने  भैँसीको दूध उत्पादन क्रमशः पहिलो तथा पाँथो वेतदेखि क्रमशः घट्दै जाने हुन्छ । तसर्थ ५ वा ६ वेत पछि हुन्छ।
  • दूध उत्पादनको स्तर पशुलाई गरिने स्याहार सुसार र दाना पानीमा पनि भर पर्दछ।

क. आहारा व्यवस्थापन

दूधालु पशुहरुलाई स्वस्थ रहन र दूध उत्पादनको लागि गुणस्तरयुक्त दानाको आवश्यकता पर्दछ। दुहुना भैँसीको लागि शारीरिक तौलको २.५–३ प्रतिशतसम्म सुख्खा पदार्थ आवश्यक पर्दछ। हामीले पशुवस्तुहरुलाई खुवाइने घाँसपातमा सरदर २० प्रतिशत सुख्खा पदार्थ र ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ। यस हिसाबले एउटा ३५० के.जी. तौल भएको पशुलाई ७–१० के.जी. जति सुख्खा पदार्थ चाहिन्छ र यसका लागि ३५ के.जी.घाँसपात खान दिनुपर्दछ। ३५ के.जी.घाँसको २० प्रतिशत सुख्खा पदार्थ भन्नाले ७ के.जी. हुन आँउछ र बाँकी ८० प्रतिशत (२८ के.जी.) अंश पानी पर्न आउँछ। एउटा स्वास्थ पशुलाई प्रतिदिन ४५ लिटर पानी दिनुपर्ने हुन्छ । माथिको हिसाब हेर्दा पशुलाई औसत २८ लिटर पानी दैनिक रुपमा पशुलाई दिनुपर्ने हुन्छ। यसरी पशुलाई कति पानी दिने भन्ने कुरा खाद्य पदार्थमा रहेको सुख्खा पदार्थमा भर पर्दछ।

व्याउने भैँसीको हेरचाह

भैँसीको व्यवसायको सफलता पशुहरुको हेरचाह एवं व्यवस्थापन पक्षसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गर्दछ। यो व्यवसायमा धेरै जोखिमहरु छन् र पशुपालन व्यवसायीले निकै सतर्कमा अपनाउनुपर्ने हुन्छ। भैँसी पालक कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा यसरी प्रष्ट्याउन सकिन्छ।

  • साधारणतया वाली गएको  ३१० दिनमा भैंसी व्याउने गर्दछन्। त्यसैले कृषकहरुले आफ्नो पशु व्याउने सम्भाव्य मिति याद गरी राख्नु पर्छ।
  • भैंसी व्याउने सम्भाव्य मिति भन्दा केही दिन अगाडि देखि पशुलाई थोरै समय हल्का हिँडडुल गराउनु राम्रो हुन्छ। यसो गर्नाले भैँसी व्याउने समयमा हुन सक्ने सम्भावित कठिनाइहरु जस्तैः बच्चा अड्किने, भण्डार फर्किने जस्ता समस्याहरुमा केही हदसम्म कमी आउँछ। 
  • व्याउने माउलाई व्याउनु भन्दा २–३ हप्ता अगाडि देखि बथानबाट अलग राख्नु पर्दछ। यस्ता पशुहरुलाई सार्वजनिक ठाँउमा छोड्नु हुँदैन नत्र आपसमा जुधेर तुहिने डर हुन्छ।
  • भैंसी व्याउने मिति भन्दा करीब २ महिना अगाडि देखि दूध दुहुन बन्द गर्नु पर्दछ। यसो गर्नाले माउको शरीर कमजोर नहुने एवं आगामी वेतको दूध उत्पादन बढ्नुका साथै गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति समेत हुन्छ। दूध दुहुन बन्द गर्दा एकै पटक नगरी क्रमिक रुपमा गर्नुपर्छ जस्तै एक छाक दुहुने, दिन बिराएर दुहुने गर्दै बन्द गर्नु पर्छ। 
  • भैंसी व्याउनु भन्दा एक हप्ता अगाडि देखि अलग्गै व्याउने कोठामा राख्नुपर्दछ। यदि गोठमा अलग्गै कोठा छैन वा सानो संख्यामा मात्र पशुहरु पालिएका छन् भने त्यही गोठलाई राम्रोसँग सफा गरेर फिनाइल पानी वा चून छर्केर ओभानो सोतर राखी व्याउने माऊलाई राख्ने व्यवस्था मिलाउनु पर्दछ। व्याउने पशुलाई राख्ने गोठको भूँई अगाडि पट्टी होचो र पछाडि केही अग्लो हुने गरी बनाउनु पर्दछ। यसो गरेमा भैँसीमा भण्डार फर्कने समस्या कम हुन्छ।
  •  व्याउने अवस्थाका  भैँसी राखिने गोठ हावादार एवं सूर्यको प्रकाश आउने किसिमले बनाइएको हुनु पर्दछ ।
  •  व्याउने समयावधि पुगेको अवस्थामा कल्चौडो टन्न परेको, सूत फुलेको र पुच्छरको फेदमा खाल्डो परेको हुन्छ । यसलाई पौंठा बसेको भनिन्छ।
  • शारीरिक अवस्था राम्रो भएका पशुहरु स्वस्थकर अवस्थामा विना कुनै सहयोग व्याउन सक्दछन् । यद्यपि व्याउने समय भएको बेला सहयोगको लागि तयार भएर बस्नु बेस हुन्छ ।
  •  व्याउने समय पुग्नु केही दिन अगाडिदेखि पशुलाई हल्का नरम किसिमको मिलेसम्म कोसे घाँस दिनुपर्दछ र दाना केही कम दिनुपर्दछ जसले गर्दा कव्जियत हुन पाउँदैन र व्याउन सजिलो हुन्छ साथै भण्डार फर्कने डर पनि कम हुन्छ।
  •  साधारणतया व्याउने व्यथा लागेको ३–४ घण्टामा माउ पशु व्याईसक्नु पर्दछ। यदि यो समयमा व्याउन सकेन भने डिस्टोकिया भएको हुन सक्दछ। यस्तो समयमा पशु चिकित्सक एवं प्राविधिकको सहयोग लिनु आवश्यक हुन्छ ।
  •  व्याएको ३–४ घण्टामा साल झर्नुपर्दछ। यदि ५–६ घण्टासम्म पनि साल झरेन भने तुरुन्त पशु चिकित्सकसंग सम्पर्क राख्नुपर्दछ।
  •  व्याएको पशुको साल नझरेसम्म पशुलाई एक्लै छोडेमा साल खाने डर हुन्छ । साल खाएमा दूध सुक्ने हुन सक्छ।
  • धेरै दूध दिने पशुहरुलाई मिल्क फिभर भन्ने रोग (सिताङ्ग) लाग्न सक्दछ। मिल्क फिभर हुने सम्भावना भएमा तुरुन्तै क्याल्सियम दिने व्यवस्था गर्नुपर्दछ। गर्भिणी अवस्थाको अन्तिम महिनातिर दानामा क्याल्सियम मिसाएर दिने गर्नुपर्दछ।
  • पशु व्याएपछि तुरुन्तै पाडा–पाडीहरुलाई पुछिदिने र माउको नजिकै चाट्न सक्ने गरी न्यायो ओभानो ठाउँमा राखी दिनुपर्दछ। व्याएको माउको सूत वरपर कल्चौडो पछाडिको भागमा सफा गरी पाडा–पाडीलाई दूध चुसाउने गर्नुपर्दछ। दूध चुसाउनु अघि सबै थुनबाट २–४ सिर्का दूध दुहेर फ्याँकि दिनुपर्दछ।
  •  पशु व्याउने वित्तिकै विगौती दूध दुहुनु पर्दछ र दूध दुहुँदा सबै दूध निखारेर दुहुनु पर्छ। यसले गर्दा थुनेलो हुन पाउँदैन ।
  • व्याएको माउलाई मन तातो खोले अथवा सख्खर र पानी मिलाएर खान दिनुपर्दछ। यसबाट भैँसीलाई तुरुन्त शक्ति प्राप्त भई स्वास्थ बन्न सहयोग पुग्दछ।

क. आहारा व्यवस्थापन

प्राणीलाई जीवित रहनको लागि आहाराको अति आवश्यक पर्दछ। भैँसीको लागि सामान्यतया प्रतिदिन जीवन निर्वाहको लागि डि.सि.पि.०.३ के.जी. र टि.डि.एन. ३.७ के.जी. का साथै क्याल्सियम २० ग्राम र फस्फोरस १५ ग्राम आवश्यक पर्दछ। यसको साथै हरियो घाँस ३० के.जी. भएमा शरीरलाई चाहिने पौष्टिक तत्व पुरा हुन सक्दछ। गर्भिणी पशुको लागि यस बाहेक सामान्यतया गर्भाधारण गरेको ६ महिना पुगेपछि भैँसीलाई थप दाना र प्रशस्त हरियो घाँस दिनुपर्दछ। यसबाट गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति हुन्छ र माऊ पनि स्वास्थ रहन्छ। दूध दिँदै गरेका  भैंसीको दूध सुकाउन दूध दुहुन छोडे पनि दैनिक २ के.जी. दानाको साथै पेटभरी नरम हरियो घाँस दिनुपर्दछ।

 

