वर्सिम घाँस पोसिलो, स्वादिलो तथा बढी उत्पादन दिने भएको हुनाले यसलाई घाँसहरूको राजा पनि भनिन्छ । अरू स्थानीय घाँस हिउँद महिनामा सुकी पशुको उत्पादन क्षमतामा ह्रास आउने समयमा बर्सिम घाँस कृषकहरूले आफ्नो पशुवस्तुलाई खुवाउन पाउँदा दुग्ध तथा मासु उत्पादनमा वृद्घिको साथै पशु स्वास्थ्यमा समेत सुधार भएको पाइएको छ । बढी उत्पादन भएको घाँसलाई सुकाएर “हे” बनाएर पनि खुवाउन सकिन्छ । यसको खेती तराईदेखि मध्य–पहाडसम्मको भूभाग भएको हावापानीमा गर्न सकिन्छ । विशेष रूपले नेपालको तराई क्षेत्रहरूमा पशुवस्तुहरूको आहारा आपूर्तिको लागि यसको खेती गर्ने गरिन्छ । यो घाँसेबालीको बढी उत्पादन क्षमता, लामो समय सम्म घाँसको आपूर्ति हुनुका साथै बढी पोसिलोपना हुने भएको हुनाले वर्सिम ग्रिन्गोल्ड पशुपालनको लागि अति नै उपयोगी मानिन्छ । यस घाँसेबालीले जरामा भएको राइजोवियम सूक्ष्म जीवाणुको मद्धतबाट माटोमा प्रतिरोपनी वार्षिक सरदर ८ देखि १२ किलोग्रामसम्म वायुमण्डलीय नाइट्रोजन जम्मा गरी माटोलाई मलिलो बनाउँदछ ।
वर्सिमको विवरण
परिचय
जातहरु
यो घाँसलाइ तराई देखि मध्य पहाडको २००० मि सम्मको उचाईमा सजिलै खेती गर्न सकिन्छ । यसलाई असोज कार्तिकमा प्रति रोपनी एक के.जी. बिउका दरले लगाउन सकिन्छ । रोपेको ३०–४५ दिनपछि पहिलो कटाई गरी एक महिनाको अन्तरालमा ३–४ पटकसम्म कटाई गर्न सकिन्छ । यो घाँसको बाली व्यवस्थापन तथा लगाइने क्षेत्र अनुसार प्रति रोपनी ४ टनसम्म हरियो घाँस तथा ४० किलो सम्म बिउ उत्पादन हुन्छ । बर्सिम घाँसमा सरदर २३% सम्म क्रुड प्रोटिन पाइन्छ ।
वर्सिम ग्रिन्गोल्ड घाँसको उचाई १००–२०० से.मी. सम्म हुन्छ । रोपेको दिनदेखि १५०–१६५ दिनमा यसको फूल फुल्दछ । यो जातको घाँस छरेको १७५–१९० दिनमा बिउ पाक्दछ । यसको एउटा बोटको हाँगा ९ देखि १५ ओटासम्म हुन्छ । यो घाँसको १००० दाना बिउको सरदर तौल ७ ग्राम हुन्छ ।
मेस्काभि वर्सिम एक हिउँदे कोशे घाँसबाली हो । यो घाँस पोसिलो, स्वादिलो तथा बढी उत्पादन दिने भएको हुनाले यसलाई घाँसहरूको राजा पनि भनिन्छ । यसको खेती तराईदेखि मध्य–पहाड सम्मको भूभाग भएको हावापानीमा गर्न सकिन्छ । विशेष रूपले नेपालको तराई क्षेत्रहरूमा पशुवस्तुहरूको आहारा आपूर्तिको लागि यसको खेती गर्ने गरिन्छ । यो घाँसेबालीको बढी उत्पादन क्षमता, लामो समयसम्म घाँसको आपूर्ति हुनुका साथैं बढी पोसिलोपना हुने भएको हुनाले पशुपालनका लागि अति नै उपयोगी मानिन्छ । यस घाँसेबालीले जरामा भएको राइजोवियम सुक्ष्म जीवाणुको मद्दतबाट माटामा प्रतिरोपनी वार्षिक सरदर ८ देखि १२ किलोग्रामसम्म वायुमण्डलीय नाइट्रोजन जम्मा गरी माटालाई मलिलो बनाउँदछ । वर्सिम मेस्काभी हिउँदका लागि एक उत्तम पोसिलो घाँस हो । अरू स्थानीय घाँस हिउँद महिनामा सुक्ने भएकाले पशुको उत्पादन क्षमतामा ह्रास आउने सो समयमा वर्सिम घाँस कृषकहरूले आफ्नो पशुवस्तुलाई खुवाउन पाउँदा दुग्ध तथा मासु उत्पादनमा वृद्घिको साथै पशु स्वास्थ्यमा समेत सुधार भएको पाईएको छ । आवश्यकताभन्दा बढी उत्पादन भएको घाँसलाई सुकाएर “हे” बनाएर पनि राख्न सकिन्छ ।
जातीय विशेषता
यो घाँसलाइ तराई देखी मध्य पहाडी भेग सम्म खेती गर्न सकिन्छ । यसलाई असोज देखि मङ्सिरसम्म प्रति रोपनी एक के.जी. बिउका दरले लगाउन सकिन्छ । रोपेको ४५ – ५० दिनपछि पहिलो कटाई गरी एक महिनाको अन्तरालमा ३–४ पटकसम्म कटाई गर्न सकिन्छ । यो घाँसको बाली व्यवस्थापन तथा लगाइने क्षेत्र अनुसार प्रति रोपनी ४ टनसम्म हरियो घाँस तथा २५ किलो सम्म बिउ उत्पादन हुन्छ । बर्सिम घाँसमा सरदर २३% सम्म क्रुड प्रोटिन पाइन्छ ।