भर्खरै जन्मेका पाडा–पाडीको हेरचाह

पाडा–पाडी भन्नाले जन्मेदेखि ६ महिनासम्मको उमेरका पशुहरुलाई बुझाउँछ। यस उमेरका पशुहरुलाई हुर्काउने कार्य निकै जोखिमपूर्ण हुने गर्दछ। यो उमेरका पशुहरुको सरदर मृत्युदर निकै बढी हुने भएकाले हेरचाह गर्दा सतर्कता अपनाउनुपर्ने हुन्छ। साना  पाडा–पाडीको राम्रो स्याहार सम्भार हुन सकेमा मात्र पछि गएर राम्रो माऊ हुन सक्दछन्। त्यसैले यो उमेर समूहका पशुहरुलाई उचित तवरले हुर्काउन निम्न कुराहरुमा ध्यान दिनु पर्दछ।

  • जन्मेपछि पाडा– पाडीको छातिमा कडासँग समात्न वा पछाडिको खुट्टा समातेर उठाउन हुँदैन, यसले शरीरमा हानी गर्दछ ।
  •  पाडा−पाडी जन्मने बित्तिकै नाक मुखबाट जालो हटाई शरीर पुछिदिने र माउले चाट्न सक्ने गरी नजिकै राखी दिने गर्नुपर्दछ । माउले नचाटेमा सफा कपडाले यीनिहरुकोे शरीर पुछिदिनु पर्छ यसो गर्दा शरीर सफा हुनुको साथै शरीर रक्त संचार राम्रोसँग हुन जान्छ।
  • जन्मेको करिब १ घण्टाभित्रमा माउको कल्चौडो सफा गरी सबै थुनबाट २−४ सिर्का दूध दुहेर फ्याँक्ने र नवजात बच्चालाई विगौती दूध चुसाउनु पर्दछ।
  • भर्खर जन्मेको बच्चालाई दूध चुस्न सिकाउनको लागि आफ्नो हातको औंला मुखमा राखेर चुस्न दिनुपर्दछ । र यसरी औंला चुसाउदै विस्तारै कल्चौडोतिर लैजानुपर्दछ।
  • भर्खरै जन्मेको पाडा−पाडीको लागि विगौती दूध अनमोल आहार हो। विगौती दूधमा आवश्यकीय पौष्टिक तत्वहरु (प्रोटिन, चिल्लो पदार्थ र खनीज तत्वहरु) प्रशस्त मात्रामा हुन्छन्। साथै, यसमा रोग लाग्नबाट बचाउने तत्वहरु (Antibody) समेत प्रशस्त मात्रामा हुन्छन्। विगौती दूध खुवाउनाले नवजात शिशुमा रोगको प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रोगले असर गर्ने सम्भावना कम हुन्छ। तसर्थ विगौती दूध शरीरको तौलको १० जति खुवाउनु पर्छ।
  • भर्खरै जन्मेका  पाडा–पाडीहरुको नाभी ४ अंगुल जति छोडी सफा ब्लेड या कैंचीले काटी दिनुपर्दछ र डिटोल वा टिन्चर आयोडिन औषधि लगाउनु पर्दछ । यसले धनुष्टङ्कार रोग हुनबाट बचाउँछ।
  • पाडा–पाडी जन्मेको केही समयसम्म अलग्गै राख्नु पर्दछ। यिनीहरुको उमेर ८ हप्ता भएपछि समूहमा राख्न सकिन्छ।
  • जन्मेको १०–१५ दिन भएपछि पाडा–पाडीको सिङ्ग नउम्रने बनाउनुपर्दछ।
  • पाडा–पाडीलाई पहिचानको चिन्ह लगाउनु पर्दछ। 
कोरेली पाडीको हेरचाह

सामान्यतया १०–१२ महिनासम्म कोरेलीलाई भित्री गोठमा नै राखिन्छ। त्यसपछि विस्तारै बाहिर गोठमा निकालिन्छ। जन्मेको १५–१८ महिना उमेर पुगेपछि कोरेलीहरु बाली जाने हुन्छन्। बाली जाने कुरा कोरेलीको तौलसँग पनि सम्बन्धित हुन्छ। सानो जातको कोरेली भए २००–२२५ के.जी शारीरिक तौल र ठूलो जात भएमा २६०–२८० के.जी. तौल भएपछि मात्र बाली लगाउनु पर्दछ। राम्रोसँग आहारा र अन्य व्यवस्थापन पुगेको अवस्थामा १४ महिनाको उमेर देखि नै कोरेलीहरु बाली जाने हुन्छन् र २५–३० महिना उमेर हुँदासम्म बच्चा जन्माउन सक्छन्। पशुको जात, आहारा व्यवस्थापन र हावापानीको अवस्थाले कोरेलीको वृद्धि र विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। आहारा व्यवस्थापन कोरेलीलाई हरियो नरम घाँसको अलावा दैनिक २.५–३.० के.जी. दाना दिनुपर्दछ। कोरेली पाडा–पाडीको लागि निम्नानुसारको आहारा हुनु जरुरी हुन्छ।

 सुख्खा पदार्थ
(के.जी.)
 पाच्य प्रोटिन
(के.जी.)
 टि.डी.एन
(के.जी.)
 मेटाबोलिक
शक्ति (के.जी.)
 क्याल्सियम
(के.जी.)
 फस्फोरस
(के.जी.)
 ३.४  ०.३२  २.३  ८.४  ८  ६

स्वास्थ्य व्यवस्थापन

भैँसीको स्वास्थ्य

 रोगी भैँसी र निरोगी भैँसीमा भिन्नता

 निरोगी भैँसी  रोगी भैँसी
  • झट्ट हेर्दा फूर्तिला देखिन्छन्।
  • झट्ट  हेर्दा  झोक्रयाएको, चहलपहल गर्न त्यति नसक्ने देखिन्छ।
  • सामान्यतया उभिएको अवस्थामा टाउको शरीर भन्दा माथि उठेको हुन्छ।
  • टाउको शरीरको लेवल भन्दा तल झुकाएको हुन्छ।
  • कानहरु ठाडा वरपरको वातावरण तर्फ भैँसी सचेत र सजग भएको जस्तो देखिन्छ।
  • कानहरु लत्रेका र भैँसीले वरपरको वातावरणसँग कुनै प्रतिकृया नदेखाउने हुन्छ। 
  •  भैँसी धनीले बोलाउदा वा अन्य कुनै चाल गर्दा प्रत्यक्ष रुपबाट विभिन्न अभिनय तर्फ सकारात्मक व्यवहार देखाउँछ।
  • भैँसी धनीले बोलाउदा वा कुनै आवाज  तथा  साधनहरुद्वारा चहलपहल गराउन खोज्दा कुनै पनि चाल नगर्ने हुन्छ।
  • आँखा,  नाक,  मुख  तथा शरीरमा  बाहिर  कुनै  पनि किसिमको रोगको संकेतहरु देखिदैन।
  • आँखाबाट कचेरा बग्ने, मुखबाट र्याल, फिज काड्ने ,नाकबाट बाक्लो सिंगान निकाल्ने आदि गर्दछ।
  • मुख (थुतुनो) सधै पानी अथवा ओसिलो रहेको हुन्छ।
  • थुतुनो सुख्खा हुन्छ।
  • घाँस, दाना पानी रुचाएर खाने गर्दछ।
  • घाँस, दाना,पानीमा रुचि देखाउँदैन।
  • उग्राई रहन्छ वा पाउर मार्दछ।
  •  पाउर मार्दैन। उग्राउदैन।
  • साविक बमोजीम भैँसीले गोबर  दिसा गर्दछ।
  • गोबर पातलो, दुर्गन्धयुक्त हुन्छ। गोबरमा मासी मिसिएको वा आउ परेको जस्तो वा रगत मिसिएको देखिन्छ।
  •  पिसाब समयमै सामान्य किसिमले गर्दछ।
  • पिसाब पहेँलो वा रगत मिसिएको रातो देखिन सक्दछ र पिसाब गर्दा अप्ठयारो महसुस गर्न सक्दछ। 
  • शारिरीक तापक्रम, श्वास प्रश्वास गति साविक बमोजिम हुन्छ।
  • हिड्डुल गर्दा विना कुनै कठिनाई अवरोध महसुस नगरी खुल्ला रुपले सामान्य रुपमा हिड्डुल गर्ने गर्दछ।
  • ज्वरो आउेन, स्यास्या गर्ने , श्वास फेर्न गाह्रो भएको जस्तो देखिन्छ।
  •  राम्रोसँग उभिन तथा सन्तुलन मिलाएर हिड्न सक्दैन।
  • बाहिर शरीरमा घाउ, चोटपटक आदि केहि भएको हुँदैन।
  • शरीरमा घाउ चोटपटक आदि भएको हुन सक्छ।
  • शरीरको छाला नरम, चम्किलो र रौंहरु सफा देखिन्छन्।
  • छाला खस्रो, फुस्रो र रौंहरु फोहर र ठाडा ठाडा भएको देखिन्छन र छालामा रोगका लक्षणहरु देखिन्छन्।
  • बसेको  अवस्थामा  टाउको सिधागरी कान हल्लाउने र पुच्छर चलाई रहने गर्दछन्।
  • बसेको बेला टाउको भुईमा, छातीमा राखेर, अड्याएर राख्दछ र कान तथा पुच्छरको गति केहि पनि देखिदैन। कहिले काँही घाँटी तन्काउने नजिकमा कुनै आवाज दिएमा तर्सिने आदि गर्दछ। जस्तै टिटानस भएको खण्डमा यस्तो हुन्छ। 
  • गर्भिणी भैँसीहरु समय पुगेपछि बिना कुनै कठिनाई बच्चा जन्माउने साल खसाल्ने गर्दछन्। 
  • गर्भिणी भैँसीहरुमा समय नपुग्दै बच्चा तुहिने, बच्चा अड्किने तथा साल नखसाल्ने आदि हुन्छ।
  • शरीर सधैँ ऋृष्टपुष्ट देखिन्छ, दूध साविक रुपमा दिन्छ।
  • भैँसी क्रमिक रुपले दुब्लाउँदै जान्छ। दूध दैनिक रुपमा घट्दै जाने हुन्छ। 
  • घाँस दाना, पानी बाहेक अन्य चिजविजहरु खाने पानी प्रायः हुँदैन।
  • माटो चाट्ने, कपडा , काठ कागज आदि सुख्खा बस्तुहरु चपाउने (खाने) गर्दछन्। 
पशुको गोठमा स्वास्थ्य स्थितिको निरीक्षण

१. पशुको चाल चलन अध्ययन गर्ने।
२. पशुको आहार खाने प्रवृति हेर्ने। पशुले शरीरलाई चाहिने आवश्यक मात्रामा आहारा नखाएमा विरामी भएको छ की भनेर जाँच्न सकिन्छ।
३. पशुले दिशा पिशाब गरेको छ कि छैन हेर्ने गर्नुपर्दछ र गरेको भएमा कस्तो गरेको छ हेर्नु पर्दछ।
४. शरीरमा रक्त संचालन नियमित छ कि छैन , मुटुको गति र नाडीको चाल कस्तो छ विचार गर्ने।
५. पशुको शारीरिक तापक्रम सामान्य भए नभएको विचार गर्ने।
६. गाई भैँसी शरीर, छाला, रौं ऊन, म्युकस मेमव्रेनहरु हेर्नु पर्दछ । पशु विरामी भएमा यी कुराहरुमा सामान्य अवस्थामा भन्दा परिवर्तन भएको पाइन्छ।
यसरी निरीक्षण गर्दा स्वास्थ्य स्थितिमा कुनै गडबड भएको देखिएमा पशु चिकित्सकसँग सम्पर्क गरी सल्लाह लिनु पर्छ।

ज्वरो

परिचय

  •  हरेक पशुको आ–आफ्नो शारीरिक तापक्रम हुन्छ।
  • सामान्य अवस्थामा शरिरको तापक्रम समान्य नै हुन्छ तर विशेष अवस्थामा शरीरको तापक्रम सामान्य भन्दा केही बढ्छ जसलाई हामी ज्वरो भन्दछौ।
  • भैँसीको मलद्धारको तापक्रम  सामान्य तापक्रमः

                                     १ बर्ष मुनि- १०२ (डिग्री फरेनहाइट)

                                     १ बर्ष माथिको- १००.५ (डिग्री फरेनहाइट)

ज्वरोको कारण

ज्वरो धेरै कारणले आउन सक्छ। जस्तैः

  •   जिवाणु, विषाणु, फंगस, प्रोटोजोवा
  •  कुनै वाह्य तत्वको शरिरमा प्रवेश तन्तुहरुमा चोटपटक, अत्यधिक रक्तश्राव, हाड भाँच्चिनु आदि ज्वरोको कारण हुन सक्छन्।
  •   पानीको कमी भएको अवस्थामा दिइने सलाइनले पनि ज्वरो आउन सक्छ।
  •  मस्तिष्कको ट्यूमर, रक्तश्राव, चोटपटक आदि।
  •   शरीरमा पानीको कमीले एड्रिनलिन, थाइरोक्सिन, निकोटिन, क्याफिन जस्ता मस्तिष्क उत्तेजित गर्ने औषधि सेवन गर्दा।
  •  कुनै खास रोग जस्तै एन्थ्राक्स, साउने, आदिको कारणले लोकल संक्रमण जस्तैः घाउ, पिलो, चोटपटक आदि।

लक्षण

अ) प्रथम अवस्था

  •  जाडो हुने, जिउ काम्ने, झोक्राउने, दानापानी कम खाने, रौं ठाडो हुने,
  •   स्वास लामो लामो फेर्ने, कम्मर तन्काउने, पिसाव पहेलो हुने वाहिर छाम्दा ज्वरो नहुने आदि।

आ) दोश्रो अवस्था

  •  शरीर एकदम तातो हुने, काम्न छाड्ने,
  •   एकदमै झोक्रिने, कान लतारिने, आँखा रातो हुने, छिटो छिटो श्वास फेर्ने,
  •  थुतुनो सुख्खा हुने, दाना पटक्कै नखाने, वढि तिर्खाउने, दिशा कव्जियत, पिसाव थोरै फेर्ने आदि।

इ) तेश्रो अवस्था

  •   शरीरको तापक्रम पसिना काढेर सामान्य हुने, श्वास क्रिया पनि सामान्य हुने।
  •   थुतुनो अलि रसाएर आउने, पिसाबको रंग पनि सामान्य भएर जाने, कहिलेकाँही तापक्रम एकदम घटेर शरिर एकदमै चिसो हुने।
  •   यी अवस्था खतरनाक हुने गर्छ, पशुलाई शक हुन गई मर्न पनि सक्छ।

उपचार

  •  सामान्य ज्वरोमा ज्वरो कम पार्न औषधि जस्तै: वोलिन, डाइक्लोफेनिक, पारासिटामोल आदि सुई १ मि.लि. प्रति २५ के.जी. शारिरीक तौल अनुसार दिने वा वोलिन अक्सालजिन वोलस भैँसीलाई १ देखी २ गोली दिनमा २ पटक खुवाउने र साना पाडापाडीलाई आधा गोलि २ पटक खुवाउने।
  • ज्वरोको कारण पत्ता लगाई त्यसको उपचार गर्ने जस्तैः जिवणुको संक्रमणमा एटिवायोटिकको मात्रा मिलाई कम्तिमा छ दिनसम्म दिने। 
  • शक हुन लागेको ५ भने डेक्स्ट्रेज सलाइन नशावाट दिने डेक्सामेथासोनको प्रयोग गर्ने ।
  •  खान रुचाउने औषधि पनि दिन सकिन्छ । जस्तैः Digestovet 30 gm दिनमा २ पटक,  Ruchamax 15 gm  दिन २ पटक,  Pachoplus 2 चक्की दिनमा २ पटक आदि।
  •  एलर्जीको विरुद्धको औषधि जस्तैः  Avil, Zeet सुई ठूलो पशु ५ देखी १० मिलि मासुमा, साना पशु १ देखी २ मिलि मासुमा।

अन्य व्यवस्थापन

  • कहिले काही विशेष गरी घाममा राख्दा, धपेडी पर्दा, खोप लगाउंदा, भाइरसको संक्रमण हुंदा तापक्रम बढि आफै निको पनि हुन सक्दछ, त्यस्तो बेलामा भैँसीलाई छांयामा हावा चल्ने ठाउंमा राख्ने , प्रशस्त पानी खुवाउने आदि गर्नु पर्दछ।
  •  साउने रोगमा तीन दिन पछि ज्वरो आफै ठिक भएर पनि जान्छ।

 

खोरेत रोग (Foot and Mouth Disease)

परिचय

  •  यो विषाणुबाट हुने सरुवा रोग हो र यसलाई अंग्रेजीमा फुट एण्ड माउथ डिडिज (Foot and Mouth Disease) भनिन्छ।
  •  यो रोगले पशुको मुख र खुट्टामा घाँउ बनाउँछ।
  •   यो रोग एक पशुबाट अर्को पशुमा सजिलैसँग सर्न सक्दछ ।
  •  हाम्रो देशमा खोरेत रोग नियन्त्रण गर्नको लागि काठमाण्डौको बुढानिलकण्डमा खोरेत रोग नियन्त्रण शाखा स्थापना भएको छ।
  •   यो रोग स्थानीय पशुहरुलाई भन्दा उन्नत नश्लका पशुहरुमा बढीरुपमा देखा पर्दछ ।
  •   नेपालमा यो रोग हात्तिलाई समेत पाईएको कुरा हाम्रो पुराना वरिष्ठ पशु चिकित्सकहरुले बताएका छन्। नेपालमा मात्र नभएर यो रोग अझ एशियाका अन्य देशमा पनि समस्याको रुपमा छ।

रोगको कारण
यो रोग खास गरी निम्न प्रकारका विषाणुद्वारा लाग्दछ। यसका विभिन्न टाइपहरु छन् जस्तैः

  •  टाईप 'A'                 टाईप 'O'
  •  टाईप 'C'                SAT 'I'
  •  SAT 'II'                SAT 'III'
  •  ASIA - I
  • विषाणुबाट लाग्ने रोग भएकोले यो रोग हावा रोगी पशुको दाना पानी,घाँस चरन आदिको लसपसबाट एक अर्को पशुमा तुरुन्तै सर्दछ।
  • यस रोगको सर्ने अवधि १देखि ७ दिनसम्म हुन्छ ।

मुख्य मुख्य लक्षणहरु

  •   पशुलाई एक्कासी ज्वरो करिव १०४ देखि १०६ डि.फ. सम्म पुग्दछ।
  •  पशु झोक्राउने, खुट्टामा घाउ भएको छ भने खोच्चाउने, हिडडुल गर्न नसक्ने र साथै घाउमा झिंगाहरु घुमेको समेत देखिन सक्छ।
  •   पशुले खाने कुरा खाँदैन, मुखमा घाउहरु देखिन सक्दछ, मुखबाट ¥याल काड्न थाल्दछ।
  •   पशुको ओठ गिंजाहरुमा खटिरा आउँछ र  यसरी घाउ बढ्दै गएमा खुट्टा, कल्चौडो र थुन समेतमा पनि घाउहरु देखा पर्न थाल्दछ।
  •   यदि रोगि पशु ब्याउने भएमा गर्भ पतन , तुहिन पनि सक्दछ।
  •   स—साना पाडा, पाडी  रोगको प्रकोप बढेमा मर्न पनि सक्दछन्। 
  •  रोगले बढी आक्रमण गरेमा र समयमा उपचार नगरेको खण्डमा मुख, गिजा, खुट्टा, कल्चौडो आदिको खटिरा फुट्दछ र घाउ वन्न सक्दछ र त्यस्तै पशुको खुर पनि भर्न सक्दछ।