वर्सिम मेस्काभी घाँसको उचाइ ८०–१०० से.मी. सम्म हुन्छ । छरेको ११०–११३ दिनमा यसको फूल फुल्दछ भने १६०–१७० दिनमा बिउ पाक्दछ । यसको एउटा बोटमा १५ देखि २१ ओटा सम्म हाँगाहरू हुन्छन्।
बिउको मात्रा
मेस्काभी बर्सिम घाँसको बिउ प्रतिहेक्टर २५ के.जी. आवश्यकता पर्दछ ।
व्यवस्थापन
यस घाँसलाई तराई देखि मध्य पहाडसम्मको प्रायः जुनसुकै माटोमा खेती गर्न सकिए तापनि बढी उत्पादन लिनका लागि पाँगो दोमट माटो सबैभन्दा उपयुक्त हुन्छ भने पानी जम्ने ठाउँमा यसको खेती राम्रो हुँदैन ।
जमिनको तयारीका लागि २ देखि ३ पटक सम्म खनजोत गरी एक रोपनी क्षेत्रफलमा २५० किलोग्राम गोबरमल या कम्पोस्ट मल हाल्नुपर्दछ । बढी उब्जाउ लिनको लागि रासायनिक मल प्रतिरोपनी १.६ किलोग्राम युरिया, ५.४ किलोग्राम डि.ए.पी. र २.६ किलोग्राम एम.ओ.पी. दिनु पर्दछ । जग्गाको तयारी गर्दा आधा भाग युरिया र पुरै भाग डि.ए.पी. र एम.ओ.पी. दिनु पर्दछ र बाँकी आधा भाग युरिया घाँस काटी सिँचाइ गरे पछि टप ड्रेसको रूपमा हाल्नुपर्दछ ।
वर्सिम ग्रिन्गोल्ड लामो समयसम्म हरियो घाँस लिनको लागि कार्तिकको पहिलो हप्तादेखि मंसिर महिनासम्म बिउ छर्न सकिन्छ बिउ उत्पादनका लागि मात्र वर्सिमको खेती गर्दा केही ढिला गरी अर्थात मंसिरको दोस्रो हप्ता पछि मात्र बिउ छर्नुपर्दछ ।
वर्सिम–ग्रिनगोल्ड घाँसलाई तीन प्रकारले खेती गर्न सकिन्छ ।
धान खेत भित्र घुसुवा खेती
यस प्रविधिमा धान काटनु १५–२० दिन अगावै बिउ छर्नुपर्दछ, बिउ छर्ने समयमा खेतमा अलि अलि पानी हुनुपर्दछ । यस तरिकाबाट उत्पादन लागत कम पर्ने र उव्जनी पनि बढी र छिटो हरियो घाँस प्राप्त हुने भएकाले यो प्रविधि कृषकमाझ निकै लोकप्रिय रहेको छ ।
धुलो माटोमा बिउ छर्ने
सिँचाइ सुविधा नभएको ठाउँमा वर्सिम खेती गर्दा जग्गालाई राम्रोसँग खनजोत गरी माटोलाई धुलो बनाई बिउ छर्नुपर्दछ । यस तरिकाबाट बिउ छर्दा माटामा पर्याप्त मात्रामा चिस्यान हुनु जरुरी हुन्छ र बिउ एक इन्चभन्दा बढी माटोमा पुरिनु हुँदैन ।
हिल्याएको खेतमा बिउ छर्ने
सिँचाइ सुविधा भएको अवस्थामा खनजोत गरी तयार गरिएको जग्गामा दुई इन्च जति पानी लगाई बिउ छर्नुपर्दछ र जग्गामा लगाइएको पानीलाई सुक्न दिनुपर्दछ । यो खेती प्रविधि महङ्गो भए तापनि यस तरिकाले बिउ छर्दा उमार प्रतिशत राम्रो हुने र उत्पादनमा वृद्घि हुन्छ ।
वर्सिम घाँसलाई प्रशस्त मात्रामा पानी चाहिने भएकाले वर्सिममा सिँचाइको राम्रो व्यवस्था मिलाउनु अत्यावश्यक हुन्छ । माटोको चिस्यानको अवस्था हेरी प्रत्येक कटाइपछि सिँचाइ सुविधा पुर्याएमा बढी उत्पादन लिन सकिन्छ । विशेषः गरी फूल फुल्नअगाडि र प्रत्येक कटाइपछि सिँचाइ गर्नुपर्दछ ।
कार्तिक पहिलो हप्तामा छरेको ग्रीनगोल्ड बर्सिमको बिउबाट ५० देखि ६० दिनमा पहिलो कटान सुरु भई वैशाख महिनासम्म हरियो घाँस उत्पादन लिन सकिन्छ । पहिलो पटक घाँस लिएपछि प्रत्येक २५–३० दिनको अवधिमा अर्को कटाइ लिन सकिन्छ । प्रति रोपनी जग्गाबाट ५०० देखि ६०० किलोग्रामसम्म हरियो घाँसको उत्पादन लिन सकिन्छ । यस घाँसबाट सरदर बिउ उत्पादन २८ देखि ३५ किलोग्रामसम्म हुन्छ ।
मेस्काभि वर्सिम घाँसबाट प्रतिहेक्टर जमिनमा ७७ देखि ८५ मे.टनसम्म हरियो घाँसको उत्पादन लिन सकिन्छ । यस घाँसबाट सरदर बिउ उत्पादन ४५०–५०० के.जी. सम्म हुन्छ ।