रोगको निदान

  •   माथिका लक्षणहरु हेरेर सजिलै यहि रोग रहेछ भनि पत्ता लगाउन सकिन्छ।
  •  यसको प्रयोगशालामा जाँच गरेर कुन प्रकारको विषाणु ,भाइरसबाट यो रोग भएको हो भन्ने समेत पत्ता लगाउन सकिन्छ।

उपचार

  •  विषाणुबाट लाग्ने रोग भएको कारणले लक्षण अनुसार उपचार गर्नु राम्रो हुन्छ।
  •  बढी ज्वरो भएमा ज्वरो घटाउने औषधिहरु दिने, घाउहरु निको पार्न र अन्य जिवाणुहरुले आक्रमण नगरोस भनेर एन्टीबायोटिकको मात्रा मिलाई प्रयोग गर्ने।
  • मुखको घाउ फिटकिरी तथा पोटास पानीले सफा गर्ने ,खुट्टा कल्चौडोको घाउ सफा गरी मलहम ( हिमेक्स, चारमिल आदि ) लगाउने र गोठ तथा खोरमा फिनाइल पानीले सफा गर्नु पर्दछ।

रोकथाम

  •  रोग नलागोस भनेर पशुहरुलाई पहिले नै खोरेत रोग विरुद्धको औषधिहरु लगाउनु पर्दछ।
  •  रोग देखा परि सकेको खण्डमा तुरुन्त रिङ  vaccination गर्नु पर्दछ।
  • रोगी पशु र निरोगी पशु छुट्टा छुट्टै राख्ने।
  •  रोगी पशुले प्रयोग गरेको दाना पानीका भाडाकुडाहरु निरोगी पशुसंग लसपस नगर्ने आदि जस्ता सावधानीहरु अपनाउनु पर्दछ।
भ्यागुते रोग (Haemorrhagic Septicemia)

परिचय

  •   यो रोग  Pasteurell multocida नामक व्याक्टेरियाको आक्रमणबाट विशेष गरी भैँसी तथा बंगुरमा हुन्छ जसमा उच्च ज्वरो आई जिव्रो घाटी सुन्निई श्वास फेर्न निकै गाह्रो भइ घ्यार घ्यार आवाज निकाल्ने लक्षण देखाएर समयमै उपचार नभएमा पशु मर्ने हुन्छ।
  •  नेपालमा यो रोग प्राय सबै क्षेत्रहरुमा सबै समयमा देखा पर्दछ।

रोग सर्ने कारण

  •  यस रोगका जिवाणुहरुबाट दुषित पानी तथा रोगीको संपर्कमा आएको घाँस, पराल, दाना तथा रोगी पशुसँगको सिधा सम्पर्कबाट हुने लसपसबाट रोग सजिलै सर्न सक्छ।

रोगका लक्षण

  •   अकस्मात उच्च ज्वरो (१०५—१०७ डिग्री फ.) आउछ, पशु लरखराउन थाल्छ ।
  •   जिव्रो, घाटी, ह्याकुलो सुनिन्छ ।
  •   जनावरलाई श्वास फेर्न निकै अप्ठ्यारो पर्छ ।
  •  टाढैबाट पशुले घ्यार्र घ्यार्र आवाज निकालेको सुनिन्छ ।
  •   जनावरको आखा रातो हुन्छ , आन्द्रामा समेत घाउ हुने भएकोले सुरुमा कब्जीयत र पछि रगत तथा मासि मिसिएको पखाला लाग्छ ।
  •   यस रोगले छालामा र श्वास प्रश्वासमा असर गर्ने भएकोले दुई रुपमा लक्षणहरु देखिन्छन् ।
  •   तीव्र खालको रोगमा प्रायः पशु १ देखि २ दिन भित्रै मर्छ।

उपचार

  •   रोगी पशुलाई अलगै छुट्याएर उपचार गर्नु पर्छ । तुरुन्त उपचार नभएमा पशुलाई बचाउन कठिन हुने हुदा विशेषज्ञको सल्लाह अनुसार ५ देखि ६ दिनसम्म तलका मध्ये कुनै एक एन्टीवायोटिक औषधि दिनु पर्दछ।
  •   टेरामाइसिन:  पशुको जात,उमेर र अवस्था अनुसार ५ देखि २५ मि.ली. सम्म I/M सुई दिने बायोट्रिम सुई निर्माताका सिफारिस अनुसार दिने 
  • भेसाडिन ,सल्फाडिमाडिन वा डायडिन मध्ये कुनै एउटा ३० देखि १०० मि.ली सम्म I/M  सुई दिने। साथमा एभिल, क्युराल, जीट जस्ता कुनै एक एन्टि हिष्टामिनिक सुई वा डेक्सामेथासोन जस्तै डेक्साभेट वा डेक्सो्नाको सुई दिने।
  •  नरम कलिलो घाँस, झोलीलो खानेकुरा खुवाउनु पर्छ।

रोकथाम

  • रोगी पशुलाई बथानबाट अलग्गै छुट्याउनु पर्दछ र स्वस्थ्य सबै पशुहरुलाई तुरुन्तै खोप दिनु पर्दछ। यसरी खोप दिदा ६÷६ महिनाको फरकमा सम्पूर्ण पशुहरुलाई खोप लगाउनु पर्दछ।
  •  मरेका तथा रोगी जनावरको सम्पर्कमा आएका सम्पूर्ण आहारा तथा दुषित पदार्थ जलाउनु अथवा गहिरो खाडलमा पुरि दिनु पर्छ।
  •   रोग फैलिएको क्षेत्रमा पशुको आवत जावत तथा पशु जन्य पदार्थको आदान प्रदान र अन्य सम्पर्क हुनबाट सकभर रोक लगाउनु पर्दछ।
चरचरे (Black Quarter)
  •  यो रोग व्याक्टेरियाबाट प्राय मोटाघाटा गाई, भैँसी, बाख्रा, भेडालाई फाट्टफुट्ट रुपमा लाग्ने घातक रोग हो।
  •  यो रोग ६ महिना देखि २/३ वर्षको उमेरका जनावरमा बढी देखिन्छ।
  •   गर्मि र वर्षातको समयमा यो रोग बढी देखिन्छ र रोगका जीवाणु चिस्यान भएको माटोमा बर्षौ सम्म जिवितै रहन सक्छन्।

रोग सर्ने तरिका

  •   मुख्यतया जीवाणुद्वारा दुषित आहारा तथा घाउ चोटपटक जस्तैः  खसी पार्दा, ऊन काट्दा, गोरुमा फाली लाग्दा आदिबाट हुने घाउको माध्यमबाट माटो तथा गोबरमा भएका किटाणु शरिरमा प्रवेश गर्छन्।
  •   फिला, तिघ्रा, काध, पुठा आदिको मासुमा पुगी मासु कुहाउन र विष समेत उत्पन्न गराउन थाल्छन र यसको प्रभावबाट पशु मर्न सक्छ। 

रोगका लक्षण

  •   एक्कासी जनावर लर्खराउन थाल्छ , १०६ डिग्री फा. देखि १०७ डिग्री फा. सम्म उच्च ज्वरो आउँदछ।
  •  बढी मासु भएका स्थानहरु जस्तैः  फिला, पुठा, गर्धन, काध जस्ता स्थानहरुमा सुन्निएको रातो देखिन्छ । छाम्दा तातो हुन्छ र पशुले दुखेको अनुभव गर्दछ।
  •  हातले थिच्दा दवाउदा हावा भरिएको जस्तो र चरचर आवाज आउने हुन्छ।
  •  विस्तारै यि स्थानहरुको रंग डडेको मासु जस्तो रंगमा परिवर्तन भई चिसो र छाम्दा नदुख्ने हुन्छ।
  •  छाला ठाउँ ठाउँमा चिरिएको देखिन सक्दछ । यि सुन्निएका स्थानहरु चिरेमा फिज सहितको कुहिएको नौनीको गन्ध युक्त तरल पदार्थ आउँदछ।
  • जनावरलाई श्वास फेर्न गाह्रो हुन्छ। समयमै रोगको उपचार नभएमा जनावर १२ देखि ४८ घण्टा भित्रै मर्न सक्छ । मरेको जनावरको छिट्टै भुडी ढाडिन थाल्छ र मलद्धार फर्केको  Prolapse of rectum देखिन्छ।

उपचार

  • पेनिसिलिनको सुई १०,००० आई यू प्रति किलो शारिरीक तौलका दरले ८/८ घण्टामा मासुमा सुई बाट दिने र अन्य औषधि मध्ये कुनै एक सुई जस्तै एम्पिसिलिन विशेषज्ञको सल्लाह अनुसार ५ देखि ६ दिनसम्म मासुमा दिने ।
  •   डेक्साभेट वा डेक्सोना २.५ देखि ५ एम.एल. मासुमा वा नसामा सुई दिने।
  •   सुन्निएको स्थानमा चिरेर टिन्चर आयोडिन १० देखि १५ एम.एल.लगाउने।

रोकथाम

  •   छ महिना भन्दा माथिका सम्पूर्ण स्वस्थ्य जनावरहरुलाई हरेक वर्ष वर्षात शुरु हुनु अगावै चरचरे विरुद्ध खोप लगाउनु पर्दछ।
  • मात्राः ठूला जनावर ५ एम.एल.छाला मुनी र साना जनावर ३ एम.एल. छाला मुनी

सावधानी

  • विरामी जनावरलाई अलग्गै छुट्याई उपचार गर्नु पर्छ र जनावर मरेमा राम्ररी गाड्ने वा जलाउने गर्नु पर्दछ। 
मिल्क फिभर (Milk Fever)

परिचय 

  •  यो रोगलाई दुधे ज्वरो तथा सिताङ्ग ज्वरो पनि भनिन्छ।
  •  नाम मिल्क फिभर भएतापनि विरामी पशुहरुमा ज्वरो बढ्दैन घट्दै जान्छ।
  •   दूधालु भैँसीमा विशेष व्याएको एक हप्ता भित्रै यो रोग लाग्दछ।
  •  खासगरी स्वास्थ्य ,धेरै दूध दिने गाई भैसीमा त्यसमा पनि तेश्रो देखि पाचौ बेत सम्मका पशुहरुमा यो रोग देखा पर्दछ।
  •  रगतमा क्याल्सीयम तत्वको कमि भएमा यो रोग लाग्दछ ।
  •  यो एक पशुबाट अर्को पशुमा सर्ने खालको सरुवा रोग हैन।

मुख्य लक्षणहरु 

  •  दूध उत्पादन तत्कालै घट्दैन।
  •  काम्ने तथा मांशपेशी कम्पन हुने।
  •  हिड्दा धरमराउने। आँखाको नानी ठूलो हुदै जाने।
  •   उठ्न नसक्ने ज्वरो घट्दै जाने।
  •   मुन्टो बटारेर ढाडमा अड्याएर वस्ने।
  •  धेरै कमजोर भएपछि हयाकुलो र मुन्टो भुईमा टेकाएर बस्दछ।
  •  समयमा उपचार नपाएमा १—२ दिन भित्रै पशु पर्दछ।

रोग निदान 

  • रोगको इतिहास र लक्षणबाट रोग पत्तालगाउन सकिन्छ।

उपचार 

  •  क्याल्सीयम बोरो गुल्कोनेट माइफेक्स,क्याल्वोरल मध्ये कुनै एक औषधिलाई शरिरको तापक्रम जति पार्ने र ३०० देखि ४५० मि.लि. विस्तारै थोपा, थोपा गरी नसाबाट सुई दिने। नसाबाट दिन नसके २ देखि ३ ठाँउमा छाला मुनि दिए पनि हुन्छ।
  •  सुई लगाउन नसके वा सुई नपाएमा कुनै पनि क्याल्सीयम युक्त औषधि दैनिक १०० एम.एल. कम्तीमा १० दिन सम्म खुवाउने।
  •  एभिल वा जिट वा डेक्साभेट मध्ये कुनै एक १० एम.एल मासुमा सुई दिने।

रोकथाम  

  •  दुधालु जनावरलाई समय समयमा मिनरल मिक्चर खुवाउने।
  • यदि व्याउने पशु भएमा व्याउनु भन्दा केहि दिन अगाडिबाट क्याल्सीयम युक्त झोल औषधीमा अन्य भिटामिन युक्त औषधि मिसाई दैनिक १०० एम.एल.का दरले खुवाउने।
थुनेलो रोग (Mastitis)

परिचय

  •  कल्चौडो सुनिनु वा दूधको गुणमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ।
  •  यो एउटा नेपालमा सामान्य देखिने रोग हो र खासगरी पशुहरु व्याउने वित्तिकै देखिन्छ।
  •  थुनेलो रोग धेरै किसिमका जिवाणुहरुको कारणबाट हुन्छ । यदि गोठ, थलोमा राम्रो सरसफाई भएको छैन भने जनावर व्याएको समयमा विभिन्न किसिमका जिवाणुहरु कल्चौडोमा थुनबाट प्रवेश गर्दछ।
  • रोग लागि सकेपछि आर्थिक दृष्टिकोणले निकै घाटा हुन जान्छ र करिव २५ प्रतिशत जति उत्पादन घटाँउदछ। 
  • थुनेलो रोग लागेको दूध मानिसले खाएमा जिवाणुको कारणबाट मानिसमा पनि अनेक किसिमका रोगहरु लाग्ने प्रवल सम्भावना हुन्छ।


रोगको प्रमुख लक्षणहरु

  •   व्याएको भैँसीको कल्चौडो सुनिनु, छुँदा दुखेको अनुभव गर्नु र तातो हुनु ।
  •  दूध नदिनु र कल्चौडो, थुन साह्रो हुनु, दूधको गुणस्तरमा फरक देखिनु, दूधमा रगत मिसिएको रातो वा जमेको लेघ्राहरु (टुक्रा) देखिनु ।
  •  यदि उपचार गर्न ढिला भएमा भित्र पाक्दछ र पिप पनि आउँदछ।
  •   यदि थुन मात्रै सुन्निएको भए शुरुमा दूध राम्रो हुन्छ तर थुन सुन्निएकोले दूध दुहुन गाह्रो पर्दछ।
  •  अति तिव्ररुपमा भएमा भैँसीलाई ज्वरो आउने, झोक्रिने, खाना नखाने हुन्छ ।
  •  समयमा उपचार नभए थुन बन्द हुन्छ र दूध नआउने र पुरा कल्चौडो नै खतम हुने संभावना हुन्छ। 

रोग निदान/  पहिचान
दूइ तरिकाबाट यो रोगको निदान गर्न सकिन्छ।

  •  माथिका लक्षणको आधारमा
  •  दूधलाई प्रयोगशालामा परिक्षण गराएर ( CMT test बाट)

उपचार

  •   दूध बेला बेलामा दुहुनु पर्दछ ताकि कल्चौडोमा पर्ने दवाव कम होस् ।
  •  यदि दूध आएको छैन भने किटाणु रहित पारेको थुन भित्र राख्ने नलि जसलाई teat syphon / teat canual  भनिन्छ । थुनमा भित्र घुसाउने र भित्रिएको दूध सबै निकाल्ने। 
  • सबै दूध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ । कल्चौडो र थुनलाई बिहान बेलुका राम्रोसँग सेकी दिने।
  • यदि दूध पानी जस्तो रगत मिसिएको पिप जस्तो भएमा जिवाणुको कारणबाट थुनेलो भएको रहेछ भनी बुझ्नु पर्दछ। त्यस्तो अवस्थामा भैँसीलाई एन्टीवायोटिक सुई दिने सबै दूध निखारेर मात्र औषधि थुनमा राख्नु पर्दछ।
  • नसुन्निने, नदुख्ने सुई दिने र विभिन्न प्रकारका मलहम पाइन्छ ति मध्ये कुनै एक लगाई दिने गर्नु पर्दछ।
  • त्यस्तो अवस्थामा भैँसीलाई राम्रो दानापानी दिनु पर्छ।

ध्यान दिनु पर्ने कुराहरु

  •  दूध दुहुने मान्छेले नङ नपाल्ने र हात सफा राख्ने गर्ने ।
  •  दैनिक दूध दुहुनु भन्दा पहिले कल्चौडो सफा गर्ने ।
  • औषधिहरु प्रयोग गर्दा राम्रो संग प्रयोग गर्ने।
  • थुनेलो रोग लागेको थुन वा भैँसीलाई अरु पशुहरु दुहि सकेपछि मात्र दुहुने गर्नु पर्दछ र दुहुनो पशुको गोठ सफा राख्नु पर्दछ।
व्याउन नसक्ने (Dystokia)

परिचय

  •   व्याउन नसक्ने अवस्थालाई डिस्टोकिया भनिन्छ । यदि पशुहरुले गर्भाधारण गरेपछि अवधि पुरा हुँदा पनि सामान्य रुपमा व्याउन नसकी बच्चा अड्केको अवस्थालाई नै डिस्टोकिया भनिन्छ।
  •   हामी कहां भैसीहरुमा यस्तो अवस्था बढी देखिएको छ। साथै उन्नत नश्लमा भन्दा लोकलमा डिस्टोकिया बढी पाइन्छ।

कारण

  •  पशुलाई सन्तुलित आहारा भिटामिन मिनरल आदि नपुगी व्याउने पशु कमजोर हुनु ।
  •  सर्भिसको मुख नखोल्नु।
  •   पेटमा बच्चा वा भ्रुण कुनै कारणले मर्नु
  •   पेटमा बच्चाको टाउको बटारिनु खुट्टा खुम्चिनु वा दोव्रिनु ।
  •   बच्चा असमान्य स्थिति जस्तै टाउको २ वटा खुट्टा धेरै हुने आदि भएमा ।
  •  पाठेघर नै बटारिएमा । यसरी बटारिने अवस्था पशुले आहाल खेलेमा दौडिएमा हुन सक्दछ।
  •  पशुले कलिलो उमेरमा र बुढी उमेरमा गर्भाधारण गरेमा पनि डिस्टोकिया हुन सक्दछ। 
  • पशुको पछाडीको डडाल्नुको हाड भाचिएमा आदि ।
  • पशुको शारिरिक अवस्था ठिक नभएमा।
  • यी माथिका कारणले पशुलाई डिस्टोकिया हुन्छ । त्यसैले उपचार गर्दा पनि कुन कारणले गर्दा डिस्टोकिया भएको छ त्यहि अनुसार गर्नु पर्दछ।

उपचार

  • भैँसीको पछाडीको भाग राम्ररी सफा गरी बोरा वा सोत्तर ओच्छाई राख्ने हातलाई एन्टीसेप्टीक पानीले धोएर सुत भित्र हात हाली पाठेघरको मुख खुले नखुलेको हेर्ने। यदि मुख खुलेको भएमा विस्तारै हात भित्र घुसारेर बच्चाको अवस्था कस्तो अवस्थामा छ हेर्ने। जब अवस्था कस्तो छ थाहा हुन्छ। त्यसपछि निम्न अनुसार जाँच गरी उपचार गर्ने ।
  • यदि बच्चाको मुन्टो बटारिएको छ भने हातको सहायताले मुन्टो सोझो पार्ने र अगाडीको खुट्टा सोझो बनाउने (खुट्टा मुनि परेमा) खुट्टामा डोरी लगाउने टाउको बिस्तारै सोझो पारेर डोरी तान्ने यसो गर्दा सजिलोसंग बच्चा निस्कन सक्दछ। यदि गाह्रो भएमा मुखमा समेत अंकुश वा डोरी लगाएर तान्न सकिन्छ।
  • यदि सर्भिस खुलेको नै छैन भने भैँसीलाई सर्भिस खुल्न समय दिनु पर्दछ। त्यसैले I/ V डेक्साभेट दिएर १२ घण्टा जति छोड्ने । यदि सर्भिस बटारिएको छ भने यो औषधि नदिने। यदि बटारिएको छैन भने अक्सीटोसिन सभिएसको मुखमा स्प्रे गरेमा सर्भिस छिटो खुल्छ।
  • यदि खुट्टा बटारिएको छ भने खुट्टा सोझ्याउनु पर्दछ खुट्टा सोझ्याएर डोरी बाँध्नेर बच्चा अलि कति अगाडी धकेलेर ठिक अवस्थामा आएपछि टाउको सोझ्याई डोरीले बिस्तारै तान्ने।
  •  यदि पाठेघर बटारिएको छ भने यसको उपचार गाह्रो हुन्छ । पहिले सुतबाट हात हाल्ने र सर्भिसको मुखमा औला राख्ने र पशुालई जतापट्टि बटारिएको छ ठिक उल्टो पर्ने गरी पुरै पशुलाई नै रोलिङ गर्ने । यसरी रोलिङ गर्दा औलाले सर्भिसको मुख भने छोड्नु हुँदैन । विस्तारै रोलिङ गरे पछि पुरा सर्भिस खुल्छ र बच्चाको खुट्टामा डोरी लगाएर विस्तारै तान्ने । 
  • यदि बच्चा भित्र मरेको छ झिक्न गाह्रो हुन्छ साथै धेरै बटारिएको भए निकाल्न असमर्थ भइन्छ त्यसकारण सर्जिकल केश गरेर वच्चा पेट चिरेर निकाल्नु पर्दछ।
  • यसको लागि पशु चिकित्सकलाई सम्पर्क गर्ने ।
  • यसरी डिस्टोकियाको उपचार गर्दा पशु कमजोर छ भने क्याल्सीयम डेक्सट्रोज नशाबाट इन्जेक्सनद्धारा दिनु पर्दछ । साथै नखुख्ने औषधि पनि दिनु राम्रो हुन्छ। बच्चा निकाली सकेपछि भैँसीको पाठेघरमा फ्यूरिया बोलस वा कूनै एन्टिबायोटिक पाउडर वा झोल राख्नु पर्दछ। भैँसीलाई ५ देखि ७ दिन सम्म कुनै एन्टीबायोटिक दिनु पनि राम्रो हुन्छ। यसरी उपचार गर्दा कहिले काही भडारो पनि फर्कन सक्ने भएकोले यसको पनि ख्याल गर्नु पर्दछ। भैँसीलाई कुनै भिटामिन मिनरल क्याल्सीयम मुखबाट खुवाउने सल्लाह पनि दिनु पर्दछ।
बुङ्गो निस्कने वा भडार फर्कने (Prolapse)

परिचय

  •  जनावर व्याएको १—४ दिन भित्र बराबर कनि रहेमा पाठेघर बाहिर निस्कन्छ। त्यसलाई भडार फर्केको भनिन्छ।
  •  कुनै कुनै व्याउने पशुले व्याउनु भन्दा केहि महिना अगाडी देखिनै सुतबाट सानो रातो मासुको डल्ला निकाल्छ त्यसलाई बुङ्गो निकालेको भनिन्छ।
  •  यस्तो समस्या प्राय सबै जातको जनावरमा देखिने भएता पनि गाई भैसीमा बढी पाइन्छ।
  •  पहिलो बेतमा भडार फर्केको गाई भैसीमा अन्य बेतमा पनि समस्या देखिन सक्दछ। 

कारण

  •  व्याउने पशु ज्यादै कमजोर भएमा।
  •  पाठेघरमा कुनै घाउ अथवा केहि खरावी भएमा।
  •  पशु व्याएपछि साल समयमा भरेन र लगातार कनि रहेमा।

उपचार

  •  सर्वप्रथम विरामी भैँसीलाई उस्को पेटलृ भुईमा टेक्ने गरी बसाउने।
  •  उपचार गर्ने व्यक्तिले नङ काटी राम्रो संग सावुन पानीले हात धुने र हातमा लिक्युड प्याराफिन वा तेल लगाउने। 
  •  पाठेघरमा साल/औरो अडकिएको भए त्यसलाई पहिला राम्रोसँग होसियारी साथ हटाउने।
  •  बाहिर निस्कीएको पाठेघरलाई पोटास पानी वा एक्रिफलाविन पानीले राम्रोसँग सफा गर्ने र विस्तारै सफा कपडामा राखेर विस्तारै भित्र धकेल्दै जाने।
  • यदि भैँसीले कनेको छ भने पुच्छरको फेदको आख्लाबाट १०—१५ एम.एल जाईलो केन वा नोभोकेनको सुई दिने। त्यसको साथ साथै ५ एम.एल. सिक्वील मासुमा दिन सकिन्छ।
  • बाहिर निस्कीएको पाठेघर सवै भित्र राखेपछि सल्फा बोलस वा फ्यूरिया बोलस मध्ये कुनै एक ३—४ बोलस भित्र राखी दिने।
  •  ३—४ दिस सिम्म पेनिसिलिन सुई मासुमा दिने।

 

साल नखस्ने वा औरो अड्किने (Retention of Placenta)

परिचय

  •  समान्यतया गाई भैसी व्याएको ३—४ घण्टा भित्र साल झर्नु पर्दछ ।
  •  यदि व्याएको १२ घण्टा सम्म पनि साल नझरेमा उपचार गर्नु जरुरी हुन्छ ।

साल समयमा नझर्नुको कारण

  • पाठेघरको संक्रमण भएमा,
  • गर्भ पतन भएमा,
  • व्याएको पशु कमजोर भएमा,
  •  जुम्ल्याहा बच्चा भएमा,
  • बच्चा मरेको जन्मिएमा,
  • गर्भिणी पशुको सालमा क्याल्सीयम र अक्सीटोसीनको कमि भएमा साल समयमा नझर्न सक्दछ।


उपचार

  • सर्वप्रथम औषधिको प्रयोग गरेर समस्या समाधान गर्ने प्रयास गर्नु पर्दछ।
  • रिप्लेन्टा धुलो भैँसीलाई ५० ग्रा.  दिनको २ पटक खुवाउने।
  •  सख्खर वा खुदो १०० ग्राम दिनको एक पटक २—३ दिन दिने।
  • क्याल्सीयम युक्त औषधीको झोल १०० एम. एल. दिनको १ पटक दिने।
  • यदि औषधीको प्रयोगबाट साल नझरेमा सिपालु व्यक्ति वा राम्रो प्राविधिकद्वारा हाल सफा गरी पाठेघरमा हात हालेर विस्तारै साल निकाल्ने। यसरी हातले तान्दा जबरजस्ती गर्नु हुँदैन।
  • साल झिकिसकेपछि पाठेघर भित्र पोटास पानी वा एक्रिल्फयामिन पानीले सफा गर्ने र फ्यूरिया वा सल्फा बोलस वा टेरामाईसिन बोलस ३—४ गोटा राखी दिने।
  • पशुलाई पछाडीको भाग ५—६ इन्च उठ्नेगरी वाध्ने।
  •  दिसा कव्जीयत हुन नदिने।
  • कनिरहेको भए सिक्यूल ५ एम.एल मासुमा सुई दिने।
कव्जियत तथा पेट फुल्ने रोग

अ. दिशामा कव्जियत

  • दिशामा कव्जियत भएको अवस्थामा  भैँसीको रुमेन ठोस खाद्यपदार्थले भरिएको हुन्छ।

कारण

  •  सुख्खा खाद्य पदार्थ बढी भएको आहार
  •  प्रशस्त पानीको आहारासँग कमी
  • असामान्य आहाराको उपभोग
  • कडा रोगहरुको असर
  •  जुकाको प्रकोप
  • अत्याधिक कार्वाेहाइड्रेट आहार (आलु, गहुं, चामलको भात, जौ तथा अन्नका गेडागडी) खानाले हुने गर्छ।

लक्षण

  • अरुचि आहारा खान नरुचाउने, नउग्राउने।
  • छटपटाहट हुने (दुखाईको कारण)
  • गोबर गोट्टा पर्दछ।
  • पेट फुल्ने , पटको गाति कम हुने वा वन्द हुने
  • दब्रे पेट थिच्दा कडा पाइने।

उपचार

  • ठूलो पशुलाई सावुन पानीको एनिमा दिने, कुकुरलाई ग्लीसरीन वा लिक्वीड पाराफिनको एनिमा दिने।आलसको तेल ४०० एम.एल. वा लिक्वीड पाराफिन १०० एम.एल.लाई आधि लिटर मनतातो दुधमा फिटी खान दिने।
  • म्यागसल्फ   २०० देखी ४०० ग्राम खाने नुन ५० देखी ६० ग्राम, साथमा हिमालय वत्तिसा, वुटिसा वत्तिसा, हरमिन्सा मध्ये कुनै एक ५० देखी ६० ग्राम मनतातो पानीमा फिटी खान दिने।
  • कार्वाकोल र नियोस्टीगमीन २ देखी ५ एम.एल. चिकित्सकको रायमा छलामुनि सुई लगाउने सहायक चिकित्साको रुपमा भिटामिन वि, को सुई ५ देखी १० एम.एल. मासुमा लगाउंदा फाइदा गर्छ।

नोटः गभिणी भैँसीलाई बेसरी छेराउने खालका औषधि दिनु हुँदैन।

आ. पेट फुल्ने रोग (Tympany/ Bloat)

  • भैँसीको रुमेन तथा रेटिकुलममा अत्यधिक ग्याँस भरिने अवस्थालाई पेट फुल्ने भनिन्छ।
  • ग्याँसको साथ साथै फिंज समेत भरिएको अवस्थालाई फ्रोथी व्लोट (Froathy Bloat) भनिन्छ।
  • अपच तथा अजिर्ण अवस्था पार गर्दै पेट फुल्ने अवस्थामा सम्म आई पुग्ने गर्छ।
  • यस रोगबाट प्रभावित भैँसीको पेट वार्यातर्फ रुमेन वेस्सरी फुलेर आउने श्वासक्रियामा कठिनाई तथा श्वास अवरोधका कारण प्रायः मृत्यु हुने गर्छ।

कारण

  • हरियो कोशेवालीका घांस अत्यधिक मात्रामा खाएमा
  • गेढागुडि घाटीमा अवरोध (चोक) एलर्जी, आन्तरिक परजिवी, फोस्फोरस तत्वको कमी इत्यादी।

लक्षण
यस रोगमा २ प्रकारका लक्षण देखापर्छ।

  • प्रथम प्रकारमा पेटमा ग्याँसको अलवा फिज समेत भरिएको हुन्छ।
  • अर्काे प्रकारका अवस्था जसमा केवल ग्याँस मात्र भरिएको हुन्छ रुमेनमा ग्याँस तथा फिज एकसाथ भरिएको अवस्था निकै खतरनाक हुनुको साथै उपचार समेतमा पनि निकै कठिनाई हुने गर्छ।
  • भैँसीले दानापानी नखाने, पेटको बायाँतर्फ डम्म फुलेर आउने झोक्रिने, सुस्त हुने,
  • टाउको, घाँटी तन्काउने, जिब्रो  निकाल्ने,
  • दाँत कटकटाउने, मुखको बंगारा कसिने, मुखवाट ¥याल काढ्ने,
  • पेट दुख्ने, श्वासक्रियामा कठिनाई, नाडिको गति प्रतिमिनेट १०० देखी १२० पटक पुग्ने, श्वासक्रिया ६० पटक प्रतिमिनेट पुग्ने,
  • रुमेनलाई हातले दवाउँदा मादल वजेको जस्तो आवाज आउने,
  • दिशामा कव्जियत, रुमेनको पि.एच. अम्लीय हुने,
  • रोगको तिक्ष्ण अवस्थामा आधा देखी ३ घण्टा भित्रमा मर्ने गर्छ
  • पेट अत्यधिक फुल्नका कारण हावाको चापले शरिरका भित्री अंगहरु जस्तै कलेजो, मटु, फोक्सो इत्यादीमा दवाव पर्न गई रक्त श्राव समेत हुने गर्छ।
  • जसले गर्दा भैँसीको नाक मलद्धारबाट रगत आउने गर्छ र पटके रोगको भ्रम पर्न जान्छ। 

उपचार

  •  रोगको साधारण अवस्थामा टिम्पोल, अफ्रोन, टिम्पानिमल, ठूलो पशुलाई ८० ग्राम तथा सानो पशुलाई (बाच्छा पाडा) ४० ग्राम तथा भेडा वाख्रालाई २० ग्राम मनतातो पानीमा फिटी वा तेलमा फिटी दिनमा २ पटक खान दिने व्लाटल, आफानिल, व्लाटोसिल, व्लटोनिल, मध्ये कुनै एक ठूलो पशुलाई प्रथम मात्रा १०० एम.एल. त्यस पछि ६० एम.एल. तथा भेडा वाख्रालाई १५ एम.एल. दिनमा २ पटक दुई दिनसम्म खान दिँदा सवै प्रकारका पेट फुल्ने रोगमा फाइदा गर्छ।
  • पेटफुल्ने रोगको तिक्ष्ण अवस्थामा रुमेनवाट ग्याँस निकाली एन्टिहिस्टामिन इन्जेक्सन १० एम.एल. मासुमा लगाउने, पेनिसिलिन इन्जेक्सन वा स्ट्रेप्टोपे निसिलिन १० एम.एल. डिस्टिल्ड वाटरमा घोली वा अक्टिट्रासाईक्लिन १० देखी १५ एम.एल. वरावर भागमा डिस्टिल्ड वाटरमा घोली सिधै रुमेनमा राखिदिने, साथै व्लोटोनिल, व्लाटोसिल, अफानिल, मध्ये कुनै एक १०० एम.एल. सिधै रुमेनमा राखि दिने। सहायक चिकित्साको रुपमा भिटामिन वी कम्प्लेक्सको सुई, एनाल्जे सिक सुई प्रयोग गर्ने।


 

 

अन्य जानकारी

अ‍ौषधि प्रयोग गर्ने तरिका

१. छालामा

  • लोसन, टिन्चर लिनिमेन्ट, मलहम (वाईन्टमेन्ट) आदि जस्ता अ‍ौषधि छालामा दलेर प्रयोग गर्न सकिन्छ। तर टिन्चर आयोडिन र वेन्ज्वाईन आखाँको नजिक, सुत वा जनेन्द्रियमा प्रयोग गर्नु हुँदैन।

२. मुखबाट खुवाउने

  •  पिलस, ट्याव्लेट , झोल धुलो आदि औषधि भैँसीलाई मुखबाट खुवाउन सकिन्छ।
  •  औषधि मुखबाट खुवाउनु पर्दा पिठोमा मिसाएर दानामा वा पानीमा मिसाएर खुवाउन सकिन्छ। तर बिर्सन नहुने कुरा यो छ कि भैँसीलाई मुखबाट आफैले औषधि खुवाउनु पर्दा भैँसीको नाँक कहिल्यै बन्द गर्नु हुँदैन र जिब्रो समात्न हुँदैन।

३. नसामा सुई दिन

  • कुनै पनि औषधि रगतको नसाबाट सुईको रुपमा दिनु पर्दा औषधिलाई झोलको रुपमा बदल्नु पर्दछ।
  • भैँसीमा घाँटीको जुगुलर नामको नसाबाट सुई दिइन्छ।

४. मासुमा सुई दिने

  • भैँसीलाई फीलाको मासु वा घाटीको मासुमा सुई दिनु पर्दछ।

५. छालामा सुई दिएर

  • भैँसीलाई छालामा सुई दिनु पर्दा शरीरको कुनै पनि भागको छालामा सुई दिन सकिन्छ। तर छाला खुकुलो भएको ठाउँमा सुई दिन सजिलो तथा सुरक्षित हुने हुँदा घाँटी र ढाडकोे छालामा सुई दिनु प्राविधिक दृष्टिकोणबाट उपयुक्त मानिन्छ।

६. पाठेघरमा सुई दिएर

  • भैँसीमा पनि पाठेघरमा विभिन्न किसिमका जिवाणुले संक्रमण गर्दछन्। यस कसिमको समस्यामा पाठेघर भित्र सुई दिनु पर्दछ। पाठेघरमा सुई दिने कार्य जटिल भएको हुँदा दक्ष प्राविधिकबाट मात्र यो कार्य गराउनु पर्दछ।

७. थुनमा सुई दिएर

  • गोठको अवस्था भैँसीको सरसफाईको कमि र भैँसी गर्भिणी भएको समयमा सन्तुलित आहाराको कमिले गर्दा हाम्रो देशमा थुनेलोको समस्या निकै चर्को छ।
  • थुनेलो भएमा थुनबाट सुई दिनु पर्दछ।
  • सुई दिनु भन्दा पहिले थुनलाई एन्टीसेप्टीक झोलले राम्ररी सफा गरी थुनबाट दूध, पानी, रगत जे छ त्यसलाई निकाल्नु पर्दछ। त्यसपछि मात्र सुई दिनु पर्दछ। 
  • यसरी थुन भित्र औषधि पठाए पछि एकै छिन थुनको प्वाललाई हातको बुढी औंलाले बन्द गरी थुनलाई विस्तारै हल्लाउनु पर्दछ ताकि औषधि थुन र कल्चौडाको भित्री भागमा फैलिन सकोस्।

८.  मलद्धारमा औषधि राखेर

  • भैँसीलाई दिसा कब्जीयत भएमा हातको प्रयोग गरी गोबर निकालेर  दिन सकिन्छ।

 

पशुमा नश्ल सुधार

पशुमा नश्ल सुधारका लागि प्रजनन् कार्य प्राकृतिक र कृत्रिम गर्भाधान गरी दुई किसिमले गर्न सकिन्छः

क.  प्राकृतिक गर्भाधान

प्राकृतिक गर्भाधान भनेको उन्नत जातका राँगोद्वारा  भैँसीमा प्रजनन् गराई  पाडा पाडी उत्पादन गर्ने नश्ल सुधारको प्रकृया हो। कृतिम गर्भाधान सेवा नपुगेको ठाँउमा प्रजनन् को लागि प्राकृतिक गर्भाधान सेवा उपयोग गरिन्छ। यस्मा एउटा राँगो बाट करिब २०० वटा भैँसीमा प्रजनन् पु¥याउन सकिन्छ। प्राकृतिक गर्भाधानको लागि प्रयोग गरिने उन्नत जातका  रांगो को छनौट गर्दा न्यूनतम मापदण्ड निम्न अनुसारको हुनुपर्छ।

प्रजनन् योग्य राँगो

  • राँगो शुद्ध वा ५० देखि ७५ प्रतिशत मुर्रा जातको हुनु पर्नेछ। जात अनुसारको प्रष्ट देखिने गुण हुनुपर्छ ।
  • राँगोको माउ र बाबु असल गुणको साथै आमाको दुध उत्पादन कम्तिमा २००० लिटर प्रति वेत भएकोबाट जन्मेको हुनुपर्नेछ।
  • राँगोको उमेर ३.५ देखि ४ वर्ष वा दुइदाँत साढेको हुुनुपर्नेछ।
  • राँगोको दुवै अण्ड कोष राम्रोसँग झुण्डिएको विकसित हुनुका साथै प्रजनन् योग्य हुनुपर्नेछ। 
  • राँगो सरकारी फार्म वा वृडर कृषकहरु तथा कृ. ग. बाट उत्पादित भएको हुनु पर्नेछ।

ख. कृत्रिम गर्भाधान

भालेबाट कृत्रिम तरिकाले संकलन गरी प्रशोधन र संरक्षण गरिएको वीर्यलाई उपकरणहरुको मद्दतले पोथीको प्रजनन अंगमा पु¥याई गर्भाधान गराउने तरिकालाई कृत्रिम गर्भाधान भनिन्छ। पशुको नश्ल कम खर्चमा छिटो सुधार गर्न संसार भर अपनाइएको एक प्रविधि कृत्रिम गर्भाधान (कृ.ग.) हो। पोथीले भाले खोजेको समयमा भाले नलगाई भालेको वीर्य कृत्रिम तरिकाले पोथीको प्रजनन् अंगमा राखी सन्तान उत्पादन गराउने प्रविधिलाई कृत्रिम गर्भाधान भनिन्छ। पशुको नश्ल सुधारको लागि सस्तो, सजिलो तथा भरपर्दो उपायको रुपमा इ.सं. १९४० पछि यो प्रविधिलाई विश्वभर नै प्रयोगमा ल्याईएको छ। कृत्रिम गर्भाधान कार्यमा उन्नत जातका स्वस्थ  राँगोको वीर्य संकलन र प्रशोधन गरी अति चिसो ((१९६ डि. से.) अवस्थामा संरक्षण गरेर राखिन्छ र चाहिएको बेला कृत्रिम उपकरणको सहायताले  भैंसीको योनी भित्र पसाली पाठेघरको मुखमा खसालिन्छ र गर्भाधान गराइन्छ।

यो तरिकामा कृत्रिम गर्भाधानको लागिआवश्यक उपकरण, दक्ष सीप भएको जनशक्ति र नियमित रुपमा तरल नाइट्रोजन (वीर्य संरक्षणको लागि) आवश्यक पर्ने भएकोले सवारी साधन पुग्ने र दक्ष जनशक्ति भएको ठाउँमा मात्र यो कार्यक्रम गर्नु उचित हुन्छ। पहाडी विकट ठाउँ जहाँ नियमित रुपमा तरल नाइट्रोजन पु¥याउन अप्ठ्यारो हुन्छ त्यस्ता ठाउँमा उन्नत  राँगोबाट नै नश्ल सुधार गर्नु उपयुक्त हुन्छ। तर प्राकृतिक गर्भाधानमा राँगोको नियमित स्वास्थ्य परीक्षण, उचित व्यवस्थापनका साथै गर्भाधान गरेको रेकर्ड र साथै गर्भ परिक्षण र व्याएको अनुगमन पनि नियमित रुपमा गर्नु पर्ने हुन्छ यस्ले गर्दा ताकी भालेको प्रजनन् क्षमताको मुल्यङ्कन गरी कमसल भालेलाई प्रजनन् गर्नबाट रोक्न सकिन्छ। एकै ठाउँमा धेरै समयसम्म उहि भालेबाट प्रजनन् गराइयो भने हाडनाता प्रजनन् हुने भएकोले केही वर्ष पछि सो ठाउँबाट भाले अन्यत्र लगी सो ठाउँमा अर्कै भाले प्रयोग
गर्नुपर्छ। प्राकृतिक गर्भाधान भन्दा कृत्रिम गर्भाधानको तरिका उपयोगी भएकोले कृत्रिम गर्भाधान सेवा संचालित क्षेत्रमा यहि विधिद्वारा गर्भाधान गरेमा फाइदा हुन्छ।

१. कृत्रिम गर्भाधानका फाइदाहरु

  • थोरै संख्याका उन्नत गुण भएका  राँगोबाट विर्य संकलन गरी धेरै वटा भैँसीलाई गर्भाधारण गराउन सकिन्छ। प्राकृतिक गर्भाधानमा एक राँगोकोे जीवन काल (८ देखि ९ वर्ष उमेरसम्म) मा बढीमा १००० सन्तान लिन सकिनेमा कृतिम गर्भाधानबाट ६०००० मात्रासम्म वीर्य र सो वीर्य प्रयोगबाट ३०००० देखि ४०००० सम्म सन्तान प्राप्त गर्न सकिन्छ।
  •  कृत्रिम गर्भाधानको प्रयोगले राँगो पाल्ने झंझट रहँदैन र हाडनाता प्रजनन् हटाउन राँगो साटासाट गर्नुपर्ने झंझट पनि हुँदैैन।
  •  प्राविधिक आँफै गोठमा गएर यो सेवा दिन सकिन्छ । कृ.ग. गर्ने प्राबिधिकले कृ.ग. गर्दा कृ.ग. गरिने पशुको प्रजनन अंग परीक्षण गर्ने भएकोले पोथी पशुमा रोग भए समयमै उपचार हुन्छ।
  • विर्य संकलनको लागि राखिने राँगोको नियमित स्वास्थ परिक्षण गरिने हुनाले राँगोबाट भैँसीमा प्रजनन् सम्बन्धी रोगहरु सर्न बाट रोक्न सकिन्छ।
  • विर्यको नियमित जाँच भैरहने भएकोले कमसल  राँगो चाँडै पत्ता लगाइ हटाउन सकिन्छ। राम्रो भालेकोे गुण धेरै सन्तानमा छिटो सार्न सकिन्छ ।
  • उच्च गुण भएका राँगो बुढो, अशक्त वा मरेपछि पनि त्यसको वीर्य संरक्षण गर्न सकिने हुँदा धेरै बर्ष सम्म प्रयोग गर्न सकिन्छ।
  • प्रजनन् अभिलेख राख्न सजिलो हुन्छ।

२. कृत्रिम गर्भाधानको लागि वीर्य संकलन, तयारी र संरक्षण

प्राकृतिक गर्भाधानमा वीर्यलाई संकलन, प्रशोधन गर्ने जरुरत पर्दैन, ऋतुमा आएको भैँसीलाई  राँगोसँग लगाईदिएपछि त्यसले गर्भाधान गर्दछ। कृत्रिम गर्भाधानको लागि वीर्य संकलन र प्रशोधन गरीे स्ट्रमा राखी बन्द गरिन्छ र सो स्ट्रलाई तरल नाइट्रोजन भएको रेफ्री वा कन्टेनरमा राखी वर्षौसम्म संरक्षण तथा प्रयोग गर्न सकिन्छ। वीर्य संकलनको लागि कृत्रिम योनी को प्रयोग गरिन्छ। राँगोबाट वीर्य संकलन गर्न जीवत पशु वा निर्जिव “डमी” को प्रयोग गर्न सकिन्छ। वीर्य संकलन गरिने ती  राँगोहरुमा शुरु देखि नै प्राकृतिक रुपमा सहबासको अनुभव नहुने हुनाले आवश्यक तालिम दिएपछि “डमी” देख्दा पनि तिनीहरु उत्तेजित भई चढ्ने लिङ्ग निकालेको बेला लिङ्गलाई समाती कृत्रिम योनी तर्फ पसालिदिनुपर्छ जस्मा तिनीहरुले वीर्य स्खलन गर्छन र कृत्रिम योनीको अर्को पट्टि छेउमा जोडिएको ट्युबमा वीर्य संकलनको हुन्छ। त्यसरी संकलन भएको वीर्यको गुणस्तर जाँच गरि पर्याप्त मात्रामा ज्युँदो र सक्रिय शुक्रकीट भएमा मात्र प्रशोधन गरिन्छ। एकपटक स्खलन भएको वीर्यबाट १००- १२० वटासम्म वीर्यको स्ट्र बनाउन सकिन्छ जसबाट १०० वटा भैंसीलाई कृत्रिम गर्भाधान गराउन सकिन्छ। त्यसको लागि वीर्यलार्ई  “डाइलुटर” प्रयोग गरी पातलो बनाईन्छ। त्यसरी पालतो बनाइएको वीर्यलाई चिसोमा राखेपछि स्ट्रमा भर्ने काम गरिन्छ र स्ट्रको मुख बन्द गरिन्छ। स्ट्रमा वीर्य राख्नु अगाडि त्यसमा राखिने वीर्यको जात,  राँगो, त्यसको नम्बर, मिति, व्याच नं. र संस्थाको नाम उल्लेख गरी १९६ डि.से. तापक्रम भएको तरल नाइट्रोजन रेफ्रिमा डुबाई भण्डारण गरिन्छ।